Saturday 29 March 2014

धनगढीले अन्तराष्ट्रिय प्रतियोगिताहरु आयोजना गरेको हेर्ने ईच्छा छ - सुवाश शाही

सुवाश शाही,  नेपाली क्रिकेट प्रेमीका लागि परिचित नाम हो । सुदुुरपश्चिमको क्रिकेटको विकाशमा क्षेत्र नम्बर ९ धनगढीका उपाध्यक्ष, तथा धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाहीको भुमिका अतुलनिय छ । अझै पछिल्लो समयमा धनगढीमा हुने जुनसुकै प्रतियोगिताहरु पनि उहाँ कै नेतृत्वमा सफल रुपमा सम्पन्न हुने गरेका छन । उहाँ आफै पनि राम्रो खेलाडी हुनुहुन्छ । युवा अवस्थामा आफुले पनि नेपाली नेशनल टीमबाट विश्वकप खेल्ने सपना देखेका  शाहीले विविध कारणबश् आफ्नो सपना पुरा गर्न सकेनन् तर त्यस्तो सपना देख्नेहरुलाई सो स्थानमा पुर्याउन उनी प्रयासरत् छन । हाल धनगढीलाई क्रिकेटको शहरका रुपमा चिनाउँन र फाप्ला क्रिकेट मैदान निर्माणमा जुट्नु भएका उहाँसँग  यज्ञराज जोशीले गरेको कुराकानी ।

१) औपचारिक रुपमा क्रिकेटको क्षेत्रमा कहाँ र कहिलेबाट लाग्नु भयो ?
क्रिकेटमा मेरो सानो उमेर देखि नै रुची थियो । म सानो हुदाँ नेपालको क्रिकेट भर्खरै बामे सार्न लागेको थियो । देशमा क्रिकेटको माहोल विकाश हुने क्रममा थियो । म आफै पनि क्रिकेट खेलाडी हुँ । काठमाण्डौमा स्कुल पढ्दा हामीहरु प्नि खुब क्रिकेट खेल्थ्यौ । त्यतिवेला मेरा मनमा पनि नेशनल टीमबाट खेल्ने सपना थियो । तर अध्ययनमा बढी समय दिनुपर्ने भएकाले मैले क्रिकेटमा धेरै समय दिन सकिन । त्यतिवेला नेपालका लागि खेल्ने सपना अधुरो रह्यो । तर नेशनल टीमबाट आफुले खेल्ने अवसर नपाए पनि म जस्तै सपना देख्ने थुप्रै युवाहरु नेपालका लागि खेलुन भन्ने मेरो सपना छ । त्यसैले लागि म क्रिकेट क्षेत्रमा लागेको हुँ । औपचारिक रुपमा भन्दा अध्ययन सकेर धनगढी फर्केपछि सन २०१० को अन्त्य देखि यस क्षेत्रको क्रिकेट क्षेत्रमा सक्रिय भएर लाग्दै आएको छु ।
२) तपाई धनगढी आउँदा यहाँको क्रिकेटको अवस्था कस्तो थियो ?
त्यतिवेला निकै कमजोर अवस्था थियो । राम्रा खेलाडी नै थिएनन् । स्तरिय मैदान थिएन । क्रिकेट समाग्री थिएनन् । खासै प्रतियोगिताहरु पनि आयोजना हुदैन थिए । भएका कतिपय प्रतियोगिताहरु पनि दर्शक विहिन थिए । व्यवस्थापन पनि निकै कमजोर थियो । खेलाडीहरु पनि जिन्स पाईन्ट लगाएर क्रिकेट खेलेको देखिन्थ्यो । व्यवसायिकता कत्तिपनि थिएन् । निकै कमजोर अवस्थाबाट गुज्रिरहेको थियो धनगढीको क्रिकेट त्यतिवेला ।
३) अहिले कस्तो छ ? 
अहिले त पुरै परिर्वतन भएको छ । क्रिकेट, केही भए पनि व्यवसायिक बन्न थालेको छ । दर्शकहरु टीकट काटेर यहाँ हुने प्रतियोगिताहरु हेर्न आउने गरेका छन । जसले सहजै अनुमान लगाउन सकिन्छ कस्तो अवस्था छ भनेर । हाल देश मै ख्याति प्राप्त प्रतियोगिताहरु धनगढीमा आयोजना हुन थालेका छन । चाहे त्यो देशकै सर्वाधिक धनराशीको एसपीए कप होस या केही दिनमा हुन लागेको एनपीएल । अनि अहिले राम्रा प्रदर्शन गर्ने थुप्रै खेलाडीहरु पनि उत्पादन भैसकेका छन । उनीहरु प्रत्येकसँग आफ्नै क्रिकेट समाग्री छन । एक से एक टीमहरु तयार भएका छन । क्रिकेट प्रतियोगिता भने पछि सवै सहयोग गर्न तयार हुन्छन । क्रिकेट मैदानहरु पनि तयार हुदैछन । फाप्लाको तयारी अन्तिम चरणमा रहेका वेला जुगेडामा पनि क्रिकेट मैदान बनाउने तयारी चलिरहेको छ । धनगढीले त क्रिकेट कै शहरको उपनाम पनि पाएको छ । समग्रमा कायाँपलट भएको जस्तो लाग्छ अनि अझै गर्न पनि बाकीँ छ ।
४) तपाईले सुरुमा धनगढीमा देशकै सर्वाधिक धनराशिको क्रिकेट प्रतियोगिता एसपीए कप गराउनु भयो ? एसपीए कपको पहिलो सस्कंरणमा धनगढीमा खासै क्रिकेट प्रति रुची थिएन । त्यही पनि यहाँले सफलतापुर्वक प्रतियोगिता सम्पन्न गर्नुभयो । त्यो कसरी सम्भव भयो ?
धनगढीमा राम्रो क्रिकेटको सम्भावना देखि सकेको थियो मैले । धनगढीमा क्रिकेटको क्रेज बढाउन एउटा ठुलो अनि स्तरिय प्रतियोगिता आयोजना गर्नु पर्ने महशुस गर्दै आएको थिए म । त्यसै समय मैले एसपीए कपको प्रस्ताव अघि सारे । त्यति वेला मात्र ४ लाखको बजेटमा पहिलो संस्करण गर्ने योजना बनाएँ । त्यतिवेला यतिको लगानीमा हुन लागेको यो प्रतियोगिता पहिलो थियो । अझै हामीले देश भरि कै टीमहरुलाई सहभागिता गराउने कुरा बताए पछि त धेरै जना हासे पनि धेरैले त्यो सम्भव नै नभएको बताए  । किनकी यस अघि यहाँ कसैले त्यसको आट गरेका थिएनन् । सानो बजेटको प्रतियोगिताहरु पनि नहुने धनगढीमा एक्कासी त्यत्रो बजेटमा प्रतियोगिता हुने सुने पछि धेरैले गर्न सक्दैन, गफै त हो नि भन्ने जस्ता शब्दहरु पनि बोले । तर म भने सक्छु भन्नेमा प्रतिबद्ध थिए । र सके पनि । त्यही ४ लाखको प्रतियोगिता अहिले चौथो संस्करणमा आईसक्दा ४० लाखको बजेटमा सम्पन्न गरिदै छ । देश मै परिचित प्रतियोगिता पनि भईसकेको छ । अब चाहीँ मान्छेहरुलाई विश्वास भएको छ आटे भने जे पनि गर्न सकिन्छ भनेर ।
५) त्यस पछि के गर्नुभयो ?
एपीए कपको सफल आयोजना पश्चात धनगढीको क्रिकेट क्रेजले निकै उचाई लियो । प्रतियोगिताहरु त आयोजना हुन थाले तर अझै पनि स्तरिय खेलाडीहरु अभाव यस क्षेत्रमा यथावत नै थियो । खेलाडीहरुको राम्रो प्रदर्शन हुन नसक्दा  प्रतियोगिताहरुमा प्रभाव पर्ने स्थिती थियो । त्यसैले वास्तव मै क्रिकेटको विकाश गर्न रुट लेवल देखि नै विकाश गर्न आवश्यक हुन्छ । जग बलियो भए पो घर बलियो हुने हो । त्यति सोचका साथ हामीले धनगढीमा क्रिकेट एकेडेमी स्थापना गर्ने निर्णय गरौ । त्यसमा क्रकेट प्रेमीहरु महेश शाह तथा क्यानका सदस्य समेत रहनु भएका धिरेन्द्र सावँदले पनि साथ दिनु भयो र एकेडेमीको स्थापना भयो । एकेडेमीको स्थापनाले यस क्षेत्रको क्रिकेट विकाशमा थप सहयोग पुगेको छ । एकेडेमी स्थापनाको एक बर्षमा नै हामीले ५ वटा ठुलो प्रतियोगिताहरु आयोजना गरेका छौ । खेलाडीहरुलाई सानै देखि अन्तराष्ट्रिय अनुभव दिने उद्येश्यले हामी मैत्रिपुर्ण खेलका लागि श्रीलंका गयौ । त्यस्तै भारतमा गएर प्रतियोगिताहरु खेल्यौ । त्यसले खेलाडीहरुमा आत्मविश्वास बढेको र आफ्ना थुप्रै कमि कमजोरी सुधार्ने मौका मिलेको अनुभव हामीसँग छ । हामी मात्र हैन उनीहरुलाई पनि नेपाल ल्याउनु पर्छ भनेर हामीले पहल गरौ । र मुम्बईको टीम यही चैत्र १७ गते आउदै छ भने श्रीलंकाको टीम पनि आउने तयारीमा छ । यसले दुवै देश बिचको सुमधुर सम्बन्ध स्थापना गर्न समेत सहयोग पुर्याउने छ । 
६) अहिले फाप्ला क्रिकेट मैदानमा जुट्नु भएको छ ? यसलाई के बनाउने सोचमा हुनहुन्छ ?
क्रिकेटका लागि मैदान पहिलो प्राथमिकता हो । धनगढीमा यस अघि खेलाईने मैदानहरु मध्ये धनगढी रंगशाला फुटबल मैदानमा परिणत गरियो अनि अञ्चल प्रहरी कार्यालयको मैदान छोटो र सधै स्वीकृती नपाईने । धनगढीमा मैदानको अभाव भएसँगै हामीले मैदान खोज्ने कार्य अगाढी बढाए । हेर्दै जादा मेरो नजरमा फाप्ला पर्यो । मैले सुरुमा फाप्ला देख्दा यो स्थानिय युवाहरुको रमाईलोका लागि फुटबल खेल्ने मैदानका रुपमा थियो । खाल्डैखाल्डा थिए । तर यसमा सम्भावना थियो र हामीले काम अगाढी बढायौ । अहिले अन्तराष्ट्रिय मापदण्ड अनुसारको क्रिकेट मैदान बनाउन हामी जुटेका छौ । अझै सवैको साथ पाए यसलाई स्टेडियमको ढाचाँमा अघि बढाईने हाम्रो सोच छ । त्यसमा हामी धेरै अगाढी बढीसकेका पनि छौ ।
७) ग्रिन क्लिन धनगढी जस्तो प्रतिष्ठित समाजिक संस्थाको अध्यक्ष, देशमै ख्याती प्राप्त कलेज एसपीएको निर्देशक, धनगढी क्रिकेट एकेडेमीको अध्यक्ष, क्षेत्र नम्बर ९ को उपाध्यक्ष पनि एकातिर पारिवारिक जीवन कसरी समय मिलाउनु हुन्छ, सवै तिर ?
यस्तो छ, म विभिन्न संघसस्थामा संग्लन्न छु । सवैतिर उपयुक्र्त व्यक्तिलाई उपर्युक्त जिम्मेवारी दिने गरेको छु । अनि समय अनुसार आफुलाई मार्गनिर्देशित पनि गर्ने गरेको छु । सवैले आ आफ्नो क्षेत्रबाट सक्दो सहयोग गरिदिनु भएको छ । अनि परिवारमा चाही सवैले मैले गर्ने काममा सहयोग गर्ने, प्रेरणा दिने भएकाले नै यो सम्भव भएको हो ।
८) क्रिकेटमा लागेर के पाउनु भो के गुमाउनु भो ?
अब, सवैभन्दा ठुलो कुरा सन्तुष्ट हुनु हो । क्रिकेटमा लागेर म सन्तुष्ट छु । आफ्नो क्षेत्र, देशलाई विश्वमाझ चिनाउन प्रयत्नरत छु । र लागि पनि रहने छु । त्यसैमा खुशी छु । 
९) क्यानलाई केही सुझाव दिन चाहनुहुन्छ ?
क्यानले गर्ने हरेक प्रतियोगिताहरु काठमाण्डौ र पोखरामा मात्र सिमित छ । अझै पहिले त काठमाण्डौमा मात्र हुन्थ्यो अहिले पोखरा थपिएको छ । ती प्रतियोगिताहरु धनगढी, महेन्द्रनगरमा किन नहुने जबकी अब हामी पनि अब सक्षम बनि सकेका छौ । केही पुर्वाधार निर्माणका क्रममा छौ । त्यसमा पनि क्यानको सहयोग आवश्यक छ । अनि राष्ट्रि प्रतियोगिताहरु यस क्षेत्रमा आयोजना गरिदिने हो भने यहाँका खेलाडीहरुको हौसला, उत्साह पनि बढ्ने थियो । त्यसले यहाँको समग्र क्रिकेट विकाशमा मदत पुग्नेछ । यस सम्बन्धमा क्यानले छिटो निर्णय लिन आवश्यक पनि छ ।
१०) अबको सपना के छ, तपाईको ?
म पनि एक आम नेपाली हुँ । साथै एक क्रिकेट प्रेमी पनि । सवै नेपाली जस्तै मेरो देशले छिट्टै विश्वकप खेलेको हेर्ने सपना छ मेरो । 

No comments:

Post a Comment