Friday 21 February 2020

रुविना क्षेत्री: आमाले हुर्काएकी स्टार

यो सामाग्री असोज ५, २०७६, आइतबारका दिन नेपालखबर डटकममा प्रकाशित छ।
यज्ञराज जोशी । एउटा खेलाडीले अन्तर्राष्ट्रिय डेब्यूमा के सम्म उपलब्धि हासिल गर्न सक्ला? बलरको मात्रै कुरा गर्ने हो भने उसले डेब्यूमा ह्याट्रिक मात्रै लिन सक्यो भने सनसनी मच्चिन्छ।
डेब्यूमा ह्याट्रिक धेरैको सपना होला तर त्यो सफलता दुर्लभै मात्र हात लाग्छ। तर, नेपालमै यस्ती खेलाडी छिन् जसले डेब्यूमा ह्याट्रिक मात्रै हैन्, पाँच बलमा पाँच विकेट लिदैँ सनसनी मच्चाईन्।
 झट्ट सुन्दा अपत्यारिलो लाग्ने यो सफलता नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्रीले हात पारेकी हुन्।
त्यसबेला खेलको कुन/कस्तो अवस्थामा उनले त्यो ५ बलमा ५ विकेट लिइन् त। त्यो थाहा पाउँदा अझै वाउ! भन्न करै लाग्छ।
सन् २००९ को एसियन क्रिकेट काउन्सिल(एसीसी) महिला ट्वान्टी–ट्वान्टी च्याम्पियन्सिपमा टस जितेर ब्याटिङ रोजेको नेपालले थाइल्याण्डविरुद्ध २० ओभरमा ९ विकेट गुमाएर ७९ रन जोडेको थियो।
जवाफमा थाइल्याण्डलाई जितका लागि अन्तिम ओभरमा ५ विकेट बाँकी रहँदा २ रन आवश्यक भयो। १६ वर्षे डेब्यू गर्ल रुविनाले त्यही विपक्षीको पक्षमा पूरै खेल ढल्किएको अवस्थामा अपत्यारिलो प्रदर्शन गरिन्। लगातार पाँच विकेट लिइन्। वाइडमार्फत् एक रन दिएपछि खेल बराबरीमा टुंगियो। पछि बल आउट(२–१) प्रावधानका आधारमा नेपालले खेलमा जित्यो।
दोस्रोदेखि छैटौं बलसम्म लगातार विकेट लिएपछि रुविनालाई नेपाली क्रिकेटकै इतिहासमा पहिलो ह्याट्रिक लिने खेलाडी बनिन्। त्यो क्षण सम्झँदा अहिले पनि उनी रोमाञ्चित हुन्छिन्।
‘अहो, त्यो क्षण त कसरी बिर्सन सक्छु? डेब्यूमै त्यस्तो हुन्छ भनेर कसले सोचेको हुन्छ र?’ मुहारमा मुस्कानका साथ उनले डेब्यू स्मरण गरिन्, ‘कप्तानले हातमा बल थमाउँदा अचम्मित भएकी थिएँ। हे भगवान! पाँच विकेट बाँकी हुँदा दुई रन रक्षा गर्नुछ। के गर्ने, गर्ने होला त्यो मुमेन्टमा?’
त्यहीबेला रुविनाको आँखा थाइल्याण्डका ब्याट्सवुमनका खुट्टामा परे। उनले देखिन् उनीहरुका खुट्टा काँपिरहेका थिए। अर्थात उनीहरु पनि नर्भस थिए। डराइरहेका थिए। त्यसले रुविनाको आत्मविश्वास बढायो। सोचिन्, ‘दुई वटा मात्रै विकेट झार्न सके नतिजा पल्टाउन सकिन्छ।’
कप्तानसँग छलफल गरिन् र क्लोज फिल्डिङ लगाइन्। अट्याकिङ फिल्डिङमार्फत वरिपरिबाट फिल्डरले घेरिएपछि ब्याट्सवुमनमाथि अझै दबाब थपियो।
rubina 5 wicketपाँच बलमा पाँच विकेट लिएपछि प्लेयर अफ द म्याचको पुरस्कार ग्रहण गर्दै रुविना। तस्बिर: एसीसी
रुविना आफ्नो रणनीतिमा सफल पनि भइन्। उनले पहिलो बलमा कुनै रन दिइनन्। दोस्रो, तेस्रो बलमा लगातार बोल्ड पारिन्। बाँकी आउने खेलाडीहरुका खुट्टा अझै काप्न थाले। तर, चौथो बलमा वाइड फालेपछि खेल बराबरीमा पुग्यो। फेरि फालेको सो बलसँगै बाँकी अन्तिम दुई बलमा पनि उनले विकेट लिइन्। यसरी डेब्यूमै दुर्लभ ५ बलमा ५ विकेटको कीर्तिमान उनले रचिन्।
इखले आर्जेको सफलता
रुविना आफूलाई निरुत्साहित पार्नेहरुविरुद्ध लिएको इखलाई पनि त्यो सफलताको कारक मान्छिन्। पहिलोपल्ट टिममा परेपछि नागरिकता बनाउन उनले कम्ति हण्डर खेप्नु परेन। उनलाई यतिसम्म निरुत्साहित पारिएको थियो कि हार मान्दै एक समय उनले कहिलै क्रिकेट नखेल्ने भनेर जर्सी समेत फ्याँकी सकेकी थिइन्।
रुविना एक वर्षको हुँदा नै उनका बुबाको निधन भइसकेको थियो। उनले तस्बिरमा हेरेर बुवालाई चिनिन्। सुने अनुसार बुबाले नागरिकता बनाउन पाएका थिएनन्। आमाको माइतैबाट नागरिकता थियो।
पहिलोपल्ट टिममा परेसँगै उनलाई पासपोर्ट बनाउन पर्‍यो। त्यसका लागि नागरिकता चाहिने भयो। उनी झापा लागिन्। झापामै जन्मे हुर्केको प्रमाण थियो। त्यही पढेको प्रमाण थियो। तर, झापा हुँदै काठमाडौं पुग्दा पनि नागरिकता पाइएन।
rubina 6रुविनाले नागरिता बनाउँन निकै संघर्ष गर्नुपरेको थियो। तस्बिर: प्रविन कोइराला
‘नागरिकता दिनु नपर्ने कुनै कारण थिएन। नेपालमै जन्मेको, पढेको प्रमाणहरु थिए। त्यसबेला आमाकोबाट बन्ने नियम थिएन पनि होला,’ उनले सम्झिइन्, ‘तर, पनि नाबालिक अथावा अरु नै केही गरेर दिने सिस्टम हुँदो हो। सम्बन्धित ठाउँले के गरेर, कुन बाटोबाट जानुपर्छ भनेर पो देखाइदिनु पर्छ तर, मलाई सिधैँ बन्दैन भनेर बारम्बार निरुत्साहित पारियो। झापामा नभएर काठमाडौं पुग्दा समेत बनेन्। मैले हार मान्दै अब क्रिकेट खेल्दिन भनेर जर्सी नै फुकाँलेर पनि फ्यालेँ।’
सायद नेपाली क्रिकेटलाई रुविना चाहिएको थियो होला। जर्सी फालेको भोलिपल्ट बिहान उनको घरको ढोकाको घन्टी बज्यो। जसले उनलाई डेढ दशक प्रभावशाली रुपमा नेपाली क्रिकेटलाई योगदान दिने अवसर जुटाइदियो।
तत्कालीन मेची क्रिकेट संघको अध्यक्ष मनोज कटुवाल लगायत केही बिहान रुविनाको घर आएका थिए। उनीहरुले झापा प्रशासन हुँदै परराष्ट्र मन्त्रालयमा सवै कागजात मिलाइसकेका रहेछन्। त्यसैले काठमाडौं जान आग्रह गरे। तर, पटकपटक फर्काइएकी रुविनालाई बन्छ भनेर कत्ति विश्वास लागेको थिएन।
‘मैले हुँदै त हुँदैन, किन जानु, खाली समय खेर मात्रै भनेर नकारेकी थिइँ,’ उनले सम्झिन्, ‘तर अन्तिम प्रयास गर जाउ न त भनेर ममीले पनि सम्झाएपछि काठमाडौं आए। यहाँ आएपछि काम फत्तै भैहाल्यो। सबैको सहयोगमा परराष्ट्र मन्त्रालयको सिफारिसमा सबैकुरा मिलिसकेको रहेछ।’
त्यसपछि बल्ल रुविनाको पहिलो अन्तर्राष्ट्रिय टूर निश्चित भयो।
‘यति दुःख गरेर मैले डेब्यू गरेकी थिएँ। नागरिकता नभएको भए मेरो प्रतिभा देशका लागि हुने थिएन,’ उनले भनिन्, ‘जर्सी नै फ्याल्नुपर्ने त्यो निरुत्साहित क्षणबाट उठ्दै म टूरमा निस्किएकी थिएँ। ज–जसले निरुत्साहित पारे तिनलाई अझै राम्रो गरेर देखाउँछु भन्ने इख थियो। सायद त्यही इखले काम गर्यो होला। पहिलो खेलमै कीर्तिमानी बलिङ भयो।’
आमाले हुर्काएकी स्टार
rubina and momरुविना र उनकी आमा मुना क्षेत्री
डेब्यूपछि रुविना कहिलै पनि राष्ट्रिय टिमबाट छुटेकी छैनन्। डेब्यू गरेको दुई वर्षमै उनले राष्ट्रिय टिमको कप्तानी सम्हालिन्। यी सबै सफलतामा उनकी आमा मुना क्षेत्री र दाई पवनको ठूलो योगदान छ। उनीहरुले रुविनालाई कहिले न बुवा, न अन्य कुराको अभाव महसुस हुन दिए।
बुवा वित्दा रुविना एक वर्ष पनि पुगेकी थिइनन्। दाई त्यस्तै डेढ दुई वर्षका थिए। दुई सन्तान हुर्काउनु पर्ने भए पनि आमा माइत बस्नुभएन। साधारण पढे लेखेकी आमाले एक्लै संघर्ष गर्दै दुवै सन्तानलाई बोर्डिङमै पढाएकी थिइन्। ‘छोराछारीको छाक टार्न कयौं दिन आमा भोकै बस्नुभएको मैले मेरै आँखाले देखेको छु,’ भावुक बन्दै रुविनाले आमाको संघर्ष सम्झिइन्।
आमाको त्यो संघर्ष देखेकी रुविना र उनका दाईले सानैबाट राम्रो बाटोमा लाग्ने अठोट लिएका थिए। उनीहरु आफ्ना केही पनि कारणले आमालाई दुखी बनाउन चाहँदैनथे।
‘आफू फर्स्ट हुन्थेँ भने कहिले दोस्रो हुँदा पनि आमालाई तनाव हुन्छ भन्ने कुरा सानै देखि मनमा हुन्थ्यो,’ उनले भनिन्, ‘आमालाई खुशी भएको हेर्ने कै लागि हामीलाई सानैदेखि धेरै मेहनत गर्ने बाँनी परेको थियो। त्यही कारण अहिले दाई र म आ–आफ्नो ठाउँमा सेटल छौं। हामीलाई देखेर आमा पनि घरमा गर्वका साथ शान्त भएर बस्न सक्नुभएको छ।’
बच्चैदेखि पवन शान्त स्वभावका थिए। रुविना अलि चकचके थिइन्। तर, कहिलै आफ्नो इच्छा व्यक्त गरिनन्। आमा र दाईले उनलाई के चाहिएको छ बुझिहाल्थे। रुविना एकेडेमी जाने भएपछि ब्याट चाहिने भयो। तर, उनले कसैलाई भनेकी थिइनन्। एक दिन सप्राइज रुपमा उनले आफ्नो कोठामा ब्याट भेटिन्।
‘दाईले आफूले स्कुल खाजाका लागि पाएको पैसा जम्मा पारेको रहेछ। त्यसमा आमाले पनि थपथाप गरेर ब्याट किनिदिनुभएछ,’ उनले भनिन्, ‘ब्याट दिदैँ दाईले तेरो सबै चाहनाहरु पूरा गर्छु भन्नुभएको थियो। भाग्यवश म यस्तो परिवारमा परेँ कि मलाई के चाहियो मुखले भन्नै पर्दैन। यतिसम्म कि दाईले मलाई फिट हुने लुगा समेत ल्याइदिन्थ्यो। हामी तीन जनैकै बोन्डिङमा बाल्यकाल कसरी बित्यो पत्तै भएन।’
क्रिकेट टूरमा निस्कदा अहिले पनि रुविनाको दैनिक दुई–तीन पटक आमासँग कुरा गर्छिन्। दाई विदेश छन्। दाईसँग पनि कुरा नभएको दिन नहुने रुविना बताउँछिन्।
rubina 8रुविनालाई स्टार बनाउन उनकी आमा र दाईको ठूलो योगदान छ। तस्बिर: प्रविन कोइराला
व्यवसायिकताको सवालमा नेपाली महिला क्रिकेटको अवस्था टिठ लाग्दो छ। नियमित गेम छैन्, नियमित प्रशिक्षण हुँदैन्। न राज्य पक्ष, न कर्पोरेट क्षेत्र, कतैबाट कुनै सहयोग छैन्। यस्तोमा आमालाई रुविनाको भविष्यलाई लिएर चिन्ता लाग्नु स्वभाविक हो।
‘अहिले त आमा–दाईले सवैथोक पुर्‍याइदिएका छन्। तर खेल्दाखेल्दै घाँइते भइयो। खुट्टा–हातै भाँचियो भने कसले जिम्मेवारी लिने? कसले हेर्ने? त्यो डर आमालाई हुन्छ,’ उनले भनिन्,‘तर, फेरि क्रिकेट मेरो जीवन नै भैसक्यो। म छोड्न सक्दिन भन्ने पनि उहाँहरुले बुझ्नु भएको छ। फोनमा प्लिज सुरक्षित भएर खेल भन्नुहुन्छ तर निरन्तर सपोर्ट छ।’
रुविनाले जित्दा आमा जति खुशी सायद अरु को होला र? रुविनाको परिवार काँकरभिट्टामा भाडामा बस्छन्। वरिपरि आफन्तै आफन्त छन्। रुविनाले जितेको खबर थाहा पाउने वित्तिकै आमा सबैलाई सुनाउछिन्। कतिपय बेला त आफन्तहरु आएर आमालाई रुविनाले जितेको खबर सुनाउँछन्। गाडीबाट ओर्लंदा रुविनालाई सबैले बधाईसहितको न्यानो स्वागत गर्छन्। त्यसबेला आफूले पाएको मेडल रुविनाले आमाको हातमा राखि दिन्छिन्।
मेडल दिँदा आमाको मुहारमा देखिने खुशी देख्दा रुविनालाई लाग्छ, ‘यही खुशी नै त मेरो जीवनको सबैभन्दा ठूलो उपलब्धि हो।’
पहिलो प्रयासमै सफल
ठूलो मामा कृष्ण बस्नेत कराँतेका गुरु थिए। सुरुमा उनले भान्जीलाई पनि कराँतेमा लगाउने सोच बनाएका थिए। तर, रुविनालाई कराँते, फुटबलमा भनेपछि डर लाथ्यो। बरु उनको रुचि टेबल टेनिस र भलिबलमा थियो।
क्रिकेटसँग त उनी हिँड्दाहिँड्दै ठोक्किएकी हुन्। महिला क्रिकेट हुन्छ भन्ने थाहा पाउनुअघि नै उनी दुरदर्शनमा भारत, पाकिस्तानबीचको खेलहरुको मज्जा लिन्थिन्। त्यो अब्दुल रजाक, इन्जामम उल हक, वसिम अकरमहरुको जमाना थियो। उनी विश्वकपका खेलहरु आमा, दाई सुतिसके पनि अबेर रातिसम्म ननिदाएरै हेर्थिन्।
rubina 3रुविना हरेक प्रतियोगितामा पहिलो पटक नै सफल हुँदै गइन्। तस्बिर: प्रविन कोइराला
‘त्यसबेला म के हेर्दैछु भन्नेपनि राम्रोसँग थाहा थिएन। तर, मलाई त्यो खेल खुबै मनपर्थ्यो। आमा पनि मैले हेरेको देखेर छक्क पर्नुहुन्थ्यो,’ उनले क्रिकेटप्रति रुचि बढ्नुको कारण सुनाईन्।
सानैदेखि छोरीले खेल्ने भनिएका भाँडाकुटी, लुकामारीहरुतर्फ उनको रुचि थिएन। बरु खेल भनेपछि उनी बाहिर निस्किहाल्थिन्। चाहे त्यो चुङ्गी होस् या ढुंगा फोड। छोरीको खेलप्रतिको रुचिलाई आमाले पनि कहिलै नाई नास्ती गरिनन्।
घर नजिकैको मैदानमा केटाहरु क्रिकेट खेल्थे। रुविना पनि त्यही ग्याङमा मिसिएर क्रिकेट खेल्न थालिन्। एक दिन कसैले आमालाई तपाईको छोरी एक्लै केटाहरुसित क्रिकेट खेल्छ भनेर कुरा लगाइदिएछ। ममीले पनि छोरीको इच्छा हो, उसले जे खेल्न चाहन्छे, खेलोस भनेर जवाफ फर्काएपछि रुविनाको हौसला अझै बढ्यो। त्यसपछि दाईले पनि रुविनालाई साथ दिए। उनैले रुविनाको हात समाएर क्रिकेट खेल्न लैजान्थे।
त्यसबेला पूर्व राष्ट्रिय खेलाडी मनोज कटुवालले मेची क्रिकेट एकेडेमीको सुरुवात गरेका थिए। भान्जीको क्रिकेट प्रतिको रुचि देखेर उनका मामाले दिदीसँग सल्लाह गर्दै रुविनालाई पनि एकेडेमीमा भर्ना गराए। रुविना स्कुल जाँदा नै एकेडेमीको कपडा लगाएर जाँन्थिन। दिउसो ४ बजे स्कूल सकिन्थ्यो। त्यहीँबाट उनी एकेडेमी पुग्थिन्।
‘बलिङका लागि मसँग नेचुरल ट्यालेन्ट नै थियो। एकेडेमी जानुअघि नै मेरो हात घुम्थ्यो,’ उनले सुरुवाती दिनहरु स्मरण गरिन्, ‘पहिलो फेजमा त केटीहरुको शारिरिक अवस्था, हात, रनरअप मिलाउनुपर्छ। तर मेरो त्यो सबै मिलेको थियो। त्यसैले प्रशिक्षकलाई पनि सिकाउन धेरै मेहनत गर्नुपरेन।’
एकेडेमी गएपछि उनले कुनै पनि प्रतियोगिता दुई पटक कहिलै खेल्नु परेन। स्कुल, जिल्ला, क्षेत्रीय हुँदै राष्ट्रिय टिमसम्म उनी पहिलो प्रयासमै सफल भईन्।
२०६५ सालमा भएको पाँचौ राष्ट्रिय खेलकुद रुविनाले खेलेको पहिलो राष्ट्रिय प्रतियोगिता थियो। त्यसबेला महिला क्रिकेटमा मध्यपश्चिमाञ्चल (नेपालगञ्ज)को टिम निकै शशक्त थियो। कारण, उनीहरुसँग ६–७ जना अन्तर्राष्ट्रिय क्रिकेटको अनुभव लिइसकेका खेलाडी थिए। नेपालगञ्जविरुद्ध रुविनाले ६ विकेट लिइन्। त्यसैको आधारमा उनी पहिलोपल्ट राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा परेकी थिइन्।
बन्द प्रशिक्षणमा पनि राम्रो गरेपछि उनी राष्ट्रिय टिममा पर्दा जति उत्साही भएकी थिइन्, त्यत्तिकै निरुत्साही नागरिकता बनाउँदा भइन्। त्यही निरुत्साहिनलाई चिर्दै उनले डेब्यूमै ५ बलमा ५ विकेट लिँदै कीर्तिमान रचेकी थिइन्।
कप्तान रुविना
पाँचौ राष्ट्रिय खेलकुदमा नेपालगञ्जको टोलीका अन्तर्राष्ट्रिय खेलाडीहरुमध्ये रुविनाले त्यसबेला चिन्ने एउटा मात्रै खेलाडी थिइन्, नेरी थापा। नेरीलाई रुविना आफ्नो आदर्श खेलाडी समेत मान्छिन्। २०१२ मा नेरीलाई नै विस्थापित गर्दै रुविना राष्ट्रिय टोलीकी कप्तानमा स्थापित भएकी थिइन्। त्यसयता रुविनाको नेतृत्वलाई चुनौती दिने अर्को अनुहार भेटिएको छैन।
पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा कीर्तिमानी बलिङ गरेपछि लगत्तै सोही वर्ष भएको एसीसी यू–१९ महिला क्रिकेट प्रतियोगितामा उनले उपकप्तानीको जिम्मेवारी पाइन्। २०१२ मा कुवेतमा भएको अर्को संस्करणमा उनी कप्तान चुनिइन्। त्यसअघि नेपालले दुई पटक यू–१९ प्रतियोगिताको उपाधि जितिसकेको थियो। पहिलोपटक कप्तानी गरिरहेकी रुविनालाई उपाधिमा ह्याट्रिक गराउने चुनौती थियो। त्यसमा उनी सफल पनि भइन्। नेपालले थाइल्याण्डलाई ६ विकेटले पराजित गर्दै उपाधिमा ह्याट्रिक गरेको थियो।
रुविनालाई व्यक्तिगत रुपमा प्लेयर अफ द म्याचका ट्रफीहरुसँग विशेष लगाव थियो। खेल जिताउँने खेलाडीहरुले नै हो ,प्लेयर अफ द म्याचको ट्रफी पाउने। उनी हरेक खेलमा त्यही ट्रफीको आशा राख्थिन् अर्थात म्याच उइनिङ प्लेयर बन्न चाहान्थिन्। तर यस प्रतियोगिताको फाइनलसम्म पुग्दा पनि उनको हातमा एउटा ट्रफी परेन।
फाइनल अघि उनी निकैँ घोत्लिइन्, के कमी भइरहेको छ र ट्रफी हात लागिरहेको छैन्? सोचिन्, रुम पार्टनरसँग कहाँ कमजोरी गरिरहेको छु, सल्लाह गरिन्। आफ्ना कमजोरी खुट्याइन् र भोलिपल्ट त्यसमा सुधार गर्ने दृढतासहित फाइनल खेल्न मैदानमा उत्रिइन्।
मनमा दृढ संकल्प थियो, खेल्छु, जिताउँछु र मैले नपाएको त्यो ट्रफी पनि ल्याउँछु। तीनैमा रुविना सफल भइन्। फाइनलमा ३ विकेट सहित नटआउट २४ रन जोडेकी उनी प्लेयर अफ द म्याच चुनिइन्। नेपालले तेस्रो पटक उपाधि जित्यो। अनि प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी पनि उनी बनिन्।rubina 2012 chamipn and man of the series
‘मेरो हातभरि ट्रफी थियो। डेब्यूपछिको स्मरणीय क्षण त्यही भयो,’ रुविनाले भनिन्।
त्यो प्रदर्शनपछि रुविनाले सोही वर्ष भएको महिला टि–२० एसिया कपमा सिनियर टोलीकै कप्तानी पाइन्। त्यसबेला रुविना केवल १८ वर्षकी थिइन्। आफूले आदर्श खेलाडी मान्दै आएकी नेरी थापालाई नै विस्थापित गर्दै कप्तान नियुक्त भएपछि सुरुमा त उनी आफैँ आश्चार्यमा परेकी थिइन्।
किशोर रुविनालाई कप्तानी पाएसँगै टिमलाई एकिकृत गरेरमात्रै सफलता हात पार्न सकिन्छ भन्ने हेक्का थियो। उनी सरासर नेरीको कोठामा गईन। उनीसँग कुरा गरिन्। नेरीले पनि ‘तिम्रो प्रदर्शन राम्रो छ। तिमी डिजर्भ गर्छौ। तिमी कप्तान हुँदा मलाई कुनै समस्या छैन। तिमी सक्छौं’ भनेपछि रुविनामा आँट आयो।
‘मैले हामीबीच कुनै पनि किसिमको असमझदारी नरहोस् भनेर त्यो फेजमा उसँग कुरा गर्नु जरुरी थियो,’ रुविनाले त्यसबेला देखाएको परिपक्वता सम्झदैँ भनिन्, ‘त्यही भएर उहाँ सिनियर खेलाडी भएर पनि मेरो कप्तानीमा मज्जाले खेलिरहनु भएको छ। र, हामीबीच एकदमै राम्रो सम्बन्ध छ।’
सानै उमेरमा रुविनामा कप्तानी सुम्पिनुपर्ने आधार के थियो त? उनी भन्छिन्, ‘मलाई जीवनले सानैदेखि संघर्ष गर्न सिकाइ हाल्यो। म कसैसँग डराउदिन पनि थिए। यदि कसैलाई जित्नु छ भने खेलेर नै जवाफ दिनुपर्छ भन्ने ठान्थेँ। प्रत्येक खेलमा प्रदर्शन पनि राम्रो हुँदै गयो। यू–१९ मा पनि मेरो नेतृत्व हेर्न चाहनुभएको थियो होला। त्यसमा पनि आफूलाई प्रमाणित गर्न सकेँ। त्यही देखेर नै छनोटकर्ताले नेतृत्व गर्न सक्छ भन्ने ठानेका होलान्।’
विश्वकपको सम्भावना र सागको तयारी
गत फेब्रुअरी(२०१९)मा थाइल्याण्डमा २०२० मा अष्ट्रेलियामा हुने टि–२० महिला विश्वकपको एसिया छनोट थियो। ७ देश सहभागी प्रतियोगिताको फाइनलमा नेपाल थाइल्याण्डसँग रोकिँदै उपविजेता बन्यो।
एक टिममात्रै अन्तिम चरणको छनोटमा पुग्ने भएकाले थाइल्याण्ड भाग्यमानी बन्यो। अगष्टमा भएको अन्तिम छनोटमा पनि शीर्ष दुईभित्र रहेपछि थाइल्याण्डले विश्वकप खेल्ने भएको छ।
जब कि एसिया छनोटमा थाइल्याण्डसँग पराजित भए पनि नेपाली खेलाडीहरुको प्रदर्शन सबैभन्दा उच्च थियो। प्रतियोगितामा नेपालकी सीता रानामगर सर्वोत्कृष्ट खेलाडी चुनिएकी थिइन्। नेरी थापा उत्कृष्ट बलर बनेकी थिइन्। रुविनाले कुवेतविरुद्ध ह्याट्रिक नै लिएकी थिइन्।
rubina 7नेपाललाई केही उपलब्धि दिलाएर खेलाडी जीवनबाट विश्राम लिने रुविनाको योजना छ। तस्बिर: प्रविन कोइराला
त्यो नतिजा हेर्दा नेपाली महिला क्रिकेट टोलीबाट दुई पटक ह्याट्रिक लिने एक्लो खेलाडी बनेकी रुविना भन्छिन्, ‘स्किलमा हामी कोहीसँग कमजोर छैनौं। तर, मानसिक र शारिरिक(फिटनेस) रुपमा मार खायौं। मेन्टली र फिजिकल्ली आफूलाई तयार पार्न सके हामीलाई विश्वकप खेल्न कसैले रोक्न सक्दैन्।’
आइसीसीको इभेन्ट्समा त्यही विश्वकपको एसिया छनोटमा नेपाललाई उपविजेता बनाउनु कप्तानका रुपमा रुविनाको सबैभन्दा ठूलो पनि उपलब्धि हो। १२ वर्ष नेपाली क्रिकेटमा भिजिसकेपछि रुविनाको अब थप २ वर्षसम्म खेल्ने योजना छ। उनले त्यस बेलासम्म देशलाई कुनै न कुनै ‘एचिभमेन्ट’ दिलाउने इख पालेर बसेकी छिन्।
अर्कोवर्ष फेरि विश्वकप छनोट हुँदैछ। रुविनाको आँखा अहिलेदेखि नै त्यस छनोटमा परिसकेको छ। उनी भन्छिन् ‘नेपाललाई त्यो स्टेजमा पुर्‍याएरै छोड्ने इख छ। त्यहाँ पुगियो भने त्यो हाम्रो लाइफ चेन्जिङ प्रतियोगिता बन्न सक्छ। नयाँ युवा खेलाडीहरुलाई पनि आकर्षित गर्ने बाटो खुल्छ। त्यस छनोटबाट जसरी पनि नेपाललाई विश्वकपमा पुर्याउने मोन्टालिटी विकास गर्दै लगेकी छु। त्यो नेपाली महिला क्रिकेटका लागि कोशेंढुंगा सावित हुनेछ।’
त्यसका लागि अहिलेदेखि नै तयारीमा लाग्नुपर्ने उनले बुझिसकेकी छिन्। त्यसैले नेपाली महिला टोलीले अहिले मंसिरमा हुने दक्षिण एसियाली खेलकुद(साग)को तयारीलाई अर्कोवर्ष हुने विश्वकप छनोटको तयारीका रुपमा पनि लिएको छ। शारिरिक र मानसिक रुपमा आफूलाई कसरी बलियो बनाउँने भन्नेमा बढी भन्दा बढी अभ्यास केन्द्रीत छ।
विश्वकप अलि पर भयो, नजिकै आइरहेको सागमा उनले देखेको सपना के हो त?
‘गोल्ड, सागमा सबैजनाले गोल्ड ल्याउन दुई सय प्रतिशत दिइरहेका छौं,’ उनले भनिन्, ‘मुलुकलाई केही न केही एचिभमेन्ट दिएरै छाड्ने संकल्प छ। सागमा राम्रो रिजल्ट ल्याउर गुड फिनिस गर्न सके मेरो लाइफ कम्लिट हुन्थ्यो जस्तो लाग्छ।’
त्रिवि मैदानमा पुरुषको पनि बन्द प्रशिक्षण रहेकाले नेपाली चेलीहरु दैनिक मैदान पाउँदैनन्। तर, इन्डोर, फिटनेश, जिममा अधिकतम समय बिताइरहेका छन्। पूर्व राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमटासहित ५ जना प्रशिक्षकले प्रशिक्षण दिइरहेका छन्। ‘इम्प्रुभमेन्ट पनि देखिएको छ। अब हामीलाई अन्तर्राष्ट्रिय म्याच एक्सपोजोर चाहिन्छ। त्यसपछि थप बलियो कमजोर पक्ष थाहा हुन्छ,’ रुविनाले भनिन्।
क्रिकेटमा दक्षिण एसिया विश्वको पावर हाउस नै हो। त्यसैले नेपाली टोली अन्य देशको तयारीलाई पनि नियाली रहेको छ। आफूसँग प्रतिस्पर्धा गर्ने टिमहरु कहाँ छन्? कससँग खेलिरहेका छन्? उनीहरुको राम्रो खेलाडीको बलियो, कमजोर पक्ष के हो? त्यसअनुरुप योजनाहरु बनाइरहेको पनि रुविना बताउँछिन्।
पुरुषमात्रै नेपाली क्रिकेट हो?
क्रिकेटले मान, सम्मान कमाएपनि आखिर पेट पाल्न त चाहिने पैसा नै हो। तर, आर्थिक रुपमा नेपाली महिला क्रिकेटरहरुको अवस्था भने निकै नाजुक छ।
‘अरुको के कुरा गर्नु। म आफै राष्ट्रिय टिमको कप्तान। मेरो आयस्रोत के छ? मलाई न कसकै प्रायोजन छ। न सेलरी छ। मलाई पो परिवारको लगानी छ, सपोर्ट गरि दिनुराख्नु भा’छ र खेलिरहेकी छु। भन्दा दुःख लाग्छ। मेलै क्रिकेटलाई जिन्दगी नमान्ने भए। लगाव नभएको भए कहिले विदेशिसक्थे। मलाई पनि कमाउनु पर्छ। सेटल हुनुपर्छ।’ रुविनाले दुखेसो पोख्छिन्।
rubina 4सरकारी तथा नीजि क्षेत्रले महिला क्रिकेटप्रति देखाएको उदासिनताले रुविना निराश छिन्। तस्बिर: प्रविन कोइराला
रुविनाले भने झै अभिभावकत्व लिनुपर्ने नेपाल सरकार, राखेप, क्यानको प्राथमिकतामा नेपाली महिला क्रिकेट कहिलै परेन्। आइसीसीमार्फत पुरुष खेलाडीलाई मासिक तलब आउँछ। तर, महिला खेलाडीलाई भने त्यो पनि आउँदैन्।
‘मैले अहिले हो र तलबको कुरो उठाएको,’ उनी आक्रोसित हुन्छिन्, ‘चार–पाँच वर्ष भयो किन सेलरी नपाएको? भनेर प्रश्न गरेको। जहिले एउटै उत्तर आउँछ, आइसीसीसँग कुरा गरिरहेका छौं। क्यान आउँछ। तिमीहरुले सेलरी पाउँछौं। कति भन्ने? अचेल त भन्नै छोडिदिसके। जति बोलेपनि केही हुन्न भने बोलेर के गर्नु।’
चारवर्षअघि क्यान निलम्बनमा पर्दा महिला क्रिकेटरलाई मासिक ५–५ हजार दिने कुरो अघि पनि बढेको थियो। तर, लगत्तै क्यान निलम्बनमा पर्‍यो। त्यो फाइल अहिले कुन कुनामा थन्किएको छ। कसैलाई मतलब छैन्। क्यान निलम्बनमा हुँदा अहिलेपनि पुरुष खेलाडीहरुले आइसीसीबाट आएको पैसा राखेपको माध्यमबाट पाइरहेका छन्। महिला खेलाडीहरु भने पुरुष खेलाडीले तलब पाए भन्ने समाचारमात्रै सुनेर बस्नुपरेको छ।
लामो रस्साकस्सी पछि आगामी असोज १० र ११ गते क्यानको केन्द्रीय निर्वाचन तोकिएको छ। त्यसलगत्तै नेपाली क्रिकेट फकुवाको चरणमा जानेछ। रुविना अब आउने बोर्डले महिला क्रिकेटलाई प्राथमिकता दिनुपर्ने सुझाव दिन्छिन्।
‘हामी पनि हाम्रो बोर्ड आउला, केही गर्ला भन्ने पर्खाईमा छौं,’ उनी भन्छिन्, ‘अझैपनि उनीहरुको प्राथमिकतामा महिला क्रिकेट परेन भने हामी आफै बोर्डमा गएर त्यो कुरा राख्नेवाला छौं। तर, विडम्बना यहाँ आश्वासन सवैले दिन्छ। कार्यान्वयन कसैले गर्दैन।’
सरकारमात्रै हैन्, निजी क्षेत्रले पनि महिला क्रिकेटलाई प्रोत्साहन गर्न नसकेको उनी बताउँछिन्।
‘कर्पोरेट क्षेत्र बैँकहरुले पुरुषहरुलाई मात्रै एम्बास्डर बनाउँदा हिरो भइन्छ भन्ने ठान्नुभएन। केटीहरुलाई एम्बास्डर बनाउँदा आम्दानी कम हुन्छ मान्नुभएन,’ उनले भनिन्, ‘हामी किन उनीहरुका एम्बास्डर हुन सक्दैनौं। हामी पनि यही फिल्डमा पुरुष जत्तिकै योगदान दिइरहेका छौं। तपाईको दुई शब्द र दुई मोटिभेसनले प्लेयरलाई माथि पुर्याउँछ भने तपाई किन त्यो सहयोग गर्न सक्नुहुन्न?’
rubina apfरुविना एपीएफकी कप्तान पनि हुन्
एक समय रुविना विभागीय क्लब सशस्त्र प्रहरी बलको एपीएफकी कप्तान थिइन्। विभागीय टोलीहरुले नेपाली खेलाडीहरुलाई जागिर दिएर सहयोग पनि गरेको छ। तर, रुविनाले एक्कासी एपीएफ छाडिन्।
विभागीय टोलीहरुले खेलाडीको सम्मान गर्न नसकेको रुविनाको अनुभव छ। राष्ट्रिय टिमकी कप्तान, पढाईले पनि १२ पास। शारिरिक रुपमा पनि फिट। नेपाली अंग्रेजी भाषामा कुनै समस्या छैन्। तर, विभागले जागिर भने हवल्दारको दिने। त्यो कुरा उनलाई चित्त बुझेन।
‘हामी डिजर्भ गरेर विभागीय क्लबमा पुगेको हो। त्यही किसिमको सुविधा र सम्मान दिनुपर्‍यो नि,’ रुविनाले भनिन्, ‘तर, सबै योग्यता भएपनि मैले हवल्दारमै बस्नुपर्ने? मेनस्टिमको खेलाडीहरुलाई कम्तीमा वान स्टार(असई) अथवा इन्स्पेक्टरसम्मको पोस्ट दिए हुन्थ्यो नि। खेलाडीहरुलाई योग्यता, क्षमता अनुसार वर्गिकरण र पोस्टिङ दिनुपर्छ। राम्रो खेलाडीलाई एक दुई स्टेप माथि लादा प्रोत्साहन मिल्छ भने त्यसमा पछि हट्नुहुँदैन्।’
भावनासँग नखेलिदिनुस्
पछिल्लो समय दुईवटा महिलाका घरेलु फ्रेन्चाइजी लिगहरु घोषणा भएपछि महिला क्रिकेटमा केही हुन्छ कि भन्ने आशा जागेको थियो। घोषणा भएको महिनौं भइसक्दा समेत महिला क्रिकेट लिग र वुमेन्स च्याम्पियन्स लिगले आयोजनाले गति लिएको छैन्।
तामझामका साथ ६ महिनासम्म घोषणा भएको र अक्सन पनि गरिएको महिला क्रिकेट लिग हुने नहुने नै टुंग्गो छैन्। तर, पुरुष क्रिकेट टिमका कप्तान पारस खड्का समेत संग्लन रहेको वुमेन्स च्याम्पियन्स लिग भने पटक पटक मिति सरिसकेपछि असोज अन्तिममा हुने भनिएको छ।
खेलाडीहरुमा भने त्यसबेला छाएको उत्साह अहिले निराशामा बदलिन लागिसक्यो। ‘त्यसबेला यस्तो उत्साहित गरिदियो कि आम्मामा के के न हुन लाग्यो जस्तो। अहिले आएर हुन्छ कि हुन्न नै निश्चित छैन्,’ रुविनाले दुखेसो पोखिन्।
rubina 5
दुनियाभरको चर्चाका लागि आफूहरुको भावनासँग नखेदिन रुविनाले आग्रह गरिन्। ‘सक्नुहुन्छ भने आँट ल्याउनुस गर्नुस। हामीले त कहिलेपनि यति चाहिन्छ, उति चाहिन्छ भनेका छैनौं। हामीले खेलमात्रै खोजेका हौं। कस्तो लाग्छ भने जो पनि आउँछ महिला क्रिकेटरलाई प्रयोग गरेर जान्छ। हाम्रो भावनासँग खेलेर जान्छ। हामी आफै त यति दुःखी छौं। कमसे कम हाम्रो भावनासँग त नखेलिदिनुस्,’ उनले आयोजकलाई सुझाव दिइन्।
खेलाडी जीवन पछि के?
पछिल्लो ६ महिनायता महिला क्रिकेट केही चलायमान दखियो। दुई अन्तर्राष्ट्रिय प्रतियोगिता भए। दुई घरेलु फ्रेन्चाइजी लिग घोषणा भए। यहीबीच आठौं राष्ट्रिय, प्रधानमन्त्री कप पनि भए।
सबै प्रतियोगिताका लागि देशभरबाट बेसिकमात्रै बुझेका महिला खेलाडी बोलाउँदा पनि मुस्किलले ३५–४० जना पुग्थे।
त्यसको मुख्य कारण कमजोर घरेलु संरचना नै हो। ‘घरेलु संरचना नै छैन् भने कसरी खेलाडी आउने? मेरै भविष्य त डामाडोल छ भने मैले के आधारमा नयाँ खेलाडी बोलाउने? नयाँलाई बोलाउन केही अवसर त हुनुपर्‍यो नि?’ रुविनाले प्रश्न गरिन्।
सामान्य नियम हो, बन्द प्रशिक्षणसम्म पुग्ने खेलाडी खारिएर आएको हुन्छ। तर, दुःखको कुरो नेपाली महिला टोलीको बन्द प्रशिक्षणमा पर्ने कतिपय खेलाडीलाई भने क्रिकेटको बेसिक नै थाहा हुँदैन। त्यो देख्दा रुविनालाई निकै दुःख लाग्छ।
rubina 2खेलाडी जीवनपछि एकेडेमी सञ्चालन गर्ने रुविनाको योजना छ। तस्बिर: प्रविन कोइराला
‘कतिजनाको बेसिक नै गलत छ। भन्छन्, यतिसम्म पनि आफ्नै अभ्यासले सिकेको हो। त्यो सुन्दा दुःख लाग्छ,’ रुविना भन्छिन्, ‘क्यानलाई मात्रै पर्खनुपर्ने के छ र? जिल्ला जिल्लाका एसोसियसनहरु जाग्नुपर्दैन? स्कुल स्तरीय प्रतियोगिता आयोजना गर्न सकिँदैन? जबसम्म स्कुलबाटै क्रिकेटर आउँदैन तबसम्म यही ३५–४० मात्रै खेलाडी हो।’
यो कुरा रुविनाको पनि मनमा गडेको छ। उनले खेलाडी जीवन पछि एउटा यस्तो एकेडेमी खोल्ने योजना बनाएकी छिन्। जहाँबाट नयाँ खेलाडीहरु उत्पादन गर्न सकियोस्। जसमा ग्राउण्ड, होस्टेल देखि लिएर खेलाडीलाई चाहिने सबै सुविधाहरु होस्।
‘अहिलेदेखि अलिअलि पैसा जम्मा गरेर राखेकी छु। खेलाडीहरु क्याम्पमा आउँदा नयाँ महसुस नहोस। सबै ग्रासरुट लेभलमै सिकिसकेको होस् भन्ने चाहना छ,’ रुविनाले टुंग्याइन्।

No comments:

Post a Comment