Saturday 14 March 2020

भीम सार्की उर्फ जोन्टी: फिल्डिङ स्टारको संघर्ष

अघिल्लो साता धनगढी प्रिमियर लिगको लिग चरणमा विराटनगर किंग्सका विदेशी खेलाडी असाद उल्लाह खान पठान क्रिजमा आए लगत्तै आक्रामक देखिए।
चौथो ओभरको चौथो बलमा छक्का प्रहार गरेका उनले पाँचौं ओभरको दोस्रो बलमा छक्का प्रहार गरे। दोस्रो छक्का प्रहार गरेको दुईबल पछि पुनः उनले ठूलो सट खेले। बलले डीप स्क्वायरको दिशा लियो।क्याच समात्न हावामा डाइभ गर्दै भीम सार्की
आफ्नोतिर बल आइरहेको देखेपछि रुपेन्देही च्यालेन्जर्सका भीम सार्कीले दौडिदै हावामा लामो छलाङ लगाएर अविश्वसनीय क्याच समाते। भीमको उक्त दर्शनीय क्याचको स्टाण्डमा रहेका दर्शकहरुले पनि ताली बजाउँदै सम्मान दर्शाए भने खेलाडीहरुले समेत उनलाई बधाई दिए।
उक्त क्याचको भिडियो एकाएक भाइरल बन्यो। क्रिकेटमा फिल्डिङका बादशाहका रुपमा चिनिने दक्षिण अफ्रिकाका महान क्रिकेटर जोन्टी रोड्सदेखि नेपाली कप्तान पारस खड्काले समेत भीमको प्रशंसा गरे।
‘नेपाली जोन्टी’ उपनामले चिनिने भीमले फिल्डिङमा देखाएको यो एउटा मात्रै थियो। डीपीएलमै पनि उनले फिल्डिङमा आफ्नो फुर्तिलोपना थुप्रैपटक देखाए। डीपीएलमात्रै हैन, जहाँ पनि उनी खेल्छन्, हरेक खेलमा उनको फिल्डिङको तारिफ हुन्छ। त्यसैले उनी बनेका छन्, नेपाली फिल्डिङ स्टार।
भीम स्वयम पनि क्रिकेट खेलाडीले फिल्डिङलाई फोकस गर्नुपर्ने मान्छन्। उनी भन्छन्,‘ब्याटिङमा तपाई छिट्टै आउट भएर पवेलियन फर्कन सक्नुहुन्छ। तर फिल्डिङ पूरै खेलभरि नै गर्नुपर्छ। त्यसैेले म खेलाडीले अभ्यासका क्रममा फिल्डिङ समेत बढी ध्यान दिनुपर्ने मान्छु।’
क्रिकेट भनेकै फिल्डिङ
भीम कञ्चनपुरबाट उदाएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कान्छा खेलाडी हुन्। अघिल्लो महिनामात्रै नेपालले यूएईविरुद्ध खेलेको टि–२० र एकदिवसीय शृंखलामा उनी पहिलोपटक नेपाली टोलीमा परेका थिए।
कञ्चनपुरको महेन्द्रनगर (हाल भीमदत्तनगर)मा क्रिकेट सिक्ने दुई विकल्प थिए, एउटा कभर्ड हलमा निःशुल्क अभ्यास गर्ने अर्को एकेडेमीमा पैसा तिरेर सिक्ने। मध्यम वर्गीय पारिवारले पैसा दिएर क्रिकेट सिकाउँन सक्दैन भनेर बुझेका भीमले कभर्ड हलमा विस्तारै बल र ब्याट समाउन सिके।
उनी एकेडेमी पनि गएका थिए। कञ्चनपुरमा दुईवटा एकेडेमी थिए। एउटा एकेडेमीमा जुनियरहरु अभ्यास गर्थे भने अर्कोमा खुलामञ्चमा रहेको अर्कोमा चन्द्र सावद(पूर्व राष्ट्रिय खेलाडी) लगायतका सिनियर खेलाडीहरु अभ्यास गर्थे।
भीमले एकदिन जुनियरहरु अभ्यास गर्ने एकेडेमीमा गएर यहाँ खेल्न के गर्नुपर्छ? भनी सोधेँ। उल्टो प्रश्न आयो, ‘बुबा के गर्नुहुन्छ?’ ‘केही नाई सामान्य घरको काम।’ भीमको जवाफ पछि उनलाई भनियो, ‘क्रिकेट महँगो खेल हो तिमी अफोर्ड गर्न सक्दैनौ।’
उनलाई कुरा ठिक पनि लाग्यो। हजारौं रुपैयाँ पर्ने किटब्याग किनेर छोरालाई एकेडेमी पठाउने क्षमता उनको परिवारको थिएन। उनले एकेडेमीमा भर्ना हुने सोच त्यादै सिनियरहरुले खेलेको हेरेर बस्न थाले।
भीम सार्की
भीम सार्की
एक दिन चन्द्र लगायतका खेलाडीहरु अभ्यास गरिरहेका थिए। उनीहरुले हिर्काएको बल भीमका नजिकै आयो। चन्द्रले उनलाई बल फाल्न भने। भीमले बल फाले। सिनियरहरुलाई बल रोक्ने फिल्डरको आवश्यकता रहेछ र चन्द्रले भीमलाई सोधे, ‘क्रिकेट खेल्ने हो?’
‘हुन्छ।’ त्यति जवाफ दिए।
‘त्यसो भए भने भोलीदेखि जुत्ता र ट्राउजर जे भए पनि लगाएर आउँनु। पैसा पर्दैन।’ चन्द्रले भने।
‘चन्द्र दाईले पैसा पर्दैन भनेर एकेडेमी त बोलाउँनु भयो। तर मसँग स्पोर्टस सुज पनि थिएन’, भीम सुरुवाती दिन सम्झन्छन्, ‘सरकारी स्कुलमा पढ्थेँ। स्कुलको सेतो जुत्ता थियो। त्यसैलाई स्पोर्टस सुज बनाएर नियमित एकेडेमी जान थाले।’
एकेडेमीमा भीमजस्ता नवप्रवेशीहरुलाई सुरुमा क्रिकेट भनेकै फिल्डिङ हुन्थ्यो। सिनियर दाईहरु ब्याटिङ गर्थे। भीमहरुले ज्यादा समय फिल्डिङ र बलिङ मै बिताउँनु पथ्र्यो। त्यही नियमितको अभ्यासले उनी बल समात्न चुस्त हुँदै गए।
‘एकेडेमीमा नेटवाला विकेट नभएर खुल्ला विकेट थियो,’ फिल्डिङ राम्रो हुनुबारे उनी भन्छन्, ‘विकेटमा सबैको ब्याटिङको पालो भने आउँदैन थ्यो। हामी अधिकांश समय फिल्डिङमै बिताउथ्यौं। त्यसैले त्यहाँका सबै प्लेयरहरुको फिल्डिङ राम्रो छ। प्रदीप(ऐरी) दाई, दीपेन्द्र ऐरी, विनोद भण्डारी दाई अनि सन्दीप जोरा सबै फिल्डिङमा चुस्त छन्।’
भीमलाई एकेडेमीमा मौका दिने चन्द्रले पछि फिल्डिङमा सधैँ चुस्त हुने उनको नाम जोन्टी राखीदिए। भीमलाई भने जोन्टी भनेको को हो? भन्ने नै थाहा थिएन। पछि चन्द्रले आफै बताए, जोन्टी दक्षिण अफ्रिकाका ती महान खेलाडी हुन, जसले क्रिकेटको फिल्डिङमा क्रान्ति ल्याए।
एकेडेमीमा पूरानो हुदैँ गएपछि ब्याटिङ, बलिङमा पनि पालो आउन थाल्यो। वीरेन्द्र शाही लगायतका गुरुहरुको छत्रछायाँमा उनी विभिन्न प्रतियोगितामा पनि सहभागिता जनाउँन थाले।
बोर्ड परीक्षा छोडेर प्रतियोगिता
कक्षा ८ मा पढ्दा भीम १६ वर्षमुनिको क्षेत्रीय टोलीमा पर्न सफल भए। त्यहीवर्ष काठमाडौंमा राष्ट्रिय प्रतियोगिता थियो। त्यही समय महेन्द्रनगरमा भीमको बोर्ड परीक्षा थियो। दुई मध्ये भीमलाई एक रोज्नु पर्ने भयाे। उनले क्रिकेट रोजे। भीमले आफ्नो क्रिकेट रोज्ने निर्णयलाई सही सावित समेत गरे। भीमको प्रेरणादायी प्रदर्शनको मद्दतमा आठ वर्षपछि क्षेत्रनम्बर ९ ले १६ वर्ष मुनिको राष्ट्रिय प्रतियोगिताको उपाधि जित्यो, भीम वेस्ट बलर घोषित भए।
वेस्ट बलर भनेपछि पत्रिमा नाम आयो। परिवारका सदस्य खुशी भए। साथीभाईले बधाई दिए। कलिलो भीमको मन त्यसले लोभियो। अनि उनलाई लाग्यो, अब क्रिकेट नै मेरो जिन्दगी हो। बोर्डको तीनवटा परिक्षा दिएर उनी काठमाडौं हुँइकिएका थिए। बाँकी परिक्षा दिन नपाएपछि पुनः कक्षा ८ नै दोहोर्याउनुपर्ने भयो। पढाईका कहिले फस्ट, कहिले सेकेन्ड ब्वाइ भीमलाई आफूभन्दा कमजोर विधार्थी माथिल्लो लेभलमा पुगेको र आफूले पुनः आठमै दोहोर्याउनुपर्ने भनेपछि पढ्नै मन लागेन। पढाई छाडेर पूरै क्रिकेटमा दिन थाले।
‘पछि क्रिकेटमा राम्रो गर्दै गएपछि विभिन्न स्कुलले निःशुल्क भर्ना हुन बोलाए’, अहिले महेन्द्रनगरमै कक्षा १२ मा निःशुल्क अध्ययन गरिरहेका भीमले भने।
क्रिकेट महँगो खेल हो। मध्यमवर्गीय परिवारबाट आएका उनीसँग आवश्यक सामानहरु समेत थिएन् तर उनको क्षमता बुझेका सिनियरहरुले भने उनलाई सक्दो सहयोग गरे।
‘क्रिकेट किट त मैले अघिल्लो वर्ष यू–१९ मा परेपछि मात्रै किनेको हुँ,’ भावुक हुदैँ भीमले भने, ‘त्यसअघि त किन्ने पैसै हुन्थेन्। पहिलोपटक मलाई ललितसिंह भण्डारी (राष्ट्रिय टोलीका बलर)दाईले प्याड दिए। त्यो प्याड सम्हालेर मैले धेरैवर्ष चलाएँ। पछि विनोद भण्डारी(राष्ट्रिय टोलीका सदस्य)ले ग्लब्स, प्याडहरु लगायत समान दिए। पहिलो राष्ट्रिय प्रतियोगिता खेल्दा दीपेन्द्र चन्दको झण्डै नौं सय पर्ने ब्याटले खेलेका थियौं।’
ऐतिहासिक जितका सहयात्री
भीम यू–१९ टोली र सिनियर गरी दुबै टोलीमा पहिलोपटक पर्दा पहिलोपटक नै ऐतिहासिक जितको सहयात्री रहे।
गतवर्ष पहिलोपटक उनी नेपाली यू–१९ टोलीमा परेका थिए। सो टोलीले खेलेको एसिसी यू–१९ एसिया कपमा नेपालले भारतलाई १९ रनले पराजित गर्दै ऐतिहासिक जित हात पारेको थियो।
त्यो जित कुन अर्थमा ऐतिहासिक थियो भने त्यसअघि नेपालले कुनै पनि स्तरमा भारतलाई कहिल्यै पराजित गर्न सकेको थिएन। तर, भीमसहितको टोलीले राहुल द्रविडको प्रशिक्षकत्वमा रहेको तत्कालिन भारतीय टोलीलाई पराजित गर्दै इतिहास रच्यो।
‘राम्रो टिमलाई पराजित गर्दा खुशी नै लाग्छ,’ भारतलाई हराउँदाको पल भीम सम्झन्छन्, ‘राम्रा टोलीलाई हराएपछि त्यसले टिमको माहौल नै फरक हुन्छ। आत्मविश्वास पनि बढ्छ। हामी खुशी थियौं। हामीसँगै पूरै नेपाल खुशी थियो।’
अघिल्लो महिनामात्रै यूएईविरुद्धको शृंखलाका लागि सिनियर टोलीमा परेका भीम अर्को ऐतिहासिक जितको सहयात्री बने। भीमसहितको नेपाली टोलीले यूएईविरुद्धको एकदिवसीय र टि–२० शृंखला २–१ले आफ्नो पक्षमा पारेको थियो।
विश्वकपको सपना
नेपालले अब २०२० मा अस्ट्रेलियामा हुने टि–२० विश्वकप छनोट खेल्दैछ। यद्यपि छनोटको खेल तालिका भने सार्वजनिक भैसकेको छैन तर भीमसँगै नेपाली टोलीका सदस्यले ६ वर्षपछि पुनः विश्वकप खेल्ने सपना देखिसकेका छन्।
‘हामी सबैको सपना विश्वकप खेल्नेछ,’ नेपालले २०१४ मा टि–२० विश्वकप खेल्दा भर्खरै बलब्याटसँग भिज्न थालेका भीम भन्छन्, ‘अहिले हामी सबैको ध्यान त्यसैमा छ। अब हामीले विश्वकप लगायत माथिल्लो लेभलको प्रतियोगिताहरु खेल्नुपर्छ त्यसैका लागि सबैले मेहनत गरिरहेका छौं।’
    प्रकाशित १९ फागुन २०७५, आइतबार | 2019-03-03 12:26:05

    No comments:

    Post a Comment