Saturday 14 March 2020

मोहम्मद सलाह: दैनिक १० घन्टे कष्टकर यात्रा हुँदै विश्वकपसम्म

इजिप्टको नाइल नदीको काखमा रहेको नागरिग गाउँका बालकहरुलाई उनीहरुको जीवनको लक्ष्य सोधियो भने प्रायः सबैले एउटै जवाफ दिन्छन्, मोहम्मद सलाह जस्तो स्टार फुटबलर बन्ने। जो अहिले प्रिमियर लिग र अफ्रिकाका सर्वोत्कृट खेलाडी हुन्।
सलाह त्यही गाउँका निवासी हुन्। उनले २०१७–१८ को सिजनमा विश्वकै सर्वाधिक दर्शकले हेर्ने इङ्लिस प्रिमियर लिगमा सनसनी मच्चाए। लिभरपुलबाट ३८ खेल खेल्दै ३२ गोल गरेका उनले सर्वाधिक गोल गर्दै गोल्डेन बुट पनि जिते।
उनको अब्बलता गोलमा मात्र देखिएन। उनको खेल्ने शैलीबाट प्रशिक्षक, सहकर्मी र विपक्षी टोलीका खेलाडी पनि कायल थिए। फलस्वरुप खेलाडीको भोटबाट जितिने ‘प्रोफेसनल प्लेयर्स एसोसियसन’ अवार्ड पनि सलाहकै पोल्टामा रह्यो।
तर रियल म्याड्रिडविरुद्ध च्याम्पियन्स लिगको फाइनलमा काँधमा चोट बोकेपछि भने उनी विश्वकपसम्म हुने हुन कि हैनन् भन्ने सर्वत्र चासो छ। इजिप्टको मात्र होइन, विश्वभरका सलाहका प्रसंशक उनी चाँडै निको होऊन् र विश्वकप खेलुन् भनेर प्रार्थना गरिरहेका छन्।
सलाहमा टिकेको इजिप्टको आशा
रुस विश्वकपमा इजिप्टलाई २८ वर्षपछि छनोट गराउन सलाहको भूमिका सशक्त थियो। उनले टोलीबाट सर्वाधिक ५ गोल गरेका थिए। कंगोविरुद्धको अन्तिम निर्णायक खेलमा २–१ को जित निकाल्दै इजिप्ट १९९० पछि पहिलोपटक विश्वकपमा छनोट भएको थियो। उक्त खेलका दुवै गोल सलाहले गरेका थिए। खेल १–१ को बराबरीमा रहेको बेला अन्तिम मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै उनले इजिप्टलाई रुसको यात्रा तय गराएका थिए।
लामो प्रतीक्षापछि विश्वकपमा आफ्नो देशको प्रतिनिधित्व पाइरहेका इजिप्टबासीले यसपटक सलाहको उपस्थितिसँगै प्रभावशाली प्रदर्शनको अपेक्षा राखेका छन्।
राष्ट्रिय टोलीमा सलाहको उपस्थितिको अर्थ दुई कारणले महत्वपूर्ण रहेको खेल विश्लेषक यासिर आयुब प्रस्ट्याउँछन्। ‘पहिलो त उनको प्रदर्शन, उनले गरेका गोल अनि उनको उत्कृष्ट लय नै हो। अर्को सलाह टोलीमा भएपछि विपक्षी टोलीलाई पनि त्यसको दबाब पर्छ। धेरै टोलीले आफ्नो उर्जा उनलाई रोक्नमा खर्चने छन्। तर सलाह नभए विपक्षी टोलीले ठूलो खेलाडी नभएको भन्दै इजिप्टमाथि धावा बोल्न सक्छन्।’
सलाह खेल्ने नखेल्ने निश्चित छैन। यद्यपि सोमबार घोषित इजिप्टको टोलीमा उनको नाम छ। प्रिमियर लिगमा सनसनी मच्चाएका सलाहका लागि विश्वकप भने नयाँ अनुभव हुनेछ।

प्रिमियर लिगकै लय विश्वकपमा पनि सलाहले देखाउन् भन्ने चाहना उनका देशबासीको छ। प्रिमियर लिग र विश्वकप फरक मञ्च हुन्। राष्ट्रिय टोलीमा सलाहका सहकर्मीहरु भिन्न छन्। इजिप्टमा सलाहलाई फरवार्डमा मोहम्मद हसन र मोहम्मद अब्दिल मोनियनले साथ दिनेछन्। हसन टर्किस क्लबसँग आवद्ध भएर खेल्ने गर्छन् भने अब्दिल साउदी अरेबियाको क्लबबाट खेल्छन्।
टोलीमा २१ वर्षे मिडफिल्डर रामादिन सोब्बीले भने प्रिमियर लिगको अनुभव लिएका छन्। टोलीमा मिडफिल्डरको भूमिकामा देखिने उनले स्टोक सिटीबाट खेल्दै २ गोल पनि गरेका छन्। यस्तै डिफेन्डरहरु अहमद हेगाजी, अली जबर मिडफिल्डका मोहमद इलनिनीले पनि प्रिमियर लिगको अनुभव लिइसकेका छन्। यस्तोमा बलियो समूहमा रहेको इजिप्टलाई उनीहरुले कसरी अगाडि लैजान्छन्, त्यो हेर्न सबै प्रतीक्षारत छन्।
इजिप्ट यसअघिका विश्वकपमा समूह चरणबाट अघि बढ्न सकेको छैन। यस विश्वकपमा पनि बलियो समूहमा इजिप्ट परेको छ। समूह ए मा रहेको इजिप्टले पहिलो खेलमा जुन १५ मा उरुग्वेको सामना गर्दैछ। त्यसपछि आयोजक रुससँग जुन १९ मा र साउदी अरबसँग जुन २५ मा खेल्दैछ।
दैनिक १० घण्टाको कष्टकर यात्रा हुँदै विश्वकपको यात्रा
नागरिग युवा क्लबबाट ८ वर्षको उमेरमै सलाहले फुटबलसँग साइनो गाँसेका थिए। सलाहलाई प्रशिक्षण दिएका क्लबका जुनियर प्रशिक्षक घाम्री अब्देल हमिद भन्छन्, ‘उनको जन्मजात प्रतिभा त सुरुवाती दिनमै देखिएको थियो। तर उनले जन्मजात प्रतिभाबाट मात्रै सफलता हात पारेका चाहिँ होइनन्। उनको दृढ संकल्प, आत्मविश्वास र नियमित प्रयासले मात्रै सम्भव भएको हो।’
गाउँमै फुटबलको कखरा सिकेपछि थप प्रशिक्षणका लागि सलाह १४ वर्षको उमेरमा राजधानी कायरोको अरब कन्ट्रयाक्टर्स क्लबमा प्रशिक्षण लिने निर्णयमा पुगे। गाउँबाट क्लबसम्म पुग्न उनले गरेको संघर्ष निकै कष्टप्रद थियो। आवतजावतमा मात्र उनको दैनिक १० घण्टा खर्च हुन्थ्यो।
नागरिग गाउँका मेयर तथा सलाहका आफन्त समेत रहेका महेर सातिय्या अहिलेपनि उनको उक्त संघर्ष सम्झिन्छन्, ‘नागरिगदेखि बोस्योन, त्यसपछि अल्घरबिया प्रान्तको राजधानी टान्टाको बस, त्यहाँबाट कायरो शहरका लागि बस र त्यसपछि बल्ल क्लब रहेको नासर शहरका लागि अर्को बस सलाहले समात्थे। बाटो पनि राजमार्ग होइन। गाउँको भत्केको, बिग्रेको खाल्डैखाल्डो भएको सडकमा हप्तामा उनी पाँच दिन दैनिक १० घण्टा यात्रा गर्थे। ती सडकमा बसको घच्याकघुचुकले मान्छेले कहिल्यै शान्तिपूर्वक यात्रा गर्न पाउँदैन थिए। एक अर्थमा त्यो यातनाको यात्रा थियो।’
कष्टकर दैनिक यात्रा गरेपनि प्रशिक्षणमा जान सलाहले कहिलै नाइँनास्ती गरेनन्। आफ्नो संघर्षका दिन सम्झिँदै एक अन्तर्वार्तामा उनले भनेका छन्, ‘मैले प्रशिक्षणमा जानका लागि स्कुल पनि छिटो छोड्नुपथ्र्यो। म बिहान ७ बजे स्कुल जान्थेँ र ९ बजे नै स्कुलबाट निस्किन्थे। मैले स्कुलमा विदाका लागि निवेदन पनि दिएको थिएँ। बिहान ९ बजे हिँडेको म बल्ल २ बजे बल्ल क्लब पुग्थेँ।’
अफ्रिकी युवाहरु आफन्तको सुझाव, राष्ट्रिय खेलाडीहरुबाट पाएको प्रेरणा तथा गरिबीबाट मुक्त हुने चाहनाका कारण फुटबलको सपना देख्ने गर्छन्। सलाह भने आफ्ना बुबा अलाह घालीको मुहारमा मुस्कान ल्याउन फुटबलमा आएका थिए।
बुबा घालीले पनि सधैँ सलाहलाई साथ दिइरहे। सँधै उनले राम्रो फुटबलर बनेर इच्छा पूरा गरोस् भन्ने उनको चाहना थियो। समय पाउनेबित्तिकै घाली आफैँले छोरालाई प्रशिक्षणमा लिएर जान्थे र पूरै समय उनको प्रशिक्षण हेर्थे।
सलाहका आदर्श खेलाडी भने मोहम्मद अबु तिर्का हुन्, जो इजिप्टका एक महान खेलाडी थिए। उनले चारपटक अफ्रिकाको सर्वाेत्कृष्ट खेलाडीको अवार्ड जित्नुका साथै दुई पटक इजिप्टलाई अफ्रिका कपको उपाधि पनि दिलाएका थिए।

सलाहलाई यु–२० उमेर समूहमा प्रशिक्षण दिएका डिया इल सैयदका अनुसार उनी अबु तिर्काले खेलेको भिडियो हेर्ने र उनको सिको गर्ने प्रयास पनि गर्थे। प्रशिक्षणका क्रममा पनि उनी अन्य साथीहरुलाई व्यवसायिक खेलाडी भनेको तिर्का जस्तै हुनुपर्छ भन्ने गर्दथे।
२०१२ मा भएको लण्डन ओलम्पिकमा सलाह पहिलो पटक अन्तराष्ट्रिय खेलाडीको रुपमा उदाएका थिए। ओलम्पिकमा सलाहले परिपक्व खेल पस्केपछि उनलाई ‘उत्कृष्ट अफ्रिकी खेलाडी–२०१२’ को अवार्ड दिइयो। जुन उनको जीवनको ठूलो घुम्ती बन्यो।
ओलम्पिक लगत्तै उनलाई स्वीस क्लब बासेलले अनुबन्धित गर्यो। त्यहाँ २ वर्ष बिताएपछि इङ्लिस क्लब चेल्सीले उनीसँग अनुबन्ध गर्यो। चेल्सीमा उनको प्रदर्शन गतिलो हुन सकेन। चेल्सीको मुख्य टोलीमा पनि उनले धेरै मौका पाएनन्। त्यसपछि उनी ऋणमा इटालीको फिओरिन्टिना गए। त्यहाँपनि अपेक्षा अनुरुप खेल्न नसकेपछि २०१५ मै रोम गए। त्यहाँ भने उनले अद्भूत प्रदर्शन गरे। लिगमा मात्रै २९ गोल गरे। उनको चर्चा चुलिन थाल्यो।
लिभरपुल आएपछि महिनैपिच्छे कीर्तिमान
लण्डन ओलम्पिकमा सलाहको प्रभावशाली प्रदर्शन देखेपछि लिभरपुलका स्पोर्टिङ डाइरेक्टर माइकल एडवार्डले उनलाई पछ्याइरहेका थिए। रोममा उत्कृष्ट प्रदर्शनपछि भने सलाहलाई भित्र्याउने सही समय आएको भन्दै एडवार्डले प्रशिक्षक योर्गन क्लोपलाई मनाए र २०१७ को जुनमा४३ मिलियन पाउण्डको सम्झौतासहित सलाहको प्रिमियर लिगमा पुनरागमन भयो।
वाट्फोर्डविरुद्ध अगष्टमा डेब्यु गोल गर्दै २०१७–१८ को सिजन सुरुवात गरेका सलाह त्यसपछि कहिल्यै रोकिएनन्। यस सिजनमा लिभरपुलबाट ५२ खेलमा उनले ४४ गोल गरिसकेका छन्। जुन डेब्यू सिजनमा लिभरपुलका खेलाडीले गरेको सर्वाधिक गोलपनि हो।
लिभरपुलमा जुन महिनामा आवद्ध भएका सलाहले त्यसपछिका महिनाहरुमा भने लगातार कीर्तिमान कायम राख्दै गए।

No comments:

Post a Comment