Saturday 14 March 2020

यू-१९ विश्वकप छनोटः नेपाललाई आयातित खेलाडीको डर


तीन वर्षअघि(२०१६) बंगलादेशमा भएको यू–१९ विश्वकपबाट नेपाली क्रिकेटमा सन्दीप लामिछानेको उदय भयो। उमेर समूहको राष्ट्रिय प्रतियोगितामा पहिलो पटक नेपालको जर्सी लगाएका उनले उक्त विश्वकपमा आयरल्याण्डसँग ह्याट्रिक गरेपछि विश्वको ध्यान आफूतिर खिचेका थिए।
त्यसक्रममा नेपालले न्यूजिल्याण्डलाई पनि पराजित गर्दै १६ राष्ट्र सहभागी प्रतियोगिताको ८औं स्थानमा रहँदै यात्रा अन्त्य गर्‍यो। जुन यू–१९ विश्वकपमा नेपालको उच्च प्रदर्शन मध्येको एक थियो। त्यसअघि नेपालले पहिलोपटक यू–१९ विश्वकपमा सहभागी जनाउँदा सन् २००० मा पनि ८औं स्थानमा रहदै प्रतियोगिताको अन्त्य गरेको थियो।
उक्त विश्वकपबाट फेर्केपछि सन्दीपले न्युजिल्यान्डलाई पराजित गर्दा र आयरल्यान्डसँग ह्याट्रिक गर्दै नेपाललाई दोस्रो चरणमा पुर्याउनु आफ्नो अविश्वसनीय क्षण रहेको बताएका थिए।
Image result for Sandeep Lamichhane world cup 2016
सोही प्रदर्शनको आधारमा सन्दीपले यू–१९ टोलीको कप्तानी समेत पाए। तर, उनको कप्तानीमा नै नेपाल २०१८ मा न्यूजिल्याण्डमा भएको यू–१९ विश्वकपमा छनोट हुन सकेन। न्यूजिल्याण्ड विश्वकपका लागि २०१७ मा सिंगापुरमा भएको छनोटमा नेपाल अफगानिस्तानसँग पछि पर्दै विश्वकप खेल्नबाट वञ्चित रह्यो।
आफ्नै कप्तानीमा नेपाललाई विश्वकपमा पुर्याउन नसक्नु सन्दीपको यू–१९ टोलीको पीडादायी क्षणमध्येको एक थियो। प्रतियोगिताबाट फर्केपछि सन्दीपले भनेका थिए, ‘मेरै कप्तानीमा मैले नेपाललाई यू–१९ विश्वकपमा र्पुयाउन नसक्नुको जिम्मेवारी म लिन्छु। व्यक्तिगत रुपमा मेरो प्रदर्शन राम्रै थियो तर एक्लैले प्रदर्शन गरेर केही नहुने रहेछ। सबैले आफ्नो जिम्मेवारी पूरा गर्न सक्नुपथ्र्यो तर त्यसो भएन।’
सन्दीपले उक्त विश्वकप छनोटमा २४ विकेट लिएका थिए। जुन एकै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीले लिएको सबैभन्दा बढी विकेट पनि हो। नेपाल विश्वकपमा छनोट नहुनुको कारण अफगानिस्तानविरुद्धका दुई खेलमा हार नै हो। नेपालले अफगानिस्तानविरुद्ध एक खेलमा ९९ रन बनाउँदा अर्को खेलमा ४९ रनमात्रै बनाउँन सकेको थियो।
४९ रन नेपालले यू–१९ मा बनाएको सबैभन्दा कम स्कोर समेत थियो। उक्त प्रतियोगितापछि सन्दीपका कप्तानीमा प्रश्न उठ्नुको साथै उनको स्थानमा दीपेन्द्रसिंह ऐरीलाई समेत कप्तानी दिइएको थियो। 
***
समय फेरिएको छ। सन्दीप नेपाली यू–१९ स्टारबाट ग्लोबल स्टार बनिसकेका छन्। उनीसहितका त्यसबेलाका स्टार खेलाडीहरु बढी उमेरका कारण नेपाली यू–१९ टोलीबाट बाहिरिसके। एसिया क्षेत्रमा यू–१९ मा नेपालको मुख्य तगारो बन्दै आएको अफगानिस्तान पनि टेस्ट राष्ट्र बनिसकेको छ।
पुनः एकपटक नेपालले शुक्रबार(२९ चैत्र)बाट २०२० मा दक्षिण अफ्रिकामा हुने यू–१९ विश्वकपको छनोट खेल खेल्दैछ। एसिया छनोटमा नेपालसहित आयोजक मलेसिया, सिंगापुर, ओमान, कुवेत र यूएईले प्रतिस्पर्धा गर्दैछन्।
५० ओभरको उक्त प्रतियोगिताको अंकतालिकाको शीर्षमा रहने टोली विश्वकपका लागि योग्य हुनेछ। यसपटक भने अफगानिस्तानले टेस्ट राष्ट्र भएका कारण सोझै विश्वकपमा स्थान बनाएकाले नेपाललाई सजिलो छ।
प्रशिक्षक विनोद दास यसपटक नेपाली टोली विश्वकपमा छनोट हुनेमा विश्वस्त छन्। ‘अहिलेसम्मको मुख्य तगारो अफगानिस्तान नहुँदा पनि नेपाललाई सजिलो भएको छ,’ उनले भने, ‘अहिले अन्य प्रतिद्वन्द्वीका माझ पनि नेपाल ‘फेवरेट’ टिम हो। यसपटक हामीले छनोट हुने आशा गरेका छौं।’
प्रारम्भिक १८ जनाको सुची तयार पारेपछि नेपालले भारतको आन्ध्र प्रदेशमा १५ दिनको बन्द प्रशिक्षण राखेको थियो। त्यसक्रममा नेपालले आध्र प्रदेशसँग खेलेका ६ मध्ये ४ खेल जित्यो। सबै ६ खेलहरुमा नेपालले दुई सय प्लस रन बनाउँनु नेपालका लागि सकरात्मक कुरो भएको प्रशिक्षण दास बताउँछन्।
‘भारतमा हामीले १५ दिनको तयारीका क्रममा नेपालमा नभएका पूर्वाधारहरू एकै ठाउँमा पायौं,’ आन्ध्र प्रदेश क्रिकेट एकेडेमीकै होस्टलमा रहँदै उसैको मैदान प्रयोग गरेको नेपाली टोलीका प्रशिक्षक दासले भने, ‘हामीले ब्याटिङ, फिल्डिङ, फिटनेश परामर्शदाताहरु प्नि ल्याएका थियौं। राम्रो पीचमा ब्याट्सम्यानहरुले ६ वटै खेलमा दुई सय प्लस स्कोर गरेका छन्। यसले ब्याटिङमा हाम्रो आत्मविश्वास बढाएको छ।’
आयातित खेलाडीको डर
दक्षिण एसियाका भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान र अफगानिस्तान विश्वमा माथिल्लो श्रेणीको क्रिकेट खेल्ने देश हुन्। यी देशहरुमा क्रिकेट लोकप्रिय हुनुका साथै थुप्रै राम्रा खेलाडीहरु पनि छन्।
यीनै देशबाट आयातित खेलाडीहरु भने नेपाली टोलीको मुख्य चुनौती हो। यूएई, कुवेत, सिंगापुर मलेसिया जस्ता देशहरुमा थुप्रै खेलाडीहरु टेस्ट राष्ट्रबाट आउने भएकाले विपक्षीहरु कस्ता छन् भन्ने आफूहरुको मुख्य चिन्ताको विषय रहेको प्रशिक्षक दास बताउँछन्।
‘यूएई, कुवेत, ओमानका खेलाडीहरु हामीले सोचे अनुसार हुदैँनन्,’ विपक्षी खेलाडीका बारेमा बताउँदै दासले भने, ‘त्यहाँ पाकिस्तान, श्रीलंका, भारतबाट गएका खेलाडीहरु क्रिकेट खेल्छन्। कुन देशमा कस्ता खेलाडी छन् भन्ने थाहा नहुनु हाम्रो मुख्य चुनौती हो।’
छनोटमा नेपालको मुख्य प्रतिस्पर्धी यूएई हो। उसका कप्तान आर्यन लार्का समेत भारतबाट त्यहाँ पुगेका हुन्। हरियानामा जन्मिएका उनले यूएई ए टोलीबाट समेत खेलिसकेका छन्। यस्तै कुवेतका कप्तान अब्दुल सादिक पाकिस्तानबाट कुवेतमा पुगेका हुन् भने सिंगापुरका कप्तान अमन देसाई समेत भारतीय मुलका हुन्। त्यसबाहेक टोलीका अन्य धेरै खेलाडीहरु आयातित छन्।
विपक्षी टोलीको मुख्य शक्ति नै आयातित खेलाडीहरु हुन्। नेपालले भने विगतका संस्करणहरु झै यस संस्करणमा पनि शुद्ध नेपालीहरु नै मैदानमा उतार्दैछ। ठूलो प्रतियोगिताहरुमा जहाँ पनि चुनौती हुने र त्यसका लागि आफूहरु तयार रहेको प्रशिक्षक दास दोहोर्याउँछन्।
‘प्रतियोगितामा जे पनि हुन सक्छ। हामी विश्वस्त छौ कि हाम्रो उदेश्यमा हामीले ध्यान दियौं भने विश्वकपमा छनौट हुनेछौं,’ दासले भने, ‘हामीलाई विपक्षीहरुका बारेमा थाहा नभएपनि उनीहरुका विरुद्ध आफ्नो उत्कृष्ट तयारी गरेका छौं। जस्तो सुकैँ टिम आएपनि हामीलाई कसरी अघि बढ्नुपर्छ थाहा छ।’
विश्वस्त कप्तान

यसै प्रतियोगिताबाट सिनियर टोलीको सदस्य समेत रहेका रोहित पौडेलले पहिलोपटक नेपाली टोलीको नेतृत्व गर्दैछन्।
रोहितले विश्वकपमा नेपाललाई छनोट हुनेमा विश्वस्त छन्। ‘यो मेरा लागि अवसर हो। आफूलाई प्रमाणित गरौं र टोलीलाई विश्वकप छनौट गरौं,’ अघिल्लो महिना वर्षको उदीयमान खेलाडीको अवार्ड थापेका रोहितले भने, ‘हाम्रो टोलीको तयारी राम्रो छ। यसपटक हाम्रो राम्रो अवसर छ। म विश्वकपमा छनोट हुनेमा विश्वस्त छु।’
कप्तान रोहित नेपाली टोलीको ब्याटिङ बलियो भएको मान्छन्। सिनियर टोलीबाट प्रतिनिधित्व गरिसकेका ४–५ जना ब्याट्सम्यानहरु पनि टोलीमा रहेकाले टोलीको ब्याटिङ बलियो रहेको उनले बताए।
रोहितसँगै भीम सार्की, सन्दीप जोराले सिनियर राष्ट्रिय टोलीका प्रमुख ब्याट्सम्यानहरु हुन्। त्यसबाहेक राष्ट्रिय टोलीका तीव्रगतिका बलर पवन सर्राफले पनि विश्वकप छनोट खेल्दैछन्।
नेपाली टोली
रोहितकुमार पौडेल, अभिशेक बस्नेत, भीम सार्की, हरिबहादुर चौहान, कमलसिंह ऐरी, कुशल मल्ल, मोहम्मद आसिफ शेख, पवन सर्राफ, प्रतिश जिसी, रित गौतम, रासिद खान, सागर ढकाल, सन्दीप जोरा,  सुर्या तामाङ
नेपाली तालिका
अप्रिल १२- विरुद्ध सिंगापुर
अप्रिल १३- विरुद्ध यूएई
अप्रिल १५- विरुद्ध मलेसिया
अप्रिल १६- विरुद्ध ओमान
अप्रिल १८- विरुद्ध कुवेत
    प्रकाशित २८ चैत २०७५, बिहिबार | 2019-04-11 17:57:46

    No comments:

    Post a Comment