Saturday 14 March 2020

सुनम गौतम: अष्ट्रेलियामा जमिरहेका नेपाली क्रिकेटर

यसै साता अष्ट्रेलियाको घरेलु क्रिकेट प्रतियोगितामा शतक प्रहार गरेपछि नेपाली क्रिकेटर सुनम गौतमको चर्चा चुलिएको छ।
सुनमले भिक्टोरिया राज्यको आधिकारिक क्रिकेट बोर्ड ‘क्रिकेट भिक्टोरिया’ले राज्यका क्लबहरुबीच प्रतिस्पर्धा गराउने भिक्टोरिया प्रिमियर लिगमा शतक प्रहार गरेका थिए। जुन हालसम्म अस्ट्रेलियाको घरेलु क्रिकेटमा नेपाली खेलाडीले प्रहार गरेको पहिलो शतक हो।
गत शनिबार भएको पह्रार्न क्लबविरुद्ध ग्रिन्भेल कंगारुजका उनले एक सय ६ रनको पारी खेलेपछि स्थानिय मिडियामा समेत ‘प्रिमियर लिगमा शतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी’ भनेर उनको चर्चा भइरहेको छ।
२०१४–१५ को सिजनदेखि कंगारुजबाट खेल्दै आएका सुनमले प्रिमियर लिगमा पहिलोपटक शतक प्रहार गरेपछि अष्ट्रेलियाबाट नेपालखबरसँग खुशी व्यक्त गर्दै भने, ‘पहिलो शतकबाट म निकै खुशी छु। साथीहरुले समेत फोन गरेर तथा सामाजिक सञ्जालहरुमा बधाई दिदा गर्व महशुस हुनुका साथै खुशी लागिरहेको छ।’
यसअघि कंगारुजबाट गौतमले ६ वटा अर्धशतक प्रहार गर्नुका साथै उनको उच्च स्कोर ८२ रन थियो। जारी सिजनमा मात्रै ४४.८ को स्कोरमा सुनमले कंगारुजबाट २ सय ६९ रन जोडिसकेका छन्।
बलिङमा पनि उनको टोलीबाट प्रभावशाली प्रदर्शन रहँदै आएको छ। ट्री ब्लुज क्लबविरुद्ध ३३ ओभर फालेका उनले तीन विकेट लिदैँ १ सय १५ रनमात्रै खर्चेका थिए। क्लबबाट बलिङमा उनको उत्कृष्ट प्रदर्शन १० ओभरमा ५ मेडन राख्दै १३ रनमात्रै खर्चेर ६ विकेट लिनु हो।
‘मैले क्रिजमा लामो समय टिक्न धेरै मेहनत गरेको छु,’ सुनमले भने, ‘शतकसँगै आत्मविश्वास पनि बढ्दै गएको छ। यो सबै अस्ट्रेलियन टिममा पर्ने उदेश्यको सुरुवाती संघर्ष हो।’
भिक्टोरियासँगै अन्य राज्यमा हुने प्रतियोगिताबाट निरन्तर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरु ‘स्टेट’ स्तरीय प्रतियोगिताका लागि छनोट हुने गर्छन्। त्यही स्टेट स्तरीय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरु राष्ट्रिय टोलीसँगै अस्ट्रेलियाको फ्रेन्चाइजी क्रिकेट बिगब्यास लिग(बीबीएल)का लागि छनोटमा पर्ने गर्छन्।
अर्थात अस्ट्रेलियाको राष्ट्रिय टोलीभन्दा सुनम अझै दुई स्टेप टाढा छन्। ती दुई स्टेप फलामको चिउँरा चपाउनु बराबर हुने उनले बुझेका पनि छन्।
‘स्टेट टिमका लागि नै अहिलेको तयारी हो,’ सुनमले भने, ‘आशा गरौं, एकदिन त्यहाँ पुग्नेछु। त्यसपछि राम्रो भयो भने अस्ट्रेलिया टिममा पुग्ने बाटो खुल्नेछ। स्टेट खेलेपछि बीबीएलको सम्भावना बढेर जान्छ। तर, सजिलो भने छैन्। निरन्तर प्रदर्शन गरिराख्नु जरुरी छ। स्टेट लेभलमा अन्तर्राष्ट्रिय खेलिसकेका खेलाडीहरुसँग नै प्रतिस्पर्धा गर्नुपर्छ।’
सुनमले दुईवर्ष अघि बीबीएल टोली मेलवर्न स्टार्सका लागि ट्रायल समेत दिएका थिए। यसपटक आफ्नो लय कायम रहे टी–२० स्लाम खेल्दै बीबीएलको बाटो खोल्ने उनको योजना छ।
नोभेम्बरको अन्तिम साताबाट सुरु हुने भिक्टोरिया टी–२० स्लामलाई उनले बीबीएलमा पर्ने प्रतियोगिताको रुपमा उपयोग गर्ने बताए। उनको क्लबको पहिलो खेल नै अस्ट्रेलियाका टी–२० का हिटर ब्याट्सम्यान ग्लेन म्याक्सवेलको टोली लाइन्सविरुद्ध नोभेम्बर २५ मा छ।
राष्ट्रिय टोलीको बन्द प्रशिक्षणबाटै अष्ट्रेलिया
Related image
सानै देखि क्रिकेटमा रुची भएका सुनमले १५ वर्षको उमेरदेखि नै क्रिकेट एकेडेमीबाट प्रशिक्षण लिन सुरु गरिसकेका थिए। लगत्तै उनले १७ वर्षमुनी राष्ट्रिय टोलीबाट नेपालको प्रतिनिधित्व गरे। तर, त्यसपछि उनले १९ वर्षमुनीको नेपाली टोलीबाट निरन्तर खेले।
सन् २०१३ मा अष्ट्रेलिया उड्नुअघि सुनम नेपाली राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा थिए। त्यसबेला मात्रै हैन, सन् २००९ देखि उनी राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा कहिलै छुटेका थिएनन्।
तर, सधैँ बन्द प्रशिक्षणमा परेपनि अघि बढ्न नसकेपछि एक खालको वितृष्णा अनि नेपालमा खेलाडीलाई खेलेर बाच्न अप्ठारो अवस्था देखेपछि उनको गन्तव्य अस्ट्रेलिया बन्यो।
राष्ट्रिय टोलीका खेलाडीहरुले भरिएको एपीएफ र काठमाडौं क्षेत्रबाट उनी राष्ट्रिय प्रतियोगिता खेल्थे। सिनियर खेलाडीहरुहरुको ब्याटिङ पछि तल्लो क्रममा मात्रै ब्याटिङ आउथ्यो। ‘एक पटक सर्बाधिक ९० रनको स्कोर गरेको थिए,’ राम्रो हुदाँहुदैपनि विदेशिनुको कारण बताउँदै उनले भने, ‘त्यसपछि तल्लो क्रममा आउने पालोले त्यही औषत ३०–४० रन बन्थ्यो। सायद राष्ट्रिय टोलीमा अघि बढ्न नसक्नु त्यही प्रदर्शन कारण थियो। अस्ट्रेलियन क्रिकेट टोली मलाई मनपर्ने टिम पनि हो। त्यसैले मैले अस्ट्रेलिया रोजे।’
सुनम गौतम
सुनम गौतम
अस्ट्रेलियामा उनको यूनिभर्सिटी नजिकै प्रिमियर लिग क्लब ‘फुटस्क्रे’को मैदान थियो। नेपालमा नियमित क्रिकेटको सम्पर्कमा रहेका सुनमलाई उक्त मैदान र त्यहाँ हुने प्रशिक्षणले आकर्षित नगर्ने कुरै भएन। सुनम पनि त्यतै तानिए। क्लबका प्रशिक्षकलाई आफूलाई पनि प्रशिक्षणमा सहभागी अनुरोध गरे तर प्रशिक्षकले ‘यो प्रिमियर लिग क्लब हो, तिमीले स्थानिय क्लबहरुबाट राम्रो प्रदर्शन गरेर आउनुपर्छ’ भन्ने जवाफ फर्काए।
सुनमले आफू नयाँ भएको र केही थाहा नभएको बताएपछि प्रशिक्षकले उनलाई एकपटक ‘हेर्ने’ भन्दै मंगलबारको प्रशिक्षणमा बोलाए। पहिलो दिनमा नै क्लबका प्रतिनिधिहरुले उनको ब्याटिङ, बलिङ र फिल्डिङ हेरेपछि भने, ‘क्लबमा स्वागत छ।’
सुरुवाती अवस्थामा भने फुटस्क्रेले सुनमलाई पहिलो रोजाईको सुरुवाती एघारमा स्थान दिएन। उनी दोस्रो रोजाईको सुरुवाती एघारबाट खेल्दै राम्रो प्रदर्शन गर्दै गए र पहिलो रोजाईको टोलीमा स्थान बनाए। त्यसबाट पनि निरन्तर राम्रो प्रदर्शन गर्दै गए।
त्यसवर्ष फुटस्क्रेले प्रिमियर्स लिगको उपाधि नै जित्यो। ३५ वर्षपछि क्लबले दोस्रो पटक लिगको उपाधि उचालेको थियो। उपाधि उचाल्दा मैदानमा आएका क्लबका लिजेन्ड सर म्यारी हुगोसले सुनमको खेलको प्रशंशा गरेपछि भने उनको हौसला अझै चुलियो।
Image may contain: 1 person, standing
अर्को वर्ष कंगारुजले उनीसँग सम्झौता गर्यो। जुन अझैपनि एकवर्ष कायम छ। यसबीच सुनमलाई अन्य क्लबले पनि प्रस्ताव गरेका छन्। तर, सुनम भने टी–२० स्लामबाट बीबीएलको ढोका खोल्न क्लबमा भरपुर मेहनत गरिरहेका छन्।
देश बाहिर राम्रो गरिरहेका खेलाडीले पनि मौका पाउनुपर्छ
सुनम गौतम
सुनम गौतम

नेपाल क्रिकेट संघ(क्यान) निलम्बनमा रहेका बेला नेपाली राष्ट्रिय टोलीको छनोट प्रशिक्षक र कप्तानले गर्दै आएका छन्। आइसीसीका प्रतिनिधि पनि छनोट समितीमा हुने भनिएपनि प्रशिक्षक र कप्तानले नै छनोटमा हावी रहने कुरा कसैबाट छिपेको छैन।
राष्ट्रिय टोलीबाट खेल्दै आएका १४ र बाँकी तिनकै वरपर देखिदैँ आएका चार जना थपेर प्रायः १८ जनाको बन्द प्रशिक्षण बोलाइन्छ। एक हप्ता पनि लामो नहुने बन्द प्रशिक्षणबाट फेरि उही अनुहार दोहोरिन्छन्। यो क्रम नेपालमा विगत दुई वर्षदेखि भइरहेको छ। जसले नयाँ अनुहारलाई अझै मौका दिने वातावरण बनेको छैन्।
सुनम भने राजधानी बाहिर र देशबाहिर पनि राम्रो प्रदर्शन गरिरहेका खेलाडीहरुलाई पनि मौका दिइनुपर्ने बताउँछन्।
विदेशमा प्रशिक्षण लिदाँ एक्सोजर र अनुभवका आधारमा पनि परिपक्व भइनेमा उनले जोड दिए। आफ्नो उदाहरण दिदैँ उनले भने, ‘म यहाँ प्रत्येक खेलमा १ सय ४० कि.मी प्रतिघण्टाको गतीका बलरहरुलाई सामना गर्छु। जुन गतीका बलरहरु नेपाली खेलाडीहरुले कहिलै नियमित रुपमा सामना गर्न पाउँदैनन्। म मात्रै हैन्, अहिले धेरै खेलाडीहरु राम्रो प्रशिक्षणका लागि विदेश जाने गर्छन। उनीहरुले त्यहाँ राम्रो गर्छन भने उनीहरु पनि नहेरिदिनु पर्छ। विदेश आएर पनि कुनै खेलाडीले राम्रो लेभलको क्रिकेट खेल्छ र निरन्तर प्रदर्शन गर्छ भने उसलाई पनि मौका दिइनुपर्छ।’
पटक पटक राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा परेका सुमन नेपालमा रहँदा आफ्नो प्रदर्शन अपेक्षित नरहेको स्वीकार्छन्। गतवर्ष एभरेष्ट प्रिमियर लिग(इपीएल) टोली चितवन राइनोजबाट खेल्न नेपाल आएका सुनमको प्रदर्शन पनि गतिलो हुन सकेन्।
‘नेपालमा आएर सिधैँ गेम खेल्दा प्रदर्शन राम्रै हुन्छ भन्ने ग्यारेन्टी हुदैँन,’ सुनम भन्छन्, ‘यहाँ(अष्ट्रेलिया)मा मैले लगातार राम्रो प्रदर्शन गरिरहेको छु भने राष्ट्रिय टोलीका छनौटकर्ताले कम्तीमा एक पटक हेरि दिनुपर्छ। म यहाँ राम्रो लयमा भएका बेला मौका पाए, नेपालका लागि अवश्य केही योगदान दिन सक्छु जस्तो लाग्छ। यहाँ काउन्टी, नेदरल्याण्ड्स, जिम्बाबे, आयरल्याण्ड्स, पाकिस्तान लगायतका देशका खेलाडीहरु आउँछन् र यहीँको प्रदर्शनका आधारमा राष्ट्रिय टोलीमा मौका पाउँछन्। तर, हाम्रो देशमा भने बाहिर राम्रो गरिरहेका खेलाडीहरुलाई मौका नै दिइदैँन। त्यो देख्दा निकै दुःख लाग्छ।’
    प्रकाशित २९ कार्तिक २०७५, बिहिबार | 2018-11-15 09:22:41

    No comments:

    Post a Comment