Saturday 14 March 2020

लर्डसमा नेपाल

‘लर्डसमा खेल्ने अवसर हत्तपत्त पाइँदैन तर मैले मेरो विकेट खेर फालेँ,’ दुईवर्ष अघि क्रिकेटको मक्का मानिने लर्डसमा खेल्दा क्याच आउट (३० रन) भएका नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले फेरि लर्डसमा खेल्न पाइने हो होइन सन्देह व्यक्त गरेका थिए।
बेलायतसँग कूटनीतिक सम्बन्ध स्थापित भएको २ सय वर्ष पूरा भएको अवसरमा नेपालले मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)सँग सन् २०१६ को जुलाई १९ तारिखमा पहिलो पटक लर्डसमा खेलेको थियो। ऐतिहासिक मैदान लर्डसमा एशोसियट नेशनले पाएको दुर्लभ अवसरमा राम्रो छाप छाड्ने आफ्नो लक्ष्य पूरा नभएको भन्दै पारसले पछुतो माने पनि नेपालले एसीसीलाई ४१ रनले पराजित गर्दै लर्डसको सम्झनालाई अविष्मरणीय बनायो।
सन् २०१४ मा पारसले इंग्ल्याण्ड भम्रणका क्रममा लर्डस पनि घुम्ने अवसर पाएका थिए। तर, उनको मनमा लर्डसमा कहिलै खेल्न पाइएला कि भन्ने प्रश्न प्रश्नवाचककै रुपमा थियो। ‘सन् २०१४ मा लण्डन भ्रमणका क्रममा लर्डस पनि घुमेको थिएँ,’ पारसले प्रतिक्रिया दिएका थिए, ‘तर, मैले त्यसबेला लर्डसमा खेल्न पाउँला भन्ने सोचेको समेत थिइँन। लर्डसमा खेल्नु सपना थियो। जुन अहिले आएर पूरा भयो।’
पारस खड्का
पारस खड्का
त्यसबेला नेपाल विश्व क्रिकेट लिग च्याम्पियन्ससिप खेल्दै थियो। आठ टोली सम्मिलित उक्त प्रतियोगिताको शीर्ष चारमा रहँदै एक दिवसीय विश्वकप छनोट खेलेर एक दिवसीय अन्तरार्ष्ट्रिय मान्यता पाउने लक्ष्यमा नेपाल अघि बढिरहेको थियो।
त्यो उद्देश्य सुनाउँदै लर्डस जितपछि पारसले भनेका थिए, ‘हाम्रो लक्ष्य एकदिवसीय अन्तरार्ष्ट्रिय मान्यता हासिल गर्नु हो। आशा गरौं, १५–२० वर्षपछि हामीले टेस्ट मान्यता हासिल गर्न सक्नेछौं। त्यसका लागि हामीले धेरै मेहनत गर्नुपर्नेछ। हाम्रो उक्त लक्ष्य प्राप्त गर्न यस किसिमका खेलहरुले निकै नै सहयोग पुर्याउनेछ।’
सन् २०१७ मा च्याम्पियनसिप सकिँदा नतिजा नेपालको पक्षमा थिएन्। आठ टोलीमध्ये सातौं स्थानमा रहँदै नेपाल डिभिजन दुईमा झर्यो। जसले नेपालको सिधैँ एक दिवसीय विश्वकप छनोट खेल्ने मौका गुम्यो।
तर, नेपालका लागि डिभिजन दुईको घुमाउरो बाटो हुँदै एकदिवसीय विश्वकप छनोट खेल्ने बाटो भने बाँकी नै थियो। च्याम्पियन्ससिपबाट रेलिगेसनमा परेको नेपालले यसै वर्षको फेब्रुअरीमा नामिबियामा भएको डिभिजन दुईको उपविजेता बन्दै मार्चमा जिम्बाबेमा एक दिवसीय छनोटमा स्थान बनाएको थियो।
२०१९ को विश्वकपमा छनोट हुने दुई टोलीको टुंगो लाग्ने उक्त प्रतियोगितामा सहभागी १० मध्ये वेस्टइन्डिज र अफगानिस्तानले शीर्ष दुईमा रहँदै विश्वकपमा स्थान बनाए भने नेपालले आठौं हुँदै पहिलोपटक एक दिवसीय अन्तर्राष्ट्रियको मान्यता हासिल गरेको थियो।
फरक पहिचान, फरक टोली
दुई वर्ष अघि डिभिजन एकको हैसियतले च्याम्पियन्ससिप खेलिरहेको नेपालले लर्डसमा खेल्ने अवसर जुराउन कुटनीतिक सम्बन्धको मौका छोप्नु परेको थियो।
त्यसअघि पनि पटकपटक नेपाललाई लर्डसमा खेलाउने प्रस्ताव एमसीसीले अस्वीकार गर्दै आएको थियो। नेपाललाई लर्डसमा उतार्न महत्वपूर्ण भूमिका निर्वाह गरेका लण्डनमै रहने नेपाली प्रशान्त कुँवरले नेपालखरबसँगको अन्तर्वार्ताका क्रममा भनेका छन्, ‘सन् २०११ मै मैले एमसीसीका प्रतिनिधिसँगको भेटघाटका क्रममा नेपाललाई एमसीसीसँग जोड्ने प्रस्ताव राखेको थिए। पछि कप्तान पारस खड्कालाई पनि लण्डन ल्याएर पटकपटक कुरा राख्दा एमसीसीका प्रतिनिधिहरुले लर्डसमा नेपालसँग खेल्ने प्रस्ताव स्वीकारेनन्। तर, हामीले प्रयास जारी राख्यौं र बल्ल उनीहरु नेपाल र बेलायतबीचको दैत्यसम्बन्ध स्थापना भएको २ सयवर्ष पुगेको उपलक्ष्यमा हाम्रो प्रस्तावमा सकरात्मक भए।’
तर दोस्रोपटक नेपाल फरक पहिचानका साथ लर्डसमा उत्रँदैछ। यतिवेला नेपाल एकदिवसीय अन्तरार्ष्ट्रिय मान्यता टी–२० अन्तरार्ष्ट्रिय पनि) प्राप्त देश हो भने लर्डसमा एमसीसीले उसलाई सम्मानका साथ खेल्न बोलाएको हो।
एक दिवसीय अन्तराष्ट्रिय मान्यता पाएकै महिना एमसीसीले नेपाल, एमसीसी र नेदरल्याण्ड्सबीच त्रिकोणात्मक टी–२० श्रृखंला खेलाउने घोषणा गर्दा विज्ञप्तिमा उल्लेख थियो, ‘नेपाल र नेदरल्याण्ड्सले एक दिवसीय अन्तराष्ट्रिय मान्यता पाएको सम्मानमा लर्डसमा यो श्रृखंला आयोजना गर्न लागिएको हो।’
सन् २०१४ मा एक दिवसीय अन्तरार्ष्ट्रिय मान्यता गुमाएपछि विश्व क्रिकेट लिग च्याम्पियन्सको उपाधि हात पार्दै नेदरल्याण्ड्सले एकदिवसीय मान्यता हासिल गरेको थियो।
पारस र सन्दीप लर्डस मैदानमा
पारस र सन्दीप लर्डस मैदानमा
लर्डसमा फेरि नेपाल फर्कदा उसबेला खेलेका ६ जना खेलाडीहरु भने टोलीमा फर्कन सकेनन्। दुई वर्षअघि खेलेका सागर पुन, विनोद भण्डारी, अनिल मण्डल, राजेश पुलामी मगर, राजु रिजाल र बिक्रम सोवको स्थान नयाँ खेलाडीहरु लिएका छन्। उनीहरुको स्थान लिनेमा दीपेन्द्रसिंह ऐरी, ललितसिंह भण्डारी, रोहित पौडेल, ललितनारायण राजवंशी, अनिलकुमार साह र आरिफ सेख छन्।
त्यसबाहेक पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, शक्ति गौचन, बसन्त रेग्मी, सोमपाल कामी, सुवास खकुरेल, करण केसी र सन्दिप लामिछाने भने नेपाली टोलीबाट यसपटक दोस्रोपटक लर्डसमा उत्रदैछन्।
यता, एमसीसीको टोली पनि विश्वस्तरिय खेलाडीहरुले भरिएको छ। श्रीलंकाका विश्व टान्टी–२० विजेता खेलाडी माहेला जयवद्र्धनेको कप्तानीमा रहने एमसीसीमा इंग्ल्यान्डका पूर्व ब्याट्सम्यानहरू इयान बेल, जोनाथन ट्रोट, विकेटकिपर जेम्स फोस्टर, जिम्बावेका पिटर मुर, स्कटल्यान्डका डिलन बुज, एलास्डाएर इभान्स र मार्क वाटलगायत छन्। 
‘लर्डसमा खेल्न पाउँदा सधैं उत्साहित हुन्छौं,’ नेपालका कप्तान पारस खड्का भन्छन्, ‘प्रत्येक खेलाडीको लर्डसमा खेल्ने सपना हुन्छ। हामीले फेरि यहाँ खेल्ने अर्को अवसर पाएका छौं। राम्रो सबै खेलाडीले राम्रो खेल्ने प्रयास गर्नेछौं।’
टी–२० मा पुनरागमन र नेदरल्याड्स बदला लिने दाउँमा
आइतबार हुने त्रिकोणात्मक श्रृखंलाको पहिलो खेल स्थानीय समयानुसार १० बजे एसीसी र नेदरल्याण्ड्सबीच हुनेछ। त्यसपछि दिउँसो १ बजेर ५ मिनेटमा एमसीसी र नेपालबीच र साँझ ४ बजेर २० मिनेटमा नेदरल्याण्ड्स र नेपालबीच खेल हुने तालिका छन्।
आइसीसीले नेपाल र नेदरल्याण्ड्सबीचको खेललाई टी–२० अन्तराष्ट्रियको मान्यता दिएकाले सन् २०१५ को जुलाईमा पपुवा न्युगिनीसँग आयरल्याण्डमा खेलपछि नेपालले पहिलो टी–२० अन्तराष्ट्रियमा पुनरागमन गर्न लागेको हो।
सन् २०१३ को विश्व ट्वान्टी–२० मा छनोटमा तेस्रो भएर विश्वकपमा पुगेसँगै नेपालले ट्वान्टी–२० अन्तर्राष्ट्रिय मान्यता पाएको थियो। तर, २०१५ मा आयरल्यान्डमा भएको विश्व ट्वान्टी–२० छनोटमा दोस्रो अन्तिममा रहेसँगै नेपालले ट्वान्टी–२० अन्तर्राष्ट्रिय मान्यता गुमाएको थियो। त्यसपछि नेपालले पहिलोपल्ट ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल्न लागेको हो।
टी–२० मान्यता पाएको उक्त समयमा नेपालले ११ वटा टी–२० अन्तरार्ष्ट्रिय खेल खेलेको थियो। जसमा ३ खेलमा जित हात पारेको थियो भने ८ खेलमा पराजय बेहोरेको थियो। नेपालले टी–२० अन्तराष्ट्रियमा पराजित गरेको अन्तिम राष्ट्र नेदरल्याण्ड्स हो। र, लर्डसमा आइतबार नेपालविरुद्ध त्यसपछि खेल्दा नेदरल्याण्ड्स बदला लिने दाउँमा हुनेछ।
२०१५ मा नेदरल्याण्ड्स भम्रणमा रहेको नेपालले चारको टी–२० श्रृखंलामा सुरुवाती तीनमा पराजय भोगेको थियो भने अन्तिम एक खेल जितेको थियो।
‘लर्डसको खेलसँगै टी–२० अन्तर्राष्ट्रियको पनि हामीलाई व्यग्र प्रतिक्षा छ,’ पारस भन्छन्, ‘एमसीसी र नेदरल्याण्ड्सविरुद्ध राम्रो क्रिकेट खेल्दै उत्साहित सुरुवात गर्न चाहान्छौं।’
पहिलो एकदिवसीय अन्तराष्ट्रिय र संयोग
सन् २०१६ मा एमसीसीसँग लर्डसमा खेलेपछि नेपाल विश्व च्याम्पियन्ससिपको ‘अवे’ खेलका लागि नेदरल्याण्ड्स भम्रणमा निस्केको थियो। च्याम्पियन्ससिपमा भएका दुई एकदिवसीय मध्ये नेपालले एकमाजित र अर्कामा हार बेहोरेको थियो।
यसपटक पनि संयोग त्यस्तै जुरेको छ। नेपाल लर्डसमा खेलेसँगै पुनः दुईवटा एक दिवसीय खेल खेल्न नेदरल्याण्ड्स प्रस्थान गर्दैछ। फरक, उसबेला ती खेलहरुलाई ‘लिस्ट ए’ को मान्यता थियो भने यसपटक एक दिवसीय अन्तराष्ट्रियको मान्यता हुनेछ।
शक्तिको राष्ट‍्रिय टोलीबाट अन्तिम भ्रमण
त्रिकोणोत्मक सीरिज खेलेपछि नेपाल पहिलो एक दिवसीय अन्तराष्ट्रिय खेल खेल्न नेदरल्याण्ड्स प्रस्थान गर्नेछ। जुन नेपाली भेट्रान स्पिनर शक्ति गौचनको अन्तिम खेल हुनेछ। उनले यसअघि नै उक्त खेलपछि राष्ट्रिय टोलीबाट सन्यास लिने बताइसकेका छन्।
सन् २००१ मा १७ वर्षमुनीको राष्ट्रिय टोलीबाट नेपाली जर्सीमा क्रिकेट खेल्न थालेका उनले १७ वर्ष बढी अविरल रुपमा क्रिकेट खेले। यसक्रममा नेपालले डिभिजन पाँच, चार, हुँदै एकमा स्थान बनायो भने टी–२० विश्वकप खेल्नुका साथै एक दिवसीय अन्तराष्ट्रिय मान्यता पाएको थियो।
३४ वर्षिय गौचन नेपाली क्रिकेटको सफलताका सारथि हुन्। उनले नेपालबाट १ सय ९१ खेल खेलेका छन्। १८ वर्षिय उमेरमा उनले सिनियर टोलीबाट एसीसी ट्रफीमा जुलार्इ २००२ मा अोमनविरुद्ध डेब्यू गरेका थिए। 
शक्तिले नेपाली टोलीमा लामो योगदान दिएका छन्। अहिले राष्ट्रिय टोलीमा रहेका कप्तान पारस खड्का पनि उनीभन्दा २ वर्षपछिमात्रै सिनियर टोलीमा डेब्यू गरेका हुन्। पारसले मलेसियाविरुद्धको खेलमा २००४ मा राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए।
पछिल्ला दुर्इवर्षमा भने सन्दीप लामिछाने जस्ता यूवा स्पिनरहरु अाएपछि नेपाली टोलीमा पर्न शक्तिले संघर्ष गरिरहेका थिए। सुरुवाती एघारमा नपरेपनि उनी राष्ट्रिय टोलीमा भने कहिले छुटेनन्। 
बंगलादेशमा २०१४ मा भएको टी-२० विश्वकपमा नेपाललार्इ २ जित दिलाउन शक्तिले महत्वपूर्ण भूमिका खेलेका थिए। अाइसीसीको मुख्य ठूलो प्रतियोगिता खेलेको त्याे नेपालले एउटामात्रै हो।हङकङ(८० रनले नेपाल विजयी) विरुद्ध चार अोभरको स्पेलमा ९ रनमात्रै खर्चेर ३ विकेट लिएपछि उनी म्यान अफ द म्याच चुनिएका थिए। जसमा उनले बाबर हायातको विकेट लिएका थिए। यस्तै अफगानिस्तानविरुद्ध ९ रनको जित हात पार्दा खेलमा जित हात पार्दा उनले मोहम्मद नाबीको सहित २ विकेट लिएका थिए।
सन् २०१२ मा भएको विश्व क्रिकेट लिग डिभिजन चारमा नेपाल अपराजित रहँदै च्याम्पियन बन्दा शक्तिले सबैभन्दा उत्कृष्ट बलिङ गरेका थिए। सिंगापुरविरुद्ध शक्तिले ९ अोभरमा ४ अोभर मेडन राख्दै ८ रनमात्रै खर्चेर १ विकेट लिए। मलेसियाविरुद्ध उनले १० अोभरमा ८ अोभर मेडन राख्दै २ रनमात्रै खर्चिएर ३ विकेट लिएका थिए। यस्तै डेनमार्कविरुद्ध पनि उनले ७ अोभरमा १ अोभर मेडन राख्दै १२ रनमात्रै खर्चेर १ विकेट लिए।
उनको यही उत्कृष्ट प्रदर्शनबाट प्रेरित नेपाली टोलीले न्यूजिल्याण्डमा भएको २०१४ को विश्वकप क्वालिफायर खेल्नुका साथै २०१४ को टी-२० विश्वकप पनि खेलेको थियो।
लगत्तै बर्मुडामा भएको डिभिजन तीनमा इटालीले दिएको १ सय २९ रनको लक्ष्य पछ्याएको नेपाललार्इ जित्नै पर्ने खेलमा उनले उक्तृष्ट बलिङ (१०-२-१५-२) गर्दै खेल बराबरीमा टुंग्याएका थिए। त्यसका कारण यूएसएसँग रनरेटमा अघि रहँदै नेपाल विश्वकप क्वालिफायरमा छनोट भएको थियो।
शक्तिले राष्ट्रिय टोलीबाट शतक समेत प्रहार गरिसकेका छन्। २००५ को आइसीसी विश्वकप छनोटमा उनले इटालीविरुद्ध १ सय ३ बलमा १ सय ६ रन प्रहार गर्दै नेपालबाट अन्तराष्ट्रिय क्रिकेटमा शतक प्रहार गर्ने उनी दोस्रो खेलाडी बनेका थिए। तर, नेपाली टोलीबाट एक हजार रन पूरा गर्ने भने उनी पहिलो ब्याट्सम्यान हुन्।

No comments:

Post a Comment