यज्ञराज जोशी। बाल्यकालदेखि झण्डै डेढ दशक भारतका विभिन्न ठाउँमा मजदुरी गरेर जोडेको नेपालगञ्जस्थित एक कठ्ठा ऐलानी जग्गामा बनाएको सानो दुईकोठे घरमा अधबैंशे झक्कड थापा रेडियो सुनिरहेका थिए।
रेडियोले फुक्यो, ‘तपाईंसँग प्रतिभा छ भने तपाईंका लागि सुवर्ण अवसर छ, नेपाल आइडलको नेपालगञ्ज अडिशन भोलि हुँदैछ।’
एक राष्ट्रिय टेलिभिजनले देशभरि गिती ‘रियालिटी’ कार्यक्रम ‘नेपाल आइडल’ आयोजना गर्दै थियो। अन्तर्राष्ट्रिय फ्रेन्चाइजी उक्त कार्यक्रमको अडिशन २०७३ फाल्गुनमा नेपालगञ्जमा थियो।
दैलेखबाट नेपालगञ्ज झरेका झक्कड सानो हुँदा गाउँमा खुब देउसी भैलो खेल्थे। आफै भट्याउँथे। मादल ठोक्थे। तिरिरि मुरुली बजाउँथे। भारतमा नंग्रा तिखार्दा तिखार्दै खिइएका उनलाई लाग्यो– घर नजिकै अवसर आएको छ। म पनि आफूसँग भएको प्रतिभा देखाउँछु। केही अवसर पो मिलिहाल्छ कि।
‘मेरो घर र अडिशनको दूरी सात किलोमिटर थियो,’ डेढ वर्षअघिको अडिशन, जसले झक्कडलाई धेरैसँग परिचित गरायो, त्यसदिनको स्मरण गर्दै उनले भने, ‘फाल्गुनको महिना, नेपालगञ्जको गर्मीमा पनि साइकल चढेरै सात किलोमिटर हिंडे। दैलेखी भाकामा स्वर आउँछ त्यो गाउनुपर्ला भन्ने सोचेको थिएँ।’
अडिशनस्थलको माहौल पूरै संगीतमय थियो। सबैजना गुनगुनाइरहेका थिए। सबै अभ्यासमा व्यस्त थिए। आ–आफ्नो पालो पर्खिएरहेका थिए। त्यही भिडमा मिसिए झक्कड। र, गाउन थाले दैलेखी भाका।
राति १ बजे पालो आयो। उनले ‘धासु’ इन्ट्रि मारे। ‘उध्रेको चोलीको खुकुलो तुना छ…’ बोलको गीतसँगै हात हल्लाएर निर्णायक (जज) हरु सामु झक्कड भुल्किए। जानीनजानी दुबै हात हल्लाएर नाच्दै गाउनु पछि उनको ‘ट्रेडमार्क’ नै बन्यो। उनको इन्ट्रिमा नै टेलिभिजन हेरिरहेका धेरैको खित्का छुटिसकेको थियो।
सयौंको आवाज परख्दापरख्दै थाकेका जजहरु पनि उनको इन्ट्रिबाट मनोरञ्जित देखिए। नाम सोधे।
‘झक्कड थापा’, हँसिलो मुहारका साथ जवाफ फर्कियो।
जजहरुले पनि त्यो नाम पहिलोपटक सुनेछन्। अनौठो लाग्यो क्यार। गलल्ल हाँसे। जजमध्येकी एक इन्दिरा जोशीले सोधि हालिन्, ‘अनि झक्कड भनेको के नि?’
‘अब नाम नै यस्तै हो’, झक्कडले आफ्नो नामबारेको अनविज्ञता प्रकट गरे।
इन्दिरा अझै शान्त भइनन्। उनले झक्कडको अर्थ खोतल्न खोजिन।
‘अब नामै त्यही हो, के अर्थ हुनु,’ निर्दोष पारामा झक्कडको जवाफ आयो।
सवाल–जवाफ टुंग्गिएको थिएन्। झक्कडले ‘म दैलेखी भाका गाउने हो’ भन्दै लय हाले, ‘फुल फलि गाउँ घर भरि, डगमगाया… होला, भाई प्रदेश हाई… बैनी घरै यो मन कति.. रो’ला… कार्तिक मैना…’
झक्कडको सुरताल केही जमेको थिएन्। तर अडिशन लिँदालिँदै थाकेका जजहरुले भने उनको रमाइलो प्रस्तुतीबाट मनोरञ्जन लिइरहेका थिए। जजहरुले अर्को गीत गाउन लगाए– झक्कडले दोहोरी गाए, लोकगीत गाए, आधुनिक गाए, फिल्मी गाए। जज हाँसिरहे, उनी गीत जोड्दै गए।
अन्त्यमा इन्दिराले ‘तपाईं एकदमै रमाइलो मान्छे। निर्दोष मन भएको मान्छे। जस्तो हुनुहुन्छ त्यस्तै रहनुहोला। अर्को पटक राम्रो तयारी गरेर आउनुहोला। यसपटकलाई धन्यवाद’ भन्दै झक्कडलाई बिदा गरिन्।
नेपालगञ्ज अडिशनको यो अनुभवसँगै भारतमा लामो समय बिताएका झक्कडको नेपालमै केही काम पाइएला कि भन्ने एउटा आशा टुट्यो।
आइडल टिमलाई झक्कडबाट मनोरञ्जन लिन अझै पुगेको थिएन। बाहिर उद्घोषक सुशील नेपालले पनि उनलाई गीत गाउन लगाए, ‘हातमा डबल झुम्का, कानमा डबल झुम्का’ भन्दै उनले आफ्नो ट्रेडमार्र्क देखाउँदै दर्शकलाई मनोरञ्जित तुल्याए।
अडिशन कार्यक्रम टेलिभिजनमा देखाइएपछि झक्कडको प्रस्तुती एकाएक हिट भयो। यूटुबमा उनी ‘ट्रेन्डिङ’ मा छाए। हिजोसम्म कसैले नचिनेका झक्कड तीब्र रुपमा भाइरल भइरहेका थिए। उनको प्रस्तुतीलाई मन पराउने भन्दा पनि रमाइलो मान्दै सेयर गर्नेहरुको संख्या अत्याधिक थियो।
‘बोरिङ’ अनुभव गरिरहेका मान्छेले हेर्दा पनि मिठो मुस्कानका साथ ताजगी मिल्नु उनको प्रस्तुतीको विशेषता थियो।
‘ठाँडी भाका म राम्रै गाउँन सक्थें,’ नेपालमै केही काम गर्ने सपना टुटेको त्यो दिन सम्झँदै झक्कडले भने, ‘मान्छेले एक लाइन समात्दा उसलाई त्यसमा अघि बढ्न सजिलो हुन्छ। धेरै सपनाहरु बोकेपछि कुनैपनि पूरा नहुन सक्छन्। मैले पनि सबै भाका गाउँन खोज्दा मिलेन जस्तो लाग्यो।’
अडिशनमा छनोट नभएपछि ‘खुब नेपाल आइडलमा गएर के के गर्छु भन्थिस, खाइस’ भन्ने प्रतिक्रिया उनले परिवार र छरछिमेकबाट सुन्नु पर्यो। उनलाई शरम लाग्यो। अर्को दिन त उनी घरबाट बाहिर समेत निस्केनन्। तेस्रो दिन नै उनी झोलीझम्टा बोकेर फेरि भारत भासिए।
त्यसपछि हराए झक्कड। तर, उनको प्रस्तुतीले भने यूटुयुबको ‘ट्रेन्डिङ’ धेरैदिनसम्म छाडेन्। युटूयुबर्सहरुले उनको प्रस्तुतीलाई ‘कमाई खाने भाँडो’ बनाए। थुप्रैले सब्स्क्राइब बढाए। कतिले त हजारौं आम्दानी पनि गरे। तर, उनी भने गुमनाम भए।
यसरी पटक पटक मानिसहरुलाई हाँस्ने बहाना बनिरहने झक्कडले भने जीवनमा धेरै ‘हन्डर’ खाएका छन्। नेपाल आइडल दोस्रो संस्करण सुरु हुँदासम्म हराएका तीनै झक्कडलाई नियतिले पुनः एकचोटी काठमाडौं पुर्याएको छ। यसपटक उनी काठमाडौंमा ‘नेपाल मै केही काम पाइएला कि’ भन्ने अर्को सपना बोकेर आएका हुन्।
झक्कडको खोजी‘केही काम पाइन्छ कि भनेर काठमाडौं आएको हुँ।’
डेढ दुईवर्ष हराएका झक्कड अघिल्लो साता एक यूटुब च्यानललाई अन्तर्वार्ता दिदैँ यसो भनिरहेका थिए। झक्कड काठमाडौं आएको थाहा पाएपछि मलाई उनको बारेमा बुझ्न मन लाग्यो। फेसबुक भरि उनको ‘आइडी सर्च’ गरें।
‘नेपाल आइडल’ को प्रस्तुतीपछि उनका यति ‘फेक आइडी’ बनेका रहेछन् कि धेरैमा ‘के यो साँच्चकै झक्कडजीको एकाउन्ट हो’ भनि प्रश्न लेख्दा पनि कतैबाट जवाफ आएन्।
दिमागमा अर्को उपाय फु¥यो। ‘इन्टरभ्यू’ लिनेसँग पनि त उनको केही सम्पर्क होला। ‘झक्कडजीको सम्पर्क नम्बर भए पाउँ न। म उनीसँग कुरा गर्न चाहन्छु’, म्यासेज लेखेको दुई दिनपछि नम्बरसहित ती इन्टरभ्यू कर्ताको ‘रिप्लाइ’ आयो। ‘थ्याङ्क्यु’ भन्दै नम्बर ‘सेभ’ गरें।
नम्बर पाएको दिन फुर्सद थिएन। अर्को दिन फोन गर्ने योजना थियो। फोन गरौंला भनेको बिहान अफिस (थापाथली) पुग्दै थिएँ। अफिसको आँगन (ब्लुबर्ड कम्प्लेक्स) मा तीनै झक्कड एक जना यूटुबर्सलाई अन्तर्वार्ता दिइरहेका भेटिए। वरिपरी मान्छेहरुले घेरिएका थिए। म पनि सरासर त्यहीँ गएँ। अन्तर्वार्ता सकिएपछि उनलाई अफिसमा बोलाएर ल्याएँ।
अरुण लामा, एकजना भिडियो सम्पादनकोे काम गर्ने यिनै व्यक्तिले झक्कडलाई काठमाडौं झिकाएका हुन्। उनी भन्दै थिए, ‘सर, दश मिनेटमात्रै है, अन्य मिडिया पनि इन्टरभ्यूका लागि कुरिरहेका छन्।’
मैले ‘हुन्छ’ म जति सक्दो चाँडो सक्छु भनें। तर, झक्कडको जीवनमा एकपछि अर्को गर्दै आउने टुइस्टका कारण कुराकानी एकघण्टासम्म लम्बियो। यसबीच अन्य मिडियालाई अरुणले दिएको समय पनि मैले ‘किल’ गरिदिएको थिएँ। मिडियामा झक्कडको कस्तो माग थियो भन्ने अरुणका मोबाइलमा आउने पटकपटकको फोनले पुष्टि गथ्र्यो। अरुणले ‘छोट्याउँ न सर’ भन्दै गरेको आग्रह पनि नजरअन्दाज गर्दै मैले झक्कडको जीवनका नउघ्रिएका सबै कथा सुनें।
नेपाल आइडलको अहिले दोस्रो सिजन चलिरहेको छ। मानिसहरुले भने अझै पहिलो सिजनका झक्कडको प्रस्तुती बिर्सन सकेका रहेनछन्। धेरैले दोस्रो सिजन चल्दै गर्दा ‘हामी झक्कडलाई मिस गरिरहेका छौं। झक्कड कहाँ छन्, उनलाई ल्याउनु पर्यो’ भन्दै कमेन्ट गरिरहेका थिए। एक–दुई जना हैन् त्यसो भन्ने सयौं थिए।
यस्तो एकखाले क्रेज देखेपछि कहाँ छन् त झक्कड भन्दै अरुणले उनको खोजी गरे।
‘झक्कडको क्रेज देखेर उनका समर्थकहरु धेरै छन् जस्तो लाग्यो’, झक्कडलाई भारतबाट काठमाडौं ल्याउने अरुणले नेपालखबरसँग भने, ‘मैलेपनि फेसबुकबाट उनी भारतमा रहेको पत्ता लगाउँदै काठमाडौं ल्याएको हुँ।’
अरुणले झक्कडसँग बाचा नै गरेका रहेछन्, ‘तिमी नेपाल आउ, तिमी यहीँ कमाउन सक्छौ।’
त्यो कुराले झक्कडलाई लोभ्यायो। एकपटक आइडल अडिशनमा पनि नेपालमै काम गर्न पाइन्छ कि भन्ने आशा निराशामा बदलिसकेको थियो। झक्कडले पुनः यसपटक पनि आशा मात्रै देखाउने त हैन् भन्ने प्रश्न पनि राखे तर अरुणले ‘नेपालमै काम पाइने’ ढुक्क गराउँदै उनलाई काठमाडौं झिकाए।
‘काठमाडौंमा मैले झक्कडजीका लागि एउटा सांस्कृतिक कार्यक्रमको कुराकानी पनि गरिसकेको थिएँ,’ अरुणले भने, ‘लेबरी काम गर्नुपर्दैन तपाईंको फ्यान फ्लोइङ राम्रो छ। काठमाडौंमै राम्रो जिन्दगी हुन्छ भनेपछि उनी तत्कालै काठमाडौं आउन तयार भए।’
विदेशी जीवनबाट स्वदेशमै काम पाउने आशासहित झक्कडले पुनः नेपालको बस समाते। सोझै नेपालगञ्ज आए र काठमाडौंको टिकट काटे।
अरुणको कुरो पत्याउने हो भने, जुन सांस्कृतिक कार्यक्रमका लागि झक्कडको कुरा भएको थियो। त्यस कार्यक्रमका मानिसहरुले ‘बजेट अभाव भएको र झक्कडलाई सामाजिक सञ्जालमा फनका रुपमा मात्रै लिने गरेको’ भन्दै ‘रिजेक्ट’ गरिदिए।
अरुणले त्यो कुरा सुनाएपछि काठमाडौं आउन ठिक्क परेका झक्कडलाई पहिलो गाँसमै ढुंगा जस्तै भयो। उनले आफूले टिकट काटिसकेको बताएपछि ‘ल आउन त काठमाडौं, म व्यवस्था गरौंला’ भन्दै अरुणले बोलाए।
गत भदौ ८ गते काठमाडौं आएका थिए, झक्कड। हामीले कुराकानी गर्दा उनको काठमाडौं बसाई एक हप्ता बढी भैसकेको थियो। केही यूटुबर्सहरुलाई अन्तर्वार्ता दिनुबाहेक यस समयमा उनले कुनै काम पाएनन्।
‘काठमाडौंमा काम नपाइने हो कि भनेर अस्ति राति त दुई बजेसम्म निद्रापनि लागेन्,’ कामको आशामा भारतको लेबरी छोडेर काठमाडौं आएका झक्कडले छटपटि सुनाउँदै उनले भने, ‘घरमा भारतबाट मलाई काठमाडौं बोलाइयो भनेर आएको थिएँ। अब फर्किन पनि शरम लाग्छ।
अरुणजीलाई नै केही पैसा मागेर पासपोर्ट बनाएर यतैबाट विदेश जाऔं कि भन्ने पो सोचेको छु। अझै केही काम पाउँछु कि भन्ने आशापनि बाँकी छ। दर्शकहरुले पनि झक्कडजी निराश नहुनु होला, हामी सहयोग गर्छौं भनेका छन्। तर सहयोग भने कसैले गरेका छैनन्।’
अरुण भने अबको दुईहप्तामै झक्कडको जीवनमा ‘केही परिवर्तन’ आउने दाबी गर्छन्। ‘काउली बुढी (सन्ध्या बुढा) लाई झक्कडको आमा बनाएर एउटा भिडियोको ‘कन्स्पेप्ट’ मेरो मनमा छ,’ उनले भने, ‘त्यो बनेपछि उनलाई भविष्यमा थुप्रै अवसरहरु आउनेमा म ढुक्क छु, त्यसपछि उनले लेबरी काम गर्नु पर्दैन, कलाकार बनेर पनि उनलाई पुग्छ।’
झक्कडको नामबाट आफ्नो दुनो सोझ्याउने प्रयास त हैन् नि? नेपालखबरको प्रश्नमा विश्वास दिलाउँदै अरुणले थपे, ‘मलाई यसअघि पनि एक मिडियाले झक्कडको नाममा पैसा खान लागेको आरोप लगायो। मलाई निकै दुःख लाग्यो। तपाईं अबको दुई हप्तामै उनको जीवनमा केही परिवर्तन आएको थाहा पाउनुहुनेछ। त्यसपछि जति पनि अफर आउनेछन् त्यसबाट हुने आम्दानीको सबै अंश उनको हुनेछ। त्यो उनले बनाएको लिगेसी हो। मैले त झक्कडलाई दर्शकहरुले खोजेको भएकाले मात्रै लेबरी काम गर्नुपर्दैन, कलाकारिता गरेर पनि तपाईंको जीवन चल्छ भनेर काठमाडौंको बाटो देखाइदिएको हुँ।’
‘मलाई लाग्छ काठमाडौंमै महिनाको लाख रुपैयाँ कमाउन सक्ने क्वालिटी उहाँमा छ,’ झक्कडकै अगाडी अरुणले मिठा सपना सुनाए।
बुबालाई चुँडेलले चुडेर लग्योदैलेख दुल्लुमा बुबाले पाँच छोराछोरी (तीनवटा भाई, दुई दिदी बहिनी) सहित आमा र एकजना अंकल गरि आठ जनाको परिवारलाई पालेका थिए। बुबा कहिलै भारत गएनन्। अर्काको साझो (अर्काको खेत बनाउनु) गर्ने काम गर्थे। भैंसी पाल्थे। घिउ बेच्थे। त्यसैबाट झक्कडको परिवार जसोतसो चलिरहेको थियो।
झक्कड भारतमै थिए। बुबालाई रोगले च्याप्यो। दिदीले खबर पठाइन्, ‘बुबा अति बिरामी हुनुहुन्छ, उपचार गर्नुपर्यो। केही पैसा लिएर आइज, केही पैसा म बनाउँला।’
दिदीले कानको सुन २० हजारमा बिक्री गरेर पैसा जम्मा पारिन्। झक्कडले भारतमा साथीहरुबाट २–२ हजार गरि ४१ हजार जम्मा गरि लखनउ पुगे।
‘दिदीले बुबालाई उपचारका लागि लखनउ पुर्याइसकेकी थिइन्’, भावुक बन्दै झक्कडले १८ वर्षमै बुबा गुमाउनुको पीडा सुनाए, ‘बुबालाई श्वास बढ्ने (दम), मृगौला तल खस्केको, फोक्सोभित्र घाउ आदि देखियो। एक हप्ता लखनउ बस्दा भएका सबै ६०–७० हजार रुपैयाँ सकियो। बुबालाई केही सञ्चो भएको थियो। घर लिएर आयौं।’
तर बुबालाई पूर्ण रुपमा निको भएको थिएन। उपचार गर्न पैसा पनि थिएन। बुबालाई घर पुर्याएर झक्कडले दशैंमा बुबाको हातबाट टिका थापे। बुबाको उपचारका क्रममा ऋण लागेको थियो। दिदीको पनि ऋण तिर्नु थियो र झक्कड फेरि कमाउन भारत जाने भए।
‘हाम्रोमा छोरीबेटीको पैसा लिनु राम्रो मानिँदैन,’ ऋण तिर्ने उदेश्यसहित म दशैं तिहार मनाएर घरबाट निस्कें, ‘भारत पुगेको सात दिन नबित्दै घरबाट बुबा बित्नुभएको खबर आयो।’
मंसिरको महिना धान बोक्ने समयमा उनका बुबा एक्लै खेतबारीमा गएछन्। खेतमै सुनिएको अवस्थामा उनको मृत शरिर भेटिएछ। गाउँले र उनका परिवारको ठम्याई थियो, ‘एक्लै जाँदा चुँडेल (मृत आत्मा) ले समातेपछि सुन्निएर मृत्यु भयो।’
झक्कडलाई पनि बुबालाई चुँडेलले नै लगेको विश्वास छ। उनी भन्छन्, ‘जंगल साइडतिर त अझै पनि चुँडेल हुन्छ। गाउँमा अरु मान्छेलाई पनि समातेको छ। मानिसहरु आफू तथा आफ्नो परिवारलाई चुँडेल नलागोस् भनेर अनेक भाकल गर्छन्। सूर्य ढल्किने बेला डाँडाहरुमा झ्याप्प चुँडेलसँग भेट हुन्छ भन्छन्। चुँडेल नलागोस् भनेर देउता (धामी, झाँक्री) बसाउँछन्। तीनले मागेको कुरा पुर्याउनुपर्छ। ऐना, काँहियो दिनुपर्छ।’
हामीले चुँडेलबारे अझै जिज्ञासा राख्यौं, कसरी बन्छ भन्छन् त चुँडेल गाउँतिर? उनले भने, ‘आधा जीवनमा बितेकाहरु चुँडेल बन्दा रैछन्।’ उदाहरण दिँदै उनले हामीलाई सम्झाए, जस्तै पेटको अपरेशन गर्दै बच्चा निकाल्ने क्रममा महिलाहरु मर्छन् नि, त्यस्ता चुँडेल बनेर निस्कँदा रहेछन्।’
कर्णाली राजमार्ग बनेपछि भने चुँडेल र भुतहरु अलि कम भएको उनले महसुस गरेका रहेछन्। ‘बाटो बनाउने क्रममा बमहरु बिस्फोट गराइए, गाडीहरु हिंडे। अहिले चाहीँ राति हिंड्ने क्रममा त्यति डर हुँदैन्,’ उनले भने।
आफै कमाउनुपर्छ भन्ने लागेपछि…पाँच कक्षामा पढ्थे। गाउँमा लाहुरेहरु कानमा टेप बजाएर, हातमा घडी झल्काएर फर्कन्थे। उनीहरुले आफ्ना छोराछोरीहरुलाई पनि नयाँ नयाँ सामान ल्याइदिन्थे। आफ्ना बालसखाहरु नयाँ सामानमा सजिएको देखेपछि झक्कडको बालमन पनि नलोभिने कुरो भएन्। उनलाई पनि त्यस्तै टेप ल्याउन, घडी लगाउन पाए हुन्थ्यो जस्तो लाग्थ्यो।
‘हामीले कहिलेकाहीँ मात्रै नयाँ चीज पाउँथ्यौं। त्यो पनि हात्ती छाप चप्पल,’ उनले बाल्यकालका कुरा सम्झे, ‘त्यो किन्ने बेलामा बुबाले हाम्रो खुट्टाको साइज लठ्ठीमा नाप्दै बजार ल्यान्थे र त्यही नाप अनुसारको चप्पल ल्याइदिन्थे। त्यो कहिले ठूलो हुन्थ्यो, कहिले सानो।’
अन्य बालसखाहरुले राम्रा राम्रा लाएको देखेपछि झक्कडलाई लाग्यो– अब पढाई छाडेर पैसा कमाउनु पर्छ। अनि नयाँ नयाँ चिज किन्नुपर्छ।
एकजना साथीसँग भारत जाने योजना बन्यो। हातमा एक पैसा थिएन्। उनले जुक्ति सोचे, बुबालाई किताब किन्न भनेर पैसा माग्ने।
घरमा पैसा थिएन। बुबाले भने, ‘मुसुरो लैजा, त्यो बेचेर किताब किन।’
‘हुन्छ’ भन्दै झक्कडले एक बोरा मसुरो बोके र बजार लागे। ‘२९ रुपैयाँ केजी मसुरो थियो। बेच्दा पाँच–छ सय रुपैयाँ भयो,’ उनले सम्झे, ‘त्यो पैसा लिएर साथी र म तीन दिन पैदलै हिंडेर चिसापानी (कैलाली र बर्दियाको सिमावर्ती तराईको स्थान) पुग्यौं।’
साथी पहिले पनि बुबासँग आइसकेका रहेछन्। उनलाई बाटो थाहा रहेछ। ठाउँ ठाउँमा गाउँलेहरुसँग पनि भेट हुन्थ्यो। उनीहरुले सोध्थे, ‘कहाँ जान लाग्या हो?’
घरमा भन्दिने हुन कि भन्ने डर हुन्थ्यो। उनीहरु जवाफ फर्काउँथे, ‘बुबाले तराईमा भैंसी लिनु भएको छ, त्यही ल्याउन जान लागेका हौँ।’
त्यतिबेला चाउचाउ ‘फेमस’ थियो। तीन दिन उनीहरुको खाना त्यति भयो। जंगलको बाटो थियो। ‘मनमा इण्डिया जाने रहरले डरलाई जित्यो,’ झक्कडले सम्झे।
चिसापानीमा मिठाई किनेर खाँदै थिए। एकजनाले सोधे, ‘घर कहाँ हो?’
उनीहरुले जवाफ फर्काए, ‘दैलेख दुल्लु।’
जिस्काउँदै ती मान्छेले भने, ‘ए दैलेखी रै छौ, दुल्लुका उल्लु।’
‘काम गर्ने हो?’
‘के काम हो?’
‘जेनेरेटरमा पानी हाल्नुपर्छ, बाख्रा चराउनुपर्छ।’
‘कति दिने हो महिनाको?’
‘तीन सय।’
अछाम, दैलेख, सुर्खेतका लाहुरेहरु चिसापानी हुँदै भारत जाने र घर फर्कने गर्छन्। त्यसैले त्यो ठाउँमा व्यापार राम्रै हुन्छ। खाजा नास्तासँगै किरानापनि भएको पसलले झक्कड र उनका साथीलाई अफर गरेको थियो। उनीहरु पहिलो जागिरका लागि तयार भए।
एक महिना काम गरिसकेपछि झक्कडलाई त्यहाँ काम गर्न मन लागेन्। जंगलमा दाउरा काट्ने र बाख्रा चराउने काममा उनलाई मन लागेन्।
नयाँ काम खोज्ने क्रममा उनले गाडीमा सहायक चलाक (खलासी) को काम पाए। तलब थियो, पहिलेको भन्दा दोब्बर ६ सय रुपैयाँ। झक्कड गाडीमा लागे।
जेठमा गर्मी हुन्थ्यो। एक जना चौधरी साथी थिए। उनीहरुले कर्णालीमा नुहाउने योजना बनाए र हाम फाले।
कर्णालीको गहिराईको कुनै अनुमान थिएन्। पहिलो ‘डाइभ’ मै उनलाई कर्णालीले बगायो। उनी बाहिर निस्कने प्रयास गर्दै थिए, सकेनन्। ‘झक्कडलाई कर्णालीले बगायो’ भन्दै उनका साथीले गुहार मागे। एकजना अछामकै स्थानीय युवती पौडी खेल्न जान्दिरहिछन्। झण्डै आधा किलोमिटर बगाएपछि पौडी काटेर ती युवतीले कपाल समाप्दै झक्कडलाई नदिबाट निकालिन्।
‘पानीमा बग्दा सुरुमा त जम्प लिँदै थिएँ,’ झक्कडले आफू मरेर बाचेँको उक्त घटना सम्झँदै भने, ‘पछि मुखमा पानी जान थाल्यो। मैले मुख बन्द गरें तर कर्णालीका अघि मेरो केही चलेन्। ती युवतीले मलाई बाहिर ल्याएर बालुवामा पल्टाइन्। सबै मानिस मलाई घेर्न आइपुगेका थिए। म आधा होसमा थिएँ। जुरुक्क उठेर हैट.. भन्ने आवाज निकालें, वरिपरीका सबै मानिस भागे।’
अरुले फालेको मकै खाएर बाँचेकेही दिनमा दैलेखबाट एक हुल मानिस भारत जाने भनेर आएछन्। उनीहरुले कर्णालीमा झक्कडलाई पनि देखे। भारत जाने हो भनेर सोधे। घरबाट नै भारत जान भनेर भागेका झक्कड उनीहरुकै पछि लागे।
‘बागेश्वर भन्ने ठाउँमा पुल बनाउने काम थियो,’ झक्कडले भारतका सुरुका दिन सम्झिए, ‘४५ रुपैयाँ दैनिक ज्याला थियो। ३३ दिन काम गरें। ३ सय ९० रुपैयाँ बचत गरें। ९–५ को ड्युटी थियो। खाजा खान समेत समय हुन्थेन्। लगातार काम गर्नु पथ्र्यो। बाठाहरु त पटक पटक पिसाब फेर्ने बाहनामा समय कटाउँथे, हामी जस्ता सोझा मान्छे दिन भरि दलिनुपर्थो।’
३३ दिनपछि त्यहाँको काम सकियो। बीचमा केही काम पाएनन् उनले। भएको पैसा सबै सकियो। ‘त्यसबेला १० रुपैयाँमा भारतमा खाना पाइन्थ्यो’, उनले सम्झे, ‘काम नहुँदा के खाने भन्ने पनि समस्या भयो। त्यस ठाउँमा काम नपाएपछि हामी बरेली आयौं। रेल वे स्टेशनमा मान्छेहरु मकै खाएर फाल्थे। हामी त्यही फालेका मकैका ठूसाहरु समाप्दै खान्थ्यौं। बाँकी पेट पानी खाएर भथ्र्यौं।’
एक हप्तापछि साँढे तीन सय भारुमा पलियामा भन्ने ठाउँमा एक पसलमा काम पाए। दुबै जना काममा लागे। पलिया धनगढीको सिमावर्ती बजार पनि हो। त्यहाँका अधिकांश ग्राहक नेपाली थिए। दिल्लीबाट सामान आउँथ्यो। उनीहरुको काम त्यो समान पहिलो तल्लाबाट माथिल्लो तल्लामा पुर्याउने हुन्थ्यो। साहुजीले भनेका सामान ल्याइदिने हुन्थ्यो।
‘हामी बच्चै थियौं। समानका बारेमा धेरै थाहा थिएन्’, आँखा रसिलो बनाउँदै उनले भने, ‘केही फरक समान ल्याइयो वा केही टुटफुट भयो भने साहुजीले सिधै पिटथे। निकै रुन मन लाग्थ्यो तर रुन पाइँदैन थ्यो। काम गर्नै मन लागेन्। एक महिना काम गर्यौं अनि छोड्यौं।’
घरबाट भागेको सात महिना बितिसकेपछि झक्कड घर फिर्ती भए।
‘घर फर्कंदा मसँग जम्मा २० रुपैयाँमात्रै बचेको थियो,’ पैसा कमाउने लक्ष्यका साथ घर छाडेका झक्कडले सम्झे, ‘शरिरमा पुरानै हाफ पाइन्ट थियो। जुन बसमा काम गर्दा साहुजीकी श्रीमतीले मेरो खलासीले पैसा हाल्छ’ भन्दै सिलाइदिएकी थिइन्। छोरा बाँचेर घर फर्कियो भन्दै आमा बुबा खुब रोए। म पनि रोएँ। आमा बुबाले ‘जे भयो भयो अब पढ’ भने म फेरि पाँच कक्षामा भर्ना भएँ।’
माओवादीले लाने पीरमा फेरि भारतझक्कड पाँच पास भई छ कक्षामा पुगिसकेका थिए। माओवादी द्वन्द्व उत्कर्षमा थियो। दुर्गम दैलेखमा माओवादीको आतंक अझै बढी थियो। गाउँमा युवायुवती हुर्के भने माओवादी जनमुक्ति सेनामा भर्ती गराउन बाध्य तुल्याउँथे। आमाबुबाको सहमती बिनै छोराछोरीलाई उठाउँथे। झक्कड पनि जवान हुँदै थिए। बुबा आमालाई पनि माओवादीले झक्कडलाई पनि लैजाने हो कि भन्ने पीर पर्यो।
‘त्यतिबेला बुबाआमासँग दुई विकल्प थिए’, झक्कडले भने, ‘या मलाई माओवादीमा पठाउनु पथ्र्यो या भारत। उहाँहरुलाई दोस्रो विकल्प सजिलो लाग्यो। फेरि म भारत जाने भएँ।’
‘गाउँमा माओवादीहरुले एकदमै गाह्रो गर्थे। राति राति घरमा आएर खान बनाउन भन्थे। जसको छोराले आर्मी पुलिसमा जागिर खाएको छ, उसलाई छोरा निकाल भन्दै बुबा आमालाई धम्की दिन्थे। बुबाआमालाई हामीलाई पढाउन त गाह्रो थियो। उल्टै उनीहरु चन्दा माग्थे। पाथीका पाथी धान, गहुँ लिन्थे। कसैले लभ म्यारिज गरेको छ भने उनीहरुलाई त्यो धान, गहुँ बोकाएर लैजान्थे’, संकोच मान्दै माओवादीले त्यसबेला दिएका दुख झक्कडले सुनाए। जसको कारण आफु परिवारबाट अलग भएर दोस्रो पटक भारत जान बाध्य भएको उनको भनाई छ।
बिहे र आफ्नै बन्ध्याकरणपुनः बागेश्वर पुगेका झक्कडको ज्याला थियो, महिनाको ७० रुपैयाँ। यता, घरमा झक्कडको बिबाहको कुरो चलेछ।
बुबाआमाले छिमेकीकी छोरीलाई सानैमा तिम्रो छोरीको बिबाह मेरो छोरासँग गराउने भन्ने समझदारी गरेका रहेछन्। किशोरावस्थामा पुगेपछि छोरीलाई अरुले कसैले पो लग्ने हो कि भनेर छिमेकीले झक्कडका बुबाआमालाई उनीहरुको बिबाह गराइदिने भनेछन्। दुवै परिवार राजी भएपछि बिबाहको कुरो टुंग्गियो।
केटीको परिवार निम्न वर्गीय थियो। जंगल नजिक उनीहरुको घर थियो। पाँच जना दिदी बहिनीमात्रै थिए। बाख्रा पाठा पालेर उनीहरुको जीविका चलिरहेको थियो। त्यसैले केटीले कति पनि पढ्न पाएकी थिइनन्।
‘म भारत मै थिएँ। बुबा आमाले बिबाह छ भनी बोलाए’, जुंगाको रेखी पनि नबसेको उमेरमा बिबाह भएको प्रसंग कोट्याउँदै झक्कडले भने, ‘बुबा आमाले सबै तयारी गरिसकेका थिए। विधिविधान पुर्याएर घरमा बुहारी भित्र्याए।’
घर फर्केपछि झक्कडको पढाई पुनः सात कक्षाबाट सुरु भएको थियो। बिबाह भएपछि बुबा आमाको चाहना नातीनातिना खेलाउने भयो। उनीहरु झक्कडलाई त्यसै कुरामा जोड दिन्थे। तर, झक्कड भने श्रीमतीसँग बोल्न नै शरम मान्थे। श्रीमती एकातिर काम गरिरहेकी हुन्थिन् उनी अर्कातिर लाग्थे।
‘बिस्तारै श्रीमतीसँग पनि माया बस्दै गयो’, बुबा बन्दाको अनुभव सुनाउँदै उनले भने, ‘दश कक्षामा पढ्दा मेरो छोरो जन्मियो। जुँगाको रेखी बस्या छैन् बचपनमै छोरा जन्म्यो भन्दै सबैले बधाई दिए। म पनि खुशी भएँ।’
पछि अर्को छोरापनि जन्मियो। दुई छोरा जन्मिसके अब अपरेशन गर्नुपर्छ भन्दै झक्कडले २४ वर्षमा आफ्नो बन्ध्याकरण गराए। प्रायः पाहाडमा महिलाहरुले बन्ध्याकरण गराउने गर्छन्। झक्कडले चाहीँ आफूले गरेका थिए। त्यसकारण झगडा हुँदा आफ्नी श्रीमतीले लगाउने घुर्की उनले रमाइलो पारामा सुनाए, ‘तिम्रोे त अब केही हुन्या हैन्, म त अर्कासँग गयापन छोराछोरी होइजान्या हुन्।’
अटोरिक्सामा गाउँलेलाई घुमाउने सपना
झक्कडले भारतमै काम गरेको पैसा जोगाउँदै नेपालगञ्जमा एक कठ्ठा ऐलानी जग्गा किनेको पाँच छ वर्ष भयो। दिदीहरुले ‘यतै आइज, बच्चाहरुलाई पढाउन लेखाउन सजिलो हुन्छ, उपचार गर्न सजिलो हुन्छ। चामल नेपालगञ्जबाटै लिनुपर्छ’ भन्ने सुझाव दिएपछि उनी नेपालगञ्ज झरेका थिए।
झक्कडले भारतमै काम गरेको पैसा जोगाउँदै नेपालगञ्जमा एक कठ्ठा ऐलानी जग्गा किनेको पाँच छ वर्ष भयो। दिदीहरुले ‘यतै आइज, बच्चाहरुलाई पढाउन लेखाउन सजिलो हुन्छ, उपचार गर्न सजिलो हुन्छ। चामल नेपालगञ्जबाटै लिनुपर्छ’ भन्ने सुझाव दिएपछि उनी नेपालगञ्ज झरेका थिए।
अहिले जेठो छोरा ६ कक्षामा पढ्छ। कान्छो एकमा। कम्तिमा १० कक्षासम्म पढाउने झक्कडको धोको छ।
‘आम्दानी केही छैन्। गाई पालौं भनेपनि जग्गा छैन्। घाँस पाइँदैन्। एउटा बाख्रा छ’, छोराहरुका लागि केही व्यवस्था मिलाएका झक्कडले भने, ‘पहिले भाडामा धेरै दुःख हुन्थ्यो। अहिले दुई कोठाको सानो घर छ। आफूले जति कष्ट गरेपनि परिवारलाई सुखै छ।’
‘मेहनत गरेर पाँच–साढे पाँच लाख रुपैयाँ जम्मा गर्ने सोच थियो,’ झक्कडले एकपटक जीवनमा साचेको सपना सुनाउँदै भने, ‘त्यस रकमले अटो रिक्सा किन्ने मन थियो। सिमा (रुपेडिया, नेपालगञ्ज) मा थुप्रै दैलेखीहरु आउँछन्। उनीहरुलाई गन्तब्यसम्म पुर्याइदिन्थें। त्यसैबाट गुजारा चलाउने सोचेको थिएँ। अहिलेसम्म पनि त्यही सोच छ।’
नेपालमै अवसर नपाएर विदेशिने लाखौं नेपाली युवाहरुका प्रतिनिधि पात्र हुन्, झक्कड थापा। यसबेला उनी दोस्रो पटक नेपालमै केही पाइने आशामा भारतको काम छाडेर आएका छन्। र, अवसर खोज्दैछन् काठमाडौं शहरमा।
No comments:
Post a Comment