Saturday 10 June 2017

बहुआयामिक परोपकारी खेलाडी शिरिष

उमेर १८ वर्ष। दुर्इ सय भन्दा बढी स्वर्णपदक। ४६ पटक राष्ट्रिय कीर्तिमान तोडेको र १४ वटा कीर्तिमान बनाएको इतिहास छ। ओलम्पियन शिरिषले सन् रियो ओलम्पिकमा बनाएको सय मिटर फ्रिस्टाइलको ५७.७६ सेकेण्डको अहिलेको राष्ट्रिय कीर्तिमान हो।
उमेरभन्दा झण्डै तेब्बर बढी राष्ट्रिय कीर्तिमान बनाएका नेपाली पौडीका युवा खेलाडी शिरिष गुरुङको नाम नेपाली खेलकुदका लागि नौलो हैन। तर, उनले आफ्नो परिचय खेल अनि खेलाडीमा मात्रै सीमित राखेका छैनन्, जादुमयी तथा अविश्वसनीय खेलयात्रा बाहेकको उनको जीवनको फरक पाटो पनि छ। 
विश्वमा ख्यातिप्राप्त सेलिब्रेटी हुन् या त स्पोर्टस पर्शन। सबैले आफ्नो सामाजिक उत्तरदायित्व पूरा गर्न कमाइको एक हिस्सा सामाजिक काममा खर्च गर्छन्। स्पोर्टस पर्शनको मात्रै कुरा गर्ने हो भने विश्व फुटबलका क्रिस्टियानो रोनाल्डो, लिओनल मेसी, छिमेकी भारतका क्रिकेटका हस्ती सचिन तेन्दुलकर लगायतका खेलाडीहरूले आफ्नो कमाइको ठूलो हिस्सा सामाजिक कार्यमा खर्चिने गर्छन्। लिओनल मेसीको फाउण्डेशनले युनिसेफसँगको सहकार्यमा नेपालको काभ्रे, गोरखा र दोलखामा हालै मात्र १४ वटा हेल्थ क्याम्प निर्माण गरेको छ।
उनीहरु विश्व चर्चित छन्। उनीहरूको आम्दानी पनि वार्षिक अर्बौं हुन्छ। ठूल्ठूला मल्टिनेशनल कम्पनीहरूले उनीहरूलाई प्रायोजन गर्छन्। त्यहाँको सरकार तथा व्यावसायिक क्लबहरूबाट पनि मोटो पारिश्रमिक बुझेका हुन्छन्। त्यसको केही हिस्सा सामाजिक काममा खर्चनु उनीहरूका लागि सामान्य हो। 
तर, नेपालको खेल र खेलाडीको अवस्था ठिक उल्टो छ। खेलकुदमा राज्यको बजेट निकै न्यून छ। अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता हुने खेलाडीहरूले व्यक्तिगत रुपमै खर्च गर्नुपर्ने बाध्यता छ। खेलाडीहरूलाई न पारिश्रमिक छ, न उचित प्रशिक्षणको व्यवस्था नै। न ठूला ब्राण्डका कम्पनीहरूले नै नेपाली खेल अनि खेलाडीलाई स्पोन्सर गरेका छन्। नेपालीहरूको सामाजिक, आर्थिक अवस्था पनि त्यति गतिलो हैन। खेल खेलेरै जीवन धानौला अनि भविष्य सुनिश्चित होला, भन्ने नेपाली खेलाडीहरूको सपना केवल सपना मात्रै हुन्छ। 
त्यही माझमा पौडीका शिरिष गुरुङले नेपाली खेलकुदको विकासका लागि परोपकारी कामको सुरुवात गर्दैछन्। ‘शिरिष फाउण्डेशन’ को स्थापना गरी उनले राष्ट्रका लागि अब्बल खेलाडी उत्पादनको अभियान थालेका हुन्। ‘हाम्रो देशमा थुप्रै प्रतिभावान खेलाडीहरू छन्,’ शिरिषको बुझाइ छ, ‘ती खेलाडीहरूले ‘प्रोपर डाइट’, आवश्यक गुणस्तरीय खेल सामग्री, उचित प्रशिक्षण, खेल एक्सोजर र मोटिभेसनको अभावमा आफ्नो शतप्रतिशत खेलमा दिन पाइरहेका छैनन्।’ 
फाउण्डेशनमार्फत यिनै कुराहरुलाई जोड दिने योजनामा शिरिष छन्। ‘हामीले सुरूमा काठमाडौंका बढीमा दुई जना खेलाडीहरुलाई फाउण्डेशनमा ल्याउने सोचेका छौं। उनीहरूको प्रशिक्षण, डाइट, गुणस्तरिय खेल सामग्री, मनोरञ्जन, मोटिभेसन तथा म्याच एक्सोजरको सम्पूर्ण जिम्मेवारी फाउण्डेशनले बहन गर्नेछ,’ शिरिषले भने, ‘मैले आफ्नो व्यक्तिगत पुरस्कार पाएको रकम र घरपरिवारको सहयोग मागेर सानो पुँजीले फाउण्डेशन सुरू गर्न लागेको हुँ। त्यसले पहिलो वर्षमा कसैसँग सहयोगको अपेक्षा राखेको छैन। पहिलो वर्ष लाग्ने खर्च हाम्रो व्यक्तिगत हुनेछ र हाम्रा लक्ष्यमा सफल देखियौं भने आगामी दिनमा अझै बढी खेलाडीहरु फाउण्डेशनमा ल्याउदा सहयोग माग्नेछौं।’
आफैं पनि ओलम्पिक खेलाडी भएका नाताले नेपाली खेलाडीहरुका मुख्य साझा समस्या प्रोपर डाइट, खेल सामग्री अभाव र उचित प्रशिक्षणको अभाव नै हुनजस्तो लाग्छ शिरिषलार्इ।  जसको सम्बोधन गर्ने प्रयास फाउण्डेशनले गर्नेछ। ‘प्रोपर डाइट र उचित गुणस्तरीय खेल सामग्री प्रतिभावान खेलाडीले पाउने हो भने उसले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको इज्जत अझै बढाउन सक्छन्,’ उनले भने।  
‘पाँच वर्षको उमेरमा कार र छ वर्षमा ट्रक चलाएँ’
नेपालमा सबैभन्दा सानो उमेर गाडी चलाउने व्यक्ति अाफू भएको शिरिषको दाबी छ। सन् २००३ मा अाफूले कार चलाएको उनले बताएका छन्। यो घटना राष्ट्रिय टेलिभिजन र पत्रपत्रिकाबाट पनि प्रकाशन भएको थियो। छ वर्षको उमेरमा ट्रक चलाएर कीर्तिमान राखेको उनले बताएका छन्। त्यो उमेरमा उनले कार र ट्रक खुला स्थान नभई काठमाडौंको व्यस्त सडक कोटेश्वरको सडकमै चलाएको उनले बताएका छन्।
‘हामीले गिनिज बुकमा नाम लेखाउने प्रयास स्वरुप त्यो काम गरेका थियौं,’ शिरिषले भने, ‘तर, गिनिज बुकका अधिकारीहरूसँग सम्पर्क गरिदिने बिचौलियाहरुले धोका दिएपछि त्यो सम्भव भएन। सानो उमेरमा दिदीहरूले कार हाँकेको मैले देखेको थिएँ, उहाहरूसँग ड्राइभमा जाँदा त्यहाँ हुने गतिविधिहरु म ध्यानपूर्वक नियाल्थें र कौतुहल लागेका ठाउँमा दिदीहरूलाई सोध्थें। त्यसरी नै मेलै त्यो उमेरमा ड्राइभ सिकेको हुँ।’  
पौडी करिअर 
देश विदेशमा शिरिषलाई चिनाएको भनेको पौडीले हो। पाँच वर्षको उमेरदेखि नै शिरिष पौडी पोखरीसँग साक्षात्कार भएका हुन्। ‘बाल्यकालमा म अलि बढी चुलबुले थिएँ, ममीलाई बढी सताउन थालेपछि उहाँले अलि व्यस्त होला, कम सताउला भनेर महेन्द्र पुलिस क्लबको पौडी पोखरीमा भर्ना गरिदिनुभयो,’ उनले सम्झिए, ‘सोही वर्ष कीर्तिपुरमा भएको स्कुल पौडी कम्पिटिसनमा मैले ब्राउन्ज मेडेल जितेको थिएँ।’
त्यसबेलादेखि लगातार १३ वर्ष पौडीमा बिताएका शिरिषले ४६ पटक राष्ट्रिय कीर्तिमान तोड्नुका साथै १४ वटा कीर्तिमान बनाएका छन्। यस अवधिमा उनले दुर्इ सय बढी स्वर्णपदक जितेका छन् भने पुसमा पूर्वाञ्चलमा भएको सातौं राष्ट्रिय खेलकुदमा पौडीका १७ इभेन्ट्समध्ये १६ वटा स्वर्णपदक जित्दै उनले अर्को कीर्तिमान थपे। त्यसअघि ब्राजिलमा भएको रिओ ओलम्पिकमा सहभागी भएका शिरिषले सय मिटर फ्रिस्टाइलको दुरी ५७.७६ सेकेण्डमा पूरा गर्दै राखेको राष्ट्रिय कीर्तिमान हालसम्म कायम छ। 
आर्टस, पेन्टिङ र एक्टिङ
आठ वर्षको उमेरदेखि शिरिष आर्टस, पेन्टिङ र एक्टिङमा रमाउन थालेको थिए। ९ वर्षको उमेरमा उनको सन् २००९ मा शिरिषको धुन गीति एल्बम् बजारमा आएको थियो। त्यस्तै, सन् २०१२ मा उनले दोस्रो एल्बम् शिरिषको एल्बम् निकाले। 
फत्तेमान राजभण्डारीजस्ता वरिष्ठ नेपाली सांगीतिक क्षेत्रका सर्जकहरूसँग उनले थुप्रै लाइभ म्युजिक सो पनि गरेका छन्। बाद्यबाधनमा पनि उनको उत्तिकै रुची रहेको बताउँदै शिरिषले किबोर्ड, ड्रम, मादल, बासुरी, जाइलोफोन, सारङ्गी लगायतका बाजाहरु आफूले बजाउने गरेको बताए।
गीत संगीत मात्रै हैन, शिरिष पेन्टिङमा पनि उत्तिकै रुची राख्छन्। स्कुल हुँदा खुबै पेन्टिङ गर्न रुचाउने शिरिषले जुनियर आर्टस कम्पिटिसनमा दोस्रो स्थान हासिल गरेको सम्झिए। 
उनले चलचित्र र टेलिचलचित्रमा एक्टिङ समेत गरेका छन्। गड लिभ्स इन द हिमालय नामक फिल्ममा अभिनय गरेका शिरिषले जिरेखुर्सानी, हिजोआजका कुरा तथा प्रहरी कार्यक्रमजस्ता टेलिश्रृंखलाहरूमा समेत अभिनय गरेका छन्। 
अवार्ड तथा सम्मानहरू
आठ वर्षको कलिलो उमेरमा अञ्जली कला केन्द्रबाट बेष्ट चाइल्ड अफ द इअर अवार्डबाट सम्मानित शिरिषले त्यसपछि एक दशकको अवधिमा साना ठूला गरी एक दर्जन बढी अवार्डहरू हात पारेका छन्। 
सन् २०१० मा उनले नी पब्लिकेशनबाट मल्टि डाईनामिक चाईल्ड अवार्ड पाएका थिए भने, सोही वर्ष नेपाल पौडी संघबाट वर्षको उदयीमान खेलाडीको अवार्ड जितेका थिए। सन् २०१३ बाट खेलकुद मन्त्रालयले उनलाई युथ अफ द इअरको सम्मान प्रदान गरेको थियो भने यसै वर्षमात्रै उनले नेपाल आर्मीले उनलाई उत्कृष्ट खेलाडीको रुपमा सम्मान गरेको थियो। 
सन् २०१३ मा नेपाल सरकारले उनको प्रतिभाको कदर गर्दै प्रतिष्ठित स्वीकृति अवार्ड दिने घोषणा गर्यो। उक्त अवार्ड राष्ट्रका गौरबहरूलाई राष्ट्रपतिद्वारा प्रदान गरिन्थ्यो। त्यतिबेला नेपालका राष्ट्रपति रामवरण यादव थिए। स्वीकृति पदकका लागि उनको नाम चार वर्षअगाडि सरकारले घोषणा गरे पनि हालसम्म उक्त अवार्ड दिइएको छैन्। 
‘मलाई सरकारी अधिकारीहरुबाट उतिबेला स्वीकृति अवार्डका लागि नाम घोषणा भएको जानकारी गराइएको थियो,’ शिरिषले भने, ‘खै किन हो आजसम्म उक्त अवार्ड दिइएको छैन।’ 
परोपकारी यात्रा
शिरिषले सन् २०११ मा बोनोभेलेन्स नामक बच्चाहरूको संस्थालाई सर्वप्रथम  ५० हजार रूपैयाँ सहयोग गर्दै परोपकारी सामाजिक कार्यको थालनी गरेका थिए। त्यस्तै, सिन्धुपाल्चेकका बाढी पीडितहरूलाई शिरिषले दुर्इ लाख रुपैयाँ सहयोग तथा राहत सामग्री प्रदान गरेका थिए। 
सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा खाली खुट्टा दौडिएका दुई जना खेलाडीलाई शिरिषले ५० हजार बराबरको स्पाइक जुत्ता प्रदान गरेका थिए। ‘एथ्लेटिक्स खेलाडीका लागि स्पाइक शु अनिवार्य हो,’ शिरिषले भने, ‘तर, पनि नेपालमा कतिपय खेलाडीहरूले अत्यावश्यक खेलकुद सामग्रीको जोहो गर्न नसकेको देखेर शिरिष फाउण्डेशनको अवधारणा ल्याएको हुँ।’ 
‘विभिन्न पुरस्कारहरूमा पाएको दुई/तीन लाख रुपैयाँ मेरो खातामा जम्मा छ,’ शिरिषले भने, ‘केही पैसा घरबाट अभिभावकसँग माग्दै फाउण्डेशन स्थापनाको पहल थालेको छु। तत्काल कसैलाई सहयोग माग्दिनँ। एक वर्ष फाउण्डेशनमा मैले राम्रो काम गरेर सहयोगदाताहरुको मन जित्ने प्रयास गर्नेछु। यदि उहाँहरु मेरो कामबाट सन्तुष्ट हुनुभएर सहयोग गर्नुभयो भने पछि अन्य खेलाडीलाई पनि फाउण्डेशनमार्फत सहयोग गर्ने सोच बनाएको छु।’

No comments:

Post a Comment