Saturday 14 March 2020

पोखरामा पोखिएको इंग्ल्याण्डको अनुभव

क्रिकेटको लोकप्रिय वेबसाइट क्रिकइन्फोले इंग्ल्याण्डका क्रिकेटर पिटर ट्रेगोबारे पहिलो हरफमै लेखेको छ, ‘पिटर ट्रेगो इंग्ल्याण्डको प्रतिनिधित्व नगर्ने आफ्नो युगको सर्वश्रेष्ठ खेलाडीमध्येका एकका रुपमा चिनिन्छन्।’
क्रिकेटको जननी मानिने इंग्ल्याण्डको ‘काउन्टी क्रिकेट’ पहिलो श्रेणीको क्रिकेटमा गनिन्छ। इंग्ल्याण्ड र वेल्सका काउन्टी(प्रान्त)हरुले १८ औं शताब्दीबाट नै यो क्रिकेट खेल्न थालिसकेकाले विश्वमा यसको महत्व वेग्लै छ।
त्यही काउन्टी क्रिकेटमा सबैले चिनेको नाम हो, पिटर ट्रेग्रो। उसो त उनले इंग्ल्याण्डको यू–१९ टोलीमा समेत स्थान बनाएका थिए। तर, ९० को दशकमा राम्रो लयमा रहेका बेला सिनियर टोलीमा स्थान बनाउँन नसकेकाले क्रिकइन्फाले उनको बारेमा लेख्दा पहिलो हरफमै ‘इंग्ल्याण्डलाई प्रतिनिधित्व नगर्ने तर आफ्नो समयका सर्वश्रेष्ठ खेलाडीमध्येका एक’ भनेर लेख्नुपर्यो।
सन् २००० मा उनी इंग्ल्याण्डको यू–१९ टोलीले श्रीलंका भ्रमण गर्दा त्यसको सदस्य थिए। इंग्ल्याण्डको युवा टोलीले तीनवटा एकदिवसीय खेल खेल्दा उनले अर्धशतक प्रहार गर्नुका साथै चारविकेट समेत चट्काएका थिए। यस्तै युवा टोलीले सोही भ्रमणका खेलेको एउटा टेस्टमा उनको नाममा ९० रन थियो।
तर, एक से एक प्रतिभाशाली खेलाडी भएको र तीव्र प्रतिस्पर्धा रहेको इंग्ल्याण्डमा ट्रेग्रोले आफ्नो यात्रालाई यू–१९ टोलीभन्दा अघि बढाउन सकेनन। काउन्टी क्रिकेटमा भने सधैँ उनको प्रदर्शन अब्बल दर्जाकै रह्यो।
काउन्टीसहितका प्रथम श्रेणीका २ सय १७ खेल खेल्दा उनले साढे नौ हजार रन बनाउनुले पनि त्यो प्रमाणित गर्छ। यस्तै हाल ३७ वर्षिय उनले लिस्ट ए मा पनि एक सय ८७ खेलको एक सय ६५ इनिङ्सबाट साढे चारहजार रन बटुलेका छन्।
लिस्ट ए कै कुरा गर्ने हो भने नेपाली खेलाडीहरु त्यसको आसपासमा पनि पर्दैनन्। कप्तान पारस खड्काले पनि भर्खरै ३७ लिस्ट ए खेलहरुबाट १२ सय रन जोडेका छन्।
डेढ दशक बढी व्यवसायिक क्रिकेट खेलेका तीनै ट्रेग्रो यतिबेला पोखरा प्रिमियर लिगमा एक्स्पर्ट धनगढी ब्लुजबाट खेलिरहेका छन्। र, आइतबार उनले आफ्नो अनुभव पोखरा रंगशालास्थित क्रिकेट मैदानमा नेपाली खेलाडीहरु माझ देखाए।
शनिबार पहिलो खेलमा काठमाडौं रोयल्ससँग पराजित भएको धनगढीलाई आइतबार विराटनगर टाइटन्सविरुद्ध जितको खाचोँ थियो। हारको अर्थ टोलीलाई प्रतियोगितामा रही रहन आगामी तीन खेल जित्नै पर्ने दबाब आउथ्यो।
त्यो दबाबबाट मुक्ति पाउन पिटरको टोली धनगढीलाई विराटनगरविरुद्ध जित आवश्यक परेको हो। बिहान ओसिलो पीचमा ब्याटिङ गर्न समस्या हुने भएकाले कुनैपनि टोलीले टस जितेर बलिङ रोज्छ। विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर त्यही गरे। अर्थात टस हार्दै धनगढीले ओसिलो पीचमा ब्याटिङको निम्तो पायो।
‘बिहान पीच ओसिलो थियो,’ धनगढीका कप्तान दीपेन्द्रसिंह ऐरीले खेलको योजना सुनाउँदै भने, ‘त्यसअनुसार विकेट बचाएर खेल्ने योजना बनाएका थियौं। योजनाअनुसार नै ट्रिग्रोले खेल्दा पहिलो जित सम्भव भयो। उनीसँगको मेरो साझेदारीले पनि हामीलाई ठूलो स्कोरतर्फ डोर्यायो।’
आफ्नो ५३ रनको इनिङ्समा कुनस्थितीमा कसरी ब्याटिङ गर्नुपर्छ? ट्रिग्रोले नेपाली ब्याट्सम्यानहरुलाई मज्जैले सिकाए। ओपनर इंग्ल्याण्डकै डेविड लोरेन्स तेस्रो अ‍ोभरमा नै आउट भएपछि क्रिजमा आएका पिटरले पीचको व्यवहार अन्तिमसम्म डटेर खेले।
कमजोर बलमा बाउन्ड्री लगाए भने राम्रो बललाई सम्मान दर्शाए। चौथो ओभर लिएर आएका सुनिल धमलाको पहिलो दुई बलमा डट खेल्दै तेस्रो बलमा उनले एक रन लिए। चौथो बलमा क्रिजमा आएका सन्दीप सुनारलाई धमलाले सहाब आलमको हातबाट क्याच गराए। धमलाले पाँचौ बल कमजोर फाले, भर्खरै विकेट गएपनि पिटरले त्यसबलमा छक्का प्रहार गरे। छैटौं बलको लाइन एण्ड लेन्थपनि बिर्सिएका धमलालाई पिटरले चौका उपहार दिए।
उनका अर्कातर्फ आउने नेपाली ब्याट्सम्यानहरु विकेट अनुसार खेल्न नसक्दा एकपछि अर्को गर्दै पवेलियन फर्किरहेका थिए। दीलिप नाथ, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा तथा मन्जित श्रेष्ठले अर्कातर्फबाट विकेट गएपनि पिटरलाई त्यसले असर पुर्याएन। उनले विकेट बुझ्दै दबाबमा नआएर खेल्दै गए।
उनको खेल देखेपछि नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमटाले ब्याटिङको प्रंशशा गर्दै उनीबाट नेपाली खेलाडीहरुले पनि सिक्नुपर्ने बताए।
‘विदेशी खेलाडीहरुले कन्डिसन बुझ्दै एक दुई ओभर आफू सेट भइसकेपछि पारी अघि बढाउँदै रन जोडेका छन्,’ आइतबार पिटरको खेल हेरिसकेपछि उनले भने, ‘सबै टिममा राम्रा नेपाली खेलाडीहरु नभएका हैनन्। तर उनीहरु उनीहरुले इनिङ विल्डिङ गर्न सकिरहेका छैनन्। एक बाउन्ड्री हान्यो आउट, अर्को बाउन्ड्री हान्यो आउट भईरहेको छ। यसरी क्रिकेट खेलिदैँन। टी–२० भन्दैमा हरेक बलमा बाउन्ड्री नै हान्छु भन्ने मानसिकता त्याग्नुपर्छ। नेपाली खेलाडीहरुले यस्तै प्रतियोगिताहरुमा आउने राम्रा विदेशी खेलाडीहरुबाट आवश्यकता अनुसार खेल्न सिक्नुपर्ने हो।’
प्रशिक्षक टमटाले भनेजस्तै पिटरले आफ्नो इनिङ्समा आक्रामकता नदेखाएर नै रन जुटाए। ५३ मध्ये २१ रन उनले दौडेरै लिएका थिए। सुनिल धमलालाई लगातार छक्का र चौका हानेपछि पिटरले एकदुई रनलिदैँ पारी अघि बढाए। अर्कातर्फ आक्रामक खेलिरहेका कप्तान दीपेन्द्रलाई साथ दिए। पिटरले तेस्रो ओभरका लागि दीपेन्द्रसँग गरेको ६० रनको साझेदारी धनगढीको जितको आधार बनेको थियो।
‘इंग्ल्याण्डको कन्डिसनबाट आएर यहाँ खेल्नु चुनौतीपूर्ण नै थियो,’ खेलपछि पिटरले भने, ‘यहाँको कन्डिसन फरक थियो। मलाई पनि यस कन्डिसनमा घुलमिल हुन समय लाग्यो। यहाँको पीच स्पिनलाई सहयोग पुग्ने खालको छ। नेपालमा स्पिनरहरु राम्रा छन्। विकेटको व्यवहार बुझ्दै इनिङ्स अघि बढाएर अर्धशतक प्रहार गर्न सक्दा खुशी लागेको छ।’
पोखरा आउनुअघि पिटरलाई नेपाली क्रिकेटका बारेमा खासै ज्ञान रहने छ। ‘यहाँका केही क्रिकेटरहरुसँग राम्रो सम्बन्ध थियो,’ उनले नेपाल आइपुग्नुको कारण खुलाउँदै भने, ‘उनीहरुले बोलाएपछि म पनि आए। इमान्दारिताका साथ भन्दा नेपाली नेपाली क्रिकेटबारे मलाई त्यति जानकारी थिएन। एसोसिसट राष्ट्रको क्रिकेट भने राम्रो हुदैँ गइरहेको सुनेको छु। यहाँको क्रिकेट हेरेपछि लाग्यो नेपाल जस्ता देशको क्रिकेट भने अझै राम्रो राम्रो हुदैँ जानेछ।’
विराटनगरका कप्तान सन्दीप लामिछानेको बल खेल्न पाउँदा उनी दंग थिए। यस्तै धनगढीका कप्तान दीपेन्द्रसिंह ऐरीको अलराउण्ड प्रदर्शनको उनले प्रशंशा गरे।
‘नेपालका लागि पहिलो विदेशी लिग खेल्ने खेलाडी सन्दीपको बल खेल्न पाउँदा निकै खुशी लाग्यो। उनमा अविश्वसनीय प्रतिभा छन्। उनले आइपीएलमा जस्तै विगबासमा पनि राम्रो गर्न सकुँन,’ पिटरले भने, ‘दीपेन्द्रमा पनि प्रतिभाको कुनै कमी छैन। उनले पहिलो खेलमा अर्धशतक प्रहार गरेका थिए। बलिङ राम्रो छ अनि गज्जबको फिल्डङ पनि गर्छन्। नेपाली खेलाडीहरु क्रिकेट खेल्न इन्ज्वाय गर्छन्। उनीहरुको राम्रो टिम स्प्रिट छ। कडा मेहनत गर्छन्। नेपाली खेलाडीले विश्वमञ्चमा अझै राम्रो मौका पाउने आशा छ।’

No comments:

Post a Comment