Saturday 14 March 2020

मोहम्मद सलाह: दैनिक १० घन्टे कष्टकर यात्रा हुँदै विश्वकपसम्म

इजिप्टको नाइल नदीको काखमा रहेको नागरिग गाउँका बालकहरुलाई उनीहरुको जीवनको लक्ष्य सोधियो भने प्रायः सबैले एउटै जवाफ दिन्छन्, मोहम्मद सलाह जस्तो स्टार फुटबलर बन्ने। जो अहिले प्रिमियर लिग र अफ्रिकाका सर्वोत्कृट खेलाडी हुन्।
सलाह त्यही गाउँका निवासी हुन्। उनले २०१७–१८ को सिजनमा विश्वकै सर्वाधिक दर्शकले हेर्ने इङ्लिस प्रिमियर लिगमा सनसनी मच्चाए। लिभरपुलबाट ३८ खेल खेल्दै ३२ गोल गरेका उनले सर्वाधिक गोल गर्दै गोल्डेन बुट पनि जिते।
उनको अब्बलता गोलमा मात्र देखिएन। उनको खेल्ने शैलीबाट प्रशिक्षक, सहकर्मी र विपक्षी टोलीका खेलाडी पनि कायल थिए। फलस्वरुप खेलाडीको भोटबाट जितिने ‘प्रोफेसनल प्लेयर्स एसोसियसन’ अवार्ड पनि सलाहकै पोल्टामा रह्यो।
तर रियल म्याड्रिडविरुद्ध च्याम्पियन्स लिगको फाइनलमा काँधमा चोट बोकेपछि भने उनी विश्वकपसम्म हुने हुन कि हैनन् भन्ने सर्वत्र चासो छ। इजिप्टको मात्र होइन, विश्वभरका सलाहका प्रसंशक उनी चाँडै निको होऊन् र विश्वकप खेलुन् भनेर प्रार्थना गरिरहेका छन्।
सलाहमा टिकेको इजिप्टको आशा
रुस विश्वकपमा इजिप्टलाई २८ वर्षपछि छनोट गराउन सलाहको भूमिका सशक्त थियो। उनले टोलीबाट सर्वाधिक ५ गोल गरेका थिए। कंगोविरुद्धको अन्तिम निर्णायक खेलमा २–१ को जित निकाल्दै इजिप्ट १९९० पछि पहिलोपटक विश्वकपमा छनोट भएको थियो। उक्त खेलका दुवै गोल सलाहले गरेका थिए। खेल १–१ को बराबरीमा रहेको बेला अन्तिम मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै उनले इजिप्टलाई रुसको यात्रा तय गराएका थिए।
लामो प्रतीक्षापछि विश्वकपमा आफ्नो देशको प्रतिनिधित्व पाइरहेका इजिप्टबासीले यसपटक सलाहको उपस्थितिसँगै प्रभावशाली प्रदर्शनको अपेक्षा राखेका छन्।
राष्ट्रिय टोलीमा सलाहको उपस्थितिको अर्थ दुई कारणले महत्वपूर्ण रहेको खेल विश्लेषक यासिर आयुब प्रस्ट्याउँछन्। ‘पहिलो त उनको प्रदर्शन, उनले गरेका गोल अनि उनको उत्कृष्ट लय नै हो। अर्को सलाह टोलीमा भएपछि विपक्षी टोलीलाई पनि त्यसको दबाब पर्छ। धेरै टोलीले आफ्नो उर्जा उनलाई रोक्नमा खर्चने छन्। तर सलाह नभए विपक्षी टोलीले ठूलो खेलाडी नभएको भन्दै इजिप्टमाथि धावा बोल्न सक्छन्।’
सलाह खेल्ने नखेल्ने निश्चित छैन। यद्यपि सोमबार घोषित इजिप्टको टोलीमा उनको नाम छ। प्रिमियर लिगमा सनसनी मच्चाएका सलाहका लागि विश्वकप भने नयाँ अनुभव हुनेछ।

प्रिमियर लिगकै लय विश्वकपमा पनि सलाहले देखाउन् भन्ने चाहना उनका देशबासीको छ। प्रिमियर लिग र विश्वकप फरक मञ्च हुन्। राष्ट्रिय टोलीमा सलाहका सहकर्मीहरु भिन्न छन्। इजिप्टमा सलाहलाई फरवार्डमा मोहम्मद हसन र मोहम्मद अब्दिल मोनियनले साथ दिनेछन्। हसन टर्किस क्लबसँग आवद्ध भएर खेल्ने गर्छन् भने अब्दिल साउदी अरेबियाको क्लबबाट खेल्छन्।
टोलीमा २१ वर्षे मिडफिल्डर रामादिन सोब्बीले भने प्रिमियर लिगको अनुभव लिएका छन्। टोलीमा मिडफिल्डरको भूमिकामा देखिने उनले स्टोक सिटीबाट खेल्दै २ गोल पनि गरेका छन्। यस्तै डिफेन्डरहरु अहमद हेगाजी, अली जबर मिडफिल्डका मोहमद इलनिनीले पनि प्रिमियर लिगको अनुभव लिइसकेका छन्। यस्तोमा बलियो समूहमा रहेको इजिप्टलाई उनीहरुले कसरी अगाडि लैजान्छन्, त्यो हेर्न सबै प्रतीक्षारत छन्।
इजिप्ट यसअघिका विश्वकपमा समूह चरणबाट अघि बढ्न सकेको छैन। यस विश्वकपमा पनि बलियो समूहमा इजिप्ट परेको छ। समूह ए मा रहेको इजिप्टले पहिलो खेलमा जुन १५ मा उरुग्वेको सामना गर्दैछ। त्यसपछि आयोजक रुससँग जुन १९ मा र साउदी अरबसँग जुन २५ मा खेल्दैछ।
दैनिक १० घण्टाको कष्टकर यात्रा हुँदै विश्वकपको यात्रा
नागरिग युवा क्लबबाट ८ वर्षको उमेरमै सलाहले फुटबलसँग साइनो गाँसेका थिए। सलाहलाई प्रशिक्षण दिएका क्लबका जुनियर प्रशिक्षक घाम्री अब्देल हमिद भन्छन्, ‘उनको जन्मजात प्रतिभा त सुरुवाती दिनमै देखिएको थियो। तर उनले जन्मजात प्रतिभाबाट मात्रै सफलता हात पारेका चाहिँ होइनन्। उनको दृढ संकल्प, आत्मविश्वास र नियमित प्रयासले मात्रै सम्भव भएको हो।’
गाउँमै फुटबलको कखरा सिकेपछि थप प्रशिक्षणका लागि सलाह १४ वर्षको उमेरमा राजधानी कायरोको अरब कन्ट्रयाक्टर्स क्लबमा प्रशिक्षण लिने निर्णयमा पुगे। गाउँबाट क्लबसम्म पुग्न उनले गरेको संघर्ष निकै कष्टप्रद थियो। आवतजावतमा मात्र उनको दैनिक १० घण्टा खर्च हुन्थ्यो।
नागरिग गाउँका मेयर तथा सलाहका आफन्त समेत रहेका महेर सातिय्या अहिलेपनि उनको उक्त संघर्ष सम्झिन्छन्, ‘नागरिगदेखि बोस्योन, त्यसपछि अल्घरबिया प्रान्तको राजधानी टान्टाको बस, त्यहाँबाट कायरो शहरका लागि बस र त्यसपछि बल्ल क्लब रहेको नासर शहरका लागि अर्को बस सलाहले समात्थे। बाटो पनि राजमार्ग होइन। गाउँको भत्केको, बिग्रेको खाल्डैखाल्डो भएको सडकमा हप्तामा उनी पाँच दिन दैनिक १० घण्टा यात्रा गर्थे। ती सडकमा बसको घच्याकघुचुकले मान्छेले कहिल्यै शान्तिपूर्वक यात्रा गर्न पाउँदैन थिए। एक अर्थमा त्यो यातनाको यात्रा थियो।’
कष्टकर दैनिक यात्रा गरेपनि प्रशिक्षणमा जान सलाहले कहिलै नाइँनास्ती गरेनन्। आफ्नो संघर्षका दिन सम्झिँदै एक अन्तर्वार्तामा उनले भनेका छन्, ‘मैले प्रशिक्षणमा जानका लागि स्कुल पनि छिटो छोड्नुपथ्र्यो। म बिहान ७ बजे स्कुल जान्थेँ र ९ बजे नै स्कुलबाट निस्किन्थे। मैले स्कुलमा विदाका लागि निवेदन पनि दिएको थिएँ। बिहान ९ बजे हिँडेको म बल्ल २ बजे बल्ल क्लब पुग्थेँ।’
अफ्रिकी युवाहरु आफन्तको सुझाव, राष्ट्रिय खेलाडीहरुबाट पाएको प्रेरणा तथा गरिबीबाट मुक्त हुने चाहनाका कारण फुटबलको सपना देख्ने गर्छन्। सलाह भने आफ्ना बुबा अलाह घालीको मुहारमा मुस्कान ल्याउन फुटबलमा आएका थिए।
बुबा घालीले पनि सधैँ सलाहलाई साथ दिइरहे। सँधै उनले राम्रो फुटबलर बनेर इच्छा पूरा गरोस् भन्ने उनको चाहना थियो। समय पाउनेबित्तिकै घाली आफैँले छोरालाई प्रशिक्षणमा लिएर जान्थे र पूरै समय उनको प्रशिक्षण हेर्थे।
सलाहका आदर्श खेलाडी भने मोहम्मद अबु तिर्का हुन्, जो इजिप्टका एक महान खेलाडी थिए। उनले चारपटक अफ्रिकाको सर्वाेत्कृष्ट खेलाडीको अवार्ड जित्नुका साथै दुई पटक इजिप्टलाई अफ्रिका कपको उपाधि पनि दिलाएका थिए।

सलाहलाई यु–२० उमेर समूहमा प्रशिक्षण दिएका डिया इल सैयदका अनुसार उनी अबु तिर्काले खेलेको भिडियो हेर्ने र उनको सिको गर्ने प्रयास पनि गर्थे। प्रशिक्षणका क्रममा पनि उनी अन्य साथीहरुलाई व्यवसायिक खेलाडी भनेको तिर्का जस्तै हुनुपर्छ भन्ने गर्दथे।
२०१२ मा भएको लण्डन ओलम्पिकमा सलाह पहिलो पटक अन्तराष्ट्रिय खेलाडीको रुपमा उदाएका थिए। ओलम्पिकमा सलाहले परिपक्व खेल पस्केपछि उनलाई ‘उत्कृष्ट अफ्रिकी खेलाडी–२०१२’ को अवार्ड दिइयो। जुन उनको जीवनको ठूलो घुम्ती बन्यो।
ओलम्पिक लगत्तै उनलाई स्वीस क्लब बासेलले अनुबन्धित गर्यो। त्यहाँ २ वर्ष बिताएपछि इङ्लिस क्लब चेल्सीले उनीसँग अनुबन्ध गर्यो। चेल्सीमा उनको प्रदर्शन गतिलो हुन सकेन। चेल्सीको मुख्य टोलीमा पनि उनले धेरै मौका पाएनन्। त्यसपछि उनी ऋणमा इटालीको फिओरिन्टिना गए। त्यहाँपनि अपेक्षा अनुरुप खेल्न नसकेपछि २०१५ मै रोम गए। त्यहाँ भने उनले अद्भूत प्रदर्शन गरे। लिगमा मात्रै २९ गोल गरे। उनको चर्चा चुलिन थाल्यो।
लिभरपुल आएपछि महिनैपिच्छे कीर्तिमान
लण्डन ओलम्पिकमा सलाहको प्रभावशाली प्रदर्शन देखेपछि लिभरपुलका स्पोर्टिङ डाइरेक्टर माइकल एडवार्डले उनलाई पछ्याइरहेका थिए। रोममा उत्कृष्ट प्रदर्शनपछि भने सलाहलाई भित्र्याउने सही समय आएको भन्दै एडवार्डले प्रशिक्षक योर्गन क्लोपलाई मनाए र २०१७ को जुनमा४३ मिलियन पाउण्डको सम्झौतासहित सलाहको प्रिमियर लिगमा पुनरागमन भयो।
वाट्फोर्डविरुद्ध अगष्टमा डेब्यु गोल गर्दै २०१७–१८ को सिजन सुरुवात गरेका सलाह त्यसपछि कहिल्यै रोकिएनन्। यस सिजनमा लिभरपुलबाट ५२ खेलमा उनले ४४ गोल गरिसकेका छन्। जुन डेब्यू सिजनमा लिभरपुलका खेलाडीले गरेको सर्वाधिक गोलपनि हो।
लिभरपुलमा जुन महिनामा आवद्ध भएका सलाहले त्यसपछिका महिनाहरुमा भने लगातार कीर्तिमान कायम राख्दै गए।

मोडरिच: युद्धकाे त्रासबीच पन्चर बलले अभ्यास गर्थे

गम्भीर प्रतिकूल अवस्था सामना गरे पनि क्रोएशियाका कप्तान लुका मोडरिच विश्व फुटबलका स्टार बनेका छन्।
६ वर्षका हुँदा मोडरिचका प्यारा हजुरबुबालाई आतंकवादीले गोली हानी मारेका थिए। उनले युद्धग्रस्त आफ्नै मुलुकमा शरणार्थीको जीवन बिताउनु परेको थियो।
तर त्यस्तो विषम परिस्थितिमा पनि विश्वको एक उत्कृष्ट खेलाडी बन्ने उनको अाकांक्षालाई कसैले रोक्न सकेन। अहिले ३२ वर्षको पुगेका मोडरिच विश्वकै फुटवल सुपरस्टारमध्येका एक हुन्।
डिसेम्बर १९९१, बाल्कन युद्धको समय। हिंसक सर्बियन मुलुकका आतंककारीहरुले मोडरिकी गाउँमा महला गरे। त्यसक्रममा पाँच स्थानीयहरुसँगै आतंककारीहरुले मोडरिचका हजुरबुबाको पनि हत्या गरिदिए। अन्यले पनि गाउँ छाडेर नगए यसरी नै हत्या गरिदिने सन्देश दिन आतंककारीहरुले मोडरिचका हजुरबुबा हित अन्य ५ स्थानियवासीको हत्या गरेका थिए। त्यो हत्याले भविष्यका रियल म्याड्रिडका चर्चित मिडफिल्डरका हजुरबुबालाई सधैँका लागि टाढा बनायो।
मोडरिचले अाफ्ना हजुरबुबासँग बाल्यकाल बिताएको घर अातंककारीहरुले जलाइदिएका थिए
मोडरिचले अाफ्ना हजुरबुबासँग बाल्यकाल बिताएको घर अातंककारीहरुले जलाइदिएका थिए
बुबा स्टिपी र आमा रोडोज्की घरायसी आर्थिक अवस्था सुदृढ बनाउन कपडा उद्योगमा काम गर्न जान्थे। घन्टौँ समय त्यहाँ बिताउँथे। मोडरिच भने दिनभर हजुरबुबासँग समय बिताउँथे। उनको लालनपालनको सम्पूर्ण जिम्मा तीनै हजुरबुबाले काँधमा थियो। तर, तिनै हजुरबुबाको हत्याले मोडरिचको परिवारलाई गम्भीर क्षति पुर्यायाे।
हजुरबुबाको हत्यापछि मोडरिचको परिवार मोडरिकी गाउँबाट बिस्थापित हुन बाध्य भयो र जादिर शहरमा अवस्थित एक होटलमा शरणार्थीको रुपमा रहन थाल्यो। युद्धका कारण त्यहाँ पनि छिनछिन गोला र बारुदको आवाज सुनिन्थ्यो। बिजुली र पानीको अभावका बीच मोडरिच र उनकी बहिनी जस्मिनाले बाल्यकाल बिताए।
उनी जन्मिएको मोडरिची गाउँ, पछि उनको परिवार यहाँबाट विस्थापित हुँदै जादर पुगेको थियो
उनी जन्मिएको मोडरिची गाउँ, पछि उनको परिवार यहाँबाट विस्थापित हुँदै जादर पुगेको थियो
तर, अभाव र विषम परिस्थितिले पनि मोडरिचको फुटबलसँगको साइनो भने छुटाउन सकेन। युद्धग्रस्त जीवनबाट छुटकरा पाउने सपना साँच्दै उनी होटलको कार पार्किङ एरियामा पन्चर बललाई लात्तले हिर्काउदै फुटबल प्रशिक्षण गर्थे।
त्यस्तै बमबारुदको आवाज र विषम परिस्थिति चार पटक च्याम्पियन्स लिगको उपाधिको स्वाद चाखिसकेका मोडरिचकोे जीवनको रौ ठाडोँ पार्ने कथाको मुख्य हिस्सा बनेको छ। उनको लगातारको समर्पण र दृढताले भयानक त्रासदीपूर्ण जीवनबाट पनि छुटकरा दिलाइसकेको छ।
लुका मोडरिचले कष्टपूर्ण बाल्यकालको सामना गरेका थिए
लुका मोडरिचले कष्टपूर्ण बाल्यकालको सामना गरेका थिए
२००८ मा इङ्लिस क्लब टोट्नह्याम हट्सपरसँग सम्झौता हुनुअघि उनले आफ्नो बाल्यकालको संघर्षका बारेमा केही बोलेका थिएनन्। तर, सम्झौताको दिन भने उनले आफ्नो त्रासदीपूर्ण बाल्यकालको पर्दा उघारे।
‘जब युद्ध सुरु भयो, हामी शरणार्थी बन्यौँ, त्यो समय साँच्चिकै कष्टपूर्ण थियो’ मोडरिचले भनेका थिए, ‘म ६ वर्षको थिएँ, ती दिनहरु अझैपनि मेरा आँखामा घुमिरहन्छन्। ती त्यस्ता दिन थिए, जसलाई कसैले पनि सम्झन चाहँदैन।’
मोडरिचीबाट विस्थापित भएपछि मोडरिच अाएर बसेको शहर, जादर
मोडरिचीबाट विस्थापित भएपछि मोडरिच अाएर बसेको शहर, जादर
‘हामीले एक होटलमा वर्षौँसम्म शरणार्थी जीवन बितायौँ’ उनले सम्झिए, ‘हामीले आर्थिक उपार्जनको लागि निकै संघर्ष गर्नुपरेको थियो। तर, म सधैँ फुटबललाई मायाँ गर्थे। म मेरो पहिलो खुट्टाको प्याडलाई अझै सम्झन्छु, जसमा ब्राजिलका रोनाल्डोको तस्वीर थियो, म त्यसलाई खुब सम्हालेर प्रयोग गर्थेँ।’
‘युद्धले मलाई मानसिक रुपमा अझै बलियो बनायो’ उनी भन्दै गए, ‘म र मेरो परिवारका लागि त्यो समय निकै कष्टपूर्ण थियो। म ती यादहरुलाई आफूसँग राख्न चाहँदिन। तर ती पलहरुलाई म बिर्सन पनि सक्दिन।’
परिवार र जीवनमा जस्तो घटना भए पनि उनी मानसिक रुपमा बलिया थिए। त्यही कारण मोडरिकले करिअरमा सफलता हात पार्दै गए। विश्वकपको अन्तिम १६ मा डेनमार्कविरुद्धको खेलमा मोडरिकको प्रदर्शन त्यसको एउटा प्रमाण हो। पेनाल्टी चुकेपनि उनले हिम्मत हारेनन्। पेनाल्टी सुटआउटमा धकेलिएको खेलमा पुनः निर्णायक पेनाल्टी परिणत गर्दै उनले टोलीलाई क्वार्टरफाइनलमा पुर्याए।
सुरुवाती करिअर
फुटबल प्रशिक्षणका लागि उनी विभिन्न प्रशिक्षककहाँ पुग्थे। १० वर्षका मोडरिक शारीरिक रुपमा कमजोर र लजालु देखिने भएकाले धेरैले फुटबलमा फिट नहुने प्रतिक्रिया दिन्थे। राम्रो पौष्टिक आहार नपाएका र कैयन दिन भोकै बिताउनु परेकाले उनको शरीर कमजोर देखिन्थ्यो।
जादरमा हुर्कदै गर्दा स्थानिय क्लबहरुमा उनले वाहीवाही बटुलेका थिए
जादरमा हुर्कदै गर्दा स्थानिय क्लबहरुमा उनले वाहीवाही बटुलेका थिए
परिवारको सहयोगमा स्थानीय जादर क्लबमा उनी प्रशिक्षणका लागि गए। त्यहाँ उनले क्लबका मुख्य प्रशिक्षक तोमिस्लाभ बासिकबाट प्रशिक्षणको मौका पाए। तिनै तोमिस्लाभलाई मोडरिकले आफ्नो ‘स्पोर्टिङ फादर’ मान्दै आएका छन्।
मोडरिचको मेहनत र प्रतिभा चिन्दै तोमास्लाभले उनलाई १६ वर्षको उमेरमा क्रोएशियाको सफलमध्येको एक क्लब डिनामो जाग्रिबमा प्रशिक्षणको व्यवस्था मिलाईदिए, सन् २००१ मा। एकवर्षको प्रशिक्षणपछि मोडरिच यूरोपको दक्षिणी–पूर्वी देश बोसनिया एन्ड हार्जिगोभिनाको उच्च डिभिजन क्लब ज्रिनजिस्की मोस्टारसँग ऋणमा आवद्ध भए।
मोडरिचले अाफ्नो फुटबल शिक्षा क्रोएशियन क्लब डिनामो जाग्रिबबाट सुरु गरेका हुन्
मोडरिचले अाफ्नो फुटबल शिक्षा क्रोएशियन क्लब डिनामो जाग्रिबबाट सुरु गरेका हुन्
आफ्नो प्रतिभाशाली खेल कौशल प्रस्तुत गर्दै मोडरिचले त्यही सिजनमा त्यहाँको ‘प्रिमियर लिग प्लेयर अफ द इअरको अवार्ड’ जिते। अर्कोवर्ष उनी क्रोएशिया फर्के र उच्च डिभिजनको क्लब इन्टर जापेरिसिकसँग अनुबन्धित भए।
एक सिजन त्यहाँबाट खेल्दै उनले टोलीलाई क्रोएशिन पहिलो डिभिजनको लिगको उपविजेता बनाए। साथै आफूले पनि क्रोएशियन ‘फुटबल होप अफ द एअर २००४’ अवार्ड जिते।
व्यावसायिक सम्झौता
सन् २००५ मा १० वर्षे सम्झौता गर्दै उनी पुनः डिनामो जाग्रिब फर्के। यो उनको पहिलो व्यवसायिक सम्झौता थियो। उक्त सम्झौताबाट आएको पैसाले उनले जादरमा आफ्नो परिवारका लागि एउटा फ्ल्याट किने। त्यसपछि उनको परिवार शरणार्थी जीवन त्याग्दै त्यही फ्ल्याटमा स¥यो।
पहिलो सिजनमै डिनामोको पहिलो रोजाईको टोलीमा पर्न सफल उनले ३१ खेलबाट ७ गोल गर्दै क्लबलाई राष्ट्रिय च्याम्पियन बनाउन सघाउ पुर्याए। सन् २००६–७ को सिजनमा पनि डिनामाले पुनः लिग जित्यो। त्यसवर्ष उनले वर्षको उत्कृष्ट खेलाडीको अवार्ड जिते।
सर्बियन सेनाहरुका कारण धेरै कोएशियालीहरुले अाफ्नो गाउँ छाडेर जानुपरेको थियो
सर्बियन सेनाहरुका कारण धेरै कोएशियालीहरुले अाफ्नो गाउँ छाडेर जानुपरेको थियो
चार वर्ष डिनामोमा बिताएका उनले ३१ गोल आफै गरे भने २९ गोलमा सहायकको भूमिका निर्वाह गरे। उनकै उत्कृष्ट प्रदर्शनमा २००७–०८ को सिजनमा डिनामोले क्रोएशियन कपको उपाधि जित्दा दोस्रो स्थानको क्लब भन्दा २८ अंकको अग्रता हासिल गरेको थियो।
प्रिमियर लिग हुदैँ ला लिगा
एकपछि अर्को सिजनमा डिनामोमा उत्कृष्ट प्रदर्शन गर्दै गएपछि मोडरिकलाई विभिन्न ठूला यूरोपियन क्लबहरुबाट प्रस्ताव आउन थाल्यो। बार्सिलोना, आर्सनल, चेल्सी, टोट्नह्याम हट्सपुर लगायतको प्रस्ताव उनीकहाँ पुगेको थियो।
तर, मोडरिक भने २००८ मा १६.५ पाउन्डमा ६ वर्षका लागि टोटनह्याममा आवद्ध भए। उक्त रकम त्यसअघि २००७ मा क्लबले सबैभन्दा महंगो खेलाडीका रुपमा भित्र्याएका इंग्ल्याण्डका डारिन बेन्टलाई तिर्दाको रकमसँग बराबरी थियो।
टोट्नह्याम हट्सपुरमा उनी उत्कृष्ट खेलाडी कहलिए
टोट्नह्याम हट्सपुरमा उनी उत्कृष्ट खेलाडी कहलिए
टोट्नह्यामबाट १ सय २७ खेल खेल्दै चार सिजन बिताएपछि २०१२ मा उनी पाँच वर्षे सम्झौतामा ला लिगा क्लब रियल म्याड्रिड पुगे। म्याड्रिडले उनलाई ३० मिलियन पाउन्डमा अनुबन्ध गरेको थियो।
सम्झौता भएको दुई दिन पश्चात् नै उनले बार्सिलोनाविरुद्ध म्याड्रिडबाट डेब्यू गरेका थिए। उनी २०१२ को सुपर कोपा डी स्पोनाको फाइनलमा जर्मनीका मेसुट ओजिलको स्थानमा मैदान प्रवेश गरेका थिए।
रियल म्याड्रिडबाट मोडरिचले चारवटा च्याम्पियन्स लिगको ट्रफी जिते
रियल म्याड्रिडबाट मोडरिचले चारवटा च्याम्पियन्स लिगको ट्रफी जिते
खेल जितेपछि क्लबसँग आवद्ध भएको ३६ घन्टामै उनले पहिलो ट्रफी उठाउन पाए। म्याड्रिडबाट उनले चार च्याम्पियन्स लिग, तीन क्लब विश्वकपसँगै ला लिगा र कोपा डेल रेको उपाधि पनि जितिसकेका छन्।
पारिवारिक जीवन
२०१० मा मोडरिचले आफ्नो एजेन्टको भूमिका निर्वाह गर्दै आएकी भान्जा बोस्निकसँग लगनगाठो कसे। एउटा स्पोर्टस् एजेन्सीमा उनीहरुबीच पहिलो पटक भेट भएको थियो। बोस्निक त्यहीँ काम गर्थिन्।
मोडरिचकी श्रीमती, छोरा र दुर्इ छोरीहरु
मोडरिचकी श्रीमती, छोरा र दुर्इ छोरीहरु
केही समय रिलेसनसीपमा रहेपछि उनीहरु वैबाहिक जीवनमा प्रवेश गरेका थिए। विवाह भएको तीन हप्तापछि उनीहरुको पहिलो छोरा इभानोको जन्म भएको थियो। त्यसपश्चात् उनीहरुसँग थप दुई छोरीहरु छन्।
मोडरिकको सफलतामा बोस्निकको ठूलो हात छ। रियल म्याड्रिडमा ३० मिलियन पाउन्डमा मोडरिकलाई अनुबन्ध गराउन उनले ठूलो भूमिका खेलेकी थिइन्।
यो विश्वकपको सबैभन्दा उत्कृष्ट खेलाडी
मोडरिचले विश्वकप छनोटको दोस्रो चरणमा ग्रिसविरुद्ध पेनाल्टीमा गोल गर्दै क्रोएशियालाई रुस विश्वकपमा पुर्याएका थिए। विश्वकपमा क्रोएशिया समूह डीमा आइसल्याण्ड, नाइजेरिया र अर्जेन्टिनासँग परेको थियो। नाइजेरियाविरुद्धको समूह चरणको पहिलो खेलमा कप्तान मोडरिचले कर्नरबाट प्रहार गरेको गोल नाइजेरियन खेलाडीलाई लाग्दै गोलमा परिणत भएको थियो भने दोस्रो गोल उनले पेनाल्टीमार्फत् गोल गर्दै म्यान अफ द म्याच चुनिएका थिए।
क्रोएशियाका कप्तानले अाफ्नो टोलीलार्इ पहिलोपटक विश्वकपको फाइनलसम्म पुर्याएका छन्
क्रोएशियाका कप्तानले अाफ्नो टोलीलार्इ पहिलोपटक विश्वकपको फाइनलसम्म पुर्याएका छन्
अर्जेन्टिनाविरुद्धको समूह चरणको दोस्रो खेलमा उनले २५ यार्ड टाढाबाट सनसनीपूर्ण गोल गरेका थिए। र, यस खेलमा पनि उनी म्यान अफ द म्याच चुनिए। आइसल्याण्डविरुद्ध पनि प्रभावशाली प्रदर्शन गरेपछि उनलाई समूह चरणको सर्बोत्कृष्ट खेलाडी भनिएको थियो।
अन्तिम १६ मा डेनमार्कविरुद्ध निर्धारित समयमा क्रोएशिया १–१ को बराबरीमा रोकिँदा उनले एन्टि रोबिकलाई गोल गर्ने अवसर श्रृजना गरिदिएका थिए। सो खेलमा उनले पाएको पेनाल्टीमा भने गोल गर्न सकेनन्। तर पेनाल्टी सुटआउटमा निर्णायक पेनाल्टी परिणत गर्दै टोलीलाई क्वार्टरफाइनलमा पु¥याए।
क्वार्टरफाइनलमा रुसविरुद्ध अतिरिक्त समयमा २–२ को बराबरी हुँदा अतिरिक्त समयमा डोमागोज भिदाले गरेको गोलमा उनले सहायकको भूमिका खेलेका थिए। यस्तै त्यो खेलमा पनि निर्णायक पेनाल्टी परिणत गर्दै टोलीलाई सेमिफाइनल पु¥याए भने आफू तेस्रो पटक म्यान अफ द म्याच चुनिए। 
लुका मोडरिच
लुका मोडरिच
सेमिफाइनलमा बुधबार राति इंग्ल्याण्डलाई २–१ ले पराजित गर्दै क्रोएशिया इतिहास रच्दै पहिलोपटक विश्वकपको फाइनलमा पुगेको छ। क्रोएशियालाई ऐतिहासिक उपलब्धि दिलाउने यी खेलाडीको मेहनत, त्याग र समर्पण भने सबैका लागि प्रेरणादायी छ। -(एजेन्सीहरुको सहयोगमा)
    प्रकाशित २८ असार २०७५, बिहिबार | 2018-07-12 20:18:48

    शक्ति गौचन: हरेक नेपाली सफलतामा गासिएको नाम

    नेपाली क्रिकेटले हात पारेका सबै सफलताका साक्षी हुन्, शक्ति गौचन। सन् २००१ मा १७ वर्षमुनीको राष्ट्रिय टोलीबाट नेपाली जर्सीमा क्रिकेट खेल्न थालेका उनले १७ वर्ष बढी अविरल रुपमा क्रिकेट खेले।
    नेपाली क्रिकेटको सफलता यही १७ वर्षभित्र घुमेको छ। यही क्रममा नेपालले डिभिजन पाँच, चार, हुँदै एकमा स्थान बनायो। टी–२० विश्वकप खेल्यो अनि एक दिवसीय मान्यता पायो। सबैमा शक्ति थिए र यही साउन मध्यमा नेपालले नेदरल्याण्ड्ससँग पहिलो एक दिवसीय सीरिज खेल्दैछ र उक्त ऐतिहासिक सीरिजको पुनः साक्षी बनेसँगै शक्तिले अन्तर्राष्ट्रिय क्रिकेटबाट अलग रहने घोषणा गरिसकेका छन्।
    २०१४ को टी-२० छनोटमा विकेट लिएपछि शक्ति गौचन
    २०१४ को टी-२० छनोटमा विकेट लिएपछि शक्ति गौचन
    सन्यास घोषणाका शब्दहरु बोल्दै उनले भने,  'यो नै सहि समय हो अगाडी बढ्नका लागि। म नेदरल्याण्ड्समा नेपालको पहिलो एक दिवसीय अन्तराष्ट्रिय खेलेर बिदा लिँदैछु। अबको टोलीले टेष्ट खेलेर बिदा  लियोस्।'
    शक्तिको क्रिकेटसँगको नाता कति गाडा छ, उनले दोस्रो वाक्यमा व्यक्त गरे, 'यो मेरो पहिलो चरण सकिएको छ। अब म दोस्रो चरणमा फरक भूमिकामा आउनेछु। क्रिकेटसँग सँधै जोडिरहनेछु।' 
    अर्थात शक्तिको स्पिनलार्इ नेपाली घरेलु क्रिकेटमा अझै देख्न पाइनेछ।
    ब्याटिङमा शतक अनि बलिङमा ह्याट्रिक
    अन्तराष्ट्रियसँगै नेपाली घरेलु क्रिकेटमा भएको परिवर्तनको साक्षी समेत हुन्, शक्ति। ३४ वर्षिया शक्तिसँगै अहिलेको टोलीमा रहेका बसन्त रेग्मीले मात्रै जय ट्रफीको अनुभव बटुलेका छन्। त्यसयता विरेन्द्र ट्रफी, टी–२० र एक दिवसीय प्रतियोगिताहरु हुँदै फ्रेन्चाइजीको व्यवसायीक लिगमा नेपाली क्रिकेट प्रवेश गरिसक्यो। शक्ति सधैँ यी सबै घरेलु प्रतियोगितामा ‘फ्रन्टम्यान’ भएर रहे।
    घरेलु क्रिकेटमा उनी नेपाल प्रिमियर लिगमा जगदम्बा जाइट्स, धनगढी प्रिमियर लिगमा रुपन्देही च्यालेन्जर्स, एभरेष्ट प्रिमियर लिगमा पोखरा राइनोजको कप्तानी गरेका छन् भने राष्ट्रिय लिगहरु एपीएफबाट खेल्ने गरेका थिए।
    सन् २००२ मा ओमनविरुद्धको खेलबाट उनले सिनियर राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए। धेरैले उनलाई एशोसियट क्रिकेटकै उच्चस्तरिय बलरका रुपमा पनि चिन्छन् तर शक्तिले राष्ट्रिय टोलीबाट शतक समेत प्रहार गरिसकेका छन्।
    डेनमार्कविरुद्ध ह्याट्रिक लिएपछि शक्ति गौचन
    डेनमार्कविरुद्ध ह्याट्रिक लिएपछि शक्ति गौचन
    सन् २००५ को आइसीसी विश्वकप छनोटमा उनले इटालीविरुद्ध १ सय ३ बलमा १ सय ६ रन प्रहार गर्दै नेपालबाट अन्तराष्ट्रिय क्रिकेटमा शतक प्रहार गर्ने उनी दोस्रो खेलाडी बनेका थिए। तर, नेपाली टोलीबाट एक हजार रन पूरा गर्ने भने उनी पहिलो ब्याट्सम्यान हुन्।
    टेस्ट क्रिकेटबाट प्रेरित शक्ति ढिलो ब्याटिङ गर्थे। तर, टी–२० क्रिकेट लोकप्रिय बन्न थालेपछि शक्तिले बलिङमा जोड दिए। उनी राष्ट्रिय टोलीबाट पहिलो ह्याट्रिक लिने खेलाडी समेत हुन्। २०१५ मा उनी टी–२० बलहरुको विश्व वरियतामा १७ औं स्थानमा पुगेका थिए। त्यसले पनि उनी विश्वस्तरिय बलर रहेको प्रमाणित गर्छ।
    लगातार उत्कृष्ट प्रदर्शन
    सन् २००१ बंगलादेशमा भएको एसीसी यू–१७ एसिया कपबाट उमेर समूहको नेपाली राष्ट्रिय टोलीमा स्थान बनाएका शक्तिले अर्को वर्ष न्यूजिल्याण्डमा भएको आइसीसी यू–१९ विश्वकप खेलेका थिए। सोही टोलीले पाकिस्तान र बंगलादेश जस्ता टेस्ट राष्ट्रलाई पराजित गरेको थियो।
    त्यसपछिका दुईवर्ष उनले यू–१९ टोलीमा विताए र सन् २००३ मा यूथ एसिया कप, २००४ मा पुनः आइसीसी यू–१९ विश्वकपमा भाग लिए। सोहीवर्षको मार्चमा उनले सिनियर टोलीमा डेब्यू गरेका हुन्। सिनियर टोलीबाट प्रथम श्रेणीको क्रिकेटमा उनले सोही वर्ष भएको आइसीसी इन्टरकन्टेनेन्टर कपमा यूएईविरुद्धको खेलबाट गरेका थिए।
    २००२ को एसीसी ट्रफीमा उनको उत्कृष्ट प्रदर्शनमा नेपाल ट्रफी उचाल्ने नजिकै पुगेपनि फाइनलमा यूएईसँग पराजित भएर उपविजेता बनेको थियो। उनले सनसनीपूर्ण २.२८ को औषतमा बलिङ गर्दै ७ विकेट हात पारेका थिए। १० राष्ट्र सहभागी उक्त एक दिवसीय प्रतियोगितामा सबैभन्दा कसिलो बलिङ उनको थियो। ब्याटिङमा पनि शक्ति उक्तिकै जमे। ६ खेलमा ४१.३३ को औषतमा २ अर्धशतकसहित उनले २ सय ४८ रन प्रहार गरेका थिए।
    २०१० को एसियन गेम्समा चोटका कारण टोली भन्दा बाहिर रहेका उनले दुईवर्षपछि सफल पुनरागमन गरेका थिए। कतिपय खेलाडीहरुलाई चोटपछि टोलीमा फर्कन गाह्रो हुन्छ तर उनले कहिले मेहनत छाडेनन् र निरन्तर लागि रहे। जसले शक्तिलाई शक्ति द पावरको उपनामले पनि चिनायो।
    ट्रकका पछाडी शक्तिको पोस्टार
    ट्रकका पछाडी शक्तिको पोस्टार
    २०१२ को आइसीसी विश्व टी–२० छनोटमा पुनः राष्ट्रिय टोलीमा डेब्यू गरेका उनले सो प्रतियोगितामा १६ विकेट लिंदै सर्बाधिक दोस्रो उच्च विकेट टेकर भए। त्यसै प्रतियोगितामा उनले डेनमार्कविरुद्ध ह्याट्रिक पनि लिएका थिए। सो प्रतियोगितामा कप्तान पारस खड्कापछि प्रतियोगिताकै उत्कृष्ट ११ खेलाडीमा चुनिने नेपालका अर्का खेलाडी थिए।
    शक्तिलाई इंण्डियन प्रिमियर लिग आइपीएल टोली राजस्थान रोयल्सले पनि ट्रायलका लागि बोलाएको थियो। जसमा उनले राहुल ड्रविडलाई प्रभावित पार्नुका साथै अस्ट्रेलियन ब्राड होड्जको विकेट लिएका थिए। राजस्थान रोयल्सले ट्विट गर्दै लेखेको थियो, ‘शक्ति गौचनले अहिले नेट्समा आफ्नो महत्वपूर्ण अनुभवहरु बटुलिरहेका छन्। यसले कुनैदिन नेपाललाई ठूलो उत्साह दिनेछ।’
    त्यो स्पेल: १०-८-२-३
    २०१० को आइसीसी विश्व क्रिकेट लिग डिभिजन चारमा नेपाललाई च्याम्पियन बनाउँदा उनले कीर्तिमान कायम राखे। मलेसियाविरुद्धको खेलमा १० ओभरमा ८ ओभर मेडन राख्दै २ रन दिएर ३ विकेट दिनु एशोसियट नेशनको एक दिवसीय क्रिकेटकै सबैभन्दा राम्रो स्पेल थियो। त्यसअघि एक दिवसीय अन्तराष्ट्रियमा भने पाकिस्तानविरुद्ध १९९२ मा वेस्ट इन्डिजनका फिल सिमन्सले १० ओभरमा ८ ओभर मेडन राख्दै ३ रन दिर ४ विकेट लिएका थिए। 
    त्यसबेला उच्च लयमा रहेका शक्तिले २०१२ को एसीसी ट्रफी एलिटमा १५ विकेट, सोही वर्ष भएको आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा १६ विकेट र डिभिजन चारमा १० विकेट लिएका थिए।
    टी-२० विश्वकपमा हङकङविरुद्ध विकेट लिएपछि खुशी मनाउँदै शक्ति गौचन
    टी-२० विश्वकपमा हङकङविरुद्ध विकेट लिएपछि खुशी मनाउँदै शक्ति गौचन
    २०१४ मा बंगलादेशमा भएको आइसीसी टी २० विश्वकपमा शक्ति गौचनले हङकङविरुद्ध खेल्दा नेपाललाई ८० रनको जित दिलाउन ३ विकेट लिंदै म्यान अफ द म्याच भए। विश्वकपमा नेपालले तीन खेल खेल्दा उनले पाँच विकेट लिएका थिए।
    त्यसपछि २०१४ को डिभिजन तीन र २०१५ को डिभिजन दुईमा नेपालबाट उत्कृष्ट प्रदर्शन गरेका शक्ति पछिल्लो पटक भने सन्दीप लामिछाने, सुशान भारी जस्ता खेलाडी उदाउँदा बढी समय बेञ्चमा थिए। तर, बेञ्चमा बस्दा पनि उनले खेलाडीलाई उत्प्रेरणा गर्ने कामबाट भने कहिलै पछि हटेनन्।
      प्रकाशित २ साउन २०७५, बुधबार | 2018-07-18 19:28:31

      लर्डसमा नेपाल

      ‘लर्डसमा खेल्ने अवसर हत्तपत्त पाइँदैन तर मैले मेरो विकेट खेर फालेँ,’ दुईवर्ष अघि क्रिकेटको मक्का मानिने लर्डसमा खेल्दा क्याच आउट (३० रन) भएका नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले फेरि लर्डसमा खेल्न पाइने हो होइन सन्देह व्यक्त गरेका थिए।
      बेलायतसँग कूटनीतिक सम्बन्ध स्थापित भएको २ सय वर्ष पूरा भएको अवसरमा नेपालले मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)सँग सन् २०१६ को जुलाई १९ तारिखमा पहिलो पटक लर्डसमा खेलेको थियो। ऐतिहासिक मैदान लर्डसमा एशोसियट नेशनले पाएको दुर्लभ अवसरमा राम्रो छाप छाड्ने आफ्नो लक्ष्य पूरा नभएको भन्दै पारसले पछुतो माने पनि नेपालले एसीसीलाई ४१ रनले पराजित गर्दै लर्डसको सम्झनालाई अविष्मरणीय बनायो।
      सन् २०१४ मा पारसले इंग्ल्याण्ड भम्रणका क्रममा लर्डस पनि घुम्ने अवसर पाएका थिए। तर, उनको मनमा लर्डसमा कहिलै खेल्न पाइएला कि भन्ने प्रश्न प्रश्नवाचककै रुपमा थियो। ‘सन् २०१४ मा लण्डन भ्रमणका क्रममा लर्डस पनि घुमेको थिएँ,’ पारसले प्रतिक्रिया दिएका थिए, ‘तर, मैले त्यसबेला लर्डसमा खेल्न पाउँला भन्ने सोचेको समेत थिइँन। लर्डसमा खेल्नु सपना थियो। जुन अहिले आएर पूरा भयो।’
      पारस खड्का
      पारस खड्का
      त्यसबेला नेपाल विश्व क्रिकेट लिग च्याम्पियन्ससिप खेल्दै थियो। आठ टोली सम्मिलित उक्त प्रतियोगिताको शीर्ष चारमा रहँदै एक दिवसीय विश्वकप छनोट खेलेर एक दिवसीय अन्तरार्ष्ट्रिय मान्यता पाउने लक्ष्यमा नेपाल अघि बढिरहेको थियो।
      त्यो उद्देश्य सुनाउँदै लर्डस जितपछि पारसले भनेका थिए, ‘हाम्रो लक्ष्य एकदिवसीय अन्तरार्ष्ट्रिय मान्यता हासिल गर्नु हो। आशा गरौं, १५–२० वर्षपछि हामीले टेस्ट मान्यता हासिल गर्न सक्नेछौं। त्यसका लागि हामीले धेरै मेहनत गर्नुपर्नेछ। हाम्रो उक्त लक्ष्य प्राप्त गर्न यस किसिमका खेलहरुले निकै नै सहयोग पुर्याउनेछ।’
      सन् २०१७ मा च्याम्पियनसिप सकिँदा नतिजा नेपालको पक्षमा थिएन्। आठ टोलीमध्ये सातौं स्थानमा रहँदै नेपाल डिभिजन दुईमा झर्यो। जसले नेपालको सिधैँ एक दिवसीय विश्वकप छनोट खेल्ने मौका गुम्यो।
      तर, नेपालका लागि डिभिजन दुईको घुमाउरो बाटो हुँदै एकदिवसीय विश्वकप छनोट खेल्ने बाटो भने बाँकी नै थियो। च्याम्पियन्ससिपबाट रेलिगेसनमा परेको नेपालले यसै वर्षको फेब्रुअरीमा नामिबियामा भएको डिभिजन दुईको उपविजेता बन्दै मार्चमा जिम्बाबेमा एक दिवसीय छनोटमा स्थान बनाएको थियो।
      २०१९ को विश्वकपमा छनोट हुने दुई टोलीको टुंगो लाग्ने उक्त प्रतियोगितामा सहभागी १० मध्ये वेस्टइन्डिज र अफगानिस्तानले शीर्ष दुईमा रहँदै विश्वकपमा स्थान बनाए भने नेपालले आठौं हुँदै पहिलोपटक एक दिवसीय अन्तर्राष्ट्रियको मान्यता हासिल गरेको थियो।
      फरक पहिचान, फरक टोली
      दुई वर्ष अघि डिभिजन एकको हैसियतले च्याम्पियन्ससिप खेलिरहेको नेपालले लर्डसमा खेल्ने अवसर जुराउन कुटनीतिक सम्बन्धको मौका छोप्नु परेको थियो।
      त्यसअघि पनि पटकपटक नेपाललाई लर्डसमा खेलाउने प्रस्ताव एमसीसीले अस्वीकार गर्दै आएको थियो। नेपाललाई लर्डसमा उतार्न महत्वपूर्ण भूमिका निर्वाह गरेका लण्डनमै रहने नेपाली प्रशान्त कुँवरले नेपालखरबसँगको अन्तर्वार्ताका क्रममा भनेका छन्, ‘सन् २०११ मै मैले एमसीसीका प्रतिनिधिसँगको भेटघाटका क्रममा नेपाललाई एमसीसीसँग जोड्ने प्रस्ताव राखेको थिए। पछि कप्तान पारस खड्कालाई पनि लण्डन ल्याएर पटकपटक कुरा राख्दा एमसीसीका प्रतिनिधिहरुले लर्डसमा नेपालसँग खेल्ने प्रस्ताव स्वीकारेनन्। तर, हामीले प्रयास जारी राख्यौं र बल्ल उनीहरु नेपाल र बेलायतबीचको दैत्यसम्बन्ध स्थापना भएको २ सयवर्ष पुगेको उपलक्ष्यमा हाम्रो प्रस्तावमा सकरात्मक भए।’
      तर दोस्रोपटक नेपाल फरक पहिचानका साथ लर्डसमा उत्रँदैछ। यतिवेला नेपाल एकदिवसीय अन्तरार्ष्ट्रिय मान्यता टी–२० अन्तरार्ष्ट्रिय पनि) प्राप्त देश हो भने लर्डसमा एमसीसीले उसलाई सम्मानका साथ खेल्न बोलाएको हो।
      एक दिवसीय अन्तराष्ट्रिय मान्यता पाएकै महिना एमसीसीले नेपाल, एमसीसी र नेदरल्याण्ड्सबीच त्रिकोणात्मक टी–२० श्रृखंला खेलाउने घोषणा गर्दा विज्ञप्तिमा उल्लेख थियो, ‘नेपाल र नेदरल्याण्ड्सले एक दिवसीय अन्तराष्ट्रिय मान्यता पाएको सम्मानमा लर्डसमा यो श्रृखंला आयोजना गर्न लागिएको हो।’
      सन् २०१४ मा एक दिवसीय अन्तरार्ष्ट्रिय मान्यता गुमाएपछि विश्व क्रिकेट लिग च्याम्पियन्सको उपाधि हात पार्दै नेदरल्याण्ड्सले एकदिवसीय मान्यता हासिल गरेको थियो।
      पारस र सन्दीप लर्डस मैदानमा
      पारस र सन्दीप लर्डस मैदानमा
      लर्डसमा फेरि नेपाल फर्कदा उसबेला खेलेका ६ जना खेलाडीहरु भने टोलीमा फर्कन सकेनन्। दुई वर्षअघि खेलेका सागर पुन, विनोद भण्डारी, अनिल मण्डल, राजेश पुलामी मगर, राजु रिजाल र बिक्रम सोवको स्थान नयाँ खेलाडीहरु लिएका छन्। उनीहरुको स्थान लिनेमा दीपेन्द्रसिंह ऐरी, ललितसिंह भण्डारी, रोहित पौडेल, ललितनारायण राजवंशी, अनिलकुमार साह र आरिफ सेख छन्।
      त्यसबाहेक पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, शक्ति गौचन, बसन्त रेग्मी, सोमपाल कामी, सुवास खकुरेल, करण केसी र सन्दिप लामिछाने भने नेपाली टोलीबाट यसपटक दोस्रोपटक लर्डसमा उत्रदैछन्।
      यता, एमसीसीको टोली पनि विश्वस्तरिय खेलाडीहरुले भरिएको छ। श्रीलंकाका विश्व टान्टी–२० विजेता खेलाडी माहेला जयवद्र्धनेको कप्तानीमा रहने एमसीसीमा इंग्ल्यान्डका पूर्व ब्याट्सम्यानहरू इयान बेल, जोनाथन ट्रोट, विकेटकिपर जेम्स फोस्टर, जिम्बावेका पिटर मुर, स्कटल्यान्डका डिलन बुज, एलास्डाएर इभान्स र मार्क वाटलगायत छन्। 
      ‘लर्डसमा खेल्न पाउँदा सधैं उत्साहित हुन्छौं,’ नेपालका कप्तान पारस खड्का भन्छन्, ‘प्रत्येक खेलाडीको लर्डसमा खेल्ने सपना हुन्छ। हामीले फेरि यहाँ खेल्ने अर्को अवसर पाएका छौं। राम्रो सबै खेलाडीले राम्रो खेल्ने प्रयास गर्नेछौं।’
      टी–२० मा पुनरागमन र नेदरल्याड्स बदला लिने दाउँमा
      आइतबार हुने त्रिकोणात्मक श्रृखंलाको पहिलो खेल स्थानीय समयानुसार १० बजे एसीसी र नेदरल्याण्ड्सबीच हुनेछ। त्यसपछि दिउँसो १ बजेर ५ मिनेटमा एमसीसी र नेपालबीच र साँझ ४ बजेर २० मिनेटमा नेदरल्याण्ड्स र नेपालबीच खेल हुने तालिका छन्।
      आइसीसीले नेपाल र नेदरल्याण्ड्सबीचको खेललाई टी–२० अन्तराष्ट्रियको मान्यता दिएकाले सन् २०१५ को जुलाईमा पपुवा न्युगिनीसँग आयरल्याण्डमा खेलपछि नेपालले पहिलो टी–२० अन्तराष्ट्रियमा पुनरागमन गर्न लागेको हो।
      सन् २०१३ को विश्व ट्वान्टी–२० मा छनोटमा तेस्रो भएर विश्वकपमा पुगेसँगै नेपालले ट्वान्टी–२० अन्तर्राष्ट्रिय मान्यता पाएको थियो। तर, २०१५ मा आयरल्यान्डमा भएको विश्व ट्वान्टी–२० छनोटमा दोस्रो अन्तिममा रहेसँगै नेपालले ट्वान्टी–२० अन्तर्राष्ट्रिय मान्यता गुमाएको थियो। त्यसपछि नेपालले पहिलोपल्ट ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल्न लागेको हो।
      टी–२० मान्यता पाएको उक्त समयमा नेपालले ११ वटा टी–२० अन्तरार्ष्ट्रिय खेल खेलेको थियो। जसमा ३ खेलमा जित हात पारेको थियो भने ८ खेलमा पराजय बेहोरेको थियो। नेपालले टी–२० अन्तराष्ट्रियमा पराजित गरेको अन्तिम राष्ट्र नेदरल्याण्ड्स हो। र, लर्डसमा आइतबार नेपालविरुद्ध त्यसपछि खेल्दा नेदरल्याण्ड्स बदला लिने दाउँमा हुनेछ।
      २०१५ मा नेदरल्याण्ड्स भम्रणमा रहेको नेपालले चारको टी–२० श्रृखंलामा सुरुवाती तीनमा पराजय भोगेको थियो भने अन्तिम एक खेल जितेको थियो।
      ‘लर्डसको खेलसँगै टी–२० अन्तर्राष्ट्रियको पनि हामीलाई व्यग्र प्रतिक्षा छ,’ पारस भन्छन्, ‘एमसीसी र नेदरल्याण्ड्सविरुद्ध राम्रो क्रिकेट खेल्दै उत्साहित सुरुवात गर्न चाहान्छौं।’
      पहिलो एकदिवसीय अन्तराष्ट्रिय र संयोग
      सन् २०१६ मा एमसीसीसँग लर्डसमा खेलेपछि नेपाल विश्व च्याम्पियन्ससिपको ‘अवे’ खेलका लागि नेदरल्याण्ड्स भम्रणमा निस्केको थियो। च्याम्पियन्ससिपमा भएका दुई एकदिवसीय मध्ये नेपालले एकमाजित र अर्कामा हार बेहोरेको थियो।
      यसपटक पनि संयोग त्यस्तै जुरेको छ। नेपाल लर्डसमा खेलेसँगै पुनः दुईवटा एक दिवसीय खेल खेल्न नेदरल्याण्ड्स प्रस्थान गर्दैछ। फरक, उसबेला ती खेलहरुलाई ‘लिस्ट ए’ को मान्यता थियो भने यसपटक एक दिवसीय अन्तराष्ट्रियको मान्यता हुनेछ।
      शक्तिको राष्ट‍्रिय टोलीबाट अन्तिम भ्रमण
      त्रिकोणोत्मक सीरिज खेलेपछि नेपाल पहिलो एक दिवसीय अन्तराष्ट्रिय खेल खेल्न नेदरल्याण्ड्स प्रस्थान गर्नेछ। जुन नेपाली भेट्रान स्पिनर शक्ति गौचनको अन्तिम खेल हुनेछ। उनले यसअघि नै उक्त खेलपछि राष्ट्रिय टोलीबाट सन्यास लिने बताइसकेका छन्।
      सन् २००१ मा १७ वर्षमुनीको राष्ट्रिय टोलीबाट नेपाली जर्सीमा क्रिकेट खेल्न थालेका उनले १७ वर्ष बढी अविरल रुपमा क्रिकेट खेले। यसक्रममा नेपालले डिभिजन पाँच, चार, हुँदै एकमा स्थान बनायो भने टी–२० विश्वकप खेल्नुका साथै एक दिवसीय अन्तराष्ट्रिय मान्यता पाएको थियो।
      ३४ वर्षिय गौचन नेपाली क्रिकेटको सफलताका सारथि हुन्। उनले नेपालबाट १ सय ९१ खेल खेलेका छन्। १८ वर्षिय उमेरमा उनले सिनियर टोलीबाट एसीसी ट्रफीमा जुलार्इ २००२ मा अोमनविरुद्ध डेब्यू गरेका थिए। 
      शक्तिले नेपाली टोलीमा लामो योगदान दिएका छन्। अहिले राष्ट्रिय टोलीमा रहेका कप्तान पारस खड्का पनि उनीभन्दा २ वर्षपछिमात्रै सिनियर टोलीमा डेब्यू गरेका हुन्। पारसले मलेसियाविरुद्धको खेलमा २००४ मा राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए।
      पछिल्ला दुर्इवर्षमा भने सन्दीप लामिछाने जस्ता यूवा स्पिनरहरु अाएपछि नेपाली टोलीमा पर्न शक्तिले संघर्ष गरिरहेका थिए। सुरुवाती एघारमा नपरेपनि उनी राष्ट्रिय टोलीमा भने कहिले छुटेनन्। 
      बंगलादेशमा २०१४ मा भएको टी-२० विश्वकपमा नेपाललार्इ २ जित दिलाउन शक्तिले महत्वपूर्ण भूमिका खेलेका थिए। अाइसीसीको मुख्य ठूलो प्रतियोगिता खेलेको त्याे नेपालले एउटामात्रै हो।हङकङ(८० रनले नेपाल विजयी) विरुद्ध चार अोभरको स्पेलमा ९ रनमात्रै खर्चेर ३ विकेट लिएपछि उनी म्यान अफ द म्याच चुनिएका थिए। जसमा उनले बाबर हायातको विकेट लिएका थिए। यस्तै अफगानिस्तानविरुद्ध ९ रनको जित हात पार्दा खेलमा जित हात पार्दा उनले मोहम्मद नाबीको सहित २ विकेट लिएका थिए।
      सन् २०१२ मा भएको विश्व क्रिकेट लिग डिभिजन चारमा नेपाल अपराजित रहँदै च्याम्पियन बन्दा शक्तिले सबैभन्दा उत्कृष्ट बलिङ गरेका थिए। सिंगापुरविरुद्ध शक्तिले ९ अोभरमा ४ अोभर मेडन राख्दै ८ रनमात्रै खर्चेर १ विकेट लिए। मलेसियाविरुद्ध उनले १० अोभरमा ८ अोभर मेडन राख्दै २ रनमात्रै खर्चिएर ३ विकेट लिएका थिए। यस्तै डेनमार्कविरुद्ध पनि उनले ७ अोभरमा १ अोभर मेडन राख्दै १२ रनमात्रै खर्चेर १ विकेट लिए।
      उनको यही उत्कृष्ट प्रदर्शनबाट प्रेरित नेपाली टोलीले न्यूजिल्याण्डमा भएको २०१४ को विश्वकप क्वालिफायर खेल्नुका साथै २०१४ को टी-२० विश्वकप पनि खेलेको थियो।
      लगत्तै बर्मुडामा भएको डिभिजन तीनमा इटालीले दिएको १ सय २९ रनको लक्ष्य पछ्याएको नेपाललार्इ जित्नै पर्ने खेलमा उनले उक्तृष्ट बलिङ (१०-२-१५-२) गर्दै खेल बराबरीमा टुंग्याएका थिए। त्यसका कारण यूएसएसँग रनरेटमा अघि रहँदै नेपाल विश्वकप क्वालिफायरमा छनोट भएको थियो।
      शक्तिले राष्ट्रिय टोलीबाट शतक समेत प्रहार गरिसकेका छन्। २००५ को आइसीसी विश्वकप छनोटमा उनले इटालीविरुद्ध १ सय ३ बलमा १ सय ६ रन प्रहार गर्दै नेपालबाट अन्तराष्ट्रिय क्रिकेटमा शतक प्रहार गर्ने उनी दोस्रो खेलाडी बनेका थिए। तर, नेपाली टोलीबाट एक हजार रन पूरा गर्ने भने उनी पहिलो ब्याट्सम्यान हुन्।

      नेपाली क्रिकेटको उतार चढाव

      ‘आठवर्ष अघि हामीले आइसीसी विश्व क्रिकेट लिग डिभिजन पाँच खेलेका थियौं र चारवर्षका लागि एक दिवसीय अन्तराष्ट्रिय(ओडिआई)को मान्यता पाएसँगै अाज हामी विश्वको उत्कृष्ट १६ राष्ट्रहरुमध्येका एक हौं।’
      नेपाली सफलताको सवारीका कुशल चालक कप्तान पारस खड्काले बुधबार नेदरल्याण्ड्ससँग हुने पहिलो ओडिआई अघि दिएको प्रतिक्रिया हो यो। २२ वर्षअघि पहिलो आधिकारिक अन्तराष्ट्रिय प्रतियोगिता खेल्नु नेपाली क्रिकेटको पृष्ठभुमि थियो। तर पारसले भनेजस्तै यो आठ वर्षले नेपाली क्रिकेटकाे सफलताको कथा बुनेकाे छ।
      पारसले थप्दै भनेका छन्, ‘हामी सँधै यही स्थानमा आउन चाहान्थ्यौं तर चुनौतीहरु उत्तिकै थपिदै गए।’
      पारसको भनाईको अर्थ विवादमा नघेरिएको भए नेपाली क्रिकेटले अझै छिटो ओडिआई मान्यता प्राप्त गरिसक्थ्योे। मैदानबाहिर विवादका कारण पछाडि धकेलिदै गएको नेपाली क्रिकेटलाई मैदानभित्रबाट भने खेलाडीहरुले सधैँ अघि बढाई रहे। तिनै खेलाडीको बलबुता, दृढता, आत्मविश्वास, मेहनत अनि समर्पण नेपाली क्रिकेटको सफलताको दोस्रो नाम हो।
      सन् १९२० को दशकमा नेपालमा राणाहरुले क्रिकेट भित्र्याएपनि सञ्चार र यातायातको विकाससँगै १९८० को दशकमा नेपालका विभिन्न स्थानहरुमा क्रिकेट खेल्न थालिएको थियो। सन् १९८८ मा आइसीसीको एफिलियट सदस्य बनेको नेपाल त्यसको ६ वर्षपछि आइसीसीको एसोसिएट सदस्य बन्दै पहिलो अन्तराष्ट्रिय आधिकारिक प्रतियोगिता खेलेको थियो।
      त्यसयता नेपाली क्रिकेटले निकै उतारचढाव भोगेको छ। पछिल्लो एक दशकमा खेलाडीहरुले मैदानभित्रबाट हर्ष बाडिरहे भने मैदानबाहिरका गतिबिधि भने रोदनपूर्ण रहे।
      उतार चढावको अटुट सिलसिला
      सन् २०१० मा नेपालले काठमाडौंमा भएको डिभिजन पाँचको उपाधि उचाल्दै आइसीसीको मुख्य प्रतियोगिता जितेको थियो। राहुल विश्वकर्माले फाइनलमा अमेरिकाविरुद्ध ८.२ ओभरको स्पेलमा २ ओभर मेडन राख्दै ७ विकेट लिएर मात्रै १५ रन खर्चेपछि नेपालले ५ विकेटको जित निकालेको थियो।
      सोही प्रतियोगितामा शरद भेषावकरले फिजीविरुद्ध शतक(१०५ रन) प्रहार गर्दै नेपाल अब नरोकिने संकेत गरिसकेका थिए। तर, अर्को वर्ष नेपाल क्रिकेट संघ (क्यान)मा भएको राजनैतिक हस्तक्षेपको परिणाम नेपाली क्रिकेटले अहिलेसम्म भोग्दैछ।
      सन् २०११ मा आइसीसीको आवश्यकताअनुसार चुनाव गर्न नसकेको भन्दै लामो क्रिकेट अनुभव सँगालेका अध्यक्ष विनयराज पाण्डेलाई तत्कालिन नेकपा माओवादी सरकारले हटाउँदै क्यानको निर्वाचन घोषणा गर्यो। नयाँ कार्यसमितीको अध्यक्षमा उम्मेदवारी दिएका पूर्वकप्तान पवन अग्रवालले राजनैतिक हस्तक्षेप भएको भन्दै नाम फिर्ता लिएपछि तत्कालिन माओवादीका केन्द्रीय सदस्य टंक आङबुहाङ क्यानको अध्यक्षमा स्वतः चुनिए। त्यसपछि नेपाली क्रिकेट अनेक विवादमा फस्दै गयो।
      यता, मैदानभित्रबाट भने नेपाली टोलीले सुखद समाचार दिइ नै रहे। परिणाम, २०१२ मा भएको डिभिजन चारको उपाधि उचाल्दै नेपाल डिभिजन तीनमा बढुवा भयो। प्रतियोगिताका उत्कृष्ट खेलाडी बसन्त रेग्मीले कुल २१ विकेट लिएका थिए।
      टंक आङबुहाङ नेतृत्वले गरेको महत्वपूर्ण काममध्येको एक प्रशिक्षक पुबुदु दासानायकेको नियुक्ति हो। सुरुमा ६ महिनाका लागि मात्रै नियुक्ति पाएका दासानायकेले झन्डै चार वर्ष नेपाली टोलीसँग विताए। यस क्रममा नेपालले विश्व क्रिकेट मञ्चमा अविश्वसनीय सफलता हात पार्यो।
      पुबुदुले नेपाललाई जिताएको पहिलो महत्वपूर्ण प्रतियोगिता २०१३ मा बर्मुडामा भएको डिभिजन तीन हो। जुन आश्चार्यचकित र अविश्वसनीय ढंगबाट आएको थियो। नेपाललाई प्रतियोगिताको दाबेदार मानिएको थियो तर सुरुवाती दुई खेलमा नेपालले अमेरिकासँग ९४ रनको र युगान्डासँग ६ विकेटको अप्रत्यासित हार बेहोर्र्यो।
      अर्कातिर अमेरिका र युगान्डाले सुरुवाती तीन खेल जित्दै गज्जबको सुरुवात गरेका थिए। प्रतियोगिताका शीर्ष दुई टोली २०१५ को विश्वकप छनोट खेल्न पाउने भएकाले धेरैको अनुमान अमेरिका र युगान्डा विश्वकप छनोटमा पुग्छन् भन्ने थियो। तर, त्यसपछि जे भयो त्यसको कल्पना नेपालले पनि गरेको थिएन।
      अन्तिम चरणका खेल बाँकी रहँदा चार खेलमा जित हात पार्दै युगान्डाले विश्वकप छनोटमा लगभग स्थान पक्का गरिसक्दा बाँकी एक स्थानका लागि ६ अंक रहेको अमेरिका तथा समान ४–४ अंक रहेका नेपाल र बर्मुडा प्रतिस्पर्धामा थिए।
      अन्तिम खेलमा बर्मुडालाई पराजित गरे युगान्डासँगै अमेरिका विश्वकप छनोटमा पुग्ने निश्चित थियो। तर, नेपाल पुग्न भने आफ्नो अन्तिम खेलमा इटालीलाई फराकिलो अन्तरले पराजित गर्नुका साथै अमेरिका बर्मुडासँग पराजित हुनुपथ्र्यो र भइदियो पनि त्यस्तै।
      इटालीले पूरै ५० ओभर खेल्दै दिएको १ सय २८ रनको लक्ष्य नेपालले १४.२ ओभरमा २ विकेटमात्रै गुमाएर भेटाइदियो। उता, बर्मुडाले अमेरिकालाई ५ विकेटले पराजित गरेपछि नेपाल रनरेटका आधारमा विश्वकप छनोटमा पुग्यो। तर, विश्वकप छनोटमा भने नेपालले गतिलो प्रदर्शन गर्न सकेन्। समूहको पुछारमा रहेको नेपाल पुनः डिभिजन तीनमै फर्कियो।
      अर्कोवर्ष भने यूएईमा भएको को टी–२० विश्वकप छनोटमा नेपाल तेस्रो स्थानमा रहँदै पहिलोपटक टी–२० विश्वकप खेल्न योग्य भयो। हङकङविरुद्ध अन्तिम बलमा विजयी रन बटुल्दै नेपाल २०१४ मा बंगलादेशमा हुने विश्वकपमा छनोट भएको थियो।
      खेलमा ४६ रन जाड्नुका साथै एक विकेट लिदैँ म्यान अफ द म्याच चुनिएका कप्तान पारस खड्कालाई त्यस खेलको मिति समेत अहिलेसम्म याद छ।
      उनी भन्छन्, ‘क्रिकेट करिअरकै सबैभन्दा खुशीको दिन थियो, २७ नोभेम्बर, २०१३। त्यसदिन हामीले अन्तिम बलमा हङकङलाई पराजित गर्दै बंगलादेशमा २०१४ मा भएको टी–२० विश्वकपमा स्थान बनाएका थियौं। त्यो क्षणहरु सम्झदा अहिले पनि म भावुक हुन्छु। हामीले देखेको एउटा सपना(विश्वकप खेल्ने) हाम्रै अघिल्तिर थियो।’
      नेपालले सन् २०१४ को टी–२० विश्वकपमा हङकङ र अफगानिस्तानलाई पराजित गर्दै सनसनी मच्चाएपनि घर फर्कर्न नपाउँदै पुनः अर्को विवादमा फस्यो। यसपटक कप्तान पारस खड्कासहितका सम्पूर्ण नेपाली टोलीका सदस्यले घरेलु प्रतियोगिता बहिष्कार गर्ने सामुहिक निर्णय गरेका थिए। संघविरुद्ध खेलाडीहरु उभिएको यस्ता खाले घटनाहरु विश्वमा दुर्लभै हुन्छन्।
      तर, उनीहरुको माग घरेलु संरचना सुदृढ बनोस र देशका लागि खेल्ने खेलाडीहरुको उचित व्यवस्थापन होस् भन्ने थियो। जायज मागहरु भएकाले धेरैले उनीहरुको समर्थन गरेभने कतिपयाले जुन संघको मातहातमा रह्यो त्यसकै विरुद्ध राजनीति गर्न खोजेको भन्दै प्रतिबन्ध लगाउनुपर्ने आवाज पनि उठाएका थिए।
      कप्तान पारसले पछि विभिन्न कार्यक्रमहरुमा आफूहरुले नेपाली क्रिकेटको विकासमात्रै चाहेको र आफूहरुले उदेश्य राजनिती गर्नु नभएको भन्दै आलोचकलाई जवाफ फर्काएका थिए।
      घटना त्यतिमै मात्रै साम्य भएन्। त्यतिबेला खेलाडीहरुकै उजुरीका आधारमा अख्तियारमा क्यानका पदाधिकारीहरुविरुद्ध भ्रष्टाचारको मुद्दा दायर समेत दायर भयो। फलस्वरुप अध्यक्ष आङबुहाङसहितका पदाधिकारीले नैतिकताको आधारमा पद छाडे। पछि उनीहरुलाई अदालतले सफाई दिएको थियो।
      यता, आङबुहाङको कार्यसमितीको कार्यकाल सकिएको भन्दै चतुरबहादुर चन्दको पक्षले नयाँ निर्वाचन गर्न खोज्यो। तर, राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले मान्यता दिएन्। राखेपले मान्यता नदिएपनि चन्द पक्षले मध्यराति अधिवेशन गर्दै अध्यक्षमा चन्द र महासचिवमा अशोकनाथ प्याकुरेललाई निर्वाचित गरायो।
      त्यसलाई राखेपले मान्यता दिएन र रमेश सिलवालको नेतृत्वमा तदर्थ समिति बनायो। त्यसविरुद्ध निर्वाचित भनिएको चन्द नेतृत्वको क्यान अदालत गयो। जुन मुद्दा अहिलेपनि विचाराधिन छ।
      त्यसपछि नेपाली क्रिकेटमाथि अर्को ठूलो संकट आइलाग्यो। आइसीसीले क्यानको व्यवस्थापन सुधार्न पनि त्यसअघि देखि नै अनुदान रोक्का गर्दै आएको थियो। यहीबेला सरकारको हस्तक्षेपको कारण देखाउँदै आइसीसीले पनि क्यानलाई २०१६ को अप्रिलमा प्रतिबन्ध लगायो, जुन हालसम्म पनि कायमै छ।
      संघलाई प्रतिबन्ध लगाएपनि आइसीसीले नेपाली टोलीलाई भने अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न रोकेन्। आइसीसीले आफ्नै निगरानीमा नेपाललाई अन्तराष्ट्रिय प्रतियोगिता खेलाउन थाल्यो।
      यहीबीच नेपालले २०१५–१७ को विश्व क्रिकेट लिग च्याम्पियन्ससिप खेल्यो। घरेलु संघबिनै ‘टुहुरो’ नेपाली टोलीले अपेक्षा अनुरुप प्रदर्शन गर्न सकेन र आठ टोली सहभागि च्याम्पियन्ससिपको सातौं रहँदै पुनः डिभिजन दुईमा झर्यो।
      यसैवर्षको फ्रेब्रुअरीमा नामिबियामा डिभिजन दुई थियो। जहाँबाट नेपाल उपविजेता बन्दै मार्चमा जिम्बाबेमा हुने एकदिवसीय विश्वकप छनोटमा प्रवेश गर्यो। विश्वकप छनोटमा पनि आठौं बन्दै नेपालले एकदिवसीय अन्तराष्ट्रियको ऐतिहासिक उपलब्धि हासिल गर्यो र आज नेपाल इतिहासमै पहिलोपटक एकदिवसीय क्लबमा प्रवेश गर्दैछ।
      यता, नेपाली क्रिकेटले सफलता हात पार्दै गएपछि आइसीसीले नेपाली विवाद समाधान गर्दै क्यानको नयाँ विधान बनाउने भन्दै सल्लाहकार समिती गठन गरेको थियो। पूर्वअध्यक्ष विनयराज पाण्डेको नेतृत्वको उक्त सल्लाहकार समितीले बनाएको विधान सुरुमा अघिल्लोवर्ष भदौमा भएको क्यानको साधारणसभाले संशोधनसहित पारी गरेको थियो।
      तर, आइसीसीले त्यसलाई मान्यता दिएन र पुनः गत बैशाख ६ गते काठमाडौंमा भएको क्यानको अर्को साधारण सभाले सल्लाहकार समितीले बनाएको विधान हुबहु पारित गर्यो। अब उक्त विधान अनुरुप जिल्ला तथा संघीय संरचनाका समस्याहरु, केन्द्रीय निर्वाचन लगायतका कार्यहरु थाँती छन्। उक्त कार्यहरु जति छिटो सके आइसीसीले प्रतिबन्ध फुकुवा गर्ने जनाईसकेको छ। त्यसैले क्यानका पदाधिकारीहरुले जतिसक्दो चाडो थाँती कामहरु पूरा गरि नेपाली ओडिआई मान्यतालाई दिगो बनाउन लाग्न आवश्यक भैसकेको छ।
      कप्तान पारस खड्का भने पछिल्लो समयमा मैदानभित्र र बाहिर दुबैका प्रगतिबाट उत्साहित छन्। उनी भन्छन्, ‘हामी अहिलेदेखि नै सन् २०२३ को विश्वकप छनोट चरण बारे सोच्न थालिसकेका छौं। त्यो हाम्रा लागि विश्वकप खेल्ने राम्रो अवसर हुनसक्छ। सरकार पनि नेपालमा क्रिकेट विकासका लागि सकरात्मक देखिएको छ। आशा, गरौं हामीसँग छिट्टै संघपनि हुनेछ। यदि हामीले सबै स्रोत साधन एकसाथ पाउने हो भने आगामी दिनमा नेपाली क्रिकेटको भविष्य उज्वल छ।’
        प्रकाशित १६ साउन २०७५, बुधबार | 2018-08-01 11:48:00

        ढाका डायरी-२ माया स्वदेशकै छ ज्यान परदेशमा भए पनि

        प्रमिशा (हेर्नुहोस् ढाका डायरी-१) सँग बंगलादेशमा पढ्ने खासमा नेपाली महिला विद्यार्थीबारे बुझेपछि मलाई ‘यहाँ अध्ययनको उत्तरार्धमा रहेका विद्यार्थीहरुको भविष्यको योजना के रहेछ?’ भन्ने जान्न मन लाग्यो। 
        लाखौँ रुपैयाँ खर्च गरेर बंगलादेश पढ्न आएका उनीहरु नेपाल फर्कन् चाहन्छन् वा ‘नेपालमा सेवा-सुविधा र गुणस्तरीय जीवन नहुने भन्दै विदेश नै उनीहरुको प्राथमिकतामा पर्छ? भन्ने मेरो मुख्य चासो थियो। ढाकाका विभिन्न चार मेडिकल कलेजका अन्तिम वर्षका विद्यार्थीहरुसँग भेट गराउन पनि मलाई प्रमिशाले सहयोग गरिन्।
        जनकपुरका राजु साह, विनोदकुमार यादव, रोशनकुमार यादव र विराटनगरका धीरजकुमार यादवसँग मेरो कुराकानी भयो।
        बंगलादेशमा छरिएर रहेका नेपाली विद्यार्थीहरुलाई एकिकृत गर्ने उद्देश्यले ‘नेप्लिज स्टुन्डेन्ट एसोसियसन बंगलादेश’ नामको संगठन खोलिएको रहेछ। राजु यो संगठनको अध्यक्ष रहेछन्।
        ‘बंगलादेशमा झण्डै चारहजार नेपाली विद्यार्थी छन्’ फिजियोथेरापीमा चार वर्षे कोर्ष सकेर अन्तिम वर्ष इन्र्टनसिप गरिरहेका राजुले संगठनको उद्देश्य प्रस्ट्याउँदै भने, ‘सबैलाई आवश्यक परेका बेला सहयोग गर्ने, दशैँ, दीपावली जस्ता चाडपर्वमा ‘गेट टुगेदर’ गर्ने र नेपाली विधार्थीहरुलाई एकजुट गर्ने उद्देश्यले संगठन बनाएका हौँ।’
        पाँच बर्षअघि उनले फिजियोथेरापी अध्ययन गर्ने योजना बनाउँदा नेपालको काठमाडौँ यूनिभर्सिटीमात्रै एउटा विकल्प थियो। धेरै नेपाली विद्यार्थीहरु भारत पढ्न जान्थे। तर, साथीहरुले बंगलादेशमा राम्रो र सस्तो पढाई हुने बताएपछि राजुको गन्तव्य पनि ढाका नै बन्यो।
        प्रमिशाको जस्तै नेपाली कन्सल्टेन्सीहरुले गर्ने ठगीको अनुभवपनि उनीसँग रहेछ। ‘नेपालमा हुँदा ‘प्रोस्पेक्ट्स’ मा आकर्षक कम्युटराइज्ड बिल्डिङहरु देखाउँछन्,’ उनले भने, ‘यता आउँदा निकै फरक हुन्छ। कतिपय अवस्थामा त यता कलेजको कोटा २० जनाको हुन्छ, उताबाट २५ जना पठाइदिन्छन्। त्यस्तो अवस्थामा पाँच जना विद्यार्थीले अर्को वर्ष कुर्नुपर्ने हुन्छ।’
        तर, धर्म र संस्कृतिबाहेक बंगलादेशमा खासै समस्या उनीहरुले खासै कठिनाई भोगेका छैनन्। नेपाललाई बंगलादेशीहरुले बुद्धको देश, शान्तिको देश, हिमालयको देश भनेर चिन्ने गरेको र सम्मान गर्ने गरेको अनुभव उनले सुनाए।
        ‘नेपालमा अतिथिलाई भगवान मान्ने चलन छ, नेपाल आइसकेका बंगालादेशीहरु नेपाली आतिथ्यबाट प्रभावित भएर फर्केका हुन्छन्’ उनले भने, ‘बंगलादेश फर्केपछि उनीहरुले नेपालीहरु राम्रा हुन्छन् भन्ने सन्देश फैलाएका छन्। चार वर्षे अवधिमा मैले आफूलाई नेपाली भनेर चिनाएपछि बंगालीहरुबाट कहीँपनि नराम्रो व्यवहार भोग्नुपरेको छैन।’
        अध्ययनको उत्तरार्धमा रहेका यी युवाले आफ्नो सुरुदेखिकै सपना अनुसार उच्च शिक्षा हासिल गरेपछि स्वदेश फर्कने योजना रहेको सुनाए।
        ‘हुन त, पढाई सकेपछि थुप्रै युवाहरु विदेशमै बस्छन्, राम्रो कमाई गर्छन्, गुणस्तरीय जीवन जिउँछन्’ राजुले भने, ‘नेपालमा तलव लगायात थुप्रै कुरामा समस्या छ। तर हामीले अरुसँग हामीलाई तुलना गर्न मिल्दैन। हाम्रो देशमा जे छ त्यसैमा सन्तुष्ट हुन सक्नुपर्छ।’
        उनको ठहर छ, विदेशको जस्तै संघर्ष र मिहिनेत संघर्ष गर्ने हो भने, हाम्रै देशमा पनि राम्रै आम्दानी गर्न सकिन्छ। भन्छन्, ‘विदेशमा १७-१८ घण्टा काम गरिरहेका हुन्छन्। नेपालमा हामी दैनिक ८ घन्टामात्रै काम गर्छौँ। अझै मिहिनेत गर्ने हो भने आम्दानी बढाउनुका साथै देश विकासमा पनि सहयोग पुग्छ।’
        म बिनोदतिर मोडिएँ। उनी एबिबीएसको अन्तिम वर्षका विद्यार्थी हुन्। उनी सार्कको छात्रबृत्ति कोटामा बंगलादेश अध्ययन गर्न आएका रहेछन्।
        सानै उमेरदेखि होस्टलमा बसेर पढेका रहेछन् बिनोद। त्यसैले बंगलादेशमा चारवर्ष बिताउन त्यति कठिन भएन। ‘घरको न्यास्रो त लाग्छ। तर, न्यास्रो लागेका बेला नेपालका साथीभाईहरुसँग बस्छु, गफ गर्छु’ परदेशमा रहँदा समय बिताउने उपाय सुनाए, ‘यसरी नै यहाँ समय बित्ने गरेको छ।’
        छात्रवृत्तिबाट आएको विद्यार्थी भएकाले देशका लागि योगदान गर्ने थप जिम्मेवारी आफ्नो काँधमा रहेको बताए। ‘नेपालबाट म सार्क छात्रबृत्तिमा आएको हुँ, आफ्नो सपना पूरा गर्ने अवसर देशको कारणले पाएको हुँ’ उनले भने, ‘अब फर्केर देशको सेवा गर्नेछु।’
        बंगलादेशमा पढाई राम्रो नहुने र यहाँ पढेका विद्यार्थीहरु लाइसेन्स परीक्षामा फेल भएको भन्ने कुरा नेपाली मिडियामा बढाइचढाई गरेर आएकोमा उनको गुनासो रहेछ।
        ‘बंगलादेशका मात्रै नभएर नेपालकै पनि अधिकांश कलेजका विद्यार्थी अनुतीर्ण भएका हुन्छन्’ उनले आफ्नो मोबाईल फोनमा रहेको फाइल खोले, त्यसमा नेपालमै पढेका र लाइसेन्स परीक्षामा अनुतीर्ण भएका विद्यार्थीको तथ्याङ्क रहेछ, त्यो देखाउँदै उनले भने, ‘त्यसबेला काउन्सिलको प्रश्नपत्रको ‘प्यार्टन’ नमिलेपछि उनीहरु अनुतीर्ण भएका हुन्। तर, शैक्षिक माफियाहरुले त्यसैलाई ठूलो इस्यु बनाए, नेपाली मिडियाले उनीहरुकै कुरालाई मलजल गरे।’
        यति भनिसकेपछि उनले प्रश्न गरे, ‘बंगलादेशमा थुप्रै नेपाली विद्यार्थीहरुले युनिभर्सिटी टप गरेका छन्। ख्वै त, यसबारे चाहिँ किन मिडियाहरुले समाचार बनाउँदैनन्?’
        एमबिबीएसका धिरज र रोशनको सपनापनि चाँडै नेपाल फर्कने नै हो। यी दुबै युवाहरु आफ्नो पढाई अन्तिम चरणमा पुगेकोमा निकै खुसी छन्।
        ‘अब चाँडै नेपाल फर्कन्छौँ’ धिरज र रोशनले योजना सुनाए, ‘एक-दुई वर्ष स्थानीय अस्पतालहरुमा काम गर्नुपर्ला। त्यसपछि फेरि मास्टर्स (एमडी)का लागि अप्लाई गर्ने सोच बनाएका छौँ।’
        थप चिनजान र भलाकुसारीपछि उनीहरुसँगको यो कुराकानीलाई मैले बिट मारेँ।

        ढाका डायरी ३: रिक्सा राज र सद्दे नभेटिने गाडी

        काठमाडौँको कोटेश्वर-भक्तपुर सडक खण्ड सबैभन्दा जाम हुने सडकका रुपमा लिइन्छ। जामका कारण उक्त सडक खण्डमा चल्ने गाडीका लामो लहरसहितका तस्वीर सामाजिक सञ्जालमा पोष्ट भइरहन्छन्।
        पोष्टमात्रै कहाँ हुन्छन् र? तस्वीरसहित प्रधानमन्त्री, ट्राफिक प्रहरी र ‘हेलो सरकार’ लाई समेत ‘मेन्सन’ गर्दै हामी सत्तो-सराप गर्न पछि पर्दैनौँ। पाँच मिनेटमात्रै ‘भीभीआइपी’ को सवारी आउँदा आफू रोकिनुपर्‍यो भने हामी लोकतन्त्र, सम्विधान अनि मौलिक हकका नारा लगाउँछौँ। राजतन्त्र र अहिले केही फरक भएन भन्दै गणतन्त्रलाई सराप्न समेत पछि पर्दैनौँ।
        तर, गत महिना बंगलादेशको राजधानी ढाकामा १० दिने बसाईका क्रममा देखेको र भोगेको ट्राफिक जाम भोग्नु परेपछि मलाई लाग्यो, नेपालका सडकमा देखिने जाम त सामान्य पो रहेछ।
        ढाकाको हरेक यात्रामा हामीले झेलेको सबैभन्दा मुख्य समस्या ट्राफिक जाम थियो। र, बंगलादेशी सडकमा कायम ‘रिक्सा राज’ त्यसको मुख्य कारण।
        अघिल्लो बर्ष ‘ढाका सिटी कर्पोरेशन’ ले सार्वजनिक गरेको रिपोर्ट अनुसार ढाकामा लाइसेन्स लिएका मात्रै ७९ हजार पाँच सय ५४ रिक्सा चल्छन्। त्यो सरकारी तथ्यांक हो। विभिन्न रिपोर्टहरुले झण्डै एक लाख भन्दा बढी रिक्सा यहाँ सञ्चालनमा रहेको देखाएका छन्।
        विश्व बैकको एक प्रतिवेदन अनुसार विगत १० वर्षमा ढाकामा औषत ट्राफिक स्पिड ७ देखि २१ किलोमिटर प्रतिघन्टा मात्रै छ। यही क्रम जारी रहे सन् २०३५ सम्म ढाकामा एक घन्टामा ४ किलोमिटर भन्दा बढी गाडी कुदाउन नसकिने त्यो रिपोर्टमा उल्लेख गरिएको छ। ट्राफिक जामले गर्दा दिनमा झण्डै ५ मिलियन घण्टा काम गर्ने समय खेर गइरहेको र त्यसले वार्षिक ११.४ बिलियन अमेरिकी डलर गुमिरहेको पनि उक्त प्रतिवेदनले देखाएको छ।
        हामी ढाका अोर्लिदा विमानस्थलबाट हाम्रो बस्ने होटल त्यस्तै ४५ मिनेटको दूरीमा रहेछ। तर विमानस्थलबाट तीन बजे होटलका लागि हिडेका हामी ट्राफिक जामकै कारणसाँझ सात बजेमात्रै होटल पुगेका थियौं।
        कतिसम्म भने, ट्राफिक जामकै कारण हामी सबैको ‘प्रि-म्याच कन्फ्रेन्स’ नै छुटेको थियो। फर्किने दिन चाहिँ बिहान सबेरै होटलबाट निस्केका थियौँ। त्यसैले, करिव ४५ मिनेटमा विमानस्थल पुग्यौँ।
        यस्तो जटिल समस्या हुँदा पनि बंगलादेशले किन रिक्सा व्यवस्थापन गर्न सक्दैन त? बंगलादेशको ट्राफिकबाट आजित मैले एकजना स्थानीय पत्रकारसँग प्रश्न राखेँ।
        उनले भने, ‘ढाकामा विभिन्न आर्थिक बर्गका मानिसहरु छन्, सबैले गाडी चढ्न सक्दैनन्। ती मानिसहरु रिक्सा चढ्छन्। बेरोजगारी न्यूनिकरणमा पनि रिक्साले केही हदसम्म सघाएको छ।’
        बंगलादेशलाई विश्वमै सस्तो मजदुर पाइने देशमा लिइन्छ। ‘आँखोदेखा’ तथ्यले स्थानीय पत्रकारको भनाईलाई पुष्टि गथ्र्यो। तथ्याङ्कहरुले पनि यस्तै बताउँदो रहेछन्।
        बंगलादेशी यातायात विभागको तथ्यांक अनुसार ढाकामा १० प्रतिशतले निजी सवारी साधन चढ्छन्। २५ प्रतिशतले सार्वजनिक बस तथा ५ प्रतिशतले अटो रिक्सा चढ्दा रहेछन्। बाँकी ६० प्रतिशतका लागि रिक्सा नै सहज सवारी साधन रहेछ।
        ढाका पुगेपछि हामी नेपाली पत्रकारहरुले छलफल गरेका थियौँ, यहाँको सरकारले किन रिक्सा हटाउन नसकेको होला?
        अनि ठट्टैठट्टामा निष्कर्ष निकालेका थियौँ, ‘रिक्सा हटाउने निर्णय गर्‍यो भने यहाँको सरकार नै ढल्छ होला।’
        रिक्सासँग आवद्ध संगठनमात्रै २८ वटा रहेछन्। ‘भोट ब्यांक’ जोगाउन पनि रिक्सावालहरुले राजनैतिक संरक्षण पाइरहेका स्पष्टै थियो।
        नेपालमा एउटा गाडीले अर्काे गाडीलाई छोयो भनेमात्रै पनि निकै ठूलो बबाल मच्चिन्छ। कसैको गाडीले छुस्स छुनु हुँदैन, अक्सर नेपालीहरु मध्यबाटोमै गाडी रोकेर झगडा गर्न तम्सिन्छन्। त्यसैलेपनि ट्राफिक जाम बढ्छ। ठोकिएको ठाउँमा सानो दाग लाग्यो भनेपनि जरिवाना तिराइन्छ। कतिपय ‘केश’ त प्रहरीकोमा नै पुग्छ।
        तर, ढाकावासी यस्ता मामिलामा निकै नरम रहेछन्। त्यहाँ एक गाडीले अर्को गाडीलाई ठोक्नु सामान्य मानिदो रहेछ। यस्तो भएपछि एउटा गाडीले अर्को गाडीलाई गर्ने ‘ओभर टेक’ पनि सामान्य हुने भइहाल्यो।
        एउटा गाडी रोकिएको छ भने पछाडिबाट आएको अर्काे गाडीले ठक्कर दिइहाल्थ्यो। परिणाम, ढाकामा हामीले कुनैपनि सार्वजनिक यातायात सद्दे देख्न पाएनौँ। प्रत्येक बसले अर्को सवारीलाई ठक्कर दिएकै हुने, नकोरिएको कुनै गाडी नभेटिने।
        त्यही भएर यहाँको सडक दुर्घटनाको ग्राफ पनि उकालो शिखरमा पुगेको रहेछ। ‘बंगलादेश रोड ट्रान्सपोर्ट अथोरिटी’ का अनुसार, बंगलादेशमा ३.१ मिलियन दर्ता भएका सवारी छन्। त्यसमध्ये ढाकामा एक मिलियन सवारी साधन गुड्छन्। जसमा ७२ प्रतिशत गाडीहरु बिग्रेका, केरकार भएका, ठोक्किएका छन्।
        ‘पेसेन्जर्स वेलफेयर एशोसियसन’ ले गरेको एक अध्ययन अनुसार, ८७ प्रतिशत सवारीले बंगलादेशमा ट्राफिक नियमको उल्लंघन गर्छन्। परिणाम, प्रत्येक दिन ६४ जनाले ज्यान गुमाउनुका साथै १ सय ५० जना घाइते हुन्छन्। जनवरी-अप्रिल (सन् २०१८) बंगलादेशमा सवारी दुर्घटनामा १ हजार ८ सय ४१ जनाले ज्यान गुमाएका छन्, साढे ५ हजार घाइते भएका छन्।
        यो तथ्याङ्क देखेपछि लाग्यो, ट्राफिक नियम उल्लंघन र सवारी दुर्घटना त्यहाँ सामान्य जस्तै भइसकेको रहेछ।
        अरु कुरामा बंगलादेश हामी (नेपाल) भन्दा अघि रहेपनि ट्राफिक नियम उल्लंघन नगर्नेमा चाहिँ हामीले बंगलादेशलाई जितेका रहेछौँ।