Saturday 14 March 2020

आङछिरिङले समातेको त्यो ‘गल्फ स्टिक’

एक दिन गल्फर आङछिरिङ शेर्पालाई विश्वकै अग्लो ठाउँबाट बल हान्न मन लाग्यो। हेलिकोप्टरमा लुक्लाबाट उनी सगरमाथाको कुङ्दे पुगे। यो ६१८७ मिटरको उचाइ हो। त्यहाँबाट ८ हजार मिटर माथिका हिमालहरु स्पष्ट देखिन्छन्।
साथमा थिए, अर्का गल्फर गोपाल चित्रकार। आङछिरिङले बल हाने र गोपालले तस्बिर खिचे। पृष्ठभूमिमा हिमाल थियो। एक छेउमा हेलिकप्टर र अर्को छेउमा गल्फ स्टिकसहित आङछिरिङ।
तस्बिर गज्जब आयो। गोपाल चित्रकार त्यतिबेला अन्तरार्ष्ट्रिय सामाचार संस्था रोयर्सका लागि फोटो पत्रकार थिए। मनै लोभ्याउँने त्यो तस्बिर उनले आफ्नो एजेन्सीका लागि फाइल गरे।
‘कुङ्दे पुग्न लुक्लाबाट दुई–तीन दिन हिँड्नुपर्छ। हामी हेलिकप्टरमा गएका थियौं,’ एक दशक अघिको घटना स्मरण गर्दै आङछिरिङ शेर्पाको गल्फ बानीबारे चित्रकारले भने, ‘कुङ्देजस्तो विकट अनि त्यति उच्च ठाउँमा गएर गल्फ हान्ने सौख संसारमै कमैले राखेका होलान्। मैले खिचेको तस्बिर विश्वका धेरै स्पोर्टस म्यागेजिनले छापे। टाइम्स अफ इण्डियाले त पहिलो पृष्ठमै त्यो तस्बिर छाप्यो। कुनै पनि नेपालीको तस्बिर कलरमा टाइम्स अफ इण्डियाको पहिलो पृष्ठमा छापिएको त्योबाहेक अन्य मलाई सम्झना छैन्।’
२००९ मा कुङ्देमा गल्फ खेल्दै आङछिरिङ शेर्पा
२००९ मा कुङ्देमा गल्फ खेल्दै आङछिरिङ शेर्पा
फोटो पत्रकार एवं गल्फ खेलाडी चित्रकार बुधबार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा निधन भएका शेर्पाका गल्फर साथी हुन्। उनीहरूले झण्डै दुई दशक बढीसँगै गल्फ खेले।
‘हामीले दुई दशक बढी सँगै खेल्यौं,’ अनन्यमित्रको दुःखद खबरबाट स्तब्ध बनेका चित्रकारले नेपालखबरसँग कुरा गर्दै भने, ‘आङछिरिङको गल्फमा विशेष रुचि थियो। देशभर व्यापार व्यवसाय भए पनि उनी हरेक दिनजसो गल्फ कोर्ष पुग्थे।’
गल्फ खेल्ने साथीहरुमध्ये आङछिरिङको खेल उच्चस्तरको रहेको चित्रकार बताउँछन्। गल्फमै रुचि भएका कारण उनले गोकर्ण गल्फ क्लब समेत बनाए। जुन नेपालमा अन्तर्राष्ट्रिय मापदण्डको एकमात्रै गल्फ कोर्ष समेत हो।
‘साथीभाईहरुमा उहाँको उपस्थिति भएपछि माहोल नै अर्कै हुन्थ्यो। खेलसँगै उहाँ साथीहरुसँग रमाइलो गर्न रुचाउँनुहुन्थ्यो,’ चित्रकार सम्झन्छन्, ‘उहाँको खेल पनि उच्चस्तरको थियो। सात हन्डिक्याप खेल्नहुन्थ्यो। खेलप्रतिको लगावकै कारण उहाँले नेपालमा अन्तर्राष्ट्रिय स्टान्डर्डको गोकर्ण गल्फ कोर्ष समेत व्यवस्थापन गर्नुभयो।’Image may contain: sky, cloud, grass, mountain, outdoor and nature
गोकर्ण गल्फ क्लब बनेपछि मात्रै नेपालमा गल्फका अन्तर्राष्ट्रिय खेल हुन थालेका हुन्। गोकर्ण नेपाली खेलाडीहरुको अभ्यास स्थल पनि हो। यो गल्फ क्लबमा विदेशी पर्यटकहरु समेत खेल्न आउने गर्थे। आफ्ना अभिभावकको निधनले स्तब्ध बनेको गोकर्ण गल्फ क्लबका सिनियर गल्फ डाइरेक्टर दीपक आचार्य सुनाउँछन्।
‘ठूलो विस्मत परेको छ। हामीले ठूलो क्षति ब्यहोरेका छौं,’ आचार्यले नेपालखबरसँग भने, ‘उहाँ प्रत्यक्ष रुपमा कहिलै अघि देखिनुभएन तर उहाँको सक्रियतामा नेपालमा गल्फले उचाई लिएको छ। हामी स्तब्ध छौं।’
खेलाडीका गडफादर
‘मैले मेरो गडफादर, मेरो मेन्टर गुमाएँ। हजुरको धेरै याद आउँनेछ।’ गल्फर प्रतिमा शेर्पाले यति एअरलाइन्सका प्रबन्ध निर्देशक तथा पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको निधनपछि शोक व्यक्त गरिन्।
प्रतिमा आफ्नो खेल क्षमता अझै तिखार्न हाल अमेरिकामा अभ्यास गरिरहेकी छिन्। बिहीबार दिउँसाे नेपालखबरसँग कुराकानी गर्दा अमेरिकामा मध्यरात भएको थियो। ‘मलाई त विश्वासै लागेको छैन्,’ दु:खी हुँदै उनले भनिन्, ‘अहिले रातिको १२ बजिसक्यो। तर निन्द्रै लागेको छैन। मेरो जीवनको सबैभन्दा महत्वपूर्ण मान्छे हुनुहुन्थ्यो। उहाँको मृत्यु खबर स्वीकार गर्नै सकिरहेकी छैन।’
सिनामंगलमास्थित रोयल नेपाल गल्फ क्लब कोर्षमा प्रतिमा आमा बुबासँग बस्छिन्। एक्ली छोरी विदेशिँदा बुबा–आमा एक्लो हुन्थे। त्यहीबेला ढाडस दिदैँ आङछिरिङ भन्थे, ‘तिमी बुबा आमाको चिन्ता नगर। म भइञ्जेल हेरचाह गरिहाल्छु नि।’Image may contain: 2 people, people smiling, people standing
आङछिरिङसँग प्रतिमाको अन्तिम पटक भएको सम्वाद त्यही हो। ‘उहाँ सधैँ मेरो खुशी र सफलता चाहनुहुन्थ्यो। सधैँ तिमले राम्रोसँग खेलेर र पढेर देश अनि आमाबुबाको नाम राख्नुपर्छ भन्नुहुन्थ्यो। आज म जहाँ छु त्यसमा उहाँको ठूलो हात छ,’ प्रतिमाले थपिन्।
सामान्य छाप्रोमा जन्मिएकी प्रतिमालाई नेपालकी एक नम्बर गल्फर बनाउँन आङछिरिङको महत्वपूर्ण रह्यो। प्रतिमाको उच्च शिक्षा अध्ययनको व्यवस्था पनि उनैले गरिदिएका रहेछन्।
प्रतिमालाई नागरिकता बनाउन निकै हम्मे परेको थियो। नागरिकता दिलाउन समेत आङछिरिङले सहयोग गरेका थिए। त्यसपछि मात्रै प्रतिमाले अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता जनाउँन पाइन्।
नेपाल गल्फ संघका अध्यक्ष टासी घले पनि आङछिरिङलाई गडफादर भन्न रुचाउँछन्। ‘आङछिरिङ नेपाली गल्फका लागि गडफादर नै थिए,’ घलेले नेपालखबरसँग भने, ‘गोकर्णमा उहाँले राष्ट्रिय टिमको तयारीका लागि सधैँ सहयोग गर्नुभयो। खेलाडीहरुलाई पनि प्रायोजन गर्नुभएको थियो। हामी छिट्टै उहाँको स्मृतिमा कार्यक्रम गर्ने सोचमा छौं।’

No comments:

Post a Comment