घरेलु लिगमा सय गोल। स्ट्राइकर सन्तोष साहुखलले तीन वर्षअघि नेपाली फुटबललाई चटक्कै माया मार्दै विदेशिँदा बनाएको यो कीर्तिमानलाई अझै पनि कुनै खेलाडीले उछिन्न सकेको छैन्।
यही कीर्तिमानले प्रष्ट पार्छ कि विगतमा विपक्षी टोलीका लागि उनी कति खतरनाक थिए भन्ने। तीन वर्षपछि शनिबार घरेलु फुटबलमा फर्किंदा पनि साहुखलको संन्त्रास विपक्षी टोलीमा अझै उस्तै देखियो।
सहिद स्मारक ए डिभिजन लिगमा च्यासल यूथ क्लबले पहिलो चरणको खेलमा मछिन्द्र क्लबसँग बराबरी खेलेको थियो। दोस्रो चरणको खेल शनिबार लिगको दाबेदार टोली त्रिभुवन आर्मीविरुद्ध थियो। पहिलो खेलमा अंक बढ्नु परेपछि लिग जित्ने लक्ष्य लिएको च्यासलले आर्मीविरुद्ध खेल्न साहुखललाई जापानबाट डाकेको थियो।
साहुखल हल्चोकस्थित मैदान प्रवेश गर्दा उनका समर्थकले ताली बजाए र हुटिङ गरे। समर्थकहरुले आफूलाई नभुलेको देखेपछि साहुखलले दर्शकहरु तर्फ फर्कदै हात हल्ला अभिभावदन फर्काए। त्यसपछि हरेक पटक उनको प्रहारमा दर्शकले ताली ठोकिरहे।
विगतमा साहुखलका समर्थकहरु।
सुरुवातदेखि नै फुर्तिला देखिएका उनले १६औं मिनेटमा आर्मीका दुई डिफेन्डरलाई छलाउँदै हेमन्त(थापामगर)लाई बल दिए। हेमन्तले डीबक्स बाहिर सट हान्ने पोजिसनमा रहेका अमिर श्रेष्ठतिर बल मिलाइदिए। अमिरले तीस यार्ड टाढाबाट गरेको सशक्त प्रहारमा आर्मीका गोलरक्षक विकेश कुथुले जम्प गर्दै जोगाए। नत्र च्यासलले उही साहुखलले मिलाएको बलबाटै सुरुवाती अग्रता लिइसकेको हुन्थ्यो।
२९औं मिनेटमा सन्तोष तामाङको कर्नरमा विकाश खवासले उत्कृष्ट हेडिङ गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाए। त्यसपछि साहुखलले च्यासललाई खेलमा फर्काउँन गरेको पटक पटकको प्रयासलाई आर्मीका गोलकिपर कुथुले उत्कृष्ट बचाउ गर्दै म्यान अफ द म्याचको अवार्ड नै जिते।
४८औं मिनेटमा साहुखलले २५ यार्ड टाढाबाट प्रहार गरेको फ्रिकिक पोस्टको माथिल्लो भाग हुदैँ गोलमा परिणत हुनै लाग्दा कुथुले जम्प गर्दै पन्च गरे। ७६औं मिनेटमा निशान खड्काको क्रसमा साहुखलले गरेको हेडरमा भने दर्शकहरु गोल भन्दै उफ्रिसकेका थिए तर पुनः कुथुले जम्प गर्दै बल च्याप्प समाते।
‘साहुखलले निकै राम्रो खेल पस्के। उनको प्रहार(हेडर) त शतप्रतिशत गोल भएको झै लागेको थियो,’ खेलपछि च्यासलका प्रशिक्षक राजु शाक्यले भने, ‘साहुखलले पहिलो खेलमा जुन लय देखाए। त्यो कायम रहे हाम्रो दाबेदारी अझै बलियो बन्नेछ।’
साहुखल आफैँ भने पहिलो खेल भएकाले सोचेको भन्दा राम्रो खेल्न नसकेको बताउँछन्। ‘पहिलो खेल भएकाले सोचेको भन्दा राम्रो खेल्न सकिन्,’ उनले भने, ‘गोल हुने सम्भावना बोकेका फ्रिकिक र हेडरमा विपक्षी गोलकिपर(विकेश कुथु)ले उत्कृष्ट बचाउ गरे। उता(जापान) र यताको कन्डिसन नमिलेको भएकाले त्यस्ता राम्रोे प्रदर्शन नभएको हुनसक्छ। बिमल(घर्तीमगर) र हेमन्त (थापामगर) बाहेक अन्य चिनेका खेलाडी पनि थिएनन्। अब टोलीमा विस्तारै ‘एडजस’हुदैँ राम्रो प्रदर्शन गर्ने सोच छ।’
लिग नहुँदा विदेशिए
नेपालमा लिगले निरन्तरता पाइरहेको थिएन्। कहिले हुन्थ्यो, कहिले रोकिन्थ्यो। खेलाडीहरुलाई खेलेरै बाच्न गाह्रो थियो। खेलाडीका र क्लबहरु व्यवसायिक बन्न सकिरहेका थिएनन्। त्यही कारण तीन वर्षअघि साहुखल आफ्नो र परिवारको सुन्दर भविष्यको कल्पना गर्दै जापान भासिए।
नेपालमा लिगले निरन्तरता पाइरहेको थिएन्। कहिले हुन्थ्यो, कहिले रोकिन्थ्यो। खेलाडीहरुलाई खेलेरै बाच्न गाह्रो थियो। खेलाडीका र क्लबहरु व्यवसायिक बन्न सकिरहेका थिएनन्। त्यही कारण तीन वर्षअघि साहुखल आफ्नो र परिवारको सुन्दर भविष्यको कल्पना गर्दै जापान भासिए।
‘लिग कहिले हुने, कहिले नहुने थियो,’ तीनवर्षअघिको कुरा सम्झदैँ साहुखलले भने, ‘यहाँ खेलेरै बाच्न गाह्रो थियो। बच्चाहरुको सुखद भविष्यका लागि पनि केही गरौं भन्ने लाग्यो र जापान रोजे। अहिले पनि नेपालमा खेलाडीलाई खेलेरै बाच्न गाह्रो छ। तीनवर्षपछि फर्केर आउँदा पनि नेपालमा व्यवसायिकता विकास भैसकेको छैन्। ‘एम्याचुर’ जस्तै छ। लिग भैरहेको छ तर मैदान हेर्दा ‘लोकल म्याच’ जस्तै छ। यिनै कारणले म विदेशिएको हुँ।’
साहुखल जापानमा 'जे एेट' लिग खेल्ने गर्छन्।
जापानमा पनि साहुखल फुटबलबाट टाढिएनन्। जापानी फुटबलको लिग ‘जे टेन’ का क्लबहरुको प्रतिस्पर्धाबाट सुरु हुन्छ। सुरुमा साहुखलले ‘जे थ्री’को क्लबमा ट्रायल दिएका थिए। फिटनेशमा समस्या दिएपछि उनी क्लबमा पर्न सकेनन्।
‘नेपालबाट जादाँ म अलि मोटो थिए,’ नेपालमा पनि फिटनेश विवादमा परिरहने साहुखल भन्छन्, ‘जे थ्री मा ट्रायल पास हुन नसकेपछि ‘जे ऐट’बाट खेल्न सुरु गरे। अहिले नियमित प्रशिक्षणका साथै खेलहरु खेलिरहेको छु। साथै स्थानीय बालबालिकालाई प्रशिक्षण पनि गराइरहेको छु।’
नेपालमा सर्बाधिक सफल क्लबहरु मनाङ मस्र्याङ्दी, थ्री स्टार र एपीएफबाट खेलिसकेका साहुखल नेपाली र जापानी फुटबलमा व्यवसायिकताको ठूलै खाडल रहेको बताउँछन्।
‘शारीरिक र टेक्निकल रुपमा जापानको फुटबल नेपालमा भन्दा निकै माथि छ,’ साहुखलले अनुभव सुनाउँदै भने, ‘जापनिज खेलाडीहरु आफूलाई ‘मेन्टन’ गर्छन्। उनीहरुको खाना, डाइट, आराम, खेल अनि मनोरञ्जनको कार्यतालिका हुन्छ। नेपाली प्लेयरलाई के खानुपर्छ? के खानुहुन्न भन्ने नै थाहा छैन्। हिजोमात्रै भर्खर लामो यात्रा गरेर आएका खेलाडीहरु आजै मैदानमा उत्रिएर खेलिरहेका छन्। न कुनै आराम छ, न डाइट। यसो हेर्दा नेपाली खेलाडीहरु कसरी खेलिरहेका छन् जस्तो लाग्छ। खेलाडीहरुलाई ‘फिजिकल्ली’ हेर्दा बच्चाबच्चा जस्तो लाग्छ।’
जापनिज खेल्ने शैली आफूले यहाँको लिगमा देखाउँन चाहे पनि खेल्ने मैदान र प्रशिक्षण मैदान त्यो अनुरुपको नहुँदा समस्या देखिएको उनले बताए।
राष्ट्रिय टोली र डेढ सय गोलको लक्ष्य
सन् २००७ देखि २०१५ सम्म साहुखलले नेपाली राष्ट्रिय टोलीको प्रतिनिधित्व गरे। यस क्रममा ३४ खेल खेलेका उनले तीन गोल समेत गरेका छन्। सन् २०१५ मा भएको फिफा विश्वकप छनोटको भारतविरुद्धको दोस्रो लेगको खेल शुरुआती रोजाइबाट खेलेपछि उनी राष्ट्रिय टोलीमा छैनन्।
‘फुटबलको नशाले म फर्किएको हुँ। जापानमा पनि म फुटबलसँगै रहे,’ राष्ट्रिय टोलीबाट खेल्ने इच्छा व्यक्त गर्दै उनले भने, ‘राष्ट्रिय टोलीबाट खेल्ने इच्छा छ। लिगमा राम्रो प्रदर्शन भए राष्ट्रिय टोलीको ढोका खुल्ने विश्वास लिएको छु।’
यस्तै उनको घरेलु लिगमा डेढ सय गोल पुर्याउँने लक्ष्य पनि छ। ‘लिगमा पचास गोल गरेपछि मलाई सञ्चारकर्मीले अबको लक्ष्य के? भन्दा मैले सय गोल पुर्याउने भनेको थिए,’ साहुखलले कुराकानी टुंग्याउँदै भने, ‘अहिले एक सय एक गोलमा छु। यसलाई डेढ सय गोल पूर्याउने लक्ष्य छ।’
No comments:
Post a Comment