Saturday 14 March 2020

एलबी क्षेत्रीः धोनीका गुरुसँग हुर्किएका क्रिकेटर

उनका बुबा पहिलेदेखि नै कोलकत्तामा काम गर्नुहुन्थ्यो। पर्वत हुँदै बर्दिया झरेका लेखबहादुर(एलबी) क्षेत्री पनि बुबासँगै सानै उमेरमा कोलकत्ता पुगे।
८० को दशकमा कोलकत्तामा फुटबल लोकप्रिय थियो। कारण थिए– मोहन बगान, इस्ट बंगाल र मोर्डन स्पोर्टिङ जस्ता जबर्जस्त क्लबहरु। ती क्लबहरुको नै राष्ट्रिय लिगमा दबदबा थियो।
बंगालमा फुटबल लोकप्रिय भएका बेला ७–८ कक्षामा पढ्ने क्षेत्री पनि फुटबलतिर आकर्षित नहुने कुरै भएन। उनी स्कुलमा किक हान्न थाले।
तर, उनको परिवार बस्ने माहोल्ला (कोलकोता पोर्ट) मा उनका उमेरका केटाकेटीहरु फुटबल भन्दा बढी क्रिकेट खेल्थे। विहान दैनिक दुध लिन जाँदा ती बंगालीहरुले खेलेको क्रिकेटले उनलाई तान्यो। आफ्नै उमेरका केटाकेटीहरुले खेलेको देखेपछि उनलाई पनि क्रिकेट खेलुँ–खेलुँ लाग्यो।
‘बंगालमा फुटबल लोकप्रिय थियो, एकसमय म पनि फुटबल खेल्थेँ,’ किशोरवयको सम्झना गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान क्षेत्री भन्छन्, ‘तर, दिमागले कहिलेकाहीँ माहौल अनुसार तपाईँलाई ढाल्दो रहेछ। हाम्रो पोर्टमा केटाहरुले क्रिकेट खेलेको देख्दा मेरो मन पनि क्रिकेटतिर लोभियो।’
क्षेत्रीलाई क्रिकेटमा डोर्रयाउने अर्को घटनापनि छ।
क्रिकेट खेल्ने मनमा इच्छा जागेपछि उनले एकदिन छिमेकी बंगाली केटाहरुलाई आफूलाई पनि खेलाउन भने।
सगरमाथाको देश नेपालले त्यतिबेला अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आइसीसी)बाट ‘एफिलियटेड’ सदस्यता पनि हासिल गरेको थिएन। क्रिकेटसँग नेपालीको कुनै नाता साइनो थिएन। आफ्नो गाउँठाउँमा खेतिपातीको काम नहुँदाका बखत नेपालीहरु भारतमा गई विभिन्न काम गर्थे र भारतीयहरुले नेपालीलाई सम्बोधन गर्ने शब्द हुन्थ्यो, ‘बहादुर।’
क्षेत्रीले स्थानीय युवाहरुलाई क्रिकेट खेलाउन भन्दा उनीहरुले जवाफ फर्काएका थिए, ‘ए, बहादुर क्या क्रिकेट खेलेगा, जा!’
‘उनीहरुले सायद जिस्काएका थिए होलान्,’ ८० को दशकको अन्त्यतिरको त्यो घटना स्मरण गर्दै उनले भने, ‘तर मैले त्यसलाई प्रेरणाका रुपमा लिएँ। नकरात्मक रुपमा लिएको भए म त्यतिबेलै थन्किसक्थेँ। तर, त्यो घटनालाई सकरात्मक रुपमा लिएर दृढ भई खेललाई अघि बढाएँ।’
त्यही इखले उनको क्रिकेट यात्रा यसरी अघि बढ्यो कि, उनी बंगालको नामी क्रिकेटर बन्दै नेपाल फर्के। नेपालले पहिलो पटक खेलेको अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपकप्तान चुनिए। नेपालमा भएको पहिलो अन्तराष्ट्रिय प्रतियोगितामा कप्तानको भूमिका पनि उनैले पाए। र, नेपाललाई पहिलो अन्तर्राष्ट्रिय जित दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरे।
नेपालमा क्रिकेट विकासमा समर्पित भएर लागेका उनी अहिले निलम्बित नेपाल क्रिकेट संघ(क्यान)को निलम्बन फुकुवा गर्ने महत्वपूर्ण जिम्मेवारी बहन गरिरहेका छन्।
‘पल्ली’ क्रिकेटबाट व्यवसायिक तर्फको यात्रा
देब्रे हाते अलराउण्डर क्षेत्री विस्तारै पल्ली(बंगालीमा टोललाई पल्ली भनिन्छ) बीच हुने खेल खेल्न थाले। उनी ७४ पल्लीमा बस्थे। बाँकी पल्लीका रोजाईमा पनि उनी पर्थे।
उनी बस्ने ठाउँ नजिकै रेलवे(भारतमा रेलवेको टोली हुनेगर्छ)का खेलाडी वाइ.के. चौधरी बस्थे। उनले क्षेत्रीको खेल हेरिसकेपछि क्रिकेट प्रशिक्षण लिन सुझाए। कलकताका मोहन बगान, इस्ट बंगाल र मोहमर्डन स्पोर्टिङ क्लबका आ–आफ्नै मैदान थिए।
मोर्डनको मैदानको एउटा प्याराफिटको मुनि थियो, मोहमर्डन स्पोर्टिङ क्लब। चौधरीले उनलाई प्रशिक्षणका लागि सुझाएको दुई दिनपछि क्षेत्री प्रशिक्षणका लागि त्यही क्लब (१९८८) पुगे।
प्रशिक्षण लिन थालेको केही महिनामा स्पोर्टिङले बैंग्लोरमा टूर गर्ने भयो। उक्त टूरमा उनी ‘वेस्ट प्रोमोसिङ क्रिकेटर’ भए। त्यस वापत उनले स्वीटर पुरस्कार पाएका थिए। यो नै क्रिकेट खेल्दा उनले पाएको पहिलो पुरस्कार थियो। भारतीय पूर्वकप्तान तथा सर्वकालिन महान स्पीनर बिसनसिंह बेदीको हातबाट पाएको त्यो पुरस्कार नेपाल फर्केपछि पनि लामो समय क्षेत्रीले सुरक्षित थियो।
प्रशिक्षण केन्द्रमा विभिन्न अन्य क्लबका अगुवाहरु प्रतिभाशाली खेलाडी खोज्दै आउँथे। प्रशिक्षक मुनवर अलिकहाँ एकजना गौतम दा’ भन्ने ‘बेलगाछिया यूनाइटेड क्लब’ मा मान्छे आएर आफूहरुलाई एक राम्रो खेलाडी चाहिएको बताए। प्रशिक्षक बरेलीले क्षेत्रीकै नाम दिए।
त्यसपछि क्षेत्रीको नयाँ गन्तव्य बन्यो– बेलगाछिया यूनाइटेड क्लब।
क्षेत्रीको बसोबासस्थल दक्षिणी कलकत्तामा पथ्र्याे। तर, क्लब थियो, उत्तरी कलकत्तामा। बसमा घरबाट क्लब पुग्न डेढ घण्टा लाग्थ्यो। क्षेत्रीलाई के सजिलो भयो भने, उनी सेल्दहा भन्ने ठाउँमा बिएस्सी पढिरहेका थिए। त्यहाँबाट क्लब नजिक पथ्र्यो। उनी कलेजबाट सोझै क्लब जान थाले।
सुरुमा केही दिन क्षेत्रीको खेल हेरेपछि क्लबले उनीसँग सम्झौता ग¥यो। लुगा, जुत्ता, आउँदा–जाँदाको भाडा सबै क्लबले दिने भयो। क्रिकेट खेलेर पैसा पाएको त्यो उनले पहिलो पटक थियो। खेलेर खर्च पनि पाउँदा क्षेत्रीको मन यसैपनि फुरुङ्ग हुने भइहाल्यो।
पहिलो पटकमै व्यवसायिक सम्झौता झैँ धेरै कुरा उनले पहिलो प्रयासमा पाए। उनी भन्छन्, ‘यो भगवानको कृपा, भाग्य या मेहनत के कारणले भएको हो, त्यो भन्न कठिन छ। तर, मैले धेरै कुरा पहिलो प्रयासमै पाएँ।’
बेलगाछिया यूनाइटेड क्लबको पहिलो खेलमा नै क्षेत्रीले प्रभावशाली प्रदर्शन गरे। कुमार नामको टोली विरुद्ध भएको खेलमा ६ विकेट लिएको अहिलेपनि उनलाई याद छ।
अर्को दिन कोलकताबाट प्रकाशित हुने भारतको सबैभन्दा पुरानो मध्येको एक अंग्रेजी पत्रिका स्टेटम्यान (१८७५ देखि प्रकाशन सुरु)मा उनकै नामबाट उक्त खेलको लिडलाइन सुरु भएको थियो। समाचारको पहिलो हरफ थियो, ‘एलबी क्षेत्रीको शानदार प्रदर्शनको मद्दतमा बेलगाछिया यूनाइटेड विजयी...।’
यसले क्षेत्रीको चर्चा थप चुलियो। प्रदर्शन थप मजबुद राम्रो हुँदै जादा क्लबले क्षेत्रीको सुबिधा पनि थप्यो। अब उनले सम्पूर्ण सामाग्री(क्रिकेट किट) सँगै १० हजार थप रकम पाउन थाले। दुईवर्ष बेलगाछिया क्लबमा बिताएका उनले आफूलाई सम्पूर्ण रुपमा परिष्कृत गरे।
गांगुली, धोनी र क्षेत्री कनेक्सन
भारतीय पूर्व कप्तान महेन्द्रसिंह धोनी जीवनको ‘टर्निङ प्वाइन्ट’ बनेका थिए, ए.के. गांगुली। तिनै गांगुलीले मेट्रो रेल्वेको टोली बनाउन पनि खेलाडी छनौट गरिरहेका थिए। त्यहीबेला गांगुलीको नजरमा परे, एलबी क्षेत्री।
बेलगाछिया क्लबमा दुई बर्ष बिताएका क्षेत्री एक सिजनमा २० हजार भारु बुझ्ने गरी सन् १९९० ‘बाटा स्पोर्टस क्लब’ मा आवद्ध भएका थिए।
एकपटक कालिघाट (स्थानीय क्लब) र बाटा क्लबबीचको खेल कालिघाट मैदानमा भैरहेको थियो, अर्काेतर्फको मैदानमा इस्टर्न रेलवे र राजस्थान बीचको खेल जारी थियो।
रणजी ट्रफीका लागि रेलवेको टोली बनाउन अन्तर रेल वे (इस्ट, मेट्रो, साउथ इत्यादि)को आन्तरिक प्रतिस्पर्धा हुँदै थियो। सोही प्रतिस्पर्धाका लागि मेट्रो रेलको टोली बनाउने गांगुली खेलाडी खोज्दै त्यही मैदानमा पुगे।
बाटाबाट ओपनिङ गरिरहेका क्षेत्री लञ्च ब्रेक हुँदा अर्धशतक प्रहार गर्दै नटआउट थिए। सोहीबेला गांगुलीको नजर क्षेत्रीमा पर्यो।
लञ्च ब्रेकमा क्षेत्रीसँग गांगुलीले सोधे, ‘के तिमी मेट्रो रेल्वेमा आवद्ध हुन चाहन्छौ?’
मेट्रो रेल्वेबाट राम्रो प्रदर्शन गरे रणजी ट्रफी(भारतको उपल्लोस्तरको क्रिकेट प्रतियोगिता) खेल्न पाइन्थ्यो। क्षेत्रीले जवाफ फर्काए, ‘ठीकै छ, खेल्छु।’
बाटाबाट २० हजार सिजनको बुझिरहेका क्षेत्रीले यसपटक भने तीन हजार रुपियाँमा चित्त बुझाउँदै ‘हुन्छ’ भनेका थिए। यसपटक उनले पैसा होइन, भविष्य हेरे।
गांगुलीले मेट्रो टिमकै ‘शुभाषचन्द्र बोस इन्स्टिच्युट’ लाई बी डिभिजनबाट ए डिभिजनमा उकाल्ने लक्ष्यसहित उनलाई क्लब आवद्ध गराएका थिए। ‘सन् १९९१ मा त हामीले सकेनौँ’ क्षेत्रीले सम्झे, ‘तर अर्को बर्ष त्यो टिमलाई पहिलो डिभिजनमा उकाल्यौँ। अहिले पनि त्यो टोली ए डिभिजनमै होला।’
पछि, धोनी क्रिकेटबाट टाढा भएका बेला पुन: क्रिकेटमा डोर्याउन तिनै गांगुलीले महत्वपूर्ण भूमिका खेलेका थिए। धोनी किशोरावस्थामा राँचीमा राम्रो क्रिकेट खेल्दै गर्दा दीलिप ट्रफीमा छनौट भएका थिए। दीलिप ट्रफीमा राम्रो गरे राष्ट्रिय टोलीमा पुगिन्थ्यो।
तर, क्रिकेट संघको लापरवाहीका कारण उनी छनौटमा परेको पत्र कोलकत्तामा हाजिर हुने अघिल्लो दिन बिहानसम्म पनि उनको हातमा परेन।
उनका साथीहरुले भने पत्रिकामा प्रकाशित खबरका आधारमा धोनी दीलिप ट्रफीका लागि छनौट भएको र भोलि कोलकतामा हाजिर हुनुपर्ने भन्ने कुरा थाहा पाएका रहेछन्। यो कुरा उनीहरुले धोनीका घरमा पुगे भने, तर ढिलो भइसकेको थियो।
निकै ढिलो गरी खबर पाएकाले अर्को दिन कोलकता कसरी पुग्ने होला भन्ने चिन्ताले सबै पिरोलिए। धोनीका बुबाले स्थानीय क्रिकेट संघका प्रतिनिधि देवल सहायसँग कुरा गर्न सुझाव दिए, उनले केही व्यवस्था मिलाई दिन्छन् कि भन्ने आशामा।
लगत्तै धोनी र उनका साथीहरु देवलको कार्यालय पुगे। तर, मिटिङमा रहेका उनले धोनी र उनका साथीहरुलाई निकै बेर कुराए। त्यतिञ्जेल घाम ढल्किन लागिसकेको थियो।
धोनी र उनका साथीलाई भोलि कोलकत्ता पुग्न सकिने हो कि होइन भन्ने चिन्ताले सतायो। निकैबेर कुराएपछि देवल बाहिर त आए। तर उनले धोनीको आशालाई निराशामा बदल्ने बाहेक केही गर्न सकेनन्।
केही सहयोग गर्न नसक्ने बताएपछि धोनीका साथीहरुले धोनीलाई घर गएर समान प्याक गर्न भने। आफूहरु भने गाडीको जोगाडमा लागे, ताकी गाडीबाट एअरपोर्ट पु¥याउँदै धोनीलाई प्लेनमा भोलि नै कलकत्ता पठाउन सकियोस्।
साथीहरुले जसोतसो रातभरि गाडी हाँकेर धोनीलाई एयरपोर्ट त पु¥याए, तर उनीहरु पुग्दा जहाज आधा घन्टा अघि नै उडिसकेको थियो।
राष्ट्रिय टोलीमा पर्ने महत्वपूर्ण अवसर गुमाएकोमा धोनी निकै निराश देखिए। त्यसपछिका दिनमा उनी क्रिकेट छोडेर घरमै दिनहरु बिताइरहेका थिए।
त्यहीबेला उनको जीवनको टर्निङ प्वाइन्ट बनेर आउँछन्, ए.के. गांगुली, जसका कारण धोनी हाल विश्वका महान् खेलाडी मध्येका एक बनिसकेका छन्।
त्यसबेला इस्टर्न साउथ रेलवेका प्रमुख कार्यकारी अधिकृत(सिइओ) का रुपमा कार्यरत गांगुलीले अखवारमा धोनीका बारेमा निकै पढिसकेका थिए।
उनले रेलवेकै टोलीबाट क्रिकेट खेल्ने सत्यप्रकाश(धोनीको साथी) सँग भने, ‘यदि धोनी रेलवे टिमबाट क्रिकेट खेल्न चाहन्छन् भने उनलाई ‘टिकट कलेक्टर’ को जागिर दिन सकिन्छ। त्यसैले जाऊ, बोलाएर ल्याऊ।’
सत्यप्रकाश धोनीको घर पुगे, गांगुलीले क्रिकेट खेल्नुका साथै रेलवेको जागिरको प्रस्ताव गरेको सुनाए। ‘छोराले जागिर पाउने भयो’ भनेर धोनीको परिवार खुशी भयो, धोनी पनि ‘टिकट कलेक्टर’ को जागिर खाँदै रेलवेको टिमबाट क्रिकेट खेल्न तयार भए। गांगुलीले नै ट्रायल लिँदै धोनीलाई इस्टर्न साउथ रेल्वेमा जागिर दिए। त्यहीँबाट माथि उठेका धोनीले भारतलाई विश्वकप दिलाएका हुन्।
यो धोनीको जीवनको सत्य घटना हो। अहिले पनि २०१६ मा आएको उनको वायोपिक फिल्म– ‘एमएस धोनीः एन अनटोल्ड स्टोरी’मा यो दृश्य हेर्न सकिन्छ।
आमाको आग्रह स्वीकार्दै नेपाल
एक बर्ष खेलिसकेपछि रेलवेको स्थायी कर्मचारी हुने प्रक्रिया सुरु हुन्थ्यो। रेलवेका स्थायी कर्मचारीको सेवा सुविधा राम्रो हुन्थ्यो। अझ खेलाडीले काम पनि गर्नुपर्दैनथ्यो। उनीहरुको जिम्मेवारी राम्रोसँग क्रिकेट खेलेर संस्थाको नाम उच्च पार्ने’ मात्रै थियो। यसैगरी उनले त्यहाँ आठ महिना बिताईसकेका थिए।
त्यहीबेला नेपालबाट आमाको सन्देश आयो, ‘छोरा अब नेपाल फर्क।’
रेलवेको स्थायी कर्मचारी हुने प्रक्रिया सुरु हुन चार महिनामात्रै बाँकी थियो। उनी आफ्नो टिममा लयमा नै थिए। रेलवेको टोलीबाट छनौट हुँदै रणजी खेल्ने सम्भावना पनि उत्तिकै थियो।
तर, उनले आफूलाई जन्म दिने आमाको अनुरोध टाल्न सकेनन्। आफ्ना सबै सपनालाई बिट मार्दै नेपाल फर्कने निर्णयमा उनी पुगे।
नेपाल फर्कने निर्णय सुनाउँदा गांगुलीले क्षेत्रीलाई ‘तिम्रो भविष्य यहाँ(भारत) नै उज्ज्वल छ’ भन्दै नेपाल नफर्कन खुबै सम्झाई– बुझाई गरे। उनले यो पनि भनेका थिए, ‘बरु एक महिना घुमेर आऊ, तर खेलका लागि चाहिँ यहीँ फर्क।’
बुबा बितेपछि सम्पूर्ण परिवारको हेरचाहको जिम्मा उठाउने आमाको आग्रह उनले कसरी अस्वीकार गर्न सक्थे र? ‘आमा मेरो लागि सधैँ प्रेरणा हुनुहुन्छ, म उहाँको कुरालाई कहिल्यै टाल्न सक्दिन,’ उनले भने, ‘आमाको निर्णय भनेको फाइनल निर्णय हो भन्दै म विदावारी भएर नेपाल फर्केँ।’
सुन्दर भविष्य अघि हुँदाहुँदै नेपाल फर्कनुपर्दा क्षेत्रीलाई कुनै पछुतो भने छैन्। ‘धेरैले अहिलेपनि तपाईं नेपाल नफर्किएर रेलवे टिममा काम गरिरहेको भए धेरै माथि पुगिसकेको हुन्थिस् भन्छन्। तर, म जीवनमा म कहिल्यै पछुतो गर्दिन’ जीवनको अर्थ बुझाउँदै उनले भने,‘जीवन भनेको चलिरहने प्रक्रिया हो, मेरालागि गतिशीलता नै जीवन हो।’
नेपालमा अध्यापन र क्रिकेट
एलबी क्षेत्री पठाउँदै
एलबी क्षेत्री पठाउँदै

सन् १९९३ मा नेपाल फर्कँदा क्षेत्री २५ वर्षका थिए। बर्दियाबाट उनको परिवार बाँकेको कोहलपुर सरिसकेको थियो। हालपनि क्षेत्री कोहलपुरकै बासिन्दा हुन्।
चार दाजुभाई मध्ये एलबी कान्छा थिए। दाई कोहलपुरस्थित रामजानकी माविमा पढाउँथे। विज्ञान विषयमा स्नातक(बिएसस्सी) गरेका र सामाजशास्त्रमा स्नातकोत्तर गरेका क्षेत्रीले पनि त्यहीँ पढाउने काम पाए। भारतमा दैनिक बलब्याट समात्ने हातहरुमा चक डस्टर समातेर अरुलाई पढाइरहेको भेटिन थाले।
‘सुरुमा कुना–कन्धरा छु जस्तै भयो,’ कोलकत्तामा चकमधमक युक्त वातावरणमा जीवन बिताएका वयस्क क्षेत्रीलाई सुरुमा गाउँमा फर्कदा यस्तै लागेको थियो।
तर सुरुदेखि नै मेहनति स्वभावका एलबी अध्यापनमा पनि पूर्ण दत्तचित्त भएर लागे। फलस्वरुप सुरुमा सामान्य शिक्षक भएर स्कुलमा प्रवेश गरेका उनी पाँच महिनामै स्कुलको प्राध्यानाध्यापक बने।
डेढ वर्ष उनी लगातार शिक्षण पेशामा मात्रै लागे। दिउसो स्कुल पढाउँथे, विहान बेलुका दौड्ने र शारिरिक अभ्यास गर्थे। तर यसबेला बलब्याट भने उनको हातमा परेन्।
छोरीको न्वारन सकाएर सिधै क्रिकेट टूर
एकदिन उनका दाजुले पूर्व राष्ट्रिय खेलाडी स्थानीय रञ्जित राणासँग भने, ‘मेरो भाईपनि क्रिकेट खेल्छ। केही गर्न सकिन्छ कि?’
‘ठीक छ’ भन्दै राणाले एलबीलाई बाँके क्रिकेट संघका सचिव सुनिलसिंह हमालसँग परिचय गराइदिए। हमालले ‘खेल्ने इच्छा भए अभ्यासमा आउनु’ भने।
उनले क्रिकेट खेल्न नपाएको डेढ बर्ष भइसकेको थियो। एउटा सिद्धहस्त खेलाडीका लागि खेल नखेली यति समय गुजार्नु भनेको लामो अवधि हो। चकडस्टर घोटिरहँदा उनलाई लाग्थ्यो होला, मैदानमा जान पाऊँ, त्यहाँ पुग्ने बित्तिकै ब्याटबल समाउन पाऊँ।’
मनमा यस्तो धारणा आउने गरेपनि अभ्यासमा जादाँ भने उनले धैर्य गरे। सुरुका केही दिन त्यहाँको क्रिकेट माहौल हेरे, बुझे। अनिमात्रै अभ्यासका लागि छिरे।
‘क्रिकेटरमा सहनशीलता र धैर्यता हुनुपर्छ,’ क्षेत्री भन्छन्, ‘भारतमा व्यवसायिक क्रिकेट खेलिसकेपनि सुरुमा किट्स बोकेर नेट्समा जाने काम मात्रै भयो। मैले अप्ठ्यारो मानिन। त्यो सिक्ने प्रक्रिया थियो, मैले धैर्य गरँे।’
प्रस्ताव आएको केही दिनपछि उनले ब्याटिङ, बलिङमा अभ्यास गर्न थालिसकेका थिए। त्यतिबेला बाँकेको टोली भैरहवामा हुने सिद्धार्थ कपको तयारी गरिरहेको थियो। तर, भर्खरै अभ्यासमा आएका खेलाडी भनेर होला, बाँकेको टोलीमा कसैले उनलाई स्थान दिएन।
प्रतियोगिता खेल्न उनले अझै केही समय धैर्य गर्नुप¥यो। उनको मन्त्र नै थियो, ‘क्रिकेट खेलाडी धैर्यवान हुनुपर्छ।’
अभ्यास थालेको केही महिनापछि २०५२ साल माघमै बाराको कलैया(सत्यनारायण कप, क्लबस्तरीय)मा बाँकेको टोलीले पनि सहभागिता जनाउने भयो। यसपटक पनि क्षेत्री टोलीमा परेनन्। पछि छनौटमा परेका जावैद सिद्दीकी विरामी परे। त्यही कारण टोली हिड्नु एकदिन अघिमात्र उनलाई फोन आयो, ‘तिमी भोलि टोलीसँग कलैया जानुपर्छ।’
भोलि अर्थात् जुनदिन टोली हिड्ने भनिएको थियो, त्यही दिन उनकी छोरीको न्वारन(नाम राख्ने पूजा) थियो। उनी दोधारमा थिए। तर, ‘पाएको मौका गुमाउनु हुँदैन’ भन्दै बिहान छोरीको न्वारन सिध्याएर साँझ टोलीसँगै कलैया हानिए।
उक्त प्रतियोगितामा गतिलो प्रदर्शनका बाबजुद पनि फाइनलमा बाँकेको टोली भैरहवाको खुकुरी टोलीसँग पराजित हुँदै उपविजेता बन्यो।
यस प्रतियोगिताबाट भने एलबीले बाँकेको टोलीमा स्थायी रुपमा आफ्नो स्थान बनाए।
राष्ट्रिय प्रतियोगिता हुँदै राष्ट्रिय टोली
२०५३ सालमा वीरगञ्जमा राष्ट्रिय प्रतियोगिता (जय ट्रफी, १२औँ) हुँदै थियो। काठमाडौँ विरुद्धको पहिलो खेलमै उनी ‘म्यान अफ द म्याच’ चुनिएका थिए। प्रदर्शन थियो, चार विकेट र ४४ रन। तर, दुर्भाग्य उनको टोली १ रनले हार्यो।
उनले टोलीलाई जितको नजिक पुर्याउँदै जित्न २८ रनमात्रै बाँकी राखेका थिए। ८ विकेटपनि बाँकी थियो। त्यसपछि एकपछि अर्को विकेट गुमाएपछि बाँकेले पराजय भोग्नु परेको थियो।
कारण खोतल्दै उनी भन्छन्, ‘हामी ‘ओभर कन्भिडेन्सी’ ले हार्यौँ। खेलाडीमा जहिलेपनि अन्तिम विकेट लिन र अन्तिम रन नलिदासम्म धैर्यता हुनुपर्छ। सजिलै जितिहाल्छौँ भनेर बढी आत्मविश्वास हुँदा हामीले त्यो खेल गुमायौँ। काठमाडौँका खेलाडीले अन्तिमसम्म पनि धैर्यता गुमाएनन् र हारको मुखबाट खेल थुतेर लगे।’
दोस्रो खेलमा झापाविरुद्ध पनि उनले तीन विकेट लिए। त्यसैगरी अन्य खेलमा समेत राम्रो प्रदर्शन गरेपनि उनी पहिलोपटक राष्ट्रिय टोलीको क्याम्पमा छनौट भए।
पहिलो अन्तराष्ट्रिय टोलीका उपकप्तान
नेपालकाे पहिलाे क्रिकेट टाेली मलेसिया जानेक्रममा
नेपालकाे पहिलाे क्रिकेट टाेली मलेसिया जानेक्रममा

सन् १९९६ आइसीसीको एसोसियट सदस्यता पाएपछि नेपालले पहिलो आधिकारिक अन्तर्राष्ट्रिय प्रतियोगिताका रुपमा मलेसियामा हुने ‘एसियन क्रिकेट काउन्सिल(एसीसी) ट्रफी’ खेल्ने भयो। वीरगञ्जमा भएको त्यही राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाईएको थियो।
सुरुमा क्याम्पमा २४ जना थिए। बाँकेबाट एलबीसँगै गणेशबहादुर शाही पनि क्याम्पका लागि छनौट भएका थिए। वीरगञ्जमा एक महिना क्याम्प चलेको थियो। भारतका वीरेन्द्र भटनागर र पाकिस्तानका फाकुर जमन त्यसबेला नेपाली टोलीका प्रशिक्षक थिए।
२४ जनाबाट १८ हुँदै १४ मा झरेको पहिलो नेपाली टोलीको कप्तान चुनिए, उत्तम कर्माचार्य र उपकप्तान एलबी क्षेत्री।
सुरुमा प्रतियोगिता खेल्न जाने क्रममा बाँकेले क्षेत्री र शाहीलाई विदाई ग¥यो। त्यसबेला काठमाडौँमा विनयराज पाण्डे(त्यसबेला महासचिव) को कार्यालयबाट क्यानको कार्यालय चल्थ्यो। त्यहाँबाट खेलाडीहरुको विदाई भयो।
नेपाली खेलाडीहरु भित्र दौरासुलवाल र बाहिर नीलो कोटमा सजिदै एअरपोर्ट पुगे। टोलीको विदाई गर्न एअरपोर्टमा तत्कालिन अध्यक्ष जयकुमारनाथ साह तथा महासचिव पाण्डे पुगेका थिए। सरकारी प्रतिनिधि थिए कि थिएनन्, क्षेत्रीलाई त्यति याद छैन।
टोलीमा भारतमा व्यवसायिक क्रिकेट खेली फर्केका उनी एक्ला थिए। बाँकी सबै ‘एम्याच्योर’ खेलाडी थिए। खेलाडीहरु ‘जित्नुपर्छ भन्दा पनि राम्रो गर्नुपर्छ, ५० ओभर खेल्नुपर्छ, विश्व मञ्चमा नेपालको चित्र देखाउने प्रयास गर्नुपर्छ’ भन्ने छलफल गर्दै जहाजमा समय कटाइरहेका हुन्थे।
मलेसियामा नेपाली टोली पुगेपछि सुनिल गावस्कर, कृष्णमाचरी श्रीकान्थ(दुवै भारतीय पूर्व क्रिकेटर), सिकन्दर बक्त(पूर्व पाकिस्तानी क्रिकेटर) लगायतले ‘हिमालयको देश(नेपाल)मा पनि क्रिकेट खेलिन्छ?’ भनेर अचम्म मानेको कुरा अहिलेपनि क्षेत्रीलाई सम्झना छ। ती सबै खेलाडी त्यसबेलाका चर्चित खेलाडी थिए।
‘त्यसबेलासम्म भारतीय दिग्गज क्रिकेटरका नजरमा पनि नेपाल हिमालयको देश भन्ने थियो,’ उनले भने, ‘अहिले त नेपालले विश्वमा ‘नेपाल क्रिकेटिङ नेशन’ का रुपमा परिचय बनाइसकेको छ।’
बंगलादेशसँग पहिलो खेल थियो। खेलका बीचमा पानी प¥यो। अहिलेको ‘डक लुइस म्याथ्यड’ (डीएल) थिएन। त्यसबेला ‘प्यारागला’ भन्ने नियम हुन्थ्यो। त्यो नियमका आधारमा नेपाल हा¥यो। तर, क्षेत्रीले बंगलादेशविरुद्ध दुई विकेट लिइसकेका थिए।
दोस्रो खेलमा जापानविरुद्ध नेपालले जित हात पा¥यो। त्यो अन्तर्राष्ट्रिय आधिकारिक खेलमा नेपाली क्रिकेट इतिहासकै पहिलो जित थियो। त्यसको नायक थिए, क्षेत्री। ६ ओभरमा उनले ८ रनमात्रै दिएर ३ विकेट लिएपछि जापान ७२ रनमै समेटिएको थियो। नेपालले १५ ओभरमा २ विकेट गुमाएर लक्ष्य भेटाउँदै पहिलो जित सम्भव तुल्याएको थियो।
टोलीले पहिलो अन्तराष्ट्रिय जितको सेलिब्रेशन कसरी गर्यो त?
‘हामी निकै खुशी भयौँ। एकअर्कामा खुशी साट्यौँ पनि। हुन त खेल जित्नैका लागि खेल्ने हो। पहिलो प्रतियोगिता भएकाले हाम्रो मनोविज्ञान जित्नका लागि भन्दा पनि जतिसक्दो राम्रो खेल्दै विश्वको नजरमा नेपालमा पनि क्रिकेट खेलिन्छ भन्ने देखाउनु थियो। त्यही हिसाबले बाँकी प्रतियोगितामा पनि खेल्यौँ’, उनले स्मरण गरे।
समूह चरणमा नेपाल ६ टोलीमध्ये चौथो भएको थियो। नेपालको अर्को जित ब्रुनाईविरुद्धको खेलमा भएको थियो। प्रतियोगितामा क्षेत्री नेपाली टोलीबाट दोस्रो उच्च ‘विकेट टेकर’ थिए।
त्यसपछिको अर्को एसीसी ट्रफी सन् १९९८ मा काठमाडौँमा हुने भयो, जुन नेपालमा हुन लागेको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो। नेपालमा भएको पहिलो अन्तर्राष्ट्रिय खेलमा नेपाली टोलीको कप्तानी गर्ने इतिहास क्षेत्रीको नाममा नै रह्यो। यही प्रतियोगिताबाट क्षेत्रीले नेपाली टोलीको नेतृत्व गरे।
यूएनमा जागिर र खेल जीवनबाट विट
एलबी क्षेत्री
एलबी क्षेत्री

निम्नमध्यम वर्गीय परिवारका क्षेत्रीको उमेर ३१ वर्ष पुगिसकेको थियो। बिहे गरेर छोराछोरी हुर्किन लागेका थिए। परिवारको आर्थिक भार बढ्दै थियो।
राष्ट्रिय टोलीको कप्तान भइसकेपछि क्रिकेटमा उनले एक किसिमले सफलता हात पारिसकेका थिए। क्रिकेट खेलेर मात्र परिवार पाल्न सक्ने अवस्था थिएन।
परिवारको आर्थिक स्थिति केही सुदृढ गर्नुपर्ने बाध्यता थियो। त्यहीबेला ‘यूएनडीपी’ को ‘कोप’ भन्ने कार्यक्रमका लागि जिल्ला संयोजक मागिएको रहेछ। उनले पनि दरखास्त हाले।
त्यतिबेला उनी राजविराजमा राष्ट्रिय प्रतियोगिता (१६औँ जय ट्रफी) खेल्दै थिए। अहिलेको जस्तो त्यो हातहातमा मोबाईल हुने जमाना थिए। ‘सर्टलिस्ट’मा परेपछि यूएनडीपीका मानिसहरुले क्षेत्रीको घरको नम्बरमा फोन गरे। घरबाट टोलीका सहकर्मीको नम्बर दिँदै त्यही नम्बरमा फोन गर्न भनियो।
राजविराजमा यूएनडीपीएका प्रतिनिधिले क्षेत्रीलाई फोन गरे र अन्तर्वार्ताका लागि काठमाडौँ बोलाए। क्षेत्रीले आफू राजविराजमा प्रतियोगिता खेलिरहेको बताएपछि यूएनडीपीका प्रतिनिधिहरुले प्रतियोगितापछि बाँके मै नै लिखित र मौखिक परीक्षाको बातावरण मिलाइ दिए।
‘अरु सर्टलिस्टेडहरु काठमाडौँ गएर जाँच दिए,’ क्षेत्री सम्झन्छन्, ‘मलाई भने बाँके जिल्ला विकास समितिमै फ्याक्समार्फत् प्रश्न पठाइएको थियो। त्यो १० बजेर ५५ मिनेटमा आएको थियो। मैले सबै उत्तर लेखेर पठाई दिएँ, उनीहरुलाई चित्त बुझेछ। मेरो पोस्टिङ बझाङमा भयो।’
यता यूएनमा जागिर पक्का भएको थियो। उता, सन् २००० मा यूएईमा हुने एसीसी ट्रफीका लागि पनि उनी पुनः राष्ट्रिय टोलीको कप्तान चुनिए। तत्कालिन उपाध्यक्ष टीबी शाहले पटक पटक कोहलपुल हुँदा र बझाङ छँदा पनि ‘मिल्छ भने मिलाएर आउ’ भने। तर, उनको खेल जीवन त्यति नै थियो। त्यहीँबाट उनले औपचारिक क्रिकेटबाट बिराम लिए।
‘तत्कालिन अवस्था त्यस्तै थियोे,’ उनले भने, ‘घर परिवार र साथीभाईले पनि पाएको ठूलो अवसरलाई खेल नफाल्न सुझाव दिए। क्रिकेटबाट एक उपलब्धि हासिल गरिसकेको थिएँ। मनले पनि दुई–चारवर्ष काम गर्दा परिवारको स्थितिपनि केही राम्रो बनाउन सकिन्छ कि भन्ने लाग्यो। त्यसैले मैले क्याम्पमा नफर्किने निर्णय गरेँ।’
अनि दिए राजिनामा
सबै ठाउँको सामाजिक, आर्थिक, सांस्कृतिक र भौगोलिक अवस्था भिन्न हुन्छन्। बझाङको पनि भिन्न थियो। तर, यूएनका मानिसहरुलाई भने उनीहरुले दिएको ‘फम्र्याट’कै आधारमा डाटा चाहिन्थ्यो।
उनीहरुलाई त्यहाँको भौगोलिक, सामाजिक, आर्थिक अवस्थाको मतलब हुन्थेन। बस्, जसरी भएपनि उनीहरुको फम्र्याटका आधारमा रिपोर्ट चाहियो। त्यसका लागि चाहे, डाटाहरु बंग्याउन नै किन नपरोस्।
यो कुरा एलबीलाई चित्त बुझेन। उनले स्पष्ट रुपमा आफ्नो राखे। तर उनीहरुलाई एलबीको कुरामा चित्त बुझिरहेको थिएन।
‘मैले पटक पटक यो ठाउँका डाटाहरु तपाईंहरुले मागेका ‘फम्र्याट’का आधारमा नआउन पनि सक्छ भनेको थिएँ। तर, उनीहरु मान्दै मान्दैनथे। त्यहीबेला आमा पनि बिरामी हुनुभयो,’ उनले भने,‘म आमालाई लिएर कोलकत्ता गएँ र विदाका लागि निवेदन लेखेँ, उनीहरुले विदा दिन मानेनन्। मैले राजिनामा लेखेर दिएँ।’
‘जुन काम गर्न नैतिकताले दिदैन, अन्तरआत्माले मान्दैन, त्यो काम गर्नु हुँदैन’ उनले भने, ‘त्यसले पीडामात्र दिन्छ।’ राम्रै सेवा सुविधा भएपनि नैतिकता र अन्तरआत्माले नमानेपछि राजिनामा दिएकोमा कुनै पछुतो नभएको उनले बताए।
सरकारको ‘डेडलक’ तोड्यो
एलबी क्षेत्री
एलबी क्षेत्री

क्षेत्री सधैँ‘ग्राउन्ड लेभल’ मै रहेर काम गरे। उनको बानी कहिले शक्तिका पछाडि धाउने पनि रहेन। उनी सधैँ स्थानीय स्तरबाटै विना लोभ, निस्वार्थ भावनाले क्रिकेटको विकासमा लागे।
यसपटक भने सरकारले नेपाल क्रिकेट संघ(क्यान)को विवाद समाधानका लागि गठन गरेको स्वतन्त्र कमिटीको तर्फबाट उनलाई नियुक्त गर्यो।
सधैँ केन्द्रका मानिसहरु सरकारी नजरमा पर्ने भएपनि कसरी उनी परे त?
‘नेपाल सरकारले काम गरेका आधारमा केही डेडलक(परम्परा) तोड्दै मेरो अनुभव मैले गरेका संघर्षहरुले केही ‘ब्रेक थ्रु’ गर्नसक्छ कि भनेर मलाई कमिटीमा राखेको हुनसक्छ’ उनले भने,‘कोही मेरा ‘हिडन’ शुभेच्छुक थिए होलान्, उनीहरुले मेरो नाम सिफारिस गरेका हुनसक्छन्।’
युवा तथा खेलकुद मन्त्रालयले स्वतन्त्र कमिटीको सदस्यका रुपमा नियुक्तिका लागि फोन गर्दा उनलाई ‘तपाईं चुनाव (क्यानको) लड्न पाउनु हुँदैन’ भनिएको थियो।
‘मेरा लागि चुनाव भन्दा निकास ठूलो कुरा हो। ‘खेलाडीले राम्रो खेल्दाखेल्दै पनि क्रिकेट संघ नहुँदा एकदिवसीय मान्यता पाएको नेपालले चारवर्ष त्यसैमा रमाउँदारमाउँदै बिताउनु पर्ने हो कि भन्ने डर छ,’ कुराकानीको अन्त्यतिर उनले भने, ‘त्यस्तो भयो भने हामी केन्या र हङ्कङ्को जस्तो उल्टोबाटोमा हामी हुनेछौँ।’
इमान्दार भएर प्रयास गर्न सके आगामी छ महिनामा क्यानको प्रतिबन्ध फुकुवा हुने उनी बताउँछन्। ‘असफल हुने कुरा म गर्दिन, आफ्नो तर्फबाट इमान्दार प्रयास भयो कि भएन, त्यो मुख्य कुरा हो’ उनले कुराकानीको विट मार्दै क्षेत्रीले भने, ‘किनकी भोलि म आफूले आफैलाई प्रश्न गर्दा आफू सन्तुष्ट हुने स्थिति हुनुपर्याे।’

No comments:

Post a Comment