Friday 21 February 2020

मणी शाहः नेपाली फुटबलले गुमाएको एक अनमोल रत्न

सन् १९९३ डिसेम्बरमा बंगलादेशको ढाकामा भएको दक्षिण एसियाली खेलकुद(साग)को समापनको दिनसम्म नेपालको फुटबलबाहेक अन्य खेलहरुको प्रतिस्पर्धा सकिसकेको थियो। पदकतालिका स्वर्णविहिन थियो, नेपालको खातामा केवल ६ रजत र १५ कास्य।
तर, बलियो प्रतिद्धन्द्धि भारतसँग फाइनल भएपनि नेपालले स्वर्णको आशा मरेको थिएन्। किनकी मणीविक्रम शाह जस्ता अद्भुत खेलाडीहरु नेपाली टोलीमा थिए। जसलाई नेपाली फुटबलको स्वर्णिम पुस्ता पनि भनिन्छ।
राजुकाजी शाक्यको कप्तानीमा रहेको नेपाली टोलीमा मणीसँगै उमेश प्रधान, दीपक अमात्य, वसन्त गुरुङ, राजेश मानन्धर, राकेश थापा, ज्ञानु पुलामी, देवनारायण चौधरी, जीवन लामा र उपेन्द्रमान सिंह थिए। उनीहरुले फाइनलमा देखाएको अद्भुतपन नेपाली फुटबलको ठूलो उपलब्धि हो।
नेपालको समूहमा माल्दिभ्स र आयोजक बंगलादेश थिए। पहिलो खेलमा माल्दिभ्ससँग बराबरी खेल्दै अंक बाडेको नेपालले दोस्रो खेलमा बंगलादेशलाई १–० गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। अर्काे समूहको विजेता बन्दै भारतले नेपालसँगको भेट पक्का गरेको थियो।
रेफ्रिले सिट्टी फुकेसँगै ब्यग्रप्रतिक्षित फाइनल सुरु भयो। अनेपेक्षित रुपमा भारतले खेलको २० मिनेटमै अग्रता लियो। तर, नेपाली खेलाडीहरुलाई त्यसले कुनै फरक पारेन्। उनीहरुले एकपछि अर्को अट्याक जारी राखे। पहिलो हाफ सकिनै लाग्दा उमेश प्रधानले नेपालका लागि बराबरी गोल फर्काए।
यसले नेपाली टोलीमा थप जोस थपेको थियो। उक्त खेल स्मरण गर्दै कुराकानीका क्रममा मणीले भनेका थिए, ‘हामी त्यतिवेला देशको इज्जतका लागि खेलिरहेका थियौं। जसरी पनि हामीलाई जित निकाल्नु थियो। पहिलो हाफमा बराबरी गरेपछि अब खेलमा हाबी हुनुपर्छ भन्ने थियो।’
तर, परिस्थिती ठिक उल्टो बन्यो। दोस्रो हाफको सुरुवातमै भारतले पुनः अग्रता लियो। खेलको अन्त्यसम्म नेपाली खेलाडीहरुले खेलमा फर्कन हरसम्भव प्रयास गरे। तर, सफल हुन सकेनन्। खेल सकिन एक मिनेट कम समय बाँकी थियो। नेपाली पवेलियन अनि दर्शकहरुमा सन्नाटा छाएको थियो। स्वर्णविहिन बनेर फर्कने भइयो भनेर धेरैले आशा मारिसकेका थिए।
त्यहीबेला उदाएको पात्र हो, मणी शाह। रेफ्रिले अन्तिम सिठ्ठी फुक्न ३० सेकेन्डमा जुन कमाल गरे। साढे दुई दशक वितिसक्दा पनि नेपाली फुटबललाई नजिकबाट नियाल्नेहरुको आखाँमा त्यो पल अझैपनि झल्झत्ती आउँछ।
खेलसकिन ३० सेकेण्ड बाँकी हुँदा नेपालले डीबक्स नजिकै बाट फ्रिकिक पाएको थियो। त्यसबेला कर्नर र फ्रिकिक प्रहार गर्ने जिम्मा मणीको थियो। सो पल सम्झदा मणीले रोमाञ्चित बन्दै सुनाएका थिए, ‘मानिसमा सास छउन्जेल आस हुन्छ भनेझैं फुटबलको पनि ९० मिनेटभित्र जे पनि हुनसक्थ्यो। रेफ्रिले अन्तिम सिठ्ठी नफुकुनञ्जेल हामीले आस मारेका थिएनौं। करिब ३५ यार्ड टाढाबाट मैले गोलपोस्टको देब्रे साइड च्यापेर गरेको प्रहारले सोझै जाली चुमेको थियो। भारतीय गोलकिपरले बचाउने प्रयास त गरेका थिए तर सकेनन्।’
मणीको विश्वस्तरिय उक्त फ्रिकिकले नेपाललाई हारबाट मात्रै जोगाएन्। नेपाललाई स्वर्ण नै दिलायो। बराबरीपछि थपिएको समयमा पनि कुनै गोल हुन नसकेपछि खेल टाइब्रेकरमा गएको थियो। जसमा नेपालले भारतलाई ४–३ गोलले हरायो र उपाधि जित्यो। मणिले टाइब्रेकरमा पनि गोल गरेका थिए। नेपाली फुटबलमा सिनियर टोलीले फुटबलतर्फ जितेको यो पहिलो उपाधि पनि थियो। जसले नेपाललाई स्वर्णविहिन हुन दिएन्।
नेपाली म्याराडोना
नेपाललाई स्वर्ण जिताउन महत्वपूर्ण भूमिका खेलेका मणीको नाम नेपाली फुटबलमा त्यसपछि चम्किएको हो। त्यसपछि उनलाई समर्थकहरुले नेपाली म्याराडोनाको उपमा दिएका हुन्।
डियागो म्याराडोनाले सन् १९८६ को विश्वकप अर्जेन्टिनालाई जिताउँदा नेपालीहरुले पहिलोपटक टेलिभिजनमा फुटबल हेर्दै थिए। म्याराडोनाको जादुयी खेलबाट प्रभावित भएका थुप्रै नेपालीहरु उनलाई पछ्याउथे। त्यहीबेला मणीपनि म्याराडोनाबाट प्रभावित हुँदै उनको सिको गर्न थाले।
उनको खेलहरु नियमित हेर्न थाले। उनकै शैलीमा बल अघि बढाउन थाले। जर्सी नम्बर पनि म्याराडोनाकै १० नम्बर रोजे। म्याराडोनाले जस्तै कर्ली कपाल पालेका मणि झट्ट हेर्दा म्याराडोनाजस्तै देखिन्थे। आफूलाई नेपाली म्याराडोना भनेको सुन्दा उनी खुशी पनि हुने गर्थे।
आफ्नो म्याराडोनासँगको तुलनालाई उनी यसरी भन्थे, ‘म्याराडोना नि लेफ्टी थियो। म पनि लेफ्टी थिए। खेल्ने शैली अनि स्पिड पनि उस्ताउस्तै थियो। कद र कपालपनि उस्तै भएकाले समर्थकहरुले नेपाली म्याराडोना भन्न थालेका हुन्।’
सन् २००२ को विश्वकप जापान र कोरियामा भएको थियो। उक्त विश्वकप हेर्न म्याराडोना जापान आउने खबर सुनेपछि मणीले पनि उनलाई भेट्ने आशाका साथ जापानको टिकट काटेका थिए। तर, सुरुमा भिसाको समस्याले जापान नआएका म्याराडोनाले फाइनलपनि होटलमै बसेर हेरेको सुनेपछि भेट्ने इच्छा मनमै बोकेर मणी स्वदेश फर्किए।
१७ वर्षमा डेब्यू
सन् १९६७ मा मणी काठमाडौंमै जन्मिएका थिए। पिता लक्ष्मणविक्रम शाह राष्ट्रिय खेलकुद परिषद्का प्रशिक्षक थिए। त्यसले सानै उमेरदेखि उनको साइनो दशरथ रंगशालासँग जोडि दियो। बुबा एथ्लेटिक्सका खेलाडी रहिसकेकाले उनले मणीलाई पनि जुनियर बक्सिङ लगाएका थिए। तर, रंगशालामा मणीको ध्यान बक्सिङभन्दा फुटबलले खिच्यो र फुटबल खेल्न थाले।
सन् १९८३ मा थाइल्याण्डको बैंककमा भएको यू–१३ प्रिन्सेस कपमा राष्ट्रिय टोलीबाट खेल्नुअघि मणि शाहले १३ वर्षको उमेरमै ठमेल–११ क्लवबाट बी डिभिजन लिग खेलेका थिए।
पहिलो वर्ष उपकप्तान भएर प्रिन्सेस कपमा सहभागी भएका मणी दोस्रो वर्ष कप्तानका रुपमा सहभागी थिए। १९८४ मा फाइनलमा थाइल्याण्डसँग हारेपछि नेपाल उपविजेता बनेको थियो। तर, प्रतियोगिताको उच्च गोलकर्ता भने मणी थिए। उनले त्यसबेला ८ गोल गरेका थिए।
सन् १९८५ मा ढाका सागमा नेपाली राष्ट्रिय टोलीबाट १७ वर्षको उमेरमा उनको डेब्यू भयो। राष्ट्यि टोलीबाट यति कम उमेरमा डेब्यू गर्ने उनी पहिलो खेलाडी थिए। उक्त सागमा नेपाल तेस्रो भएको थियो। प्रतियोगिता भुटानललाई गणेश थापाले ह्याट्रिक गर्दा दुई वटा पास मणिका थिए।
त्यसयता १३ वर्ष नेपाली राष्ट्रिय टोलीको फरवार्ड हुँदै मिडफिल्डर बनेका उनले ४८ वटा राष्ट्रिय प्रतियोगितामा नेपालका लागि प्रतिनिधित्व गर्दै ६ अन्तराष्ट्रिय गोलपनि गरेका छन्। सन् १९९८ को एशियाली खेलकुदमा नेपालको झण्डा बाक्ने सौभाग्य पाएका शाह एशियाली खेलकुदमा नेपालको झण्डा बोक्ने अहिलेसम्मकै एकमात्र फुटबल खेलाडी हुन्। सोहीवर्ष उनले अन्तराष्ट्रिय फुटबलबाट पनि सन्यास लिएका थिए।
घरेलु फुटबल उनले लामो समय मनाङ मस्र्याङ्दी क्लबबाट खेले। मनाङलाई सीबाट बी हुँदै ए डिभिजनमा ल्याएर च्याम्पियन बनाउन उनको ठूलो भुमिका छ। पछिल्लो समय राखेपको प्रशिक्षक रहेका शाहको सोमबार साझ ५१ वर्षको उमेरमा नर्भिक अस्पतालमा निधन भएको छ। पछिल्लो समय उनलाई कलेजोको समस्या देखिएको थियो। उनको निधनले नेपाली फुटबल स्तब्ध बनेको छ।
उनीप्रति  हार्दिक श्रद्धान्जलि।

शक्ति गौचन: नेपाली सफलताका सारथि

यो सामाग्री २ साउन २०७५, बुधबारका दिन नेपालखबर डटकममा प्रकाशित छ।

यज्ञराज जोशी । नेपाली क्रिकेटले हात पारेका सबै सफलताका साक्षी हुन्, शक्ति गौचन। सन् २००१ मा १७ वर्षमुनीको राष्ट्रिय टोलीबाट नेपाली जर्सीमा क्रिकेट खेल्न थालेका उनले १७ वर्ष बढी अविरल रुपमा क्रिकेट खेले।
नेपाली क्रिकेटको सफलता यही १७ वर्षभित्र घुमेको छ। यही क्रममा नेपालले डिभिजन पाँच, चार, हुँदै एकमा स्थान बनायो। टी–२० विश्वकप खेल्यो अनि एक दिवसीय मान्यता पायो। सबैमा शक्ति थिए र यही साउन मध्यमा नेपालले नेदरल्याण्ड्ससँग पहिलो एक दिवसीय सीरिज खेल्दैछ र उक्त ऐतिहासिक सीरिजको पुनः साक्षी बनेसँगै शक्तिले अन्तर्राष्ट्रिय क्रिकेटबाट अलग रहने घोषणा गरिसकेका छन्।
२०१४ को टी-२० छनोटमा विकेट लिएपछि शक्ति गौचन
२०१४ को टी-२० छनोटमा विकेट लिएपछि शक्ति गौचन
सन्यास घोषणाका शब्दहरु बोल्दै उनले भने,  'यो नै सहि समय हो अगाडी बढ्नका लागि। म नेदरल्याण्ड्समा नेपालको पहिलो एक दिवसीय अन्तराष्ट्रिय खेलेर बिदा लिँदैछु। अबको टोलीले टेष्ट खेलेर बिदा  लियोस्।'
शक्तिको क्रिकेटसँगको नाता कति गाडा छ, उनले दोस्रो वाक्यमा व्यक्त गरे, 'यो मेरो पहिलो चरण सकिएको छ। अब म दोस्रो चरणमा फरक भूमिकामा आउनेछु। क्रिकेटसँग सँधै जोडिरहनेछु।' 
अर्थात शक्तिको स्पिनलार्इ नेपाली घरेलु क्रिकेटमा अझै देख्न पाइनेछ।
ब्याटिङमा शतक अनि बलिङमा ह्याट्रिक
अन्तराष्ट्रियसँगै नेपाली घरेलु क्रिकेटमा भएको परिवर्तनको साक्षी समेत हुन्, शक्ति। ३४ वर्षिया शक्तिसँगै अहिलेको टोलीमा रहेका बसन्त रेग्मीले मात्रै जय ट्रफीको अनुभव बटुलेका छन्। त्यसयता विरेन्द्र ट्रफी, टी–२० र एक दिवसीय प्रतियोगिताहरु हुँदै फ्रेन्चाइजीको व्यवसायीक लिगमा नेपाली क्रिकेट प्रवेश गरिसक्यो। शक्ति सधैँ यी सबै घरेलु प्रतियोगितामा ‘फ्रन्टम्यान’ भएर रहे।
घरेलु क्रिकेटमा उनी नेपाल प्रिमियर लिगमा जगदम्बा जाइट्स, धनगढी प्रिमियर लिगमा रुपन्देही च्यालेन्जर्स, एभरेष्ट प्रिमियर लिगमा पोखरा राइनोजको कप्तानी गरेका छन् भने राष्ट्रिय लिगहरु एपीएफबाट खेल्ने गरेका थिए।
सन् २००२ मा ओमनविरुद्धको खेलबाट उनले सिनियर राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए। धेरैले उनलाई एशोसियट क्रिकेटकै उच्चस्तरिय बलरका रुपमा पनि चिन्छन् तर शक्तिले राष्ट्रिय टोलीबाट शतक समेत प्रहार गरिसकेका छन्।
डेनमार्कविरुद्ध ह्याट्रिक लिएपछि शक्ति गौचन
डेनमार्कविरुद्ध ह्याट्रिक लिएपछि शक्ति गौचन
सन् २००५ को आइसीसी विश्वकप छनोटमा उनले इटालीविरुद्ध १ सय ३ बलमा १ सय ६ रन प्रहार गर्दै नेपालबाट अन्तराष्ट्रिय क्रिकेटमा शतक प्रहार गर्ने उनी दोस्रो खेलाडी बनेका थिए। तर, नेपाली टोलीबाट एक हजार रन पूरा गर्ने भने उनी पहिलो ब्याट्सम्यान हुन्।
टेस्ट क्रिकेटबाट प्रेरित शक्ति ढिलो ब्याटिङ गर्थे। तर, टी–२० क्रिकेट लोकप्रिय बन्न थालेपछि शक्तिले बलिङमा जोड दिए। उनी राष्ट्रिय टोलीबाट पहिलो ह्याट्रिक लिने खेलाडी समेत हुन्। २०१५ मा उनी टी–२० बलहरुको विश्व वरियतामा १७ औं स्थानमा पुगेका थिए। त्यसले पनि उनी विश्वस्तरिय बलर रहेको प्रमाणित गर्छ।
लगातार उत्कृष्ट प्रदर्शन
सन् २००१ बंगलादेशमा भएको एसीसी यू–१७ एसिया कपबाट उमेर समूहको नेपाली राष्ट्रिय टोलीमा स्थान बनाएका शक्तिले अर्को वर्ष न्यूजिल्याण्डमा भएको आइसीसी यू–१९ विश्वकप खेलेका थिए। सोही टोलीले पाकिस्तान र बंगलादेश जस्ता टेस्ट राष्ट्रलाई पराजित गरेको थियो।
त्यसपछिका दुईवर्ष उनले यू–१९ टोलीमा विताए र सन् २००३ मा यूथ एसिया कप, २००४ मा पुनः आइसीसी यू–१९ विश्वकपमा भाग लिए। सोहीवर्षको मार्चमा उनले सिनियर टोलीमा डेब्यू गरेका हुन्। सिनियर टोलीबाट प्रथम श्रेणीको क्रिकेटमा उनले सोही वर्ष भएको आइसीसी इन्टरकन्टेनेन्टर कपमा यूएईविरुद्धको खेलबाट गरेका थिए।
२००२ को एसीसी ट्रफीमा उनको उत्कृष्ट प्रदर्शनमा नेपाल ट्रफी उचाल्ने नजिकै पुगेपनि फाइनलमा यूएईसँग पराजित भएर उपविजेता बनेको थियो। उनले सनसनीपूर्ण २.२८ को औषतमा बलिङ गर्दै ७ विकेट हात पारेका थिए। १० राष्ट्र सहभागी उक्त एक दिवसीय प्रतियोगितामा सबैभन्दा कसिलो बलिङ उनको थियो। ब्याटिङमा पनि शक्ति उक्तिकै जमे। ६ खेलमा ४१.३३ को औषतमा २ अर्धशतकसहित उनले २ सय ४८ रन प्रहार गरेका थिए।
२०१० को एसियन गेम्समा चोटका कारण टोली भन्दा बाहिर रहेका उनले दुईवर्षपछि सफल पुनरागमन गरेका थिए। कतिपय खेलाडीहरुलाई चोटपछि टोलीमा फर्कन गाह्रो हुन्छ तर उनले कहिले मेहनत छाडेनन् र निरन्तर लागि रहे। जसले शक्तिलाई शक्ति द पावरको उपनामले पनि चिनायो।
ट्रकका पछाडी शक्तिको पोस्टार
ट्रकका पछाडी शक्तिको पोस्टार
२०१२ को आइसीसी विश्व टी–२० छनोटमा पुनः राष्ट्रिय टोलीमा डेब्यू गरेका उनले सो प्रतियोगितामा १६ विकेट लिंदै सर्बाधिक दोस्रो उच्च विकेट टेकर भए। त्यसै प्रतियोगितामा उनले डेनमार्कविरुद्ध ह्याट्रिक पनि लिएका थिए। सो प्रतियोगितामा कप्तान पारस खड्कापछि प्रतियोगिताकै उत्कृष्ट ११ खेलाडीमा चुनिने नेपालका अर्का खेलाडी थिए।
शक्तिलाई इंण्डियन प्रिमियर लिग आइपीएल टोली राजस्थान रोयल्सले पनि ट्रायलका लागि बोलाएको थियो। जसमा उनले राहुल ड्रविडलाई प्रभावित पार्नुका साथै अस्ट्रेलियन ब्राड होड्जको विकेट लिएका थिए। राजस्थान रोयल्सले ट्विट गर्दै लेखेको थियो, ‘शक्ति गौचनले अहिले नेट्समा आफ्नो महत्वपूर्ण अनुभवहरु बटुलिरहेका छन्। यसले कुनैदिन नेपाललाई ठूलो उत्साह दिनेछ।’
त्यो स्पेल: १०-८-२-३
२०१० को आइसीसी विश्व क्रिकेट लिग डिभिजन चारमा नेपाललाई च्याम्पियन बनाउँदा उनले कीर्तिमान कायम राखे। मलेसियाविरुद्धको खेलमा १० ओभरमा ८ ओभर मेडन राख्दै २ रन दिएर ३ विकेट दिनु एशोसियट नेशनको एक दिवसीय क्रिकेटकै सबैभन्दा राम्रो स्पेल थियो। त्यसअघि एक दिवसीय अन्तराष्ट्रियमा भने पाकिस्तानविरुद्ध १९९२ मा वेस्ट इन्डिजनका फिल सिमन्सले १० ओभरमा ८ ओभर मेडन राख्दै ३ रन दिर ४ विकेट लिएका थिए। 
त्यसबेला उच्च लयमा रहेका शक्तिले २०१२ को एसीसी ट्रफी एलिटमा १५ विकेट, सोही वर्ष भएको आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा १६ विकेट र डिभिजन चारमा १० विकेट लिएका थिए।
टी-२० विश्वकपमा हङकङविरुद्ध विकेट लिएपछि खुशी मनाउँदै शक्ति गौचन
टी-२० विश्वकपमा हङकङविरुद्ध विकेट लिएपछि खुशी मनाउँदै शक्ति गौचन
२०१४ मा बंगलादेशमा भएको आइसीसी टी २० विश्वकपमा शक्ति गौचनले हङकङविरुद्ध खेल्दा नेपाललाई ८० रनको जित दिलाउन ३ विकेट लिंदै म्यान अफ द म्याच भए। विश्वकपमा नेपालले तीन खेल खेल्दा उनले पाँच विकेट लिएका थिए।
त्यसपछि २०१४ को डिभिजन तीन र २०१५ को डिभिजन दुईमा नेपालबाट उत्कृष्ट प्रदर्शन गरेका शक्ति पछिल्लो पटक भने सन्दीप लामिछाने, सुशान भारी जस्ता खेलाडी उदाउँदा बढी समय बेञ्चमा थिए। तर, बेञ्चमा बस्दा पनि उनले खेलाडीलाई उत्प्रेरणा गर्ने कामबाट भने कहिलै पछि हटेनन्।

एक्स्पर्ट तरिका

यो सामाग्री १५ कार्तिक २०७५, बिहिबारका दिन नेपालखबर डटकममा प्रकाशित भएको छ। 

यज्ञराज जोशी । पोखरा प्रिमियर लिगको पहिलो दिनबाट नै आयोजकले अपेक्षा गरे भन्दा बढी दर्शकहरु प्याराफटमा खचाखच भरिएका थिए। दोस्रो दिन शनिबारको स्थिती पनि उस्तै थियो।
स्टेडियममा भरिएका दर्शकहरुलाई चौका, छक्काका प्ले कार्ड बाँडिएको थियो। दर्शकका हात हातमा टोलीका झण्डाहरु थिए। चाउचाउ, बिस्कुट लगायतका खाजाका प्याकेटहरु, पानीका बोतलहरु दर्शकले बोकेका थिए। बिडम्बना खेल सकिएपछि दर्शक त गए तर ती सबै वस्तु मैदानमै मिल्काए।
शनिबार नै काठमाडौं रोयल्ससँग पहिलो खेलमा पराजित भएपछि एक्स्पर्ट धनगढी ब्लुजले समर्थकको मन त जित्न सकेको थिएन् तर खेलपछि टोलीको मुख्य प्रायोजक एक्स्पर्ट (भिसा एजुकेशन एण्ड भिसा सर्भिसेज) को टोलीले गरेको रंगशाला सफाईले भने सबैको प्रशंशा बटुल्यो।
‘खेलपछि छक्का–चौकाका प्लेकार्ड, च्यातिएका कागज, खाजा खाएर मिल्काइएका प्लास्टिक, पानीका बोतल, झण्डा यत्रतत्र छरिएका देख्यौं’, एक्स्पर्टका कन्ट्री म्यानेजर शरदराज पाठकले पहिलो खेलपछिको घटना सम्झिए, ‘ती वस्तुले माछापुच्छ्रेको काखमा रहेको रंगशालाको दृश्य कुरुप बनायो। त्यही अवस्थाबीच भोलिपल्ट फोहोर प्याराफिटमा खेल हेर्न बस्दा खेलको उत्साह नै कम हुनसक्थ्यो। त्यसैले हामीले रंगशाला सफाईमा स्वःस्फुर्त जुटने निर्णय गर्यों।’
यो अभियानमा देशका विभिन्न ब्रान्चबाट आएका एक्स्पर्टका साधारण सदस्यदेखि कन्ट्री म्यानेजर अनि एक्सपर्टका ग्लोवल सिईओ सञ्जीव शर्मा समेत हरेक दिन नियमित खटिएका छन्। सरसफाईको काममा कोही ठालु हुँदैनन्। सबैजना फोहोरमा मिसिन्छन् र एकैछिनमा रंगशाला चिटिक्क बनाउँछन्।
एक्स्पर्टको सरसफाई आफ्नो टोलीको म्याचको दिनमा मात्रै सीमित रहेन्। त्यसपछि उनीहरु हरेक दिन खेल सकिएपछि रंगशाला सफाईमा जुट्छन्। धनगढी ब्लुजको खेल बिहान सकिएपनि उनीहरु दिउँसो हुने अर्को टोलीको खेलसम्म कुर्छन्। ताकि दर्शक गएपछि पुनः रंगशाला सफाईमा जुट्न सकियोस्।
सफाईसँगै एक्स्पर्टले मैदानमा दर्शकका लागि आवश्यक केही कुराहरु पनि उपलब्ध गराएको छ। रंगशालामा फोहोर फाल्ने डस्टबिन नदेखेपछि मैदान वरिपरि दुई दर्जन डस्टबिन राखेको छ। रापिलो घाममा बसेको देखेपछि घाम छेकियोस् भनेर केही ठाउँमा छाता, क्याप तथा निःशुल्क पिउने पानीको व्यवस्था पनि गरेको छ।
एक्स्पर्टले दर्शकका लागि छाता, पानी र डस्टबिनको पनि व्यवस्था गरेको छ
एक्स्पर्टले दर्शकका लागि छाता, पानी र डस्टबिनको पनि व्यवस्था गरेको छ
‘हामी नेपालीको संस्कार यसले गरिदिएन, त्यसले गरिदिएन भन्ने हुन्छ’, पाठकले रंगशाला सफाईबाट दिन खोजेको सन्देश बताउँदै भने, ‘तर सुरुवात त आफैले गर्नुपर्छ। पहिलो दिन हामीले १४–१५ ठूला प्लास्टिकका पोका फोहोर उठाएका थियौं। पछि हामीले डस्टबिनहरु व्यवस्था गर्यौं। फोहोर ४–५ पोकामा झर्यो। अहिले त दर्शकहरु पनि स्वस्फुर्त रुपमा हामीलाई सघाउन आएका छन्। यसले नेपालीहरु खेलसँगै सरसफाई पनि मन पराउँछन् भन्ने सन्देश गएको छ।’
‘हामीपनि आयोजकको जिम्मेवारी हो भन्दै पन्छिएनौं,’ पाठकले थपे, ‘फोहोर व्यवस्थापन नहुनु, दर्शकका लागि पानीको व्यवस्था नहुनु आयोजकका कमजोरी हुन भन्दैनौं। आयोजक पनि यो ठाउँमा पहिलो पटक आएको हो। कहीँकतै उहाँहरुको ध्यान पनि नपुगेको हुनसक्ला। एकअर्काले मिलेर नै गर्ने हो भन्ने सोचका साथ आयोजकहरुको समन्वयनमा नै कहाँ के आवश्यकता पर्छ हामी सकेको गरिरहेका छौं।’
एक्स्पर्ट र क्रिकेटको नाता
नेपाली घरेलु क्रिकेटमा शुन्यता छाएको महशुस गरि सुवास प्रधान लगायतका खेलाडीहरुले सन् २०१३ मा कलेज प्रिमियर लिग (सिपीएल) क्रिकेट प्रतियोगिताको आयोजना गर्ने सोच बनाए। सो प्रतियोगितामा कलेजको प्रतिनिधित्व गर्दै राष्ट्रिय टोलीका खेलाडीहरु खेल्थे।
एउटा क्लबले दुईवटा विदेशी खेलाडीहरु समेत राख्न पाउने अवधारणा सिपीएलबाट देशमा पहिलोपटक भित्र्याएको सुवासको दाबी छ। प्रतियोगिताका लागि कलेजहरुले भारत र श्रीलंकाबाट पनि खेलाडीहरु ल्याएका थिए। अहिले सिपीएल कै अवधारणा अनुरुप फ्रेन्चाइजी लिगहरुले पनि क्लबहरुलाई विदेशी खेलाडी अनिवार्य गरेको छ।
प्रतियोगिताको म्यान अफ द सीरिजलाई मोटरसाइकल पुरस्कार दिइएको त्यो पहिलो प्रतियोगिता थियो। प्रतियोगिताको प्रायोजन सहयोग जुटाउन सुवास र उनको टोली त्यसबेला एक्स्पर्ट कार्यालय पुग्दा जोडिएको सम्बन्धले सिपीएल हुँदै पोखरा प्रिमियर लिग (पीपीएल) को धनगढी ब्लुजसम्मको यात्रामा डोर्याएको हो।
‘नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय रुपमा राम्रो सम्भावना देखाएको थियो। तर घरेलु क्रिकेटको विकासबिना अन्तर्राष्ट्रिय उपलब्धिहरुलाई निरन्तरता दिन सम्भव हुँदैन’, सुवासले सम्झिए, ‘हामीले घरेलु क्रिकेटको विकासमा हातेमालो गर्न गरेको सहयोगलाई एकदम सकारात्मक रुपमा लिँदै उहाँ (एक्स्पर्ट) हरुले दुबै हातले अँगालो मार्दै हौसला बढाईदिनु भयो। त्यसपछि उहाँहरुले हाम्रो साथ कहिल्यैछाड्नु भएन्।’
क्रिकेटले नेपालीलाई उत्साहित गराइरहेको भएकाले नै आफूहरुले क्रिकेटमा लगानी गरेको एक्स्पर्टका कन्ट्री डाइरेक्टर पाठक बताउँछन्। ‘धेरै क्षेत्रले नेपालीहरुमा वितृष्णा होला। तर, जब खेलको कुरा आउँछ हामी सबै नेपालीहरु सर्लक्क एक ठाउँमा उभिन्छौं’, उनले भने, ‘र, पछिल्लो समय नेपाली क्रिकेटले देखाएको सम्भावनालाई यथार्थमा बदल्न राज्यको मुख ताकेरमात्रै पुग्दैन्। नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय स्पर्धामा गएर म्याच जित्दा हामी गर्व गर्छौ भने हामीले पनि केही योगदान गर्नुपर्छ भनेर क्रिकेटमा लगानी गरेका हौं।’
एक्स्पर्टले देशव्यापी स्कुल क्रिकेट लिगमा सहयोग गरेको थियो।
सिपीएलको सफलतापछि देशमा धनगढी प्रिमियर लिग, एभरेष्ट प्रिमियर लिग जस्ता व्यवसायिक फ्रेन्चाइजी प्रतियोगिताहरु सुरु भए। सिनियर खेलाडीहरुले यी लिगहरुबाट एक्सोजरसँगै आर्थिक आर्जन पनि गर्न थाले। सिनियर खेलाडीका लागि व्यवसायिक प्रतियोगिताहरु हुन थालेपछि सुवास र उनको टिम रुट लेभल क्रिकेटको विकासतर्फ मोडियो।
‘पुनः एकपटक हामी देशव्यापी स्कुल क्रिकेट लिगको अवधारणा लिइ एक्स्पर्टको दैलोमा पुग्यौं। यसपटक पनि उहाँहरुले सहयोगलाई निरन्तरता दिँदै हामीलाई हौसला थप्नुभयो,’ सुवासले सम्झिए, ‘जयराम अर्याल, सञ्जिव शर्मा अनि बद्री अर्याल लगायतको सहयोगमा हामीले देशैभरि स्कुल क्रिकेट लिग सञ्चालन गर्यौं।’
देशका महेन्द्रनगर, धनगढी, काठमाडौं, नेपालगञ्ज, पोखरा, चितवन, भैरहवा, झापा लगातयका क्षेत्रमा स्कुल लिग आयोजना भएको थियो। ती क्षेत्रका च्याम्पियन टोलीहरुको काठमाडौंमा राष्ट्रिय लिग भएको थियो।
‘प्रतिभा काठमाडौंमा मात्र नभएर देशका कुनैपनि कुनामा हुनसक्छ भनेर हामीले ग्रास रुट क्रिकेटलाई विकेन्द्रीकृत गरेका थियौं,’ सुवासले भने, ‘झण्डै पाँचहजार जनाले लिग खेलेका थिए। पछि उनीहरुले उमेर समुहका टोलीमा समेत स्थान बनाउन सफल भए। हामीहरुले विजेता टोलीलाई पैसा नदिएर एक लाख बराबरको क्रिकेट किट सामाग्री) दिएका थियौं। त्यसले पनि जिल्लाको क्रिकेट विकासमा केही सहयोग पुगेको विश्वास लिएका छौं।’
एक्स्पर्टकै सहयोगमा सुवास र उनको टिमले देशव्यापी कलेज प्रिमियर लिग पनि सञ्चालन गरिसकेको छ। कप्तान पारस खड्कालाई आफ्नो ब्रान्ड एम्बास्डर बनाएको एक्स्पर्टले यसपाली भने धनगढी ब्लुज टोली निर्माण गर्दै फ्रेन्चाइजी क्रिकेटमा हात हालेको हो।
‘पीपीएलमा हामीले एउटा क्षेत्र लिनुपथ्र्यो। त्यसक्रममा धनगढीमा क्रिकेटको रुची र चेतनाले हामीलाई त्यसतर्फ तान्यो।,’ पाठकले भने, ‘अन्य टोलीको तुलनामा हामीसँग युवा खेलाडीहरु छन्। हामीले वर्तमानमात्रै नहेरिकन भविष्यमा राम्रो खेलाडी तयार पार्ने उदेश्यले पनि युवा टोली लिएका हौं। यस खेलले नतिजा जे सुकै ल्याओस् हामी धनगढी ब्लुजलाई आगामी दिनमा पनि निरन्तरता दिने दीर्घकालिन योजनाका साथ अघि बढेका छौं।’

पोखरा क्रिकेटमा ‘ब्रेक थ्रु’को आशा

यो सामाग्री ९ कार्तिक २०७५, शुक्रबारका दिन नेपालखबर डटकममा प्रकाशित भएको छ।
यज्ञराज जोशी । छ दशकअघि गण्डकी बोर्डिङ स्कुलसँगै पोखरामा क्रिकेट आगमन भएको मानिन्छ। बोर्डिङ स्कुलमा अध्यापन गराउने इङलिस अध्यापकहरुले यस खेललाई पहिलोपटक पोखरासँग परिचित गराएको यहाँका क्रिकेट जानकारहरु बताउँछन्।
त्यसयता पोखराले झण्डै आधा दर्जन राष्ट्रिय प्रतियोगिताहरु आयोजना गरिसकेपनि राष्ट्रिय टोलीमा पोखराको अनुहार खोज्न अहिलेपनि मुस्किल पर्छ। केहीअघि दीपेश खत्री र अहिले करण केसीले पोखराको प्रतिनिधित्व गर्दै राष्ट्रिय टोलीबाट खेलेका छन्।
तर, शुक्रबारबाट पोखरामा आयोजना हुन लागिरहेको प्रिमियर लिग(पीपीएल)ले भने पोखराको क्रिकेटमा ‘ब्रेक थ्रु’ गर्ने आशा स्थानियको छ। पीपीएलको आयोजनासँगै पोखरामा क्रिकेट माहौल बढ्नुका साथै यसले पोखरा क्रिकेटलाई लयमा ल्याउन सहयोग पुर्याउने विश्वास कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देलको छ।
‘पीपीएलले सम्पूर्ण स्थानियहरु, खेलाडीहरु तथा पर्यटन व्यवसायीहरुमा उत्साह ल्याएको छ,’ उनले भने, ‘पारस खड्का, सन्दीप लामिछाने जस्ता खेलाडीहरुसँग स्थानिय खेलाडीहरुले अभ्यास गर्न पाइरहेका छन्। उनीहरुले ब्याटिङ गर्दा बलिङ गर्न पाएका छन्। बलिङमा ब्याटिङ गरिरहेका छन्। उनीहरुमा पनि आफू म राष्ट्रिय खेलाडीहरु जस्तै बन्ने उत्प्रेरणा जागेको छ। पीपीएलले पोखरालाई समग्रमा नयाँ जोश श्रृजना गरिदिएको छ। यसले यहाँको क्रिकेटलाई अघि बढाउन बाटो खुलाइदिने विश्वास लिएको छु।’
सोही विश्वास साथ संघले समेत पीपीएल आयोजकलाई हर तरहको सहयोग गर्ने बाचा गरेको उनले बताए। ‘हाम्रो अवधारणा मै ठूला प्रतियोगितामा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने थियो,’ सिग्देलले भने, ‘क्वीन्स इभेन्ट्सले पोखरामा पीपीएल गर्ने भएपछि हामीले त्यो निर्णयको स्वागत गर्दै कार्यसमितीबाट नै पीपीएललाई हरतरहको सहयोग गर्ने निर्णय गरेका छौं।’
पोखरा क्रिकेट
डेढ दशक बढी क्रिकेटमा बिताएका सिग्देलले कास्की क्रिकेटको उतारचढावको प्रत्यक्ष देखेका छन्। गण्डकी स्कुलबाट सुरु भएको पोखरा क्रिकेटलाई पृथ्वीनारायण (पीएन) क्याम्पसले अघि बढायो दियो। पीएन क्याम्पसमा अध्यापनका लागि भारत पढेर आउने गुरुहरुले आफूसँगै क्रिकेट खेलपनि ल्याएका थिए।
भौगोलिक रुपमा पाहाडी जिल्ला भएकाले पोखरामा क्रिकेटको विकासले गती तीव्रगतिमा लिन सकिरहेको थिएन। त्यसको परिणमा दोस्रो राष्ट्रिय खेलकुद पछि पनि देखियो। २०४० सालमा पोखरामा भएको दोस्रो राष्ट्रिय खेलकुदमा क्रिकेट पनि समावेश थियो।
स्थानिय अमरसिंह मैदानमा त्यसबेला क्रिकेट प्रतियोगिता गरिएको थियो। तर त्यसले पनि पोखराको क्रिकेट विकासको गतीलाई अघि बढाउन सकेन्। फलस्वरुप उक्त मैदानले सम्भावना बोकेपनि क्रिकेट मैदानको रुपमा अझैपनि मान्यता पाएको छैन्। मैदानमा स्थानिय स्तरका क्रिकेट प्रतियोगिताहरुसँगै फुटबल, मेला महोत्सव तथा कार्यक्रमहरु हुने गर्छन्।
एसिसी एकेडेमी गुम्दाको पीडा
२०५१ सालमा नेपाल क्रिकेट संघ(क्यान)का तत्कालिन महासचिव विनयराज पाण्डेको सक्रियतामा पोखरामा कास्की जिल्ला क्रिकेट संघको गठन भयो। त्यसले पनि सुरुवाती वर्षहरुमा यहाँको क्रिकेटलाई माथि उठाउँन प्रभावशाली भुमिका खेल्न सकेन्। तर, २०५६ सालबाट एसियन क्रिकेट काउन्सिल(एसिसी)ले एसीसी एकेडेमी पोखरा बनाउने भनेसँगै यस क्षेत्रको क्रिकेट फेरि जुर्मुरायो।
जसमा तत्कालिन संघका अध्यक्ष डा.वीरेन्द्रसिंह गुरुङ लगायतको भुमिका महत्वपूर्ण मानिन्छ। तर, विडम्बना क्यानको खिचातानी र राजनितीका कारण पोखरामा बन्ने भनेको एसिसी एकेडेमी दुबईमा सर्यो। त्यसले पोखराको क्रिकेटमा ठूलो धक्का लागेको अध्यक्ष सिग्देल बताउँछन्।
‘क्यानको खिचातानीले गर्दा पोखरामा एसिसी एकेडेमी बनेन्। एकेडेमी दुबई गयो,’ पीपीएलको पूर्वसन्ध्यामा नेपालखबरसँग कुरा गर्दै सिग्देलले भने, ‘त्यो गुम्दा पोखरालाई त ठूलो घाटा भयो नै त्यसले समग्र नेपाली क्रिकेटलाई समेत हानी पुग्यो। अहिले दुबईको सोही एकेडेमीमा थुप्रै अन्तर्राष्ट्रिय खेलहरु भइरहेका छन्। यहाँ बनेको भए पोख्रेलीहरुले आफ्नै आगँनमा अहिले अन्तर्राष्ट्रिय खेलहरु हेर्न पाइसकेका हुन्थे।’
स्वरुप फेरिएको रंगशाला मैदान
एसिसी एकेडेमी दुबई गएर निराश भएका पोख्रेली क्रिकेट समर्थकहरुलाई पछि हालका राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमटा आएपछि फेरि आशा जगाए। राष्ट्रिय खेलकुद परिषद्(राखेप)ले टमटालाई २०५८ सालमा भैरहवाबाट पोखरा क्षेत्रको क्रिकेट विकासका लागि प्रशिक्षकका रुपमा खटाएको थियो।
‘यहाँ ग्राउण्ड थिएन्, ढुंगामाटो मात्रै थियो।’ पीपीएलका लागि तयार पारिएको आकर्षक मैदानतर्फ इंगित गर्दै टमाटाले सम्झे, ‘यो मैदान प्रशिक्षणका लागि उपर्युक्त नहुँदा मौरिडाडाँ भन्ने ठाँउमा हामी अभ्यास गथ्र्यौ। सँगै भएको फुटबल मैदानमा वार्मअप गथ्यौं। पछि २०६३ साल एसिसीको फन्डिङ र स्थानियहरुको सक्रियतामा अहिले रंगशालामा भएको मैदान बनाइएको हो। अलिअलि घाँस भएको उक्त मैदान त्यसपछि बल्ल अभ्यास गर्न लायक बन्यो।’
यही रंगशाला मैदानमा पछि जसोतसो पाँच वटा राष्ट्रिय प्रतियोगिताहरु समेत भए। तीनवर्षअघि नेपाली राष्ट्रिय टोलीको बन्द प्रशिक्षणसमेत यसै मैदानमा भएको थियो। तरपनि २०७१ सालमा टमटाको सरुवा काठमाडौं हुदाँ समेत मैदानको स्तरोन्नतीमा कसैको ध्यान पुग्न सकेको थिएन्।
‘६ महिनाअघि म आउँदा यो मैदान कुनैपनि हालतमा पीपीएल जस्तो ठूलो राष्ट्रिय प्रतियोगिता गर्न लायक थिएन्, टमटाले भने, ‘अहिले पूरै स्वरुप नै परिवर्तन भएको छ। ढुंगा नै ढुंगा हुने आउटफिल्ड हरियाली उब्जिएको छ। चारवटा घाँससहितका पीचहरु निर्माण भएका छन्। यस्तोलागि रहेको छ कि कुनै अन्तर्राष्ट्रिय मैदानमा आएर खडा भएको छु। यो पीपीएल आयोजक, ग्राउण्ड स्टाफ र क्युरेटरको तीन महिनादेखिको लगातारको मेहनतले सम्भव भएको हो। यसले आट्यो भने गर्न सकिदो रहेछ भन्ने उदाहरण प्रस्तुत गरेको छ।’
‘यो एकदिन तटस्थ मैदानका रुपमा विकास हुन्छ, हुन्छ,’ टमटाले मैदानको भविष्य केलाउँदै भने, ‘स्टेडियम पनि चाहिदैँन, अलिकति व्यवस्थित रुपमा पवेलियन, ड्रेसिङ रुम र अत्यावश्यक सुबिधाहरुको व्यवस्थामात्रै गरिदिने हो भने यहाँ थुप्रै एसिसी अनि आइसीसीले गेम दिन सक्छ। त्यसका लागि सरोकारवालाले पीपीएलले बनाएको चार्मलाई समात्न सक्नुपर्यो।’
आइसीसी तथा एसिसीका प्रतिनिधि भन्छन्ः पोखरामा गेम दिन्छौं
सन् २००७ मा पोखराका वरिष्ठ फोटो पत्रकार सुदर्शन रन्जितले पोखरा रंगशाला क्रिकेट मैदानको तत्कालिन ढुंगे मैदानमा क्रिकेटप्रेमीहरु ब्याटिङ गरिरहेको तस्बिरको परिदृश्यमा माछापुछ्रे खुलेको थियो।
सन् २००७ मा पोखराका वरिष्ठ फोटो पत्रकार सुदर्शन रन्जितले खिचेको यस तस्बिरले एसिसीको वर्ष तस्वीरको अवार्ड जितेको थियो
उत्तरमा खुलेको हिमालको काखमा ढुंगे मैदानमा क्रिकेट खेलिरहेको फोटोलाई एसिसी(एशियन क्रिकेट काउन्सिल)ले वर्षको उत्कृष्ठ फोटाको उपाधि दियो। त्यससँगै पोखराको क्रिकेटले अन्तर्राष्ट्रिय समुदायको ध्यान खिचेको थियो।
जारी पीपीएललाई पनि क्रिकेटको सर्वोच्च संस्था अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले मान्यता दिएको छ। ‘सन २००७ को फोटोले दिलाएको अवार्डले पोखरालाई अन्तर्राष्ट्रिय रुपमा चिनाएको थियो,’ संघका अध्यक्ष सग्देल भन्छन्, अहिले फेरि पीपीएलले अन्तर्राष्ट्रिय क्रिकेट प्रेमीहरुको ध्यान पोखरातर्फ आकर्षित गरेको छ। हामीले थुप्रै खेल पर्यटक भित्र्याउने क्रिकेटलाई पीपीएलसँगै अघि बढाउन सकेनौं भने त्यो हाम्रो दुर्भाग्य हुनेछ।’
मैदान भएको खण्डमा आइसीसी तथा एसिसीका प्रतिनिधिहरु अन्तर्राष्ट्रिय गेमहरु पोखरामा दिन तयार रहेको सिग्देल बताउँछन्। ‘अहिले काठमाडौंमा मात्रै अन्तर्राष्ट्रिय गेमहरु भइरहेका छन्,’ उनले भने, ‘एसिसी तथा आइसीसीका प्रतिनिधिहरु काठमाडौं आएका बेला हामीले उनीहरुलाई पोखरा घुमाएका छौं। उनीहरुले एउटा खेल्नेसँगै अर्को अभ्यास मैदान भए गेमहरु दिने बचनबद्धता दोहोर्याएका छन्।’
हाल क्रिकेटका लागि पोखरामा रंगशाला मैदानको मात्रै प्रयोग हुने गरेको छ। त्यही कारण सिग्देल स्वयमपनि अभ्यास मैदानको खाचोँ औल्याउँछन्।
रंगशाला मैदानमा विगत तीन महिनादेखि पीपीएलका लागि काम भइरहदाँ पोखराको स्थानिय क्रिकेट ठप्प भएको थियो। स्थानियहरुले शनिबारका दिन खेल्थे, दशैँ तिहारको विदामा थुप्रै टुर्नामेन्ट हुन्थ्यो। तर, बैकल्पिक मैदानको अभावमा ती सबै प्रतियोगिताहरु हुन सकेनन्।
यता, अभ्यास मैदानको अभावमा जारी प्रतियोगिताको घरेलु टोलीहरु तथा अन्य टोलीहरुलाई पनि अभ्यास गर्न समस्या भएको सिग्देल बताउँछन्। ‘पोखरा पल्टन प्रतियोगिताको घरेलु मैदान हो,’ सिग्देलले भने, ‘तर उसलाई घरेलु मैदानको कुनै फाइदा छैन्। अन्य टोलीको जस्तै उसका लागि पनि यो मैदान नयाँ हो। यदि अन्य विकल्प भएको भए घरेलु टोलीले यहाँको माटोले कस्तो खेल्थ्यो र स्थानिय कन्डिसन के भन्ने राम्रो बुझ्न सक्थ्यो। त्यसको फाइदा उठाउन सक्थ्यो।’

नयाँ मैदानको सम्भावना
प्रदेश सरकार गठनसँगै यहाँ नयाँ मैदान निर्माणको सम्भावनाको पनि खोजी भएको छ। गण्डकी प्रदेशले स्पोर्टस एकेडेमीको अवधारणा अन्तर्गत अन्तर्राष्ट्रिय मैदान आवश्यक रहेको कुरा आफ्नो नीति तथा कार्यक्रममा पनि उल्लेख गरेकाले यहाँका क्रिकेट प्रेमीहरु उत्साहित छन्।
साथै प्रदेशले विज्ञसमुहको गठन गर्दै बजेट पनि गरेर मैदान खोज्ने जिम्मेवारी दिएको थियो। उक्त समुहले तयार पारेको प्रतिवेदन हाल प्रदेश मन्त्रीमण्डलमा छलफलमा रहेको सिग्देलले बताए।
विज्ञ समुहले पोखरा रंगशालाभित्र रहेका विकल्प र प्रदेशका अन्य जिल्लामा रहेका विकल्पहरु प्रस्तुत गरेको छ। त्यसका लागि आफूले सुरुमा रंगशाला बाहिर अर्को मैदान खोज्दै त्यसको काम अघि बढाउनुपर्ने सुझाव दिएको सिग्देल बताउँछन्।
यस्तै रंगशाला मैदानको स्तरोन्नतीका लागि समेत डीपीआर तयार भइसकेको छ। जसअनुसार १ अर्ब ५६ करोडको बजेटमा यस मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन सकिने उल्लेख छ। तर, प्रदेश सरकारले छुटाएको न्यून बजेटले मैदानको विकासमा आशातित प्रगती हुन नसकेको उनी बताउँछन्।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरालाई पर्यटनको राजधानी मात्र नभई खेलकूदको राजधानीसमेत बनाउन सकिने बताए। प्राकृतिक सुन्दरताले भरिभराउ पोखरामा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता गर्नसक्ने किसिमले पूर्वाधार विकास गर्नुपर्ने उनले बताए। खेलाडी र निजी क्षेत्रको प्रयासमा मात्रै पनि खेल क्षेत्रमा राम्रो उपलब्धि हासिल भएको बताउँदै उनले पूर्वाधार एवं आवश्यक वातावरण निर्माण गर्ने जिम्मेवारी राज्यको भएको बताए। 
पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जीसी पोखरालाई खेलपर्यटकका रुपमा पनि परिचित गराउन आफूहरु तयार रहेको बताउँछन्। ‘पीपीएल जस्तो प्रतियोगिता हामी आफैले आयोजना गर्न सकेको भए सुनमा सुगन्ध हुन्थ्यो,’ जिसीले भने, ‘तर पनि नीजी क्षेत्रले गरेको प्रतियोगितामा हाम्रो पूर्ण सहयोग रहनेछ। आगामी दिनमा हामी पनि आवश्यक निती निर्माण गर्दै यस क्षेत्रको खेल विकासमा सक्रिय भुमिका खेल्नेछौं।’

पोखरा चिनाउने फोटोग्राफर

यो सामाग्री 2018-11-12 09:26:06 मा नेपालखबर डटकममा प्रकाशित भएको छ।

यज्ञराज जोशी । पोखरा रामबजारमा रहेको उनको घरको बैठक कोठामा प्रवेश गर्ने जोकसैलाई भित्तामा झुण्डाईएको ठूलो फ्रेमिङले तान्छ।

फ्रेमिङका दुईवटा भाग छन्, तल्लो भागमा उनी अर्थात वरिष्ठ फोटोपत्रकार सुदर्शन रन्जित एसियन क्रिकेट काउन्सिल(एसीसी)ले दिएको वर्षको उत्कृष्ट तस्बिरको अवार्ड समातेर मुस्कुराई रहेका छन्। माथिल्लो भागमा त्यही अवार्डको बयानमा खर्चिएका पत्रपत्रिकाका कटिङहरु छन्।
सुदर्शन घरको बैठक कोठामा सजिएको एसीसी अवार्ड ग्रहण र त्यसको बयान गर्ने पत्रपत्रिकाको कटिङको तस्बिरयुक्त फ्रेमिङ
सुदर्शन घरको बैठक कोठामा सजिएको एसीसी अवार्ड ग्रहण र त्यसको बयान गर्ने पत्रपत्रिकाको कटिङको तस्बिरयुक्त फ्रेमिङ
एक दशकअघि (सन् २००७) मा मंसिरको एकदिन पोखरा बन्द थियो। बिहानदेखि बन्दका निरस तस्बिरहरु कैद गर्दागर्दै वाक्क भएका सुदर्शन केही नयाँ ‘सब्जेक्ट’ को खोजीमा रंगशालातर्फ लागे। रंगशालाको उत्तरतर्फ रहेको हालको गेटमा माछापुच्छ्रे को पुष्ठभुमिमा चप्पल लगाएका आक्रामक मुद्रामा केही युवा ब्याटिङ गरिरहेका थिए। माछापुच्छ्रे पुरै खुलेको थियो। सुदर्शनले खोजेको ‘सब्जेक्ट’ भेट्टाए। क्यामरा ब्याट्सम्यानतिर घुमाए र केही तस्बिरहरु कैद गरे।
सरल र सरस स्वभावका सुदर्शनसँगको सञ्चारकर्मीहरुसँग सम्बन्ध पूरानै थियो। पोखरामा जे सुकै तस्बिर आवश्यक पर्यो भने हरेकले सुदर्शनलाई फोन गर्थे। सुदर्शन कति पनि झर्को मान्थेनन्। उनी ठान्थे, जति तस्बिरहरु पत्रपत्रिकामा प्रकाशित भयो त्यति पोखराको चर्चा हुने हो। आफ्नो तस्बिरहरुले पोखराको चर्चा भएको देख्दा गमक्क पर्ने ‘फ्रिलान्सर’ सुदर्शनले ५० को दशकको सुरुवातबाट नै तस्बिरहरु पठाउँन मिडियामा पठाउँन सुरु गरेका थिए।
सुदर्शनलार्इ एसिसी अवार्ड दिलाएको तस्बिर
सुदर्शनलार्इ एसिसी अवार्ड दिलाएको तस्बिर
चिनजानका आधारमा ढुंगो मैदानमा माछापुच्छ्रेको पृष्ठभुमी सहित ब्याटिङ गरिरहेको तस्बिर उनले तत्कालिन पोखराका सम्वाददाता कुलचन्द्र न्यौपानेमार्फत कान्तिपुरमा पठाए। कान्तिपुरले पनि अन्तिम पृष्ठमा चार कोलम ढाक्दै तस्बिर छाप्यो। परिणाम, तस्बिरले पोखराको चर्चा देशमा मात्रै भएन् विदेशमा पनि उत्तिकै भयो।
पत्रिकामा उक्त तस्बिर देखेपछि तत्कालिन नेपाल क्रिकेट संघ(क्यान)का अध्यक्ष विनयराज पाण्डेको मनपनि लोभ्याएछ। उनले कान्तिपुरकै राजेन्द्र ज्ञवालीमार्फत सुदर्शनलाई उक्त तस्बिर मगाए। सुदर्शनले पनि प्रकाशित तस्बिरसहित तीनचारवटा थप तस्बिरहरु प्रिन्ट गरेर पाण्डेलाई पठाए।
एसिसीले विश्वभर क्रिकेटको प्रवद्र्धनका लागि क्रिकेटसँग सम्बिन्धित एक तस्बिरलाई वर्षको उत्कृष्ट तस्बिर अवार्ड दिदैँ आएको थियो। पाण्डेले पनि उक्त तस्बिरलाई सोही अवार्डका लागि पठाईदिए। एसियाका हजारौं तस्बिरलाई पछि पार्दै सुदर्शनको तस्बिरले ‘वर्षको उत्कृष्ट तस्बिर’को अवार्ड जित्यो। सुदर्शन र पोखरा एकाएक चर्चामा आए।
‘त्यसअघि पनि रंगशालाभित्र फुटबल मैदान बनाउँने क्रममा मैले खिचेर तस्बिरहरु प्रकाशित भएपछि केही सहयोग जुटेको थियो,’ सुदर्शनले अवार्ड प्राप्त तस्बिर पत्रिकामा छपाउँनुको कारण बताए, ‘मेले फोटोमात्रै खिचेको हो। प्रचारप्रसार त माछापुच्छ्रे र पोखराको पो भएको हो। यो फोटो पेपरमा आएपछि केही पोखरा क्रिकेटमा केही राहात मिल्छ भन्ने मनमा लागेको थियो। एसीसी अवार्ड पाएपछि पोखरामा क्रिकेटको सम्भावनाले मात्रै चर्चा पाएन। आइसीसी एकेडेमी समेत यहाँ बन्ने कुरा अघि बढ्यो।’
नाइन ए साईड भेट्रान फुटबल प्रतियाेगिताका क्रममा खेलाडीले हानेको बल माछापुच्छ्रेको शीरमा
नाइन ए साईड भेट्रान फुटबल प्रतियाेगिताका क्रममा खेलाडीले हानेको बल माछापुच्छ्रेको शीरमा
तस्बिरले अवार्ड जितेपछि तत्कालिन अवस्थामा साढे तीन लाख रुपैयाँ आएको थियो। जुन रकम क्रिकेट मैदानको तारबारमा खर्च गरियो। क्यानको खिचातानीले आइसीसी एकेडेमी त पोखरामा बनेन् तर पोखरा रंगशालास्थित क्रिकेट मैदान निर्माण कार्यअघि बढाउने माहौल भने श्रृजना गर्यो। जुन मैदानमा राष्ट्रिय प्रतियोगिता देखि लिएर भर्खरैमात्रै देशकै सर्वाधिक पुरस्कार राशीको पोखरा प्रिमियर लिग(पीपीएल) सम्पन्न भइसकेको छ।
०००
सुदर्शनका तस्बिरले पोखराको पहिचानलाई फराकिलो बनाएको यो एउटा उदाहरणमात्रै हो। उनीसँग पोखराको विगत र वर्तमानका हजारौं ऐतिहासिक तस्बिरहरु छन्। इमेल इन्टरनेटको सीमित वर्गको पहुँचमा मात्रै हुँदाको पचासको दशकदेखि हालसम्म सुदर्शन पोखरा चिनाउँने अभियानमै छन्, त्यो पनि पूर्ण ‘फ्रिलेन्सर’ रुपमा।
सुदर्शनको क्यामरामा कैद हुने पोखराका तस्बिरहरु प्रकाशित नभएका सायदै कुनै पत्रपत्रिका होलान्। उसबेला त टेलिभिजनले पनि सुदर्शनका तस्बिरहरुलाई नै आफ्नो समाचार पुष्टि गर्ने आधार बनाउँथे। अहिले भने आफ्नो रिपोर्टरहरु र जहाँको त्यहीबाट भिज्युअल पठाउँने सहज भएकाले सुदर्शनको तस्बिरमा टेलिभिजनमा माग अलि कम भएको छ। अझैपनि भिज्युअलको अभावमा भने सबैले सुदर्शनलाई तस्बिर मागेर नै काम चलाउँछन्।
कान्तिपुरमा २०५३ सालमा प्रकाशित सुदर्शनको तस्बिर
कान्तिपुरमा २०५३ सालमा प्रकाशित सुदर्शनको तस्बिर
काठमाडौंका ब्रोडसिट, साप्ताहिक, मासिक पत्रपत्रिकाहरुलाई पोखराका जुनसुकै तस्बिर चाहिए वा इभेन्ट्सका तस्बिरहरु चाहिए, सबैले सम्झने सुदर्शनलाई नै हो। सरल र सहज रुपमा उपलब्ध हुने सुदर्शन पोखराका पहिचानका खातिर कसैलाई पनि नाईनास्ती गर्दैनन्।
‘मलाई सामाजिक कार्यमा सानैदेखि रुची थियो,’ पोखराका तस्बिरहरु निःशुल्क रुपमा जोकोहीलाई उपलब्ध गराउनुको कारण बताउँदै सुदर्शनले भने, ‘मैले खिचेका तस्बिरहरुले पोखराको पहिचानमाथि पुग्छ भने त्यही मेरो सम्पत्ति हो। कसैको उद्धारमा सहयोग पुग्छ भने मलाई त्यसमै सन्तुष्ट मिल्छ। मैले यसैलाई मेरो जीवनको आदर्श बनाएको छु। धर्म बनाएको छु।’
०००
सामाजका लागि केही गर्नुपर्छ भन्ने चेत सुदर्शनमा कलिलै उमेर देखि नै थियो। उनी राजनितीले सामाज परिवर्तनको लक्ष्यसहित एकपटक वडास्तरको राजनितीमा समेट खटिसकेका थिए। स्थानिय विद्यालय, क्याम्पस व्यवस्थापन समितीमा समेत आए। तर, त्यसले सन्तुष्ट दिएन्। ‘फोटोको जस्तो छिटो प्रभाव राजनितीले दिन नसक्ने रहेछ, त्यसपछि म पूर्णकालिन फोटोग्राफर बने’ सुदर्शनले सुनाए।
जनमञ्च पत्रिकामा २०५१ सालमै उनको तस्बिर छापिएको थियो। वर्षा महिनामा रामघाटस्थित खोला बढेपछि पारीमा मानिसहरु थुनिन्थे। उनीहरुको ढुंगाबाट उद्धार गर्नुपथ्र्यो। बिहानै उद्धारकर्मीसँगै सुदर्शन पनि थुनिएको स्थानमा पुगे। मानिसहरु नदीले थुनिएको तस्बिर नै उनको पत्रिकामा प्रकाशित पहिलो तस्बिर थियो।
नेपाली समाजमा नेवार समुदायलाई व्यापार व्यवसाय गर्ने समुदायका रुपमा लिइन्छ। स्नातक पढ्दापढ्दै सुदर्शनले पनि पोखरा बसपार्क नजिकै पचासको दशकको सुरुवातमै फेवा कलर ल्याब सुरु गरिसकेका थिए। जुन उनको पोखरा चिनाउँने अभियानको सहयात्री बन्यो। त्यसबेला कुनै महत्वपूर्ण फोटो तत्काल चाहिए, ३६ वटा रिलबाट एउटै काट्दै त्यसलाई धुलाउँनु पथ्र्यो। सुदर्शनलाई आफ्नै ल्याब भएकाले ‘डेटलाइन’ बमोजिम काम गर्न सहज थियो।
पूर्व प्रधानमन्त्री बाबुराम भट्टरार्इबाट सम्मानित हुदैँ सुदर्शन
पूर्व प्रधानमन्त्री बाबुराम भट्टरार्इबाट सम्मानित हुदैँ सुदर्शन
काठमाडौंबाट फलानो इभेन्ट्सको तस्बिर चाहियो भन्दै सञ्चारकर्मीले फोन गर्थे। फुर्तिला सुदर्शन तत्कालै सम्बन्धित ठाउँमा कुदिहाल्थे। इभेन्ट्सको फोटो खिचेपछि डेटलाइन बुझेर रिलकटिङ गर्थे अनि त्यसलाई धुलाउँथे। दैनिक पत्रिकाका लागि त्यसदिन नै प्लेनमार्फत फोटो काठमाडौं पठाउँनु पर्ने हुन्थ्यो। उनी आफै विमानस्थल पुग्थे अनि आफ्नै खर्चमा तस्बिर पठाउँथे। ‘कतिसम्म भने एकपटक फोटो पठाँउनैका लागि मैले प्लेन समेत रोकाएको छु,’ सुदर्शनले हाँस्दै विगत सम्झे।
काठमाडौंबाट आउने पत्रकारहरुको समेत त्यसबेला फोटो धुलाउँने गन्तव्य फेवा कलर ल्याव नै थियो। जतिबेला पत्रकारहरुले भने त्यतिबेला नै सुदर्शनले काम गरिदिन्थे। साँझ, बिहान, ब्यस्तता केही भन्थेनन्।
‘प्लेनमा पठाउँनुपथ्र्यो। खर्च आफ्नै हुन्थ्यो। कलर ल्यावको अन्य काम रोकेर पनि सञ्चारको काम गर्थे,’ पोखराको पहिचानका लागि सधैँ जागरुक सुदर्शनले भने, ‘व्यक्तिग रुपमा पनि पत्रिकामा तस्बिर आएपछि आनन्द महशुस हुन्थ्यो। स्थानिय मान्छेहरु पनि तस्बिर देखेपछि कसरी आयो भनेर मान्छेहरु छक्क पर्थे। सायद फोटोग्राफीमा खर्चिने समय अन्यतिर खर्चेको भए धेरै कमाउँथे होला तर, अहिले कार्यक्रमहरुहरु हुँदा आफ्नो नाम नछुट्नु अनि मान्छेहरु आफूलाई भेट्न आइरहनु आफूले गरेको मेहनतको प्रतिफल भएको मान्छु।’
त्यो कहिले पाइने हो खै?
एसिसी अवार्ड ग्रहण गर्दै सुदर्शन
एसिसी अवार्ड ग्रहण गर्दै सुदर्शन
आइसीसीका प्रतिनिधि तथा विनयराज पाण्डे लगायतले एक कार्यक्रमका पोखरामै आएर सुदर्शनलाई वर्षको उत्कृष्ट फोटोको अवार्ड त दिए तर अवार्ड पाएको प्रमाणपत्र भने सुदर्शनले एकदशक बितिसक्दा समेत पाएका छैनन्।
तत्कालिन अध्यक्ष पाण्डेदेखि पछिल्लो पटक आइसीसीकी नेपाल प्रतिनिधि भावना घिमिरेले समेत पहल गरिदिन्छु भनेकी हुन्। तर, कसैले पनि आफ्नो प्रतिबद्धता पूरा गरेका छैनन्।
‘जहाँकाहीँ बायोडाटा राख्न प्रमाणपत्रको फोटोकपी राख्नुपर्छ,’ सुदर्शनले गुनासो पोखे, ‘मैले मेरै खर्चमा भएपनि म ल्याउँछु भनेको थिए। पटकपटक क्यानका पदाधिकारीलाई भन्दा समेत चासो देखाएनन्। पीपीएलमा आएकी भावनाले पनि आफूले आइसीसीमा पहल गरेको तर कसैले रेस्पोन्स नगरेको बताइन्। त्यो कहिले पाइने हो खै?’

मोफसलले मुलुकलाई दिएको अनमोल उपहार

यो सामाग्री ७ भदौ २०७५, बिहिबारका दिन नेपालखबर डटकममा प्रकाशित छ।
यज्ञराज जोशी ।अन्तर्राष्ट्रिय खेलकुदमा नेपालले सर्बाधिक पदक जितेको दक्षिण एसियाली खेलकुद (साग) का लागि राष्ट्रिय टोली तयार गर्न राष्ट्रिय प्रतियोगिता आयोजना हुँदै थियो। देशभरि भइरहेका क्षेत्रीय प्रतियोगिताहरुबाट राष्ट्रिय प्रतियोगिताका लागि खेलाडीहरु छनौट हुँदै थिए। सुदूरपश्चिमको क्षेत्रीय प्रतियोगिता थियो, पहाडी जिल्ला डडेल्धुरामा।
वि.सं. २०५३ साल कार्तिक ६ गते। जुँगाको रेखी पनि नबसेका कैलालीका पन्ध्र बर्षीय प्रकाश चन्दले सुरुमा बैतडी, अनि डोटीका प्रतिस्पर्धीलाई पाखा लगाएपछि त्यसदिन उनको ‘फाइट’ थियो, आफ्नै गुरु बझाङका मकेन्द्रबहादुर सिँहसँग।
मकेन्द्र भर्खरै क्रोएसियाबाट अन्तर्राष्ट्रिय खेलमा प्रतिस्पर्धा गरेर सोझै डडेल्धुरा पुगेका थिए। त्यसबेला मकेन्द्रको अन्तर्राष्ट्रिय ‘फिगर’ बनिसकेको थियो। राष्ट्रिय प्रतियोगितामा पनि लगातार राम्रो प्रदर्शन गर्दै आएका मकेन्द्रको नाम नसुन्ने कमै हुन्थे। चन्द लगायत थुप्रै नव खेलाडीलाई उनले प्रशिक्षण गराइसकेका थिए।
क्षेत्रीय प्रतियोगिताबाट फाइनलमा पुग्ने दुबै खेलाडी राष्ट्रिय प्रतियोगितामा छनौट हुन्थे। तर, शिष्य चन्द र गुरु मकेन्द्रबीचको भेट सेमिफाइनल मै थियो। अर्थात् जसले जित्यो त्यो फाइनलमा, जो हार्‍यो, त्यसको यात्रा समाप्त।
प्रकाश चन्द नेपालबाट कराँते प्रिमियर लिग खेल्ने पहिलो खेलाडी हुन्
प्रकाश चन्द नेपालबाट कराँते प्रिमियर लिग खेल्ने पहिलो खेलाडी हुन्
खेलअघि धेरैको अनुमान थियो, अनुभवी मकेन्द्रका अघिल्तिर चन्द कतिबेर टिक्लान् र? अर्थात मकेन्द्र फाइनलमा, चन्द आउट।
खेलअघि मकेन्द्रले सान्त्वना दिँदै चन्दलाई भने, ‘हेर् बाबु, तँ आफ्नै चेला। फाइनलमा परेको भए, दोस्रो भएपनि त राष्ट्रिय प्रतियोगिता खेल्न जान्थिस्। सेमिफाइनलमा परिस्। तेरो त ‘ब्याडलक’ यार।’
‘गुरुसँग गर या मरको खेल भएकाले पहिलेदेखि नै म ‘होपलेस’ थिएँ,’ आफ्नो स्मरणमा ताजै रहेको अढाई दशकअघिको त्यो घटना स्मरण गर्दै चन्दले भने, ‘गुरु अघि आएर ‘तेरो ब्याडलक’ भनेपछि त झन् यति ‘प्रेशर’ भयो कि, डडेल्धुराको त्यो ओरालोमा खेलअघि कम्तिमा म दश पटक पिसाब फेर्न गएँ होला। जति ‘प्रेशर’ भयो, त्यति पिसाब लाग्दो रहेछ। जति खेलको समय नजिक आउँथ्यो। मलाई झन् झन् पिसाब लाग्थ्यो।’
चन्द तीन वर्षदेखि कराँते खेलिरहेका थिए। विभिन्न आमन्त्रित प्रतियोगितामा मेडल ल्याएर स्यावासी पाएका चन्दले रिङ्गमा जाने बित्तिकै अनपेक्षित रुपमा गुरुविरुद्ध तीन स्कोर गरे।
त्यसपछि जे भयो, त्यसको निशान अझैपनि उनको ओठमा छ। काटिएको ओठ देखाउँदै उनले भने, ‘सुरुमै मैले अग्रता लिएपछि गुरुलाई ‘अब यसलाई खेलेर जितिने हैन’ भन्ने लागेछ कि किन हो, उहाँले बच्चा छ, कुटेरै बाहिर पठाउँ सोच्नुभयो होला, त्यसैले एक्कासी रफ् खेल्न थाल्नुभयो। ममाथि लगातार मुक्का बर्सन थाले। जथाभावी खाएका ‘पञ्च’ ले मेरो मुख र नाकबाट रगत आउन थाल्यो। ड्रेश रगताम्मे भयो। म जितिरहेको थिएँ। मैले रिङ छाडिन। अन्त्यमा मैले ५–१ स्कोरले जितेँ।’
खेल हेर्न त्यहाँ ठूलो संख्यामा स्थानीयआएका थिए। खेलका क्रममा तीन दशक उमेर कटाई सकेका मकेन्द्रले आफूभन्दा आधा कम उमेरका खेलाडीमाथि ‘रफ’ खेलेको देखेपछि स्थानीय सबै चन्दका पक्षमा उभिए। चन्दका पक्षमा हुटिङ हुन थाल्यो भने मकेन्द्रको व्यापक विरोध भयो। खेल जितेपछि रगताम्मे चन्दलाई खेल हेर्न आएका महिलाहरुले काखमा उठाउँदै न्यानो मायाँ दिए, अनि रगत पुछिदिए। सबैले बधाई दिए।
उनले झण्डै तीन दर्जन अामन्त्रित कराँतेमा स्वर्णपदक जितेका छन्
उनले झण्डै तीन दर्जन अामन्त्रित कराँतेमा स्वर्णपदक जितेका छन्
अघिल्लो दिन रगताम्मे हुने गरी कुटाई खाएका चन्दले अर्को दिन फाइनल खेल्नु थियो। फाइनलमा पुनः दार्चुलाका गुरु सुरेन्द्र बोगटी (सरकारी प्रशिक्षक समेत) उनका प्रतिस्पर्धी थिए।
अघिल्लो दिन अन्तर्राष्ट्रिय खेलेर आएका सिँहलाई पराजित गरेका चन्दको आत्मविश्वास बलियो भएको थियो। उनी निर्धक्क रुपमा रिङमा प्रस्तुत भए। बोगटीलाई सजिलै पराजित गर्दै उनी राष्ट्रिय प्रतियोगिताका लागि छनौटमा भए।
राष्ट्रिय खेलका लागि देशैभरिका उत्कृष्ट खेलाडीहरु पाल्पा पुगेका थिए। प्रशिक्षकलाई पराजित गरेर आएका चन्द त्यहाँ पुग्दा सेलिब्रेटी जस्तै बने। सबै जना ‘मकेन्द्र सिँहलाई जित्ने केटा को हो?’ भनेर उनलाई खोज्न आउँथे।
राष्ट्रिय प्रतियोगितामा उनी सेमिफाइनलसम्म पुगे। तर काठमाडौँका गुरु दीपक श्रेष्ठले सेमिफाइनलमा उनको यात्रामा पूर्णविराम लगाइदिए। त्यसवर्ष हुने भनेको साग विविध कारणले भएन। आठौँ साग (२०५६)का लागि राष्ट्रिय छनौट लागि सुदूरपश्चिमबाट चन्द र मकेन्द्र नै छनौट भए।
तर, यति नै बेला चन्दको एसएलसी नजिक आउँदै थियो। उनको ध्यान कराँतेमा कम र पढाईमा बढी थियो। खासै तयारी गर्न पाएका थिएनन्। परिणाम, क्याम्पको पहिलो चरणबाटै आउट भए। तर, मकेन्द्र भने सागका लागि छनौट हुदै पदक जित्नसफल भए।
सस्तो खेलको खोजीमा कराँतेमा आवद्ध भएका चन्दले त्यसपछिको खेल जीवनमा झण्डै तीन दर्जन अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगितामा नेपालका लागि स्वर्ण पदक जिते। विश्व कराँतेको सर्वाधिक ठूलो मानिने प्रिमियर लिगमा सहभागिता जनाउने पहिलो दुई नेपाली खेलाडीमध्ये उनी एक बने। जर्मनीमा २०१२ मा भएको प्रिमियर लिगमा दशौँ सागका स्वर्ण विजेता विनोद शाक्यसँगै उनले सहभागिता जनाएका थिए।
सन् २००८ मा १७ देश सहभागी श्रीलंकामा भएको पहिलो गोजुरियो अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगितामा उनले स्वर्ण जिते। त्यस्तै, २०६२ भारतको झारखण्डमा भएको दक्षिण एसियाली आमन्त्रण गोजुरियो कराँतेमा पनि उनले अर्को स्वर्ण थपे। रुसमा भएको कराँते विश्व च्याम्पियन्सिपमा उनी क्वार्टरफाइनलसम्म पुगे। यस्तै, मलेसियामा भएको एसियन च्याम्पियन्ससिपबाट उनले मुलुकका लागि रजत पदक ल्याए। यसरी सस्तो खेल खोज्दै कराँतेलाई अपनाएका चन्दले देशका लागि थुप्रै मेडलहरु जित्दै महँगो उपहार दिएका छन्।
डेढ दशक खेल जीवन र एकदशक बढी प्रशिक्षक बन्दै उर्जाशील २५ वर्ष कराँतेमा बिताइसकेका चन्द संघको एकमात्रै सरकारी प्रशिक्षक हुन्। यस्तै, नेपालमा रहेका गोजुरियो कराँतेका दुई जनामात्रै अन्तर्राष्ट्रिय रेफ्रीमध्येका एक चन्दले इन्डोनेसिया र भारतबाट एसियन कराँते महासंघको रेफ्री कोर्ष समेत उतीर्ण गरेका छन्।
सस्तो खेल खोज्दै कराँते
गोजुरियो कराँतेका एकमात्रै सरकारी प्रशिक्षक चन्द हुन्
गोजुरियो कराँतेका एकमात्रै सरकारी प्रशिक्षक चन्द हुन्
कञ्चनपुरको बाणीमा जन्मिएका चन्द चार कक्षासम्म जन्मस्थल गाउँकै विद्यालयमा पढे। निम्नमध्यम वर्गीय परिवारमा जन्मिएका चन्द घरको आर्थिक अवस्था त्यति राम्रो नभएकाले थप अध्ययनका लागि कैलाली गए, जहाँ उनकी फुपु निर्मला मल्लको घर थियो। उनी फुपुकहाँ बसेर पढ्न थाले।
वि. सं. २०४८ सालमा उनी स्थानीय शारदा माविमा पाँच कक्षामा भर्ना भए। भट्ट थरका गणित शिक्षकको घर धनगढीस्थित कभर्ड हल नजिकै थियो। उनी घरमै विधार्थीहरुलाई कोचिङ पढाउन बोलाउँथे।
उतिबेला धनगढी रंगशालाको पर्खाल पनि थिएन। सरको घर आउँदा–जाँदा बाटोमा पर्ने कभर्ड हलबाट जोडले हा..हु.. हा..हु.. गरेको आवाज आउथ्यो। त्यो आवाजले चन्दको ध्यान खिच्यो। ‘के भइरहेको छ?’ जान्ने उत्सुकता जाग्यो र उनी त्यतैतिर लागे।
लामबद्ध युवाहरु सेतो ड्रेशमा सजिएका थिए। एक जना गुरु उनीहरुको अगाडि थिए। सबै जना गुरुले जे गर्यो, त्यही चाल आज्ञाकारी भएर पालना गरिरहेका थिए। कसैले केही बिगा¥यो भने गुरुको लात, मुक्का खान्थ्यो।
खासमा उनीहरु उनीहरुका् कराँते प्रशिक्षण गरिरहेका थिए। तर चन्दलाई त्यो कराँते भन्ने थाहा थिएन। उनलाई यो खेलले यति धेरै लोभ्यायो कि, उनी दैनिक कोचिङ ‘बंक’(छोड्दै) गरेर त्यही दृश्य हेर्दै समय बिताउन थाले।
प्रशिक्षण भइरहेको खेल कुन हो भन्ने थाहा नभएपनि आफूपनि त्यस्तै खेल खल्ने प्रण गर्दै भर्ना शुल्क सोध्न गए।
फुपुको घरमा बसिरहेकाले पढाई बाहेक अन्य केही गर्न पैसा थिएन। खेल्नका लागि घरबाट रकम पाउन सक्ने सम्भावा थिएन।
त्यसैले, उनले लक्ष्य बनाए, जुन खेल सस्तो छ, त्यसैमा भर्ना गर्ने।
सुरुमा तेक्वान्दोकोमा पुगे। ‘भर्ना शुल्क तीन सय पचास।।’ अहो, त्यसबेला तीन सय पचास त कति हो कति। तेक्वान्दो भर्ना शुल्क सुनेपछि उनले तेक्वान्दोको प्रशिक्षण लिने योजना ‘क्यान्सिल’ गरे।
त्यसपछि उनी पुगे ‘जिन्म्यास्टिक’ तर्फ। जिन्म्यास्टिक सस्तो थियो, तर त्यो दिन गुरु भेटिएनन्। उनी कराँतेतिर डोरिए।
कराँतेमा त्यतिबेलाका चर्चित गुरु थिए, किशोर हमाल। तिनै गुरुसँग उनले सोधे, ‘गुरु भर्ना फि कति छ?’
जवाफ आयो, ‘१ सय ६० रुपैयाँ’ अर्थात् तेक्वान्दो भन्दा ठीक आधा। उनको मन फुरुङ्ग भयो। उनलाई ‘यति पैसा त जोगाड गर्नसक्छु’ भन्ने लाग्यो।
हातमा सुको पैसा थिएन। फूपु–फुपाजुको घरमा पढ्न आएको मान्छे, पढ्न छाडेर खेल्न जान्छु भनेर पैसा माग्नु उचित लागेन।
सोच्दै जाँदा आइडिया फुर्‍यो, बुबा (वीरबहादुर चन्द) सँग ‘कोचिङ पढ्छु’ भनेर पैसा माग्ने र कोचिङका लागि दिएको पैसाले कराँतेमा भर्ना गर्ने।
त्यतिबेला सरकारी स्कुलको कोचिङ सस्तै हुन्थ्यो। महिनाको ७५ रुपैयाँ थियो। घरमा बुबालाई दुई महिना कोचिङ पढ्छु भनेर उनले १ सय ५० मागे। अझै १० रुपैयाँ कम भयो। त्यो पनि यताउता मागमुग गरेर जम्मा गरे।
भर्ना त भए। तर, अर्को समस्या आइलाग्यो ड्रेशको। ड्रेशबिना प्रशिक्षणमा जान पाइँदैनथ्यो। घरमा न खेल्न दिने अवस्था थियो, न ड्रेशका लागि पैसा दिनसक्ने अवस्था नै।
हिन्दीमा एउटा वाक्यांश छ, ‘अगर किसी चीजको दिल से चाहो तो सारी कायनात उसे तुम से मिलाने मे लग जाती है।’
यही वाक्यांश उनको जीवनमा चरितार्थ भयो। फूपुको घरको अगाडि सिरक–डसना बनाउने काम गर्ने उनकै उमेरका एक जना ‘देशी’ (भारतीय) रहेछन्। संयोगवश ती पनि भारतमा हुँदा कराँते खेल्दा रहेछन्। पछि उनका दाईले आफूलाई काममा सघाउन नेपाल ल्याएका रहेछन्। ती भारतीयसँग आफूले भारतमा खेल्दा लगाउने गरेको एकजोर ड्रेश रहेछ।
‘ती भारतीय नागरिकले मलाई फ्रि मा ड्रेश दिए, त्यसबेला मलाई लाग्यो– ‘यो त मेरो भगवान नै हो।’ चन्दले सुरुवाती दिन सम्झिए, ‘त्यो ड्रेश मैले निकै वर्ष चलाएँ।’
महिनामा तीस रुपैयाँ फि हुन्थ्यो। बुबालाई कोचिङ पढ्ने भन्दै ढाँटेर भर्ना शुल्क मागेका र अर्काको ड्रेश लगाएर खेल्ने चन्दसँग मासिक शुल्क तिर्ने पैसा थिएन।
त्यसबेला सहायक प्रशिक्षक थिए, भरत हमाल। उनले हप्ताभरि प्रशिक्षण, अनि अन्त्यमा खेलाडीलाई स्पाइरिङ्ग (लडाउने) गराउँथे। त्यसमा जसले राम्रो खेल्यो, त्यसको महिनाभरिको शुल्क मिनाहा गरिदिन्थे।
कराँतेलाई निरन्तरता दिन चन्दसँग यही एक विकल्प थियो। उनले आफूलाई ‘स्पाइरिङ्ग’ मा अब्बल सावित गरे। हरेक हप्ता राम्रो प्रदर्शन गर्दै गए र कहिल्यै महिना शुल्क तिर्नु परेन।
प्रशिक्षण लिन थालेको तेस्रो महिनामै उनले धनगढीमा भएको आमन्त्रण कराँते प्रतियोगितामा कास्य पदक जिते। ‘त्यो पदक लिएर घर फर्केपछि फूपुहरु निकै खुशी हुनुभयो’ चन्दले सम्झे, ‘जब बुबाले पनि मैले मेडल पाएको थाहा पाउनुभयो, उहाँपनि औधी खुसी हुनुभयो। त्यसपछि म निर्धक्कसँग कराँतेमा लाग्न सकेँ।’
२०५२ मा ‘ब्राउन बेल्ट’ भए उनी। त्यसको केही समयपछि ‘ब्ल्याक बेल्ट’पनि भए। त्यसबेला आठ–दश महिनामा बल्ल ‘ग्रेडिङ’ थपिन्थ्यो। सिनियर गुरुहरु कहिले कता, कहिले कता हुने भएकाले धेरै कम मात्रै भेटिन्थे। जुनियरहरुले ग्रेडिङ गर्न पाउँदैनथे। त्यसैले, ब्राउन बेल्टमै पुग्न उनले चारवर्ष लगातार संघर्ष गर्नुप¥यो।
एकातिर खेल्ने, अर्कातिर प्रशिक्षण
अाफू प्रशिक्षण लिइरहेकै बेलादेखि उनी प्रशिक्षण दिन थालेका थिए
अाफू प्रशिक्षण लिइरहेकै बेलादेखि उनी प्रशिक्षण दिन थालेका थिए

ब्राउन बेल्टमा पनि तीन स्टेप हुन्छ। उनले भर्खर पहिलो स्टेप पार गरेका थिए। उमेर थियो, त्यस्तै १४–१५ वर्षको। उनले गुरुसँग भनेर आफू पढ्ने शारदा स्कुलमा खेलाउने प्रस्ताव राखे। गुरुबाट सहमति प्राप्त भयो।
कभर्डहलमा उनीसँगै सिक्ने एक–दुई जना अरु साथीहरु पनि थिए। उनीहरुको मद्दतबाट सुरुमा १५ जना कराँते सिक्न तयार भए। पछि बढ्दै ५०–६० जना पुगे।
स्कुल बिदा भएपछि स्कुलकै चौरमा प्रशिक्षण सुरु हुन्थ्यो। प्रशिक्षण लिनेहरुले भर्ना शुल्कबापत २ सय रुपैयाँ भर्ना शुल्क तिर्नुपथ्र्याे। मासिक शुल्क ५० रुपैयाँ थियो। ५०–६० जनाको शुल्क जम्मा पर्दा त्यसबेलाको राम्रै पैसा जम्मा हुन्थ्यो। त्यसबाट चन्दको स्कुलको फि, कापीकलम, खाजा खर्च, पकेट मनीका आदि खर्च चल्थ्यो।
त्यति नै बेला सिनियर गुरु (किशोर हमाल) को काठमाडौँ सरुवा भयो। उता सहायक गुरु (भरत हमाल) ले पनि सरकारी प्रशिक्षकमा नाम निकालेपछि कभर्डहलमा प्रशिक्षकको अभाव भयो। विकल्प बने, स्कुलमा प्रशिक्षण गराईरहेका चन्द। र, उनले कभर्डहलमा नियमित प्रशिक्षण गराउन थाले।
सितारियोबाट गोजुरियोमा
चन्दबाट प्रशिक्षण पाइसकेका थुप्रै खेलाडीले पदक जितिसकेका छन्
चन्दबाट प्रशिक्षण पाइसकेका थुप्रै खेलाडीले पदक जितिसकेका छन्

भनिन्छ, नेपालमा कम्युनिष्ट र कराँतेको बिगबिगी छ। कराँतेभित्रका हाँगाविँगाले पनि त्यो पुष्टि गर्छ। नेपाल कराते महासंघ माउ संस्था हो। त्यसभित्र सितोरियो कराँते संघ, गोजुरियो कराँते संघ, वादरियो कराँते संघ, सोतोकान कराँते संघ क्रियाशील छन्। सबैका देशभरि शाखा, प्रशिक्षक, खेलाडी, पदाधिकारी अनि नियमहरु भिन्नभिन्न छन्। त्यसमध्ये चन्द सितरियोका ब्ल्याक बेल्ट हुन्।
एकपटक उनी गोजुरियो संघले आयोजना गरेको च्याम्पियन्ससिप खेल्न पुगेछन्। त्यसपछि सितोरियो संघका मान्छेहरुले ‘यो अर्को संघको खेलाडी, यसलाई अघि बढ्न दिनु हुँदैन’ भन्नेमा  लगे। कुरा यतिसम्म अघि बढ्यो कि, महेन्द्रनगरमा भएको साग गेमको छनौटका दौरान पूरै टिम लगाएर उनलाई निकै जुनियर खेलाडीसँग हराइयो। उनको नाम खेलाडी, अनि प्रशिक्षक दुबैबाट काटिन थाल्यो।
१४ वर्ष सितारियोबाट खेल्दै र प्रशिक्षण गर्दै आएका उनीमाथि त्यतिसम्म अपमान गरिएपछि उनको मनमा पनि त्यो संघ (सितोरियो) मा बस्न मन लागेन र २०६२ सालबाट गोजुरियो संघतिर लागे।
‘संघ गठन गर्दा समेत यसलाई कुनैपनि हालतमा अघि बढ्न दिन हुँदैन भनेर नलागेका हैनन्’ उनले सम्झे, ‘तर, व्यक्तिगत सम्बन्ध र ‘बोल्ड’ टिमका अगाडि कसैको केही सिप चलेन। फलस्वरुप अहिले त्यही संघ देशको सर्बाधिक प्रतियोगिता गर्ने संघ बनेको छ।’
‘हामीले आठौँ संस्करण त अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगितामात्रै गराइसक्यौँ, नवौँ संस्करण गराउने तयारीमा छौँ’ योजना सुनाउँदै उनले भने, ‘दशौँ संस्करणमा नेपाल र भारतका खेलाडीहरुबीच प्रतिस्पर्धा गराउने सोच बनाएका छौँ।’
चन्द खेलाडीलाई प्रशिक्षण दिएर मात्रै केही नहुने बताउँछन्। ‘खेलाडीहरुले जति एकअर्कासँग खेल्न पाए, त्यति आत्मविश्वास बढ्ने हो,’ प्रतियोगितामा जोड दिनुको कारण सुनाउँदै भने, ‘प्रशिक्षणले मात्रै केही हुँदैन, जति बढी ‘एक्सोजर’ पायो, त्यति बढी राम्रो रिजल्ट आउने हो।’
२०६२ अघि चन्द धनगढीमा सितारियोको प्रशिक्षक हुँदा खेलाडीहरु पनि उतै जान्थे। उनी गोजुरियोतिर लागेसँगै खेलाडीहरु पनि गोजुरियोतिरै आकर्षित भएका छन्।
‘अहिले धनगढीमा सितारियोका चार प्रशिक्षक छन्,’ उदाहरण प्रस्तुत गर्दै उनले भने, ‘तर कैलालीमा हुने अधिकांश प्रतियोगितामा गोजुरियोको अधिपत्य रहँदै अाएको छ। एउटामात्रै म प्रशिक्षण रहेका बेला त राम्रो नतिजा छ भने एक दुई अन्य प्रशिक्षक भए अझै कस्तो हुन्थ्यो होला?’
सरकारी उपेक्षा
प्रकाश चन्द
प्रकाश चन्द

चारवटा कराँते संघमध्ये सरकारीस्तरबाट उपेक्षित राष्ट्रिय गोजुरियो कराँते संघको यसैहप्ता राजधानीमा भएको राष्ट्रिय अधिवेशनबाट सर्वसम्मत रुपमा महासचिव चुनिएका छन्, चन्द। विसं २०६२ सालमा औपचारिक रुपमा यो संघ राष्ट्रिय खेलकुद परिषद (राखेप)मा दर्ता भएको थियो।
संघ दर्ताको डेढ दशकमा पनि राखेपबाट नियुक्त एक जनामात्रै सरकारी प्रशिक्षक छन्, ती भाग्यमानी यिनै चन्द हुन्। यसबाहेक संघलाई सरकारको सहयोग केही छैन।
तर पनि संघमा चन्द जस्ता क्रियाशील व्यक्तिहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा नेपालका नाममा पदक दिलाउन केही कसुर बाँकी राखेका छैनन्।
उदाहरण हुन्, लालबहादुर राना,  कुबेर खड्का, शिवराज मलासी, गोविन्द बानियाँ, सुरज कुश्मी, गोमा शाही, अरुण कुँवर, अरुणा अोली, कमल अोली, प्रकाश राई अादि जस्ता खेलाडीहरु। यी प्रतिभावान खेलाडीहरुले यसै बर्ष बंगलादेशमा भएको गुजुरियोको दक्षिण एसियाली खेलमा नेपाललाई पाँच वटा स्वर्ण पदक दिलाएका थिए। त्यसअघि श्रीलंकामा भएको दक्षिण एसियाली च्याम्पियन्समा पनि गोजुरियोले नेपाललाई एक स्वर्ण, एक रजत र एक कास्य दिलाएको थियो।
यस संघले स्थापनाको छोटो अवधिमै आठवटा अामन्त्रण अन्तर्राष्ट्रिय प्रतियोगिता गराईसक्यो। केही महिनाअघि मात्रै चन्दकै नेतृत्वमा धनगढीमा अन्तर्राष्ट्रिय अामन्त्रण प्रतियोगिता सम्पन्न भयो। त्यहाँ ६ वटा देशले सहभागिता जनाएका थिए। झण्डै डेढ हजार जना सहभागिता जनाउँदा धनगढी कराँतेमय भएको थियो।
‘तर, विडम्बना, काठमाडौँमा स्कुल लेभलका प्रतियोगितामा लाखौँ रुपैयाँ दिने राष्ट्रिय खेलकुद प्रतियोगिता राखेपले हामीले आठौँ संस्करणको अन्तर्राष्टिय कराँते प्रतियोगिता आयोजना गरिसक्दा पनि आठ पैसा दिएको छैन’ चन्दले भने, ‘गतवर्ष नयाँ शक्ति नेपाल नामक एक सामाजिक संस्थाले ८ लाख प्रायोजन गर्दा उक्त प्रतियोगिता गर्न सफल भएका थियौँ।’
उनको गुनासो छ, प्रतियोगितामा खेलकुदमन्त्री उद्घाटन गर्न अाउँछन्। ‘यति दिन्छु, उति दिन्छु’ भनेर भाषण दिन्छन्। काठमाडौँ आउनुस् पनि भन्छन्। तर काठमाडौँ आएपछि रित्तो हात फर्काउँछन्। यस्तो तीतो अनुभव मैले धेरैपटक भोगिसकेँ।’
सरकारी उपेक्षाका बाबजुदपनि संघ क्रियाशील भएर लागेको छ। हाल ४० जिल्लामा शाखा भएको संघले छिट्टै ७० जिल्लामा शाखा विस्तार गर्ने योजना बनाएको छ।
रामचन्द्र सुवेदी, जो हाल गोजुरियोको अन्तराष्ट्रिय प्रशिक्षक हुन्, एक जनामात्रै अन्तराष्ट्रिय प्रशिक्षक भएको संघले ७० जिल्लामा कसरी प्रशिक्षण गराउला त?
महासचिव चन्द भन्छन्, ‘हाल सरकारले विभिन्न प्रशिक्षकहरुलाई स्कुल ट्रेनिङ गराउँदैछ। उनीहरुलाई हामीले देशभरि विभिन्न स्कुलमा खेल शिक्षकका रुपमा नियुक्त गर्ने कार्यमा समन्वय गरिरहेका छौँ। देशभरि हाम्रा एक हजार बढी ‘ब्ल्याक बेल्ट’ खेलाडी छन्। ‘ब्ल्याक बेल्ट फर्ष्ट  डन’ भएका खेलाडीहरुले स्वतः प्रशिक्षण गराउन पाउँछन्। आवश्यकता परेका ठाउँमा हामी उनीहरुलाई प्रयोग गर्नेछौँ’
‘यता सितरियोमा १ सय ५ जना सरकारी दरबन्दीका प्रशिक्षकहरु छन्। गोजुरियोको दरबन्दीमा भने म एक्लो छु,’ चन्दले भने, ‘तर हामी पनि प्रतिस्पर्धा गरिरहेका छौँ। राष्ट्रिय खेलबाट हाम्रो संघबाट मेडल आइरहेको छ। हामीलाई अलिकति साधन स्रोत र सातवटा प्रदेशमा सातवटा प्रशिक्षकको व्यवस्थामात्रै गरिदिने हो भने हामीले राम्रो नतिजा दिन सक्छौँ।’
जग बसाल्छन्, जस पाउँदैनन्
प्रकाश चन्द
प्रकाश चन्द

वि.सं. २०६२ सालदेखि चन्द पूर्णकालिन रुपमा धनगढी कभर्डहलमा गोजुरियोको प्रशिक्षण गराइरहेका छन्। उनीबाट प्रशिक्षित खेलाडीहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा पनि पदक ल्याएका छन्। तर, त्यसको जस भने उनीजस्ता स्थानीय प्रशिक्षकले पाउँदैनन्।
कारण, स्थानीय स्तरमा खेलाडीहरुलाई उत्पादन गरिसकेपछि ती खेलाडीहरुलाई विभागीय टोली (आर्मी, पुलिस र शशस्त्र) हरुले टिपेर ल्याउँछन्। राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिता खेलाउँछन् र जस जति सबै आफू लिन्छन्।
खेलाडीलाई स्थापित गराउन भूमिका खेल्ने प्रशिक्षकप्रति उपेक्षा गरिएकोप्रति चन्दले चर्को असन्तुष्टि व्यक्त गरे। ‘देशको इज्जत धान्ने खेलाडीहरु सुदूर, मध्यपश्चिम पहाडी जिल्लाका छन्। अहिले विभागीय टोलीहरुको इतिहास पल्टाउने हो भने ती सबैको जननीस्थल सुदूरमध्यम र पहाडी जिल्ला नै हुन्। त्यहीँका प्रशिक्षकले हुर्काएका खेलाडी हुन्। तर, अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीले जित्दा यहीँ(केन्द्र)कै प्रशिक्षकको सम्मान हुन्छ, यतैकाले जस पाउँछन्। जग बसाउने दूरदराजका प्रशिक्षकलाई भने कहिल्यै राज्यले हेर्न सकेन, यो विडम्बना हो।’
दुख गरी खेलाडी हुर्कायो, लगानी गर्‍यो, राष्ट्रियस्तरमा ‘फाइट’ हान्ने बनायो। त्यसपछि विभागीय टोलीले ट्याप्प टिप्छ, ल्याउँछ। क्रेडिट जति सबै विभागीय टोलीले पाउँछ। यसो गर्दा क्षेत्र, जिल्लासँगै प्रशिक्षकहरुको इतिहास मेटिन पुगेकामा उनी दुखी छन्।
उदाहरण दिदै उनले भने, ‘दीपक विष्ट (कीर्तिमानी तेक्वान्दो खेलाडी) का नाममा धेरै प्रशिक्षकले सम्मान पाए। धेरैले डलर खाए। गोविन्द विष्ट (दीपकका सुरुवाती प्रशिक्षक) अहिले शारीरिक रुपमा कमजोर हुनुहुन्छ। उहाँको आर्थिक स्थिति मजबुत छ। तर, राज्यको तर्फबाट दिनुपर्ने सम्मान दिइएको छैन। त्यत्रो कीर्तिमानी अन्तराष्ट्रिय खेलाडीको जग बसाउने प्रशिक्षकलाई खोइ त कसैले सम्झिएको?’
उनले थपे, ‘घनश्याम राई गुरु हुनुहुन्छ, टेबुल टेनिसको। टेबुल टेनिसबाट सयौँ सुदूरपश्चिमका खेलाडीहरुले अब्बल प्रदर्शन गरेका छन्। विभागीय टोलीबाट खेलिरहेका छन्। खोइ त उहाँको दयनीय अवस्थामा पनि राज्य या अरु निकायले हेरेको?’
कुराकानीको बिट रमाइलो पाराले मार्दै उनले भने, ‘ग्रासरुटबाट खेलाडीहरु कति ‘कन्भिन्स’ गरेर जन्माउछौँ, हुर्काउछौँ। तर जन्माइसकेपछि खेलाडीहरु ‘पोइल’ लगिन्छन्, अनि सबै कुरा सकिन्छ।’
जीवन-संगिनीको साथ
चन्दको जीवनमा थुप्रै व्यक्तिहरुले सहयोग पुर्‍याएका छन्। समकक्षीहरु त्रिलोक पाण्डे र दीपक अधिकारीले जहिलेपनि अाफूलार्इ हौसला दिएको उनी बताउँछन्।
चन्दले जीवनमा जे–जति सफलता हात पारे, त्यसमा उनकी जीवन-संगिनी चाँदनी शाहीको पनि ठूलो भूमिका छ। एकअर्थमा शाहीकै कारण चन्दलाई खेल जीवन अघि बढाउन सहयोग पुग्यो। उनले हरेकपल्ट चन्दलाई उत्प्रेरणा दिइरहिन्।
‘खेलमा बढी फोकस हुने भएकाले मैले घर व्यवहार हेर्न पाउँदैन थिएँ’ कुराकानीलाई टुंग्याउँदै उनले भने, ‘उन(श्रीमति)ले घरपरिवारको पूरै जिम्मेवारी आफूले लिइन्। खेलबाट मेरो सधैँ आम्दानी पनि हुँदैनथ्यो। उनले गैरसरकारी संस्थामा काम गर्दै परिवारको खर्च चलाईन्। उनी नभएको भए म अहिलेको प्रकाश चन्द हुदैनथेँ होला।’

तेक्वान्दो गुरुको फुटबल क्रान्ति

यो सामाग्री १६ पुस २०७५, सोमबार का दिन नेपालखबर डटकममा प्रकाशित छ।
यज्ञराज जोशी । दुईवर्ष अघि सुदूरपश्चिम खप्तड गोल्डकपको पहिलो संस्करणको घोषणा गर्दा पुरस्कार राशि पनि सामान्य थियो। देशका अन्य क्षेत्रमा हुने गोल्डकप झै आयोजक सुदूरपश्चिम–११ क्लबले पनि विजेता मनाङ मस्र्याङ्दी क्लबलाई ५ लाख र उपविजेता संकटा क्लबलाई २ लाख पचास हजार दिएको थियो।
गतवर्ष सम्पन्न दोस्रो संस्करणबाट भने खप्तड गोल्डकपले मोफसलका गोल्डकपमा सर्वाधिक धनराशिको पहिचान बनायो। ए डिभिजनका क्लबहरुको प्रतिस्पर्धा हुने प्रतियोगिताको विजेता त्रिभुवन आर्मी क्लबले ११ लाख तथा उपविजेता एपीएफले भने ५ लाख प्राप्त गरे।
दोस्रो संस्करणको समापन समारोहमा आयोजक सुदूरपश्चिम–११ का अध्यक्ष सुरेश हमालले तेस्रो संस्करणको विजेताले दोब्बर अर्थात २१ लाख रुपैयाँ पुरस्कार पाउने घोषणा गरे। उपविजेताले पनि दोब्बर अर्थात १० लाख पुरस्कार पाउँदैछन्। जुन मोफसलको फुटबलमा एक क्रान्ति नै हो। प्रतियोगिताको बजेट नै १ करोड ४० लाख रुपैयाँ रहेको छ।
यही पुस २३ बाट सुरु हुने तेस्रो संस्करणमा रुस्लान थ्री स्टार क्लब, नेपाल पुलिस क्लब, सिएमजी क्लब संकटा, काँकाडभित्ता ट्रेनिङ सेन्टर झापा, नेपाल एपिएफ क्लब, च्यासल युथ क्लब र आयोजक सुदूरपश्चिम ११ स्पोर्टस् क्लबसँगै भारतको दिल्ली युनाइटेड लगायतका टोलीले प्रतिस्पर्धा गर्देछन्।
तेक्वान्दो गुरुको फुटबल क्रान्ति
२०६८ सालमा सुदूरपश्चिममा भएको छैठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पुरुष फुटबलको उपाधि घरेलु टोली सुदूरपश्चिमले जितेको थियो। सुदूरपश्चिमले देशकै पाँच विकास क्षेत्र र विभागीय टोलीलाई पछि पार्दै त्यसै उपाधि जितेको थिएन्। प्रतिभावान खेलाडीहरुको मेहनतको प्रतिफल स्वरुप उसले उपाधि घरैमा राख्न सफल भएको हो।
तर विडम्बना सुदूरपश्चिमलाई स्वर्ण पदक दिलाउने ती खेलाडीहरुको प्रतिभा पोख्ने ठाउँ भने कहीँ थिएन्। न सुदूरपश्चिममा कुनै गोल्डकप हुन्थ्यो, न सुदूरपश्चिमको कुनै क्लब थियो, जसबाट उनीहरु बाहिर हुने गोल्डकपमा सहभागी हुन सकून्। राष्ट्रिय खेलकुद परिषद्(राखेप)ले वर्षमा आयोजना गर्ने एक, दुईवटा फुटबल कार्यक्रममा उनीहरु सीमित थिए। बाँकी समयमा स्थानीय स्तरमा हुने बोका कप, दशैँ कप खेल्दा उनीहरुको प्रतिभाप्रति न्याय भइरहेको थिएन्।
त्यो कुरा फुटबलप्रति सानैदेखि रुची भएका सुरेश हमाललाई बिझ्यो र उनले धारणा बनाए, सुदूरपश्चिमको एउटा क्लब र गोल्डकपको।
‘देशका चार विकास क्षेत्रमा गोल्डकपको आयोजना हुन्थ्यो,’ उनले सुदूरपश्चिम–११ क्लबको स्थापनाको उद्देश्य प्रष्टाए, ‘त्यहाँका खेलाडीले एक्स्पोजर पाइरहेका थिए। गोल्डकपहरु खेलिरहेका थिए। तर, राष्ट्रिय च्याम्पियन सुदूरपश्चिमका प्रतिभावान खेलाडीहरुले भने न कुनै गोल्डकप खेल्न पाएका थिए न कुनै एक्स्पोजर नै। त्यसकारण हामीले सुरुमा सुदूरपश्चिममा आफैं गोल्डकप सञ्चालन गर्ने र अरुलाई बोलाउँने तथा पछि अरुले बोलाउँदा खेल्न जाने योजना बनायौं।’
सुरेश सानो उमेरदेखि नै फुटबलका पारखी थिए। तर, परिवारको सल्लाहमा उनी मार्सल आर्टस्को प्रशिक्षण लिन पुगे। तेक्वान्दोका उनी सेकेन्ड डान हुन्। उनले थुप्रै राष्ट्रिय स्तरका प्रतियोगितामा पनि आफ्नो कौशल देखाइसकेका छन्।
Image may contain: 1 person, crowd, stadium and outdoor
सोहीक्रममा उनले राखेपबाट २०५३ सालमा तेक्वान्दो प्रशिक्षकका स्थायी नियुक्ति पाए। दुईवर्ष लगातार तेक्वान्दो प्रशिक्षण गराएपछि उनको सरुवा घरबाट टाढा हुने भो। तर, उनलाई घर छाड्ने मन लागेन् र कराँतेको प्रशिक्षकबाट राजीनामा दिँदै सानैदेखि मनपर्ने खेल फुटबलमा फर्कने निर्णय लिए।
तेक्वान्दो प्रशिक्षकबाट राजीनामा दिएपछि उनले आफ्नो गाउँ भजनी (कैलालीको दक्षिण पुर्वी क्षेत्र)मा हिमालय फुटबल  क्लबको स्थापना गरे। कैलालीका गाउँबाट गाउँबाट खेलाडी जुटाएर उनले हिमालयको टिम पनि बनाए भने प्रत्येक वर्ष प्रतियोगिता आयोजना गरे।
गतवर्ष मात्रै क्लबले १९ औं संस्करणको ‘लालबोझी कप’ प्रतियोगिता आयोजना गरेको थियो। जसमा सहभागिता जनाउन देशका विभिन्न स्थानका साथै भारतको उत्तर प्रदेशका टोलीहरु पनि आउँने गर्छन्। हमालकै सक्रियतामा क्लबले आफ्नै कार्यालय पनि स्थापना गरेको छ। र, आगामी समयमा पनि हिमालय उत्तिकै सक्रिय भएर फुटबल विकासमा लाग्ने हमाल बताउँछन्।
२०५९–६० सालमा गाउँमा माओवादी सशस्त्र द्वन्द्व उत्कर्षमा थियो। कहाँ कसलाई के हुने हो? गाउँमा त्रासको वातावरण थियो। अर्कातिर छोराछोरी पनि ठूला हुन थालेपछि उनीहरुको पढाईका लागि सुरेश परिवारसहित धनगढी झर्यो।
छैठौंको उपाधि जिताउँदाका मेरुदण्ड
धनगढी झरेपनि सुरेशको फुटबलप्रतिको मोह घटेन्। उनले कैलालीका विभिन्न क्षेत्रका खेलाडीलाई समेट्दै विजय स्पोर्टस क्लब गठन गरे र नियमित प्रशिक्षण सुरुवात गराए।
सुरेशले विजय क्लबको प्रशिक्षकको जिम्मा दीपेश योन्जन लामालाई दिएका थिए। त्यतिबेला खेलाडीलाई पैसा दिन सक्ने अवस्था थिएन् तर सुरेशले प्रशिक्षकलाई भने खाजा खर्च वापत मासिक १५ हजार दिन्थे। त्यो रकम कहीँबाट आउँदैन् थ्यो, उनले आफै खल्तीबाट दिनुपथ्र्यो।
विजय स्पोर्टसले सुदूरपश्चिममा हुने विभिन्न प्रतियोगितासहित भारतको उत्तर प्रदेशमा हुने प्रतियोगिता खेल्थ्यो। ‘हामी लखनउ, दिल्ली, नैनीताल लगायतका क्षेत्रमा वर्षका आठ दश वटा प्रतियोगिता खेल्थ्यौ,’ सुरेशले सम्झिए, ‘तिनै खारिएका खेलाडीहरुले छैठौँमा सुदूरपश्चिमलाई स्वर्ण पदक दिलाएका थिए।’
विजय स्पोर्टसका अधिकांश खेलाडीहरु नै छैठौं खेलेको टिममा थिए। तीनै खेलाडीहरुले नै घरेलु दर्शक सामू सुदूरपश्चिमका लागि गर्विलो स्वर्ण पदक जितेका थिए।
छैठौंपछि स्वर्णपदक जितेका खेलाडी तथा सुदूरपश्चिमको फुटबल विकासका राज्यका निकायले केही गर्ला कि भन्ने सुरेशलाई आशा थियो तर एक दुई वर्षसम्म पनि कसैले केही पहल नगरेपछि सुरेश आफैले सुदूरपश्चिम–११ टोलीको निर्माण सुरु गरे।
प्रायोजक बिनै गोल्डकप
‘सुदूरपश्चिमका खेलाडीहरु राम्रो नभएको भए च्याम्पियन हुन्थेनन् तर, ती राम्रा खेलाडीहरुले प्रतियोगिता नै खेल्न पाएका थिएनन्,’ सुरेशले भने, ‘राखेपले आयोजना गर्ने प्रतियोगिताबाहेक अन्य कुनै प्रतियोगिता ती खेलाडीहरुले खेल्न पाइरहेका थिएनन्। सुदूरपश्चिमको क्लब नभएको अवस्थामा अन्य क्षेत्रमा हुने गोल्डकपमा पनि कसले बोलाउँने? त्यही भएर हामीले क्लब स्थापनासँगै गोल्डकप घोषणा गरेका हौं।’
सुरेशको सक्रियतामा २०७३ मा फुटबललाई मायाँ गर्नेहरुको समूह मिलेर सुदूरपश्चिम–११ नामक क्लब गठन गरे। सोही क्लबले उदेश्य अनुरुप तीन महिनामै खप्तड गोल्डकपको पहिलो पहिलो संस्करण घोषणा गर्यो।
तर, जति प्रयास गरेपनि पहिलो संस्करणमा उनीहरुले प्रायोजक पाउन सकेनन्। तर, क्लबका सदस्यहरुले हिम्मत हारेनन्। मुख्य प्रायोजक बिना नै प्रतियोगिता सञ्चालन गरे।
Image may contain: 1 person, crowd and outdoor
‘पहिलो संस्करणको पुरस्कार राशि जम्मा पाँच लाख थियो, तर मुख्यप्रायोजक नै नपाएपछि प्रतियोगिता मुख्य प्रायोजना बिना नै सञ्चालन गर्नुपर्यो,’ सुरेशले पहिलो संस्करणको सम्झना गरे, ‘यसमा ४६ लाख खर्च भएको थियो। त्यसको आधा बढी रकम क्लबका सदस्यहरुले खल्तीबाट हालेका थिए।’
दोस्रो संस्करणमा भने कांग्रेस नेतृ आर्जु राणा देउवाले प्रायोजक जुटाउनमा ठूलो सहयोग पुर्याइन्। तत्कालिन चुनावी अवस्थामा आर्जु सोही क्षेत्रबाट प्रतिनिधि सभाको चुनावमा उठेकी थिइन्। पराजित भएपनि उनले त्यस क्षेत्रको फुटबल विकासमा आफ्नो भुमिका देखाईन्।
‘दोस्रो संस्करणमा पुरस्कार राशि दोब्बर पारेपछि लागत पनि बढेको थियो,’ सुरेशले भने, ‘पहिलो संस्करणमा झै खल्तीबाट पैसा हाल्नुपर्ने अवस्था नआओस् भनेर हामी सहयोगका लागि विभिन्न नेताहरुकोमा पनि धाएका थियौं। कसैले चासो देखाएनन् तर आर्जुले भने हामीलाई ४० लाख बराबरको प्रायोजन खोजिदिएर ठूलो सहयोग गरिन्।’
तेस्रो संस्करणमा पनि आर्जुले पहिले झै प्रायोजन जुटाउँन सहयोग गरिदिएपछि यस संस्करणलाई अझै भव्य बनाउँन आयोजक जोडतोडले लागेको छ।
क्लबका अध्यक्ष सुरेश आफै एक महिना बिरामी भएर दिल्लीमा उपचार गराएका फर्किएका छन्। चिकित्सकले उनलाई कम बोल्न सुझाव दिएका छन् तर गोल्डकपको दिन नजिकिँदै गर्दा उनको व्यस्तता झनै बढेको छ। एन्फाले उपलब्ध गराएको समयमा जसरी पनि गोल्डकप सम्पन्न गर्ने उनको दृढता छ।
खेलाडीलाई तलब दिएर राख्ने योजना
गतवर्ष सुदूरपश्चिम–११ ले १० वटा मोफसलका गोल्डकप खेलेको थियो। जसमा क्लबले दुई फाइनल खेल्दा एकको (राजर्षी जनक कप फुटबल, सर्लाही) उपाधि उचालेको थियो भने नेपालगञ्ज गोल्डकपको फाइनल खेलको थियो।
तेस्रो संस्करणको आयोजनापछि भने क्लबलाई व्यवसायिक हिसाबले अघि बढाउने सुरेशको योजना छ। ‘हिजोसम्म खेलाडीहरुले बिना तलब निश्वार्थ हिसाबले खेलिरहेका थिए,’ सुरेशले भने, ‘तेस्रो संस्करणपछि भने हामी व्यवसायिक हिसाबमै अघि बढ्ने योजनामा छौं। अब आर्थिक रुपमा क्लबलाई सुदृढ बनाउँदै अघि बढ्ने योजनामा कार्यसमिति बसेर छलफल गर्नेछौं।’
क्लबले आगामी माघदेखि १५ जना खेलाडीहरुलाई अनुबन्ध गरेर नै राख्ने योजना बनाएको छ। ती खेलाडीलाई मासिक रुपमा पारिश्रमिक दिन सुरु गरिने उनले बताए।
सुरेशले बनाइदिएको प्लेटफर्मबाट अहिले सुदूरपश्चिम एघारका ११ जना खेलाडी ए डिभिजनका विभिन्न क्लबमा आवद्ध भएर सहिद स्मारक ए डिभिजन लिग समेत खेलिरहेका छन्।
पुरस्कार रकम बढ्दैन्
Image may contain: 3 people, outdoor
एन्फाले खप्तड गोल्डकपलाई वर्गीकरण गर्दा ‘क’ श्रेणीमा राखेको छ। ‘क’ श्रेणीको मोफसलको सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता विगत तीनवर्षमा लगातार राशि बढाएपनि तेस्रो संस्करणबाट भने नबढाउने सुरेशले बताए।
‘अब हामी पुरस्कारलाई प्राथमिकता दिँदैनौं,’ भविष्यको योजना सुनाउँदै उनले भने, ‘विजेता पुरस्कार भन्दा अन्य भत्ताहरु बढाउँनेछौं। अहिले म्याच मनी २० हजार दिँदैछौं भने अर्कोपटक ४० हजार पुर्याउँने छौं। दोस्रो कुरो अहिलेसम्म नेपालमा महिला गोल्डकप भएको छैन्। गतवर्ष हामी गर्ने सोचमा थियौं तर घोषणा चाहिँ गरेका थिएनौं। सायद यसपटक साफ सकिने बित्तिकै नेपालको गोल्डकप सुदूरपश्चिमबाट गर्ने घोषणा गर्नेछौं। यसपटक फागुनमा गर्ने सोच थियो। त्यही समयमा साग पर्ने भएकाले चैत्रको अन्त्यसम्म आयोजना सम्भव छैन्। समय हेरेर चाडैँ निर्णय गर्छौ। जुन मिति हामीले पाउँछौं। त्यसमा हामी गर्नेछौं।’