Monday 11 April 2016

मेरो डायरी ४३ (सप्राइज)


शनिबारको दिन । सधै झै दिन व्यस्त नै रह्यो । स्नातकोत्तरमा सेमष्टरमा अध्ययन सुरु गरेपछि विहान क्याम्पस, अनि दिउँसो कार्यशाला, अनुसन्धान तथा अध्ययनमा दैनिकी व्यस्त बन्न थालेको छ । केही फुर्सदिलो हुन, शनिवार कुर्नै पर्छ । कयौ असाईनमेन्टहरु बाकीं हुन्छन् तर पनि हाप्पी स्यार्टडेको बाहनामा विहान केही अबेर गरि उठिन्छ । हप्तामा एक दिन विदा दिने चलन जसले चलायपनि त्यो सवैका लागि फलदायी बनेको छ । बाल्यकालमा शनिबारको मज्जा वेग्लै । न स्कुल जानुपथ्र्यो न धेरै होमवर्क नै हुन्थ्यो । घरमा आमावुवाले पनि अन्य दिनको झै पढ्पढ भनेर किचकिच गर्दैन थिए । मज्जाले सुत्न पाईन्थ्यो, मज्जाले खेल्न पाईन्थ्यो, बजार डुल्न जान पाईन्थ्यो । त्यो बालापनको कुरा । उमेर बढ्दै गएपछि शनिवारको महत्व अझै बढ्दै गयो । कार्य व्यस्ततामा

धेरै भैसकेको थियो बानेश्वर चोक तिर ननिस्किएको । कोठाबाट १० मिनेट जतिको पैदल दुरीमा पर्दथ्यो बानेश्वर चोक । अनेक थरि मान्छेहरुसँग भेट हुने गर्दछ बानेश्वर चोकमा । चोक पुग्नुको मेरो पनि उदेश्य त्यही थियो, कही कतै कोही चिनेका भेटिन्छन् कि । आफ्नो शहरबाट अर्को शहरमा कोही आफ्नो चिनेको मान्छे भेटिदाको आनन्द अनि उनीहरुसँग मनका कुरा साट्दाको खुशी शाब्दिक रुपमा बयान गर्न गाह्रो पर्दछ । तर बानेश्वर चोकको विशेषता हजारौ मान्छेहरु ओहोर दोहोर गर्ने त्यहाँ कोही धेरै बेर अडिन्नन । किनकी सवैलाई आ आफ्नो गन्तव्यमा पुग्न हतार हुन्छ । सवै आ आफ्नो कर्ममा व्यस्त छन्, हुन्छन् ।

कोठा बन्द गरे, कानमा एअरफोन हाले र पुराना हिन्दी एभरग्रिन गित बजाए । गितको सुरमा एक्लै बानेश्वर चोक तिरको यात्रा तय गरे । कोठाबाट निस्कदा मन बेचैन जस्तै लाग्थ्यो । खै किन हो, केही कुराको आभास हुदै थियो । आफै आफै केही चल्दै थियो मन् । चोक पुग्दा चार पाँच वटा गित सुनिसकेछु । चोकको सेलिंगमा बसे अनि चारैतिर आखाँ डुलाउँन सुरु गरे । सवै आ आफ्नो कर्ममा व्यस्त देखिन्थे । ट्राफिकहरु जाम नहोस भन्नेमा शर्तक थिए, पानी पुरीवालाकोमा चार पाँच वटा युवतीहरुको समुह झुण्डिएकै थियो । खुद्रा व्यापारीहरु घोक्रो सुक्दासम्म कराईरहेका थिए । आधा बाटो काट्नमा व्यस्त थिए त आधा आ आफ्नो गन्तव्यमा जान हतारिदै थिए । सवैलाई आफ्नै अन्दाजले नियालिरहेका मेरा आखाँ भने एउटा अनुहारमा आएर अडिए । मेरो पश्चिम पट्टीबाट एकजना युवती आफ्नो साथीसँग मज्जाले गफिदै, मन्द मुस्कानका साथ मेरा तिर अघि बढ्दै थिईन् । कर्ली कपाल, ठिक्कको जिउँडाल, अनि क्युट अनुहार । त्यो अनुहार मेरा लागि परिचित अनुहार थियो । तर धेरै भैसकेको थियो त्यो अनुहारलाई मैले देख्न नपाएको । जति नजिक आईन मेरो ढुकढुकी अझै बढ्न थाल्यो ।

मान्छेहरुको भिडमा उनको नजरमा म अझै परेको थिएन्न तर मैले आखाका परेली नझिम्काई उनीलाई हेरी रहे । उनी र मेरो नजिकपन केही सेकेण्डको दुरीमा थियो र उनले दिशा मोडिन् र बाटो काट्न दक्षिण तिर फर्किइन् ।
सायाँ ! मेरो मुखबाट शब्द निस्कियो । केही बेर रोकिएको श्वास फेर्दै मैले उनको नाम लिए तर उनीबाटो काट्न अघि बढिसकेकीले मेरो आवाज उनीसामु पुग्न सकेन् । धनगढी छोडेपछि सायाँलाई धेरै समय भैसकेको थियो नभेटेको । तर काठमाण्डौ आएर पनि मलाई किन थाहा नदिएकी होली ? मनमा प्रश्न खेल्न थाल्यो । मनमुटाब त केही भएको थिएन तर धेरै भैसकेको थियो उनीसँग बोलचाल नभएको । त्यहि भएर पो उनले बताउँन आवश्यक ठानिन्न कि ?

अनेकन् प्रश्नहरु एकपछि अर्को गर्दै मनको पोखरीमा डुबुल्की लगाईरहेका थिए । त्यतिञ्जेल उनी सडक पार पुगिसकेछिन् । मैले उनलाई पन्छाउँने निधो गरे, म बाटो पार पुग्दा उनी बसमा चडी सकेकी थिईन् र बस घुईकिसकेको थियो । म लगत्तै अर्को बसमा चडे र उनको बसको पिछा गर्न थाले । कोटेश्वर बसस्टपमा उनको बसबाट उनी झरेको मैले हेरिरहेको थिए र म पनि झरे । उनी केही अघि पुगेकी थिईन् मैले पच्छाईरहे । दुई मिनेटको बाटो हिडेपछि उनी एक घरभित्र पसिन् तर मैले अहिले बोलाउँने आट गरिन् । सोचे उनी बस्ने घर देखि सके अब उनीलाई सप्राईज दिनेछु । केही छिनमा त्यहाबाट निस्किए र कोठा आए । अब अर्को दिनको व्यग्र प्रतिक्षा थियो जुन दिन म सायाँलाई सप्राईज दिउँ तर सप्राईज त उनले दिएकी थिईन काठमाण्डौमा विना जानकारी आएर नि ...
(क्रमश, बाकीं मेराे डायरीकाे अर्काे अंकमा)

No comments:

Post a Comment