Saturday 13 December 2014

नेपाली पत्रकारीतामा जिम्मेवारिका सवालहरु


07JUL

 – प्रमोद खनाल

हरेक देशको सर्वाङ्गीण विकासमा प्रेस जगतको अतुलनीय भुमिका रहेको हुन्छ । जनमानसलाई सुसुचीत गर्ने तथा सत्य तथ्य र प्रत्यक्ष समाचार संप्रेषण गरि जागरुक वनाउने कार्यपनि प्रेस र पत्रकारितामै निर्भर रहेको वास्तविकतालाई हामी भुल्न सक्दैनौं । ढुङ्गे युगदेखि एक्काईसौं शताव्दीसम्मको मानव यात्रामा सुचना र संचारको अहम् भुमीका रहेको छ, त्यतिवेला कुनै न कुनै रुपमा त्यहि नै पत्रकारिता थियो । मानव विकासक्रमसंगै पत्रकारिताको पनि व्यवशायीक विकास र प्रष्ट भुमिका वन्दै गयो, फलस्वरूप अहिलेको विकसीत संचार युगको सुत्रपात हुन सक्यो । वास्तवमा पत्रकारीता मानवसमाजको भित्री आँखा हो, जसले सामाजिक मार्गनिर्देशनको पुरापुर जिम्मा पाएको हुन्छ । त्यसैकारणले पनि पत्रकारीतालाई राज्यको चौथो अङ्गको रुपमा लिईन्छ । सुचनाप्रविधीको विकाससंगै पत्रकारीता र सञ्चारको क्षेत्रले  विश्वको विशाल भुभागलाई समेत अहिले निकै साँघुरो पारिदिएको छ । संसारको कुनैपनि क्रियाकलाप हामी तत्कालै देख्न, सुन्न, बुझ्न पाउने भएका छौं । पत्रकारीता र सुचना सम्प्रेषणको यस कार्यले मानवको जिवनस्तरमा समेत ठुलो हलचल पैदा गराईदिएको छ । यसरि विभिन्न तौरतरीकावाट निरन्तर सुचना प्रवाह गरि जनमानसलाई जिवन्त तुल्याएको आम संचार र पत्रकारीतालाई विश्वमा मानव समुदायको परिवर्तनको संवाहकको रुपमा लिन सकिन्छ । यद्यपी सवै सञ्चारमाध्यमहरू निष्पक्ष, सत्यपरक यथार्थमा आधारित भएर समाचार सम्प्रेषण गर्नु पर्छ भन्ने मान्यतावाट प्रेरित देखिदैनन् । पत्रकारिताको परिभाषा, मान्यता, सिद्धान्त र जिम्मेवारिप्रति वफादार रहेर कार्य गर्ने सञ्चारमाध्यमको आजकल खडेरि नै लागेको देखिन्छ ।

पत्रकारीता आफैमा सुचनाको एक परिवर्तित मुहान हो । जसले सदैव निस्पक्ष सत्यताको साथमा रहेर विशुद्ध मनोभावनाले मानवसमाजलाई न्यायको सफलता दिलाउंछ । दुई विशाल र विकसित छिमेकी देशहरुको विचमा रहेको अल्पविकसित मुलुक नेपालमा प्रेस र पत्रकारिताको भुमीका झनै महत्वपुर्ण रहिआएको छ । तर कतिपय अवस्थामा प्रेसको भुमीका विवादास्पद भने नभएको होइन । अझै पत्रकारिताको खोल ओढेर अपराधलाइ प्रश्रय दिईरहेका खवर सुन्नुपर्दा पत्रकारिताको मूलमर्म नै वदनाम भइरहेको अनुभव हरेक जनतालाई हुनु स्वाभाविकै हो ।यस्ता प्रवृत्ती विरूद्ध तत्काल प्रभावकारी कदम चाल्न नसक्दा कहिलेकाही पत्रकारीताका सवालमा अनेकौ प्रश्न चिन्ह खडा हुने गर्दछन्, पत्रकारिताले कैयन् अवस्थामा राष्ट्रियता, सामाजिक सद्भाव, र आफ्नो मर्यादालाइ कायम राख्न नसकि जानी नजानी वाटो भुल्न पुगेको जस्तो आभाष गराउछ । यस्ता पक्षलाई शिघ्ररुपमा सुधार गराउनु पर्छ । तर पहिलेको तुलनामा नेपाली पत्रकारीता जगतको परिधी आजकल निकै फराकिलो भएको छ । युगौं देखिको मेहनत, लगन, र परिश्रमले नै यसले यति ठुलो फड्को मार्न सकेको हो, भन्ने कुरा कसैले भुल्न खोज्नु सरासर भुल हुन्छ । भनिन्छ, सुर्यको प्रकाशले दिन नसक्ने उज्यालो पत्रकारीताले सर्वत्र छर्न सक्छ । वास्तवमा यो सहजै अनुभव भएको कुरापनि हो । पत्रकारीताको परिभाषा र अर्थ आफैंमा स्वतन्त्र हुने भएकाले यस पेशामा संलग्नकर्ताहरुका लागी संसारको कुनै पनि भुभागमा निषेध गरिएको छैन र गर्नु पनि हुदैन । यि महत्वपुर्ण र सम्वेदनशील पक्षहरुलाइ सहि ढंगवाट कार्यान्वयन गर्न नसक्दा नेपाली पत्रकारीताले जस कम अपजस वढि कमाएको छ । यसो त कुनै भुल हुंदै हुंदैनन् गर्दै गर्दैनन् भन्न सकिन्न तर सानोमात्र गल्तिले पनि समाजमा ठुलो नोक्सानी पुर्याउन सक्ने भएकाले हरेक अवस्थामा सावधानी अपनाउनु सञ्चारकर्मीको जिम्मेवारि हुन आउंछ ।अर्को कुरा पत्रकारले सार्वजनीक सरोकारका विषयहरुप्रति मुकदर्शक वा एकपक्षीय वनेर वस्नुपनि नेपाली पत्रकारीता जगतको ठुलो गद्धारी र लज्जापन हो । यो हामी मध्ये कतिपयले भोगेकै कुरा पनि हो । यस्ता कमीकमजोरीलाई सामाजिक मुल्यमान्यता र पत्रकारीताका विधानको घेरामा सांधेर शुद्धिकरण गर्नु नितान्त आवश्यक छ ।

भौगोलीक अखण्डता र जातिय, सांस्कृतिक विविधताले सजिएको हाम्रो देश नेपाल शान्तिको लागी विश्वकै नमुना मानिन्थ्यो, अहिलेपनि मुलुकमा विकसित शान्ति प्रकृयापछि सो कुराले निरन्तरता पाउने नै छ भन्नेमा संपुर्ण नेपाली जनता अझैपनि विश्वस्त रहेका छन् । यसको लागी नेपाली प्रेसले निभाउनुपर्ने भुमीका अत्यन्त महत्वपुर्ण रहेको छ । संपुर्ण नागरीकलाई आफ्नो हक, अधिकार र स्वयं आफ्नो काम, कर्तव्यप्रतिको शिक्षा वोध गराउने जिम्मेवारि प्रेस जगतकै हो । यसरि नै प्रेस र जनताविचको संवन्धले नङ्ग मासुको सम्वन्ध स्थापित गरेको छ । सदियौं देखि जनतालाई थिचोमिचोमा पारेर वसेको कहालीलाग्दो राणा शासनकाल होस्, फांसिष्ट निर्दलीय पञ्चायतकाल होस वा हालैमात्र नेपाली जनताद्धारा समुल नष्ट पारिएका निरकुंश राजवंश विरुद्धका अनेकौं लडाईमा नेपाली पत्रकारीताले विर्सन नसक्ने गुन लगाएको छ ।

तर आजकाल पत्रकारीताका आडमा लुकेर केहि अराजक तत्वहरुले निन्दनीय धन्दागर्न, जनमानसमा भ्रमश्रृजना गर्न तथा नागरीक सचेतनामा वाधा पुर्‍याउने जस्ता कार्यद्धारा नेपाली जनमानसमा एकप्रकारले आतंक फैलाईरहेका छन् । उनिहरुका यस्ता घृणित कर्तुतका विरूद्द सचेतना फैलाउंदै जनमुखी सञ्चारमाध्यमहरुले सहि समाचार संप्रेषणमा जोड दिनुपर्छ । पत्रकारको विल्ला भिरेर स्वतन्त्र पत्रकारिताका नाममा जथाभावि अनेकौं कपोल कल्पित समाचार सम्प्रेषण गरि सामाजीक सद्भाव विथोल्ने, व्ल्याकमेलिङ्ग गर्ने, हप्ता उठाउने देखि धम्कीको धन्दा र चन्दा असुलीसम्मका अराजक कार्यहरू गरिनुलाइ नेपाली पत्रकारिता क्षेत्रकै कलंकको रुपमा लिइएको छ । यसको विरुद्ध आवाज उठाउनुपर्ने पत्रकार महासंघ समेत कतिपय वेला प्रत्यक्ष अप्रत्यक्ष रुपमा त्यसमै समाहित भएको उदाहरण पनि नभेटिएको हैन । तसर्थ, अव आम जनता र सचेत नागरिक समाजले नै गम्भीर भएर यस्ता प्रवृत्तिमाथी अंकुश लगाउनु अत्यावश्यक  छ । जनतालाई सुचनाको अधिकारमा कुठाराघात गरेर कुनै हालतमा पनि पत्रकारीता हुंदैन । तसर्थ अविछिन्न रुपमा अग्रणी भुमिकामा रहेको नेपाली पत्रकारीता र पत्रकार जगतले विगतका कमि कमजोरीलाई भुलसुधार गर्दै आफ्नो भुमिकालाइ सच्याउदै जानु पर्ने हुन्छ । विशेष गरी जनमुखी रहेर राष्ट्र र राष्ट्रियताको संवद्धन गर्न सकेमा मात्र नेपाली पत्रकारीताको छवी आगामी दिनहरू सम्म जिवन्त राख्न सकिन्छ ।

बिभिन्न आरोह अवरोहको चरणलाई पार गर्दै समयानुसारको समाचार सत्य तथ्य वाहीर ल्याउनु व्यक्तिवादी चिन्तनवाट अलग रहनु तथा पत्रकारिताको नैतिक सिद्धान्त र धर्मवाट विचलित नबनी सदावहार नेपाली जनतामा घुलमिल रहनु, वास्तविकताको लेखाजोखा गरी प्रस्तुत हुनु नेपाली पत्रकारीताको अद्यभुत कार्य हो । तसर्थ गहन जिम्मेवारीकासाथ जनताको शान्ति र परिवर्तन प्रतिको भावनाको सम्मान गर्दै हरेक पल राष्ट्र निर्माणको सच्चा पहरेदारको रुपमा रहिरहनु नै नेपाली पत्रकारीता क्षेत्रको भावी जिम्मेवारि रहेको छ ।   

No comments:

Post a Comment