Sunday 30 March 2014

नेपाली क्रिकेटमा कन्ट्रोभर्सी



'नेताहरूले साम्यवाद ल्याउन भनेर जनयुद्धमा हिँडाए। हिँडियो पनि। न सिंहदरबार पुगियो, न बानेश्वर। त्यहाँ त रवीन्द्रप्रतापहरू पो पुग्न लेख्या रै'छ। हामी त भद्रगोल जेलसम्म मात्र पुगियो। बरु क्रिकेट खेल्न सिकेको भए चटगाउँ त पुगिने रै'छ।'

तत्कालीन नेकपा माओवादीको जनयुद्धमा सक्रिय रूपले लागेका पत्रकार खिलबहादुर भण्डारीले यो स्टाटस फेसबुकमा पोष्ट गरे। भन्डारीले यो स्टाटस राखेकै समयमा नेकपा माओबादी वैद्य समूहका प्रभावशाली नेता सीपी गजुरेलले एक कार्यक्रममा भनिदिए- 'नेताहरू हो, क्रिकेटरबाट सिक भनिएको छ, अब के हामीहरू सबै उनीहरूको पछाडि लागेर हिँड्ने ? हुँदैन त्यस्तो। जति राम्रो क्रिकेट खेले पनि नेपालको अनुहार क्रिकेटले कहिल्यै फेरिँदैन। यो विकृति हो, विकृतितिर उद्यत् छ, त्यसैले अब यही रहेछ क्यारे भनेर सबै यसैको पछाडि लाग्नु हुँदैन।'

ड्यास माओवादीका विदेश विभाग प्रमुखको यो वाणीले क्रिकेटमय बनेको नेपाललाई तरंगित बनाइदियो। एकाएक फेसबुक र टि्वटरमा तीव्र र आक्रोशजन्य टिप्पणीहरू पोस्ट हुन थाले। राजधानी काठमाडौंभन्दा धेरै परको डडेलधुरामा पनि त्यसको तरंग देखियो अनि डडेलधुराका केही युवाले गजुरेलको पुतला दहन गरे। त्यसो त भोलिपल्टै गजुरेलले आफुले नबोलेको कुरालाई उचालिएको भन्दै खण्डनसमेत गरे। राजनीतिक विषयमा गरिएको भाषणलाई क्रिकेटमा लगेर जोडिएको भन्दै उनी रिसाए। यद्यपि उनको सम्बोधन सुन्ने तथा युट्युबमा हेर्नेहरूले गजुरेलको क्रिकेट कटाक्ष प्रस्ट रूपमा बुझ्न सक्छन्।

नेपाली क्रिकेटले वर्ष ७० को अन्त्यतिर आइपुग्दा अनपेक्षित रूपमा मीठो सफलताको स्वाद चखाएपछि उत्साहित बनेका आमनेपाली गजुरेलको अभिव्यक्तिबाट आक्रोशित भैसकेका थिए। नेपाली क्रिकेटको ७० वर्षे यात्रामा सबैभन्दा ठूलो उपलब्धि हासिल गरेको समयमा पटक-पटक म्याद थपेर पनि संविधान बनाउन नसक्ने नेताले उल्टै क्रिकेटलाई गाली गरेको भन्दै नेपालीजन रिसाउन बाध्य भएका थिए। आफ्ना कुरा प्रस्ट राख्ने स्वभावका गजुरेल पनि भोलिपल्टै सतर्क भएबाट यो उल्झनमा फस्नुभन्दा बाहिरिएकै राम्रो भन्ने पाठ गजुरेलले बुझेको देखिन्छ।

के भनेका थिए गजुरेलले ?

नेकपा-माओवादीका उपाध्यक्ष सीपी गजुरेलले जति राम्रो क्रिकेट खेले पनि त्यसले नेपालको अनुहार नबदलिने भन्दै उनले नेपालको परिवर्तन राजनीतिले मात्र गर्ने बताएपछि क्रिकेटप्रेमीहरू आक्रोशित हुन पुगे। मिडिया इन्टरनेसनलद्वारा आयोजित कार्यक्रममा बोल्दै गजुरेलले क्रिकेटरहरूलाई एयरपोर्टमा भव्य स्वागत गर्नु, उनीहरूलाई नायकका रूपमा प्रस्तुत गरिनु र राज्यले उनीहरूलाई नगद पुरस्कार दिनुजस्ता क्रियाकलाप विकृति भएको बताइदिए। गजुरेलको अभिव्यक्ति जुन हाल युट्युबमा पनि हेर्न सकिन्छ, जस्ताको तस्तै : क्रिकेट खेल्नेहरू आज नेपालका नायक भएका छन्, हिजो देख्नुभयो होला एयरपोर्टमा, मारामार थियो, यो के हो ? अनि भनिदैथ्यो, तिमी क्रिकेटरहरूबाट सिक। नेताहरू हो तिनीहरूबाट सिक रे। आज नेपालको राजनीति यस्तो भएको छ। अब हामी सबै त्यसैको पछि लागेर हिँड्ने ...? (गजुरेलले फिस्स हाँस्दै भने) हुँदैन त्यस्तो। हो, क्रिकेटले मनोरञ्जन दिन्छ, क्रिकेटमा राम्रो प्रदर्शन गर्नुपर्छ। नेपालको नाम त्यहाँबाट पनि अगाडि बढाउनुपर्छ। त्यसको पक्षमा हामी छौं, तर जति राम्रो क्रिकेट खेले पनि नेपालको अनुहार कहिल्यै फेरिँदैन। अब त्यहाँ क्रिकेट खेल्ने खेलाडीहरूले धेरै पुरस्कार त पाउलान्, एक जनालाई ५ लाख दिने भनेर यही सरकारले घोषणा गर्‍यो। त्यसरी पैसा त ओइरिएला, यहाँका उद्योगपतिहरूले अझ धेरै देलान, या धेरै कालो धन जम्मा गर्नेहरूले त्यसबाट पनि सहयोग गर्लान् तर नेपालको अनुहारचाहिँ फेरिँदैन। नेपालको परिवर्तन राजनीतिले नै गर्छ, अरू चीजले गर्दैन। क्रिकेटले, फुटबलले, भलिबलले गर्दैन। अहिले नेपालको राजनीति त्यतातिर गएको छ। यो विकृति हो। यो विकृतितिर उद्यत् छ। अब सबैले यही रहेछ क्यारे भनेर हामी यसैको पछि लागेर हुँदैन।'



लोकतन्त्रमा जसलाई जे भन्न पनि छुट छ

- पारस खड्का

माओवादी नेता सीपी गजुरेलले क्रिकेटलाई विकृति भन्नुभयो भन्ने कुरा खुबै चर्चामा आयो नि ?

हामी कहाँ सबैलाई आफ्ना कुरा व्यक्त गर्न पाउने स्वतन्त्रता छ। हामी खेलाडीहरूलाई लागेको छ, सक्दो राम्रो खेल्नुपर्छ, देशलाई अझै अगाडि पुर्‍याउनुपर्छ। त्यसैले क्रिकेटका माध्यमबाट आफूले सक्ने योगदान दिइरहेका छौं। हामीले आफ्नो काम गरिरहने हो, सीमित व्यक्तिको अभिव्यक्तिका पछाडि लागेर त्यसमा प्रतिक्रिया दिएर केही हुनेवाला छैन। जसलाई जे भन्न मन लाग्छ भन्न सक्नुहुन्छ। उहाँको अभिव्यक्ति मैले पनि हेरें, स्वाभाविक रूपमै लिए। उहाँलाई जे लाग्यो त्यो भन्नुभयो।

क्रिकेटले मुलुकको अनुहार फेरिन्छ त ?

यो मुलुकमा कुनै एक यस्तो खेल वा कार्यक्रम वा कुनै घटनामा समग्र मुलुकका जनता एकताबद्ध भएका छन् भने त्यो हो, यसपटकको विश्वकप टी-ट्वान्टी। सबै जातजाति, समुदाय र भूगोलका नेपालीहरूले नेपालले खेल जितोस् भनेर कामना गरे। एकताको बलियो नमुना क्रिकेटकै कारण देखापर्‍यो। न्यूनतम् सेवा-सुविधाका आधारमा खेलाडीहरूको अथक मेहनत, कोचको उत्कृष्ट रणनीतिका कारण हामीले विश्वकपसम्मको यात्रा तय गर्‍यौं। एउटा व्यक्ति वा एउटा सानो समूहले आफ्ना तर्फबाट गर्न सक्ने योगदान यस्तै हो। त्यसमा मुलुकको बलियो प्रतिनिधित्व गरेर हामी आयौं जस्तो लाग्छ, यसैगरी सबैले आ-आफ्नो तर्फबाट योगदान दिने हो भने अवश्यै मुलुकको अनुहार फेरिएला। क्रिकेटले एकताबद्ध बनाइदिएको छ।

खेलले अनुहार फेरेका राष्ट्र पनि छन् नि होइन ?

हो म भन्दै थिएँ, आज पनि ब्राजिल भन्नेबित्तिकै फुटबल र पेलेलाई सम्झिइन्छ। भारतलाई क्रिकेटका लागि चिनिन्छ। खेलमार्फत उनीहरूको सोर्स अफ इनकम पनि धेरै नै छ। आर्थिक क्रियाकलापका हिसाबले खेलले ती राष्ट्रमा ठूलो अर्थ राख्छन्। अर्जेन्टिनादेखि लिएर युरोपेली मुलुकमा फुटबलको रेभेन्यु उत्तिकै छ। यस्ता थुप्रै उदाहरण छन्।

नगद पुरस्कारको विषयमा पनि नेताजीले प्रतिक्रिया दिनुभयो, कस्तो लाग्यो त ?

मैले हेरें, यसमा पनि मेरो प्रतिक्रिया अघि नै भनेजस्तै हो, कसैलाई ठीक लाग्छ, कसैलाई बेठीक। खेलाडीहरूले राम्रो खेले, यसकारण उनीहरूलाई सम्मानित गर्नुपर्छ, पुरस्कृत गर्नुपर्छ भन्ने कुरामा उहाँलाई चित्त नबुझेको होला। मेरो विचारमा काम गर्नेले गरिरहनुपर्छ, बोल्नेले बोलिरहन्छन्। त्यो व्यक्तिगत समस्या हो।

अबको नेपाली क्रिकेटको भविष्य कस्तो देख्नुहुन्छ ?

अब नेपालमा क्रिकेटको परिभाषा फरक हुनेछ। यसपटक पनि क्रिकेट नबुझ्नेहरूले बुझ्ने प्रयास गरेर हाम्रा हरेक खेल हेर्नुभयो। क्रिकेटलाई माया गर्नेहरूको संख्या अझ बढेर गएको छ। क्रिकेटले राष्ट्रिय महत्त्व पाएको छ। क्रिकेटको नाम नसुन्नेहरू पनि चासो दिन थाल्नुभएको छ। सरकारले पनि चाँडै अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गर्ने बताएको छ। अब नेपाली क्रिकेटलाई चुस्त ढंगले सञ्चालन गर्न सक्ने व्यवस्थापनको खाँचो छ। क्रिकेटलाई महत्त्वका हिसाबले लिइयो भने भविष्यमा अझै धेरै सफलता हातपर्ने निश्चित छ। यसका लागि प्रतिबद्धताको खाँचो छ।

आयस्रोतका आधारमा क्रिकेट कत्तिको फलदायी छ ?

पहिलो कुरा हामीले एकदिवसीय टिमको मान्यता पायौं भने मुलुकभित्रकै स्टेडियममा अन्तर्राष्ट्रिय स्तरका स्पर्धा गराउन सक्छौं, दोस्रो कुरा अहिलेको खेलसँगै स्टेडियम मात्र बने पनि न्युट्रल भेन्युका रूपमा भारत पाकिस्तान, भारत अस्ट्रेलिया, श्रीलंका, पाकिस्तान, वेस्टइन्डिज, दक्षिण अफ्रिका आदि मुलुकका स्पर्धा यहाँ हुन सक्छन्। मलेसिया आफू क्रिकेटको बलियो राष्ट्र होइन, तर त्यहाँ अन्तर्राष्ट्रिय स्तरका रंगशाला छन्, शारजहाँलाई नै हेरौं न, त्यसैले पूर्वाधार भयो भने त्यसले निश्चित रूपमा आम्दानी ल्याउँछ।

सीपीजीले क्रिकेटविरोधी कुरा गरेको होइन भनेर खण्डन पनि गर्नुभयो नि ?

उहाँले बोलेको भिडियो मैले युट्युबमा हेरेको हो। यदि त्यो उहाँ होइन भने त खै के भन्ने र ! (हास्दै) यो कुरा मसँग भन्दा पनि उहाँसँग नै सोध्नुपर्ला, किनभने त्यो भिडियोबाटै मैले पनि उहाँको अभिव्यक्ति सुनें। क्रिकेटविरोधी कुरा गरेको होइन भनेर सच्याउन वा सच्चिन खोज्नुभएको हो भने त्यो राम्रो पक्ष हो।

नेताहरूले क्रिकेटरबाट सिक्नुपर्ने रे ? त्यस्तो हुँदैन भन्ने कुरालाई कसरी लिनुहुन्छ ?

हामीले नेता, उद्योगपति वा अरू कुनै पेसा वा क्षेत्रका मानिसलाई राजनीति वा अर्थतन्त्र वा अरू कुरा सिकाउन क्रिकेट खेलेको होइन। मैले बुझेको कुरा, कुनै पनि जिम्मेवारी राम्रोसँग बहन गर्न सकियो भने त्यो प्रशंसायोग्य हुने मात्र हो। यो त एउटा उदाहरण मात्र हो, राम्रो कामको जस पाइन्छ भन्ने। सबैले सकारात्मक रूपमा सोचिदिए वा आ-आफ्नो क्षेत्रबाट प्रतिबद्ध भएर योगदान गरे पुग्छ, यो कसैले कसैलाई सिकाउने भन्ने कुरा नै होइन्।



फेसबुक स्टाटस

दीपकराज गिरी : क्रिकेटले विकृति ल्याएको सही हो, नेताजीहरूको कुरामा म सहमत छु, हजारौं नेपालीले ज्यान गुमाएर प्राप्त उपलब्धि पछि पनि एउटा माखो मार्न नसक्ने असफल राजनीति र असफल नेताका बीचमा क्रिकेटको सफलताको कुनै महत्त्व छैन, कम्युनिज्मले भन्छ सबै बराबर हुनुपर्छ, असफल नेताको भीडमा खेलाडी पनि असफल नै हुनुपर्छ, अनि पो बराबर...असफलको बीचमा सफल हुनु विकृति नै हो।

युवराज लामा : मुखाले नेता सीपी गजुरेलले व्यक्त गरेको धारणाले २१ औं शताब्दीमा खेलकुद विज्ञानको विकास कसरी भैरहेको छ र समग्र मानव विकासमा यसले कस्तो योगदान पुर्‍याएको छ भन्ने विषयमा उनको ज्ञान शून्य रहेको प्रमाणित हुन्छ।

खेलकुद भण्डाफोर : क्रिकेटरको अन्तिम उद्देश्य वल्र्डकप जित्नु हो।

राजनीतिज्ञको अन्तिम उद्देश्य प्रधानमन्त्री बन्नु हो।

नेपाली क्रिकेटरले वल्र्डकपमा पुगेर देखाइसके।

कहिले प्रचण्डको त कहिले वैद्यको पछि लाग्ने राजनीतिज्ञ सीपी गजुरेल प्रधानमन्त्री बन्ने कहिले ?

यस्ता कुराले त यो जुनीमा त खै कुन्नि ?

दीपराज चाम्लिङ : भदौमा आँखा फुटेको गोरुले चैतमा पनि हरियै देख्छ रे ?? बन्दुक देखाएर जबर्जस्ती २-४ जना भेला पारेका गजुरेल बालाई अझै पनि धेरै अघि-पछि आउँछन् भन्ने लागेको होला, तर अब समय परिवर्तन भैसक्यो। जनमानसको भीड देखेर क्रिकेटप्रति डाह लागेको होला।

मेघराज नेपाली : हरेक उग्रताको अन्त्य जरुरी हुन्छ, सीपी गजुरेलले खेलप्रति नै असन्तुष्टि पोखेका छन। खेलले होइन, तपाईंको व्यक्तिगत स्वार्थले विकृति ल्याउँछ। यहाँहरूमा जनता लडाउने, भिडाउने अनि आफ्नो दुनो सोझ्याउने भन्दा राम्रो सोच कहिल्यै आउँदैन है ?

विनोद न्यौपाने : सीपी पढ्दा रहेनछन्, खेलकुदको महत्त्व बुझ्दा रहेनछन्, यिनलाई नेता होइन हली राख्न लायक उपयुक्त देखें मैले त।

भूपेन्द्र काफ्ले : सरकारको बेवास्ताका बाबजुद पनि खेलेर राष्ट्रको इज्जत धान्ने खेलाडीहरूप्रति गरिएको टिप्पणीले नेपाल आमाको छाती दुखेको छ। टाउकाको गोल खेल्नेहरूले क्रिकेट खेल्नेहरूलाई के गन्थे र ?

सागर नेपाली : १० वर्ष लुटेर पनि नपुगेकाहरू, १६ हजार नेपालीलाई मर्न बाध्य गराएर, देशलाई ५० वर्ष पछाडि धकेलेर अझै पुगेको छैन, नेपाल बन्द गर्दै हिँड्दा विकृति भएन क्रिकेटको माध्यमबाट देशले यत्रो खुसी मनाइरहँदा क्रिकेटलाई विकृति भन्ने ?

रामजी बलामी : नेपालको परिवर्तन क्रिकेटले गर्दैन, राजनीतिले मात्र गर्छ रे ! यस्तै बुद्धि भएका नेताहरू भएर त देशको यत्रो विकास भएको नि !

दुर्गा सुनुवार : विचरा सीपीलाई के भनौं ? मान्छेको योग्यता जे छ त्यही बोल्छ, नाम मात्रका नेता भन्छु म त यिनलाई।

सन्तोष खड्का : गजुरेललाई नै बल बनाएर छक्का चौका हानौं जस्तो पो लाग्यो त अनि थाहा हुन्छ क्रिकेटको महत्त्व र तागत।

सुरेश रिजाल : जंगलमा बसेर राज गर्ने अनि जनताको खुसी देख्न नचाहने, आज आफू भिजेको मुसो जस्तो भैरहँदा नेपाल र नेपाली रमाइरहेको देख्न नचाहनेलाई देशमा बस्ने कुनै अधिकार छैन, अब नेपालको जंगलमा होइन अफ्रिकाको जंगलमा लखेट्नुपर्छ।

सुरज विवस : नेताको नाममा कलंक, बन्द, मारपिट, तोडफोड गर्नुचाहिँ विकृति होइन ? खबरदार अब नेपाली जनता लाटा छैनन्।

जनार्दन न्यौपाने : गोरु बूढो भए भीर खोज्छ मान्छे बूढो भए निहुँ खोज्छ भन्ने सुनेको थिए, हो कि क्या हो, कपाल फुलेको मान्छेले यस्तो बोल्यो।

डीएन लामिछाने : गरिब जनताको खुन चुस्नेलाई के थाहा देशको इज्जत केहो भन्ने कुरा ?

क्रिस्टल ढकाल : सीपीजी, कमसेकम दूध रातो छ अनि आकाश कालो छ त नभन।



टि्वटरका स्टाटस


दिनेश : तासमा जोकर नभए, फिलिममा कमेडियन नभए, अनि राजनीतिमा सीपी गजुरेल नभए के मजा ? फटाहा त चाहिन्छ नि राजनीतिमा। यो कुन ठूलो कुरा भयो ?

अनिल अर्याल : क्रिकेटले देशमा विकृति भित्र्यायो भनेर सीपी गजुरेलले भनेकै हुन् भने आजदेखि सीपी गजुरेल मलाई मन पर्न छाडे। हुन त कहिले पो मन परेका थिए र ?

नेपाली कान्छा : देश बिग्रिएको क्रिकेटले होइन, बाँदरजस्ता नेताहरूले गर्दा हो, चेतना भया सीपी गजुरेलजी।

सुनाम : यो सीपी भनेको पानीमा बस्ने कीराजस्तो लागेथ्यो, फेरि गजुरेल लेख्या रै'छ, मान्छे त मान्छे नै भन्ने प्रमाणित भयो।

एनआरएन सिंह : नेपालले विश्वकप क्रिकेट खेलेर आएपछि के कुराचाहिँ राम्रोसँग थाहा भो भने रिखि धमला र सीपी गजुरेल नेपालका एकनम्बर क्रिकेट विशेषज्ञ रहेछन्।

अब्सेन्ट : भन्यो भने सीपी गजुरेलको जस्तो पुत्ला दहन गर्लान् भन्ने डर तर क्रिकेटको चर्चा अलिक बेसी नै भा'को हो कि ?

पेशल दाहाल : नेसनल हिरो : पारस खड्का, नेसनल पागल : सीपी गजुरेल, नेसनल गफाडी : प्रचण्ड, नेसनल श्रीमान् : प्रकाश दाहाल, नेसनल रोगी : सुशील कोइराला

राज खरेल : पारस खड्का पनि धेरै जान्ने भए यिनका पनि सीपी गजुरेलकै ताल होलाजस्तो छ। संगठनभित्रको कुरा आन्तरिक छलफलबाट सुधार्नुपर्छ। खुब भाषण गर्ने ?

मृदुल : बौलाएपछि कसको के लाग्छ ? धन्न नेपालमा हिन्दूको जमात छ, पाकिस्तानतिर सीपी गजुरेल भा'को भए आत्मघाती हमलामा परिसक्थे तालिवानको।

सुनिल कोइराला : सीपी गजुरेलले साँच्चै होसमै त्यस्तो भनेका हुन् भने तिनलाई जुत्ताको माला लगाएर सहर परिक्रमा गराउनैपर्छ।

सिकारु : कहाँ सन्नि लियोन कहाँ सीपी गजुरेल ?

अभिषेक कोइराला : गल्ली-गल्लीमा बम राखेर नाबालकसमेत मार्नु कृति हो। क्रिकेट खेलेर देशका सबैलाई खुसी बनाउनु विकृति हो। जनता खुसी हुनु अपराध हो।

आई बूढा : सीपी गजुरेल, जुन व्यक्ति देशको कुनै पनि प्रमुख पदमा छैनन्, उनले नेपाली क्रिकेटप्रति दिएको अभिव्यक्तिलाई लिएर हामी उनको खेदो खन्ने कस्ता मान्छे ?

नेपाली केटो : सीपी गजुरेलले आफ्नो विचार राखे, भ्रष्टाचारीलाई १ सय किलोको माला लगाउने लोकतन्त्रवादीहरूले आफ्नो औकात देखाए, खुब गर्‍यौ।

परदेशी : मान्छे सीपी गजुरेलले यसो भनो भनेर दु:ख मान्छन्, घरमा कुकुर पालेपछि बाटो हिड्नेलाई भुकिहाल्छ नि, चोर आउँदा पो निदाउँछ।

फुत्तबहादुर : सीपी गजुरेलको भिडियो हेरेर मान्छेलाई कसरी रिस उठेको होला, मलाई ह्याँ हाँसो उठेर चौपट भैरे'छ।

सुरज बुढाथोकी : क्रिकेटले नेपालको अनुहार नफेरिने भए निर्दोष जनतालाई मार्न उनीहरूको सम्पत्ति लुटेर मोज गर्न पाए बन्छ हैन ?

गैरे नवीन : सीपी गजुरेल यानिकी, सि : सिद्धिएको मति भएको, पि : पिउँदै जे पायो तेही बोल्ने, ग : गन्धे, जु : जुम्रे, रे : रेबिज लागेको राजनीतिज्ञ, ल : लठुवा

प्रकाश खनाल : बन्दुकको नालले जंगलमा छक्का चौका हानेकाहरूलाई स्टेडियममा खेलेको क्रिकेट कसरी पच्छ त ?



फुटेज जोडेर मलाई बदनाम गरियो

- सीपी गजुरेल

क्रिकेटका बारेमा तपाईंले बोलेका कुरा खुबै आलोचित भए नि ?

मैले बोलेको भिडियोलाई अनलाइन खबर र केही ब्लगहरूले राखे, त्यो हेरेर पुतला जलाउने कामसम्म भयो। मैले पनि यो कुरा थाहा पाए । अचम्मको कुरा मैले भनेको कुरालाई अतिरञ्जित गर्ने हिसाबले कसैले इन्टेन्सनल्ली उछाल्यो। मैले त्यो भाषणमा सुरुमै भनेको थिएँ, ट्वान्टी-२० क्रिकेटमा नेपालले जुन हिसाबको प्रदर्शन गर्‍यो, त्यो एकदमै उत्कृष्ट थियो, म नेपाली टिमलाई बधाई दिन्छु। त्यो कुरा मैले प्रस्ट रूपमा राखेको हो, त्यसपछि अहिले जसरी क्रिकेट खेलाडीहरू खेल जितेर आउँदा त्यत्रो स्वागत पाइरहेका छन्, त्यो अवस्थामा नेपाली राजनीति, राजनैतिक व्यवस्था, नेता एवं पार्टीहरूप्रति जनमानसमा वितृष्णा छ, यस्तो स्थिति उत्पन्न हुनुको कारण के हो ? भन्न खोजेको थिएँ, क्रान्तिको प्रवाहलाई बीचमै छोडेर गलत बाटोमा जाँदा विकृति उन्मुख भएको कुरा गरेको थिएँ, तर क्रिकेटको कुरामा राजनीतिको विकृतिको प्रसंग लगेर जोडिदिएपछि यो घटना हुन गएको हो।

तपाईले बोलेका कुराले खेलाडीलगायत धेरैको मन दुख्यो नि ?

मैले त विकृत राजनैतिक क्षेत्रको विषयमा बोलेको हो। दुईवटा फुटेजलाई जोडेर यो विषयलाई प्रोभोक्ड गरियो। अरूले यो विषयलाई नकारात्मक ढंगले मात्र प्रस्तुत गरेपछि मैले खण्डन गर्नु आवश्यक मानें। यसलाई जसरी प्रस्तुत गरिएको छ, त्यसले खेलाडीहरूलाई दु:ख लाग्नु स्वाभाविक हो। यहाँ केही मानिस सचेत ढंगले भड्काउने प्रयासमा लागे। एउटा टेलिभिजनले बारम्बार मेरो पुतला दहनको भिडियो देखाइरह्यो, जबकि अरूले त्यसलाई आवश्यक मानेनन्।

खेलले मुलुकको अनुहार फेरिँदैन भन्नुभयो, खेलबाट ठूलो आय लिने मुलुकहरू पनि छन् नि ?

यो विषयलाई पनि गलत रूपमा बुझियो, मैले भनेको खेलको महत्त्व आफ्नो ठाउँमा छ। त्यसको भूमिका छैन भनेको होइन, तर राजनीति र खेल एउटै होइन। समग्र मुलुकको अनुहार परिवर्तन गर्न राजनीति अझ भनौं राजनैतिक व्यवस्थाको भूमिका महत्त्वपूर्ण हुन्छ। राम्रो राजनैतिक व्यवस्थाले खेल क्षेत्रलाई पनि अझ सुदृढ तुल्याउँछ। राजनीतिको भूमिका खेलले खेल्न सक्दैन। राजनीति र राजनैतिक पार्टीका नेताहरूले खेल्ने भूमिका महत्त्वपूर्ण हुन्छ, त्यसका लागि जुन वितृष्णा छ, त्यो हटाउन जरुरी छ, त्यस आधारमा विकृतिको सन्दर्भ उठेको हो।

सोसल नेटवर्क खासगरी फेसबुक र टि्वटरमा तपाईंप्रति लक्षित प्रतिक्रिया हेर्नुभयो ?

मैले थाहा पाइसकेको थिएँ, फेसबुक, टि्वटर हेरिनसक्नु छ भन्ने कुरा। एकदमै भद्दा किसिमका प्रतिक्रियाहरू थिए। यद्यपि मैले विरोधको यो शैलीलाई पनि सकारात्मक रूपमै ग्रहण गरें। उहाँहरूले जुन हिसाबले बुझ्नुभयो, त्यस हिसाबले आक्रोशित हुनु स्वाभाविक थियो। त्यो भिडियो नै गलत थियो, यसकारण भ्रम सिर्जना भयो।

त्यहाँ फुटको राजनीतिमा रमाउनेहरू जनता एकताबद्ध भएको हेर्न चाहँदैनन् सम्म भनियो नि ?

त्यो बुझाइ एकदमै गलत हो, हाम्रो पार्टीले अहिले पनि भनिरहेको छ, तीनवटा मुद्दामा आमनेपालीको एउटै धारणा हुनुपर्छ अनि हामी कसरी एकताविरोधी भयौं ? राष्ट्रिय स्वाधीनता, जनजीविका र जनसंविधानको विषयमा नेपालीहरूको एकताबद्ध साझा धारणा हुनुपर्छ भन्नेले जनताबीचको फुटको कल्पना गर्न सक्छ ?

नगद पुरस्कार दिइएको विषयमा किन आक्रोश नि ?

मेरो कुरा त्यो होइन, खेलाडीलाई प्रोत्साहित गर्न पुरस्कार दिइनुपर्छ भन्ने मान्यताको मान्छे म। भौतिक रूपमा खेलाडीलाई दिने कुरामा मेरो कुनै विपरीत धारणा छैन। किन नगद पुरस्कार दिइयो भनेर रिस गरेको पनि होइन, मैले क्रिकेट खेलाडीहरूलाई अपमानित गरेको पनि छैन। यदि मेरो प्रस्तुतिले खेलाडी वा खेलप्रेमीहरूलाई नराम्रो लागेको छ भने त्यसमा म दु:ख प्रकट गर्छु।

बेकारमा क्रिकेटको कुरा गरेजस्तो लाग्यो होला होइन ?

हो, अहिले मलाई महसुस भएको छ, क्रिकेटको कुरा नै नगरी भाषण गरेको भए, यो विषयलाई जोडजाड गरेर गलत हिसाबले प्रस्तुत गरिने थिएन अथवा जसले गर्‍यो त्यो तत्त्वले यो गर्न सक्दैनथ्यो। मैले समयसापेक्ष भाषण गर्ने क्रममा क्रिकेट यति धेरै लोकप्रिय हुने, राजनीति अलोकप्रिय हुने कारण खोतलौं भन्ने आशयले यो विषयलाई उठाएँ, यसमा जे भयो गलत भयो।

अन्तत: तपाईं खेलविरोधी हुनुभयो ?

म खेलप्रेमी व्यक्ति हो। स्कुलेखि नै भलिबल र चेसका विभिन्न खेल जितेर पुरस्कृत भएको छु। खेलप्रति मेरो विशेष लगाव छ। शिक्षक हुँदाको अवस्थामा पनि म खेल शिक्षकका रूपमा परिचित थिए, खेलको विरोधीजस्तो बनाइयो, जुन हुँदै होइन। जुन रूपले खेलाडी र खेलप्रेमीमाझ भ्रम सिर्जना गरिएको छ, त्यसका कारण परेको असरप्रति गम्भीर रूपमा दु:ख व्यक्त गर्छु।
Source - Saptahik

Saturday 29 March 2014

फाप्ला मैदान निर्माणमा नेपाल आर्मीको सहयोग, फोटो फिचर




















सुदूरमा पहिलो पटक हाफ म्याराथन

सुदूरपश्चिममा पहिलो पटक धनगढी जेसिजले धनगढी हाफ म्याराथन प्रतियोगिता २०१४ आयोजना गर्ने भएको छ। 
धनगढी जेसिजले आज पत्रकार सम्मेलनको आयोजना गरी नयाँ वर्षको अवसर पारेर बैशाख १ गते प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको छ। 
'सबैका लागि खेलकुद' भन्ने नाराका साथ क्षेत्रीय रंगशालाबाट सुरु हुने प्रतियोगितामा सुरक्षाकर्मी, कर्मचारी, व्यवशायी लगायत ५ सयको सहभागीता रहने धनगढी जेसिजका कार्यकारीणी उपाध्यक्ष प्रकाश चन्दले जानकारी दिएका छन्। 
उनले प्रतियोगिता जित हारका लागि भन्दा पनि एकआपसमा सौहार्द वातावरण तयार पार्नका लागि आयोजना गरिन लागेको बताए। 
प्रतियोगितामा धावक बैकुण्ठ मानन्धर, किर्तिमानी खेलाडी दीपक बिष्ट, एथ्लेटिक्सतर्फ पहिलो अन्तराष्ट्रिय पदक विजेता जीतबहादुर केसीको सहभागिता रहनेछ। 
धनगढी गृह क्षेत्र भई नेपाली चलचित्र क्षेत्रका स्थापित नायकद्वय विराज भट्ट र सुमन सिंह तथा नायीका ऋचा शर्मा लगायतको समेत प्रतियोगितामा सहभागिता रहने बताईएको छ।
प्रतियोगिताको अवसरमा धनगढी जेसिजले खेलाडी र कलाकारहरुलाई सम्मान समेत गर्ने कार्यकारिणी उपाध्यक्ष चन्दले जानकारी दिएका छन्।  
प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार, दोस्रो हुनेलाई १० हजार र तेस्रो हुनेलाई ५ हजार नगद सहित ट्रफी र प्रमाण पत्र समेत प्रदान गरिने बताईएको छ।
via- Setopati #yogeshdai

फाप्ला क्रिकेट मैदानमा “नेपाल आर्मी”





यज्ञराज जोशी
धनगढी चैत्र १२ गते
धनगढीमा निर्माणाधिन रहेको फाप्ला क्रिकेट मैदान निर्माण कार्यमा नेपाल आर्मीले सहयोग गरेको छ । नेपाल आर्मीको सामाजिक उत्तरदायित्व अन्र्तगत उनीहरुले मैदान निर्माण कार्यमा सहयोग गरेका हुन । यस अघि सोही मैदान निर्माणका लागि शशस्त्र प्रहरी बलले समेत सहयोग गरेका थिए ।
फाप्ला मैदान नेपाल प्रिमियर लिगको लागि तयार पारिदै छ । मैदान निर्माणका लागि थप जनशक्ति आवश्यक परेकाले धनगढी बोराडाँडी स्थित सैनिक ब्यारेकबाट आएका झण्डै १ सय २० जनाले मैदान निर्माणमा सहयोग गरेको मैदान निर्माणमा सहयोग गरेको धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाहीले बताउनु भयो । धनगढीमा क्रिकेट खेलको विकाशका लागि सवैले आफ्नो क्षेत्रबाट सहयोग गरे छिट्टै यहाँको क्रिकेटले ईतिहास बनाउने उनको दाबी छ । त्यस्तै मैदान निर्माणमा खटिनु भएका ईन्जिनियर रमण श्रेष्ठले नेपाली आर्मीको सो भुमिकाको प्रशंशा गर्दै उनीहरु प्रति आभार प्रकट गर्नुभएको छ । आर्मीको सो टोलीले भाली पुन मैदान निर्माणमा सहयोग पुर्याउने छ ।
फोटो ः मैदान निर्माणमा खटिएका नेपाल आर्मीका जवानहरु ।

धनगढीले अन्तराष्ट्रिय प्रतियोगिताहरु आयोजना गरेको हेर्ने ईच्छा छ - सुवाश शाही

सुवाश शाही,  नेपाली क्रिकेट प्रेमीका लागि परिचित नाम हो । सुदुुरपश्चिमको क्रिकेटको विकाशमा क्षेत्र नम्बर ९ धनगढीका उपाध्यक्ष, तथा धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाहीको भुमिका अतुलनिय छ । अझै पछिल्लो समयमा धनगढीमा हुने जुनसुकै प्रतियोगिताहरु पनि उहाँ कै नेतृत्वमा सफल रुपमा सम्पन्न हुने गरेका छन । उहाँ आफै पनि राम्रो खेलाडी हुनुहुन्छ । युवा अवस्थामा आफुले पनि नेपाली नेशनल टीमबाट विश्वकप खेल्ने सपना देखेका  शाहीले विविध कारणबश् आफ्नो सपना पुरा गर्न सकेनन् तर त्यस्तो सपना देख्नेहरुलाई सो स्थानमा पुर्याउन उनी प्रयासरत् छन । हाल धनगढीलाई क्रिकेटको शहरका रुपमा चिनाउँन र फाप्ला क्रिकेट मैदान निर्माणमा जुट्नु भएका उहाँसँग  यज्ञराज जोशीले गरेको कुराकानी ।

१) औपचारिक रुपमा क्रिकेटको क्षेत्रमा कहाँ र कहिलेबाट लाग्नु भयो ?
क्रिकेटमा मेरो सानो उमेर देखि नै रुची थियो । म सानो हुदाँ नेपालको क्रिकेट भर्खरै बामे सार्न लागेको थियो । देशमा क्रिकेटको माहोल विकाश हुने क्रममा थियो । म आफै पनि क्रिकेट खेलाडी हुँ । काठमाण्डौमा स्कुल पढ्दा हामीहरु प्नि खुब क्रिकेट खेल्थ्यौ । त्यतिवेला मेरा मनमा पनि नेशनल टीमबाट खेल्ने सपना थियो । तर अध्ययनमा बढी समय दिनुपर्ने भएकाले मैले क्रिकेटमा धेरै समय दिन सकिन । त्यतिवेला नेपालका लागि खेल्ने सपना अधुरो रह्यो । तर नेशनल टीमबाट आफुले खेल्ने अवसर नपाए पनि म जस्तै सपना देख्ने थुप्रै युवाहरु नेपालका लागि खेलुन भन्ने मेरो सपना छ । त्यसैले लागि म क्रिकेट क्षेत्रमा लागेको हुँ । औपचारिक रुपमा भन्दा अध्ययन सकेर धनगढी फर्केपछि सन २०१० को अन्त्य देखि यस क्षेत्रको क्रिकेट क्षेत्रमा सक्रिय भएर लाग्दै आएको छु ।
२) तपाई धनगढी आउँदा यहाँको क्रिकेटको अवस्था कस्तो थियो ?
त्यतिवेला निकै कमजोर अवस्था थियो । राम्रा खेलाडी नै थिएनन् । स्तरिय मैदान थिएन । क्रिकेट समाग्री थिएनन् । खासै प्रतियोगिताहरु पनि आयोजना हुदैन थिए । भएका कतिपय प्रतियोगिताहरु पनि दर्शक विहिन थिए । व्यवस्थापन पनि निकै कमजोर थियो । खेलाडीहरु पनि जिन्स पाईन्ट लगाएर क्रिकेट खेलेको देखिन्थ्यो । व्यवसायिकता कत्तिपनि थिएन् । निकै कमजोर अवस्थाबाट गुज्रिरहेको थियो धनगढीको क्रिकेट त्यतिवेला ।
३) अहिले कस्तो छ ? 
अहिले त पुरै परिर्वतन भएको छ । क्रिकेट, केही भए पनि व्यवसायिक बन्न थालेको छ । दर्शकहरु टीकट काटेर यहाँ हुने प्रतियोगिताहरु हेर्न आउने गरेका छन । जसले सहजै अनुमान लगाउन सकिन्छ कस्तो अवस्था छ भनेर । हाल देश मै ख्याति प्राप्त प्रतियोगिताहरु धनगढीमा आयोजना हुन थालेका छन । चाहे त्यो देशकै सर्वाधिक धनराशीको एसपीए कप होस या केही दिनमा हुन लागेको एनपीएल । अनि अहिले राम्रा प्रदर्शन गर्ने थुप्रै खेलाडीहरु पनि उत्पादन भैसकेका छन । उनीहरु प्रत्येकसँग आफ्नै क्रिकेट समाग्री छन । एक से एक टीमहरु तयार भएका छन । क्रिकेट प्रतियोगिता भने पछि सवै सहयोग गर्न तयार हुन्छन । क्रिकेट मैदानहरु पनि तयार हुदैछन । फाप्लाको तयारी अन्तिम चरणमा रहेका वेला जुगेडामा पनि क्रिकेट मैदान बनाउने तयारी चलिरहेको छ । धनगढीले त क्रिकेट कै शहरको उपनाम पनि पाएको छ । समग्रमा कायाँपलट भएको जस्तो लाग्छ अनि अझै गर्न पनि बाकीँ छ ।
४) तपाईले सुरुमा धनगढीमा देशकै सर्वाधिक धनराशिको क्रिकेट प्रतियोगिता एसपीए कप गराउनु भयो ? एसपीए कपको पहिलो सस्कंरणमा धनगढीमा खासै क्रिकेट प्रति रुची थिएन । त्यही पनि यहाँले सफलतापुर्वक प्रतियोगिता सम्पन्न गर्नुभयो । त्यो कसरी सम्भव भयो ?
धनगढीमा राम्रो क्रिकेटको सम्भावना देखि सकेको थियो मैले । धनगढीमा क्रिकेटको क्रेज बढाउन एउटा ठुलो अनि स्तरिय प्रतियोगिता आयोजना गर्नु पर्ने महशुस गर्दै आएको थिए म । त्यसै समय मैले एसपीए कपको प्रस्ताव अघि सारे । त्यति वेला मात्र ४ लाखको बजेटमा पहिलो संस्करण गर्ने योजना बनाएँ । त्यतिवेला यतिको लगानीमा हुन लागेको यो प्रतियोगिता पहिलो थियो । अझै हामीले देश भरि कै टीमहरुलाई सहभागिता गराउने कुरा बताए पछि त धेरै जना हासे पनि धेरैले त्यो सम्भव नै नभएको बताए  । किनकी यस अघि यहाँ कसैले त्यसको आट गरेका थिएनन् । सानो बजेटको प्रतियोगिताहरु पनि नहुने धनगढीमा एक्कासी त्यत्रो बजेटमा प्रतियोगिता हुने सुने पछि धेरैले गर्न सक्दैन, गफै त हो नि भन्ने जस्ता शब्दहरु पनि बोले । तर म भने सक्छु भन्नेमा प्रतिबद्ध थिए । र सके पनि । त्यही ४ लाखको प्रतियोगिता अहिले चौथो संस्करणमा आईसक्दा ४० लाखको बजेटमा सम्पन्न गरिदै छ । देश मै परिचित प्रतियोगिता पनि भईसकेको छ । अब चाहीँ मान्छेहरुलाई विश्वास भएको छ आटे भने जे पनि गर्न सकिन्छ भनेर ।
५) त्यस पछि के गर्नुभयो ?
एपीए कपको सफल आयोजना पश्चात धनगढीको क्रिकेट क्रेजले निकै उचाई लियो । प्रतियोगिताहरु त आयोजना हुन थाले तर अझै पनि स्तरिय खेलाडीहरु अभाव यस क्षेत्रमा यथावत नै थियो । खेलाडीहरुको राम्रो प्रदर्शन हुन नसक्दा  प्रतियोगिताहरुमा प्रभाव पर्ने स्थिती थियो । त्यसैले वास्तव मै क्रिकेटको विकाश गर्न रुट लेवल देखि नै विकाश गर्न आवश्यक हुन्छ । जग बलियो भए पो घर बलियो हुने हो । त्यति सोचका साथ हामीले धनगढीमा क्रिकेट एकेडेमी स्थापना गर्ने निर्णय गरौ । त्यसमा क्रकेट प्रेमीहरु महेश शाह तथा क्यानका सदस्य समेत रहनु भएका धिरेन्द्र सावँदले पनि साथ दिनु भयो र एकेडेमीको स्थापना भयो । एकेडेमीको स्थापनाले यस क्षेत्रको क्रिकेट विकाशमा थप सहयोग पुगेको छ । एकेडेमी स्थापनाको एक बर्षमा नै हामीले ५ वटा ठुलो प्रतियोगिताहरु आयोजना गरेका छौ । खेलाडीहरुलाई सानै देखि अन्तराष्ट्रिय अनुभव दिने उद्येश्यले हामी मैत्रिपुर्ण खेलका लागि श्रीलंका गयौ । त्यस्तै भारतमा गएर प्रतियोगिताहरु खेल्यौ । त्यसले खेलाडीहरुमा आत्मविश्वास बढेको र आफ्ना थुप्रै कमि कमजोरी सुधार्ने मौका मिलेको अनुभव हामीसँग छ । हामी मात्र हैन उनीहरुलाई पनि नेपाल ल्याउनु पर्छ भनेर हामीले पहल गरौ । र मुम्बईको टीम यही चैत्र १७ गते आउदै छ भने श्रीलंकाको टीम पनि आउने तयारीमा छ । यसले दुवै देश बिचको सुमधुर सम्बन्ध स्थापना गर्न समेत सहयोग पुर्याउने छ । 
६) अहिले फाप्ला क्रिकेट मैदानमा जुट्नु भएको छ ? यसलाई के बनाउने सोचमा हुनहुन्छ ?
क्रिकेटका लागि मैदान पहिलो प्राथमिकता हो । धनगढीमा यस अघि खेलाईने मैदानहरु मध्ये धनगढी रंगशाला फुटबल मैदानमा परिणत गरियो अनि अञ्चल प्रहरी कार्यालयको मैदान छोटो र सधै स्वीकृती नपाईने । धनगढीमा मैदानको अभाव भएसँगै हामीले मैदान खोज्ने कार्य अगाढी बढाए । हेर्दै जादा मेरो नजरमा फाप्ला पर्यो । मैले सुरुमा फाप्ला देख्दा यो स्थानिय युवाहरुको रमाईलोका लागि फुटबल खेल्ने मैदानका रुपमा थियो । खाल्डैखाल्डा थिए । तर यसमा सम्भावना थियो र हामीले काम अगाढी बढायौ । अहिले अन्तराष्ट्रिय मापदण्ड अनुसारको क्रिकेट मैदान बनाउन हामी जुटेका छौ । अझै सवैको साथ पाए यसलाई स्टेडियमको ढाचाँमा अघि बढाईने हाम्रो सोच छ । त्यसमा हामी धेरै अगाढी बढीसकेका पनि छौ ।
७) ग्रिन क्लिन धनगढी जस्तो प्रतिष्ठित समाजिक संस्थाको अध्यक्ष, देशमै ख्याती प्राप्त कलेज एसपीएको निर्देशक, धनगढी क्रिकेट एकेडेमीको अध्यक्ष, क्षेत्र नम्बर ९ को उपाध्यक्ष पनि एकातिर पारिवारिक जीवन कसरी समय मिलाउनु हुन्छ, सवै तिर ?
यस्तो छ, म विभिन्न संघसस्थामा संग्लन्न छु । सवैतिर उपयुक्र्त व्यक्तिलाई उपर्युक्त जिम्मेवारी दिने गरेको छु । अनि समय अनुसार आफुलाई मार्गनिर्देशित पनि गर्ने गरेको छु । सवैले आ आफ्नो क्षेत्रबाट सक्दो सहयोग गरिदिनु भएको छ । अनि परिवारमा चाही सवैले मैले गर्ने काममा सहयोग गर्ने, प्रेरणा दिने भएकाले नै यो सम्भव भएको हो ।
८) क्रिकेटमा लागेर के पाउनु भो के गुमाउनु भो ?
अब, सवैभन्दा ठुलो कुरा सन्तुष्ट हुनु हो । क्रिकेटमा लागेर म सन्तुष्ट छु । आफ्नो क्षेत्र, देशलाई विश्वमाझ चिनाउन प्रयत्नरत छु । र लागि पनि रहने छु । त्यसैमा खुशी छु । 
९) क्यानलाई केही सुझाव दिन चाहनुहुन्छ ?
क्यानले गर्ने हरेक प्रतियोगिताहरु काठमाण्डौ र पोखरामा मात्र सिमित छ । अझै पहिले त काठमाण्डौमा मात्र हुन्थ्यो अहिले पोखरा थपिएको छ । ती प्रतियोगिताहरु धनगढी, महेन्द्रनगरमा किन नहुने जबकी अब हामी पनि अब सक्षम बनि सकेका छौ । केही पुर्वाधार निर्माणका क्रममा छौ । त्यसमा पनि क्यानको सहयोग आवश्यक छ । अनि राष्ट्रि प्रतियोगिताहरु यस क्षेत्रमा आयोजना गरिदिने हो भने यहाँका खेलाडीहरुको हौसला, उत्साह पनि बढ्ने थियो । त्यसले यहाँको समग्र क्रिकेट विकाशमा मदत पुग्नेछ । यस सम्बन्धमा क्यानले छिटो निर्णय लिन आवश्यक पनि छ ।
१०) अबको सपना के छ, तपाईको ?
म पनि एक आम नेपाली हुँ । साथै एक क्रिकेट प्रेमी पनि । सवै नेपाली जस्तै मेरो देशले छिट्टै विश्वकप खेलेको हेर्ने सपना छ मेरो । 

Friday 28 March 2014

फाप्लाको माटोमा पसिना बगाउँदा...

  एकाबिहानै फोन आउँछ, मैले हलो भन्न पाएको हुदैँन उताबाट प्रश्न तेर्सिन्छ, कता हो सुमन जी। कति वेला पुग्नुहुन्छ?

यहाँ सुमन केही अरु नभएर म आफै(यज्ञराज) हो।

कक्षा १० तिर पढ्दा हामी साथिहरुबीच उपनाम (निकनेम) राख्ने खुब प्रचलन थियो त्यति बेला नै मैले छनौट गरेको निकनेम हो “सुमन”।

जुन  मैले हरेक ठाउँमा नामसँगै प्रयोगमा ल्याए। र जुन नामले मलाई मेरा धेरै आदारणीय साथीले तथा सरहरुले सम्झनु पनि हुन्छ।

प्रायः दैनिक जसो बिहान मलाई फोन गरेर कता हो सुमन जी भन्ने ती मध्येकै एक आदारणीय सर हुनुहुन्छ।
प्रत्येक दिनका ती फोन कल अरु कसैका नभएर सुवास सरका हुने गर्दछन। जहिले नि उहाँ म भन्दा पहिले बिहानै फाप्ला पुगेर ग्राउण्डबाट मलाई फोन गर्नुहुन्छ। अनि मैले नि तत्काल मैदानमा पुग्नुपर्छ। 
प्रसंग फाप्ला क्रिकेट मैदान निर्माणको हो।

बहुप्रतिक्षित नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन धनगढीबाट हुने भएपछि हाम्रो टीम मैदान निर्माणमा जुटेका छौ।

जहाँ बिहान देखि बेलुकासम्म हामी मैदान निर्माणकै काममा व्यस्त रहन्छौ र जुन हाम्रो दैनिकी बनि सकेको छ। एकाविहानै चियाको चुस्की लगाउन नपाउदै मैदान प्रवेश गर्ने हामी साझँ अध्यारो भै सक्दा समेत मैदानमै व्यस्त हुन्छौ।

हामीले बुझेका छौ नेपालमै पहिलो पटक हुन लागेको एनपीएलको महत्व।
एनपीएल अयोजनाको जुन अवसर हामीले पाएका छौ, त्यसलाई सफलतापुर्वक सम्पन्न गर्नु जिम्मेवारी हाम्रो काधमा थपिएको छ। र त्यो कार्यभार हामी पुरा गर्न पुर्ण प्रतिबद्ध छौ र सम्पन्न गर्ने छौ पनि। पहिलो पटक चर्चित राष्टि्य खेलाडी तथा क्रिकेटका अनुहारहरु यसै प्रतियोगिताले धनगढी भित्रदै छन्।

उनीहरुको व्यक्तित्व अनुसारको व्यवस्था हामीले गर्नुपर्ने छ। र त्यसमा हामी कटिबद्ध भएर लागेका पनि छौ। अर्का तर्फ धनगढीले पाएको यस अवसरमा कुनै कसुर बाकी नरहोस भनि हामीले हाम्रो आयोजनाको क्षमता पनि त राष्ट्रलाई देखाउनु छ।

प्रतियोगिता सफलता पुर्वक सम्पन्न गर्न सक्यौ भने हामीलाई अझै यस्ता अझै धेरै राष्ट्रिय कार्यक्रम धनगढी केन्द्रित हुने विश्वास छ। सधै राजधानी केन्द्रित हुदै आएका ठूला प्रतियोगिताहरु एनपीएलको सफलतासँगै धनगढी भित्रने विश्वासका साथ पनि दिनभर हामी फाप्लाको माटोमा पसिना बगाउदैछौ। 

धनगढीले एनपीएल आयोजना गर्ने मौका पाएको दोस्रो दिनदेखि हामी काममा दौडियौ। किनकी समय छोटो थियो तर काम गर्नु पर्ने धेरै। अनि तत्काल काम गरि नहाले प्रतियोगिता नै प्रभावित हुने डर।

हामीले जुन हालतमा पनि एनपीएल धनगढीमा भव्यताका साथ सम्पन्न गर्नुपर्ने छ। त्यसैले सवैकाम तत्काल सुरु गरि हाल्नु पर्ने थियो। सुरुमा हामी सवै जना बस्यौ। जहाँ क्षेत्रिय क्रिकेट विकाश समिती क्षेत्र नम्बर ९ का उपाध्यक्ष तथा एनपीएल आयोजनाको मुख्य जिम्मेवारी पाउनु भएका तथा धनगढीलाई क्रिकेटको शहर भनेर चिनाउने आदारणीय सर सुवास शाही, क्यानका केन्द्रीय सदस्य धिरेन्द्र साउँद, क्रिकेटका प्रशिक्षकहरु अर्जुन खड्का, बिक्रम विष्ट, समितीका पदाधिकारी लगायत यहाँका क्रिकेट प्रेमीहरुको उपस्थिती थियो।

जुन हाम्रो सुरुवात भन्नुपर्छ। यो टर्निङ प्वाईन्ट पनि हो। त्यहाँबाट हामीले एनपीएलको तयारी के कसरी थाल्ने भन्ने विषयमा छलपल थाल्यौ।

सबैको पहिलो प्राथमिकता मैदान निर्माण हुनुपर्ने थियो र सवैले सुरुमा त्यसैमा ध्यान केद्रित गर्यौ पनि।
अन्य आवश्यक कुराहरु भने सँगसँगै अगाडि लैजाने निष्कर्षमा पुगे सँगै अब पालो “एक्सन” को थियो। हाम्रो छलफल कुन मैदानमा प्रतियोगिता आयोजना गर्ने भन्ने विषयमा पनि केँन्द्रित भयो।

एनपीएल आयोजना गर्न लायक धनगढीमा २ वटा मैदान छन। एउटा धनगढीको बिच भागमा रहेको अञ्चल प्रहरी कार्यालयको खेल मैदान (जहाँ एसपीए कपको पनि आयोजना हुने गर्दछ ) र अर्को चाही धनगढीबाट २ किलो मिटर उत्तरमा अवस्थित फाप्ला क्रिकेट मैदान (जहाँ धनगढी क्रिकेट लिग आयोजना भैरहेको छ )।

छलफल गर्दै जाँदा अञ्चल प्रहरी कार्यालयको मैदानको चौडाई केही सानो हुने तथा लगत्तै धनगढी भ्रमण गर्न लागेको मुम्बईको टोलीका लागि त्यो मैदान उपर्युक्त हुने भए पछि एनपीएलको लागि निर्बिकल्प फाप्ला मैदान चयन भयो। 

दोस्रो दिन क्रिकेट प्रशिक्षक अर्जुन खड्का, सुवास सर म फाप्ला मैदानमा गयौ। दिनको चर्को घाममा त्यसको लम्बाई , चौडाई नाप्यौ। हामीमा एनपीएल आयोजनाको उत्साहले होला, घामले खासै असर गरेन। आकार नापीसके पछि मैदान उपयुर्क्त रहेको प्रशिक्षक अर्जुन खड्काले बताउनु भयो।

मैदान उपर्युक्त भएपछि सुरुमा मैदानको अनुमति लिनुपर्ने थियो। जसका लागि स्थानियसँग को छलफल आवश्यक थियो। त्यसका लागि सुवास सर आफै जुट्नु भयो र स्थानियले खुशी साथ मैदान एनपीएलका लागि हस्तान्तरण पनि गरे।

त्यतिवेला फाप्लामा जाने एउटा कच्ची बाटो मात्र थियो, बिजुलीको व्यवस्था थिएन, खेल्न लायक पिच थिएन, मैदान अग्लो होचो थियो। मैदानसँग पुग्ने कुनै यातायातका साधनको व्यवस्था थिएन। हरेक कुरा चुनौती बनेर एक पछि अर्को गर्दै अघिल्तिर तेर्सिदै गए।

तर असम्भव के छ र, एक पछि अर्को गर्दै सवै कुराको अभाव पुर्ती गर्ने उद्येश्य बोकेका हामीले आज त्यहाँ सवै कुरा पुर्‍याएका छौ। सर्वप्रथम फाप्लाका लागि स्थानीय निकायहरुसँग सहकार्यमा एनपीएलकै लागि यातायातको व्यवस्था गरिएको छ।

फाप्लासम्म पुग्ने बाटो निर्माण भैसकेको छ। मैदानसम्मै बिजुलीका पोलहरु  गाडी, बिधुत लाईन जडान भैसकेको छ।

मैदानमा प्रयाप्त खानेपानीको आपूर्तिको व्यवस्था पनि मिलाई सकिएको छ।  मैदानको आउटफिल्ड निर्माण कार्य अन्तिम चरणमा छ। पिच निर्माणमा कालिगडहरु तथा हाम्रो टीम चौविसौ घण्टा खटिएको छ। असम्भव जस्तै देखिने फाप्ला मैदान निर्माण कार्य अन्तिम चरणमा पुगेको देखेर सवै अचम्मित छन्।

अहिले फाप्लामा भएको परिवर्तनको एक फोटो फेसबुकमा राख्ने हो भने, फाप्लामा भएको परिवर्तनले आश्चार्यमा पर्ने धेरै छन र सवैले निर्माणमा जुटेका सवै टीमलाई स्यावासी र धन्यवाद दिईरहेकै हुन्छन जसले हामीलाई काममा थप उत्साहित पारेको छ जुन फाप्लाको माटोमा पसिना बगाउदाको सुखद परिणाम पनि हो।