Thursday 20 February 2020

रोहित चन्द अर्थात् नेपाल चिनाउने अर्को अन्तर्राष्ट्रिय ब्रान्ड


यज्ञराज जोशी। रोहित चन्द अहिलेको नेपाली फुटबलका सुपरस्टार हुन्। राष्ट्रिय टोलीमा पहिलो रोजाईका यी २७ वर्षिया मिडफिल्डर केही वर्षदेखि फुटबलमार्फत विदेशमा नेपाली झण्डा फहराउने अभियानमा ब्यस्त छन्।
अघिल्लो सिजनमा इन्डोनेसियन लिगको सर्वोत्कृष्ट खेलाडी बन्दा रोहितले हजारौं दर्शकअघि नेपाली झण्डा समातेर अवार्ड ग्रहण गरेका थिए। एसियामा इन्डोनेसियन लिग उपल्लोस्तरको प्रतियोगितामा गनिन्छ। जहाँ विश्व फुटबलमा दबदबा रहने यूरोपका खेलाडीहरु पनि आएर खेल्ने गर्नाले त्यो पुष्टि गर्छ।
अघिल्लो सिजनमा रोहितकै उत्कृष्ट प्रदर्शनको मद्दतमा उनको क्लब पर्सिजा जाकार्तालाई लिग च्याम्पियन बनेको थियो। रोहितको प्रदर्शनले त्यसअघि देखिनै इन्डोनेसियामा उनी लोकप्रिय बनिसकेका थिए। रोहित त्यहाँ कति लोकप्रिय छन् भन्ने अनुभव इन्डोनेसियामा पुग्ने जो कोही नेपालीले सहजै गर्न सक्छन्।
अघिल्लो वर्ष इन्डोनेसियामा नै एसियन गेम्स भएको थियो। त्यसको समाचार संकलनमा पुगेका नेपाली खेल पत्रकारहरु रोहितको लोकप्रियताको साक्षी बने।
‘रोहितलाई त्यहाँका प्रायः सर्वसाधारण, ट्याक्सी ड्राइभर, प्रहरी जो कोहीले पनि चिन्थे। उनलाई देख्दा सेल्फी लिनेको भिड लाग्थ्यो,’ इन्डोनेसियाको अनुभव सुनाउँदै नेपाल खेलकुद पत्रकार मञ्चका पूर्वअध्यक्ष अजय फुयाल भन्छन्, ‘जकार्ताको सडकमा गौतम बुद्ध र सगरमाथाजस्तै नेपाल चिनाउँने सुपरस्टारका रुपमा रोहित चन्द बनेका थिए।’
आर्सनल नेपालका अध्यक्ष नवीन चित्रकार रोहितको खेल हेर्न दुई वर्षअघि इन्डोनेसिया पुगेका थिएआर्सनल नेपालका अध्यक्ष नवीन चित्रकार रोहितको खेल हेर्न दुई वर्षअघि इन्डोनेसिया पुगेका थिए
त्यस्तै अनुभव छ, आर्सनल नेपालका अध्यक्ष नवीन चित्रकारको। दुईवर्षअघि उनी पनि इन्डोनेसिया घुम्न जादा त्यहाँ रोहितको लोकप्रियताले नतमस्तक बने।
त्यहाँको अनुभव नेपालखबरलाई सुनाउँदै उनी भन्छन्, ‘एयरपोर्टको अध्यागमन देखि लिएर ट्याक्सी ड्राइभर समेतले रोहितलाई एकदम राम्ररी चिन्ने रहेछन्। नाम नचिन्नेहरुले जर्सी नम्बर ३२ भनेपछि उनको हाउभाउ बताइहाल्थे। लामो कपाल भएको, हल्का दाह्री भएको। खेल हुँदा स्टेडियम उनको नामले गुञ्जयमान। खेल सकिएपछि बल ब्वायहरु उनीसँग सेल्फी खिच्न दौडिने। उनको त्यो लोकप्रियता देखेर हामी आफै गदगद् भएका थियौं।’
पछिल्लो विश्वकपमा लुका मोड्रिचको टोलीले क्रोयसियालाई फाइनलमा पुर्याउँदा उनको देश विश्वको हटकेक बनेको थियो। क्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सी त्यस्तै खेलाडी हुन्, जसको नामले देशको पहिचान कति उँचो बनाउन सक्छन् भन्ने उदाहरण दिन्छन्। त्यही अभियान छन्, रोहित। त्यसमा उनी केही सफल पनि देखिए। त्यसैले त इन्डोनेसियामा रोहित चन्द भनेपछि सँगै जोडिएर आउछ, नेपाल।
‘मेरो फुटबल करिअरमै मैले सबैभन्दा धेरै मायाँ गर्ने समर्थक इन्डोनेसियामा पाए,’ बिहीबारमात्रै विश्वकप छनोटका खेलहरु खेल्न नेपाल आइपुगेका रोहितले नेपालखबरसँग कुरा गर्दै भने, ‘उनीहरुले मलाई पछ्याउनुको अर्थ पक्कैपनि मेरो देशका बारेमा केही न केही सुनेका, जानेका छन् होला नि।’
यस मुकामसम्म रोहित त्यसै पुगेका हैनन्। उनले निरन्तर खेलमा सुधार ल्याउँदै आफूलाई सुपरस्टार बनाए। राष्ट्रिय टिमबाट सन् २०१० यता उत्कृष्ट प्रदर्शन गर्दै आएका उनी पहिलो पटकमै ए डिभिजन लिगको सर्वोत्कृष्ट रक्षक बनेका थिए।
अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीका उत्पादन रोहितले २००९ मा पहिलो व्यवसायिक लिगका रुपमा मछिन्द्र क्लबबाट सहिद स्मारक ए डिभिजन लिग खेले। १९ वर्षे रोहितले सोही सिजनमा सनसनीपूर्ण प्रदर्शन गर्दै उत्कृष्ट रक्षकको अवार्ड हात पारे।
रोहित अघिल्लो सिजनमा इन्डोनेसियन लिगका सर्वोत्कृष्ट खेलाडी हुन्रोहित अघिल्लो सिजनमा इन्डोनेसियन लिगका सर्वोत्कृष्ट खेलाडी हुन्
लगत्तै २०१० मा भारतीय आई लिगको टोली हल एससीले उनलाई अनुबन्धित गर्‍यो। त्यहाँ दुई सिजन बिताएपछि २०१२ मा रोहित इन्डोनेसियाका पिएसपिएस पेकान्बारुमा अनुबन्धित भए। पिएसपिएससँग पनि एक सिजन बिताएपछि उनी २०१३ मा पहिलोपटक पर्सिजासँग अनुबन्ध भएका हुन्।
यहीबीच २०१६ मा मलेसियामा व्यवसायिक उडान भरेका रोहितले त्यहाँ टी टिम क्लबबाट पनि एक सिजन खेले। लगत्तै खुट्टाको शल्यक्रिया भयो। स्वास्थ्यलाभ पछि पुनः पर्सिजासँग अनुबन्धित भएका रोहितले शशक्त पूनरागमन गर्दै लिगको सर्वोत्कृष्ट खेलाडीको अवार्ड हात पारे।
लिगको सवोत्कृष्ट खेलाडी भएपछि रोहितलाई अन्य थुप्रै क्लबहरुबाट पनि अफर आयो। तर रोहितलाई कुनै अफर चित्त बुझेन। अर्कोतिर एसियाली क्लब फुटबलको दोस्रो ठूलो प्रतियोगिता एएफसी कप खेल्न पाउने भएपछि यसपटक पनि रोहितले जकार्तामै बसे। एएफसी कपको फाइनल चरण खेल्ने उनी एक्लो नेपाली खेलाडी समेत हुन्।
क्लब खराब लयमा, रोहित लय उस्तै
साविकको विजेता पर्सिर्जाले यसपटक उपाधि रक्षा गर्ने लक्ष्य राखेको थियो। तर १३ खेल खेलिसक्दा पर्सिजा १५औं स्थानमा छ। जुन १८ क्लब सहभागी लिगमा रेलिगेसन क्षेत्रभन्दा १ अंकमात्रै माथि हो।
पर्सिजाले २ जित, ८ बराबर र ३ खेलमा हारको नतिजा बेहोरेको छ। यसपटक खराब प्रदर्शनको कारण पहिलो रोजाईका खेलाडीहरु घाइते हुनु रहेको उनी बताउँछन्।
‘पहिलो रोजाइका मुख्य डिफेन्डरहरु नै घाइते भए। त्यसैले टिममा समस्या देखियो,’ रोहितले भने, इन्डोनेसियन लिगमा सबै टोली बराबरका छन्। त्यहाँ पुछारको टोलीले पनि माथिल्लो टोलीलाई पराजित गर्ने क्षमता राख्छ।’
साविकको टोलीभन्दा यसपटक ४–५ जना खेलाडीहरु फेरिएको र उनीहरु बल्ल टोलीमा फर्कने प्रयासमा रहेको उनी बताउँछन्। विश्वकप छनोट अन्तर्गत कुवेत र चाइनिज ताइपेविरुद्धको खेलका लागि नेपाल आएका रोहित ताइपेसँगको भदौ २४ गतेको खेलसँगै उतैबाट इन्डोनेसिया प्रस्थान गर्ने सोचमा छन्।
यो सिजनमा भने रोहितको क्लब खराब लयबाट गुज्रिरहेको छयो सिजनमा भने रोहितको क्लब खराब लयबाट गुज्रिरहेको छ
‘मुख्य खेलाडी घाइते हुनाले यसपटक ममाथि निकै दबाब छ। बाँकी खेलमा टोलीको स्थान सुधार्नुपर्ने भएकाले पनि चाँडै फर्कनुपर्ने अवस्था छ,’ रोहितले भने।
क्लब खराब लयबाट गुज्रिरहेपनि रोहितको प्रभाव भने अघिल्लो सिजनभन्दा कम छैन। त्यसैले आफूले खेलेका हरेक खेलमा उनले पूरै ९० मिनेट मैदानमा विताएका छन्। गत अगष्ट २० तारिखमा काल्टेङ पुत्रालाई ३–० ले पराजित गर्दा रोहित म्यान अफ द म्याच चुनिएका थिए।
‘यो पटक क्लबका रुपमा त सोचेको जस्तो खेल्न सकिरहेका छैनौं,’ रोहितले भन्छन्, ‘व्यक्तिगत प्रदर्शन राम्रै भइरहेको छ। मैले शतप्रतिशत मिहिनेत गरेर टिमलाई सहयोग गरिरहेको छु। मेरो प्रदर्शनबाट प्रशिक्षकहरू खुसी भएरै होला पूरा ९० मिनेटनै मैदानमा विताउँदै आएको छु।’
विश्वकप छनोटः सकरात्मक नतिजाको अपेक्षा
यतिबेला नेपाल कतारमा २०२२ मा हुने फिफा विश्वकपको एसिया छनोट खेल्न तम्तयार छ। फिफा वरियतामा एसियाको शीर्ष ३४ भित्र परेपछि नेपालले यसपटक एसिया छनोटको दोस्रो चरणमा स्थान बनाएको थियो।
दोस्रो चरणमा एसियाका ४० राष्ट्रले सहभागिता जनाउँदैछन्। जसलाई ८ समूहमा बाडिएको छ। समूहको शीर्ष स्थानमा रहने ८ टोली र उत्कृष्ट ४ समूहका उपविजेताहरु एसिया छनोटको अन्तिम चरणमा प्रवेश गर्ने प्रावधान छ।
नेपाल समूह बीमा छ। नेपालको समूहमा एसियाको पावर हाउस अष्ट्रेलिया, जोर्डनसहित कुवेत र चाइनिज ताईपे छन्।
राष्ट्रिय टोलीबाट रोहितले ५८ क्याप जितिसकेँराष्ट्रिय टोलीबाट रोहितले ५८ क्याप जितिसकेँ
नेपालले भदौ १९ गते कुवेत र भदौ २४ गते चाइनिज ताईपेविरुद्ध सुरुवाति दुई अवे खेलहरु खेल्दैछ। त्यसका लागि आइतबार बिहानै नेपाली टोली कुवेत प्रस्थान गरिसकेको छ।
कुवेत र चाइनिज ताईपेविरुद्ध प्रशिक्षक योहान कालिनले घोषणा गरेको टिमका सबैभन्दा अनुभवी खेलाडी हुन्, गोलरक्षक चिरण चेञ्जोङ। नियमित कप्तान विराज महर्जन टोलीमा नपरेपछि किरणले नै नेपाली टोलीको नेतृत्व गर्दैछन्।
टोलीमा किरणपछिका अनुभवी खेलाडी यिनै रोहित हुन्, जसले सन् २००९ मार्च २६ मा एएफसी च्यालेञ्ज कपको छनोटमा प्यालेस्टाइनविरुद्ध राष्ट्रिय टोलीमा डेब्यू गरेयता उनले ५८ क्याप जितिसके।
अनुभवी खेलाडी र विदेशी व्यवसायिक लिगको अनुभव पनि भएकाले नेपाली टोली र नेपालले विश्वकप छनोटमा रोहितबाट बढी अपेक्षा राख्नु स्वभाविक हो। त्यो उनले पनि बुझेका छन्। भन्छन्, ‘मैदानमा उत्रेपछि सबै खेलाडीलाई उनीहरुको जिम्मेदारी दिएर पठाइएको हुन्छ। त्यो सबैले निभाउँनैपर्छ। हामी खेलाडी भएकाले टिममा अलि जिम्मेवारी बढी नै हुन्छ। हामीले खोल्नुसँगै टिमलाई सँगै लिएर जानुपर्छ। सबैलाई मोटिभेट पनि गर्न सक्नुपर्छ।’
विश्वकप छनोटमा नेपालले सकरात्मक नतिजा निकाल्ने रोहितको विश्वास छविश्वकप छनोटमा नेपालले सकरात्मक नतिजा निकाल्ने रोहितको विश्वास छ
नेपालले गत मार्चमा कुवेतविरुद्ध मैत्रीपूर्ण खेल खेलेको थियो। जसमा १९८२ मा विश्वकप खेलिसकेको कुवेतसँग नेपाल १–० ले पराजित रह्यो। यस्तै जुनमा नेपालले चाइनिज ताइपेविरुद्धको मैत्रीपूर्ण खेलमा उसलाई १–१ को बराबरीमा रोकेका थियो।
फिफा वरियतामा कुवेत अहिले नेपालभन्दा १० र चाइनिज ताइपे ४१ स्थान माथि छ। अघिल्ला मैत्रीपूर्ण खेलमा दुबै टोलीविरुद्ध पूरै ९० मिनेट मैदानमा रोहित सकरात्मक नतिजा आउनेमा आशावादी छन्।
‘दुबै टोलीसँग हामीले मैत्रीपूर्ण म्याच खेलिसक्यौं। उनीहरुलाई हाम्रो बारेमा थाहा छ। हाम्रो बारेमा पनि उनीहरुलाई थाहा छ,’ रोहित भन्छन्, ‘उनीहरुविरुद्ध कसरी खेल्ने भनेर प्रशिक्षकले रणनीति बनाएका छन्। त्यही अनुसार खेल्दा सकरात्मक नतिजाको आशामा छौं।’
पाँच पटक विश्वकपमा सहभागिता जनाइसकेको अष्ट्रेलिया र विश्वकप छनोटको अन्तिम चरणसम्मको यात्रा तय गरिसकेको जोर्डन समूह बीका पावर हाउस टोली हुन्। एसियाली फुटबलका पावर हाउस यी टोलीबीच समूह बीमा सबैभन्दा ठूलो भिडन्त हुनेछ।
नेपालले उनीहरुविरुद्ध खेल्दा के अपेक्षा गर्ने त? रोहित भन्छन्, ‘अष्ट्रेलिया र जोर्डन भएकाले नै यो समूह हाम्रा लागि अन्त्यन्तै कठिन समूह हो। ठूला राष्ट्रहरुसँग खेल्ने अवसर पाउनु नै हाम्रो उपलब्धि हो। उनीहरुसँग कसरी खेल्नुपर्छ अनि हामी कुन लेभलमा छौं भन्ने स्तर नाप्नेमात्रै हो।’
अष्ट्रेलियासँग नेपाल पहिलोपटक फुटबलमा भिड्न लागेको हो। फिफा वरियतामा अष्ट्रेलिया नेपालभन्दा १२० स्थान माथि छ।
रोहित चन्दरोहित चन्द
‘उनीहरुको लेभल नै धेरैमाथि छ। उनीहरुले धेरै अगाडीदेखि नै फुटबल विकास गर्दै आएका छन्। नेपालमा भने भर्खरै फुटबलको ग्रासरुट लेभल सुरु भएको छ। उनीहरुविरुद्ध सकभर आफ्नो शतप्रतिशत दिएर राम्रो खेल्न सक्छौं भन्ने छ,’ रोहितले टुंग्याए।

No comments:

Post a Comment