‘राज्यले सुदूरपश्चिमलाई सधैं पछि पार्यो,’ जान्नेहरू यसै भन्छन्। र, यथार्थ पनि यही हो। कांग्रेस सभापति शेरबहादुर देउवाको ‘किल्ला’ मानिने सुदूरपश्चिम वार्षिक बजेटमै उपेक्षित हुने गरेको गुनासो प्रशस्तै सुनिन्छ।
विकासका पूर्वाधार, योजना, आयोजना निर्माण हिसाबले पनि पछि नै परेको आम बुझाइ छ। यस क्षेत्रका जनता देशका अन्य क्षेत्रभन्दा सुदूरपश्चिमको भागमा बजेट तथा कार्यक्रम कम पर्छ मात्रै हैन, पारिन्छ भन्ने गरेका छन्।
राज्यबाट हेपिए पनि सुदूरपश्चिमेली शिक्षित र जागरुक भइसकेका छन्। ‘राज्यले सुदूरपश्चिमलाई सधैं पछि पार्यो’ भन्ने अचेल कम सुनिन थालेको छ। ‘हाम्रो ठाउँलाई हामीले नै बनाउनुपर्छ’ भन्ने भावना जागृत हुन थालेको छ।
‘हाम्रो ठाउँलाई हामीले बनाउनुपर्छ’ भन्ने मान्यतालाई आत्मसात गर्दै कैलाली उद्योग वाणिज्य संघले ‘सुन्दर सुदूरपश्चिम’ अभियान छेड्यो। राज्यको हेपाय प्रवृत्तिको परिणामले छेडेको आन्दोलन थियो, त्यो। सुदूरपश्चिमका सबै क्षेत्र, वर्ग, भाषा, संस्कृति, व्यापारी, बुद्धिजीवि, राजनितिज्ञ उद्योग वाणिज्य संघको सुन्दर सुदूरपश्चिम अभियानमा होमिए।
त्यसैको परिणाम हो, ‘सुदूरपश्चिम’ नाम फेरिएर ‘सुन्दरपश्चिम’ बन्यो। नाम मात्रै हैन, सुदूरका सुन्दर भूमि तथा क्षेत्र खप्तड, अपी, शैपाल, शुक्लाफाँट, बडिमालिका, उग्रतारा, सुर्मा, दोधाराचाँदनी लगायतलाई पर्यटकीय गन्तव्यका रुपमा अगाडि ल्याइयो। यहाँको भाषा, संस्कृति, कला, साहित्यलाई उकासियो। ‘एक पैसे’ अभियानले मुलुककै दोस्रो ठूलो गेटा विमास्थलमा हवाइजहाज उडाइयो। तीतारे होटलहरू धमाधम खुले। कलकारखाना, उद्योगधन्दामा लगानी बढ्यो। मुख्य बजारहरू आधुनिक बने। शाखा बजारहरू विस्तारको क्रममा छन्। आर्थिक चहलपहलमा ह्वात्तै बढ्यो।
आर्थिक विकासमा फड्को मार्ने उद्देश्यसहित कैलाली उद्योग वाणिज्य संघले थालेको सुन्दर सुदूरपश्चिम अभियानले सुदूरपश्चिमलाई फरक पहिचान दियो नै दुई वर्ष अगाडि अंकुराएको एउटा यस्तै अभियानले समृद्ध सुदूरपश्चिमको परिकल्पनालाई यथार्थमा बदल्ने अठोट गरेको छ।
सन् २०१५ को फेब्रुअरीमा घोषित ड्रिम फाप्ला (फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण अभियान) अभियानले समृद्ध सुदूरपश्चिमको परिकल्पनासहित चालीस हजार दर्शक क्षमताको अन्तर्राष्ट्रिय क्रिकेट मैदान धनगढीमा बनाउने उद्देश्य बोक्दै कार्य थालनी गरेको हो। ड्रिम फाप्ला आफ्नो उद्देश्यमा खरो उत्रिए समृद्ध सुदूरपश्चिमको परिकल्पना यथार्थमा बदलिनेछ।
प्रारम्भ
धनगढी क्रिकेटका अभियन्ता सुवास शाही र टिमले वि.सं. २०६६ देखि सुरू गरेको होटल डिभोटी एसपिए कपबाट सुस्ताएको धनगढी क्रिकेट जुर्मुराएको हो। प्रतियोगिता त सुरू भयो तर यसले पहिलो संस्करणबाट नै क्रिकेट मैदान अभावको चुनौती झेल्नुपर्याे। ड्रिम फाप्लाका संयोजक तथा एसपिए कपका आयोजक शाही भन्छन्, ‘पहिलो र दोस्रो संस्करण हामीले धनगढीमा रंगशालामा जसोतसो गर्यौं।’
तेस्रो संस्करणदेखि एसपिए कप सर्वाधिक धनराशीको हुँदै देशकै ठूलो प्रतियोगिता बन्यो। तर, २०६८ मा धनगढीमा भएको छैठौं राष्ट्रिय खेलकुदले धनगढी रंगशालालाई फुटबल मैदानका रुपमा विस्तार गरियो। मैदान बाहिर ट्र्याक निर्माण भयो। त्यसको प्रत्यक्ष मार क्रिकेटलाई पर्याे। फुटबलका लागि मैदान मासिएपछि क्रिकेटका लागि प्रर्याप्त ठाउँ भएन, रंगशालाबाट क्रिकेट विस्थापित बन्यो।
रंगशालामा प्रतियोगिता सञ्चालन हुन सम्भव नदेखिएपछि शाहीको दिमागमा अन्तर्राष्ट्रिय क्रिकेट मैदानको खाका त्यतिबेलै घुम्न थालिसकेको थियो। ‘तर, नजिकै एसपिए कपको तेस्रो संस्करण आइसकेकोले राष्ट्रव्यापी बनेको प्रतियोगितालाई सेती अञ्चल प्रहरी कार्यालयको खेल मैदानमा सारियो। जहाँ प्रहरीका तालिम, महोत्सव, विभिन्न सांस्कृतिक लगायत थुप्रै कार्यक्रम हुन्थे। जसकारण मैदानलाई क्रिकेटका लागि त्यति उपयुक्त मानिँदैन थियो। तर, पनि अन्य विकल्पको अभावमा त्यही मैदानलाई खेल्न योग्य बनाइयो र एसपिए कपका तेस्रो र चौथो संस्करण त्यहीँ आयोजना भए,’ शाहीले भने।
भिजन र दूरदृष्टी
‘सन् २०१५ मा एसपिए कपको चौथो संस्करणअघि नै हामीले धनगढीमा क्रिकेटका लागि छुट्टै मैदान आवश्यक रहेकोबारे बहस सुरू गरिसकेका थियौ,’ धनगढी क्रिकेट एकेडेमी (डिसिए)का अध्यक्षसमेत रहेका शाहीले भने, ‘खोज्दै जाँदा धनगढी नगरपालिका वडा नम्बर–४ स्थित मोहना नदिको छेउमा गौचरणका रुपमा रहेको फाप्ला मैदान भेटियो।’
मैदान चारैतिरबाट नियाले। तत्कालीन अवस्था सम्झँदै शाहीले भने, ‘मैदानमा गाई–भैंसी चरिरहेका थिए। मैदानका बीच–बीचमा भैंसी आहाल बस्ने खाल्डा थिए, मैदानको एक भाग उच्च थियो, एक भाग होचो थियो। नदी किनार र खुला मैदान भएकाले जताजतै मलमुन्त्रको गन्ध आउँथ्यो। दुई छेऊमा फुटबलका पोल पनि गाडिएका थिए। नियाल्दा गाउँका स्थानीय युवाहरू कहिलेकाहीँ मैदानमा फुटबल खेल्नका लागि प्रयोग गर्ने गरेको देखिन्थ्यो।’
दूरदृष्टि (भिजन) कमजोर हुने कुनै व्यक्तिहरूले यदि त्यस मैदानको पहिलो झलक हेरेको हुन्थ्यो भने सायद कसैलाई त्यहाँ अन्तर्राष्ट्रिय मैदान बन्न सक्छ भन्ने परिकल्पना गर्न पनि गाह्रो थियो। तर, शाहीले त्यसैबेला मैदानमा अन्तर्राष्ट्रिय रंगशालाको स्वरुप देखिसकेका थिए।
रंगशालाको रोडम्याप शाहीले स्थानीय लिगबाटै सुरू गरे। ‘मैदान स्थानीय डिलाशैनी सामुदायिक बनको मातहतमा रहेछ,’ शाहीले भने, ‘हामीले उहाँहरू र स्थानीयको अनुमतिमा धनगढी क्रिकेट लिग (डिसीएल) को पहिलो संस्करण २०७० मा फाप्लामै गर्यौं। खेलाडीहरूलाई बढीभन्दा बढी म्याच एक्सोजर दिने उद्देश्यले सुरू गरिएको डिसिएल छ महिना चल्थ्यो। ‘फाप्लामा नियमित डिसिएलका खेल हुँदा फाप्लाले क्रिकेट मैदानको नाम पाएको हो,’ शाहीले सम्झे। सोही मैदानमा पछि डिसिएलका दुई भाग आयोजना भए।
एनपिएलमा चलाखी
डिसिएलको भाग एक र दुईको आयोजनापश्चात फाप्लाले स्थानीय स्तरमा क्रिकेट मैदानको परिचय बनाइसकेको थियो। अब त्यसलाई राष्ट्रियस्तरमा क्रिकेट मैदानका रुपमा परिचित गराउनु थियो। किन राष्ट्रियस्तरमा क्रिकेट मैदानको परिचय फराकिलो बनाउनु पर्यो त? शाही भन्छन्, ‘हामीले फाप्लालाई राष्ट्रिय परिचय दिँदा सरकार र देशविदेशका नेपालीहरूलाई हाम्रो अभियानमा समेट्न सजिलो हुन्थ्यो। ड्रिम फाप्ला अभियानको उद्देश्य नै सबै नेपालीहरूको सहकार्यमा अन्तर्राष्ट्रिय रंगशाला बनाउने हो।’
वि.सं. २०७० मा काठमाडौंमा जोहरा स्पोर्टस म्यानेजमेन्टले नेपाल प्रिमियर लिग (एनपिएल) आयोजनाको घोषणा गर्यो। प्रतियोगितामा छ वटा टिमबाट सबै अन्तर्राष्ट्रिय तथा राष्ट्रिय खेलाडीहरूले सहभागिता जनाउँदै थिए। नेपाली क्रिकेटमा निजी क्षेत्रबाट गरिएको यो पहिलो ठूलो प्रयास हो। यसै प्रतियोगिताको वान डे संस्करण धनगढीमा गरिने भयो।
‘त्यतिबेला एनपिएल बहुप्रतिक्षित प्रतियोगिता थियो,’ शाहीले भने, ‘धनगढीले क्रिकेटको सहरको परिचय बनाइसकेकाले आयोजक जोहराले वान डे संस्करण धनगढीमा गर्ने निर्णय लिएको हो।’
एनपिएलको स्थानीय व्यवस्थापकको जिम्मा पाएपछि शाहीले चलाखी गरे। एनपिएललाई धनगढी बजारको बीचमा अवस्थित सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा पनि सञ्चालन गर्न सकिन्थ्यो। तर, शाहीले फाप्लामा गर्ने अचम्मको निर्णय गरे।
‘सुवास दाइको त्यो निर्णयले हामीलाई अचम्मित पार्याे,’ धनगढीमा एपिएल आयोजनाका अर्का स्थानीय व्यवस्थापक सौरभ ओझा सम्झन्छन्, ‘हामीसँग अञ्चल प्रहरी कार्यालयको मैदानमा सजिलोसँग प्रतियोगिता आयोजना गर्ने विकल्प उपलब्ध थियो। त्यहाँ आयोजना गरिँदा हाम्रो मेहनत र खर्च दुबै बचत हुन्थ्यो। बजारको बीचमा भएकाले खेलमा दर्शकहरू पनि धेरै आउने सम्भावना रहन्थ्यो। तर, सुवास दाइले फाप्लामा नै प्रतियोगिता गर्ने सोचिसकेपछि हामी फाप्लामा होमियाैं।’
फाप्लामा एनपिएल आयोजना निर्णय लिँदा त्यहाँ डिपिएल भाग–२ सञ्चालन भइरहेको थियो। एनपिएलका लागि मैदानको स्तरोन्नति गर्नुपर्ने भएकाले डिपिएल–२ तत्कालका लागि स्थगन गर्नुपर्यो। फाप्लामा एनपिएल गर्ने भनी मैदान छिरेको शाही नेतृत्वको टिमले फाप्लाको उच्च भाग सम्याउने, काटेको भागमा चपरी विछ्याउने, पिच निर्माण गर्ने, फाप्लामा पुग्ने बाटो निर्माण गर्ने, मैदानसम्म विद्युत लाइन पुर्याउने काम गरे। ‘प्रतियोगिता सञ्चालनअघि हामीले तीन महिना रात दिन फाप्लामा काम गर्याैं,’ ओझा सम्झन्छन्, ‘प्रतियोगिता सुरू हुनु एक हप्ता अगाडि हामीले मैदानलाई आवश्यक सम्पूर्ण मापदण्ड पूरा गरिसकेका थियाैं।’
ड्रिम फाप्ला
एनपिएल सुरू भयो। देशभरिका खेलाडीहरू धनगढी पुगे। पत्रकारहरूले धनगढी भरियो। दर्शक मैदानमा खचाखच भए। फाप्ला वरिपरि बढेको चहलपहलले स्थानीयको आर्थिक क्रियाकलाप पनि बढायो। स्थानीयले प्रतियोगिताका दौरान थापेका पसलबाट राम्रै आम्दानी गरे। ‘एउटै प्रतियोगिताबाट मात्रै त्यसबेला सयौंले रोजगारी पाए,’ शाहीले भने, ‘मैदानमा काम गर्ने कामदार, होटल व्यवसायी, व्यापारी, यातायात क्षेत्र तथा पर्यटक क्षेत्रको प्रवद्र्धनमा प्रतियोगिताको भूमिका महत्वपूर्ण रह्यो।’
प्रतियोगिताले धनगढीको आर्थिक चहलपहल बढेपछि फाप्लामा रंगशाला बन्नुपर्ने कुरामा सबै एक ठाउँमा उभिए। शाहीलगायत टिमले चाहेको पनि त्यही थियो। एपिएलमा व्यक्तिगत खर्चमा मैदान स्तरोन्नति गर्नु, फाप्लालाई राष्ट्रव्यापी परिचय दिनु, दिनरात फाप्लामा खटिनु, ड्रिम फाप्ला टिमको चाहना समग्र धनगढीलाई फाप्लामा अन्तर्राष्ट्रिय रंगशाला बनाउनुपर्छ भन्नेमा एकजुट बनाउनु थियो।
त्यही माहोल समाएर सन् २०१५ को फेब्रुअरीमा ड्रिम फाप्लाको औपचारिक रुपमा घोषणा गरिएको हो। ‘यसलाई हामीले अभियानका रुपमा अगाडि ल्याएका थियौं,’ संयोजक शाहीले भने, ‘अभियानको उद्देश्य आम देशविदेशमा रहेका नेपालीहरू, क्रिकेट प्रेमी, सरकार, निजी क्षेत्र, स्थानीयलाई समेटेर सबैले आफ्नो स्वामित्व महसुस गर्ने गरी चालीस हजार दर्शक क्षमताको क्रिकेट रंगशाला निर्माण गर्नु हो।’
ड्रिम फाप्लाले आफ्नो अभियानलाई तीब्रता दिँदै गयो। रंगशाला निर्माणका लागि सहयोग क्रमशः जुट्ने जुट्यो। एसपिए कपको चौथो संस्करणमा प्रतिटिकट पाँच रुपैयाँ छुट्याई एक लाख रुपैयाँभन्दा बढी रकम ड्रिम फाप्लाको खाता ‘सिड मनी’ का रुपमा जम्मा पारियो। त्यसपछि रेडियो धनगढी ९०.५ मेगाहर्जले आफ्ना कर्मचारीको एक दिनको तलब तथा पाँच वर्षसम्म प्रतिविज्ञापन पाँच रुपैयाँ यस अभियानका लागि छुट्याउने निर्णय गर्यो। काठमाडौं क्रिकेट लिगको पहिलो संस्करणको बिजेता धनगढी युनाइटेडले प्रथम पुरस्कार पाएको रकममध्ये झन्डै ५० प्रतिशत रकम अभियानलाई हस्तान्तरण गरे। न्यू सिर्जनशील युवा क्लब अत्तरियाले ड्रिम फाप्ला अभियानलाई साथ दिँदै धनगढी क्रिकेट लिग–२ मा उपबिजेता भएमार्फत पाएको पुरस्कार राशीको झन्डै ४० प्रतिशत रकम दिएको थियो। त्यसपछि देशविदेशबाट सहयोग गर्ने कार्यक्रम जारी रह्यो।
अभियानको पहलपछि एसियाली विकास बैंकले तीन करोड रुपैयाँ लगानी गरेर भीमदत्त राजमार्गबाट फाप्ला जाने एक किलोमिटर बाटो बनाइँदै छ। यसपटक सुदूरपश्चिम महोत्सवबाट कैलाली उद्योग वाणिज्य महासंघले प्रतिटिकट एक रुपैयाँ छुट्याएको छ। धनगढी प्रिमियर लिग (डिपिएल)बाट पनि ड्रिम फाप्ला अभियानलाई सहयोगको घोषणा भइसकेको छ।
डिपिएलमा टिकट दर ५० रुपैयाँ राखिएको छ र विद्यार्थीलाई ४० प्रतिशत छुट दिने भएको छ। टिकट बिक्री भएको रकमको १५ प्रतिशत अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियान ड्रिम फाप्लामा जम्मा गरिने डिपिएलका आयोजक सौरभ ओझा बताउँछन्। हाल ड्रिम फाप्लाको खातामा ६ लाख रुपैयाँ जम्मा भएको छ,’ शाहीले भने, ‘यो रकम ठूलो होइन तर यसले दबाब सिर्जना गरेको छ।’
ड्रिम फाप्ला अभियानले सरकारलाई दबाब सिर्जना गर्याे। ड्रिम फाप्लाको पहलमा सरकारले आर्थिक वर्ष २०७२÷०७३ को बजेटमा फाप्लालाई अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने कुरा बजेट वक्तव्यमै उल्लेख गर्यो। ‘बजेटमा फाप्ला शब्द लेखाउन ड्रिम फाप्लाले मुख्य भूमिका खेलेको हो,’ शाही भन्छन्, ‘तर, आम धनगढीबासी, राजनीतिक दल, स्थानिय तथा सरोकारवाला निकायको सद्भाव नभएको भए त्यो सम्भव हुन्थेन।’ सरकारको रेडबुकमा फाप्ला लेखिनु भनेको ड्रिम फाप्ला अभियानको ठूलो सफलता थियो।
विवाद र उपभोक्ता समिति
सरकारले बजेट वक्तव्यमै रकम विनियोजन गरेको घोषणापछि फाप्ला विवादमा मुछियो। ‘भिजन र मिसन आफूहरूले अगाडि ल्याएकाले सबैको समान स्वायत्ततामा गैरराजनीतिक भागबण्डामा रंगशाला निर्माणको कार्य अगाडि बढाइनुपर्नेमा ड्रिम फाप्लाको जोड थियो। उता, कैलाली जिल्ला खेलकुद विकास समितिले ड्रिम फाप्ला एक एनजिओ भएको आरोप लगाउँदै आफूले रकम खर्च गर्नुपर्ने अडान राख्यो।
यस विवादले बजेट फ्रिज हुने अवस्था देखिएपछि ड्रिम फाप्ला र खेलकुद विकास समितिबीच मध्यमार्गी बाटो खोजियो। जसले फाप्ला क्रिकेट मैदान विकास उपभोक्ता समिति गठन गर्यो। ‘फाप्लालाई ‘जिरो लेभल’बाट उठाई बजेटसम्म दिलाउने काम हाम्रै प्रयासबाट भएको हो तर पनि फाप्लामा जसरी पनि रंगशाला बन्नुपर्छ भन्ने कुरामा हामी अडिग थियौं, त्यही भएर हामी एक कदम पछि हट्यौं,’ शाहीले भने।
उपभोक्ता समिति गठन हुँदा शाहीलाई उक्त समूहको अध्यक्ष बन्ने प्रस्ताव नआएका हैनन्। ‘आफूले बृहत् समृद्ध सुदूरपश्चिमको परिकल्पनाका साथ ठूलो अभियानमा लागेकाले त्यहीँ रोकिन आवश्यक लागेन,’ शाहीले भने, ‘ड्रिम फाप्ला अभियान त्यस दिन मात्र पूर्ण हुन्छ जब फाप्लामा अन्तर्राष्ट्रिय खेल हुन्छ।’
उपभोक्ता समितिमा स्थानीयलाई नै समेटियो। उपभोक्ता समितिका अध्यक्ष लोकराज अवस्थी भन्छन्, ‘समितिले हालसम्म सरकारबाट आएको झन्डै ६० लाख रुपैयाँको काम गरिसकेको छ। जसअन्तर्गत यसअघि माटो फिलिङ, मैदानको घेरबन्दीका लागि तारजाली, बाटो निर्माण, तथा एकापट्टी पर्खाल निर्माणको काम पनि भइसकेको छ।’ मैदानमा दुई वटा टर्फ पिच निर्माणको अन्तिम तयारीमा छ। फाप्लामा हाल भइरहेको कार्यप्रगति देखेर स्थानीय र सरोकारवाला सन्तुष्ट देखिन्छन्।
अब के?
ड्रिम फाप्लाले फाप्लालाई पब्लिक प्राइभेट साझेदारी (पिपिपी) मोडेलका रुपमा अघि बढाउने अवधारणा यसअघि नै सार्वजनिक गरिसकेको छ। शाहीका अनुसारसो अवधारणाले रंगशालालाई निर्धारित समयमा सबैको स्वामित्वमा निर्माण गर्न सकिन्छ। ‘हामी त्यसैको गृहकार्यमा छौं,’ उनले भने, ‘पिपिपी मोडलबारे हामीले स्थानीय उपभोक्ता, राजनीतिक दल, सरकारी निकाय तथा सरोकार निकायसँग छलफल गरिसकेको छौ। यसमा सबैको लगानी रहन्छ र उनीहरूलाई लगानी बराबरको सेयर दिइन्छ, यसले लगानीकर्ताले आफ्नो लगानी सुरक्षित भएको प्रत्याभूति पनि पाउँछन् भने रंगशाला निर्माणको लागि आवश्यक बजेट पनि जुट्छ।’
फाप्लालाई पिपिपी मोडलमा लैजानेबारे सरकार पनि सकारात्मक देखिन्छ। खेलकुद मन्त्रालयका सहसचिव चुडामणि पौडेल भन्छन्, ‘ड्रिम फाप्लाको अभियानले फाप्लालाई जुन गति दिएको छ त्यो सराहनीय छ। सरकारी बजेटले मात्रै निर्धारित समयमा रंगशाला निर्माण नहुने तथा राजनीतिक अस्थिरताले रंगशाला निर्माणको कार्य अस्तव्यस्त बन्न सक्छ। त्यही भएर खेलकुद मन्त्रालय ड्रिम फाप्लाले प्रस्ताव गरेको पिपिपी मोडलबारे सकारात्मक छ।’
सुन्दर समृद्ध सुदूरपश्चिमको परिकल्पनाका साथ उठाइएको यस अभियानको सफलतापछि सुदूरपश्चिमको मुहार फेरिने शाहीको विश्वास छ।
भिडियाेमा हेर्नुहाेस्
No comments:
Post a Comment