Saturday 14 March 2020

अभिनास बोहरो: पहिलो शृंखलामै उदाएका खेलाडी

यूएईविरुद्ध एकदिवसीय र टि–२० अन्तर्राष्ट्रिय शृंखला जितेपछि सोमबार(माघ २१)गते नेपाली क्रिकेट टोली त्रिभुवन विमानस्थलमा ओर्लियो।
ऐतिहासिक सफलता हात पारेको नेपाली टोलीको स्वागतका निम्ति विमानस्थलबाहिर उपस्थित समर्थकहरु संख्यामा समर्थकहरु हुटिङ गरिरहेका थिए। सबैलाई टोली विमानस्थलबाट बाहिर निस्कने प्रतिक्षा थियो।
त्यहीबीच राष्ट्रिय खेलकुद परिषद्(राखेप)ले रातो कार्पेड विच्छाउँदै खेलाडी बाहिर आउने संकेत गर्यो। दर्शकहरुको हुटिङ झन् चर्को बनाए। ठूलो संख्यामा उपस्थित सञ्चारकर्मीहरुका क्यामरा लेन्स पनि आगमनद्वारतिर तेर्सिए।
अभिनाश बोहरा
अभिनाश बोहरा
सामान्यतया यसअघि विदेशीमा प्रतियोगिता जितेर फर्कदा विमानस्थलमा टोलीको नेतृत्व गर्दै कप्तान ट्रफीका साथमा बाहिर निस्कन्थे। तर, यसपटक भने दृश्य फरक थियो।
ट्रफीसहित नेपाली टोलीको अग्रस्थानमा थिए, पहिलोपटक राष्ट्रिय टोलीमा परेका अभिनाश बोहरा। शृंखलाको सर्वोत्कृष्ट खेलाडी चुनिएका अविनाशलाई कप्तान पारस खड्काले स्वयम ट्रफी लिएर अघि जान अह्राएका थिए।
‘विमानस्थलमा स्वागत हुनेबारे त थाहा थियो तर कति संख्यामा समर्थकहरु उपस्थित होलान् जिज्ञासा थियो', पहिलोपटक राष्ट्रिय टोलीबाट खेलेर स्वदेश फर्किंदाको अनुभूति अभिनाशले सुनाए, ‘पारस दाईले तिमीले राम्रो गरेका छौं। तिमी ट्रफीसहित अघि जाउँ भनेपछि म अघि लागेँ। बहिर निस्कदा त त्यत्रो संख्यामा दर्शकहरुबाट न्यानो स्वागत पाउँदा आफैँलाई विश्वासै लागिरहेको थिएन। सँगै भएका साथीहरुलाई यस्तो नि हुन्छ, यार? भनिरहेको थिए।’
पहिलो शृंखलामै उत्कृष्ट
एकदिवसीय शृंखला जितिसकेपछि टि–२० शृंखलाका सुरुवाती दुई खेलमा दुवै देशले एक एकको बराबरी गरेका थिए। आइतबार(माघ २०)गते अन्तिम तथा निर्णायक टि–२० खेलमा दुवै टोलीको उत्तिकै दाबी थियो। यूएईलाई घरेलु मैदानमा एकदिवसीय गुमाएको बदला लिनुथियो भने नेपाललाई टि–२० शृंखला पनि जित्दै इतिहास रच्नु थियो।
२०१४ मा टि–२० विश्वकप खेलेपछि हङकङ र नेदरल्याण्ड्सविरुद्ध शृंखला खेले पनि दुवैमा पराजय भोग्दै नेपालले टि–२० मान्यता समेत गुमाएको थियो। अघिल्लोवर्ष मार्चमा एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता हासिल गरेसँगै स्वतः टि–२० मान्यता पाएको नेपाल सामु पहिलो यूएईविरुद्धको पहिलो टि–२० शृंखला जित्दै इतिहास रच्ने अवसर बनेको थियो।
ट्रफीसहित विमानस्थलमा नेपाली टोलीको नेतृत्व गरेका यिनै अभिनाशको नायकीय प्रदर्शनमा नेपालले टि–२० शृंखला पनि जित्दै इतिहास पनि रच्यो।
अभिनाश बोहरा
अभिनाश बोहरा
वर्षाले प्रभावित १० ओभरमा छोट्याइएको निर्णायक खेलमा नेपालले टस हारेर ब्याटिङ गर्दै १ सय ४ रन बनायो। प्रतिउत्तरमा यूएई चौथो ओभर समाप्तिमा ५१–१को सहजस्थितिमा थियो।
पाँचौ ओभर लिएर आएका अभिनाशले आक्रामक खेलिरहेका घुलम शब्बिरलाई पवेलियन फर्काइदिए। जहाँबाट खेल मात्रै पल्टिएन, यूएईलाई ९० रनमा रोक्दै नेपालले शृंखला नै जित्यो।
टि–२० शृंखलाको पहिलो खेलमा राष्ट्रिय टोलीबाट डेब्यू गरेका अभिनाशले तीनवटै खेल खेल्दै ६ विकेट लिए। सबै खेलमा सर्वाधिक स्कोरर विपक्षी खेलाडीको विकेट उनले लिएका थिए। सोहीकारण उनी शृंखलाको उत्कृष्ट खेलाडी पनि घोषित भए।Image may contain: 2 people, people smiling
तर उनलाई भने शृंखलाको उत्कृष्ट खेलाडी भैइएला भन्ने लागेको थिएन्। ‘मैले आफ्नो उत्कृष्ट दिने प्रयास गरेको हो। ब्याट्सम्यानले एक सय पारको रन बनाए अनि सोमपाल (कामी), सन्दीप(लामिछाने), करण(केसी)दाईले पनि राम्रो बलिङ गर्नुभएको थियो। टिमले राम्रो प्रदर्शन गरेपछि हामीले जितेका हौं,’ मंगलबार नेपालखबरसँग खुशी साट्दै अविनाशले भने, ‘मलाई त करण दाईले म्यान अफ द सिरिज पाउनुहुन्छ भन्ने लागेको थियो। म सोमपाल दाईलाई पनि करणदाई नै हुन्छन भनिरहेको थिए। तर, उद्घोषकले मेरो नाम लिएपछि विश्वासै लागेन। यताउता हेरे, साथीहरुले तिमी नै हौं भनेपछि अघि गएर अवार्ड थापे।’
त्यो गरुङ्गो डेब्यू क्याप
पाँच वर्षदेखि नेपालमा क्रिकेट खेल्न थालेका अभिनाशले अघिल्लो महिना राष्ट्रिय टोलीमा पर्दै आफ्नो सपना पूरा गरे। गत डिसेम्बर अन्तिम साता सम्पन्न एभरेष्ट प्रिमियर लिगमा भैरहवा ग्लाडियटर्शबाट उत्कृष्ट प्रदर्शन गरेपछि अभिनाश नेपाली क्रिकेटको छनौटकर्ताको नजरमा परेका थिए।
लगत्तै यूएई टोलीका लागि काठमाडौंमा भएको बन्द प्रशिक्षणका लागि उनी छनौट भए र दुई साता भएको बन्द प्रशिक्षण पछि घोषित राष्ट्रिय टोलीमा पनि अटाउन सफल भए।
यूएईविरुद्धको एकदिवसीय शृंखलाका तीनवटै खेलमा भने उनी बेञ्चमै रहे। तर पहिलो टि–२० को लागि सुरुवाती एघारमा पर्न सफल खेलाडीहरुमा भने अभिनाशको नाम पनि थियो। अभिनाशलाई भने खेलसुरु हुनुअन्तिम मिनेटमा आफूपनि नेपालको जर्सी लगाएर खेल्न लागेको थाहा भएको थियो।
‘मलाई त विश्वासै लागेन। म पनि देशका लागि खेल्दैछु भन्ने भित्रैबाट गर्वको महसुस भयो,’ खुशी मिश्रित मुस्कानका साथ अभिनाशले डेब्यू अनुभव सुनाए, ‘परम्पराअनुसार पारसदाईले मलाई डेब्यू क्याप हस्तान्तरण गर्नुभयो। देशका लागि राम्रो प्रदर्शन गर्नुपर्ने जिम्मेवारी थपिएकाले होला सायद त्यो लिदाँ निकै गरुङ्गो महशुस भयो।’
पहिलो टि–२० नेपाल र उनका लागि सुखद रहेन। नेपाल २१ रनले पराजित भयो भने ४ ओभरको बलिङ गर्दा ३६ रन खर्चदै उनी महँगा भए। तर, सो खेलमा यूएईका सर्बाधिक स्कोरर शाइमन अन्वर(५९ रन)लाई उनले पवेलियन फर्काएपछि उनले बाँकी खेलमा पनि मौका पाए। दोस्रो खेलमा तीन र तथा निर्णायक खेलमा दुई विकेट लिए।
नेपाली टोलीको बलियो पक्ष नै बलिङ हो। त्यसमाथि सोमपाल कामी, करण केसीले पछिल्लो समय नेपाली तीव्र गतिको बलिङको कमान सम्हालिरहेका थिए। उनीहरु उच्चलयमा भएकाले टिममा नयाँ तीव्रगतिको बलरले मौका पाउनु निकै चुनौतीपूर्ण थियो।
सोहीकारण पहिलो तीन एकदिवसीय खेलमा उनले मौका पाएका थिएनन्। तर, टि–२० का लागि चाहीँ टिममा पर्छु झै उनलाई पनि लागेको थियो, कारण उनको योर्कर बलिङ। ‘नेपाली टोलीमा पहिलेदेखि राम्रो बलरहरु थिए,’ अभिनाशले भने, ‘टि–२० का लागि भने झिनो आशा गरेको थिए। सायद टि–२० मा आवश्यक पर्ने योर्कर भेराइटी मसँग भएकाले मैले राष्ट्रिय टोलीको जर्सी लगाउन पाए।’
डक्युमेन्ट नपुगेर रोकिएको सैनिक जीवन
सल्यानबाट बुबाको पालामा नै अभिनाशको परिवार कामको खोजीमा भारतको सिमला पुगेको थियो। बुबा स्याउ फार्मको रेखदेख गर्नुहुन्छ, आमा घरेलु काम। अविनाश त्यही जन्मे।
कक्षा १२ को पढाईपश्चात अभिनाशले भारतीय सैनिकमा भर्नाका ट्रायल दिए। सबैकुरामा पास भइसकेका थिए तर, उनीहरुले ‘गोर्खा होस् भन्ने के प्रमाण छ?’ भनेर प्रमाण खोजे। भारतमै जन्मेहुर्केकाले उनले नेपाली नागरिकता बनाएका थिएनन्। त्यसबेला अभिनाशले कुनै डक्युमेन्ट जुटाउँन सकेनन र उनलाई भारतीय सैनिकले भर्ना लिएन।
त्यसपछि नेपालबाट पनि भारतीय सैनिकमा भर्नाका लागि आवेदन दिने लक्ष्यसहित उनी २०७० सालतिर नेपालगञ्ज आए। त्यहाँ उनकी ठूलीआमा(लिलावती राई)को घर थियो। सुरुमा उनले नागरिकता बनाए। अनि भारतीय आर्मीका लागि नेपालबाटै प्रयास गरे तर  सफल हुन सकेनन्।
सिमलामा उनी बच्चैदेखि क्रिकेट खेल्थे। आइतबार छुट्टी दिन गेमहरु हुन्थ्यो। त्यसदिन ड्युज बलले खेल्थे भने बाँकी दिन टेनिस बलले अभ्यास गर्थे। उनले क्रिकेट चाहीँ औपचारिक रुपमा कहीँ सिकेनन्। टोलका साथीहरु तथा क्लबबाट विभिन्न प्रतियोगितामै रमाइरहेका थिए। निरन्तर खेल्दै जादाँ उनी सबै क्लबको रोजाईमा पर्ने बलर बनिसकेका थिए।
नेपालगञ्जमा आएपछि खाली समयको सदुपयोग गर्न उनी स्थानीयस्तरका प्रतियोगिताहरु खेल्न थाले। त्यसमा साथ दिए, स्थानिय क्रिकेटर सिद्धान्तराज शाही र दाई अशोककुमार राईले। नेपालमा आई भारतीय आर्मीमा पनि छनौट नभएपछि निरन्तर स्थानिय क्रिकेट खेल्न थालेका उनलाई विस्तारै लत बस्न थाल्यो। लाग्यो, ‘अब नेपालबाटै केही गर्छु यतै बस्छु।’
उनी सिमलाबाट बुबा आमासँग विदा भई फर्किए। सिद्धान्त र अशोककुमारको सहयोगमा नेपालगञ्जको एनपी स्कुलमा दीपेन्द्रप्रताप सिंहको प्रशिक्षकत्वमा उनी नियमित अभ्यास गर्न थाले। नेपालगञ्जमा उनी जेएमसी टाइगर क्लब, रोयल जस्ता क्लबहरुबाट देशका विभिन्न ठाउँमा हुने प्रतियोगिताहरु खेल्थे।
निरन्तर मेहनतपश्चात पहिलो वर्षमा नै उनी नेपालगञ्जमा नाम चलेका क्रिकेटर भइसकेका थिए। परिणाम, लगत्तै काठमाडौंमा भएको राष्ट्रिय प्रतियोगितामा पनि उनी मध्यपश्चिमाञ्चलको टोलीमा छनौट भए। त्यही नै उनले खेलेको पहिलो राष्ट्रिय प्रतियोगिता थियो।
‘नेपालगञ्जमा सिद्धान्तराज शाही र दाई अशोककुमार राईले एकदमै सर्पोट गर्नुभयो, अभिनाशले नेपालमा सुरुवाती संघर्षका दिनहरु सम्झे, ‘अशोक दाईले फलफुल, डाइट अनि खानाको पनि व्यवस्था गरिदिनुभएको थियो। उहाँले आवश्यक परेको बेला खर्च समेत दिनुहुन्थ्यो।’
लगातारको प्रदर्शनपछि शशस्त्र प्रहरी बलको एपिएफ क्लबबाट खेलिरहेका कप्तान पारस खड्काको नजरमा उनी परे। पारसले एपिएफबाट सम्झौतामा खेल्न भने। उनले पनि स्वीकारे र उनको बसाई काठमाडौं सर्यो।
‘एपिएफले महिनाको १० हजार दिन्थ्यो। त्यो १० हजार पनि धेरै लाग्थ्यो,’ उनले भने, ‘काठमाडौंमा बस्न, खानलाई सपोर्ट हुन थाल्यो। पारस र बसन्त(रेग्मी) दाईको सपोर्टमा गेम पनि इम्प्रुभ हुदैँ गयो र विराटनगरमा भएको सातौं राष्ट्रिय खेलकुदमा पुरुष क्रिकेट तर्फ पनि हामी च्याम्पियन बन्यौं।’
त्यसपछि अभिनाश कुनैपनि प्रतियोगितामा छुटेनन्। डिसेम्बर अन्तिम साता भएको एभरेष्ट प्रिमियर लिगको प्रदर्शनपछि भने उनी पहिलोपल्ट राष्ट्रिय टोलीमा परेका हुन्।
विश्वकप र भारतविरुद्ध खेल्ने धोको
नेपालले २०२० मा अस्ट्रेलियामा हुने टि–२० विश्वकप छनोटको दोस्रो चरण खेल्दैछ। उक्त छनोटको खेलतालिका भने सार्वजनिक भैसकेको छैन।
अभिनाशलाई टोलीमा परिसकेपछि आफ्नो जिम्मेवारी झनै बढेको महसुश भएको छ। ‘भित्रैबाट मलाई नेपाल टि–२० विश्वकपमा छनोट हुन्छ भन्ने लाग्छ,’ विश्वासका साथ उनले भने, ‘त्यसका लागि हामी शतप्रतिशत दिनेछौं। जसरी पनि नेपाललाई टि–२० विश्वकपमा छनोट गराएरै छोड्नुछ भन्ने लागेको छ।’
अभिनाशको अर्को सपना पछि छ, भारतसँग खेल्ने।
‘बचपनदेखि भारतमै बसे। भारत राम्रो टिम पनि हो,’ अभिनाशले कुराकानी टुंग्गाउँदै भने, ‘भारतसँग खेल्ने भनेपछि एकदमै अलग्गै जोश आउँछ। एकदिन त भारतसँग खेल्ने सपना छ। आशा गरौं टि–२० विश्वकपमा छनोट हुदैँ भारतविरुद्ध खेल्ने सपना पूरा हुन्छ।’

No comments:

Post a Comment