Thursday 20 February 2020

सफल खेलाडीको काँधमा टोली च्याम्पियन बनाउने जिम्मा

यो मेरो स्टोरी ३ कार्तिक २०७५, शनिबार | 2018-10-20 10:30:29 मा Nepalkhabar.com मा प्रकाशित भएको हो।


यज्ञराज जोशी
बिसं २०३९ सालमा स्थापित मनाङ मस्र्याङ्दी फुटबल क्लबको नेपाली फुटबलमा इन्ट्री र सफलता दुवै अविश्वसनीय थियो। पहिलोवर्ष ‘डी’, दोस्रो वर्ष ‘सी’ र तेस्रोवर्ष ‘बी’ गरी मनाङले लगातार लिगमा सफलता हात पार्दै गयो। चौथोवर्ष त उसले देशकै सर्वोच्च प्रतियोगिता ‘ए’ डिभिजनकै उपाधि उचाल्यो।
बी डिभिजनसम्म मनाङ-मर्स्याङ्दी लगातार च्याम्पियन बन्दा एक गोल पनि खाएको थिएन। तर, २०४२ को ए डिभिजनमा च्याम्पियन बन्दा भने थ्रीस्टार क्लबका पवन श्रेष्ठ र संकटा क्लबका राजुमान तुलाधरले मनाङको पोस्टमा दुई गोल गरेका थिए। त्यसले मनाङलाई केही प्रभाव पारेन। जनआन्दोलन (२०४६) अघि थप दुई (२०४३-४४ र ०४६) उपाधि उचाल्दै मनाङले ए डिभिजनको उपाधिमा ह्याट्रिक गर्‍यो।
मनाङको त्यो पहिलो स्वर्णिम पुस्ता थियो। सहयात्री थिए– मणि शाह, कुमार थापा, बसन्त थापा, दीपक लामा, राजन रायमाझी आदि। त्यसपछि आन्दोलन र राजनीतिक उतारचढावले २०५५ सम्म लिग हुन सकेन। त्यस बेलासम्म ‘करिअर’ को उत्तरार्धमा रहेको मनाङ-मर्स्याङ्दीको पहिलो ब्याचले पनि सन्यास लिइसकेको थियो।
टड्कारो प्रश्न उठ्यो, के मनाङले बीचको ग्याप र मुख्य खेलाडीहरुले सन्यास लिइसक्दा फेरि पुरानै लय हासिल गर्न सक्ला? अहँ, लिगमा मनाङ-मर्स्याङ्दीले पुरानो लय फर्काउन सकेन। नयाँ खेलाडीहरु पुरानो विरासत धान्ने दबाबले थिचिन थाले। त्यही दबाबबीच युवा खेलाडीले जे गरे, त्यसले पहिलो स्वर्णिम पुस्ताको सफलतालाई निरन्तरता दियो।
नयाँ युवा टोलीका अलराउण्डर थिए, तन्नेरी नवीन न्यौपाने। उनी सहितको टोलीले चारपटक मनाङ-मर्स्याङ्दीलाई पुनः ए डिभिजनको उपाधि दिलाउँदै नेपालकै सबैभन्दा सफल क्लब बनायो। सँगसँगै पहिलो स्वर्णिम पुस्ताको उपाधि यात्रालाई पछाडि पारिदियो।
‘मणि दाईहरुको पुस्तालाई मनाङको पहिलो स्वर्णिम पुस्ता भनिन्छ’ मणि शाहको बर्हिगमनसँगै टोलीमा भित्रिएका नवीनले सम्झिए, ‘त्यसपछि मनाङलाई उचाईमा पुर्‍याउने कामको निरन्तरता हामीले दियौँ। ए डिभिजनकै उपाधि चारपटक जित्यौँ। बाहिरको कुनै प्रतियोगिता जित्न बाँकी थिएन।’
दुई दशक खेलाडी जीवन व्यतित गरेका न्यौपानेले ८ वर्ष (२००० देखि २००८) सम्म राष्ट्रिय टोलीबाट खेले। त्यसक्रममा उनले २००४ मा भएको दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ) मा नेपालको कप्तानी समेत गरे। दायाँ-बायाँ मिडफिल्ड, साइड डिफेन्स जहाँपनि खेल्न सक्ने उनी बहुप्रतिभाशाली अलराण्डर खेलाडी थिए।
सफल खेलाडी
नवीन न्यौपानेले मनाङबाट चारपटक ए डिभिजन लिगको उपाधि उचालेका छन्
नवीन न्यौपानेले मनाङबाट चारपटक ए डिभिजन लिगको उपाधि उचालेका छन्

नक्साल भगवती बहालमा जन्मिएका नवीनको बालापन घरनजिकै रहेको गौचरण मैदानमा फुटबललाई लात्ती हान्दै बित्यो। रमाइलोका लागि फुटबल खेल्थे उनी। तर सफल खेलाडी बन्छु भन्ने अनुमान उनी आफैले गरेका थिएनन्।
जनआन्दोलन (२०४६) पछि उनको परिवार विशालनगर सर्‍यो। त्यसबेलाको विशालनगरमा पुरै खुल्ला, जता फुटबल खेले पनि हुने। धोवीखोलाको खुल्ला किनार उनको ‘टोले फुटबल’ खेल्ने मैदान बन्यो। खैल्दै गर्दा राम्रो हुन थालेपछि अग्रज खेलाडीहरुले उनलाई आफ्नो टोलीबाट खेलाउन थाले। टोले प्रतियोगिता हुँदै विस्तारै उनले स्थानीय पञ्चकुमारी क्लबबाट खेल्न थाले।
अग्रज उदयशम्शेर राणाले नवीनलाई पहिलेदेखि राम्रो फुटबलको सम्भावना भएको खेलाडीका रुपमा देखेका रहेछन्। गौचरण मैदानमा यू-१६ टोलीको छनौट भइरहेको बताउँदै राणाले त्यसमा भाग लिन नवीनलाई सुझाव दिए। विराटजंग शाही प्रशिक्षक तथा छनौटकर्ता थिए। नवीनले मैदानमा आफ्नोे कला देखाउँदा विराटजंग शाहीले सम्भावनायुक्त खेलाडीका रुपमा नवीनको छनौट गरे।
त्यही घटना नवीनको जीवनको ‘टर्निङ प्वाइन्ट’ बन्यो।
‘त्यसबेला राष्ट्रव्यापी सानमिगल कप हुन्थ्यो,’ ५० को दशकको सुरुवाती वर्षको स्मरण गर्दै नवीनले भने, ‘जिल्लाव्यापी उक्त प्रतियोगिताका लागि म काठमाडौँबाट छनोट भएको थिएँ। टोलीमा सबैभन्दा फुच्चे म नै थिएँ। बाँकी खेलाडीहरुमा राजन रायमाझी, कुमार थापा, हरि खड्का जस्ता नाम चलेका खेलाडी थिए।’
प्रतियोगिता काठमाडौँले नै जित्यो, च्याम्पियन खेलाडी नवीनको भाग्यले कोल्टो पनि फेर्‍यो। प्रतियोगिता लगत्तै उनले ‘सी’,‘बी’ कुनैपनि लिग खेल्नुपरेन। नक्साल युवा मण्डलले उनलाई सिधै ए डिभिजन लिगका लागि अनुबन्ध गर्‍यो।
त्यसपछि भने नवीनको नामसँगै च्याम्पियन भन्ने ट्याग कहिल्यै छुटेन। ‘जनआन्दोलनपछि रोकिएको लिग २०५४ सालमा पहिलोपटक हुँदै थियो,’ उनले सम्झे, ‘आन्दोलनअघि लगातार तीनपटक उपाधि जितेको मनाङलाई दाबेदारी टोलीका रुपमा हेरिएको थियो। मणि दाईहरु करिअरको उत्तरार्धमा थिए। त्यही लिगमा हामीले मनाङलाई हराइदियौँ।’
मनाङ मस्र्याङ्दी जस्तो क्लवलाई हराएको टोलीले सबैको ध्यान खिच्नु स्वभाविक थियो। नवीनको प्रदर्शनको पनि चौतर्फी चर्चा भयो। त्यसैवर्ष मणि शाहहरुको ब्याचले बिदा लियो। त्यस स्थानमा मनाङले नवीनलाई क्लबमा अनुबन्ध गर्‍यो।
त्यसबेला नवीनले महिनाको १५ सय तलब पाएका थिए। अरु राम्रा खेलाडीले पाउने तलबपनि यसैको हाराहारीमा थियो। क्लबमा सर्बाधिक रकम बुझ्ने कुमार थापाको २५ सय तलब थियो।
नवीनले त्यसपछि २०७१ सम्म लगातार मनाङ मस्र्याङ्दीबाट खेले। यसबीच केही समय उनी एनआरटी क्लब र हिमालय शेर्पा क्लबसँग पनि आवद्ध भए। तर, पुनः मनाङ मस्र्याङ्दीबाट नै उनले खेलाडी जीवनको अन्त्य गरे। त्यसक्रममा उनी सहभागी मनाङ-मर्स्याङ्दी क्लबले २०५७, ०६०, ०६२ र ०७० गर्दै चारपटक ए डिभिजनको उपाधि उचालेर नेपालको सर्बाधिक सफल क्लब बन्यो।
‘जुन पेशा अगालिन्छ, त्यसमा आफू निरन्तर लाग्नुपर्छ। समर्पित भएर लाग्ने हो भने जुनसुकै क्षेत्रमा पनि सफलता हासिल गर्न सकिन्छ,’ दुई दशक सफल खेलाडी जीवन बिताएका नवीनले सफलताको मूलमन्त्र सुनाए, ‘मैले पनि यस २०५२ देखि ०७२ सम्म खेलेँ। यो २० वर्षे करिअरमा निरन्तर दत्तचित्त भएर लागेँ। फलस्वरुप देशको प्रतिनिधित्व गर्न पाएँ। यस्तो सौभाग्य कमैलैमात्र पाउँछन्।’
आर्मीलाई च्याम्पियन बनाउने जिम्मा
नवीन हाल त्रिभुवन अार्मी क्लबका प्रशिक्षक हुन्
नवीन हाल त्रिभुवन अार्मी क्लबका प्रशिक्षक हुन्

नवीनले खेलेको मनाङ-मर्स्याङ्दी क्लब अन्तिम पटक २०७० मा ए डिभिजन च्याम्पियन बनेको थियो। सोही लिगमा थ्रीस्टारविरुद्धको खेलमा दुव्र्यवहार गरेको भन्दै नवीनले रातो कार्ड त पाए नै, एन्फाबाट एकवर्षको प्रतिबन्ध पनि भोग्नुपर्‍यो।
यतिञ्जेलसम्म उनले खेलाडी जीवनमै कोचिङको सी र बी लाइसेन्स लिइसकेका थिए। मनाङ-मर्स्याङ्दी सो लिगको च्याम्पियन भएपनि एएफसी प्रेसिडेन्ट कप खेल्न मंगोलिया जानुपर्ने भयो।
एसियन फुटबल फेडेरेशन (एएफसी) ले उक्त प्रतियोगिताका लागि बी लाइसेन्स प्राप्त प्रशिक्षक अनिवार्य गरेको थियो। त्यसबेला मनाङका प्रशिक्षक अरुण श्रेष्ठसँग सी लाइसेन्समात्र थियो। त्यसैले, प्रतिबन्धमै रहेका बी लाइसेन्सयुक्त नवीनलाई क्लबले मंगोलिया पठाउने निर्णय गर्‍यो, एन्फाले पनि अनुमति दियो।
‘मलाई एकवर्षका लागि फुटबल गतिबिधिबाट प्रतिबन्ध लगाइसकेपछि एन्फाले प्रशिक्षकका रुपमा पनि जान नदिनुपर्ने हो,’ उनले भने, ‘त्यसबेला के राजनीति गरेर ममाथि एकवर्षे प्रतिबन्ध लगाइयो खै? पछि लगत्तै फेरि प्रशिक्षकका रुपमा जान दिइयो।’
पहिलोपटक नवीनको प्रशिक्षकत्वमा एएफसी प्रेसिडेन्ट कपमा मनाङले आयोजक मंगोलिया र कम्बोडियालाई पराजित गर्दै दोस्रो चरणमा स्थान बनायो। दोस्रो चरण श्रीलंकामा थियो, ओभरअल प्रदर्शन राम्रो भएपनि सफलताका लागि मनाङ-मर्स्याङ्दी सोचेजसरी अघि बढ्न सकेन।
लगत्तै नवीनले ए लाइसेन्स पनि लिए। त्यसबेला ए लाइसेन्स लिने नेपालका प्रशिक्षकहरुमा उपेन्द्रमानसिंह, हरि खड्का, बालगोपाल महर्जन, नवीन पहिलो ब्याचका थिए।
यसमा पनि सबैभन्दा कान्छो थिए, नवीन।
२०७२ सालमा त्रिभुवन आर्मी क्लबका तत्कालिन प्रशिक्षक मेघराज केसीले छाडे। क्लबले नवीनसँग सम्झौता गर्‍यो। त्यसयता उनले आर्मीलाई नेपालको सबैभन्दा सफल क्लबका रुपमा परिचित गराएका छन्।
२०७१ पछि ए डिभिजन लिग विविध कारणले हुन सकेन। यसबीच २०७२ मा एन्फाले राष्ट्रिय लिग आयोजना गर्‍यो। थ्री-स्टारले उपाधि उचालेको उक्त लिगमा त्रिभुवन आर्मी क्लब उपविजेता बनेको थियो।
तर, त्यसपछि भएका गोल्डकपमा भने आर्मी क्बबलाई कसैले पछ्याउन सकेन। २०७३ सालमा मात्रै आर्मी आफूले खेलेका मोफसलका ११ वटा गोल्डकपको फाइनलसम्म पुगेको थियो। त्यसमध्ये तीनपटक उपाधि उचाल्यो।
यस्तै, २०७४ मा आर्मीले देशका विभिन्न सात गोल्डकपको उपाधि उचाल्यो। गोल्डकपमा आर्मी सबैभन्दा सफल टोली रह्यो।
१३ असोजबाट ए डिभिजन लिग पुनः सुरु भएको छ। र, यसपटक मोफसलका गोल्डकपमा प्रभावशाली प्रदर्शन गरेको आर्मीलाई लिगको उपाधि दिलाउने चुनौती नवीनका काँधमा छ।
‘गोल्डकप प्रतियोगिताले खासमा टोलीको स्तर देखाउने होइन, कुन टोली कस्तो छ भन्ने छुट्ट्याउने लिगले हो’ नवीनले भने, ‘केही समयको विश्रामपछि लिग सुरु भएको छ। यसपटक हामी उपाधि रक्षा गर्ने लक्ष्यसहित मैदान उत्रनेछौँ। साथै, आफ्नो स्तर देखाउने चुनौतीपनि हामीसँग छ।’
राम्रो परिणाम दिन व्यवस्थापक, खेलाडी र प्रशिक्षकबीच सम्बन्ध राम्रो हुनु पर्नेमा उनले जोड दिए। ‘तर यही कुराको अभाव नेपालमा खड्किएको छ’ उनले आफ्नो अनुभव सुनाए।
राष्ट्रिय टोली हेर्ने लक्ष्य
नेपालबाट प्रशिक्षकको ए लाइसेन्स प्राप्त गर्ने नवीन कान्छो उमेरका प्रशिक्षक हुन्
नेपालबाट प्रशिक्षकको ए लाइसेन्स प्राप्त गर्ने नवीन कान्छो उमेरका प्रशिक्षक हुन्

नवीनलाई यसअघि पनि एन्फाले उमेर समूहको राष्ट्रिय टोलीलाई नेतृत्व गर्न प्रस्ताव गरेको थियो। तर, क्लबसँग राम्रो सम्बन्ध भएको तथा आर्मी क्लबको टोलीको जिम्मेवारीमा रहेकाले तत्काल नवीनले उमेर समूहको टोलीको जिम्मेवारी लिन रुचि देखाएनन्।
‘एन्फाले कति समयका लागि प्रशिक्षकको जिम्मेवारी दिने हो, सुनिश्चित हुँदैन, दिएपछि एउटा टोली कम्तिमा दुई तीनवर्षका लागि दिनुपर्‍यो’ उनले भने, ‘नत्र आज जिम्मेवारी दियो, भोलि निकालिदेला, त्यसो हुँदा यता क्लबपनि छोड्नुपर्छ, उता उमेर समूहको टोलीपनि नहुँदा बेरोजगार बस्नुपर्छ। क्लब छाडेर जाँदा उनीहरुसँगको सम्बन्धमा पनि असर पर्छ।’
अहिले क्लबलाई एक स्थानसम्म पुर्‍याएर थप परिपक्वता हासिल गरेपछि उमेर समूह हुँदै राष्ट्रिय टोलीको जिम्मेवारी लिने आफ्नो लक्ष्य रहेको उनले सुनाए। ‘सुरुमा यू-१६, यू-१८ टोली हेर्ने लक्ष्य छ,’ उनले भने, ‘उमेर समूहका टोलीलाई राम्रो रिजल्ट दिएपछि टोली हाँक्ने योजना छ। राष्ट्रिय टोलीमा राम्रो प्रशिक्षक आए सहायक भएर पनि जान तयार छु।’
फुटबलमा दीर्घकालिन योजना
कुनैपनि मुलुकको फुटबल विकासको मेरुदण्ड मानिने लिग प्रतियोगिताले निरन्तरता नपाउँदा नेपालको फुटबलले फड्को मार्न नसकेको बताउँछन् नवीन। उनको भनाईमा, पछिल्लो बीस वर्षमा नेपाली फुटबल जहाँको त्यही हुनुमा लिगमा देखिएको उतार चढाव नै प्रमुख कारण हो।
फुटबलमा नियमित रुपमा लिग प्रतियोगिता नहुदा खेलप्रतिको क्रेजपनि घटेको पनि उनी बताउँछन्। ‘पछिल्लो बीस वर्षमा हामीले निकै फड्को मार्नुपर्ने हो, तर, एकपटक लिग सुरु भएपछि पुनः बन्द भयो’ उनले सुनाए, ‘सुरु के भएको थियो, फेरि बन्द भयो। पहिले दर्शकले भरिभराउ हुने रंगशालापनि यसैकारण खाली हुँदै गए।’
‘नेपाल पोटिन्सियल भएका खेलाडीहरुले भरिएको देश हो। खेलाडीहरु दालभात, तरकारी खाएर पनि गज्जब खेलिरहेका हुन्छन्,’ उनले भने, ‘दर्शकहरु प्रिमियर लिग, ला लिगा जस्ता प्रतियोगिताको स्वाद चाहन्छन्’ नवीनले थपे, ‘नेपाली फुटबल कसरी चलिरहेको छ भन्ने कुरा दर्शकलाई थाहा नहुँदा उनीहरुको अपेक्षा अनुसारको खेल प्रदर्शन हुन सकेको छैन। रंगशालामा दर्शक संख्यामा कमी आउनुको एउटा कारण यो पनि हुनसक्छ।’
२०४८ जनआन्दोलनपछि स्थगित लिग २०५४-५५ सालमा बल्ल सुरु भयो। त्यसपछि पुनः २०५७-५८, २०६३, अनि २०७० पछि पुनः स्थगित भयो।
लिगमा देखिएको उतारचढावले क्लबहरुलाई समेत धरासायी बनाएको उदाहरण उनले प्रस्तुत गरे। २०६३ मा न्यूरोड टिम (एनआरटी) ले त्यसबेलाका चर्चित खेलाडीहरु अनिल गुरुङ, सागर थापा तथा नवीनलाई लिग जित्ने उदेश्यसहित ठूलो रकममा अनुबन्ध गरेको थियो। तर, विडम्बना, लिग नै भएन। तीनवर्षसम्म पनि लिग नहुँदा खेलाडीलाई क्लबले त्यतिकै ठूलो रकम तिर्नुपर्‍यो, क्लब टाट पल्टियो।
त्यसबेलासम्म लिग व्यवसायिक मार्गमा पनि अघि बढेका थिए। क्लबहरुले खेलाडीलाई मासिक न्यूनतम ६०-७० हजारसम्म तलब दिन्थे। तर, पुनः लिग रोकिएपछि सबैकुरा ध्वस्त हुन पुगे। त्यसबेलाका खेलाडी र अहिलेका खेलाडीमा व्यवसायिकतामा समेत फरक रहेको उनको बुझाई छ।
‘पहिलेका खेलाडीहरु जुन क्लबबाट खेल्यो, त्यसमा शतप्रतिशत समय दिनुपर्छ भनेर खेल्थे। एउटा संस्थामा अनुबन्ध भएपछि शतप्रतिशत समय त्यहीँ दिनुपर्छ भन्ने मेरो मान्यता हो’ उनले भने, ‘अहिले खेलाडीको संख्या कम छ। त्यसैले, आफूबाहेकको बिकल्प छैन भन्ने सोच्छन्। त्यसकारण अनुबन्धित भएको क्लबलाई शतप्रतिशत समय दिएको देखिदैँन।’
नेपाली फुटबलको विकासका लागि दीर्घकालिन योजना बनाउन उनले सुझाव दिए। ‘हालसालै हामी जापान गएका थियौँ। जापानले २०५० सम्म विश्वकप उचाल्ने लक्ष्यसहित ‘ड्रीम-२०५०’ दीर्घकालिन योजना सार्वजनिक गरेको रहेछ’ उनले भने, ‘जापानमा जताततै ‘ड्रीम-२०५०’ मात्र लेखेको देखिन्छ। उनीहरु यूरोपिनहरुलाई कसरी पछार्ने भनेर आजैदेखि योजना बनाउन थालिसके। हामीसँग भने दक्षिण एसियामा एक नम्बर कसरी बन्ने भन्नेसमेत योजना छैन।’
फुटबलको विकासका लागि ‘ग्रास रुट’ देखि नै जग बसाउनुपर्ने सुझाव दिँदै नवीन भन्छन्, ‘एन्फाले हालैमात्र ग्रासरुट कार्यक्रम सुरु गरेको छ। यो राम्रो हो। तर त्यसको कार्यान्वयनलाई प्रभावकारी बनाउन तर्फ लाग्नुपर्छ।

    No comments:

    Post a Comment