Friday 21 February 2020

जसको ब्याट र बलले जवाफ दिन्छ

यो सामाग्री नेपालखबर डटकममा 2018-12-26 11:12:43 मा प्रकाशित भएको छ। 

यज्ञराज जोशी । नेपाली राष्ट्रिय क्रिकेट टोलीमा निकै कम बोल्ने लजालु स्वभावका खेलाडी हुन्, दीपेन्द्रसिंह ऐरी। सञ्चारकर्मीलाई पनि उनी निकै कम शब्दमा जवाफ दिन्छन्।

तर मैदानभित्र उनको प्रदर्शनले भने जहिल्यै लामो कथा लेख्न बाध्य बनाउँछ।
शनिबार मात्रै सम्पन्न देशकै ‘बिगेस्ट’ भनिएको घरेलु क्रिकेट प्रतियोगिता एभरेस्ट प्रिमियर लिग(इपिएल)मा दीपेन्द्रको प्रदर्शन त्यसकै अर्को उदाहरण हो।
यसपटक टेस्ट राष्ट्रसँगै एसोसियटका उत्कृष्ट विदेशी खेलाडीहरूको सहभागिता र दर्शकको उल्लेख्य उपस्थितिका कारण आयोजकले प्रतियोगितालाई ‘बिगेस्ट’ भन्दै दाबी गरेको थियो। 
विराटनगर वारियर्स टोलीका कप्तान पारस खड्काले प्रतियोगिताको अन्त्यमा पत्रकार सम्मेलनमार्फत ‘अफ द फिल्ड’का कुराहरूमा असन्तुष्टि जनाए पनि प्रतियोगिता देशकै ‘बिगेस्ट’ भएकामा दुई मत नभएको बताउँदै आयोजकको दाबीलाई बल पु¥याएका थिए।
त्यही देशकै ‘बिगेस्ट’ प्रतियोगितामा राष्ट्रिय टोलीका कप्तान समेत रहेका पारसदेखि अनुभवी खेलाडीसम्मको प्रदर्शन भने एकदमै फितलो रह्यो। कप्तान पारसले पाँच खेल खेल्दा जम्मा ५० रन मात्रै जोड्न सक्दा साविकको विजेता विराटनगर समूह चरणबाटै बाहिरियो।
‘प्रतियोगिता खेलाडीका लागि ठूलो प्लेटफर्म थियो। राम्रो खेलाडीहरू आएका थिए। संसारले हेरिरहेको थियो,’ पारसले भने, ‘तर, हामी (विराटनगर)ले निकै खराब खेल्यौं। मैले पनि पाँच खेलमा ५० रन मात्रै हान्न सके भने अरूबाट टिममा के आशा गर्न सक्छु। तर अर्कोपटक भने मैले व्यक्तिगत र टिमको प्रदर्शन सुधार हुने विश्वास लिएको छु।’
प्रतियोगितामा पारस मात्रै हैन, विदेशी खेलाडीसामु सम्पूर्ण अनुभवी नेपाली खेलाडी फ्लप भए। सिनियर खेलाडीहरू शरद भेषावकर(११२ रन), ज्ञानेन्द्र मल्ल(८७ रन), विनोद भण्डारी(८६ रन)को प्रदर्शन पनि सम्झन लायक रहेन।
प्रतियोगितामा सर्वाधिक स्कोर बनाउने शीर्ष नौ खेलाडीभित्र एक जना मात्रै नेपाली खेलाडी थिए। ती अरू कोही नभएर १८ वर्षे दीपेन्द्र थिए। प्रतियोगितामा सर्वाधिक स्कोर गरेका भैरहवा ग्लाडियटर्सका भारतीय खेलाडी रविइन्दर सिंह(३३७ रन) म्यान अफ द सिरिज चुनिएका थिए।
रविइन्दरलाई टक्कर दिने एक मात्रै नेपाली खेलाडी दीपेन्द्र बने। रविइन्दर(८ खेल) भन्दा दुई खेल कम खेलेका दीपेन्द्रले २ सय ३१ रन जोडे। जसमा दुई अर्धशतक समेत सामेल थिए। सर्वाधिक स्कोर गर्ने शीर्ष नौमा दीपेन्द्रपछि टेस्ट र एसोसियट राष्ट्रका खेलाडी मात्रै रहे।
इपिएल मात्रै होइन, गत कात्तिकमा भएको पोखरा प्रिमियर लिगमा पनि दीपेन्द्रको ब्याट र बल मैदानमा उत्तिकै बोलेका थिए। पोखरामा पनि उनी सर्वाधिक स्कोर बनाउने शीर्ष पाँच खेलाडीमा एक्लो नेपाली खेलाडीका रूपमा पर्न सफल भएका थिए।
उक्त प्रतियोगितामा सर्वाधिक स्कोरर पोखरा पल्टनका रविइन्दर सिंह(२६०)थिए। उनीसँगै गौरव तमोर, मोहम्मद जियाद आलम, सन्नी पटेलसँगै समूह चरणबाटै बाहिरिएका एक्स्पर्ट धनगढी ब्लुजका दीपेन्द्रसिंह ऐरीले पाँच इनिङ्सबाट १ सय ८९ रन जोडेका थिए भने चार विकेट लिएका थिए।
पोखरामा उनीपछि सर्वाधिक रन बनाउने नेपाली खेलाडीमा सातौं नम्बरमा मात्रै हरिशंकर शाह थिए। जसले १ सय ५१ रन बनाएका थिए भने शीर्ष १० स्कोररमध्ये आठौं नम्बरमा फाइनलसम्म खेलेका चितवनका कप्तान पारस खड्का(१ सय ४७) थिए।
‘टिमलाई के को आवश्यकता छ, म त्यो कुरा ध्यानमा राखेर क्रिजमा ओर्लिन्छु,’ दीपेन्द्रले आफू मैदान छिर्नुअघि दिमाग खेलाउने बताउँदै सुनाउँछन्, ‘यदि टिम राम्रो स्थितिमा छ भने म ठूला सटहरू खेल्छु भने टिमको विकेट गइरहेको छ भने विस्तारै टिमलाई एक/दुई खेल्दै अघि बढाउँछु।’
पारसको स्थानमा राष्ट्रिय टोलीमा
विकेट लिएपछि दीपेन्द्र एेरी
विकेट लिएपछि दीपेन्द्र एेरी

दीपेन्द्रले सुझबुझपूर्ण इनिङ्स आफ्नो डेब्यूका क्रममै देखाएका थिए। यू-१९ टोलीमा लगातार उत्कृष्ट प्रदर्शनपछि २०७३ फागुनमा घरेलु मैदानमा भएको विश्व क्रिकेट लिग च्याम्पियनसिपमा केन्याविरुद्ध खेलमा दीपेन्द्रको राष्ट्रिय टोलीबाट डेब्यू भएको थियो।
कप्तान पारस खड्का अस्वस्थताका कारण केन्याविरुद्धका दुवै खेल नखेल्ने भएपछि दीपेन्द्रको राष्ट्रिय टोलीमा ढोका खुलेको थियो। जसलाई उनले यसरी सदूपयोग गरे कि त्यसपछि राष्ट्रिय टोलीमा उनको ढोका कहिल्यै बन्द भएको छैन।
आठ राष्ट्र सहभागी च्याम्पियनसिपको शीर्ष चारमा रहने सके सोझै विश्वकप छनोट खेल्दै एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउने ढोका खुल्थ्यो। त्रिवि मैदानमा लगातार वर्षाले प्रभावित पहिलो खेलमा डकविथ लुइसका आधारमा केन्यासँग नेपाल पाँच विकेटले पराजित हुन पुग्यो।
उक्त खेलमा नेपाली ब्याटिङ पनि चिप्लियो। कप्तान ज्ञोनेन्द्र मल्ल(२७ रन) नेपालबाट सर्वाधिक स्कोर बनाउने खेलाडी थिए भने डेब्यू खेलमा दीपेन्द्र १९ रनसहित दोस्रो दोस्रो उच्च स्कोर गर्ने खेलाडी रहे।
पहिलो खेलमा केन्याविरुद्ध हारेपछि दोस्रो खेलमा भने नेपाललाई शीर्ष चारभित्र अटाउन जित्नैपर्ने स्थिति बन्यो। त्यसका लागि सुझबुझपूर्ण इनिङ्स खेल्नु थियो। कप्तान ज्ञानेन्द्रसँग मिलेर दीपेन्द्रले त्यस्तै पारी खेले।
दीपेन्द्रसिंह ऐरी
दीपेन्द्रसिंह ऐरी
दीपेन्द्र(६२) र ज्ञानेन्द्र(६४)बीच १ सय ११ रनको साझेदारी चलेपछि नेपालले सहजै खेल जित्दै आगामी सम्भावना जीवित राखेको थियो। दोस्रो खेलबाटै राष्ट्रिय टोलीबाट आकर्षक सटहरू पस्केपछि दीपेन्द्रलाई त्यसबेला नयाँ स्टारको संज्ञा दिइएको थियो।
केन्याका पेस बलरका सामु दीपेन्द्रले निर्धक्क भएर खेलेको देखेपछि राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटाले उनलाई नेपाली टोलीको भविष्य भन्दै तारिफ गरेका थिए। ‘स्किलका हिसाबले दीपेन्द्र निकै प्रतिभावान छन्,’ टमटा भन्छन्, ‘उनको एट्याकिङ खेल र अलराउन्ड प्रदर्शन सशक्त छ। उनी नेपाली टोलीको सुन्दर भविष्य हुन्।’
च्याम्पियन्ससिप पछि राष्ट्रिय टोलीबाट एसिसी इमर्जिङ टिम्स कप खेलेका दीपेन्द्रले तीन खेलमध्ये बंगलादेश यू–२३ विरुद्ध ५६ र हङकङविरुद्ध ६० रनको अर्धशतकीय पारी खेल्दै आफ्नो उपस्थिति दरिलो बनाउँदै लगे।
त्यसपछि गत फ्रेब्रुअरीमा नेपालले खेलेको डिभिजन २ मा भने दीपेन्द्रको ब्याट त्यति चलेन। ६ खेलमध्ये फाइनलमा उनले यूएईविरुद्ध प्रहार गरेको ३५ रननै उनको सर्वाधिक स्कोर रह्यो। तर पनि नेपाल डिभिजन २ बाट एक दिवसीय छनोटमा पुग्न सफल रह्यो।
एक दिवसीय मान्यता दिलाउँदाका फ्रन्टम्यान
दीपेन्द्रसिंह एेरी
दीपेन्द्रसिंह एेरी

गत मार्चमा नेपालले एकदिवसीय विश्वकप छनोटमा पपुवा न्यूगिनीलाई पराजित गर्दै ऐतिहासिक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो।
सोही खेलको प्लेअफमा नेपालले पपूवा न्यूगिनीलाई ६ विकेटले स्तब्ध पर्दा दीपेन्द्रको भुमिका फ्रन्टम्यानमा रह्यो। जसमा दीपेन्द्रले म्यान अफ द म्याच इनिङ्स ५० रनको अर्धशतकीय पारी खेल्नुका साथै ४ विकेट लिएका थिए।
दीपेन्द्रको उत्कृष्ट प्रदर्शनको मद्दतमा नेपालले पपुवा न्यूगिनीलाई पराजित गरेको केहीबेरमा अर्को प्लेअफमा नेदरल्याण्डले हङकङलाई पराजित गरेसँगै नेपालले पहिलो ऐतिहासिक एकदिवसीय मान्यता पाएको थियो।
विश्वकप छनोटमा नेपालका तर्फबाट सर्बाधिक स्कोरर कप्तान पारस खड्का(२३१ रन) थिए। दोस्रोमा दीपेन्द्र(१४३ रन) रहे। जसमा उनको एक अर्धशतक सामेल थियो। बलिङमा भने दीपेन्द्रले पारसलाई उछिनेका थिए।
समान १८ ओभर बलिङ गरेका पारसले कुनै विकेट पाएका थिएनन् भने दीपेन्द्रले ७ विकेट लिएका थिए। उनी नेपालबाट सर्वाधिक विकेट लिने सुचीमा सन्दीप लामिछाने(१३) पछि दोस्रो स्थानमा थिए।
एकदिवसीय मान्यता पाएको क्षण दीपेन्द्रका लागि पनि अविष्मरणीय छ। ‘त्यो हाम्रा लागि निकै ठूलो क्षण थियो,’ दीपेन्द्रले सम्झे, ‘हामीसँगै सारा देश खुशी भएको थियो। त्यसमा आफूले योगदान दिनसक्दा अझै खुशी लाग्दो रहेछ। यो कडा मेहनत, समर्पण र क्रिकेटप्रतिको फोकेसले सम्भव भएको हो।’
एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि नेपालले तीनवटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको छ। नेदरल्याण्ड्ससँग दुई खेलको श्रृखंला खेलेको थियो भने गत अगष्टमा भएको एसियन कप छनोट अन्तर्गतको यूएईविरुद्धको खेल दुवै देशको एक दिवसीय मान्यता भएकाले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो।
नेपालका तीनवटै एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा पनि हालसम्म सर्बाधिक स्कोर गर्ने खेलाडी दीपेन्द्र नै हुन्। उनले नेदरल्याण्ड्सविरुद्धको पहिलो खेलमा ३३, दोस्रो खेलमा १९ र यूएईविरुद्धको खेलमा ४० गरि कुल ९२ रन जोडेका छन्। वान डे मा सर्बाधिक स्कोर गर्ने नेपाली दोस्रो खेलाडी सोमपाल कामी हुन्। उनले पनि तीन वान डे मा ८८ रन जोडेका छन्।
भारतविरुद्ध ऐतिहासिक जित
यू-१९ टोलीबाट लगातारको उत्कृष्ट प्रदर्शनपछि दीपेन्द्रले राष्ट्रिय टोलीमा मौका पाएका थिए। यू-१९ टोलीमा दीपेन्द्रका थुप्रै अविष्मरणीय पलहरु छन्।
अघिल्लो वर्ष कार्तिकमा सन्दीप लामिछानेको स्थानमा यू–१९ एसिया कपमा दीपेन्द्रलाई उमेर समूहको टोलीको कप्तानी दिइएको थियो। उनको कप्तानी पारीको मद्दतमा नेपालले ऐतिहासिक जित हात पार्यो।
त्यसअघि कुनैपनि स्तरको प्रतियोगितामा भारतीय टोलीलाई नेपालले हराउँन सकेको थिएन्। तर, दीपेन्द्र आफैले अलराउण्ड प्रदर्शन गरेपछि समूह चरणमा नेपालले भारतमाथि १९ रनको ऐतिहासिक जित पार्यो।
१ सय ८६ रनको लक्ष्य पछ्याएको राहुल द्रबिडको प्रशिक्षकत्वमा रहेको भारतीय युवा टोली ४८.१ ओभरमा सबै विकेट गुमाएर १ सय ६६ रनमा रोकिएको थियो। दीपेन्द्रले ४ विकेट लिनुको साथै ८८ रनको इनिङ्स खेलेपछि नेपाली टोलीले इतिहास रचेको थियो।
यही प्रतियोगितामा पहिलो पटक भारतलाई समूह चरणबाटै बाहिर पठाइदिएर नेपालले सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो। त्यसपछि भएको एसीसी यू १९ इस्टर्न रिजन प्रतियोगिता नेपालले दीपेन्द्रकै कप्तानीमा जितेको थियो। प्रतियोगितामा उनी उत्कृष्ट बलर चुनिएका थिए।
यू–१९ क्रिकेटमा दीपेन्द्रसँग तितो सम्झना पछि छ। सन् २०१६ को डिसेम्बरमा श्रीलंकामा भएको युथ एसिया कपबाट खासमा दीपेन्द्रको चर्चा चुलिएको थियो। उक्त प्रतियोगिताको ३ खेलमा उनले १ सय ४६ रन बनाएका थिए।
पहिलो खेलमै आयोजक श्रीलंकाविरुद्ध नेपालले एक रनको नमीठो हार व्यहोनु पर्यो। अघिल्लो बलमा उनले छक्का प्रहार गरेपछि तीन बलमा नेपाललाई जितका लागि एक रनमात्रै आवश्यक थियो। ९० रनमा खेलिरहेका दीपेन्द्रले सहजै जित हात पार्ने सोचिरहेका थिए।
तर, क्रिकेटमा केही भन्न सकिन्न भने झै दुर्भाग्यवश अन्तिम विकेटमा खेलिरहँदा उनी एलबिडब्लुको सिकार हुन पुगे र एक रन मात्रै जितबाट चुक्दा उनी मैदानमै भावविह्वल हुन पुगे।
विदेशी फ्रेन्चाइजी खेल्ने सपना
दीपेन्द्रसिंह एेरी
दीपेन्द्रसिंह एेरी

नेपाली राष्ट्रिय टोलीका एक सदस्य तथा दीपेन्द्रका यू–१९ देखि राष्ट्रिय टोलीसम्मका सहयात्री सन्दीप लामिछाने यतिबेला विदेशका विभिन्न फ्रेन्चाइजी लिग खेलिरहेका छन्।
दीपेन्द्रको पनि विदेशी फ्रेन्चाइजी लिग खेल्ने सपना छ। ‘सन्दीपले आइपिएल देखि बिगबास लिगसम्म खेल्दै नेपाली खेलाडीहरुको सम्भावना खेलिदिएका छन्,’ दीपेन्द्र भन्छन्, ‘एशोसियट नेशनका ब्याट्सम्यानहरुलाई ठूलो चुनौती त छ तर कडा मेहनत, समर्पण र खेलप्रति फोकेस भएर लाग्यो भने त्यो असम्भव पनि छैन। प्रयासहरु गर्दैछु हेरौं कहिले सफल हुन्छ।’
बोल्ने बनाउँछुः पारस खड्का
राष्ट्रिय टोलीका कप्तान पारस खड्का स्पष्ट वक्ताका रुपमा पनि परिचित छन्। निडर रुपमा मनमा लागेका कुराहरु पारस सिधैँ र घुमाउँरो दुवै हिसाबले भन्न सक्छन्।
सोमबार मात्रै तिनै पारससँगै दीपेन्द्र दुई हप्ताका लागि अस्ट्रेलिया भम्रणमा निस्केका छन्। जहाँ उनीहरुलेसँगै अस्ट्रेलियामा रहेका नेपाली क्रिकेटसँग आवद्ध व्यक्तिहरुसँग विभिन्न अन्तरक्रियात्मक कार्यक्रमहरुमा सहभागिता जनाउनेछन्।
अस्ट्रेलिया जाने विदाई कार्यक्रमपछि पारसले अनौपचारिक कुराकानीमा भने,‘अस्ट्रेलियाबाट फर्केपछि दीपेन्द्रलाई तपाई फरक पाउनुहुनेछ। लजालु दीपेन्द्र बोल्ने बनाएर ल्याउनेछु।’

No comments:

Post a Comment