Saturday 14 March 2020

नेपाली क्रिकेटको उतार चढाव

‘आठवर्ष अघि हामीले आइसीसी विश्व क्रिकेट लिग डिभिजन पाँच खेलेका थियौं र चारवर्षका लागि एक दिवसीय अन्तराष्ट्रिय(ओडिआई)को मान्यता पाएसँगै अाज हामी विश्वको उत्कृष्ट १६ राष्ट्रहरुमध्येका एक हौं।’
नेपाली सफलताको सवारीका कुशल चालक कप्तान पारस खड्काले बुधबार नेदरल्याण्ड्ससँग हुने पहिलो ओडिआई अघि दिएको प्रतिक्रिया हो यो। २२ वर्षअघि पहिलो आधिकारिक अन्तराष्ट्रिय प्रतियोगिता खेल्नु नेपाली क्रिकेटको पृष्ठभुमि थियो। तर पारसले भनेजस्तै यो आठ वर्षले नेपाली क्रिकेटकाे सफलताको कथा बुनेकाे छ।
पारसले थप्दै भनेका छन्, ‘हामी सँधै यही स्थानमा आउन चाहान्थ्यौं तर चुनौतीहरु उत्तिकै थपिदै गए।’
पारसको भनाईको अर्थ विवादमा नघेरिएको भए नेपाली क्रिकेटले अझै छिटो ओडिआई मान्यता प्राप्त गरिसक्थ्योे। मैदानबाहिर विवादका कारण पछाडि धकेलिदै गएको नेपाली क्रिकेटलाई मैदानभित्रबाट भने खेलाडीहरुले सधैँ अघि बढाई रहे। तिनै खेलाडीको बलबुता, दृढता, आत्मविश्वास, मेहनत अनि समर्पण नेपाली क्रिकेटको सफलताको दोस्रो नाम हो।
सन् १९२० को दशकमा नेपालमा राणाहरुले क्रिकेट भित्र्याएपनि सञ्चार र यातायातको विकाससँगै १९८० को दशकमा नेपालका विभिन्न स्थानहरुमा क्रिकेट खेल्न थालिएको थियो। सन् १९८८ मा आइसीसीको एफिलियट सदस्य बनेको नेपाल त्यसको ६ वर्षपछि आइसीसीको एसोसिएट सदस्य बन्दै पहिलो अन्तराष्ट्रिय आधिकारिक प्रतियोगिता खेलेको थियो।
त्यसयता नेपाली क्रिकेटले निकै उतारचढाव भोगेको छ। पछिल्लो एक दशकमा खेलाडीहरुले मैदानभित्रबाट हर्ष बाडिरहे भने मैदानबाहिरका गतिबिधि भने रोदनपूर्ण रहे।
उतार चढावको अटुट सिलसिला
सन् २०१० मा नेपालले काठमाडौंमा भएको डिभिजन पाँचको उपाधि उचाल्दै आइसीसीको मुख्य प्रतियोगिता जितेको थियो। राहुल विश्वकर्माले फाइनलमा अमेरिकाविरुद्ध ८.२ ओभरको स्पेलमा २ ओभर मेडन राख्दै ७ विकेट लिएर मात्रै १५ रन खर्चेपछि नेपालले ५ विकेटको जित निकालेको थियो।
सोही प्रतियोगितामा शरद भेषावकरले फिजीविरुद्ध शतक(१०५ रन) प्रहार गर्दै नेपाल अब नरोकिने संकेत गरिसकेका थिए। तर, अर्को वर्ष नेपाल क्रिकेट संघ (क्यान)मा भएको राजनैतिक हस्तक्षेपको परिणाम नेपाली क्रिकेटले अहिलेसम्म भोग्दैछ।
सन् २०११ मा आइसीसीको आवश्यकताअनुसार चुनाव गर्न नसकेको भन्दै लामो क्रिकेट अनुभव सँगालेका अध्यक्ष विनयराज पाण्डेलाई तत्कालिन नेकपा माओवादी सरकारले हटाउँदै क्यानको निर्वाचन घोषणा गर्यो। नयाँ कार्यसमितीको अध्यक्षमा उम्मेदवारी दिएका पूर्वकप्तान पवन अग्रवालले राजनैतिक हस्तक्षेप भएको भन्दै नाम फिर्ता लिएपछि तत्कालिन माओवादीका केन्द्रीय सदस्य टंक आङबुहाङ क्यानको अध्यक्षमा स्वतः चुनिए। त्यसपछि नेपाली क्रिकेट अनेक विवादमा फस्दै गयो।
यता, मैदानभित्रबाट भने नेपाली टोलीले सुखद समाचार दिइ नै रहे। परिणाम, २०१२ मा भएको डिभिजन चारको उपाधि उचाल्दै नेपाल डिभिजन तीनमा बढुवा भयो। प्रतियोगिताका उत्कृष्ट खेलाडी बसन्त रेग्मीले कुल २१ विकेट लिएका थिए।
टंक आङबुहाङ नेतृत्वले गरेको महत्वपूर्ण काममध्येको एक प्रशिक्षक पुबुदु दासानायकेको नियुक्ति हो। सुरुमा ६ महिनाका लागि मात्रै नियुक्ति पाएका दासानायकेले झन्डै चार वर्ष नेपाली टोलीसँग विताए। यस क्रममा नेपालले विश्व क्रिकेट मञ्चमा अविश्वसनीय सफलता हात पार्यो।
पुबुदुले नेपाललाई जिताएको पहिलो महत्वपूर्ण प्रतियोगिता २०१३ मा बर्मुडामा भएको डिभिजन तीन हो। जुन आश्चार्यचकित र अविश्वसनीय ढंगबाट आएको थियो। नेपाललाई प्रतियोगिताको दाबेदार मानिएको थियो तर सुरुवाती दुई खेलमा नेपालले अमेरिकासँग ९४ रनको र युगान्डासँग ६ विकेटको अप्रत्यासित हार बेहोर्र्यो।
अर्कातिर अमेरिका र युगान्डाले सुरुवाती तीन खेल जित्दै गज्जबको सुरुवात गरेका थिए। प्रतियोगिताका शीर्ष दुई टोली २०१५ को विश्वकप छनोट खेल्न पाउने भएकाले धेरैको अनुमान अमेरिका र युगान्डा विश्वकप छनोटमा पुग्छन् भन्ने थियो। तर, त्यसपछि जे भयो त्यसको कल्पना नेपालले पनि गरेको थिएन।
अन्तिम चरणका खेल बाँकी रहँदा चार खेलमा जित हात पार्दै युगान्डाले विश्वकप छनोटमा लगभग स्थान पक्का गरिसक्दा बाँकी एक स्थानका लागि ६ अंक रहेको अमेरिका तथा समान ४–४ अंक रहेका नेपाल र बर्मुडा प्रतिस्पर्धामा थिए।
अन्तिम खेलमा बर्मुडालाई पराजित गरे युगान्डासँगै अमेरिका विश्वकप छनोटमा पुग्ने निश्चित थियो। तर, नेपाल पुग्न भने आफ्नो अन्तिम खेलमा इटालीलाई फराकिलो अन्तरले पराजित गर्नुका साथै अमेरिका बर्मुडासँग पराजित हुनुपथ्र्यो र भइदियो पनि त्यस्तै।
इटालीले पूरै ५० ओभर खेल्दै दिएको १ सय २८ रनको लक्ष्य नेपालले १४.२ ओभरमा २ विकेटमात्रै गुमाएर भेटाइदियो। उता, बर्मुडाले अमेरिकालाई ५ विकेटले पराजित गरेपछि नेपाल रनरेटका आधारमा विश्वकप छनोटमा पुग्यो। तर, विश्वकप छनोटमा भने नेपालले गतिलो प्रदर्शन गर्न सकेन्। समूहको पुछारमा रहेको नेपाल पुनः डिभिजन तीनमै फर्कियो।
अर्कोवर्ष भने यूएईमा भएको को टी–२० विश्वकप छनोटमा नेपाल तेस्रो स्थानमा रहँदै पहिलोपटक टी–२० विश्वकप खेल्न योग्य भयो। हङकङविरुद्ध अन्तिम बलमा विजयी रन बटुल्दै नेपाल २०१४ मा बंगलादेशमा हुने विश्वकपमा छनोट भएको थियो।
खेलमा ४६ रन जाड्नुका साथै एक विकेट लिदैँ म्यान अफ द म्याच चुनिएका कप्तान पारस खड्कालाई त्यस खेलको मिति समेत अहिलेसम्म याद छ।
उनी भन्छन्, ‘क्रिकेट करिअरकै सबैभन्दा खुशीको दिन थियो, २७ नोभेम्बर, २०१३। त्यसदिन हामीले अन्तिम बलमा हङकङलाई पराजित गर्दै बंगलादेशमा २०१४ मा भएको टी–२० विश्वकपमा स्थान बनाएका थियौं। त्यो क्षणहरु सम्झदा अहिले पनि म भावुक हुन्छु। हामीले देखेको एउटा सपना(विश्वकप खेल्ने) हाम्रै अघिल्तिर थियो।’
नेपालले सन् २०१४ को टी–२० विश्वकपमा हङकङ र अफगानिस्तानलाई पराजित गर्दै सनसनी मच्चाएपनि घर फर्कर्न नपाउँदै पुनः अर्को विवादमा फस्यो। यसपटक कप्तान पारस खड्कासहितका सम्पूर्ण नेपाली टोलीका सदस्यले घरेलु प्रतियोगिता बहिष्कार गर्ने सामुहिक निर्णय गरेका थिए। संघविरुद्ध खेलाडीहरु उभिएको यस्ता खाले घटनाहरु विश्वमा दुर्लभै हुन्छन्।
तर, उनीहरुको माग घरेलु संरचना सुदृढ बनोस र देशका लागि खेल्ने खेलाडीहरुको उचित व्यवस्थापन होस् भन्ने थियो। जायज मागहरु भएकाले धेरैले उनीहरुको समर्थन गरेभने कतिपयाले जुन संघको मातहातमा रह्यो त्यसकै विरुद्ध राजनीति गर्न खोजेको भन्दै प्रतिबन्ध लगाउनुपर्ने आवाज पनि उठाएका थिए।
कप्तान पारसले पछि विभिन्न कार्यक्रमहरुमा आफूहरुले नेपाली क्रिकेटको विकासमात्रै चाहेको र आफूहरुले उदेश्य राजनिती गर्नु नभएको भन्दै आलोचकलाई जवाफ फर्काएका थिए।
घटना त्यतिमै मात्रै साम्य भएन्। त्यतिबेला खेलाडीहरुकै उजुरीका आधारमा अख्तियारमा क्यानका पदाधिकारीहरुविरुद्ध भ्रष्टाचारको मुद्दा दायर समेत दायर भयो। फलस्वरुप अध्यक्ष आङबुहाङसहितका पदाधिकारीले नैतिकताको आधारमा पद छाडे। पछि उनीहरुलाई अदालतले सफाई दिएको थियो।
यता, आङबुहाङको कार्यसमितीको कार्यकाल सकिएको भन्दै चतुरबहादुर चन्दको पक्षले नयाँ निर्वाचन गर्न खोज्यो। तर, राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले मान्यता दिएन्। राखेपले मान्यता नदिएपनि चन्द पक्षले मध्यराति अधिवेशन गर्दै अध्यक्षमा चन्द र महासचिवमा अशोकनाथ प्याकुरेललाई निर्वाचित गरायो।
त्यसलाई राखेपले मान्यता दिएन र रमेश सिलवालको नेतृत्वमा तदर्थ समिति बनायो। त्यसविरुद्ध निर्वाचित भनिएको चन्द नेतृत्वको क्यान अदालत गयो। जुन मुद्दा अहिलेपनि विचाराधिन छ।
त्यसपछि नेपाली क्रिकेटमाथि अर्को ठूलो संकट आइलाग्यो। आइसीसीले क्यानको व्यवस्थापन सुधार्न पनि त्यसअघि देखि नै अनुदान रोक्का गर्दै आएको थियो। यहीबेला सरकारको हस्तक्षेपको कारण देखाउँदै आइसीसीले पनि क्यानलाई २०१६ को अप्रिलमा प्रतिबन्ध लगायो, जुन हालसम्म पनि कायमै छ।
संघलाई प्रतिबन्ध लगाएपनि आइसीसीले नेपाली टोलीलाई भने अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न रोकेन्। आइसीसीले आफ्नै निगरानीमा नेपाललाई अन्तराष्ट्रिय प्रतियोगिता खेलाउन थाल्यो।
यहीबीच नेपालले २०१५–१७ को विश्व क्रिकेट लिग च्याम्पियन्ससिप खेल्यो। घरेलु संघबिनै ‘टुहुरो’ नेपाली टोलीले अपेक्षा अनुरुप प्रदर्शन गर्न सकेन र आठ टोली सहभागि च्याम्पियन्ससिपको सातौं रहँदै पुनः डिभिजन दुईमा झर्यो।
यसैवर्षको फ्रेब्रुअरीमा नामिबियामा डिभिजन दुई थियो। जहाँबाट नेपाल उपविजेता बन्दै मार्चमा जिम्बाबेमा हुने एकदिवसीय विश्वकप छनोटमा प्रवेश गर्यो। विश्वकप छनोटमा पनि आठौं बन्दै नेपालले एकदिवसीय अन्तराष्ट्रियको ऐतिहासिक उपलब्धि हासिल गर्यो र आज नेपाल इतिहासमै पहिलोपटक एकदिवसीय क्लबमा प्रवेश गर्दैछ।
यता, नेपाली क्रिकेटले सफलता हात पार्दै गएपछि आइसीसीले नेपाली विवाद समाधान गर्दै क्यानको नयाँ विधान बनाउने भन्दै सल्लाहकार समिती गठन गरेको थियो। पूर्वअध्यक्ष विनयराज पाण्डेको नेतृत्वको उक्त सल्लाहकार समितीले बनाएको विधान सुरुमा अघिल्लोवर्ष भदौमा भएको क्यानको साधारणसभाले संशोधनसहित पारी गरेको थियो।
तर, आइसीसीले त्यसलाई मान्यता दिएन र पुनः गत बैशाख ६ गते काठमाडौंमा भएको क्यानको अर्को साधारण सभाले सल्लाहकार समितीले बनाएको विधान हुबहु पारित गर्यो। अब उक्त विधान अनुरुप जिल्ला तथा संघीय संरचनाका समस्याहरु, केन्द्रीय निर्वाचन लगायतका कार्यहरु थाँती छन्। उक्त कार्यहरु जति छिटो सके आइसीसीले प्रतिबन्ध फुकुवा गर्ने जनाईसकेको छ। त्यसैले क्यानका पदाधिकारीहरुले जतिसक्दो चाडो थाँती कामहरु पूरा गरि नेपाली ओडिआई मान्यतालाई दिगो बनाउन लाग्न आवश्यक भैसकेको छ।
कप्तान पारस खड्का भने पछिल्लो समयमा मैदानभित्र र बाहिर दुबैका प्रगतिबाट उत्साहित छन्। उनी भन्छन्, ‘हामी अहिलेदेखि नै सन् २०२३ को विश्वकप छनोट चरण बारे सोच्न थालिसकेका छौं। त्यो हाम्रा लागि विश्वकप खेल्ने राम्रो अवसर हुनसक्छ। सरकार पनि नेपालमा क्रिकेट विकासका लागि सकरात्मक देखिएको छ। आशा, गरौं हामीसँग छिट्टै संघपनि हुनेछ। यदि हामीले सबै स्रोत साधन एकसाथ पाउने हो भने आगामी दिनमा नेपाली क्रिकेटको भविष्य उज्वल छ।’
    प्रकाशित १६ साउन २०७५, बुधबार | 2018-08-01 11:48:00

    No comments:

    Post a Comment