Friday 21 February 2020

बेहाल क्यान मुख्यालय, होटलमै बसे पदाधिकारी

(यो सामाग्री असोज १३, २०७६, सोमबार नेपालखबर डटकममा प्रकाशित छन्।)
यज्ञराज जोशी । बिहान १० बजे कार्यालयहरु खुल्ने समय हो। त्यही समय कर्मचारी, पदाधिकारीहरु कार्यालय पुग्छन्। काम थाल्छन्। सेवाग्राही आउँछन् र चहलपहल हुन्छ।
तर साढे ३ वर्ष भयो, काठमाडौंको मुलपानीस्थित नेपाल क्रिकेट संघ (क्यान) को मुख्यालयको रङ उडेको। २०७३ वैशाखमा क्यान निलम्बनमा परेपछि नेपाली क्रिकेटले भोग्नुपरेको एक नियतीको उदाहरण पनि हो यो कार्यालय। 
रङ उडिसकेको छ। गेट छैन। सिसाका ढोकाहरु फुटिसके। झ्यालहरू चर्किसके। बत्ती, पानीकै समस्या छ। फाइलहरू कुहिन लागिसके। सोफाहरू फाटिसके। राति चोर पसेर दराज, ढोका फोडिसके। कार्यालय खोल्ने, बन्द गर्ने नियमित समय छैन। पदाधिकारी आउँदैनन्। चहलपहल छैन।
त्यही कारण चुनाव जितेलगत्तै पदभार ग्रहण गर्नुपर्ने परम्परा पनि क्यान पदाधिकारीहरुले पूरा गर्न सकेनन्। अध्यक्ष चतुरबहादुर चन्दलगायत अधिकांश पदाधिकारीले बेहाल कार्यालय पुग्नुभन्दा होटलमै बस्न उचित ठाने।
कर्मचारीले तलब नपाएको तीन वर्ष भैसक्यो
आइतबार दिउँसो हामी नेपालखबरकर्मी मुलपानीस्थित क्यान मुख्यालय पुग्दा रङ उडेको कार्यालयमा पूराना कर्मचारीहरुमा निराशा मात्रै देखिन्थ्यो। उनीहरुसँग गुनासै गुनासा थिए। २०५६ सालदेखि क्यानमा आबद्ध लेखा शाखाका कर्मचारी राजेश महर्जनले यस्तो अवस्था कहिल्यै देखेका थिएनन्। २०७३ भदौदेखि उनले तलव नै पाएका छैनन्।
‘तीन वर्ष भयो तलब नपाएको। क्रिकेटलाई योगदान दिएको दसौँ वर्ष भैसक्यो, छोड्न पनि सकिदैन’, महर्जनले भने, ‘कतिपय बेला त यहाँ चाहिने अत्यावश्यक सामान आफ्नै खल्तीबाट खर्च गरेर ल्याउनुपर्छ। क्रिकेट संघ आउला र राम्रो होला भन्ने आशामा बसेका छौं।’
क्यान अध्यक्षको टेबुलमा नेपालका ट्रफीहरुसहित तत्कालिन राजा ज्ञानेन्द्र र रानी कोमलको तस्बिर छ 
मूल ढोकासँगै अलमुनियमका सबै ढोकामा लगाइएको सिसा फुटेको छ। भुईं तलामा फाइनान्स लगायत कार्यालय सञ्चालनको व्यवस्था गरिएको छ। सबै कुर्सीहरु रित्ता छन्। कम्युटरहरु बन्द भएको वर्षौं भैसक्यो। बस्ने कुर्सीहरु पनि धुलोले ढाकिएका छन्। मूलढोकाबाट छिर्नेबित्तिकै दोस्रो तला चढ्ने सिँढी छ। सिँढीको तलपट्टि टुटेका कुर्सी, टेबुल, बोर्ड, धुलो भरिएका कागजातहरुसहितको दराजले कार्यालयको बेहाल अवस्था देखाउँछ।
दोस्रो तला अध्यक्ष तथा पदाधिकारीका लागि बनाइएको हो। यही तलामा नेपालले समय–समयमा हात पारेका ट्रफीहरु राखिएका छन्। बैठक कोठाका सबै कुर्सीहरु रित्ता र धुलोले भरिएका छन्। दराजका सबै फाइलहरु नामेट हुने अवस्थामा छन्।
नेपालमा राजतन्त्र अन्त्य भएको एक दशक भैसक्यो। तर, क्यान अध्यक्षको टेबुलमा अझै तत्कालीन राजा ज्ञानेन्द्र र रानी कोमलको तस्बिर देखियो। अध्यक्षकै कोठाको सोफा समेत सद्दे छैनन्। माथिल्लो तलामै रहेको बैठक कोठामा अघिल्लो महिना चोर पसेको थियो। तर, सामान के थियो र चोथ्र्यो। सबै दराजहरु भने फोडेछ। ढोकाको सिसा फुटाएछ।
चोरीबारे राति अबेर थाहा पाएका कार्यालय सहयोगी सुमन लामाले तत्काल प्रहरीलाई खबर गरेका थिए। प्रहरी आयो, खोजी गर्यो तर कोही पनि भेटिएनन्। दुई दशकदेखि क्यानमा कार्यरत सुमनले निलम्बनपछि मैदानको हेरचाह पनि गर्दै आएका छन्। हेरचाहकै क्रममा उनले दुई पटक कुटाई समेत खानुपरेको छ।
अघिल्लो महिना राति चोर पसेर ढोका र दराज फुटाएको थियो 
‘संघ नहुँदा धेरै समस्या छ नि, बाहिरबाट मान्छे आउँछन्। हामीले खेल्न पाउनुपर्छ भनेर झगडा गर्छन्,’ तीन वर्षदेखि तलब नपाएका महर्जनले भने, ‘पीचमा गएर फुटबल नखेल भनेपछि हामी स्थानीय हौं, खेल्न पाउनुपर्छ भन्दै दुई पटक मलाई कुटी सके। बोसहरु नभएका कारणले धेरै समस्या भोग्नु परेको छ।’
क्यानका नवनिर्वाचित अध्यक्ष चतुरबहादुर चन्द दशैँपछि मात्रै कार्यालयको व्यवस्थापन कार्य अघि बढ्ने बताउँछन्। उनले आइसीसीले आधिकारिक पत्र आएपछि मात्रै काम सञ्चालन गर्नु भनेकाले अहिले कार्यालयबाट कुनै काम हुने स्थिति नरहेको बताए।
सोफाहरु समेत वेरुप भैसकेँ
‘आज भोलि मुलपानीको भिजिट गर्नुपर्ला,’ नेपालखबरसँग उनले भने, ‘आधिकारिक पत्र नआएसम्म आइसीसीले केही काम नगर्नु भनेको छ। अब दशैंपछि नै राम्रो तरिकाले कार्यालय सञ्चालन हुन्छ। त्यसअघि आन्तरिक तयारीहरु गर्छौं।’

No comments:

Post a Comment