Saturday 14 March 2020

निर्प वड: खेलप्रेमी नगरप्रमुख

अघिल्लो साता धनगढीमा सम्पन्न तेस्रो संस्करणको लिटिल फ्लावर प्रिमियर लिगलाई देशव्यापी बनाउँदा आयोजनाको खर्च ह्वात्तै बढेको थियो।
स्थानीय विद्यालय लिटिल फ्लावर स्कुल र प्रतियोगिताकै लागि स्थापना गरिएको संस्कार क्रिकेट एकेडेमीलाई प्रतियोगिताको दायरा र खर्च बढेसँगै आगामी संस्करणले निरन्तरता पाउने हो कि होईन? भन्ने दोधार थियो।
दुई संस्करण क्षेत्रीय आयोजना गरिसकेपछि ग्रासरुट लेभलको क्रिकेट विकासका लागि आयोजकले तेस्रो संस्करणलाई देशब्यापी बनाएका थिए तर, आयोजकले अपेक्षा अनुरुप भने प्रायोजन सहयोग पाएन।
कारण, धनगढी मै देशकै ठूलो धनगढी प्रिमियर लिग(डीपीएल) र फुटबलमा ठूलो सुदूरपश्चिमाञ्चल गोल्डकप हुन्थ्यो। प्रायोजकहरु तिनहरुले नै बटुल्थे। साना प्रतियोगिताका लागि प्रायोजक पाउँन स्थानीयस्तरमा हम्मेहम्मे थियो।
अपेक्षा भन्दा निकै कम प्रायोजक पाएपछि संस्कार क्रिकेट एकेडेमीका अध्यक्ष रामचन्द्र शाहीलाई प्रतियोगिता कसरी सम्पन्न गर्ने र आगामी संस्करणलाई कसरी निरन्तरता दिने भन्ने चिन्ताले सताउँन थालेको थियो। त्यहीबेला धनगढीका नगरप्रमुखको एक वाक्यले उनको हौसला बुलन्द बनाईदियो।
फलस्वरुप शाहीले चौथो संस्करणलाई निरन्तरता दिनेमात्रै हैन् अझै ठूलो रुपमा गर्ने प्रतिबद्धता जनाइसके।
तेस्रो संस्करणको उद्घाटन समारोहका प्रमुख अतिथी समेत रहेका धनगढी उपमहानगरपालिकाका मेयर निर्प वडले मन्तव्यका क्रममा भने, ‘यहाँ हुने सम्पूर्ण खेल कार्यक्रमहरु धनगढीका सम्पत्ती हुन्। तिनीको अभिभावकत्व धनगढी उपमहानगरपालिकाले र नगरपिता भएको हैसियतले मैले लिन्छु।’
नगरप्रमुखको त्यही वाक्यबाट हैसिएका शाहीले भने, ‘सानो टिमले आजसम्म सक्दो प्रयास गरेका थियौं आगामी संस्करणलाई कसरी अगाडी बढाउँने भन्ने चिन्ता थियो तर नगरप्रमुखले नै अभिभावकत्व दिने भनिसकेपछि हामीलाई ठूलो हौसला मिलेको छ। आगामी संस्करणले निरन्तरता मात्र पाउने छैन् अझै भव्य रुपमा हुने प्रतिबद्धता जनाउँछौं।’
नगरप्रमुख वड बोलेनन् मात्रै प्रतियोगिताको विजेताको पुरस्कार पनि उपमहानगरपालिकाबाटै व्यवस्था गरिदिदैँ खेलप्रेमीको आफ्नो छविलाई प्रष्टाए। लिटिल फ्लावर प्रिमियर लिगमा नगर प्रमुखले देखाएका सद्भाव र सहयोग एक उदाहरणमात्रै हो। धनगढीमा हुने साना ठूलो जुनसुकै खेलका कार्यक्रममा पनि उनको उपस्थिती र सहयोग हुने गर्छ।
वडास्तरीय प्रतियोगिता हुदैँ डीपीएलसम्मका व्यवसायिक प्रतियोगिताहरुमा पनि वडको प्रत्यक्ष उपस्थिती साथ र सहयोग देखिन्छ। डीपीएललाई व्यवस्थित र दीर्घकालिन रुपमा अघि बढाउँन उपमहानगरपालिकाले यसवर्ष पाँच लाख बजेट छुटाएको छ।
खेल पयर्टनमा जोड
नगरप्रमुख वडले खेलकुदलाई धनगढी समृद्धीको आधार मानेका छन्। धनगढीलाई खेलकुदको हवका रुपमा विकास गर्नुपर्नेमा उनले जोड दिए।
‘वडास्तरीय खेल भएपनि हामी केही न केही अंश भएपनि सहयोग गरेर अघि बढेका छौं,’ खेलकुदलाई प्राथमिकता दिनुको कारण प्रष्टाउँदै नगरप्रमुख वडले भने, ‘हाम्रो छिमेकी टीकापुरमा टीकापुर पार्क छ, भीमदत्त नगरपालिकामा शुक्लाफाँटा छ तर धनगढीमा पर्यटकीयस्थल बनाउँन चाहेपनि छैन्। अन्यत्र क्षेत्रबाट आएका मानिसहरु एक दिन रहन पनि के गरेर बस्ने भन्ने अवस्था छ। यस्तो अवस्थामा प्रत्येक दिन कुनै न कुनै वडामा कुनै न कुनै खेल धनगढीमा भै राखोस् र आगन्तुकले मनोरञ्जन लिओस भन्ने हाम्रो चाहना हो। त्यसकारण हामीले सबैखाले खेल कार्यक्रमहरुलाई प्राथमिकता दिएर अघि बढिरहेका छौं।’
सुदूरपश्चिमका खेलाडीहरुले राष्ट्रिय प्रतियोगिताहरुमा पनि अब्बल प्रदर्शन गरिरहेको उदाहरण उनले पेश गरे। ‘हरेक राष्ट्रिय टिममा सुदूरपश्चिमकै खेलाडी छन्,’ उनले भने, ‘उनीहरुले हरेक खेलबाट यस क्षेत्रको नाम उँचो बनाइरहेका छन् भने हामीले किन उनीहरुको ग्रासरुट विकासमा सहयोग नगर्ने? भनेर खेलकुदमा लगानी गर्न कञ्जुस्याँई गरेका छैनौं।’
धनगढीमा हुने सम्पूर्ण खेलकुदका गतिविधिलाई स्थानिय संघसंस्था, व्यवसायीहरुले खुला दिलले सहयोग गर्न उनले अपिल गरे। ‘लिटिल फ्लावर प्रिमियर लिग, लिटिल फ्लावरको मात्रै हैन्, धनगढीले आयोजना गरेको प्रतियोगिता हो। एउटा प्रतियोगिताका कारण यहाँ चहलपहल बढेको छ, मानिसहरु भित्रिएका छन्। होटल व्यवसायको आम्दानी बढेको छ। हरेक क्षेत्रलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग पगेको छ भने हामी सबैले पनि यसलाई भव्यताका साथ सम्पन्न गर्न सहयोग गर्नुपर्छ।’
आफ्नो नगरभित्र रहेका सरकारी तथा सामुदायिक विद्यालयहरुमा अनिवार्य खेलकुदका क्रियाकलाप चलाउन आफूले निर्देशन दिइसकेको उनले बताए।
‘हिजो हामी पढ्दा हप्तामा प्रत्येक शुक्रबार प्रत्येक विद्यालयमा केही न केही खेलकुदको इभेन्ट हुन्थ्यो,’ वडले भने, ‘तर पछिल्लो समय त्यो हराउँदै गएको छ। विद्यालयहरुले कमसेकम एक अनिवार्य स्पोर्टस शिक्षकको व्यवस्था गर्न र हप्तामा एकदिन खेलकुद गर्न मैले निर्देशन दिइसकेको छु। त्यसले देशका लागि आवश्यक स्वस्थ्य युवा जन्माउन पनि मद्दत गर्छ।’
पीपीपी मोडलमा फाप्ला
नगरप्रमुख हुनुअघि वड धनगढी नगरपरिषद्का संयोजक थिए। त्यसबेला उनकै अग्रसरतामा धनगढीलाई ‘क्रिकेटको शहर’ घोषणा गरिएको थियो। धनगढीभित्र प्रस्तावित फाप्ला क्रिकेट मैदानले यस क्षेत्रको कायापलट गर्ने उनी बताउँछन्। त्यसका लागि निजी र स्थानिय साझेदारी(पीपीपी) मोडेलमा अघि बढ्नुपर्नेमा उनको जोड छ।
फाप्लाका लागि उपमहानगरपालिकाले यसवर्ष एक करोड बजेट छुटाएको छ। त्यसमा स्थानिय सरकारले पनि पाँच करोड बजेट छुटाएको छ।
आफूहरुको अवधारणा फाप्लालाई ‘स्पोर्टस भिलेज’का रुपमा अघि बढाउँनु रहेको वडले बताए। ‘मैले प्रदेशसँग मुख्यमन्त्री, अर्थमन्त्री, सामाजिक विकासमन्त्री पटकपटक बसेर फाप्लालाई पीपीपी मोडेलमा अघि बढाउँनुपर्छ भनेको छु,’ उनले भने, ‘राज्यले वार्षिक रुपमा ६ करोड रुपैयाँ लगाउने हो भने फाप्ला बनाउँन पचास वर्ष लाग्छ। एउटा संरचना बनाउँन पचासवर्ष लाग्नुलाई उपलब्धि मान्न सकिदैँन। त्यसैले स्थानिय निजी साझेदारीको अवधारणामा फाप्लाको काम फाष्ट ट्रायकबाट अघि बढाउँन मैले जोड दिएको हुँ।’Image may contain: 4 people, outdoor
धनगढी क्रिकेटका अभियान्ता तथा डीपीएल आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाही धनगढी क्रिकेटको विकासमा वडले प्रत्येक पाइलामा साथ दिएको बताउँछन्।
‘धनगढीलाई क्रिकेटको शहरका रुपमा अघि बढाउँने अवधारणामा उहाँको सदैव सकरात्मक साथ पायौं,’ शाहीले भने, ‘यहाँका सानाठूलो खेलकुदका कार्यक्रममा उपस्थित भएर होस् या वजेट विनियोजन गरेर सदैँव साथ दिनुभएको छ। उहाँजतिको खेलकुद प्रेमी मेयर पाएकै कारण धनगढीले देशकै ठूला प्रतियोगिताहरु आयोजना गर्न सम्भव भएको छ।’

No comments:

Post a Comment