Monday 29 December 2014

महाभारतको सम्झनाः भुवो खेल एक चिनारी

किशोर खड्कासुदूरपश्चिम प्राकृतिक सम्पदा जस्तै कला संस्कृतिले पनि भरिपूर्ण स्थल हो । यहाँका चर्चित संस्कृति मध्ये डेउडा, भूवो, गौरा, माघे संक्रान्ति, चैते दशै, पुतला, छलिया, धमाली, हुड्क्यौली आदि हुन । यहाँ नेर चर्चा गर्न खोजिएको पक्ष भूवो जुन सुदूरपश्चिमको एक प्रमुख कला संस्कृति हो । यो चाड महाभारत युद्धमा पाण्डवका सैनिकहरुले कौरबसगँ धर्म युद्ध लडनु अघि गरिएको युद्ध अभ्याससगँ जस्ताको तस्तै उतारिएको प्रतिबिम्ब हो । आफनै लय र भाकामा पंचैवाजा गाजाका साथमा नाचिने हतियारधारी समुहको ठूलो सामुहिक खेललाई नै भूवो (भस्सा)े भनिन्छ ।

यो चाड पौष कृष्णपक्ष चतुर्दशिको राती देखि सुरु हुन्छ । चतुर्दशिको बिहान झिसमिसे उज्यालोमा प्रत्येक घरका किशोर, युवा, प्रौढ र बयस्यक सबै अनिबार्य रुपमा भुवाखाडोमा जम्मा हुन्छन् । त्यहाँबाट हातहातमा निगालोको राँको समातेर गाउँको मान्यजन (नाईक) बाट धुप दिप जलाएर पाण्डवको पुजा आराधना गरेर रांको जलाईन्छ । सबैले रांको जलाएर लावा लस्कर हुदै सुरुवातको दिन गाईने भस्सोको गीत गाउदै एकै भाका एकै स्वरमा अगाडि बढ्छन् । जस्तै ए, ए लाण्या भुवा, २० देखि ३० जनाको फौजले गाउँछन् अरु लस्करमा लागेका सबैले हात र खुटटाको चालमा आगोको राँको सल्काएर गाउँदै आफनै ताल र भाकामा गाउदै हिड्दा स्वर्गीय आनन्द आउँछ । टाढा टाढाका गाउँका मानिसहरु अध्यारो रातीमा झिल मिल हेरी आनन्दीत हुन्छन ।
भस्सो यतिमा मात्रै सिमित छैन रांको सल्काउदै गाउँदै डेढ किलो मिटर जती टाढा लगेर फालिन्छ र त्यहाँबाट फर्केर आउँदा ठ्याम्मै उज्यालो हुन्छ । फेरी गाउदै लावा लस्करका साथ भुवाखडोमा पुगिन्छ । भुवाखडोमा आगो हुन्छ, आगो तापेर नुवाई–धुवाई सर सफाई गरेर घरमा मिठो–मसिनो खाना बनेको हुन्छ खाना खाएर अनि आफना हतियारहरु ढाल तरवारलाई चम्किलो बनाउने काम गरिन्छ । ढाल कालोले पोतिन्छ भने तरवारलाई धारिलो र तम्कीला बनाईन्छ । चम्कीला तरवारहरु भस्सोको चाली भन्ने कवाज खेल्दा घाममा टलक्क टलक्क चम्किन्छन् । औसीको भोली पल्ट पनि लुगा कपडा धोएर हात हतियार सजाउने, टल्काउने काम हुन्छ । अनि द्धितिया तिथीको दिनमा ठूलै चाड मान्दछन्, छर छिमेकहरुले मिलेर आ–आफनो घरमा मीठा मीठा परिकारहरु पकाईन्छन र छर छिमेकमा बाडेर खाईन्छ ।
दिउसो १२ बजेतिरबाट सबै भुवाखडोमा गएर भुवाको रौनक शुरु हुन्छ । बाजा गाजाका साथ दमाहाले पनि अनेक बाजा बजाउछन, बाजा–गाजा, लस्कर हुदै औशी र प्रतिपदाका दिन चम्काएका ढाल तरवार बाजा गाजा भूवाको लय तालमा चम्कन शुरु हुन्छ । साच्चै भन्ने हो भने सुदूर पश्चिम पिछडिएको ठाउँ भएको कारणले यस चाडको प्रचार–प्रसार नभएको हो । यदि प्रचार–प्रसार गरिएमा जो सुकैले पनि एक पटक मात्र हेर्न पाएमा उसलाई सधै भरि हेर्ने मन हुन्छ, हेरु हेरु जस्तो लाग्छ । यो खेल अति नै रमाईलो र अचम्म लाग्दो खेल हो, जति रमाईलो छ त्यति नै यो खेल फरक फरक किसिमको छ । यसका बिभिन्न लय भाका छन । प्रत्येक दिनमा यो खेल फरक–फरक ताल र लयमा खेलिन्छ । चालि नै १४ किसिमका छन, बगाली ९ किसिमका छन । प्रत्येकले दाँया हातमा तरवार र बायाँ हातमा ढाल समातेर दौरा, लबेदा र सुरुवाल, स्टकोट, कालो टोपी, निधारमा ठूलो टिका लगाएर खेलेको देख्दा जो सुकैका आखाँ पनि लोभिन्छन । नयाँ–नयाँ हेर्ने मानिस त यो अति नै जोखिम खेल रहेछ भनेर चाली र बगाली खेलको दृष्य हेर्दा आखाँ नै चिम्लिन्छन । साच्चिकै लडाई हो कि कसले कसलाई हाने भन्ने नै थाहाँ हुदैन । तरवार र ढाल फनफनी घुम्छन । भस्सो चाड जति रमाईलो छ, त्यती नै लामो समय सम्म खेलीने चाड हो । यो चाड पौष शुक्ल पक्ष द्धित्तिया देखी चतुर्दशी सम्म खेलिन्छ ।
भखाडामा १, २ दिन खेलि सकेपछि गाउँ गाउँका मुख्य मानिस (नायक, गाउँमा बिभिन्न जाति भए प्रत्येक जातिको जेठो पटिको हाँगाको घरमा, त्यसै जिम्मावाल मुखिया, कर्मचारी, शिक्षक र अन्य मान्यजनको घरमा गई भूओ खेल्दछन् । त्यसै प्रकारले यो बर्ष तीर्थ गरेर फर्केका मानिसको भरमा, त्यो बर्ष जस्को घरमा छोरा जन्मेको छ, त्यसको घरमा गएर भस्सो खेल्छन । जसको घरमा भुओ खेलिन्छ, तयस घरको मूलिले चिउणा, फलफुल र पैशाहरु दिएर आर्शिवाद दिने चलन छ ।
लगभग १४ दिन सम्म खेलिने यो चाड अहिले संरक्षण र सामाजिक बिसंगतिका कारण लोप हुने सम्भावना धेरै छ । यो चाडमा बिना हतियार पनि नाचिन्छ । गाईन्छ, जसलाई भारी खेल भनिन्छ । टेउला, मेउला खेलिन्छ जसमा राग र सरका कुरा हुन्छन । जस्तै लामा गणा सिधा धणा, धारु भाले, गैरी गाउँकी रम्भा चेली जैसी कठै भनेर खेलिने खेलमा माया प्रेमको राग र सर हुन्छ । जैसुनमा खेलीने खेलामा ईतिहासका कुराहरु हुन्छन् । जस्तै बार बर्ष सिंगारु यै गोरो मुहरा । लफुलुफ्या सिंगारुय , झुपझुप्या केश, जैले जन्मे सिगांरुय उलै परदेश भनेर गाईने जैसुन खेलमा खड्का जातीको इतिहास लुकेको पाईन्छ भने भस्सोको समयमा खेलिने खेलमा ठाउँको बर्णन बिर जातिको बर्णन पनि पाईन्छ । जस्तै नेपालका उना कुना, वास्या तितरी, नैपाल नझान्या चेलो गर्बै तिबरी नैपालको गोरखा फौज क्या रनु रन्छ, क्या खानु खान्छ । नैपालको गोरखा फौज क्या धानु गर्छ ? गोरखा फौजसगँ कति फौज छ ? क्या हतियार छन ? गोरखा फौजका अघिमान्या (सेनापती) को छन ?, फौजका कति घोडचढि छन ? थापाकाजि, अघिमान्या, घोडचढी । यस्तै लामो फौजको बर्णन छ । मानिसलाई के गर्नु पर्छ के गर्नु हुदैन भन्ने कुरा पनि अर्ति जुक्तिका कुरा पनि यसै भस्सोको आधारमा अबुझ जनलाई चेतना फैलाउने काम हुन्छ । जस्तै बासी पानी नखानु, सन्यूतो (आलो) दाउरा नबाल्नु ।
भूवो बहु भाषीक, बहु सांस्कृतिक, बहु आयामिक चाड हो । यसमा अध्यात्मिक कुरा देखि बैज्ञानिक कुराहरुमा पनि समेटिएका छन् । यस चाडलाई जगेर्ना गर्नु भनेको पुरानो संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्नु हो । यसर्थ यस चाडलाई संरक्षण र सम्बद्र्धन गर्नु हाम्रो दायित्व हुन आउँछ । साथसाथै यस चाडलाई संरक्षण र सम्बद्र्धन गर्न नेपाल सरकार, यहाँका बिद्धानहरु, इतिहासकारहरुको ध्यान केन्द्रित गर्न चाहन्छौ । जय भूवो (भस्सो) ।
हेमन्तवाडा निवासी रामलाल खड्कासँगको सल्लाहमा तयार पारिएको लेख
ज्यूनापुरी धारु भले
भूओ खेलमा वीरता, करुणा आदि बढी देखिन्छ भने चाली बगाली युद्ध अभ्यासको रुपमा लिईन्छ । ज्यूनापुरी धारु भलेमा केटा र केटीको प्रेमको प्रसंग आउँछ । यसमा लामो स्वर मिलाएर खेल्दछन् । यो खेलमा पनि बृत्ताकार रुपमा खडा हुन्छन् । एउटाले अर्काको पाखुरामा समातेर सबैको हात सिधा पार्छन । अर्थात आफनो दुबैतिरको मानिसको पाखुरामा सोझो पारेर समात्छन । यसमा बाजा बजाउनु पर्दैन । यसमा केटाको नाम साई राजा हुन्छ । केटीको नाम रम्भा चेली । केटा भैसी गोठालो, केटी गाईकी ग्वाली । केटाले भैसि खोएर काला पाल्त (जंगल) मा लिन्छ । केटीले गोरु लिएर गैरी तोली जान्छ । केटा अग्लो ढुंगामा बसेर बाँसुरी र केटीले बिनायो बजाउँछन । बाँसुरीको बोलीले केटीलाई तँलाई लिन्छु भन्छन, केटीले बिनायो बजाई तिमीसँग जान्छु भन्छिन् । सबै ग्वाला मिलेर आधा जन्ती, आधा बरियाती हुने सल्लाह गर्छन र जन्तिलाई ज्योतिषको घरमा दुबैको विवाहकोलागि दिन जुराउन पठाउँछन् । बाटोमा पतारो, दौराला आदिलाई सोध्दै ज्योतिषको घरमा पुग्छन, र दुबैजनाको विवाहको लागि साईत जुराउन अनुरोध गर्छन । ज्योतिषलाई एक मानो चामल, दहीको ठेकी निकाल्छन्, ज्योतिषले धुलौटो ( ज्योतिषले माटोको धुलो फिजारी काठको छेस्काले लेख्ने र मेट्ने काठको तख्ता) मा हेरेर जुरेको कुरा बताउँछन । यो खबर लिएर जन्ती फर्केपछि गोवरको मस्युटो, गौतको तेल, बालुवाको चामल, लठ्ठीको मुसल, आदि बनाई आधा ग्वाला माईती र आधा ग्वाला जन्ती भएर दुबैको विवाह गर्छन । यसैलाई लयवद्ध गरी गाउँछन । यसमा पनि अगाडि पट्टिका ५, ७ जनाले माणा हाल्ने, अरु सबैले ज्यूनापुरी धारु भले र धारु भलेभाई धारुभले पालैपालो गरि भन्दछन । जस्तैः
सल्यानका साई महाराजा, ज्यूनापुरी धारु भले
गैरा गाउँकी रम्भा चेली, धारु भलेभाई धारुभले
मुलपाठका अन्य अंशहरु
कतना भया साई महाराजा
कतनी भैछन रम्भा चेली
बाड बडेली साई महाराजा
गुरीमुरी रम्भा चेली
कोरे जेठा भया कठ
जर्म जेठा साई महाराजा
कर्म जेठी रम्भा चेली
साई महाराजा भैसी गोठाला
रम्भा चेली गाई गवाली
साई महाराजाले भैसली खोया
रम्भा चेलीले गवलु खोयो
भैसा लाया काला पाल्त
गवलु लायो गैरी तोली
उदी वन गवलु लिउत
बाग की बग्याईछ कठ
पुणी बन गवलु लिउत
ढाण्याकी ढण्याई छ कठ
गोरु लायो गैरी तोली
भैसी लायो काला पाल्त
आफु बस्या उची ढुंगी
साई महाराजाले बाँसुरी गाड्यो
रम्भा चेलीले बिनायो गाडी
साई महाराजाले बासुली ठोक्यो
रम्भा चेलीले बिनायो बजायो
बाँसुलीका शब्दले
क्याउरे बोलुँ बोल्यो कठ
बाँसुरिका शब्दले
तोईरे लिउला भन्यो कठ
बिनायाका शब्दले
तेराई झाउँला भन्यो कठ
हैन हैन ग्वाला सातौ
ग्वाला खेल अरिहेलु
साई महाराजा, रम्भा चेलीको
ब्याउ रचाई हेलुँ कठ.............
उमाशंकर जोशि दवारा लिखित बझागीं समाजको स्मारिका सौराईबाट साभार गरिएको अंश

No comments:

Post a Comment