Saturday 14 March 2020

दीपेश धामी: एक ब्याटमिन्टन ब्वाएको संघर्ष

असोज २०७५ मा भएको तेस्रो संस्करणको योनेक्स सनराइज जेष्ट राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकल भिडन्तमा नेपालका शीर्ष वरियताका रत्नजित तामाङलाई २–१ को सेटमा पराजित गर्दै दोस्रो वरियताका दीपेश धामी राष्ट्रिय च्याम्पियन बने।
अघिल्लो वर्ष २०७४ कार्तिकमा पाकिस्तानमा भएको योनेक्स सनराइज इन्टरनेसनल सिरिजको मिक्स डबल्समा दीपेश धामी र शोभा गौचनको जोडीले ऐतिहासिक स्वर्ण पदक जित्दा नेपालका रत्नजित र नङशल देवी तामाङको जोडीलाई पराजित गरेको थियो।
शशस्त्र प्रहरी बल(एपीएफ) को आयोजनामा अघिल्लो साता (चैत्र १५) भएको राष्ट्रव्यापी कृष्ण मोहन स्मृति खुल्ला ब्याडमिन्टन प्रतियोगितामा दीपेशले पुरुष सिंगलसहित युगल, मिश्रीत युगलतर्फ गरि तीन उपाधि हात पारे।
०००
त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ र शशस्त्र प्रहरी बल (एपीएफ) का दीपेश धामी नेपाली पुरुष ब्याडमिन्टनको शीर्ष स्थानका मुख्य प्रतिस्पर्धी दुई खेलाडी हुन्। हाल रत्नजित वरियताको शीर्षमा छन् भने उनलाई दीपेशले दोस्रो स्थानमा रहँदै पछ्याइरहेका छन्।
पाकिस्तानमा स्वर्ण जितेपछि दीपेश र शोभाको जोडी
पाकिस्तानमा स्वर्ण जितेपछि दीपेश र शोभाको जोडी
अघिल्लो साता दीपेशले तीन विधाको उपाधि उचाल्दा रत्नजित भने प्रशिक्षणका क्रममा जापान थिए। पछिल्लो समय प्रायः ब्याडमिन्टनका राष्ट्रिय प्रतियोगिताको पुरुष एकलको उपाधि भिडन्त यी दुई खेलाडीहरुबीच नै हुने गरेको छ। अधिकांश उपाधि दीपेश भन्दा सिनियर समेत रहेका रत्नजितले आफ्नो पोल्टामा पारेका छन्।
रत्नजितको अनुपस्थितिमा दीपेशले अघिल्लो साता सिल्क ग्रुपका प्रिन्स दाहाललाई पराजित गर्दै पुरुष एकलको उपाधि उचालेका थिए। त्यसपछि केहीको प्रतिक्रिया दिए, ‘रत्नजितको नभएरै दीपेशले उपाधि उचाल्न सकेको हो।’
त्यस्तो सुन्दा दीपेशलाई भने नरमाईलो लाग्छ।
‘यहाँ सकरात्मक भन्दा नकरात्मक कुरा धेरै हुन्छन्,’ नेपालखबरसँग उनले भने, ‘मैले रत्न दाईलाई यसअघि नजितेको पनि होइन। अरुबेला पनि जितिएला।’
खेलमा लागिसकेपछि हरेक खेलाडीको राष्ट्रिय च्याम्पियन बन्ने लक्ष्य हुने बताउँदै त्यसका लागि उसले धेरै मिहिनेत गरेको कुरामा सबैले ध्यान दिनुपर्ने उनले बताए।
‘कुनै बेला म पनि बाहिर जाउँला, त्यसबेला दीपेश थिएन, त्यही भएर जुनिएर जित्यो भन्नु उपयुक्त हुँदैन’ उनले भने, ‘किनभने उसले पनि मेहनत गरिरहेको हुन्छ। त्यस्तो भन्दा खेलाडीको ‘मोराल लो’ हुन्छ। खेलाडीलाई मान्छेले गर्न सक्ने भनेको उसको ‘मोरल हाई’ गर्ने काम हो। यो नभएर यसले जित्यो भन्ने सुन्दा चाहिँ मलाई नराम्रो लाग्छ।’
दीपेश धामी
दीपेश धामी
लगत्तै चैत्र (२०७५) अन्तिम साता प्रदेश ५ मा आठौं राष्ट्रिय खेलकुद हुँदैछ। ब्याडमिन्टनका प्रतिस्पर्धाहरु चैत्र २७ बाट दाङमा हुँदैछन्। सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पुरुष एकलमा सम्भवतः फेरि एकपटक रत्नजित र दीपेशको नै भिडन्त हुनेछ।
दीपेशपनि आफ्नो सम्भावित प्रतिस्पर्धी रत्नजितलाई नै मान्छन्। सातौँ राष्ट्रिय खेलकुदमा दीपेश दोस्रो भएका थिए। त्यसकारण स्वतः उनको लक्ष्य स्वर्ण जित्ने नै छ।
‘सम्भवतः मुख्य प्रतिस्पर्धी रत्नदाई नै हुन्,’ दीपेशले भने, ‘प्रतिस्पर्धामा कसले जित्छ भनेर अगाडि नै भविष्यवाणी गर्न त सकिदैँन, कसले कतिबेला कस्तो खेल्छ भन्ने कुराले जीत–हार निर्धारण गर्छ’ उनी भन्छन्, ‘त्यसैले, हामी नै फाइनल पुग्छौँ भन्ने पनि छैन’ उनले थपे, ‘तर ‘ओभरअल’मा हेर्दा हामी नै पुनः फाइनल प्रतिस्पर्धी हुन्छौँ कि भन्ने लाग्छ। यस प्रतियोगिता(पुष्पलाल स्मृति) को नजिताले पनि मनोबल उच्च बनाएको छ। नियमित प्रशिक्षणमा पनि छु। आशा छ, रिजल्ट राम्रो आउनेछ।’
०००
२०७४ कार्तिकमा पाकिस्तानको इस्लामावादमा भएको योनेक्स सनराइज इन्टरनेसनल सिरिजको मिक्स डबल्समा दीपेश धामीले आफ्नो जोडी शोभा गौचनको साथमा स्वर्ण पदक जितेका थिए।
खेल जीवनमा दीपेशले राष्ट्रलाई दिएको सबैभन्दा ठूलो उपलब्धि त्यही थियोे। फाइनलमा पुग्ने अर्को जोडीका रुपमा नेपाली नम्बर एक जोडी रत्नजित र नङ्शल तामाङको थियो। फाइनलमा यी तामाङ दिदीभाईको जोडीलाई नै पराजित गरी दीपेशको जोडीले स्वर्ण जितेको थियो।
२७ मिनेट चलेको फाइनलमा शोभा र दीपेशको जोडीले २१–१४ र २१–१३ को सोझो सेटमा तामाङ दिदीभाईलाई पराजित गरेको थियो। जुन नेपाली ब्याडमिन्टनमा दोस्रो ठूलो सफलता समेत थियो। त्यसअघि भने तामाङ दिदीभाईले नै अघिल्लो वर्ष (२०७३) मा नेपाललाई सोही श्रृङ्खलामा ब्याडमिन्टनको पहिलो अन्तर्राष्ट्रिय स्वर्ण दिलाएका थिए।
दीपेश धामी
दीपेश धामी
‘प्रतियोगितामा बाई नपाएको म र मेरो पार्टनर (शोभा)ले मात्रै थियौँ,’ दीपेशले देशका लागि स्वर्ण जित्दाको क्षण सम्झे, ‘उक्त अन्तर्राष्ट्रिय श्रृङ्खला मेरो पहिलो थियो। पदक जित्नुभन्दा पनि राम्रो खेल्छु भन्ने थियो। मिक्स डबलमा स्वर्ण आउँछ भन्ने सोचेको थिइनँ, पुरुष एकल र डबलमा राम्रो चान्स थियो। पुरुष एकल र डबलमा चाहिँ हारियो। तर नसोचेको मिक्स डबल्समा चाहिँ पदक आयो।’
त्योसँगै दीपेशले हालसम्म पुरुष एकलमा ५ वटा स्वर्ण जितिसके। यसैवर्ष नेपालमा भएको योनेक्स सनराइज नेपाल इन्टरनेसनल सिरिजमा भने दीपेश र शोभाको जोडी मिक्स डबल्सको उपविजेता बनेको थियो।
०००
दीपेशलाई नेपाली ब्याडमिन्टनको शीर्ष स्थानमा पु¥याउन उनका बुबा (हरक धामी)को भूमिका महत्वपूर्ण छ। खेलप्रेमी बुबाले नै दीपेशलाई पहिलोपटक ¥याकेटसमाउन सिकाएका थिए।
महेन्द्रनगरको ऐठपुरमा प्राथमिक विद्यालयका क्रममा उनी फुटबल खेल्थे। त्यसैबेला ब्याडमिन्टनका प्रशिक्षक जयन श्रेष्ठको नियुक्ति महेन्द्रनगरमा भयो।
घरतिरका साथीभाईहरु पनि जयन गुरुसँग सिक्न जान थाले। बुबा हरक धामीले दीपेशलाई गुरुसँग आफ्नो छोरालाई पनि हेर्दिनुहोला भनि अनुरोध गरे। गुरुले ‘हुन्छ’ भनेपछि दीपेशको ब्याडमिन्टन प्रशिक्षण सुरु भयो।
‘५–६ कक्षामा पढ्दा सुरुमा कभर्डहल पुगेको थिएँ। सुरुका दिनमा अभ्यासमा मन लागे जान्थेँ, मन लागेन भने जान्थेन,’ दीपेशले सुरुवाती दिन सम्झे, ‘पछि गुरुले ‘तिमीमा राम्रो सम्भावना छ नियमित आउने गर’ भनेपछि भने रेगुलर अभ्यासमा जान थालेँ।’
त्यही क्रममा उनले पहिलो पटक चितवनमा राष्ट्रिय प्रतियोगिता खेले। त्यसबेला व्यावसायिक रुपमा खेल्नुभन्दा पनि ‘सबै साथीहरु गईरहेका छन्, घुम्न नि पाइन्छ, खेल्न नै पाइन्छ’ भनेर चितवन पुगेका थिए उनी। तर, पहिलो राउण्डमै पराजित भए। उक्त प्रतियोगितामा सिनियरहरुले मेडल पाउँदै खुशी मनाएको देखेपछि भने उनलाई पनि राम्रो तयारी गर्नुपर्ने रहेछ भन्ने लाग्यो।
कृष्णमोहन स्मृति खुला राष्ट्रव्यापी ब्याडिमन्टनको विजेता दीपेश र रसिला महर्जन
कृष्णमोहन स्मृति खुला राष्ट्रव्यापी ब्याडिमन्टनको विजेता दीपेश र रसिला महर्जन
दीपेशले त्यसपछि राम्ररी ब्याडमिन्टन सिक्ने इच्छा देखाए। छोराको ईच्छा अनुसार बुबा हरकले एसएलसी दिएपछि उनलाई भारतको हैदरावादको प्रशिक्षण केन्द्रमा भर्ना गराए। सुरुका दश दिन छोरो एक्लो पर्ला भनेर बुबापनि सँगै बसे। त्यसपछिको डेढ वर्ष हैदरावादमा दीपेशको एक्लो साथी बन्यो ब्याडमिन्टन।
‘हैदरावादमा म गुरुको घरमा बस्थेँ। गुरुसँगै बिहानै ४ बजे कोर्टमा जान्थेँ। बिहान र दिउसो दुईपटक मेरो प्रशिक्षण हुन्थ्यो। त्यसबाहेकको समय गुरुले अन्यलाई प्रशिक्षण दिनुहुन्थ्यो। म भने उनीहरुको प्रशिक्षण हेरेर बस्थेँ, अनि गुरुसँगै राति १० बजे घर फर्कन्थेँ,’ भारतमा अभ्यासको दुःख सम्झँदै उनले भने, ‘कहिलेकाहीँ त निकै गाह्रो लाग्थ्यो। अनि क्यालेन्डरमा डेटहरु काट्दै घर फर्कने दिन कुरेर बस्थँे।’
भारतमा पाएको कडा प्रशिक्षणले दीपेशको जग बलियो बनायो। त्यसबेला उनीहरुसँगै हैदरावादमा प्रशिक्षण लिनेहरुमा चेतन आनन्द, ज्वाला गुटा, अश्विनी पुनप्पा आदि थिए। उनीहरुले भारतलाई थुप्रै पदक समेत दिलाइसकेका छन्। आफ्नो अभ्यासबाहेकको समय उनीहरुको गेम हेरेर पनि दीपेशले धेरै कुरा सिके।
त्यहाँको प्रशिक्षणपछि नेपाल फर्किएका दीपेश नियमित राष्ट्रिय टोलीबाट देशको प्रतिनिधित्व गर्दै आएका छन्। उनले २०१४ मा भएको जुनियर ओलम्पिक तथा त्यसअघि जुनियर वल्र्ड च्याम्पियनसिप पनि खेलिसकेका छन्।
‘नेपालमा खेलकुदको भविष्य अझैपनि राम्रो छैन भनेर धेरै अभिभावकहरुले आफ्ना नानीहरुलाई यस क्षेत्रमा लगाउँदैनन्,’ आफूलाई परिवारको सदैव साथ रहेको बताउँदै दीपेशले भने, ‘मेरो परिवारले कहिले गेम नखेल भनेन। हार होस् या जित, जहिलेपनि खेल्नुपर्छ भनेर हौसाइरहनु भयो। उहाँहरुको साथले नै आज यहाँसम्म आइपुगेको छु।’
०००
राष्ट्रिय च्याम्पियन बनिसक्दा पनि दीपेश जस्ता खेलाडीहरुको भविष्य भने सुनिश्चित छैन। नेपाली खेलकुदमा पैसा नभएको पनि उनले बुझेका छन्।
दीपेश र शोभाको जोडी
दीपेश र शोभाको जोडी
‘पैसा कमाउँछु भनेर खेलेको छैन मैले’ हाल स्नातक अन्तिम वर्षमा अध्ययनरत उनले भने, ‘हो, सधैँ त खेल्न सकिदैँन। एकदिन विश्राम लिनुपर्छ। त्यसैले मैले खेलसँगै पढाईपनि अघि लगेर गएको छु। खेलसँगै पढाई पनि भएकाले पछि कसै न कसैले त लगि हल्ला नि भन्ने लाग्छ।’
अहिले पनि दीपेशले सबै कुरामा ‘एडजस्मेन्ट’ गरिरहेका छन्। एपीएफसँग आवद्ध उनीलाई एपीएफले मासिक पारिश्रमिक दिन्छ। त्यही रकमबाट नै आफ्नो खर्च चलाउनुका साथै अभ्यास सामाग्री किन्नुपर्ने स्थिति छ।
‘सबैकुरा एडजस्मेन्ट त हो नि!’ नौ महिनाअघि मात्रै एपीएफसँग अनुबन्ध भएका उनले भने, ‘म कहिलेकाहीँ मात्रै साथीभाईहरुसँग बाहिर निस्कन्छु। एपीएफको स्यालरी, गेम जित्दाको पैसा जोगाएर डाइट मेन्टन गरिरहेको छु।’

No comments:

Post a Comment