Friday 21 February 2020

पारसले ट्विस्ट देलान्?


यो सामाग्री असोज २९, २०७६, बुधबार नेपालखबर डटकममा प्रकाशित छ। 

अप्रत्यासित रुपमा पारस खड्काले मंगलबार नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट एक्कासी राजीनामा घोषणा गरेपछि नेपाली क्रिकेट जगत तरंगित बन्यो।
अघिल्लो दिन सोमबारमात्रै नेपाल क्रिकेट संघ(क्यान)माथि अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आइसीसी)ले साढे तीनवर्ष देखि लगाएको निलम्बन फुकुवा गरेको थियो। उक्त खबरले उत्साहित नेपाली क्रिकेट समर्थकहरु पारसको राजीनामाले २४ घण्टा नबित्दै निराश बने। पारसको राजीनामाको खबरसँगै सबैले पारसलाई कप्तानीमा फर्कन लगातार अनुरोध गरिरहेका छन्।
किनकी आधुनिक नेपाली क्रिकेटको शिल्पकार यिनै पारस हुन्। २००९ मा पारस नेपाली टोलीको कप्तान बन्दा नेपालले विश्वकप खेल्छ, एकदिवसीय मान्यता पाउँछ, एकदिवसीय र टि–२० शृंखला जित्छ भनेर कल्पनामात्र गर्नेपनि धेरै कम थिए।
तर, नेतृत्वमा आएको पहिलोवर्ष देखि नै पारसले नेपाली क्रिकेटले त्यससमय कल्पना नगरिएका उचाई हासिल गर्ने छनक देखाए। उनको कप्तानीमा अर्को वर्ष नेपालले विश्व क्रिकेट लिग डिभिजन ५ को उपाधि उचाल्यो। काठमाडौंमा भएको जितेको उक्त ट्रफी नै नेपालले आइसीसीको इभेन्टमा नेपालले हात पारेको पहिलो सबैभन्दा ठूलो सफलता हो। घरेलु दर्शक सामु उपाधि उचालेपछि नेपालमा क्रिकेट र पारसका फ्लोवर्स ह्वात्तै बढेका थिए। 
त्यसपछि पारसको नेतृत्वको टोलीले असम्भव ठानिएका सबै कुराहरु सम्भव बनाउँदै लगे। टोली डिभिजन ५ बाट डिभिजन एकसम्म उक्लियो। २०१४ मा आइसीसी टि–२० विश्वकप खेल्यो। अघिल्लोवर्ष मात्रै ऐतिहासिक एकदिवसीयको मान्यता पायो। यहीवर्षको सुरुवातमा अर्को ऐतिहासिक पहिलो एकदिवसीय र टि–२० शृंखला जित्यो।
क्रिकेट एउटा टिम गेम हो तर नेपाली क्रिकेटमा धेरैपटक महत्वपूर्ण क्षणमा यस्तो भएको छ जब पारस चले तब नेपालले जित्यो, जुन दिन पारस चलेनन् त्यो दिन अरुको पनि केही सीप चलेन। टि–२० विश्वकपका खेलहरु, नेदरल्याण्ड्सविरुद्धको ऐतिहासिक शृंखला बराबरी गर्ने क्रममा तथा युएईविरुद्धको वान डे र टि–२० शृंखला जित्ने क्रमका खेलहरुको स्कोरबोर्ड पल्टाएर हेर्दा उनको महत्व नेपाली क्रिकेटलाई कति र कस्तो थियो भन्ने स्पष्ट हुन्छ।
किन छाडे कप्तानी?
अन्तर्राष्ट्रिय अभ्यास हेर्ने हो भने लगातारको खराब प्रदर्शन, टोलीले ठूलो तथा महत्वपूर्ण खेल हार्दा, खेलाडीहरु तथा प्रशिक्षकसँगको खटपट या बढी उमेरका कारण कप्तानहरु पद छाड्ने निर्णयमा पुगेका देखिन्छन। तर, पारसको मामला यी सबैकुराहरु गौण रहे।
paras sadsya sachib chatur guruराखेप सदस्यसचिव रमेश सिलवाल, क्यान अध्यक्ष चन्द, पारस र प्रशिक्षक टमटा
पछिल्लो समय नेपाल अष्ट्रेलियामा २०२० मा हुने टि–२० विश्वकपको ग्लोबल छनोटमा पुग्न नसकेपनि पारसको आलोचना कसैले गरेका थिएनन्। उनी लयमै थिए। त्यसलगत्तै सिंगापुरमा भएको त्रिदेशीय शृंखलामा आयोजिक सिंगापुरविरुद्ध टि–२० अन्तर्राष्ट्रिय शृंखलामा शतक प्रहार गरे। त्यसले उनलाई नेपाली क्रिकेट इतिहासमै टि–२० अन्तर्राष्ट्रियमा शतक प्रहार गर्ने पहिलो खेलाडी बनायो। पारस एकदिवसीय अन्तर्ष्ट्रियमा पनि शतक प्रहार गर्ने पहिलो र एकमात्रै नेपाली खेलाडी हुन्।
पारसको प्रशिक्षक र खेलाडीहरुसँग कुनै किसिमको खटपट थिएन। पारसको कप्तानीको सबैभन्दा बलियो पक्ष नै उनले टिमलाई एकजुट पार्नसक्नु हो। टोलीलाई एकतावद्ध बनाएर खेलाउन सकेका कारणले नेपाली क्रिकेट यहाँसम्म पुगेको हो। अर्कातिर नवनियुक्त प्रशिक्षक उमेश पटुवाललाई पनि पारसकै अनुरोधमा आइसीसीले नेपाल पठाएको थियो। पारस उमेरका हिसाबले पनि भर्खर ३२ वर्ष टेकेका थिए। उनी अझै केहीवर्ष कप्तानी गर्न सक्थे।
किन छाडे कप्तानी?
तत्काल दुई कुरा बाहिर आएका छन्। एउटा कारण पारस आफैले दिएका छन् भने अर्को कारण ६ वर्षअघिको एउटा घटनामा जोडिएको छ। जुन उनको राजीनामाको एक कारकका रुपमा देखिएको छ।
पारसले आफै बताएको पहिलो कारण हो, थकाई। मंगलबार राजीनामा घोषणा गर्दा पनि त्यही थकाईबाट राहत पाएको भाव पारसको अनुहारमा झल्कन्थ्यो।
खेलाडी, कप्तान, छनोटकर्ता, व्यवस्थापक, मेन्टर, समन्वय आदि आदि। पारसले पछिल्लो समय नेपाली क्रिकेटका लागि के के सम्म गर्नुपरेन।यी उनले निभाईरहेका देखिने केही भुमिकाहरु थिए। खेलाडीका रुपमा उनीबाट सधैँ उच्च अपेक्षा हुन्छ। लगातार प्रदर्शन दिनैपर्ने दबाब उनमा रहन्थ्यो।
क्यान निलम्बनमा परेपछि खेलाडी छनोटको जिम्मेवारी पनि उनकै काँधमा थोपोरियो। कतिपय बेला नजिक मानिएका साथीहरु पनि टोलीमा नपर्दा काखापाखा गरेको आरोप खेप्ने समेत पारस थिए। टोली छान्नुमात्र थिएन्, आफूले छानेको टोलीबाट नतिजा निकाल्नु पनि पारसका लागि सधैँ चुनौती रह्यो।
पारस खेलमा मात्रै हैन, अर्कातिर पारस व्यवस्थापनमा पनि उत्तिकै सक्रिए हुनुपर्‍यो। अन्तर्राष्ट्रिय खेलअघि नेपालको बन्द प्रशिक्षण कहिले, कहाँ राख्ने, खेलाडी को बोलाउने, कहाँ राख्ने, सहायक प्रशिक्षकहरु को, म्याच एक्सोजरका लागि कहाँ जाने, आइसीसीलाई प्रस्ताव पठाउने, आइसीसीबाट स्वीकृत लिने आदि आदि। यी सबै काममा एउटा खेल्नुपर्ने मुख्य जिम्मेवारी भएको व्यक्ति अल्झदा थकाई लाग्नु स्वभाविक हो।
त्यसैले राजीनामा पश्चात मिडियाहरुसँग कुरा गर्दै पारसले भने, ‘अहिले म ब्रेक लिन चाहन्छु। खेलाडी, कप्तान, छनोटकर्ताका रुपमा धेरै कामहरु गरे। आइसीसी, क्यानसँग समन्वयन गरे, अन द फिल्ड र अफ द फिल्डको व्यवस्थापन गर्नुपर्यो। अहिले केही समय आराम गर्नुपर्ने अवस्था आएको छ।राजीनामा पछि केही राहात महसुस गरिरहेको छु।
अर्थात पारस अब सबै व्यवस्थापकीय झन्झटबाट मुक्त भएर आफ्नो प्रदर्शनमा केन्द्रीत हुन चाहन्छन्।
पारसले नभनेको तर कप्तानबाट राजीनामाको अर्को कारक भर्खरै निर्वाचित क्यानका पदाधिकारीहरुसँगको तिक्तता पनि हो। त्यसको बिउ ६ वर्षअघि रोपिएको थियो।
paras chatur 222पारसको राजीनामाको कारण क्यान पदाधिकारीसँगको तिक्ततालाई पनि मानिन्छ
२०१४ मा नेपाली टोली टि–२० विश्वकप खेलेर फर्केपछि खेलाडीहरुको हकहित र राम्रो व्यवस्थापनको माग राख्दै पारस नेतृत्वको खेलाडीहरुले तत्कालिन क्यानका पदाधिकारीहरुविरुद्ध पत्रकार सम्मेलन नै गरेर सार्वजनिक रुपमै भ्रष्टचार लगायतका आरोप लगाएका थिए।
खेलाडीहरुले नै अख्तियार तथा आइसीसीसँग तत्कालिन क्यानका पदाधिकारीविरुद्ध उजुरी दिए। अख्तियारले त्यसबेला क्यानका १० जना पदाधिकारीलाई भष्ट्रचारको आरोप लगायो। त्यसमध्येका एक थिए, तत्कालिन क्यानका उपाध्यक्ष चतुरबहादुर चन्द। जो भर्खरै क्यानको अध्यक्षमा निर्वाचित भएका छन्।
पारस र खेलाडीहरुले आफ्नै संघविरुद्ध गरेको मोर्चाबन्दीको आलोचना पनि भएको थियो। चित्त नबुझेको कुरा संघमा राख्नुपर्ने अवस्थामा पत्रकार सम्मेलननै गरेर स‌ंघको विरोध गरेपछि त्यसबेला पारसलाई कप्तानबाट हटाउने कसरत पनि भयो। एक राष्ट्रिय मिडियामा अनुशासनको कारवाहीस्वरुप पारसलाई कप्तानबाट हटाइएको समाचार समेत चुहियो।
अर्कोदिन पारसले पत्रकार सम्मेलन गर्दै आफूलाई कप्तानबाट हटाइएको कुनै जानकारी नभएको प्रतिक्रियासम्म दिनुपर्यो। भर्खरै टि–२० विश्वकप खेलेर फर्किएकाले त्यसबेलाको जनमत पारस र खेलाडीका पक्षमा थियो। त्यसैले क्यानले त्यसबेला पारस र खेलाडीविरुद्ध कुनै कदम अघि बढाएन।
पारसले क्यानका पदाधिकारीहरुसँगको तिक्तताका कारण आफूले राजीनामा नदिएको बताएपनि नयाँ कार्यसमितिलाई नयाँ ढंगबाट काम गर्न दिनका निमित्त बाटो खुलाइदिएको भन्दै घुमाउरो पारामा पूरानो कुरा कोट्याएका छन्।
उनले भने, ‘ नयाँ सोच र संरचनाका साथ हामी अघि बढ्दैछौँ। मलाई के लाग्यो भने नयाँ नेतृत्व आएपछि उहाँहरु नयाँ सोचका साथ नयाँ लिडरसिपसहित अघि बढ्नुपर्छ। त्यसमा मेरो तर्फबाट जे जति गर्नुपर्छ म सहयोग गर्न तयार छु।’
एउटा ट्विस्टको अपेक्षा
तर, पछिल्लो समय परिस्थिति फेरिएको थियो। क्यान अस्तित्वमा आएसँगै पारसको काँधबाट व्यवस्थापकीय जिम्मेवारीको बोझ हटेको थियो। अब न उनले टोली छनोटको चिन्ता लिनुपथ्र्यो, न आइसीसीसँग समन्वयनको नै। घरेलु प्रतियोगिता, टोलीको वैदेशिक प्रशिक्षण, एक्सोजर लगायतका क्रिकेटका सम्पूर्ण व्यवस्थापकीय कामहरु गर्ने बोर्डले मान्यता पाइसकेको थियो। अब उनले सरासर टोलीको कप्तानीमात्रै गरे पुग्ने थियो।
लगत्तै नेपालले नेपाली क्रिकेटको भाग्य र भविष्य कोर्ने विश्व क्रिकेट लिगको संरचना खेल्दैछ। जसको पहिलो शृंखलामा नेपालले ओमान र अमेरिकाविरुद्ध घरेलु मैदानै खेल्दैछ। होम एण्ड अवेका आधारमा हुने उक्त प्रतियोगितापछि नेपाली क्रिकेटको वरियता र स्थितिबारे निक्र्यौल हुनेछ। त्यसमा राम्रो प्रदर्शन गर्न सके टेस्ट मान्यताको ढोका पनि खुल्न सक्छ।
त्यस्तो महत्वपूर्ण प्रतियोगिता अघि पारसले कप्तानीबाट राजीनामा दिएको भन्दै धेरैले उनी कम्तीमा उक्त लिगसम्म नेतृत्वमा रहनुपर्ने बताएका छन। धेरैले पारस कप्तानीमा फर्किई ट्विस्ट दिउन भन्ने चाहान्छन। पारस भने अहिलेसम्म आफ्नो निर्णयमा दृढ छन। उनी भन्छन्, ‘मैले धेरै सोचेर उपर्युक्त समयमा निर्णय लिएको हुँ। अब कप्तानीमा फर्किँन्न।’
तर, एकातिर पारसले व्यक्तिगत रुपमा राजीनामा दिएपनि उनको राजीनामा स्वीकृत भइसकेको छैन। अर्कातिर पारसलाई औपचारिक रुपमा आग्रह गरेपछि उनी पुनः कप्तानीमा फर्कने झिनो सम्भावना बाँकी छ।
parass12345औपचारिक आग्रहपछि पारसलाई कप्तानीमा फर्काउने झिनो आशा बाँकी छ
त्यसका लागि क्यानकाे पहल आवश्यक हुन्छ। त्यो संकेत क्यानका अध्यक्षले पनि गरेका छन्। अध्यक्ष चन्दले पारसको कप्तानीमा पुर्नबहालीबारे भने, ‘पारसले हिजो दिएको राजीनामाले म लगायत मेरो टोली आश्चार्यचकित भएका छौं। पारससँग कुरा गर्दा उनले सरल रुपमा राजीनामा दिएको बताएका छन। तर, मलाई के लाग्छ भने यो नै उहाँको अन्तिम निर्णय हैन र हुनुहुँदैन। वार्ता र छलफलका माध्यमबाट हामी यसलाई सहज रुपमा टुंग्याउने नै छौँ।’
तीनवर्ष नेपाली टोलीको प्रशिक्षकका रुपमा पारससँग बिताएका र नेपालको महत्वपूर्ण उपलब्धिहरुको सहयात्री जगत टमटाले पनि विदेशमा समेत औपचारिक आग्रहपछि खेलाडीहरुको पुर्नबहाली भएको उदाहरण दिँदै पारसलाई पनि कप्तानीमा पुर्नबहाली गराउनुपर्ने बताउँछन्।
उनी भन्छन्, ‘सिधा भाषामा भन्दा नेपाली क्रिकेटलाई अझै केही वर्ष पारसको नेतृत्व चाहिन्छ। पारसले लामो समय ठूलो झन्झट उठाएको थियो। उसले कति टाउको दुखायो भन्ने मलाई थाहा छ। अहिले आफूलाई फ्रि बनाउन पनि खोजेको हुनसक्छ। तर उ क्रिकेटलाई, देशलाई एकदमै माया गर्ने मान्छे हो। अहिलेसम्म पारसले आफूले दिएको निर्णय हो। तर राज्य, क्रिकेट संघ पनि छ नि अगाडि। धेरै देशमा पनि खेलाडीहरुको पुर्नबहाली भएको छ। उसको पनि हुनसक्छ।’
‘अहिले हामीले अन्य विकल्पबारे हतारिनु पर्दैन,’ उनले थपे, ‘उ क्रिकेटकै लागि जन्मिएको मान्छे हो। यू–१५ देखि लगातार खेलिरहेको छ। दशवर्ष देशको नेतृत्व गर्यो। त्यति सजिलो गरि क्रिकेटले उसलाई छोड्नेवाला छैन।’
पूर्वकप्तान विनोद दासले पनि अहिले पारसले कप्तानी छाड्ने उपर्युक्त समय नभएको बताउँछन्। २००९ मा विनोदलाई नै विस्थापित गर्दै पारस नेपाली टोलीको कप्तान बनेका थिए। विनोद भन्छन्, ‘पारस कुशल कप्तान हुन्। पारसले अहिलै कप्तानी नछाडेको भए हुन्थ्यो। युवा खेलाडीलाई दुई तीनवर्ष सम्म कप्तानको भूमिकामा अभ्यस्त बनाएर पारसले राजिनामा दिएको भए उत्तम हुन्थ्यो।’
यसैगरि पारसले राजीनामा दिएपछि कप्तानको विकल्पका रुपमा हेरिएका मुख्य व्यक्ति उपकप्तान ज्ञानेन्द्र मल्ल पनि पारस खड्काको नेतृत्व अझै नेपाली क्रिकेटलाई आवश्यक रहेको बताउँछन्।
‘अहिले पारसको राजीनामा अलिकति अस्वाभाविक नै हो। उसको निर्णयको हामीले सम्मान त गर्नैपर्छ। उसले सोचविचार गरेर नै निर्णय लिएको होला,’ उनले भने, ‘तर, एकचोटि सबै बसेर पारसलाई फर्काउने कुरा गर्नुपर्छ। यो समयमा सबै जना एकजुट हुन जरुरी पनि छ। उसको लिडरसिप चाहिएको पनि छ। खाँचो पनि छ। अहिले क्यानको निलम्बन पनि फुकुवा भएको छ। नयाँ बोर्ड आएको छ। क्रिकेट नयाँ संरचनामा जाँदै गरेको बेला ऊसँग भएको अनुभवलाई लिएर सबै जना टिम भएर अबको हाम्रो बाटो कोर्न पाएको भए राम्रो हुन्थ्यो।’

No comments:

Post a Comment