Saturday 10 June 2017

तल्लाे तहबाटै क्रिकेट कल्चरकाे विकास अावश्यक

भारतको मुम्बईलाई क्रिकेटको नर्सरीका रुपमा चिनिन्छ। बाल्यकालदेखि नै क्रिकेटलाई कल्चरका रुपमा ग्रहण गर्ने-गराउने संस्कृतिका कारण याे सहरलाई विश्वकै क्रिकेट नर्सरी भनिएकाे हाे। उसो त सपनाकाे नगरी मुम्बर्इले सिनेमाकाे परिचय बाेकेकाे छ। तर, सहरभित्र प्रवेश गर्ने जो-कोही पनि यहाँको क्रिकेट कल्चरले मन्त्रमुग्ध हुन्छन्।
मुम्बईस्थित वानखडे स्टेडियमले विश्वकप अायाेजना गरिसकेकाे छ। त्योसँगै अन्तराष्ट्रिय मापदण्ड पूरा गरेका त्यहाँ आधा दर्जन बढी स्टेडियम छन्। जसले दिनहुँ राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलहरू हाेस्ट गरिरहेका हुन्छन्। जुन ठुला प्रतियोगिताका अनि ठुला खेलाडीका लागि बढी प्रायाेगिक छन्। तर, मुम्बईको आकर्षक भनेको ‘रुटलेभल’ क्रिकेटको लोभ लाग्दो दृश्य हो।
रुट लेभलदेखि बच्चाहरुमा क्रिकेटको कल्चर बसाउन सकियो भने भविष्यमा ठुला खेलाडी निर्माणकाे अाधार तयार हुन्छ। यसकाे उदाहरण मुम्बई हो।
बाल्यकालदेखि यही सहरकाे क्रिकेट कल्चरमा हुर्केका सचिन तेन्दुलकर, सुनिल गावाश्कर, रोहित शर्मा, रवि शास्त्री, अजिक्ये रहाणे जस्ता खेलाडीहरू विश्वमाझ परिचित छन्। भारतलाई विश्वकप दिलाएका छन्। अन्तर्राष्ट्रिय मञ्चमा भारतको झण्डा फहराएका छन्।
मुम्बईको पहिलो प्राथमिकता रुटलेभल क्रिकेटकाे विकासमा केन्द्रित छ, अघिल्लो वर्ष मुम्बईको क्रिकेट भ्रमणमा भएका धनगढी क्रिकेट एकाडेमीका अध्यक्ष सुवास शाही भन्छन्, 'धारणा बच्चा उमेरमै क्रिकेटप्रतिको लगाव बढाउन सकियो भने उ भविष्यको स्टार बन्न सक्छ।'
रूटलेभल क्रिकेट विकासलार्इ मध्यनजर राख्दै क्रिकेटकाे अाधिकारिक निकाय मुम्बई क्रिकेट एसाेसिएसनले त्यहाँ अवस्थित जिमखानाहरु (मुम्बईमा क्रिकेट एकाडेमीलाई जिमखाना भनिन्छ) सँग रुटलेभलको क्रिकेट विकासमा सहयोग र सहकार्य गर्दै आएको छ।
गत वर्षको असोजमा झण्डै पन्ध्र दिन मुम्बई र गोवामा खेलाडीलाई अन्तर्राष्ट्रिय म्याच एक्स्पाेजर दिन धनगढी क्रिकेट एकाडेमीले आफ्ना खेलाडीहरुलाई खेल भम्रण गराएको थियो।
मुम्बईको अनुभव सुनाउँदै शाहीले भने, 'जिमखानाहरुसँग अाफ्नै हाेस्टलसहितका मैदान छन् र त्यो मैदानमा क्रिकेटका लागि आवश्यक पर्ने अन्तर्राष्ट्रियस्तरका पीच, आवश्यक उपकरण, प्रशिक्षकको व्यवस्था लगायत अन्य प्राविधिक कुराहरुमा मुम्बई क्रिकेट एसाेसिएसनले सहयोग गरेको छ।'
यसले एकातिर क्रिकेटको आधिकारिक निकायसँग जिमखानाहरुको सम्बन्ध सुमधुर पारेको छ, अर्कातिर जिमखानामा आउने नव क्रिकेट खेलाडीहरुलाई अन्तराष्ट्रियस्तरको प्रशिक्षणको व्यवस्था मिलेको उनकाे धारणा भएका छन्।
मुम्बर्इस्थित क्रस मैदानमा अभ्यासररत खेलाडी

मुम्बईमा सबैभन्दा बढी व्यस्त मैदान हो क्रस मैदानले भारतीय क्रिकेटका ठुला हस्तीहरु उत्पादन गरेको छ। सचिन तेन्दुल्कर लगायतका खेलाडीहरुले यसै मैदानमा निरन्तर अभ्यास गर्थे। आजाद मैदान, क्रस मैदान दिनभर सेताम्मै देखिन्छ,' शाहीले भने, 'भर्खर सिक्दै गरेका खेलाडी तथा युवा खेलाडीहरु सेतो जर्सीमा दिनरात मैदानमा मेहनत गरिरहेका भेटिन्छन्।'
शाहीका अनुसार मैदानमा कयौं पीच हुन्छन्। झण्डै दुई दर्जन बढी क्रिकेट पीचहरु उक्त मैदानमा छन्। शाहीले भने, 'प्रत्येक मैदानमा खेल चलिरहेको हुन्छ, कोही खेलाडी खालि हुँदैनन्, कोही नेटमा प्राक्टिस गरिरहेका हुन्छन् त कोही प्रशिक्षकहरुसँग सुझाव ग्रहण गरिरहेका देखिन्छन्।'
क्रस मैदान मात्रै हैन, अाजाद मैदान, पुलिस जिमखाना, हिन्द जिमखाना, आन्द्रे लोपोज, एआर कामन्त, दिलीप कलान्करलगायतका दुर्इ दर्जन बढी क्रिकेट प्रशिक्षण केन्द्रले मुम्बईलाई क्रिकेटको नर्सरीकाे पगरी थमाएका हुन्। तिनै एकाडेमीका उत्पादनहरूले विश्व क्रिकेटमा तहल्का पिटिरहन्छन्।
'मुम्बईको क्रिकेटिङ कल्चर पनि गज्जबको छ,' शाही भने, 'अभिभावकहरु आफ्ना नानीहरुलाई क्रिकेट प्रशिक्षण गराउन आफ्नो जागिर छोडेर स्कुटर पछाडि बसाउँदै मैदान पुर्याउन्छन्।' 
खेलाडीहरु एउटा मैदानमा मात्र सीमित रहँदैनन्, एउटा मैदानमा गेम सकिँनासाथ अर्को मैदानमा गेम खेल्न पुगिहाल्छन् र त्यहाँसम्म पुर्याउने जिम्मा पनि अभिभावककै हुने उनले बताएका छन्।
यी सबै अभ्यासहरुले मुम्बईका अभिभावकहरु आफ्ना नानीहरुलाई भविश्यमा क्रिकेटर बनोस् भन्ने चाहेको स्पष्ट हुन्छ। तर, नेपालमा अहिलेसम्म पनि अभिभावकहरुको क्रिकेट प्राथमिकतामा पर्दैन। नेपाली अभिभावकहरुहरु आफ्ना नानीहरु डाक्टर, पाइलट बनोस् भन्ने चाहन्छन्, तर खेलाडी बनोस् भन्ने कल्चर नरहेका शाही स्वीकार्छन्।
जय बिष्टको कहानी
मुम्बई जाँदा त्यहाँको क्रिकेट माहौलमा जय बिष्टको नाम नसुन्ने सायदै कोही होलान्। नेपाली मुलका जय बिष्ट भारतीय राष्ट्रिय क्रिकेट टोलीमा डेब्यु गर्न प्रतिक्षारत खेलाडी हुन्। सुदूरपश्चिमको अछाम उनको पुर्ख्याैली थलो हो।
बुवा गोकुल बिष्ट रोजगारीका सिलसिलामा मुम्बई गएका थिए। राेजगारीका क्रममा उनलार्इ त्यहाँकाे क्रिकेट कल्चरले तान्याे। बिस्तारै गाेकुल मुम्बर्इ क्रिकेटसँग साक्षात्कार रहे। उमेर ढल्किसकेकाले उनी अाफू त खेलाडी बन्न पाएनन्। तर, छाेरा जयलार्इ क्रिकेटर बनाउने साेच पलायाे।
गाेकुलले छाेरा जयलार्इ सानाे उमेरदेखि नै मुम्बर्इकाे क्रिकेट माहाैलसँग साक्षात्कार गराए। सानै उमेरदेखि उनी पनि स्कुटर पछाडि राख्दै जयलाई जिमखानामा लैजान्थे। कलिलाे उमेरमै बल र ब्याट तथा अन्तराष्ट्रिय स्तरकाे प्रशिक्षण पाएपछि उनकाे प्रतिभा निखारिदै गयाे।
'जयले सानै उमेरदेखि मुम्बईको क्रिकेट कल्चरसँग परिचित हुने मौका पायो', गोकुलले भने 'त्यही कल्चरले उसलार्इ भारतीय क्रिकेटकाे प्रतिभावान युवा खेलाडीकाे रूपमा चिनारी दिएकाे छ।' २१ वर्षिया जयले हालसम्म भारतको जर्सीमा फस्ट क्लासका ९ वटा, लिस्ट एका ३ वटा तथा ६ वटा टी-ट्वान्टी खेलेका छन्। उनी अलराउण्डर भूमिकामा देखिने गर्छन्।
 
नेपाली क्रिकेटकाे वास्तविकता
नेपालमा रुटलेभल क्रिकेट निकै कमजोर छ। राष्ट्रिय टाेली घर हाे भने त्यस घरलाइ मजबुत बनाउने जग रूट लेभलकाे क्रिकेट नै हाे। रूट लेभलदेखि नै प्रतिभावान खेलाडी बनाउन सकियाे भने राष्ट्रिय टिम पक्कै पनि बलियाे बन्छ। विश्वकप खेलिसकेकाे नेपाली क्रिकेटकाे रूट लेभल भने दयनीय अवस्थामा छ।
तत्कालीन प्रशिक्षक पुबुदु दासानायकेको पहलमा नेपाली क्रिकेटको आधिकारीक निकाय क्यानले रुटलेभलको विकासका लागि राजधानीमा नेसनल क्रिकेट एकाडेमी एनसिएको स्थापना गर्यो। सुरुमा देशभरिका कलिला उमेरका प्रतिभावान खेलाडीहरुलाई एकाडेमीमा ल्याई उनीहरुको प्रतिभा तिखार्ने उद्देश्य एकाडेमीको थियो।
तर, व्यवस्थापकिय पक्ष कमजाेर बन्दै गएपछि एनसिए टुहुराे बन्दै गएकाे छ। कलिला खेलाडीहरुको प्रतिभा तिखार्ने उद्देश्यले निर्मित एकाडेमी अहिले सिनियर खेलाडीहरुको अभ्यासस्थल बनेको छ। केही छुटपुट कलिला खेलाडीहरु एकाध एकाडेमीमा देखिने बाहेक रूटलेभल क्रिकेटमा एनसिएकाे भूमिका हराइसकेकाे छ। 
रुट लेभल क्रिकेट विकासको उद्देश्यसहित एनसिएभन्दा केही अगाडि धनगढीमा धनगढी क्रिकेट एकाडेमी डिसिएको स्थापना गरिएको हो। डिसिएलले देशकै लामो क्रिकेट लिग, नियमित प्रशिक्षण, भारत लगायत तेस्रो मुलुकमा खेलाडीहरुको भम्रण गराई म्याच एक्स्पाेजर दियो।
अक्सनमा आधारित धनगढी क्रिकेट लिग डिसिएल हुँदै हाल धनगढी प्रिमियर लिग डिपिएल आयोजनाको तयारीमा रहेको गरिरहेको डिसिएले नेपाली क्रिकेटमा व्यfवसायिकता भित्र्याउनका साथै क्रिकेट कल्चरको विकासमा महत्वपूर्ण योगदान दिएको छ।
रूटलेभल क्रिकेट विकासका लागि धनगढीमा भएकाे एनसिए र डिसिएबीच भएकाे फ्रेण्डसिप म्याच पश्चात खेलाडी। फाेटाे: डिसिए

पछिल्लो समय देशभर क्रिकेट प्रशिक्षण केन्द्रहरु खुल्ने क्रम जारी छन्। राजधानीमा राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले सञ्चालन गरेको काठमाडौं क्रिकेट टेनिङ सेन्टर तथा अन्य राष्ट्रिय खेलाडी प्रदीप ऐरी, भूवन कार्की लगायतले कीर्तीपुरमा हिमालयन क्रिकेट एकाडेमी सञ्चालन गर्दै नेपाली रुटलेभल क्रिकेट विकासमा योगदान पुर्याएका छन्।
त्यस्तै, सुदीप शर्मालगायतको टिमले राजधानीमै सञ्चालन गरेको ग्रेट हिमालय क्रिकेट एकाडेमीले विभिन्न समयमा टुर्नामेन्टहरूकाे अायाेजना गर्दै अाइरहेकाे छ। यस्तै, इण्डोर क्रिकेटमा प्रशिक्षण लिन चाहनेका लागि रातोपुलस्थित नेपाल क्रिकेट स्कूलले पनि कलिला खेलाडीहरुलाई विनाेद दास लगायतका प्रशिक्षकहरूबाट प्रशिक्षणको व्यवस्था मिलाएकाे छ।
देशभरि क्रिकेट प्रशिक्षण केन्द्रहरु खुलेपनि खेलाडीहरुको प्रतिभा तिखार्न तथा म्याच एक्स्पाेजर दिन लागि बढी भन्दा म्याचको आवश्यकता पर्दछ। आधिकारिक निकाय क्यान निलम्बन हुनु अघिदेखि नै नेपालमा राष्ट्रियस्तरमा यु-१६ तथा उमेर समूहका प्रतियोगिताहरु हुन सकेका छैनन्। जसले विभिन्न एकेडेमीहरूमा नियमित प्रशिक्षण लिइरहेका कलिला खेलाडीहरुमा क्रिकेट प्रति मानसिक रूपमा पनि वितृष्णा जागेकाे छ। 
यु-१६ राष्ट्रिय टिमकाे क्याम्प परिसकेका प्रतिभावान युवा खेलाडी अमन पन्थी भन्छन्, 'हामी नियमित दैनिक प्रशिक्षण गर्छाैं, तर म्याचहरू नै हुँदैनन्, कति प्रशिक्षण मात्र गर्नु अाफ्नाे क्षमता देखाउन नपाउँदा क्रिकेटबाट पलायन हुने अवस्था श्रृजना भएकाे छ।'
उनी प्रतिनिधि पात्र मात्रै हुन्। देशैभरिका खेलाडीहरूकाे अवस्था त्यही हाे। पछिल्लाे समयमा केही निजी संस्थाहरूले भने युवा खेलाडीलाइ म्याच एक्स्पाेजर दिने कुरामा अग्रसरता देखाएका छन्।
हिमालयन क्रिकेट एकाडेमीकाे अायाेजनामा हाल देशैभरि एक्सर्पट स्कूल क्रिकेट लिग सञ्चालन भइरहेकाे छ। प्रतियोगितामा देशभरिका विभिन्न ठाउँहरुमा प्रतिस्पर्धा गराई अन्तिम प्रतिस्पर्धा काठमाडौंमा गरिने म्याच कमिन्सर सुवास प्रधानले बताउँछन्।
राष्ट्रव्यापी रुपमा हुने क्रिकेट प्रतियोगिताले रुट लेभलको क्रिकेट विकासमा सहयोग पुर्याउने विश्वास प्रधानको छ। उनी भन्छन्, 'देशैभरि प्रतिभावान खेलाडीहरु छन्, तर उनीहरुले म्याच एक्स्पाेजर नपाउँदा आफ्नो कौशल प्रदर्शन गर्न पाएका छैनन्, यस स्कुल लिगले नयाँ प्रतिभाहरुको खोजीमा मद्दत पुग्नेछ।'
योसँगै केही दिनअघि धनगढीमा लिटर फ्लावर स्कुलको पहलमा त्यस क्षेत्रकै सर्वाधिक धनराशीको स्कुल क्रिकेट लिग प्रतियोगिता आयोजना गरिएको थियो। प्रतियोगिताले नयाँ खेलाडीहरुमा क्रिकेट प्रतिको मोह बढाउन सहयोग पुर्याएको स्कुलका प्रिन्सिपल रामचन्द्र शाही बताउँछन्।
देशैभरि यस्ता किसिमका प्रतियोगिता हुने हाे भने नेपाली क्रिकेटको जग बलियो बन्ने विश्वास शाहीको छ। धनगढीमा हाल क्यास्पियन स्कुलले त्यहा स्कुलहरूलार्इ समेटेर क्यास्पियन कपकाे अायाेजना गरिरहेकाे छ।
उपत्यकामा रहेकाे नेक्सस क्रिकेट एकेडेमीले अाउदाे चैत्र १५ गते देखि राजधानीमा रुटलेभल क्रिकेट विकासमा मद्दत पुगोस् भन्ने मनसायले यु-१६ राष्ट्रिय प्रतियोगिताको आयोजना गर्ने भएकाे छ।
आयोजक कमिटीका संयोजक भरतकुमार शाहीले प्रतियोगितामा देशभरिका निजी तथा सामुदायिक क्रिकेट एकेडेमीहरुको सहभागिता रहेको बताए। प्रतियाेगिताले रूटलेभल क्रिकेट विकासमा केही भएपनि मदत पुग्ने उनकाे विश्वास छ।

No comments:

Post a Comment