Saturday 14 March 2020

दीपेन्द्रको ‘वेल डन’ फिनिसिङको कथा

पोस्ट म्याच कन्फ्रेन्समा मिडिया सामु जितको कथा सुनाएर फर्कदै गरेका धनगढी ब्लुजका कप्तान दीपेन्द्रसिंह ऐरीलाई अँगालो मार्दै पराजित पोखरा पल्टनका कप्तान शरद भेषावकरले भने ‘वेल डन, वेल प्लेड।’ (राम्रो गरौं ,राम्रो खेल्यौं।
पोखरा प्रिमियर लिगको यो शुक्रबारको कथा हो। धनगढी दुई खेलमा जित र दुई खेलमा हार बेहोर्दै चार अंकका साथ पाँचौ स्थानमा थियो। समुहको अन्तिम खेलमा पोखराविरुद्ध खेल्नुअघि उससँग प्रतियोगितामा रहिरहन जितको विकल्प थिएन। पोखरालाई भने धनगढीसहित दुई खेल खेल्न बाँकी रहेकाले दबाब तुलनात्मक रुपमा कम थियो।
टस जितेर ब्याटिङ रोजेको पोखराले १ सय ४६ रनको लक्ष्य दियो। र, त्यसलाई पछ्याउँदै ब्याटिङ थालेको धनगढीले विदेशी खेलाडी(इंग्ल्याण्ड) पिटर ट्रेग्रोको अर्धशतकको पारीसँगै पहिलो दश ओभरमा सम्हालिको प्रदर्शन गर्यो। टे«ग्रोलाई ललितनारायण राजवंशी(५३)ले कुशल भुर्तेलका हातबाट क्याच गराएपछि भने धनगढीको पारी धरमरायो।
लगत्तै अर्को बाह्रौ ओभरमा धनगढीले अर्का विदेशी खेलाडी ड्यानियल लवारेन्स(३)लाई गुमायो। त्यसपछि पाँचौ विकेटका लागि क्रिजमा आएका धनगढीका कप्तान दीपेन्द्रसिंह ऐरीले जुन पारी खेले, त्यो शरदले भने जस्तो ‘वेल डन’ प्रदर्शन थियो।
नेपाली क्रिकेटमा शरद फिनिसरका नामले चिनिन्छन्। सन् २०१३ मा भएको विश्व टी–२० छनोटमा शरदले हरेक खेलको उत्कृष्ट फिनिसिङ गरेपछि उनीसँग फिनिसरको उपमा जोडिएको थियो। छनोटकै केन्याविरुद्ध अन्तिम ओभरमा नेपाललाई १७ रन आवश्यक रहेका बेला शरदले खेलेको फिनिसिङ पारीलाई अहिले पनि नेपाली क्रिकेटप्रेमीहरुले भुल्न सकेका छैनन्।
उक्त ओभरको पहिलो बलमा छक्का प्रहार गरेका शरदले दोस्रो बलमा २ रन लिएका थिए। तेस्रो र चौथो बलमा पुनः लगातार छक्का प्रहार गर्दै उनले म्याच फिनिस गरे। शरदको उत्कृष्ट फिनिसिङको मद्दतमा नेपालले केन्याले दिएको १ सय ८३ रनको लक्ष्यमात्रै भेटाएको थिएन। त्यही प्रतियोगिताबाट २०१४ को टी–२० विश्वकपमा समेत छनोट भएको थियो। जुन नेपाली क्रिकेटले खेलेको एकमात्रै विश्वकप हो।
तीनै फिनिसर शरदका विरुद्ध दीपेन्द्रले शुक्रबार उनको टोलीलाई अप्ठारो हुनेगरि फिनिसिङ पारी खेलेका थिए। दीपेन्द्रको पारीको प्रशंशा गर्दै शरदले भने, ‘उनीहरुले सुरुवात राम्रो गरेपनि बीचमा हामीले खेल पकडमा ल्याइसकेका थियौं तर दीपेन्द्रको अन्तिमसम्म खेल लिएर गए र जिताए। आजको जितको क्रेडिट उसको इनिङ्सलाई दिनैपर्छ।’
शरदले भनेझै १२औं ओभरमा एकातर्फ दीपेन्द्र धनगढीका लागि क्रिजमा रहेपनि अर्कातर्फ भने लगातार एकपछि अर्को गर्दै विकेट गएपनि दबाब बढ्न थालेको थियो। दीपेन्द्रले क्रिजमा आएर दुई रन जोड्न नपाउँदै सन्दीप जोरा(९) पवेलियन फर्किएका थिए।
सन्दीपसँगै १६औं ओभरमा सौरभ खनाल(३) र सत्रौं ओभरमा लगातार दुई बलमा मन्जित श्रेष्ठ(१) र कमलसिंह ऐरी(०) सस्तैमा पवेलियन फर्किएपछि खेलमा आठ विकेट लिएको पोखराले दबाब बनाएको थियो।
‘छिटोछिटो विकेट गएपछि दबाब बनेको थियो,’ १८ बलमा ३४ रन बनाउँन बाँकी र अन्तिम दुई विकेटमात्रै हातमा रहेको स्थितीलाई सम्झदै दीपेन्द्रले भने, ‘जित्छौं भन्ने विश्वास त मलाई सुरुदेखि नै थियो। त्यसपछि मैले अर्को भाई(रोविन क्षेत्र)िलाई भने, मलाई सिंगल देउ, म हानी हाल्छु।’
अठारौं ओभरमा पोखराका अनुभवी बलर मेहबुब आलम बलिङमा आए। दीपेन्द्रले दोस्रो बलमा छक्का प्रहार गरे र पाँचौ बलमा एक रन लिदैँ स्ट्राइक आफूसँगै राखे। त्योसँगै बाँकी दुई ओभरमा धनगढीलाई जितका लागि १२ बलमा २७ रनको आवश्यकता भयो।
१९औं ओभरमा शरदले यूएईका तीव्रगतिका बलर मोहम्मद नाविदको हातमा बल थमाए। यूएईबाट ३२ एकदिवसीय अन्तर्राष्ट्रिय तथा २३ टी–२० अन्तर्राष्ट्रिय खेलिसकेका नाविदविरुद्ध पनि दीपेन्द्र कुनै दबाबमा देखिएनन्। उनी निर्धक्कसँग प्रस्तुत भए।
दीपेन्द्रले पहिलो बलमै छक्का प्रहार गर्दै बलरमाथि दबाब बनाउन चाहे। तर, राम्रो अन्तर्राष्ट्रिय अनुभव हासिल गरिसकेका नाविदले बाँकी तीन बलहरु गुड लाइन लेन्थमा फाल्दै धनगढी र दीपेन्द्रमाथि लगातार दबाब बनाए। रेट रेट बढ्दै गएको महशुस गर्दै दीपेन्द्रले पनि पाँचौ बलमा छक्का प्रहार गर्दै दबाब केही कम गरे। अन्तिम बलमा तीव्र गतिमा कुद्दै पुनः एक रन लिएर स्ट्राइक आफूसँग राखे।
धनगढीलाई अब जितका लागि अन्तिम ६ बलमा १४ रनको आवश्यकता भयो। जितेमा पीपीएलको सम्भावना बाँकी रहन्थ्यो भने हारेमा खराब रन रेटका कारण प्रतियोगिताबाट बाहिरिने लगभग निश्चित थियो।
अन्तिम ओभरमा फेरि भेट भयो, नेपाली राष्ट्रिय टोलीका उद्यमान स्टार दीपेन्द्र र राष्ट्रिय टोलीका भेट्रान तथा अनुभवी खेलाडी मेहबुब आलमको।
दीपेन्द्रले ‘वेलडन’ फिनिसिङको कथा सुनाउँदै भने, ‘फाइनल ओभरमा १४ रन बाँकी हुनु अनि मेहबुब जस्तो अनुभवी बलरअघि भएपछि दबाब त हुन्थ्यो नै तर मलाई विश्वास थियो। मैदानको पश्चिम पट्टी छोटो बाउन्ड्री थियो र मैले सटहरुपनि त्यतै खेले र जित हात पार्यो।’
पहिलो बलमा दीपेन्द्रको आक्रामकबाट बच्न मेहबुबले बल बाहिर राख्ने क्रममा वाइड फाले। पुनः फालिएको त्यही बलमा दीपेन्द्रले छक्का प्रहार गरे। दोस्रो बलमा दुई रन लिए। तेस्रो बलमा ठूलो सट प्रहार गर्ने क्रममा मिस गरे। त्यसपछिका लगातार दुई बलमा चौका प्रहार गर्दै १४ रन आवश्यक अन्तिम ओभरबाट १७ रन जोड्दै टोलीलाई महत्वपूर्ण जित दिलाए।
लगातार प्रदर्शन
प्रतियोगितामा दीपेन्द्रले लगातार प्रदर्शन गर्दै आएका छन्। उनी प्रतियोगितामा सर्बाधिक स्कोर गर्ने खेलाडीको सुचीमा दोस्रो नम्बरमा छन्। नेपाली खेलाडीहरुको सुचीमा भने उनी शीर्ष स्थानमा छन्।
काठमाडौं रोयल्सका विदेशी खेलाडी गौरव तमोर(२११)पछि सर्बाधिक स्कोर गर्ने खेलाडी दीपेन्द्र(१८९) हुन्। दीपेन्द्रपछि सर्बाधिक स्कोर गर्ने नेपाली खेलाडीमा बुटवलका भीम सार्की हुन्। भीमले १ सय २३ रन जोडेका छन्।
प्रतियोगितामा दुई अर्धशतक प्रहार गर्ने खेलाडी शुक्रबारसम्म चारजनामात्रै छन्। त्यसमा एक दीपेन्द हुन्। पोखराविरुद्धको शुक्रबारको खेलमा उनी एक रनले अर्धशतक बनाउन चुकेका थिए। २६ बलमा ४ चौका र ४ छक्कासहित नटआउट ४९ रनको पारी खेलेका दीपेन्द्र म्यान अफ द म्याच चुनिएका थिए।
यस्तै दीपेन्द्रले समुह चरणको पाँच खेलमा ४ विकेट समेत लिएका छन्।
विदेशी खेलाडीद्धारा प्रशंशा
धनगढीले इंग्ल्याण्डको घरेलु प्रतियोगिता काउन्टी क्रिकेट खेलेका अनुभवी दुई जना खेलाडीहरुलाई विदेशी खेलाडीका रुपमा टोलीमा भित्र्याएको छ।
तीमध्ये विराटनगरविरुद्धको खेलमा धनगढीबाट अर्धशतकीय पारी खेल्दै टोलीलाई जिताएका पिटर ट्रेग्रोले भने, ‘दीपेन्द्रले निकै राम्रो गरे। दीपेन्द्रमा पनि प्रतिभाको कुनै कमी छैन। उनले हाम्रो पहिलो खेल(काठमाडौविरुद्ध)मै अर्धशतक प्रहार गरेका थिए। टोलीका लागि आवश्य पर्ने बेला गज्जब ब्याटिङ गरेका छन्। उनी राम्रो बलिङ पनि गर्छन् अनि गज्जबको फिल्डर पनि हुन्। नेपाली खेलाडीहरु क्रिकेट खेल्न इन्ज्वाय गर्छन्। उनीहरुको राम्रो टिम स्प्रिट छ। कडा मेहनत गर्छन्। नेपाली खेलाडीले विश्वमञ्चमा अझै राम्रो मौका पाउने आशा छ।’
पिटरले काउन्टीसहितका प्रथम श्रेणीका २ सय १७ खेल खेल्दा उनले साढे नौ हजार रन बनाउनका साथै लिस्ट ए मा पनि एक सय ८७ खेलको एक सय ६५ इनिङ्सबाट साढे चारहजार रन बटुलेका छन्। उनले डेढ दशक बढी व्यवसायिक क्रिकेट खेलेका छन्।
यस्तै अर्का दीपेन्द्रकै टोलीमा रहेका इंग्ल्याण्डका खेलाडी ड्यानियल लवारेन्सले पनि दीपेन्द्रको खेलको प्रशंशा गरे। नेपालमा थुप्रै युवा प्रतिभावान युवा खेलाडीहरु रहेको र तिनमा एक आफूहरुका कप्तान दीपेन्द्र रहेको उनले बताए।

No comments:

Post a Comment