Thursday 22 June 2017

"अनटाेल्ड स्टाेरी अफ विवेकशील"


काठमाडौंको सुखसयलमा हुर्केबढेका युवा उज्जवल थापा सन् १९९६ मा दिमागमा विवेक भर्न भन्दै अमेरिका पुग्छन्। उनको सपना थियो, अमेरिका गएर खगोलशास्त्री बन्ने। 
नेपालबाट खगोलशास्त्रमै आवेदन दिएर गए पनि त्यहाँ पुगेपछि मन बदलियो। मल्टिमिडिया टेक्नोलोजीतिर हुत्तिए। सोचे, जे भए पनि पढ्ने हो, आफ्नो बुद्धि विवेक तिखार्ने हो। 
पढाइको शृंखला पाँच वर्ष चल्यो। उनी अमेरिकामा केही काम खोज्दै भविष्यबारे सोच्दैथिए।  सपनाको देश। आशक्ति बढी। लाखौं खर्च गरेर मानिसहरू पुग्छन्, अनेकौं दुख कष्ट भोग्दै अबैैध बाटोबाट पनि त्यहीँ पुग्छन्, उनले यो देख्दैथिए। 
मानिसहरू स्वतन्त्रताको चरम उपभोग गर्थे। आफ्नै उमेरका सहपाठीहरू आवश्यकता परेको जुनसुकै वस्तुको उपभोग सहज गर्दै रमाइलो जीवन बिताइरहेका थिए।  
उनी अमेरिका बसेर नेपाल नियलिरहेका रहेछन्। जब उनले पाँच वर्षको पढाइ पूरा गरिसकेका थिए। नेपालमा स्वेच्छाचारिता बढ्न थालेको थियो। देशका सीमित युवाहरू पनि राजनीतिक दलको झण्डा बोक्दै कानुनी रुपमा निषेधित कार्यमा संग्लन भेटिन थालेका थिए। कानुनी समाजलाई चुनौती दिने तत्वहरू उदाउने÷मौलाउने दायरा फराकिलो बन्दै गइरहेको थियो। सबै दल, कार्यकर्ताहरू आ–आफ्नो दुनो सोझ्याउन व्यस्त देखिन्थे। 
राजनीतिक संक्रमणले पूरै अस्तव्यस्त बनेको नेपालमा बस्न धेरैलाई अमन लाग्न थालेको सुन्छन्। देशमा बेरोजगारीको भयावह स्थितिले दैनिक १५ सयभन्दा बढी युवाहरू विदेसिएको खबर पढ्छन्। भएका उद्योगधन्दाहरू कति बन्द त कति रुग्ण अवस्था रहेको देख्छन्। मुलुक हाँक्ने जिम्मा बोकेका राजनीतिक दल र तिनीहरूप्रति वितृष्णा दिनप्रतिदिन बढेको पाउँछन्। 
यो सबैले समाज गैरविवेकशील बन्दै गइरहेको निष्कर्षमा पुग्छन्, अमेरिकाको आरामदायी बसाई त्याग्न मन लाग्छ। 
त्यसैले उनी विवेकशील सामाज स्थापनाको परिकल्पना साथ सन् २००१ मा उनी नेपाल फर्के। 
अमेरिका पुगेको छोरो उतै सेटल होस्, ग्रीनकार्ड बनाओस् र सकेसम्म परिवार पनि उतै लैजाओस् भन्ने परिवारको आकांक्षा नभएको हैन। वर्षांैवर्ष डिभीका लाइन देखिन्छन्। स्वदेशमा राम्रै हुनेखाने वर्ग हुन् या उच्चपदस्त कर्मचारी सबैैको रोजाइमा पर्छ अमेरिका। अमेरिका आकर्षणको देश बन्नु पछाडि धेरै कारण छन्। संसारकै शक्तिशाली देश, आर्थिक दृष्टिकोणले सम्पन्न मुलुक, तमाम अवसर, पर्याप्त भौतिक सुख सुविधालगायत। अमेरिकामा आप्रवासनको ग्राफ दिनप्रति उकालो लागिरहेको बखत उनी भने ‘विवेकशील’ नारा लिएर नेपाल आइपुगे।
अभियानदेखि पार्टीसम्म
विवेकशील नेपाली दलको पृष्ठभूमि विभिन्न अभियानहरूबाट सुरु भएको हो। पहिलो संविधानसभा विघटनपछि राजधानीमा केही युवाहरू निस्किन थाले। सुरुका दिनहरूमा बन्दहडताल, समाजिक कुसंस्कार, भष्ट्राचार, महिला हिंसाविरुद्धको अभियानलगायतमा ती युवाहरूको समूह सक्रिय हुन थाल्यो। त्यतिबेला दिनहुँजसो बन्दले जनताको दैनिक जीवनमा पुर्याएको बाधा व्यवधानको चौतर्फी बिरोध हुन्थ्यो। 
बन्द हडतालको राजनीतिले ‘सामान्य विवेक’ पनि हराएको महसुस उनीहरूलाई हुन्थ्यो। अर्बौं खर्चेर भएको पहिलो संविधानसभा कार्यभार पूरा नगर्दै विघटन हुँदा युवाहरूमा अन्योलता उत्पन्न भएको थियो। थापासहितका युवाहरूले यो नियालिरहेका रहेछन्। 
संविधानसभा विघटनको दिन। नयाँ बानेश्वर चोकमा बाक्लो उपस्थिति थियो।
‘बाहिर देखिएका विभिन्न दलका खासगरी युवाहरू एक–अर्काप्रति निकै आक्रोसित देखिन्थे, सुरक्षाकर्मीको बाक्लो उपस्थिति नहुने हो भने पिटापिटको अवस्था आउने निश्चित थियो,’ थापाले सम्झिए, ‘त्यहाँ देशका लागि नभएर भूगोल, क्षेत्र, जातका नेपालीहरू नै एक–आपसमा भिड्न तम्तयारको स्थिति देखेपछि समाजमा विवेकीपनको अभाव महसुस भयो।’ 
यो देखेपछि विभिन्न नाममा कसैले पनि नागरिकहरूलाई अलग्याउन नसकोस् र उनीहरू आफैंमा म नेपाली हुँ भन्ने भावना ल्याउन आवश्यक सम्झिए, थापासहितका युवाले। त्यसका लागि संगठनको अवश्यकता अपरिहार्य थियो, थापासहितका ती युवाहरूले विवेकशील संस्थाको परिकल्पना गरे। 
विवेकी नागरिक र समाज निर्माणको सोचलाई आकार दिन कस्तो शक्ति, संगठनको निर्माण गर्ने भन्ने विषयमा उनीहरू बहसमा जुटे। सुरूमा त संगठनको नाम नै के राख्ने भन्ने विषयमा छलफल भयो। बहसमा अंग्रेजी ‘कमन सेन्स’ शब्दले अलि बढी प्राथमिकता पाएपछि उनीहरूले त्यसको नेपाली अर्थ खोज्न थाले। 
केहीबेरको मन्थनपछि ‘कमन सेन्स’लाई ‘विवेकशील’ नामाकरण गरे। ‘विवेकशीलको अर्थ अझै विस्तृतमा जान्न शब्दकोश पल्टाउँदा के ठिक वा के बेठिक भनी छुटाउन सक्ने नागरिक हुन्छ भन्ने टुंगो लागेपछि हामीले त्यसैलाई अन्तिम मान्यौं,’ विवेकशील नेपाली दलका अध्यक्ष थापाले सम्झिए। 
नाम त जुर्यो। तर, कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल आवश्यक थियो। पहिलो संविधानसभा विघटनपश्चात थापाले छलफल आयोजनाको पहल थाले। पहिलो बैठक ठमेलमा रहेको सेन्ट जेभियर्स कलेजको भूतपूर्व विधार्थी संगठनको कार्यालयमा भएको थियो। जसमा समाजका विभिन्न निकायका व्यक्तिहरूको प्रतिनिधित्व उनीहरूले गराए। 
आशुतोष तिवारी, अनिल चित्रकार, बैंकर अनिल शाह, वाग्मती सफाई अभियानका राम शाह, पुकार बमहरू सुरुवाती छलफलमा थिए। बैठकमा कसरी अगाडि बढ्ने भन्ने विषय केन्द्रित थियो।
ठकमा केही योजना बने। स्रोत व्यक्तिहरूको राय सुझाव लिइयो। हप्तैपिच्छे छलफल आयोजना गर्ने निधो गरियो। त्यसपछि बैठक निरन्तर चल्न थाल्यो। 
‘यसले हालसम्म पनि निरन्तरता पाइरहेको छ, जुन बैठक विवेकशील नेपाली दल निर्माणको प्रमुख आधार थियो,’ थापा भन्छन्। 
केही हप्ताको बैठकपछि उनीहरूले आफूलाई व्यापक रुप दिन चाहे। सोही कुरालाई मध्यनजर गर्दै जनताको घरदैलो जाने निधो गरे। जनताकोे सपना, इच्छा, आकांक्षा बुझ्ने अभियानमा निस्किए।
सुरुवात देशका चौधै वटा अञ्चलहरूबाट भयो। नाम दिइयो, ‘विवेकशील पदयात्रा।’ विभिन्न समूहले विभिन्न अञ्चलबाट सुरू गरेको पदयात्रामा उनीहरूले स्थानीय जनताहरूलाई उनीहरुको सपना के छ भनी प्रश्न गरे। पहिलो संविधानसभा विघटनको एक वर्षपछि उनीहरूले थालेको विवेकशील पदयात्रा बुद्ध जन्मेको अवसर पारी बुद्ध जन्मस्थल लुम्बिनीमा टुंगियो।
लुम्बिनीमा पदयात्राको समापनबारे बताउँदै अध्यक्ष थापा भन्छन्, ‘हामीले देशभरिबाट जनताहरूका सपना संग्रह गरी ती सपनाहरु पूरा गर्ने अठोट लुम्बिनीमा गरेका हौं। हामीले त्यहाँ चौधै अञ्चलबाट ल्याइएको माटोलाई एक स्थानमा राखी नर्सरी पनि रोपेका छौं। जुन हाम्रो सिम्बोलिज्म पनि हो।’
सबै अञ्चलबाट समेटेर ल्याएका जनताका सपनाहरूलाई विवेकशीलका युवाहरूले आफ्नो मुख्य सिद्धान्त बनाए। र, त्यसलाई पूरा गर्ने प्रण गरे। जनताहरूको सपना समेट्दा त्यसको निचोडमा पार्टीले चार वटा सिद्धान्त तय गर्यो, जसमा सेवक सरकार, उद्यमशील समाज, हितकारी राज्य र विवेकशील नागरिक परे।
‘यी सिद्धान्तले राज्य कस्तो बनाउँछु भन्नेमात्र नभएर नागरिक कस्तो बनाउँछांै भन्ने कुरालाई पनि जोड दिएको छ,’ अध्यक्ष थापा भन्छन्, ‘विवेकशीलले अंगिकार गरेका सिद्धान्तले व्यक्ति, समाज र राज्य परिवर्तनको क्रमैसँग विकासमा जोड दिएको छ, नागरिकलाई विवेकशील बनाउन सक्यौं भने मात्र नेतृत्व जवाफदेही हुने हो। त्यसैले हाम्रो मुख्य सिद्धान्त नै विवेकशील नागरिक बनाउनु हो।’  
भ्रष्टाचारविरोधी अभियान होस्, चाहे चिकित्सा शिक्षा सुधार। हिजोआज राजधानीका सडकमा देखिने युवाहरू उनै विवेकशील दलका हुन्। चिकित्सा क्षेत्र सुधारको माग राख्दै वरिष्ठ चिकित्सक गोविन्द केसी सत्याग्रह बस्छन्। सरकार सुन्दैन, पार्टीहरूलाई मतलब हुँदैन, चिकित्सा क्षेत्रबाटै केसीको बिरोधमा मुलुक ‘गुटबद्ध’ बन्छ। 
केसीको ज्यान जोखिममा पर्दा सडकमा कराउन थाल्ने युवाहरू हुन्, विवेकशील। टंगालबाट समानान्तर मुलुक चलाइरहेको लोकमान प्रवृत्तिको जरो उखेल्ने आवाज उठ्दा नेता सांसदले कट्टु भिजाए, तर उनीहरूले टंगालै पुगेर धर्ना बस्ने हिम्मत जुटाए। ‘आज विवेकशील नेपालीको परिभाषा यही बनेको छ,’ थापा निर्धक्क भन्छन्, ‘कुनै बेला आठ/दस जना थियौं, अहिले ४० हजार पुगेका छौं।’ 
यसरी बन्छ विवेकशील 
विवेकशील नागरिक कसरी बनिन्छ? थापाकै शब्दमा विवेकशील नागरिक हुनका लागि कुनै पनि व्यक्तिले  कम्तीमा छ वटा मूल्य मान्यता अंगिकार गरेको हुनुपर्छ। सुरुमा त व्यक्तिमा न्यायलाई न्याय र अन्यायलाई अन्याय भन्न सक्ने साहस हुनुपर्छ। दोस्रो, देशको सबै बर्ग, क्षेत्र, धर्म, भाषा, लिंग, वर्ण र उमेरलाई अंगाल्न सक्ने व्यक्ति हुनुपर्छ। 
‘विनम्रता तेस्रो मान्यता हो भने पारदर्शीता चौथो,’ थापा भन्छन्, ‘एकअर्काबीच पारदर्शी भइयो भने सम्बन्ध बलियो बन्छ। साथसाथै शंकाको पनि ठाउँ रहँदैन।’ 
थापाका अनुसार विवेकशील नागरिकमा उत्कृष्टताको भावना हुनुपर्छ। उसले आफूले जे काम गरे पनि उत्कृष्ट काम गर्छु भनेर लाग्नुपर्छ। ‘सबैले आ–आफ्नो क्षेत्रमा राम्रो काम गर्ने हो भने यो देश बन्न कति नै समय लाग्ला र?,’ उनी भन्छन्,‘यी पाँच वटा मूल्य मान्यतालाई जोड्ने काम चाहिँ निष्ठाले गर्छ। निष्ठावान व्यक्ति बन्न सकियो भने बल्ल यो देश हामीले सोचेकै जस्तो समृद्ध बन्छ।’ 
युवाको भिजन, युवा नेतृत्व
विवेकशील अर्थात् युवा। विवेकशील नेपाली दलमा युवाको नेतृत्व छ। अहिलेका संगठनभित्र कुसंस्कार भएका कारण युवाहरू त्यस्ता संगठनमा बस्न रुचाउँदैनन्। थापा भन्छन्, ‘युवामा जोस् र होस् दुबै हुन्छ। उनीहरू नयाँ प्रयोग गरांै भन्ने खालका हुन्छन्। उनीहरूलाई त्यो वातावरण चाहिन्छ। त्यो माहौल विवेकशीलमा भएकाले युवाको आकर्षण छ।’
विवेकशीलमा आवद्ध युवाहरूको अनुभव 
रमेश पौड्याल, प्रवक्ता
विवेकशील पार्टीमात्र नभएर यो चाहिँ एउटा परिपाटी हो। यसले राजनीतिक संस्कारलाई पुनः परिभाषित गर्ने काम गर्छ। त्यसैलाई सपोर्ट गर्न विवेकशीलले आफ्नो संरचनालाई पनि अन्य पार्टीको भन्दा विल्कुल नौलो र फरक बनाएको छ। हामीले हाम्रो संरचनामा आपसमा सन्तुलन र नियन्त्रणको प्रभावकारी व्यवस्थापन होस् भन्ने कुरामा जोड दिएका छौं।
शक्ति पृथकीकरणको सिद्धान्तअनुरुप राज्यका निकायहरूले स्वतन्त्र रुपमा काम गर्न पाउन् भनेर व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको गठन भएको हुन्छ। सोही कुरामा जोड दिँदै त्यो राज्य संयन्त्रमा मात्र नभएर पार्टीमा पनि अबलम्बन गर्नुपर्छ भन्ने मान्यताले हामीले तल्लो तहदेखि केन्द्रसम्म व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको संरचनामा  ढालेका छौं।
विवेकशील दलको औपचारिक घोषणापूर्व हामीले निरन्तरको छलफलमा नेपालको राजनीति दूषित छ भन्ने निष्कर्ष निकाल्यौं। त्यतिबेला हामीमा पनि दुईथरी विचार आए। एकथरी साथीहरूले राजनीतिमा जाँदा हामी पनि दूषित भइन्छ भने। अर्काथरीले हामीले दूषित छ भने त्यसैमा गई सफा गर्नुपर्छ भन्ने विचार अगाडि सारे। यही समूहले औपचारिक रुपमा २०७१ वैशाख २९ गते विवेकशीललाई पार्टीको स्वरूप दियो।  
विजय शिवाकोटी, सोसल मिडिया एनालिष्ट
हामी हाल स्थानीय निकायको चुनावमा केन्द्रित छौं। तयारीका क्रममा हामीले पहिलो चरणमा जनताका आकांक्षाहरू, समस्याहरू के छन् र तिनलाई कसरी समाधान गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिएका छौं। यो सब बुझ्न हाम्रो काठमाडौं उपत्यका केन्द्रित सर्वेक्षण जारी छ।
हामीले कतिपय गरेका काममा मिडियाले चासो देखाएको पाएका छैनौं। जस्तै, उद्यमशील समाज निर्माणको लागि हामीले सुरुका दिनहरूबाटै हजाराैं युवाहरूलाई तालिम, परामर्श दिइरहेका छौं। यसले देशैभरि हजारौं रोजगारी सिर्जना गरेको छ। कैयाैं युवाहरूलाई विदेशिनबाट रोकेको छ। 
डा. गोविन्द केसीको आन्दोलनमा सबै नेपालीको चासो थियो, हामी अग्रपंक्तिमा गयौं। त्यही भएर मिडियामा बढी देखिया्ैं, सँगसँगै हामीले राजनीतिलाई समाज सेवासँग जोडेर लग्दै आएका छाैं।
रञ्जु दर्शना, केन्द्रीय सदस्य 
मैले सुरूमा स्माइली कार्ड (विवेकशीलको लोगो) बाटोमा खसेको भेटाएको थिएँ। लोगोमा रहेको विवेकशील नेपाली दलको बारेमा पढ्दै म कार्यालयसम्म आइपुगेँ। यहाँ मजस्ता थुप्रै देशलाई माया गर्ने व्यक्तिहरू भेटिएपछि म विवेकशीलप्रति आकर्षित भएकी हुँ। पहिलो अभियानमा जाँदा उज्जवल दाइहरूलाई ‘नेपाल खुल्ला छ’ भनेर नेपालको राष्ट्रिय झण्डा बोक्दै चक्रपथ चोकमा देखेपछि म पनि त्यतैतिर आकर्षित भएँ। उहाँहरूको नजिक पुग्दा उज्जवल दाइ आफैंले नेपालको राष्ट्रिय झन्डा दिँदै नम्र व्यवहारमा लौ अभियानमा लाग्नुपर्छ भन्नुभयो।
सुरूमै मैले उहाँहरूबाट ‘तिमी पनि देशलाई माया गर्ने, हामी पनि देशलाई माया गर्ने’ बाहेक अन्य कुनै किसिमको भेदभाव र भिन्नता पाइनँ। भर्खर अभियानमा जोडिएकी मैले राष्ट्रिय झण्डा बोक्नु र उहाँहरूको व्यवहारले आकर्षित गर्नु मेरो विवेकशीलमा लाग्नुको कारण बन्यो।  
अहिले हामी जो–जो युवाहरू राजनीतिमा लागिरहेका छौं, हामीमाथि ठूलो दायित्व छ। यदि हामीले सकारात्मक सोचका साथ समाज परिवर्तनमा अग्रसर हुनसक्यौं भने अन्य युवाका लागि हामी उदाहरण बन्ने छौं। यसले भोलि अभिभावकहरूले पनि आफ्ना सन्ततिलाई हाम्रो उदाहरण दिँदै राजनीति गर्न प्रेरित गर्नेछन् भन्ने विश्वास मलाई लाग्छ। 
दोस्रो संविधानसभा चुनावअघि विवेकशील नेपाली दल निर्वाचन आयोगमा दर्ता भइसकेको थियो। उनीहरूका क्रियाकपलाप दलका रुपमा नभई विवेकशील संगठन या शक्तिका रुपमा थिए। यसै संगठनबाट यसका अभियान्ताहरू अध्यक्ष थापासहित चार जनाले दोस्रो संविधानसभामा स्वतन्त्र उम्मेदवार उठे।
‘हामीले एक महिनाको मात्र तयारी गरेका थियौं,’ थापाले भने, ‘म आफंै काठमाडौं क्षेत्र नम्बर ५ बाट चुनावमा उठ्दा २८ वटा दलहरूमध्ये पाँचौं भए। मअघि नेपाली कांग्रेस, एमाले, माओवादी र राप्रपा थिए भने पछि बाँकी २२ दल थिए।’ 
जनताबाट पाएको मतको आधारमा जनताले वैकल्पिक धारको पार्टी खोजिरहेको निर्णयमा उनीहरू पुगे र फलस्वरुप २०७१ वैसाख २९ गते विवेकशील नेपाली दल नामको पार्टी निर्वाचन आयोगमा दर्ता भयो।
स्थानीय चुनाव लड्ने 
विवेकशील नेपाली पार्टीले अब हुने स्थानीय निकायको चुनावमा उठ्ने सोच बनाएको छ। थापाका अनुसार १४ भन्दा बढी जिल्लामा संगठन विस्तार भइसकेको छ। ‘तर, हामीले सबै क्षेत्रबाट चुनाव लड्ने सोच बनाएका हैनौं,’ अध्यक्ष थापा भन्छन्, ‘हामी हाम्रो आधार क्षेत्रलाई प्राथमिकतामा राखेर स्थानीय निकायको चुनावमा उठ्ने सोचमा छाैं। अहिलेको आधार क्षेत्र राजधानी हो।’ सहर तथा गाउँहरूबाट सकारात्मक परिणाम आए ती भू–भागलाई देशकै रोलमोडलका रुपमा स्थापित गर्ने रणनीतिमा आफूहरू रहेको उनी बताउँछन्।

No comments:

Post a Comment