Saturday 14 March 2020

तातोपानी नाका सञ्चालनका लागि तयार

ठाँउ ठाउँमा डोजर, एक्साभेटर र निर्माण सामाग्री अनि काममा व्यस्त नेपाली र चिनियाँ कामदारहरु।
नेपाल—चीनबीचको पहिलो आधुनिक सीमा नाका तातोपानीसम्म पुग्दा ठाउँ–ठाउँमा यस्ता दृश्य दोहोरिन्छन्।
तातोपानी नाका खुलाउन मुख्य ३ संरचनागत चुनौती थिए, सडक पुनःनिर्माण, पुल तथा सुख्खा बन्दरगाह। यी मध्ये सुख्खा बन्दरगाह निर्माण कार्य पूरा भइसकेको छ। जुरे–बाह्रबिसे–तातोपानी खण्ड निर्माण अन्तिम चरणमा छ। पुलहरुको निर्माण पूरा हुन केही मात्र बाँकी छ।
नाकास्थित मितेरी पुल र सडक पुनःनिर्माणको काम पूरा हुनैलाग्दा तातोपानी नाका सञ्चालनको मिति नजिक आइरहेको छ।
काठमाडौंदेखि जुरेसम्म अरनिको राजमार्गको ८४ किलोमिटर सडक अहिले सञ्चालनमै छ। यहाँ सजिलै चारपांग्रे गाडी गुड्छन्। बाह्रबिसेदेखि बेसरीसम्म नेपाल र बेसरीदेखि तातोपानी नाका रहेको लिपिङ बजारसम्म झण्डै ९ किलोमिटर सडकमा चीनको सहयोगमा निर्माण भइरहेको छ। सबैभन्दा चुनौतीपूर्ण मानिएको उक्त क्षेत्रमा सडक, पुल, नदी कटान नियन्त्रणसहितको काम तीब्र रुपमा भइरहेका छन्।
बन्दरगाह प्रवेशका लागि निर्माण गरिएको भोटेकोशी पुल
बन्दरगाह प्रवेशका लागि निर्माण गरिएको भोटेकोशी पुल
अचम्म लाग्दो परिवर्तन
२०७२ वैशाखको विनाशकारी भुकम्प र २०७३ को बाढीले तातोपानीको भन्सार, अध्यागमन लगायतका सरकारी कार्यालय रहेको लिपिङ बजार तहसनहस बनायो। तिब्बती हिमताल फुटेर आएको बाढीले ३० भन्दा बढी घर बगायो। राजमार्ग क्षतविक्षत बनाएर भोटोकोशीतिरै तान्यो। सो क्षेत्रका धेरै घर ध्वस्त भए। हजारौं मानिसहरु विस्थापित भए।
तर पछिल्लो तीन महिनायता यो क्षेत्रमा भएको परिवर्तन रोमाञ्चक छ। यो परिवर्तन अचम्मलाग्दो भएको स्थानीय बताउँछन्। चीनको रेल्वे कन्स्ट्रक्सन ग्रुप कम्पनी (सीआरसीसी) ले लिपिङदेखि बेसरी सडकको निर्माण गर्दै गाडी गुड्ने सडक बनाइसकेको छ। अहिले सजिलै चारपांग्रे सवारी साधन पुरानो भान्सार नाकासम्मै पुग्न सक्छन्।
भोटेकोशी गाउँपालिकाको वडा नम्बर २ मा पर्ने तातोपानी बजारमा फाट्टफुट्ट पसल खुल्न थालेका छन्। वडाअध्यक्ष दीपेन्द्र श्रेष्ठ नाका खोल्ने कार्यले तीब्रता पाइरहेको अनुभव गरेका छन्।
तातोपानीको स्वगातद्वार
तातोपानीको स्वगातद्वार
‘मैले दैनिक रुपमा यहाँ भइरहेको कार्य र सीमाको मितेरी पुल बनिरहेको हेर्दा डेढ दुई महिनायता धेरै छिटाछिटो काम भएको महसुस गरेको छु। बाटो र बन्दरगाहको निर्माण कार्य सकिएकाले नाका खुल्नेमा शंकै छैन्’, उनी भन्छन्।
राजमार्गबाहेक चिनियाँ कम्पनीले लार्चामा सुख्खा बन्दरगाह निर्माण तथा भोटेकोशीमाथि पुल निर्माणको कार्य पूरा गरेको छ। मितेरी पुल निर्माणको काम ८० प्रतिशत सकिएको छ।
सरकारले जेठ १७ देखि नाका खोल्ने बताइरहँदा जेठ १ गते सिन्धुपाल्चोककी प्रमुख जिल्ला अधिकारी तातोपानी नाका निरीक्षणमा पुगेकी थिइन्। उनले चिनियाँ अधिकारीहरुसँग पछिल्लो अपडेट लिइन्।
‘चिनियाँ निर्माण पक्षले मितेरी पुल २ हप्तामा हस्तान्तरण गर्ने बताएका छन्,’ नेपालखबरसँग कुरा गर्दै उनले भनिन्, ‘त्यसका लागि उनीहरुले कामलाई तीब्रता दिएको पायौं। मितेरी पुल तयार हुनासाथ नाका सञ्चालनमा आउँछ।’
बनिसक्यो बन्दरगाह
चीनले नाकाभन्दा ६ किलोमिटर वर लार्चामा आधुनिक सुख्खा बन्दरगाह निर्माणको काम सम्पन्न गरेको छ। भोटेकोशी नदी छेउबाटै उठाइएको बन्दरगाहमा भन्सार कार्यालय, पशु र कृषि क्वारेन्टाइन, गोदाम घर, जाँचपास यार्ड, चेक पोष्ट, बैंक र आवाससहितको संरचना तयार भएको छ।
२०१८ मेमा काम थालेको चिनियाँ कम्पनी सीआरसीसीले अघिल्लो महिना काम सक्ने जिम्मेवारी पाएको थियो। निर्धारित समयमा उसले काम पूरा गरेको हो। बन्दरगाहमा २ सय ५० ट्रकहरु अटाउन सक्छन्।
निर्माण सकिएको सुक्खा बन्दरगाह जसमा २५० ट्रक पार्क गर्न सकिन्छ
निर्माण सकिएको सुक्खा बन्दरगाह जसमा २५० ट्रक पार्क गर्न सकिन्छ
१४ करोड ७० हजार यूआन लागत रहेको बन्दरगाह पनि मितेरी पुलसँगै हस्तान्तरण गर्ने चीनको तयारी छ। जेठभित्रै हस्तान्तरण हुने गरी आन्तरिक तयारी थालिएको उद्योग तथा वाणिज्य मन्त्रालयका प्रवक्ता तथा सहसचिव नवराज ढकालले बताउँछन्।
‘छिटै नै नाका खोल्नेमा हामी अघि बढेका छौं,’ उनले नेपालखबरसँग भने, ‘जेठ महिनामा हस्तान्तरण गर्न प्रक्रिया अघि बढेको छ। कागजात, सम्झौताअनुसार निर्माण भएको चेकजाँच नेपाल र चिनियाँ दुवै पक्षले गरिरहेका छौं।’
भिडियो:
बन्दरगाह हस्तान्तरण भएको पहिलो दिनबाटै कर्मचारी खटाउने तयारी भान्सारले गरेको छ। भन्सार विभागकी उपमहानिर्देशक मनमायाँ भट्टराई पंगेनीका अनुसार अहिले बन्दरगाहमा नेटवर्किङको काम भइरहेको छ।
‘विद्युत् आपूर्ति, नेटवर्किङको काम भइरहेको छ। कर्मचारी व्यवस्थापनका लागि हामी तयारी अवस्थामा छौं,’ उनले नेपालखबरसँग भनिन्, ‘जुन दिन सञ्चालन हुन्छ। त्यही दिनबाट काम थाल्न हामी तयारी अवस्थामा छौं।’
लार्चा सुक्खा बन्दरगाका लागि कम्तिमा १२ जना कर्मचारी आवश्यक पर्ने प्रतिवेदन भन्सार विभागमा पेश भएको थियो। सरकारले १५ जनाको दरबन्दी सो भन्सार कार्यालयका लागि तोकेको उनले जानकारी दिइन्। सो भन्सारको नेतृत्व उपसचिवले गर्नेछन्।
नेपाली काम सुस्त
राजमार्गको बन्देउदेखि कोठे–जुरे–बाह्रबिसे हुँदै चीनले बनाइदिने बेसरीसम्मको झण्डै ३५ किलोमिटर सडक स्तरोन्नती, पुल, नदी कटान नियन्त्रण लगायतका कार्य सडक विभाग अन्तर्गत डिभिजन सडक कार्यालय चरिकोटले गरिरहेको छ।
नेपाली पक्षको सुस्तता: जुरेमा सडक बनाउँदै कामदार
नेपाली पक्षको सुस्तता: जुरेमा सडक बनाउँदै कामदार
४० करोडको लागतमा भइरहेको काम भने सुस्त छ। ‘हालसम्म ६० प्रतिशत काम सकिएको छ। बाँकी काम जेठ मसान्तसम्म सक्ने योजना छ’, सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख धर्मेन्द्र झा भन्छन्। जेठपछि बर्खा लाग्ने भएकाले त्योभन्दा अगाडि नै काम सक्न काम भइरहेको उनले बताए।
गएको चैतमासडक डिभिजन कार्यालयले यस क्षेत्रमा काम थालेको हो। त्यसयता खाँडीचौरदेखि बेसरी खण्डको ५ किलोमिटर क्षेत्रमा नयाँ पिच र १० किलोमिटर क्षेत्रमा स्तरोन्नती सकिएको छ। पहिरोको मुख्य जोखिममा रहेको जिरेमा तारजाली लगाउने काम जारी छ। जुरे अघि बाह्रबिसे नआइपुग्दासम्मको सडकमा कालोपत्रे हाल्ने काम भइरहेको छ। 
अन्तिम चरणमा पुगेको मितेरी पुल जसको निर्माण राती समेत भइरहेको छ।
अन्तिम चरणमा पुगेको मितेरी पुल जसको निर्माण राती समेत भइरहेको छ।
बाह्रबिसेसँगै रहेको साँधी खोलामा बेलिब्रिज हाल्ने काम सकिसकिएको छ। त्योभन्दा अगाडि लार्चासम्मको सडक पीच भत्किएको, बिग्रिएको अवस्थामा छ।
‘अहिले चलिरहेको काम जेठ अन्तिमसम्म सकिन्छ,’ झाले नेपालखबरसँग भने, ‘त्यसपछि भने वर्षा लाग्ने भएकाले यस क्षेत्रमा काम गर्न सकिँदैन। अहिलेपनि तातोपानी नाकासम्म गाडी चलिरहेकाले मितेरी पुल सकिने वित्तिकै नाका सञ्चालन हुनसक्छ।’
२०७२ बैशाखको विनाशकारी भूकम्पले तातोपानी बजार तहसनहस बनाएपछि उत्तरी छिमेकी चीनसँगको यो नाका बन्द भएको थियो।

No comments:

Post a Comment