Sunday 25 June 2017

अन्तर्वार्ताः ‘पन्ध्र वर्षमै विश्वकप चुम्न सक्छाैं’ -सुवाश शाही

देशकै सर्वाधिक राशीको सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) को उपाधि घरेलु टोली टिम चौराहा धनगढीले उचालेसँगै भव्य समापन भएको छ। नेपाली क्रिकेटमा नौलो प्रयोग गर्न माहिर मानिएका धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष तथा सुदूरपश्चिमाञ्चल एकेडेमीका निर्देशक सुवास शाहीको नेतृत्वको टोलीले प्रतियोगिताको सफल अवतरण गराएका हुन्। देशकै ठूलो प्रतियोगिता आयोजना कसरी सम्भव भयो त? प्रतियोगिता निर्देशक शाहीसँग गरिएको कुराकानी :
कस्तो रह्यो डिपिएल आयोजना गर्दाको अनुभव? 
डिपिएलको उद्घाटनसँगै नेपाली क्रिकेटले ऐतिहासिक मोड लिएको थियो र सकिसक्दा नेपाली क्रिकेट नयाँ युगमा प्रवेश गरिसकेको छ। डिपिएल नेपाली क्रिकेटका साथसाथै नेपाली खेल जगतमा युगान्तकारी घटना रह्यो। यसले नेपाली क्रिकेटलाई व्यावसायिक युगमा प्रवेश गराएको छ। प्रतियोगिताले राष्ट्रका लागि पूर्ण समर्पणका साथ खेल्ने क्रिकेट खेलाडीले उचित सम्मान र मूल्य प्राप्त गर्ने युगको सुरुवात भएको छ। यस्तै, घरेलु प्रतियोगिताहरु देशैभरि हुने हो भने हामी अवश्य पुनः विश्वकप खेल्ने छौं र हामी त्यसमा विश्वस्त छाैं। 
हाम्रो सपना विश्वकप हो र डिपिएल त्यसको एक सिँढी। डिपिएलले क्रिकेटलाई विश्वकपमा पुग्न द्रूत गतिमा अगाडि आवश्यक रहेको सन्देश दिएको छ भने साथसाथै बाध्यकारी वातावरण सिर्जना गरेको छ। अब घरेलु क्रिकेट रोकिने छैन। हामी रोक्ने छैनौं। प्रतियोगिता सम्पन्न गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष  रुपमा थुप्रै व्यक्ति, संघसंस्था, सरकारी निकाय, स्थानीयहरु तथा आम क्रिकेट प्रेमीहरुको साथ रह्यो। सबैको भावपूर्ण एेक्यवद्धता, सद्भाव र सहयोग मेरो अनि सम्पूर्ण डिपिएल आयोजकका लागि अविष्मरणीय अनुभव रह्यो। 
ठूलो प्रतियोगिता आयोजना गर्दा चुनौती पनि ठूल्ठूला आए होलान्। के कस्ता चुनौती सामना गर्नुपर्यो?
चुनौती हामीले आफूले आफूलाई दिएका हौँ। आजभन्दा सात वर्ष अगाडि एसपिए कपको पहिलो संस्करण गर्दा पनि क्रिकेट नै नहुने अवस्था रहेका बेला हामीलाई प्रतियोगिता गर्न चुनौती थियो। त्यसपछि दोस्रो, तेस्रो र चौथो संस्करणमा एसपिए कप देशकै सर्वाधिक धनराशीको क्रिकेट प्रतियोगिता बन्यो। त्यही क्रमलाई निरन्तरता दिन हामीलाई सजिलो थियो। हामी त्यस्तै खालको प्रतियोगिता सजिलै गर्न सक्थ्यौं पनि। 
तर, हामीले चुनौती मोल्यौं। पहिलोपटक राष्ट्रिय खेलाडीहरुको अक्सन गरायौं। राजधानीबाहिर मोफसलमा देशकै ठूलो प्रतियोगिता गर्ने चुनौतीलाई सफलतामा डोर्यायौं। प्रयोजकहरूलाई उनीहरुको लगानीको उचित प्रतिफल दिने वातावरण बनायौं। क्रिकेट तथा खेल क्षेत्रका स्टक होल्डरहरुलाई धनगढी भित्र्यायौ र प्रतियोगितालाई भव्यताका साथ गन्तव्यमा पुर्यायौं। 
के दियो त डिपिएलले समग्रमा? 
घरेलु क्रिकेट नै नभइरहेका बेला डिपिएल घोषणासँग यसले आशाको सञ्चार गराएको थियो। डिपिएलले क्रिकेटलाई व्यावसायिकतातर्फ उन्मुख गराएको छ। एउटा प्रतियोगिता खेलेर एउटा खेलाडीले लाखौं कमाएका छन्। यसले उनीहरुलाई क्रिकेट खेलेर पनि जीवनयापन गर्ने वातावरण बन्दैछ है भन्ने उदाहरण दिएको छ। 
नेपालमा क्रिकेट खेल र खेलाडीको स्तर पनि बढाएको छ। हिजोसम्म स्कुल कलेजका प्रतियोगिताहरुमा राष्ट्रिय खेलाडीहरु खेल्नुपर्ने बाध्यता थियो। तर, डिपिएल खेलेका खेलाडीहरु स्वयंले गौरव महसुस गरेका छन्। आयोजक भएका नाताले सुदूरपश्चिम अनि धनगढीको पहिचान प्रतियोगिताले फराकिलो बनाएको नै छ। साथै क्रिकेट खेलका माध्यमबाट देशको एकता, सम्मान, पहिचान र आर्थिक उत्थानमा प्रतियोगिताले भूमिका खेलेको हामीले विश्वास लिएका छौं। 
अर्को मुख्य कुरा हामीले प्रतियोगिताबाट एउटा व्यवस्थापन टिम तयार पारेका छौं। सँधैंभरि हामीले मात्रै प्रतियोगिता आयोजना गरेर सम्भव हुँदैन। हामीले नयाँ युवाहरुलाई यस क्षेत्रमा रुची बढाउँदै उनीहरुको क्षमता बढाउँदै लैजानुपर्छ। यस प्रतियोगितामा हामीले नयाँ युवाहरूलाई निश्चित जिम्मेवारी दिएका थियौं। उनीहरुले कुशलतापूर्वक जिम्मेवारी बहन गर्दै समग्रमा प्रतियोगिता भव्यताका साथ सम्पन्न गर्न भूमिका खेल्नुभयो। उहाँहरु लगायत सबैको उत्साहपूर्वक टिम स्पिरिटले प्रतियोगिताको सफल अवतरण भएको हो।
तपाईंहरुको दीर्घकालीन लक्ष्य के हो?
इच्छाशक्ति, दृढ विश्वास, मेहनत र लगनशीलता भए हामी आगामी १५ वर्षमै विश्वकप चुम्न सक्छौं भन्ने हाम्रो विश्वास हो। सुदूरपश्चिमको धनगढीले राज्यलाई देशकै सबैभन्दा गौरवशील प्रतियोगिता डिपिएल दिन सक्छ भने समग्र राष्ट्र एकै मालामा उनिए, गोलवद्ध भए १५ वर्षमा विश्वकप जित्न असम्भव छैन। त्यसैले देशमा क्रिकेट तातेको, जागेको यो समयमा राज्य र उद्योगी व्यवसायीले पनि हातेमालो गर्नु आवश्यक छ। क्रिकेट उठे व्यापार उठ्ने छ, उद्योग उठ्ने छ, युवा शक्ति उठ्ने छ र समग्र देश जुरुक्क उठ्ने छ।
धनगढीलाई किन तपाईंहरु क्रिकेटको सहर भन्नुहुन्छ?
यो हामीले भनेका हैनौं। धनगढी उप-महानगरपालिकामा सम्पूर्ण राजनीतिक दलहरुको बैठकले धनगढीलाई क्रिकेटको सहर नामाकरण गर्दै यसको प्रवर्द्धनमा विभिन्न कार्यक्रम आयोजना गर्दैछ। अन्य ठाउँ र हामीमा त्यही फरक छ। धनगढीमा क्रिकेटको विकास तथा प्रवर्द्धनमा सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, स्थानीय, उद्योगी, व्यापारी एक ठाउँमा उभिन्छन्। 
यहाँका एक जना सामान्य म:म पसलेले पनि प्रत्येक प्लेट म:म मा एक रुपैयाँ यहाँको क्रिकेट विकासमा छुट्याउँछ भन्ने खबर सबैका लागि प्रेरणादायी बन्न सक्छ। स्वतः रुपमा धनगढी देशकै सबैभन्दा ठूला र धेरै क्रिकेट गतिविधि हुने ठाउँ पनि हो। धनगढीबासीहरु पनि आफूलाई सिटी अफ क्रिकेट नगरीको नागरिक भन्दा गौरबान्वित हुन्छन्।
झण्डै तीन दर्जन खेलहरु आयोजना गर्दा पनि डिपिएल एउटै मैदानमा गर्नुपर्यो। प्रत्येक दिन खेलहरु भएकाले पिच मेन्टन पनि अप्ठारो परिरहेको थियो। धनगढीमा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउने कार्य कहाँ पुग्यो?
क्रिकेटको विकासका लागि गुणस्तरीय भौतिक पूर्वाधार त्यत्तिकै आवश्यक हुन्छ। जति क्रिकेटमा व्यावसायिकताको आवश्यकता छ सँगसँगै अन्तर्राष्ट्रिय मापदण्डका क्रिकेट स्टेडियम र खेल मैदानको पनि आवश्यकता हुन्छ। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म, उच्च पहाडी क्षेत्रदेखि समथल तराई मधेससम्म क्रिकेट स्टेडियम आवश्यक छन्। त्यसो गरे, नेपाललाई विश्व क्रिकेटको हव बनाउन कस्ले रोक्ने? के ले छेक्ने?
धनगढीमा डिपिएलजस्ता ठूला प्रतियोगिता आयोजना गर्न मैदान अभाव देखिएको यथार्थ हो। हामी कहाँ स्थायी मैदान छैन। सोही कारण हामीले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको अभियान थालेका हौं। जुन हाल निर्माणाधीन अवस्थामा छ। यसको निर्माणसँगै धनगढी तथा सुदूरपश्चिमलाई समृद्ध बनाउने प्रमुख माध्यम यो बन्नेमा हामी विश्वस्त छौं। जसको सकारात्मक प्रभाव देशभर देखिने छ। त्यसले देशका अन्य भागमा पनि क्रिकेट रंगशाला र क्रिकेट मैदान बनाउन दबाब बढ्ने छ। उद्योगी व्यापारी स्वस्फुर्तरुपमा रंगशाला निर्माणमा, खेल आयोजनामा जुट्नेमा म विश्वस्त छु।
डिपिएल होस् या देशभरि हुने अन्य खेलकुदका कार्यक्रमहरूमा सम्बन्धित सरकारी निकायले प्रभावकारी सहयोग नगरेको पनि यथार्थ हो नि है?
डिपिएलजस्ता प्रतियोगिताहरुको आयोजना सरकार तथा सम्बन्धित अफिसियल निकायले गर्नुपर्ने हो। दृढ इच्छाशक्ति भएको खण्डमा डिपिएलजस्ता ठूल्ठूला प्रतियोगिताहरु सजिलै आयोजना गर्न सकिँदो रहेछ भन्ने उदाहरण हामीले राज्यलाई र सम्बन्धित निकायलाई दिएका छौं। देशको क्रिकेट विकासको अभिभारा सुरुमा सम्बन्धित निकायको हो। सम्बन्धित निकायले इच्छा शत्ति देखाएको खण्डमा योभन्दा पनि ठूला क्रिकेट प्रतियोगिताहरु आयोजना हुनेमा हामी विश्वस्त छौं। सरकारले क्रिकेटको विकासमा मन खोलेर सहयोग गर्नुपर्छ र पूर्वाधार विकासमा लगानी बढाउनुपर्छ।
तर, हामी राज्यले यो गरेन त्यो गरेन भन्दै गुनासो गर्दैनौं। राज्यले के दियो भन्दा पनि राज्यलाई के दिन सकिन्छ भन्नेतर्फ हाम्रो सोच अग्रसर छ। हाम्रो कामबाट प्रभावित भएर सरकार बाध्य भएर क्रिकेटमा लागोस भन्ने सिर्जनात्मक प्रयासको अभ्यास हामी गरिरहेका छौं। सरकारले पनि राम्रो कामलाई प्रोत्साहन गर्नेछ भन्नेमा हामी ढुक्क छौं। 
नेपाली क्रिकेटमा नयाँ-नयाँ सफल प्रयोग र अभ्यास गर्ने व्यक्तिका रुपमा तपाईंको छवि रहँदै आएको छ? डिपिएल पनि नेपाली क्रिकेटमा सफल र नयाँ प्रयोग भइसकेको छ। अब के गर्ने लक्ष्य बनाउनु भएको छ।
सगरमाथा सिमेन्ट डिपिएलले नेपाली क्रिकेटलाई ऐतिहासिक मोड दिन सफल भएको छ। यसअघि हामीले देशकै स्थानीय स्तरमा अक्सन, देशकै लामो क्रिकेट लिग प्रतियोगिता, श्रीलंका लगायतका देशहरूको खेल भम्रण, देशकै सर्वाधिक धनराशीको क्रिकेट प्रतियोगिताहरु लगायत थुप्रै नयाँ सफल प्रयोग गरेका थियौं। 
डिपिएलका आगामी संस्करणहरूमा अझ बढी टिमहरुको सहभागिता गराउने तथा पुरस्कार राशी अझै बढी गराउने सोचेका छौं। साथै, सम्भव भएको खण्डमा होम एण्ड अवेको कन्सेप्टमा डिपिएल आयोजनाको सम्भाव्यता अध्ययन पनि गर्नेछौं। नेपाली क्रिकेटको भविष्य सुन्दर छ। हामीले भर्खरै काम सुरु गरेका छौं। हामीसँग अझै समय छ। देशभरि नै नेटवर्क विस्तार भइसकेकाले सो होम एण्ड अवेको कन्सेप्टलाई पूर्णता दिन हामी भरपुर मेहनत गर्नेछौं

No comments:

Post a Comment