यज्ञराज जोशी । गत भाद्र २६ गते नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषदको ५६औं वार्षिकोत्सव थियो। अघिल्लो दिन राखेपबाट कराँते प्रशिक्षक गंगाराम महर्जनलाई उर्दी जारी भयो, ‘भोलि दौरा सुरवाल लगाएर आउनुहोला।’
दौरा सुरवालमा आउन भनेपछि पक्कै केही विशेष होला भन्ने भान उनलाई पर्यो। के का लागि दौरा सुरवाल लगाउने भन्ने ‘सस्पेन्स’ नै थियो।
महर्जन भोलिपल्ट राष्ट्रिय सभागृहमा दौरा सुरवालमा पुगे। चिटिक्क सजिएको मञ्चमा युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा), सदस्यसचिव रमेश सिलवालसहित सभागृह देशैभरिबाट आएका खेलकुदसम्बद्ध व्यक्तिहरुबाट भरिएको थियो।
यस वर्षको ‘सर्वोत्कृष्ट परिषद् सेवा पुरस्कार’बाट सम्मानित हुनुहुने व्यक्ति हुनुहुन्छ, गंगाराम महर्जन।
उद्घोषकले वर्षको सर्वोत्कृष्ट कर्मचारीलाई दिइने पुरस्कारमा आफ्नो नाम भट्टाएपछि बल्ल गंगारामले दौरा सुरवालमा आउने उर्दी जारी हुनुको रहस्य थाहा पाए। तालीको गडगडाहटबीच उनले सम्मान थापे। छाति धपक्क फुल्यो। देशलाई दुई दशक बढी खेलकुदबाट योगदान दिएको फल पाएको महसुस गरे।
सम्मान ग्रहण गर्दाको त्यो क्षणले उनलाई दुई दशकअघि दक्षिण एसियाली खेलकुद(साग)मा स्वर्ण जित्दाको त्यस्तै अर्को गर्विलो क्षण याद गरायो। त्यसबेला भारतका प्रतिद्वन्द्वीलाई पराजित गर्दै स्वर्ण दिलाएका थिए। त्यसबेला पनि यसरी नै तालीको गडगडाहट थियो। यसरी नै मान्छेहरुले उनको नाममा हुटिङ गरेका थिए। गर्वले छाती धपक्क फुलेको थियो। सबैले बधाई दिएका थिए।
‘नौ वर्षदेखि मैले लगातार राष्ट्रिय टोली हेर्दै आएको छु। मद्वारा प्रशिक्षित खेलाडीले विदेशमा पनि लगातार मेडल ल्याइरहेका छन्,’ सम्मान पाएको खुशी नेपालखबरसँग साट्दै महर्जनले भन्छन्, ‘अनुशासन, एचिभमेन्ट, आर्थिक पारदर्शिता तथा मैले गरिरहेका क्रियाकलापले नै मलाई सर्वोत्कृष्ट पुरस्कार दिलाउने आधार हुन्। यस सम्मानले दुई दशकअघि मैले मेडल जित्दाको क्षण सम्झायो।’
त्यो गर्विलो क्षण
दुई दशकपछि तेस्रो पटक मंसिर १५–२४ गतेसम्म नेपालले साग आयोजना गर्दैछ। यसपटक खेलाडीबाट प्रशिक्षकको जिम्मेवारीमा रहेका गंगारामलाई त्यही आफ्नै स्पर्धामा दुई दशकसम्म कसैले दिलाउन नसकेको सफलता दोहोर्याउने चुनौती छ।
यसपटक राष्ट्रिय च्याम्पियन मन्डेकाजी श्रेष्ठले एकल कातामा नेपालबाट प्रतिस्पर्धा गर्दैछन्। उनीबाट दुई दशकपछि एकल कातामा अर्को स्वर्ण थपिने विश्वास गंगारामको छ।
उनी भन्छन्, ‘यसपटक मैले ल्याएको मेडल मेरो चेलाले ल्याउँदै इतिहार राखोस भन्ने छ। मेरा लागि अवसर र चुनौती दुवै हो। हामी मेहनत गरिरहेका छौं। जुन लगाव लगाएका छौं त्यसले कीर्तिमान राख्नेमा विश्वास छ।’
सागमा देशका लागि स्वर्ण जित्दाको स्मरण गर्दा अहिले पनि गर्दा गंगारामको छाती गर्वले धपक्क फुल्छ। त्यसबेला राजाको शासन थियो। युवराज दीपेन्द्र त्यसदिन एथ्लेटिक्सका गणेशबहादु राई लगायतले स्वर्ण ल्याउँछन् भनेर त्यता गएका थिए। तर, गणेश काँस्यमा सीमित भए। अनि दीपेन्द्र कराँते हेर्न आइपुगे। त्यसबेलै भारतीय प्रतिद्वन्द्वीलाई पराजित गर्दै गंगारामले स्वर्ण जिते। दीपेन्द्र सरकारसँगै सबैले उनलाई बधाई दिए।
‘खेलअघि मलाई १८ दिनसम्म निद्रै लागेको थिएन्। अबेर रातिसम्म पनि कसरी खेल्ने गेम? गेम जित्छु कि जित्दैन्? भन्ने कुरामात्रै दिमागमा आउथ्यो। जतिजति गेम नजिक आयो, झन त्यति निन्द्रै लाग्थेन्,’ उनले सम्झे, ‘निद्रा नलागेपनि आत्मविश्वास ठूलो कुरो रहेछ। आत्मविश्वास भएपछि जस्तो सुकै कठिनाईलाई पनि पार लाउन सकिदो रहेछ। त्यसैले मलाई जितायो।’
लगत्तै दरबारले उनीसहित पदक जित्ने खेलाडीहरुलाई सोल्टी होटलमा रात्रि भोजको व्यवस्था गर्यो। भोजको निम्तो दिन दरबारका मान्छेहरु उनको घरमा पुगे। तर, उनीहरुले जति ढक्ढकाए पनि गंगारामले ढोकै खोलेनन्। फोन गर्दा समेत फोन उठाएनन्। बोलाए पनि जवाफ फर्काएनन्।
निकै बेरको लगातार ढोका ढक्ढकाई र फोनको निरन्तर आवाजपछि बल्लतल्ल गंगारामले कोही बाहिर भएको चाल पाए। ‘१८ दिनदेखिको निन्द्रा त्यसदिन परेको रहेछ। ढोका फुट्ने गरेर बाहिर बोलाउँदा पनि केही चाल पाएनछु,’ उनले भने।
संघर्ष
४० को दशक शुरुमा चाइनिज कलाकार ब्रुस लीका चलचित्रहरु निकै चल्थे। ३२ वर्षे छोटो जीवन बाचेका ब्रुस लीले आफ्नो मार्सल आर्टस कला पर्दामा उतार्दै धेरैलाई प्रभावित पारे। क्यासेट भिडियो प्लेयरको त्यो जमानामा केटाकेटीहरु पनि ब्रुस लीका त्यतिकै फ्यान थिए।
४० को दशक शुरुमा चाइनिज कलाकार ब्रुस लीका चलचित्रहरु निकै चल्थे। ३२ वर्षे छोटो जीवन बाचेका ब्रुस लीले आफ्नो मार्सल आर्टस कला पर्दामा उतार्दै धेरैलाई प्रभावित पारे। क्यासेट भिडियो प्लेयरको त्यो जमानामा केटाकेटीहरु पनि ब्रुस लीका त्यतिकै फ्यान थिए।
ब्रुस लीको कम्फु हेरेपछि गंगारामको बाल मष्तिस्कमा पनि त्यसबाट अछुतो रहेन। उनी सोच्न थाले, ‘म पनि यसरी नै फाइट गर्छु।’ ब्रुस लीको कुम्फुले नै उनलाई २०४० सालमा चापागाउँको डोजो(कराँते सिकाउने ठाउँमा पुर्यायो।
दुई वर्ष डोजोमा अभ्यास गरेपछि बिस्तारै उनी कराँते बुझ्न थाले। २०४२ सालदेखि रंगशालामा प्रशिक्षण लिन गए। उनी ललितपुरको ठोचेमा बस्थे। ठोचेबाट त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको दुरी ७ किलोमिटर थियो। सुरुका केही दिन उनी साथीको साइकलमा प्रशिक्षणमा आउँथे। त्यसपछि दौडेर रंगशाला आउन थाले।
बाटोमा पर्ने सुनाकोटी, धोलाहिटी, खुमलटार एरियामा केहीमात्रै घर थिए। राति बाटोमा कुकुरहरुले लखट्थे। तर, कराँते सिक्ने तीव्र चाहनाका अघि कुनैपनि कुराले उनलाई छेकेन्।
‘घडी पनि हुन्थेन। कति बज्यो पनि थाहा हुँदैनथ्यो। जुरुक्क ब्युँझिए कि हिड्योे,’ उनले संघर्षका दिन सम्झे, ‘२–३ बजे बिहान आँखा खुल्ने बित्तिकै म रंगशालाका लागि हिड्थे। कतिदिन बाटोमा कुकुरले लखेट्दै लखेट्दै मलाई रंगशाला पुर्याएको सम्झना छ।’
रंगशालामा ६ बजेदेखि प्रशिक्षण हुन्थ्यो। उनी जहिले एक डेढ घण्टाअघि नै त्यहाँ पुगिसकेका हुन्थे। जाडोको महिना त्यही वरपर ठेलागाडीको काम गर्नेहरुले मुडा बालेका हुन्थे। त्यही ताप्दै उनी रंगशालाको ढोका खुल्ने पखाईमा बस्थे।
सुरुमा खेलेर कहाँसम्म पुग्ने भन्ने योजना थिएन्। ब्रुसलीले किक हानेको देखेका उनलाई हातगोडा बलियो बनाउनु थियो। तर, बिस्तारै उनी कराँतेमा घुल्दै गए। जति घुल्दै गए, त्यति कराँतेका बारेमा थाहा पाउन थाले।
करातेमा विधाहरु मध्येका दुई हुन, कुमिते र काता। सुरुका केहीवर्ष गंगाराम कुमितेमा रमाए। तर, उचाईले उनलाई साथ दिइन। अपेक्षित प्रगति पनि हासिल गर्न सकेनन्। र, लागे कातातर्फ।
त्यसमा भने उनी सुरुमै सफल पनि भए। १९९४ मा जापानमा १२औं एसियन गेम्सका हुँदै थियो। पनौतीमा नेपाली खेलाडीहरुको छनोट थियो। जहाँ पहिलोपटकमै उनले आफ्ना गुरु हिरासिंह डंगोलसँग प्रतिस्पर्धा गनुपर्ने भयो। गुरुको अनुभवअघि किशोर गंगाराम एक अंकले मात्रै पछि परे। खेल हारेपनि सबैको मन जितेका गंगारामका विषयमा भोलिपल्ट मिडियामा उदयीमान खेलाडी भन्दै समाचार छापियो। त्यसपछि उनको कराँतेले उडान भ¥यो।
‘गुरुबाट एक अंकले पछि परेपनि भोलिपल्ट मिडियामा उदीयमान खेलाडी भन्दै नाम आयो,’ उनले सम्झिए, ‘त्यसले म हौसिए। त्यसपछि २०५४ देखि २०६५ सम्म कसैले मलाई पछार्न सकेन्। म लगातार ११ वर्ष राष्ट्रिय च्याम्पियन भए।’
कराँतेको इतिहासमा ११ वर्षसम्म राष्ट्रिय च्याम्पियन हुने उनी एक्लो खेलाडी हुन्। २०६५ बाट भने नयाँ खेलाडीलाई मौका दिनुपर्छ भन्दै उनले खेलाडी जीवन अन्त्य गरे। त्यसपछि सुरुमा प्रर्शुराम बास्तोला उदाएका थिए। तर निरन्तरता पाउन सकेनन्। अचेल मन्डेकाजी र प्रर्शुरामबीच राष्ट्रिय च्याम्पियनको अदलबदल भइरहेको हुन्छ।
‘सधैँ शीर्ष स्थानमा बस्न गाह्रो छ। खाने, बस्ने हरेक कुरामा त्याग गर्नुपर्छ। मलाई आफ्नो बज्यै, काका, ठूल्बुबाहरु बित्दा पनि मलाम नगई प्रशिक्षण गरेको याद छ। हामी नेवारको त महिनापिच्छे जात्रा आउँछ। जाड रक्सी लिइन्छ। तर म न जात्रा जान्थे न जाँडरक्सी खान्थे। पूर्ण अनुशासनका साथ आफ्नो स्वास्थ्यको ख्याल राख्थे,’ उनले आफ्नो मेहनत सम्झे।
देशका प्रतियोगितामा मात्रै हैन्, विदेशमा भएका प्रतियोगितामा पनि गंगारामको प्रदर्शन उत्तिकै उत्कृष्ट थियो। उनले नवौं सागमा काँस्य पदक जितेका थिए। यस्तै एसियन च्याम्पियनसिपमा तीन बाउट जित्ने उनी एक्लो नेपाली खेलाडी समेत हुन्।
‘शिक्षकले नै योसँग संगत नगर भन्नुहुन्थ्यो’
रंगशालामा बिहान ६–८ सम्म ट्रेनिङ हुन्थ्यो। स्कुल साढे ९ बजे लाग्थ्यो। रंगशालाबाट घरपुगेर स्कुल पुग्दा धेरै दिन पहिलो पिरियड छुटिसकेको हुन्थ्यो। खेलाडी स्वभाव उनीमा स्कुल जीवनदेखि नै थियो। पढाईमा भन्दा हा..हा..हु..हु गर्नेमै उनको ध्यान हुन्थ्यो। त्यही भएर शिक्षकहरु अरु विधार्थीलाई उनको संगतै नगर्न सम्मको सुझाव दिन्थे।
अहिले पनि नेपाली पढाउने सरले साथीलाई भनेको उनलाई अहिलेपनि याद छ। सरले भनेका थिए, ‘योसँग हिडेपछि तिमीहरुले नख्खुमा गई हार्मोनियम, तवला बजाउनुपर्ने हुन्छ। यो त हरे राम, हरे शिव बजाउन जानेछ। तिमीहरु पनि त्यसरी जाने हो?’
‘त्यसबेला त मैले बुझेन, पछि बुझे त्यो भनेको त जेल रहेछ,’ हल्का मुस्कुराउँदै उनले भने, ‘म अलिकति फटाहा पनि थिए। बाङबुङ खेल्ने। अर्काको खाइदिने। फुटबल खेल्दापनि ड्याङ, डुङ गर्ने। नपढ्ने। अलिकति आवारा किसिमको हिड्ने भएकाले सरले चाहीँ त्यसो भनेका रहेछन्।’
आठौंमा स्वर्ण जितेपछि तत्कालिन युवराज दीपेन्द्रको हातबाट उनले सप्रबल गोरखा दक्षिण बाहु सम्मान पाए। उक्त सम्मान पाएपछि घर खोजी–खोजी आएर ती सरले बधाई दिएको गंगारामलाई अहिले पनि याद छ।
‘अहो, मैले तिमीलाई टिभीमा पनि हेरे। राजकुमार(दीपेन्द्र)ले अँगालो मारेको हेरे,’ सरले भनेका कुरा स्मरण गर्दै उनले भने, ‘तिमी चाँही खराब ठाउँमा लागेको हैनौं रहेछौं भनेर मलाई बधाई दिनुभयो।’
यसपटकको अपेक्षा के?
मंसिरमा हुने सागका लागि यसपटक कराँतेका काता तथा कुमिते दुवै विधामा प्रतिस्पर्धा गर्ने अन्तिम खेलाडीहरु छनोट भइसकेका छन्। दुवैमा गरि १९ वटा स्पर्धामा प्रतिस्पर्धा हुनेछ। गंगारामसहित अन्य दुई जना प्रशिक्षकले विहान र बेलुका खेलाडीहरुलाई नियमित प्रशिक्षण गराइरहेका छन्।
मंसिरमा हुने सागका लागि यसपटक कराँतेका काता तथा कुमिते दुवै विधामा प्रतिस्पर्धा गर्ने अन्तिम खेलाडीहरु छनोट भइसकेका छन्। दुवैमा गरि १९ वटा स्पर्धामा प्रतिस्पर्धा हुनेछ। गंगारामसहित अन्य दुई जना प्रशिक्षकले विहान र बेलुका खेलाडीहरुलाई नियमित प्रशिक्षण गराइरहेका छन्।
‘यसपटक काताबाट २–३ सम्म तथा कुमितेबाट ६ वटासम्म गोल्डमेडेलको अपेक्षा गरेका छौं,’ गंगाराम भन्छन्, ‘अझै केही समय बाँकी छ। यसबीच प्राप्त हुने म्याच एक्सोजरले पनि फरक पार्नेछ।’
‘प्रशिक्षकसँगै खेलाडीले समेत दिलोज्यान लगाउँनुपर्छ। अहिलेका खेलाडीहरु यो भएन त्यो भएन भनेर गुनासो गर्छन्। त्यो सोच्नु भन्दा जे सुविधा छ, त्यसैमा एडजष्ट हुुन सक्नुपर्छ। स्वर्ण जित्दा बज्ने राष्ट्रिय धुनले बिशाल आनन्द दिन्छ। त्यो आनन्द महशुस गर्ने अवसर कुनै खेलाडीले पनि गुमाउनु हुन्न,’ उनले टुंग्याए।
No comments:
Post a Comment