Thursday, 20 February 2020

काठमाडौंमा झक्कड थापाः जसले धेरैलाई हँसाए, आफू पटक पटक रोए


यज्ञराज जोशी। बाल्यकालदेखि झण्डै डेढ दशक भारतका विभिन्न ठाउँमा मजदुरी गरेर जोडेको नेपालगञ्जस्थित एक कठ्ठा ऐलानी जग्गामा बनाएको सानो दुईकोठे घरमा अधबैंशे झक्कड थापा रेडियो सुनिरहेका थिए।
रेडियोले फुक्यो, ‘तपाईंसँग प्रतिभा छ भने तपाईंका लागि सुवर्ण अवसर छ, नेपाल आइडलको नेपालगञ्ज अडिशन भोलि हुँदैछ।’
एक राष्ट्रिय टेलिभिजनले देशभरि गिती ‘रियालिटी’ कार्यक्रम ‘नेपाल आइडल’ आयोजना गर्दै थियो। अन्तर्राष्ट्रिय फ्रेन्चाइजी उक्त कार्यक्रमको अडिशन २०७३ फाल्गुनमा नेपालगञ्जमा थियो।
दैलेखबाट नेपालगञ्ज झरेका झक्कड सानो हुँदा गाउँमा खुब देउसी भैलो खेल्थे। आफै भट्याउँथे। मादल ठोक्थे। तिरिरि मुरुली बजाउँथे। भारतमा नंग्रा तिखार्दा तिखार्दै खिइएका उनलाई लाग्यो– घर नजिकै अवसर आएको छ। म पनि आफूसँग भएको प्रतिभा देखाउँछु। केही अवसर पो मिलिहाल्छ कि।
‘मेरो घर र अडिशनको दूरी सात किलोमिटर थियो,’ डेढ वर्षअघिको अडिशन, जसले झक्कडलाई धेरैसँग परिचित गरायो, त्यसदिनको स्मरण गर्दै उनले भने, ‘फाल्गुनको महिना, नेपालगञ्जको गर्मीमा पनि साइकल चढेरै सात किलोमिटर हिंडे। दैलेखी भाकामा स्वर आउँछ त्यो गाउनुपर्ला भन्ने सोचेको थिएँ।’
अडिशनस्थलको माहौल पूरै संगीतमय थियो। सबैजना गुनगुनाइरहेका थिए। सबै अभ्यासमा व्यस्त थिए। आ–आफ्नो पालो पर्खिएरहेका थिए। त्यही भिडमा मिसिए झक्कड। र, गाउन थाले दैलेखी भाका।
राति १ बजे पालो आयो। उनले ‘धासु’ इन्ट्रि मारे। ‘उध्रेको चोलीको खुकुलो तुना छ…’ बोलको गीतसँगै हात हल्लाएर निर्णायक (जज) हरु सामु झक्कड भुल्किए। जानीनजानी दुबै हात हल्लाएर नाच्दै गाउनु पछि उनको ‘ट्रेडमार्क’ नै बन्यो। उनको इन्ट्रिमा नै टेलिभिजन हेरिरहेका धेरैको खित्का छुटिसकेको थियो।
सयौंको आवाज परख्दापरख्दै थाकेका जजहरु पनि उनको इन्ट्रिबाट मनोरञ्जित देखिए। नाम सोधे।
‘झक्कड थापा’, हँसिलो मुहारका साथ जवाफ फर्कियो।
जजहरुले पनि त्यो नाम पहिलोपटक सुनेछन्। अनौठो लाग्यो क्यार। गलल्ल हाँसे। जजमध्येकी एक इन्दिरा जोशीले सोधि हालिन्, ‘अनि झक्कड भनेको के नि?’
‘अब नाम नै यस्तै हो’, झक्कडले आफ्नो नामबारेको अनविज्ञता प्रकट गरे।
इन्दिरा अझै शान्त भइनन्। उनले झक्कडको अर्थ खोतल्न खोजिन।
‘अब नामै त्यही हो, के अर्थ हुनु,’ निर्दोष पारामा झक्कडको जवाफ आयो।
सवाल–जवाफ टुंग्गिएको थिएन्। झक्कडले ‘म दैलेखी भाका गाउने हो’ भन्दै लय हाले, ‘फुल फलि गाउँ घर भरि, डगमगाया… होला, भाई प्रदेश हाई… बैनी घरै यो मन कति.. रो’ला… कार्तिक मैना…’
झक्कडको सुरताल केही जमेको थिएन्। तर अडिशन लिँदालिँदै थाकेका जजहरुले भने उनको रमाइलो प्रस्तुतीबाट मनोरञ्जन लिइरहेका थिए। जजहरुले अर्को गीत गाउन लगाए– झक्कडले दोहोरी गाए, लोकगीत गाए, आधुनिक गाए, फिल्मी गाए। जज हाँसिरहे, उनी गीत जोड्दै गए।
अन्त्यमा इन्दिराले ‘तपाईं एकदमै रमाइलो मान्छे। निर्दोष मन भएको मान्छे। जस्तो हुनुहुन्छ त्यस्तै रहनुहोला। अर्को पटक राम्रो तयारी गरेर आउनुहोला। यसपटकलाई धन्यवाद’ भन्दै झक्कडलाई बिदा गरिन्।
नेपालगञ्ज अडिशनको यो अनुभवसँगै भारतमा लामो समय बिताएका झक्कडको नेपालमै केही काम पाइएला कि भन्ने एउटा आशा टुट्यो।
आइडल टिमलाई झक्कडबाट मनोरञ्जन लिन अझै पुगेको थिएन। बाहिर उद्घोषक सुशील नेपालले पनि उनलाई गीत गाउन लगाए, ‘हातमा डबल झुम्का, कानमा डबल झुम्का’ भन्दै उनले आफ्नो ट्रेडमार्र्क देखाउँदै दर्शकलाई मनोरञ्जित तुल्याए।
अडिशन कार्यक्रम टेलिभिजनमा देखाइएपछि झक्कडको प्रस्तुती एकाएक हिट भयो। यूटुबमा उनी ‘ट्रेन्डिङ’ मा छाए। हिजोसम्म कसैले नचिनेका झक्कड तीब्र रुपमा भाइरल भइरहेका थिए। उनको प्रस्तुतीलाई मन पराउने भन्दा पनि रमाइलो मान्दै सेयर गर्नेहरुको संख्या अत्याधिक थियो।
‘बोरिङ’ अनुभव गरिरहेका मान्छेले हेर्दा पनि मिठो मुस्कानका साथ ताजगी मिल्नु उनको प्रस्तुतीको विशेषता थियो।
‘ठाँडी भाका म राम्रै गाउँन सक्थें,’ नेपालमै केही काम गर्ने सपना टुटेको त्यो दिन सम्झँदै झक्कडले भने, ‘मान्छेले एक लाइन समात्दा उसलाई त्यसमा अघि बढ्न सजिलो हुन्छ। धेरै सपनाहरु बोकेपछि कुनैपनि पूरा नहुन सक्छन्। मैले पनि सबै भाका गाउँन खोज्दा मिलेन जस्तो लाग्यो।’
अडिशनमा छनोट नभएपछि ‘खुब नेपाल आइडलमा गएर के के गर्छु भन्थिस, खाइस’ भन्ने प्रतिक्रिया उनले परिवार र छरछिमेकबाट सुन्नु पर्यो। उनलाई शरम लाग्यो। अर्को दिन त उनी घरबाट बाहिर समेत निस्केनन्। तेस्रो दिन नै उनी झोलीझम्टा बोकेर फेरि भारत भासिए।
त्यसपछि हराए झक्कड। तर, उनको प्रस्तुतीले भने यूटुयुबको ‘ट्रेन्डिङ’ धेरैदिनसम्म छाडेन्। युटूयुबर्सहरुले उनको प्रस्तुतीलाई ‘कमाई खाने भाँडो’ बनाए। थुप्रैले सब्स्क्राइब बढाए। कतिले त हजारौं आम्दानी पनि गरे। तर, उनी भने गुमनाम भए।
यसरी पटक पटक मानिसहरुलाई हाँस्ने बहाना बनिरहने झक्कडले भने जीवनमा धेरै ‘हन्डर’ खाएका छन्। नेपाल आइडल दोस्रो संस्करण सुरु हुँदासम्म हराएका तीनै झक्कडलाई नियतिले पुनः एकचोटी काठमाडौं पुर्याएको छ। यसपटक उनी काठमाडौंमा ‘नेपाल मै केही काम पाइएला कि’ भन्ने अर्को सपना बोकेर आएका हुन्।
झक्कडको खोजी‘केही काम पाइन्छ कि भनेर काठमाडौं आएको हुँ।’
डेढ दुईवर्ष हराएका झक्कड अघिल्लो साता एक यूटुब च्यानललाई अन्तर्वार्ता दिदैँ यसो भनिरहेका थिए। झक्कड काठमाडौं आएको थाहा पाएपछि मलाई उनको बारेमा बुझ्न मन लाग्यो। फेसबुक भरि उनको ‘आइडी सर्च’ गरें।
‘नेपाल आइडल’ को प्रस्तुतीपछि उनका यति ‘फेक आइडी’ बनेका रहेछन् कि धेरैमा ‘के यो साँच्चकै झक्कडजीको एकाउन्ट हो’ भनि प्रश्न लेख्दा पनि कतैबाट जवाफ आएन्।
दिमागमा अर्को उपाय फु¥यो। ‘इन्टरभ्यू’ लिनेसँग पनि त उनको केही सम्पर्क होला। ‘झक्कडजीको सम्पर्क नम्बर भए पाउँ न। म उनीसँग कुरा गर्न चाहन्छु’, म्यासेज लेखेको दुई दिनपछि नम्बरसहित ती इन्टरभ्यू कर्ताको ‘रिप्लाइ’ आयो। ‘थ्याङ्क्यु’ भन्दै नम्बर ‘सेभ’ गरें।
नम्बर पाएको दिन फुर्सद थिएन। अर्को दिन फोन गर्ने योजना थियो। फोन गरौंला भनेको बिहान अफिस (थापाथली) पुग्दै थिएँ। अफिसको आँगन (ब्लुबर्ड कम्प्लेक्स) मा तीनै झक्कड एक जना यूटुबर्सलाई अन्तर्वार्ता दिइरहेका भेटिए। वरिपरी मान्छेहरुले घेरिएका थिए। म पनि सरासर त्यहीँ गएँ। अन्तर्वार्ता सकिएपछि उनलाई अफिसमा बोलाएर ल्याएँ।
अरुण लामा, एकजना भिडियो सम्पादनकोे काम गर्ने यिनै व्यक्तिले झक्कडलाई काठमाडौं झिकाएका हुन्। उनी भन्दै थिए, ‘सर, दश मिनेटमात्रै है, अन्य मिडिया पनि इन्टरभ्यूका लागि कुरिरहेका छन्।’
मैले ‘हुन्छ’ म जति सक्दो चाँडो सक्छु भनें। तर, झक्कडको जीवनमा एकपछि अर्को गर्दै आउने टुइस्टका कारण कुराकानी एकघण्टासम्म लम्बियो। यसबीच अन्य मिडियालाई अरुणले दिएको समय पनि मैले ‘किल’ गरिदिएको थिएँ। मिडियामा झक्कडको कस्तो माग थियो भन्ने अरुणका मोबाइलमा आउने पटकपटकको फोनले पुष्टि गथ्र्यो। अरुणले ‘छोट्याउँ न सर’ भन्दै गरेको आग्रह पनि नजरअन्दाज गर्दै मैले झक्कडको जीवनका नउघ्रिएका सबै कथा सुनें।
नेपाल आइडलको अहिले दोस्रो सिजन चलिरहेको छ। मानिसहरुले भने अझै पहिलो सिजनका झक्कडको प्रस्तुती बिर्सन सकेका रहेनछन्। धेरैले दोस्रो सिजन चल्दै गर्दा ‘हामी झक्कडलाई मिस गरिरहेका छौं। झक्कड कहाँ छन्, उनलाई ल्याउनु पर्यो’ भन्दै कमेन्ट गरिरहेका थिए। एक–दुई जना हैन् त्यसो भन्ने सयौं थिए।
यस्तो एकखाले क्रेज देखेपछि कहाँ छन् त झक्कड भन्दै अरुणले उनको खोजी गरे।
‘झक्कडको क्रेज देखेर उनका समर्थकहरु धेरै छन् जस्तो लाग्यो’, झक्कडलाई भारतबाट काठमाडौं ल्याउने अरुणले नेपालखबरसँग भने, ‘मैलेपनि फेसबुकबाट उनी भारतमा रहेको पत्ता लगाउँदै काठमाडौं ल्याएको हुँ।’
अरुणले झक्कडसँग बाचा नै गरेका रहेछन्, ‘तिमी नेपाल आउ, तिमी यहीँ कमाउन सक्छौ।’
त्यो कुराले झक्कडलाई लोभ्यायो। एकपटक आइडल अडिशनमा पनि नेपालमै काम गर्न पाइन्छ कि भन्ने आशा निराशामा बदलिसकेको थियो। झक्कडले पुनः यसपटक पनि आशा मात्रै देखाउने त हैन् भन्ने प्रश्न पनि राखे तर अरुणले ‘नेपालमै काम पाइने’ ढुक्क गराउँदै उनलाई काठमाडौं झिकाए।
‘काठमाडौंमा मैले झक्कडजीका लागि एउटा सांस्कृतिक कार्यक्रमको कुराकानी पनि गरिसकेको थिएँ,’ अरुणले भने, ‘लेबरी काम गर्नुपर्दैन तपाईंको फ्यान फ्लोइङ राम्रो छ। काठमाडौंमै राम्रो जिन्दगी हुन्छ भनेपछि उनी तत्कालै काठमाडौं आउन तयार भए।’
विदेशी जीवनबाट स्वदेशमै काम पाउने आशासहित झक्कडले पुनः नेपालको बस समाते। सोझै नेपालगञ्ज आए र काठमाडौंको टिकट काटे।
अरुणको कुरो पत्याउने हो भने, जुन सांस्कृतिक कार्यक्रमका लागि झक्कडको कुरा भएको थियो। त्यस कार्यक्रमका मानिसहरुले ‘बजेट अभाव भएको र झक्कडलाई सामाजिक सञ्जालमा फनका रुपमा मात्रै लिने गरेको’ भन्दै ‘रिजेक्ट’ गरिदिए।
अरुणले त्यो कुरा सुनाएपछि काठमाडौं आउन ठिक्क परेका झक्कडलाई पहिलो गाँसमै ढुंगा जस्तै भयो। उनले आफूले टिकट काटिसकेको बताएपछि ‘ल आउन त काठमाडौं, म व्यवस्था गरौंला’ भन्दै अरुणले बोलाए।
गत भदौ ८ गते काठमाडौं आएका थिए, झक्कड। हामीले कुराकानी गर्दा उनको काठमाडौं बसाई एक हप्ता बढी भैसकेको थियो। केही यूटुबर्सहरुलाई अन्तर्वार्ता दिनुबाहेक यस समयमा उनले कुनै काम पाएनन्।
‘काठमाडौंमा काम नपाइने हो कि भनेर अस्ति राति त दुई बजेसम्म निद्रापनि लागेन्,’ कामको आशामा भारतको लेबरी छोडेर काठमाडौं आएका झक्कडले छटपटि सुनाउँदै उनले भने, ‘घरमा भारतबाट मलाई काठमाडौं बोलाइयो भनेर आएको थिएँ। अब फर्किन पनि शरम लाग्छ।
अरुणजीलाई नै केही पैसा मागेर पासपोर्ट बनाएर यतैबाट विदेश जाऔं कि भन्ने पो सोचेको छु। अझै केही काम पाउँछु कि भन्ने आशापनि बाँकी छ। दर्शकहरुले पनि झक्कडजी निराश नहुनु होला, हामी सहयोग गर्छौं भनेका छन्। तर सहयोग भने कसैले गरेका छैनन्।’
अरुण भने अबको दुईहप्तामै झक्कडको जीवनमा ‘केही परिवर्तन’ आउने दाबी गर्छन्। ‘काउली बुढी (सन्ध्या बुढा) लाई झक्कडको आमा बनाएर एउटा भिडियोको ‘कन्स्पेप्ट’ मेरो मनमा छ,’ उनले भने, ‘त्यो बनेपछि उनलाई भविष्यमा थुप्रै अवसरहरु आउनेमा म ढुक्क छु, त्यसपछि उनले लेबरी काम गर्नु पर्दैन, कलाकार बनेर पनि उनलाई पुग्छ।’
झक्कडको नामबाट आफ्नो दुनो सोझ्याउने प्रयास त हैन् नि? नेपालखबरको प्रश्नमा विश्वास दिलाउँदै अरुणले थपे, ‘मलाई यसअघि पनि एक मिडियाले झक्कडको नाममा पैसा खान लागेको आरोप लगायो। मलाई निकै दुःख लाग्यो। तपाईं अबको दुई हप्तामै उनको जीवनमा केही परिवर्तन आएको थाहा पाउनुहुनेछ। त्यसपछि जति पनि अफर आउनेछन् त्यसबाट हुने आम्दानीको सबै अंश उनको हुनेछ। त्यो उनले बनाएको लिगेसी हो। मैले त झक्कडलाई दर्शकहरुले खोजेको भएकाले मात्रै लेबरी काम गर्नुपर्दैन, कलाकारिता गरेर पनि तपाईंको जीवन चल्छ भनेर काठमाडौंको बाटो देखाइदिएको हुँ।’
‘मलाई लाग्छ काठमाडौंमै महिनाको लाख रुपैयाँ कमाउन सक्ने क्वालिटी उहाँमा छ,’ झक्कडकै अगाडी अरुणले मिठा सपना सुनाए।
बुबालाई चुँडेलले चुडेर लग्योदैलेख दुल्लुमा बुबाले पाँच छोराछोरी (तीनवटा भाई, दुई दिदी बहिनी) सहित आमा र एकजना अंकल गरि आठ जनाको परिवारलाई पालेका थिए। बुबा कहिलै भारत गएनन्। अर्काको साझो (अर्काको खेत बनाउनु) गर्ने काम गर्थे। भैंसी पाल्थे। घिउ बेच्थे। त्यसैबाट झक्कडको परिवार जसोतसो चलिरहेको थियो।
झक्कड भारतमै थिए। बुबालाई रोगले च्याप्यो। दिदीले खबर पठाइन्, ‘बुबा अति बिरामी हुनुहुन्छ, उपचार गर्नुपर्यो। केही पैसा लिएर आइज, केही पैसा म बनाउँला।’
दिदीले कानको सुन २० हजारमा बिक्री गरेर पैसा जम्मा पारिन्। झक्कडले भारतमा साथीहरुबाट २–२ हजार गरि ४१ हजार जम्मा गरि लखनउ पुगे।
‘दिदीले बुबालाई उपचारका लागि लखनउ पुर्याइसकेकी थिइन्’, भावुक बन्दै झक्कडले १८ वर्षमै बुबा गुमाउनुको पीडा सुनाए, ‘बुबालाई श्वास बढ्ने (दम), मृगौला तल खस्केको, फोक्सोभित्र घाउ आदि देखियो। एक हप्ता लखनउ बस्दा भएका सबै ६०–७० हजार रुपैयाँ सकियो। बुबालाई केही सञ्चो भएको थियो। घर लिएर आयौं।’
तर बुबालाई पूर्ण रुपमा निको भएको थिएन। उपचार गर्न पैसा पनि थिएन। बुबालाई घर पुर्याएर झक्कडले दशैंमा बुबाको हातबाट टिका थापे। बुबाको उपचारका क्रममा ऋण लागेको थियो। दिदीको पनि ऋण तिर्नु थियो र झक्कड फेरि कमाउन भारत जाने भए।
‘हाम्रोमा छोरीबेटीको पैसा लिनु राम्रो मानिँदैन,’ ऋण तिर्ने उदेश्यसहित म दशैं तिहार मनाएर घरबाट निस्कें, ‘भारत पुगेको सात दिन नबित्दै घरबाट बुबा बित्नुभएको खबर आयो।’
मंसिरको महिना धान बोक्ने समयमा उनका बुबा एक्लै खेतबारीमा गएछन्। खेतमै सुनिएको अवस्थामा उनको मृत शरिर भेटिएछ। गाउँले र उनका परिवारको ठम्याई थियो, ‘एक्लै जाँदा चुँडेल (मृत आत्मा) ले समातेपछि सुन्निएर मृत्यु भयो।’
झक्कडलाई पनि बुबालाई चुँडेलले नै लगेको विश्वास छ। उनी भन्छन्, ‘जंगल साइडतिर त अझै पनि चुँडेल हुन्छ। गाउँमा अरु मान्छेलाई पनि समातेको छ। मानिसहरु आफू तथा आफ्नो परिवारलाई चुँडेल नलागोस् भनेर अनेक भाकल गर्छन्। सूर्य ढल्किने बेला डाँडाहरुमा झ्याप्प चुँडेलसँग भेट हुन्छ भन्छन्। चुँडेल नलागोस् भनेर देउता (धामी, झाँक्री) बसाउँछन्। तीनले मागेको कुरा पुर्याउनुपर्छ। ऐना, काँहियो दिनुपर्छ।’
हामीले चुँडेलबारे अझै जिज्ञासा राख्यौं, कसरी बन्छ भन्छन् त चुँडेल गाउँतिर? उनले भने, ‘आधा जीवनमा बितेकाहरु चुँडेल बन्दा रैछन्।’ उदाहरण दिँदै उनले हामीलाई सम्झाए, जस्तै पेटको अपरेशन गर्दै बच्चा निकाल्ने क्रममा महिलाहरु मर्छन् नि, त्यस्ता चुँडेल बनेर निस्कँदा रहेछन्।’
कर्णाली राजमार्ग बनेपछि भने चुँडेल र भुतहरु अलि कम भएको उनले महसुस गरेका रहेछन्। ‘बाटो बनाउने क्रममा बमहरु बिस्फोट गराइए, गाडीहरु हिंडे। अहिले चाहीँ राति हिंड्ने क्रममा त्यति डर हुँदैन्,’ उनले भने।
आफै कमाउनुपर्छ भन्ने लागेपछि…पाँच कक्षामा पढ्थे। गाउँमा लाहुरेहरु कानमा टेप बजाएर, हातमा घडी झल्काएर फर्कन्थे। उनीहरुले आफ्ना छोराछोरीहरुलाई पनि नयाँ नयाँ सामान ल्याइदिन्थे। आफ्ना बालसखाहरु नयाँ सामानमा सजिएको देखेपछि झक्कडको बालमन पनि नलोभिने कुरो भएन्। उनलाई पनि त्यस्तै टेप ल्याउन, घडी लगाउन पाए हुन्थ्यो जस्तो लाग्थ्यो।
‘हामीले कहिलेकाहीँ मात्रै नयाँ चीज पाउँथ्यौं। त्यो पनि हात्ती छाप चप्पल,’ उनले बाल्यकालका कुरा सम्झे, ‘त्यो किन्ने बेलामा बुबाले हाम्रो खुट्टाको साइज लठ्ठीमा नाप्दै बजार ल्यान्थे र त्यही नाप अनुसारको चप्पल ल्याइदिन्थे। त्यो कहिले ठूलो हुन्थ्यो, कहिले सानो।’
अन्य बालसखाहरुले राम्रा राम्रा लाएको देखेपछि झक्कडलाई लाग्यो– अब पढाई छाडेर पैसा कमाउनु पर्छ। अनि नयाँ नयाँ चिज किन्नुपर्छ।
एकजना साथीसँग भारत जाने योजना बन्यो। हातमा एक पैसा थिएन्। उनले जुक्ति सोचे, बुबालाई किताब किन्न भनेर पैसा माग्ने।
घरमा पैसा थिएन। बुबाले भने, ‘मुसुरो लैजा, त्यो बेचेर किताब किन।’
‘हुन्छ’ भन्दै झक्कडले एक बोरा मसुरो बोके र बजार लागे। ‘२९ रुपैयाँ केजी मसुरो थियो। बेच्दा पाँच–छ सय रुपैयाँ भयो,’ उनले सम्झे, ‘त्यो पैसा लिएर साथी र म तीन दिन पैदलै हिंडेर चिसापानी (कैलाली र बर्दियाको सिमावर्ती तराईको स्थान) पुग्यौं।’
साथी पहिले पनि बुबासँग आइसकेका रहेछन्। उनलाई बाटो थाहा रहेछ। ठाउँ ठाउँमा गाउँलेहरुसँग पनि भेट हुन्थ्यो। उनीहरुले सोध्थे, ‘कहाँ जान लाग्या हो?’
घरमा भन्दिने हुन कि भन्ने डर हुन्थ्यो। उनीहरु जवाफ फर्काउँथे, ‘बुबाले तराईमा भैंसी लिनु भएको छ, त्यही ल्याउन जान लागेका हौँ।’
त्यतिबेला चाउचाउ ‘फेमस’ थियो। तीन दिन उनीहरुको खाना त्यति भयो। जंगलको बाटो थियो। ‘मनमा इण्डिया जाने रहरले डरलाई जित्यो,’ झक्कडले सम्झे।
चिसापानीमा मिठाई किनेर खाँदै थिए। एकजनाले सोधे, ‘घर कहाँ हो?’
उनीहरुले जवाफ फर्काए, ‘दैलेख दुल्लु।’
जिस्काउँदै ती मान्छेले भने, ‘ए दैलेखी रै छौ, दुल्लुका उल्लु।’
‘काम गर्ने हो?’
‘के काम हो?’
‘जेनेरेटरमा पानी हाल्नुपर्छ, बाख्रा चराउनुपर्छ।’
‘कति दिने हो महिनाको?’
‘तीन सय।’
अछाम, दैलेख, सुर्खेतका लाहुरेहरु चिसापानी हुँदै भारत जाने र घर फर्कने गर्छन्। त्यसैले त्यो ठाउँमा व्यापार राम्रै हुन्छ। खाजा नास्तासँगै किरानापनि भएको पसलले झक्कड र उनका साथीलाई अफर गरेको थियो। उनीहरु पहिलो जागिरका लागि तयार भए।
एक महिना काम गरिसकेपछि झक्कडलाई त्यहाँ काम गर्न मन लागेन्। जंगलमा दाउरा काट्ने र बाख्रा चराउने काममा उनलाई मन लागेन्।
नयाँ काम खोज्ने क्रममा उनले गाडीमा सहायक चलाक (खलासी) को काम पाए। तलब थियो, पहिलेको भन्दा दोब्बर ६ सय रुपैयाँ। झक्कड गाडीमा लागे।
जेठमा गर्मी हुन्थ्यो। एक जना चौधरी साथी थिए। उनीहरुले कर्णालीमा नुहाउने योजना बनाए र हाम फाले।
कर्णालीको गहिराईको कुनै अनुमान थिएन्। पहिलो ‘डाइभ’ मै उनलाई कर्णालीले बगायो। उनी बाहिर निस्कने प्रयास गर्दै थिए, सकेनन्। ‘झक्कडलाई कर्णालीले बगायो’ भन्दै उनका साथीले गुहार मागे। एकजना अछामकै स्थानीय युवती पौडी खेल्न जान्दिरहिछन्। झण्डै आधा किलोमिटर बगाएपछि पौडी काटेर ती युवतीले कपाल समाप्दै झक्कडलाई नदिबाट निकालिन्।
‘पानीमा बग्दा सुरुमा त जम्प लिँदै थिएँ,’ झक्कडले आफू मरेर बाचेँको उक्त घटना सम्झँदै भने, ‘पछि मुखमा पानी जान थाल्यो। मैले मुख बन्द गरें तर कर्णालीका अघि मेरो केही चलेन्। ती युवतीले मलाई बाहिर ल्याएर बालुवामा पल्टाइन्। सबै मानिस मलाई घेर्न आइपुगेका थिए। म आधा होसमा थिएँ। जुरुक्क उठेर हैट.. भन्ने आवाज निकालें, वरिपरीका सबै मानिस भागे।’
अरुले फालेको मकै खाएर बाँचेकेही दिनमा दैलेखबाट एक हुल मानिस भारत जाने भनेर आएछन्। उनीहरुले कर्णालीमा झक्कडलाई पनि देखे। भारत जाने हो भनेर सोधे। घरबाट नै भारत जान भनेर भागेका झक्कड उनीहरुकै पछि लागे।
‘बागेश्वर भन्ने ठाउँमा पुल बनाउने काम थियो,’ झक्कडले भारतका सुरुका दिन सम्झिए, ‘४५ रुपैयाँ दैनिक ज्याला थियो। ३३ दिन काम गरें। ३ सय ९० रुपैयाँ बचत गरें। ९–५ को ड्युटी थियो। खाजा खान समेत समय हुन्थेन्। लगातार काम गर्नु पथ्र्यो। बाठाहरु त पटक पटक पिसाब फेर्ने बाहनामा समय कटाउँथे, हामी जस्ता सोझा मान्छे दिन भरि दलिनुपर्थो।’
३३ दिनपछि त्यहाँको काम सकियो। बीचमा केही काम पाएनन् उनले। भएको पैसा सबै सकियो। ‘त्यसबेला १० रुपैयाँमा भारतमा खाना पाइन्थ्यो’, उनले सम्झे, ‘काम नहुँदा के खाने भन्ने पनि समस्या भयो। त्यस ठाउँमा काम नपाएपछि हामी बरेली आयौं। रेल वे स्टेशनमा मान्छेहरु मकै खाएर फाल्थे। हामी त्यही फालेका मकैका ठूसाहरु समाप्दै खान्थ्यौं। बाँकी पेट पानी खाएर भथ्र्यौं।’
एक हप्तापछि साँढे तीन सय भारुमा पलियामा भन्ने ठाउँमा एक पसलमा काम पाए। दुबै जना काममा लागे। पलिया धनगढीको सिमावर्ती बजार पनि हो। त्यहाँका अधिकांश ग्राहक नेपाली थिए। दिल्लीबाट सामान आउँथ्यो। उनीहरुको काम त्यो समान पहिलो तल्लाबाट माथिल्लो तल्लामा पुर्याउने हुन्थ्यो। साहुजीले भनेका सामान ल्याइदिने हुन्थ्यो।
‘हामी बच्चै थियौं। समानका बारेमा धेरै थाहा थिएन्’, आँखा रसिलो बनाउँदै उनले भने, ‘केही फरक समान ल्याइयो वा केही टुटफुट भयो भने साहुजीले सिधै पिटथे। निकै रुन मन लाग्थ्यो तर रुन पाइँदैन थ्यो। काम गर्नै मन लागेन्। एक महिना काम गर्यौं अनि छोड्यौं।’
घरबाट भागेको सात महिना बितिसकेपछि झक्कड घर फिर्ती भए।
‘घर फर्कंदा मसँग जम्मा २० रुपैयाँमात्रै बचेको थियो,’ पैसा कमाउने लक्ष्यका साथ घर छाडेका झक्कडले सम्झे, ‘शरिरमा पुरानै हाफ पाइन्ट थियो। जुन बसमा काम गर्दा साहुजीकी श्रीमतीले मेरो खलासीले पैसा हाल्छ’ भन्दै सिलाइदिएकी थिइन्। छोरा बाँचेर घर फर्कियो भन्दै आमा बुबा खुब रोए। म पनि रोएँ। आमा बुबाले ‘जे भयो भयो अब पढ’ भने म फेरि पाँच कक्षामा भर्ना भएँ।’
माओवादीले लाने पीरमा फेरि भारतझक्कड पाँच पास भई छ कक्षामा पुगिसकेका थिए। माओवादी द्वन्द्व उत्कर्षमा थियो। दुर्गम दैलेखमा माओवादीको आतंक अझै बढी थियो। गाउँमा युवायुवती हुर्के भने माओवादी जनमुक्ति सेनामा भर्ती गराउन बाध्य तुल्याउँथे। आमाबुबाको सहमती बिनै छोराछोरीलाई उठाउँथे। झक्कड पनि जवान हुँदै थिए। बुबा आमालाई पनि माओवादीले झक्कडलाई पनि लैजाने हो कि भन्ने पीर पर्यो।
‘त्यतिबेला बुबाआमासँग दुई विकल्प थिए’, झक्कडले भने, ‘या मलाई माओवादीमा पठाउनु पथ्र्यो या भारत। उहाँहरुलाई दोस्रो विकल्प सजिलो लाग्यो। फेरि म भारत जाने भएँ।’
‘गाउँमा माओवादीहरुले एकदमै गाह्रो गर्थे। राति राति घरमा आएर खान बनाउन भन्थे। जसको छोराले आर्मी पुलिसमा जागिर खाएको छ, उसलाई छोरा निकाल भन्दै बुबा आमालाई धम्की दिन्थे। बुबाआमालाई हामीलाई पढाउन त गाह्रो थियो। उल्टै उनीहरु चन्दा माग्थे। पाथीका पाथी धान, गहुँ लिन्थे। कसैले लभ म्यारिज गरेको छ भने उनीहरुलाई त्यो धान, गहुँ बोकाएर लैजान्थे’, संकोच मान्दै माओवादीले त्यसबेला दिएका दुख झक्कडले सुनाए। जसको कारण आफु परिवारबाट अलग भएर दोस्रो पटक भारत जान बाध्य भएको उनको भनाई छ।
बिहे र आफ्नै बन्ध्याकरणपुनः बागेश्वर पुगेका झक्कडको ज्याला थियो, महिनाको ७० रुपैयाँ। यता, घरमा झक्कडको बिबाहको कुरो चलेछ।
बुबाआमाले छिमेकीकी छोरीलाई सानैमा तिम्रो छोरीको बिबाह मेरो छोरासँग गराउने भन्ने समझदारी गरेका रहेछन्। किशोरावस्थामा पुगेपछि छोरीलाई अरुले कसैले पो लग्ने हो कि भनेर छिमेकीले झक्कडका बुबाआमालाई उनीहरुको बिबाह गराइदिने भनेछन्। दुवै परिवार राजी भएपछि बिबाहको कुरो टुंग्गियो।
केटीको परिवार निम्न वर्गीय थियो। जंगल नजिक उनीहरुको घर थियो। पाँच जना दिदी बहिनीमात्रै थिए। बाख्रा पाठा पालेर उनीहरुको जीविका चलिरहेको थियो। त्यसैले केटीले कति पनि पढ्न पाएकी थिइनन्।
‘म भारत मै थिएँ। बुबा आमाले बिबाह छ भनी बोलाए’, जुंगाको रेखी पनि नबसेको उमेरमा बिबाह भएको प्रसंग कोट्याउँदै झक्कडले भने, ‘बुबा आमाले सबै तयारी गरिसकेका थिए। विधिविधान पुर्याएर घरमा बुहारी भित्र्याए।’
घर फर्केपछि झक्कडको पढाई पुनः सात कक्षाबाट सुरु भएको थियो। बिबाह भएपछि बुबा आमाको चाहना नातीनातिना खेलाउने भयो। उनीहरु झक्कडलाई त्यसै कुरामा जोड दिन्थे। तर, झक्कड भने श्रीमतीसँग बोल्न नै शरम मान्थे। श्रीमती एकातिर काम गरिरहेकी हुन्थिन् उनी अर्कातिर लाग्थे।
‘बिस्तारै श्रीमतीसँग पनि माया बस्दै गयो’, बुबा बन्दाको अनुभव सुनाउँदै उनले भने, ‘दश कक्षामा पढ्दा मेरो छोरो जन्मियो। जुँगाको रेखी बस्या छैन् बचपनमै छोरा जन्म्यो भन्दै सबैले बधाई दिए। म पनि खुशी भएँ।’
पछि अर्को छोरापनि जन्मियो। दुई छोरा जन्मिसके अब अपरेशन गर्नुपर्छ भन्दै झक्कडले २४ वर्षमा आफ्नो बन्ध्याकरण गराए। प्रायः पाहाडमा महिलाहरुले बन्ध्याकरण गराउने गर्छन्। झक्कडले चाहीँ आफूले गरेका थिए। त्यसकारण झगडा हुँदा आफ्नी श्रीमतीले लगाउने घुर्की उनले रमाइलो पारामा सुनाए, ‘तिम्रोे त अब केही हुन्या हैन्, म त अर्कासँग गयापन छोराछोरी होइजान्या हुन्।’
अटोरिक्सामा गाउँलेलाई घुमाउने सपना
झक्कडले भारतमै काम गरेको पैसा जोगाउँदै नेपालगञ्जमा एक कठ्ठा ऐलानी जग्गा किनेको पाँच छ वर्ष भयो। दिदीहरुले ‘यतै आइज, बच्चाहरुलाई पढाउन लेखाउन सजिलो हुन्छ, उपचार गर्न सजिलो हुन्छ। चामल नेपालगञ्जबाटै लिनुपर्छ’ भन्ने सुझाव दिएपछि उनी नेपालगञ्ज झरेका थिए।
अहिले जेठो छोरा ६ कक्षामा पढ्छ। कान्छो एकमा। कम्तिमा १० कक्षासम्म पढाउने झक्कडको धोको छ।
‘आम्दानी केही छैन्। गाई पालौं भनेपनि जग्गा छैन्। घाँस पाइँदैन्। एउटा बाख्रा छ’, छोराहरुका लागि केही व्यवस्था मिलाएका झक्कडले भने, ‘पहिले भाडामा धेरै दुःख हुन्थ्यो। अहिले दुई कोठाको सानो घर छ। आफूले जति कष्ट गरेपनि परिवारलाई सुखै छ।’
‘मेहनत गरेर पाँच–साढे पाँच लाख रुपैयाँ जम्मा गर्ने सोच थियो,’ झक्कडले एकपटक जीवनमा साचेको सपना सुनाउँदै भने, ‘त्यस रकमले अटो रिक्सा किन्ने मन थियो। सिमा (रुपेडिया, नेपालगञ्ज) मा थुप्रै दैलेखीहरु आउँछन्। उनीहरुलाई गन्तब्यसम्म पुर्याइदिन्थें। त्यसैबाट गुजारा चलाउने सोचेको थिएँ। अहिलेसम्म पनि त्यही सोच छ।’
नेपालमै अवसर नपाएर विदेशिने लाखौं नेपाली युवाहरुका प्रतिनिधि पात्र हुन्, झक्कड थापा। यसबेला उनी दोस्रो पटक नेपालमै केही पाइने आशामा भारतको काम छाडेर आएका छन्। र, अवसर खोज्दैछन् काठमाडौं शहरमा।

अन्जन विष्ट: जसले २९औं खेलमा गरेको डेब्यू गोलले इतिहास रच्यो

यो स्टोरी भदौ २४, २०७६, मंगलबार नेपालखबर डटकममा प्रकाशित भएको हो।
फिफा विश्वकप छनोटमा मंगलबार नेपालले चाइनिज ताइपेविरुद्ध २–० को ऐतिहासिक जित हात पार्‍यो।
यो जित ऐतिहासिक किन थियो भने, फिफा विश्वकपको दोस्रो चरणमा नेपालले हात पारेको यो पहिलो जित हो। यस्तै होम एण्ड अवेमा छनोट शुरु भएपछि पनि यो पहिलो जित थियो।
यस पटक फिफा वरियतामा एसियाको शीर्ष ३४ भित्र परेपछि नेपालले सोझै दोस्रो चरणमा प्रवेश पाएको हो। जुन चरणमा नेपालले पहिलो जित हात पार्‍यो।
यो स्वीडिस प्रशिक्षक योहान कालिनले नेपाली टोली सम्हालेयताको पहिलो जित समेत हो। गतवर्ष माघमा उनले नेपाली टोली सम्हाले नेपालले खेलेका ६ खेलमा पहिलो जित हात पारेको हो। विश्वकप छनोटकै पहिलो चरणमा ६ दिनअघि कुवेतविरुद्ध ७–० ले स्तब्ध भएको नेपालले उत्कृष्ट पुनरागमनका साथ फिफा वरियतामा ४१औं स्थानमाथिको चाइनिज ताइपेविरुद्ध शानदार जित हात पारेको हो।
नेपालले सन् १९८६ को मेक्सिको विश्वकपदेखि छनोट खेल्न थालेको हो। त्यसयता नेपालले आठौंपल्ट विश्वकप छनोट खेलिरहेको छ। अहिलेसम्म नेपालले विश्वकप छनोटमा ३२ खेल खेलेको छ। जसमा चाइनिज ताइपेविरुद्धको जित जोड्दा नेपालले जितेको खेल संख्या ५ पुग्यो।
यसअघि नेपालले मकाउ र इस्ट टिमोरलाई २-२ पटक हराउनु नै विश्वकप छनोटमा नेपालको ठूलो उपलब्धि थियो। सन् २००२ विश्वकपका लागि २००१ को मार्चमा भएको छनोटमा नेपालले मकाउलाई ४–१ गोलले गरेको थियो। विश्वकप छनोटमा नेपाललाई पहिलो सफलता दिलाउन निराजन रायमाझीले २, बसन्त थापा र हरि खड्काले १-१ गोल गरेका थिए।
त्यसै छनोटको मकाउविरुद्धको दोस्रो खेलमा पनि नेपालले ६–१ ले विजयी भयो। उक्त खेलमा निराजन रायमाझीले ह्याट्रिक गरे। विश्वकप छनोटमा ह्याट्रिक गर्ने उनी एकमात्रै नेपाली खेलाडी हुन्। उनले खेलको ३८, ४९ र ५६ मिनेटमा गोल गरेका थिए। खेलमा बालगोपाल महर्जनले ५२, दिपक लामाले ६७ र बसन्त थापाले ९० औं मिनेटमा गोल गरेका थिए।
२०१४ को विश्वकपका लागि २०११ मा भएको छनोटमा नेपालले थप दुई जित हात पार्‍यो। काठमाडौंको दशरथ रंगशालामा भएका इस्ट टिमोरविरुद्धका दुबै खेल नेपालले जितेको थियो। पहिलो खेलमा इस्ट टिमोरलाई २–१ ले गोल गर्दा अनिल गुरुङले १५ मिनेटमा र जुमानु राईले ७० औंमिनेटमा गरेका थिए।
दोस्रो खेलमा नेपालले ५–० ले विजयी हुँदा अनिल गुरुङले चौथो, भोला सिलवालले ५६, जुमानु राईले ५९, जगजित श्रेष्ठले ८९ र सुजल श्रेष्ठले ९० मिनेटमा गोल गरेका थिए।
ताइपेविरुद्धको जितका नायक अन्जन

ताइपेविरुद्धको नेपाली जितका नायक रहे, मिडफिल्डर अन्जन विष्ट। नेपालका झै उनका लागि पनि यो ऐतिहासिक खेल बन्यो। नेपालका लागि २९औं खेल खेल्दै उनले यसै खेलमा डेब्यू गोल गरेका थिए। नेपालको जितका दुवै गोल उनको नाममा रहे।
कुवेतविरुद्ध ७–० ले पराजित हुँदा उनी प्रशिक्षक कालिनको पहिलो रोजाईमा परेका थिएनन्। ताइपेविरुद्ध भने उनले अनुभवी विक्रम लामाको स्थान लिए। प्रशिक्षकको विश्वास जित्दै उनले आफूलाई प्रमाणित समेत गरे।
खेलको तेस्रो मिनेटमा अन्जनको झन्डै २५ यार्ड टाढाबाट गरेको फ्रिकिक प्रहार गोलमा परिणत भयो। यस्तै ६२ औं मिनेटमा रवी पासवानको पासमा सुजल श्रेष्ठले हेडरमार्फत मिलाईदिएको पासमा अन्जनले दोस्रो गोल गर्दै नेपालको जितको कथा कोरे।
जितसँगै नेपाल अंक तालिकाको पुछारबाट तेस्रो स्थानमा उक्लिएको छ। नेपाल रहेको समूह बीका कुवेत, जोर्डन शीर्ष दुई स्थानमा छन्। नेपालले अब असोज २४ गते अष्ट्रेलियाविरुद्ध उसैको भुमिमा खेल्नेछ।
दाजुको प्रेरणामा फुटबलमा
अन्जनले फिलिपिन्सविरुद्ध कतारमा २०१४ मा भएको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए। उमेर समूहका प्रतियोगितामा छाप छाड्दै अन्जन सिनियर टोलीमा जमेका हुन्। 
हेटौंडाका अन्जन दाजु रन्जनको प्रेरणामा फुटबलमा लागेका थिए। दाजु रन्जनले पनि राष्ट्रिय टोलीबाट खेलिसकेका छन्। दाईका पछिपछि लाग्दै सानै उमेरबाट अन्जनले पनि बलसँगको साइनो गासे। २०१३ को यू–१६ साफ च्याम्पियनसिपमा उनी पहिलो पटक उमेर समूहको प्रतियोगितामा देखिएका थिए। 
दाजु रन्जन (९ नम्बर)का साथमा अन्जन
नेपालमै उक्त साफ यू–१६ च्याम्पियनसिपमा नेपाल उपविजेता भएको थियो। सेमिफाइनलमा बंगलादेशलाई हराउँदा उमेर समूहमा अन्जनले पहिलो गोल गरेका थिए। तर, भारतसँग भने नेपाल फाइनलमा १–० ले हार्दै उपविजेतामा सीमित रह्यो। अन्जनको पहिलो अन्तर्राष्ट्रिय मेडल त्यही थियो।
अर्को वर्ष अन्जनले एएफसी यू–१६ च्याम्पियनसिप खेले। त्यसपछि २०१५ को साफ यू–१९ च्याम्पियनसिपको उपाधि भारतलाई हराएर उपाधि जितेपछि अन्जनको करिअर उकालो लाग्यो। त्यसबेला भुकम्पले देशलाई थिलथिलो बनाएको थियो। अन्जन तथा कम्पनीले दिलाएको सफलताले देश दुखेका बेला मल्हमको काम गरेको थियो।
२०१६ मा अन्जनले नेपालबाट बंगबन्धु गोल्डकप तथा १२औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा स्वर्ण जिते। त्यही नै राष्ट्रिय टोलीबाट उनका ठूला उपलब्धि हुन्। 

सिन्धुमा फर्किएको फुटबल

यो स्टोरी प्रकाशित ३० बैशाख २०७६, सोमबार नेपालखबर डटकममा प्रकाशित भएको हो।

यज्ञराज जोशी । लामोसाँघुस्थित बसन्तपुर खेल मैदानमा शनिबार(२८ बैशाख) राष्ट्रिय टोलीका गोलरक्षक विकेश कुथुले दशक पूरानो फुटबल माहोल देखे। चारैतिर पाहाडले घेरिएको मैदानलाई पनि खचाखच दर्शकले घरेका थिए।
चौथो सिन्धु कपमा ए डिभिजन क्लब जावलाखेल युथ क्लब र गोर्खा ब्वाइज क्लबबीचको फाइनल भिडन्तमा खेलाडीको ‘मुभ’सँगै दर्शकको मुख चल्थ्यो। आ–आफ्ना क्लबलाई साथ दिन तन्नेरीहरु, बुढापाका देखि बालबालिकाहरु मैदान पुगेका थिए। मैदानमा ठाँउ नपुग्नेहरु नजिकै रहेको घरको छतमा बसेर खेलको मज्जा लिइरहेका थिए।
१३ वर्षपछि बसन्तपुर मैदानमा फुटबल फर्किएको थियो। यही मैदानमा स्कुल लेभलबाटै पसिना बगाउँदै राष्ट्रिय टोलीमा पुगेका विकेशलाई शनिबारको माहौलले अतित सम्झायो।
सिन्ध् कपले सिन्धुपाल्चोकको फुटबल माहोल फर्काएको छ
सिन्ध् कपले सिन्धुपाल्चोकको फुटबल माहोल फर्काएको छ
‘त्यसबेला सिन्धु कप भनेपछि टाढाटाढा गाउँबाट पनि फुटबल हेर्न मान्छेहरु आउँथे,’ कुथुले विगत सम्झदै नेपालखबरसँग भने, ‘आफ्नै गाउँठाउँमा हुने प्रतियोगिता खेल्दा समर्थकको साथ पनि गज्जबै पाइन्थ्यो। लामो समयपछि प्रतियोगिताले निरन्तरता पाउँदा पनि उस्तै दर्शकहरुको उपस्थिति देखेर निकै खुशी लाग्यो। अब प्रतियोगिताले निरन्तरता पाउँदै यो माहौल कायम रहन्छ भन्ने आशा छ।’
त्यसबेला जिल्लाको प्रतिष्ठित यो प्रतियोगिता खेल्न विभागीय टोलीहरु नेपाल पुलिस क्लब, नेपाल आमीसँगै हिमालय शेर्पा जस्ता टिमहरु पुग्थे। ती टिमहरुलाई पराजित गरेर नै विकेशसहितको स्थानीय सुनकोशी क्लबले तेस्रो संस्करणको प्रतियोगिताको उपाधि समेत जितेको थियो। गोरक्षकका रुपमा उत्कृष्ट प्रदर्शन गरेका विकेशको चर्चा त्यहीबेला राष्ट्रियस्तरमा चुलियो।
विकेश त्यसै प्रतियोगितालाई नै आफ्नो जीवनको ‘टर्निङ प्वाइन्ट’ मान्छन्। ‘सिन्धु कपमा आफ्नो क्षमता देखाउँन पाएपछि मलाई ए डिभिजनको क्लबमा मौका मिल्यो,’ फाइनलमा नगदसहित सम्मानित भएका स्थानीय स्टार विकेशले भने, ‘धेरैपछि आफ्नो मैदानमा टेक्न पाउँदा एकदमै खुशी लागेको छ। मेरो करिअरको सुरुवात यही मैदानबाट भएको थियो र आज यसै मैदानमा सम्मानित हुँदा गर्व लागिरहेको छ।’
राष्ट्रिय टोलीका गोलरक्षक विकेश कुथु सिन्धु कपबाटै उदाएका हुन्
राष्ट्रिय टोलीका गोलरक्षक विकेश कुथु सिन्धु कपबाटै उदाएका हुन्
सिन्धु कपकै प्रदर्शन पछि विकेशको करिअर भने एकपछि अर्को गर्दै उकालो लाग्यो। तर, सिन्धु कप भने थामियो। विकेशले ए डिभिजनका क्लब हुँदै राष्ट्रिय टोलीमा डेब्यू गरे। बाह्रौ दक्षिण एसियाली खेलकुदमा फुटबलको नेपालले स्वर्ण जित्दा नायक बने। तर, २०४५ सालमा स्थापना भएको युथ स्पोर्टस क्लबले भने सिन्धु कपलाई निरन्तरता दिन सकेन्। त्यसकारण तेस्रो संस्करणको च्याम्पियन बनेका विकेश चौथो संस्करणमा मैदान पुग्दा १३ वर्ष बितिसकेको थियो। 
पूरानो प्रतियोगिता
सुनकोशी गाँउपालिकाका स्थानीय इश्वर कार्कीले २०३८ सालबाट नै राष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता जनाउँन थालेका थिए। खेलकुदमा रुचि भएकै कारण उनले २०४५ सालमा स्थानीय युवाहरुलाई समेट्दै युथ स्पोर्टस क्लबको गठन गरे।
स्थापना भएको पहिलो वर्ष नै क्लबले जिल्ला स्तरीय फुटबल आयोजना गर्यो। त्यो क्रमले २०५२ सालसम्म निरन्तरता पायो। तर, त्यहीवर्ष नजिकै रहेको भोटेकोशी नदीको बाढीले बसन्तपुर मैदानमा ठूलो क्षति पुर्यायो र प्रतियोगिता रोकियो।
सिन्धु कप २०४५ सालबाट शुरु भएको थियो
सिन्धु कप २०४५ सालबाट शुरु भएको थियो
क्लबलाई मैदान पुर्ननिर्माण गर्न ठूलो रकम आवश्यक पथ्र्यो। त्यसमा तत्कालिन स्थानीय सांसद मोहनबहादुर बस्नेतले संसदीय कोषको रकम एक लाख सहयोग गर्दै ढाडस दिए। थप तीन लाख रुपैयाँ उठाउँदै क्लबले मैदान फेरि खेल्न योग्य बनायो।
‘मैदान त बनायौं तर त्यतिबेला युथ स्पोर्टसका सहयात्रीहरु भने छिन्न भिन्न भइसकेका थिए,’ क्लबका संस्थापक अध्यक्ष इश्वर कार्कीले भने, ‘म आफै पनि प्रतियोगिता खेल्न कहाँ कहाँ गइरहन्थे पछि प्रशिक्षक भए। अन्य साथीहरु पनि काठमाडौं लगायतका विभिन्न ठाउँमा गएपछि प्रतियोगिताले निरन्तरता पाउँन सकेन्।’
तर, इश्वरलाई भने प्रतियोगिताले निरन्तरता नपाएको छटपटि छँदै थियो। सोही कारण उनी फेरि क्लबलाई सक्रिय बनाउँन लागे। सदस्यहरु जुटाए र ६१ र ६२ सालमा लगातार प्रतियोगिता आयोजना गरे।
त्यहीबीच जन आन्दोलन भयो। इश्वर पौडी खेलाडीबाट पौडी प्रशिक्षक बनिसकेका थिए। उनको अधिकांश समय काठमाडौंमा बित्ने भए। यस्तै भुकम्पले पनि सिन्धुपाल्चोक थिलथिलो बनेपछि गोल्डकपले फेरि निरन्तरता पाएन्।
स्थानीय निकायको साथ
मुलुक संघियतामा गएपछि सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाको जिम्मा श्रवणकुमार जी.सीले पाए। आफ्नो जमानाका तेक्वान्दो खेलाडी समेत रहेका श्रवणले जिल्लामा खेलकुद गतिविधि बढाउँन जिल्लाको प्रतिष्ठित एवम् पूरानो सिन्धु कपलाई निरन्तरता दिन चासो देखाए।
गाउँपालिकाले चासो देखाएपछि युथ स्पोर्टस क्लब पनि जुर्मुरायो। पूर्व जिल्ला फुटबल संघका अध्यक्ष बीरबहादुर खड्काको नेतृत्वमा अघिल्लो वर्ष क्लब पुर्नगठन भयो। गोल्डकपलाई निरन्तरता दिन गाउँपालिकाले दश लाख रुपैयाँ दिने बचनबद्धता जनाएपछि सिन्धु कपले १३ वर्षपछि पुर्नजन्म पाउँने भयो।
बसन्तपुर मैदान, लामोसाँघु
बसन्तपुर मैदान, लामोसाँघु
‘गोल्डकपले निरन्तरता नपाउँनुको मुख्य कारण प्रायोजक नपाउँनु र आर्थिक अभाव नै थियो,’ आयोजक युथ स्पोर्टसका अध्यक्ष खड्काले भने, ‘गाउँपालिकाले १० लाख रुपैयाँ सहयोग गर्ने भएपछि बाँकी रकम जुटाउँदै हामीले ५५ लाखको बजेटमा सिन्धु कप आयोजना गर्दै सिन्धुपाल्चोकमा पुनः फुटबल माहौल ब्युताउँन सफल भएका छौं।’
आठ दिन चलेको प्रतियोगितामा ए डिभिजनका क्लबहरु आर्मी र एपीएफसँगै जावलाखेल युथ क्लब र फ्रेण्ड्स क्लबको सहभागिता थियो। त्यसबाहेक थप चार टोलीहरु थिए। रोमाञ्चक फाइनलमा १० खेलाडीमा सीमित भएपनि जावलाखेलले रुपेन्देहीको गोर्खा ब्वाइजलाई पराजित गर्दै आठ वर्षपछि उपाधिको स्वाद चाख्न पायो। पछिल्लोपटक २०६७ मा तिलोत्तमा गोल्डकपको उपाधि उचालेपछि जावलाखेलले जितेको यो नै दोस्रो उपाधि थियो।
प्रतियोगितालाई निरन्तरता दिन आगामी संस्करणमा गाउँपालिकाले २० लाख रुपैयाँ छुटउने गाउँपालिकाका प्रमुख जिसीले समापन समारोहमा घोषणा गरे। उक्त रकम पाए अझै राम्रो व्यवस्थापनका साथ देशका चर्चित क्लबहरुलाई बसन्तपुर मैदानमा ल्याएर खेलाउँने योजना आयोजक युथ स्पोर्टसका अध्यक्ष खड्काले सुनाए।
खेलाडीलाई आर्थिक सहयोग
सिन्धु गोल्डकप आयोजकले प्रतियोगिताको फाइनलमा विभिन्न खेलका खेलाडीहरुलाई सिन्धुपाल्चोकमा जमघट गराएको थियो। समापन समारोहमा खेलकुदका माध्यमबाट देशको नाम उँचो बनाउने विभिन्न खेलका ११ जना खेलाडीहरुलाई आर्थिक सहयोगसहित सम्मान समेत गरियो।
नेपाललाई अघिल्लो डिसेम्बरमा विश्व शारिरिक सुगठनको विश्व च्याम्पियनसिपमा स्वर्ण जिताउँने महेश्वर महर्जनलाई एक लाखसहित सम्मान गरिएको थियो।
यस्तै नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउँने भेट्रान म्याराथन धावक जीतबहादुर केसी, दक्षिण एसियाली खेलमा लगातार चारपटक स्वर्ण जितेको तेक्वान्दोका दीपक विष्ट, पूर्व राष्ट्रिय भलिबल खेलाडी भरतबहादुर शाह, भलिबलकी कोपिला उप्रेती, एथ्लेटिक्सकी कान्छीमाया कोजु, तेक्वान्दोका सक्षम कार्कीलाई ५०–५० हजारसहित सम्मान गरेको थियो।
आयोजकले देशको नाम उँचो बनाउँने खेलाडीहरुलाई नगदसहित सम्मान गरेका थिए
आयोजकले देशको नाम उँचो बनाउँने खेलाडीहरुलाई नगदसहित सम्मान गरेका थिए
यस्तै विकेश कुथु, स्वर्गीय अशोक महर्जन, रोहेन्द्र खड्का, रोजिना कार्की, सुदीप श्रेष्ठ र शर्मिला खड्कालाई समेत २५–२५ हजार नगदसहित सम्मान गरिएको थियो।
सम्मान ग्रहण गरेपछि ओलम्पियन दीपक विष्टले आयोजकलाई धन्यवाद दिँदै सम्मानले बाँकी जीवन पनि खेलमा लगाउँन प्रेरणा मिलेको बताए।
‘जीवनको २०–२५ वर्ष खेलमा लागेर देशलाई जुन योगदान दिएका थियौं। त्यसलाई आयोजकले हामीलाई सम्मान दिएको छ,’ विष्टले भने, ‘यस सम्मानले बाँकी रहेको जीवनमा पनि राष्ट्रका लागि अझै केही गरौं भन्ने जोश जाँगर थपिएको छ।’

सुस्मिताको साहस: एक दिन परीक्षा नहुँदा स्वर्ण


यो स्टोरी प्रकाशित १५ बैशाख २०७६, आइतबार नेपालखबर डटकममा प्रकाशित भएको हो।

यज्ञराज जोशी
बैशाख ७ गते दिउँसो ३ बजे बीबीएम पहिलो सेमिस्टर अन्तर्गत अंग्रेजी विषयको परीक्षा सकेर सुस्मिता तामाङ हतारहतार त्रिभुवन विमानस्थल पुगिन्।
उनलाई सोही दिन नेपालगञ्ज पुग्नु थियो। अर्कोदिन बिहान उनले आठौं राष्ट्रिय खेलकुदमा उसुको छाङछ्वान विधामा प्रतिस्पर्धा गर्दै थिइन्।
साँझ ५ बजे फ्लाइट डिले भएर ६ बजेमात्रै उड्यो। नेपालगञ्ज पुग्दा त्यस्तै ७ बजेको थियो। अघिल्लो साँझ मात्रै पुगेकाले सुस्मिताले स्थानीय भेन्युमा अभ्यास गर्न पाइनन्।
आठ गते बिहान १० बजे बजे उनको खेल निर्धारित थियो। सुस्मिताले ८.९५ अंकसाथ प्रदेश १ की पम्फा राई (८.४५) र सशस्त्र प्रहरीकी अस्मिता श्रेष्ठ (७.६५) लाई पछि पार्दै स्वर्ण जितिन्।
नेपालगञ्जमा उनले स्वर्ण जितेको खुशी साट्न पनि भ्याइनन्। उनलाई त्यही दिन काठमाडौं फर्किनुपर्ने थियो। भोलिपल्ट ९ गते सामाजशास्त्रको परीक्षा दिनुपर्ने चटारो थियो।
नेपालगञ्जबाट सवा ६ बजे उडेकी सुस्मितालाई साँझ पौने ९ बजेमात्रै घर(भक्तपुर) फर्किन सकिन्। परीक्षा सकिएपछि नेपालखबरसँग कुराकानी गर्दै उनले भनिन्, ‘प्रश्नहरु सजिलै थिए। खेलमा जस्तै परीक्षामा पनि ‘गोल्ड’ आउँछ होला।’
समय व्यवस्थापन गरी खेलमा
सुस्मिता तामाङ
सुस्मिता तामाङ

योसहित लगातार तीन राष्ट्रिय प्रतियोगितामा स्वर्ण जित्दै ह्याट्रिक गरेकी सुस्मितालाई परीक्षाकै समयमा आठौं राष्ट्रिय खेलकुद पर्दा निकै सकस भएको थियो। नेपालमा खेलेर मात्रै पुग्ने अवस्था छैन। एक पटक उनलाई खेलभन्दा पढाइमै ध्यान दिउँ भन्ने पनि लागेको थियो। खेल तालिका आउँदा परीक्षाको बीचमा एक दिन ग्याप देखियो। खेलमा रुझेकी सुस्मिताको मनले मानेन्। उनले समय व्यवस्थापन गर्ने विचार गरिन्।
‘नेपालमा विमानहरु समयमै उड्दैनन्, डिले हुन्छ भन्ने सुनेकी थिएँ,’ उनले भनिन्, ‘त्यस्तो भयो भने चाहिँ उता गेम अनि यता परीक्षा पनि छुट्ने हो कि भन्ने डर मनमा थियो।’ धन्न जहाज ढिलो उडे पनि उनले खेल र परीक्षा दुवै भ्याइन्।
‘खेलमा त जितियो प्रश्नहरु सजिलो आउँदा परीक्षा पनि राम्रै भएको छ’, सुस्मिताले भनिन्।
उनी राष्ट्रिय खेलकुदको विजेता टोली त्रिभुवन आर्मी क्लबकी खेलाडी हुन्। आर्मीले जितेका १ सय ४० स्वर्णमध्ये एक उनको पनि एउटा हो। सन् २०१६ मा भएको बाह्रौ दक्षिण एसियाली खेलकुद (साग)मा आयोजक भारतसँग पछि परेर उनले देशका लागि रजत पदक समेत जितेकी थिइन्।
घरेलु प्रतियोगितामा भने उनले छैटौं, सातौं र आठौं गरी लगातार तीनवटै संस्करणमा स्वर्ण जितिसकिन्। राष्ट्रिय प्रतियोगितामा सहभागिता भने उनको यो चौथो पटक हो। भक्तपुरमा उसु खेल्दै हुर्किएकी उनले ९ वर्षको उमेरमै पाँचौ राष्ट्रिय प्रतियोगिता खेलेकी थिइन्। टुँडिखेलमा भएको उसु स्पर्धामा भने उनी दोस्रो हुँदै रजत जितिन्।
सुस्मिता तामाङ
सुस्मिता तामाङ
‘म दोस्रो भए भन्ने चाहिँ थाहा थियो तर राष्ट्रियस्तरमा रजत जित्नुको अर्थ त्यसबेला बुझेकी थिएन,’ सुस्मिताले पहिलो राष्ट्रिय पदक जित्दाको सम्झना गरिन्।
उसुमा खेलाडीले आफ्नो मार्शल आर्टस कला तरवार, लठ्ठी अनि खाली हातले देखाउँछन्। त्यसका लागि अलग अलग शैली, रणनीतिको विविधता निर्णायकहरु सामु प्रस्तुत गर्छन्। खेलाडीले प्रस्तुतीको शैलीका आधारमै निर्णायकहरुले दिने अंकका आधारमा स्वर्ण, रजत र काँस्यको छिनोफानो हुन्छ।
धनगढीमा भएको छैटौं राष्ट्रिय खेलकुद तरवार र लठ्ठी गरेर एउटा मात्रै मेडल आउने अनि हातको मात्रै एउटा मेडल दिइने नियम थियो। उनले हातको मात्रै प्रदर्शनका क्रममा स्वर्ण जितिन् भने तरवार र लठ्ठीको जोड्दा भने रजतमा खुम्चिनु पर्यो।
यस्तै दुईवर्ष अघि पूर्वाञ्चलमा भएको सातौं राष्ट्रिय खेलकुदमा अझै फरक नियम थियो। त्यहाँ तरवार र लठ्ठी खेल्नेले हातको खेल्न पाउँदैनथ्यो भने हातको खेल्नेले तरवार र लठ्ठी खेल्न पाउँदैनथ्यो। उनले हातले मात्रै प्रदर्शन गर्न पाइन् र त्यसमा गोल्ड हात पर्यो।
सुस्मिताले २०१० मा सिंगापुरमा भएको जुनियर वल्र्ड उसु च्याम्पियनसिप, २०१४मा भएको इञ्चोन एसियन र अघिल्लो वर्ष इन्डोनेसियामा भएको अठारौं एसियन गेम्समा गरी विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव पनि लिइसकेकी छिन्। तर, अरु देशको स्तरीय प्रशिक्षित खेलाडीका अघि अन्य नेपाली खेलाडी झै उनको पनि केही लागेन्।
सुस्मिता तामाङ
सुस्मिता तामाङ
यद्यपि इन्डोनेसियामा अघिल्लो वर्ष सम्पन्न एसियन गेम्समा भने उनले नेपाली खेलाडीहरुले आजसम्म ल्याएको स्कोरभन्दा सर्बाधिक स्कोर ल्याएकी थिइन्। नेपाली खेलाडीलाई उसुका अन्तर्राष्ट्रिय खेलमा ९ स्कोर नै कटाउँन गाह्रो भइरहेको अवस्थामा उनले ९.२५ स्कोर ल्याउँदै नयाँ कीर्तिमान बनाइएकी थिइन्।
‘त्यो स्कोर अझै राम्रो हुनसक्थ्यो होला तर दुर्भाग्य खेलअघि मेरो खुट्टाको अप्रेशन गर्नुपर्यो,’ उनले भनिन्, ‘खुट्टाकै समस्याका कारण मैले एशियन गेम्सका लागि राखिएको क्याम्पमा पनि सहभागिता जनाउँन पाएकी थिइन्। तर, अन्तिम समयमा चीनमा भएको १७ दिन अभ्यासले त्यो कीर्तिमान बनाउँन सघाउ पुर्यायो।’
यसैवर्ष डिसेम्बरमा नेपालमै आयोजना हुने दक्षिण एसियाली खेलकुद सागमा सुस्मिताको स्वर्ण जित्ने लक्ष्य छ। उनले त्यो सम्भव पनि देखेकी छिन् तर त्यसका लागि न्यूनतम पूर्वाधारहरुको व्यवस्था सम्बिन्धित निकायले गरिदिनुपर्ने उनको माग छ।
‘सागमा यसपाली जसरी गोल्ड ल्याउँछु भन्ने छ,’ उनले योजना सुनाउँदै भनिन्, ‘तर पहिले त एउटा हल नै राम्रो चाहिन्छ। अहिले दशरथ रंगशाला परिसरमै रहेको मिनी कभर्डहलमा अभ्यास गरिरहेका छौं। वर्षामा त्यहाँ पानी पर्छ। म्याट पनि अर्कै हुनुपर्ने तर कराँतेले ओछ्याउने म्याटमा खेलिरहेका हुन्छौं। न्यूनतम पूर्वाधारहरुमात्रै पनि मिलाइदिने हो भने हामी देशका लागि अन्तर्राष्ट्रिय मेडल थप्न सक्छौं। त्यसतर्फ सम्बन्धित निकायको ध्यान पुगोस्।’

कमजोरीको छायाँमा राष्ट्रिय खेलकुद

यो स्टोरी १४ बैशाख २०७६ मा नेपालखबर डटकममा प्रकाशित भएको हो।
नवौ राष्ट्रिय खेलकुदको झण्डा ग्रहण गर्दै गण्डकी प्रदेशका पदाधिकारी
आठौँ राष्ट्रिय प्रतियोगिताका नेपालगञ्ज रंगशालामा चीनबाट आधुनिक प्रविधिको पोट्रेबल प्याराफिट जडान गरिएको थियो। उक्त प्याराफिटको माथिल्लो भागको दुई तह रातो रिबन लगाएर छुट्टाइएको थियो।
उक्त क्षेत्रकै माझमा राष्ट्रपति विद्यादेवी भण्डारीको आसन ग्रहणको व्यवस्था गरिएको थियो। त्यसैले, धेरैले भीआईपी एरिया भएकाले रातो रिबनको क्षेत्र भन्दामाथि नजान उद्घोषकले पटक पटक अनुरोध गरेको ठाने।
तर, कारण भने भिन्नै थियो। प्याराफिट खचाखच भरिएपछि धेरैजसो दर्शकहरुले उक्त रातो रिबनको घेरा पनि नाघे, अनि उद्घोषक आफैले कारण खोतल्दै भने, ‘हामी तपाईंहरुकै सुरक्षाका निमित्त अनुरोध गरिरहेका छौँ। कृपया रातो रिबनभन्दा माथिको क्षेत्रमा नगई दिनुहोला।’
उक्त क्षेत्रमा दर्शकहरु बस्दा प्याराफिटमा जोखिम बढ्ने डर आयोजकलाई थियो। चीनबाट चैत्र दोस्रो साता मात्रै आइपुगेको प्याराफिटका सबै नट–बोल्ट कस्ने काम नसकिदैँ ‘अन्डर कन्स्ट्रक्सन’ प्याराफिटमै आयोजकले देशकै प्रमुख व्यक्ति र हजारौँ दर्शकहरुको ज्यान जोखिममा राखेर उद्घाटन सम्पन्न गर्यो।
विश्वमा कहीँपनि ‘अन्डर कन्स्र्टक्सन’ साइटमा कुनैपनि गतिविधि हुँदैनन्। अझै खेलमा भने हजारौं दर्शकहरुको उपस्थित हुने भएकाले त्यहाँ सुरक्षालाई पहिलो प्राथमिकतामा राखिन्छ। तर, विश्वको सर्वमान्य सिद्धान्त ‘शुरुमा सुरक्षा’ लाई लत्याउँदै आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) हजारौँको ज्यान जोखिममा राख्यो।
‘हामीलाई प्राविधिकले प्याराफिटमा उद्घाटन गर्न मिल्छ भनेपछि मात्रै उद्घाटन गरेका हौँ’ राखेप सदस्यसचिव तथा मुल आयोजक समितिका अध्यक्ष केशव विष्ट भन्छन्, ‘यसपटक पूर्वाधारमा झण्डै १ अर्बभन्दामाथि खर्च गर्यौं। सबैभन्दा ठूलो समस्या बजेटको हो। अझैपनि आयोजनाको अपुग ११ करोड रुपैयाँ आइपुगेको छैन। बजेटको समस्या, निर्णय ढिलो हुने समस्या भएकाले धेरै पूर्वाधार समयमै सकिएनन्।’
निर्माणाधिन प्याराफिटमा उद्घाटन गर्नु यसै साता सम्पन्न आठौँ खेलकुदको एकमात्रै कमजोरी होइन। निर्माण भएका हरेक पूर्वाधारमा समस्या देखिए, अनि परम्परागत व्यवस्थापनको कमजोरीले आठौँ खेलकुदको उत्साहलाई छायाँमा पारिदियो।
आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको सम्पूर्ण भौतिक पूर्वाधार, खेल तथा खेलाडी व्यवस्थापन सम्पूर्णको जिम्मेवारी राखेप स्वयंले गरेको थियो। राखेपकै काम गराई र व्यवस्थापनको छायाँमा राष्ट्रिय खेलकुद परेको हो। राखेपले पूर्वाधारमा छलाङ मारेको दावी गरेपनि निर्माणमा भएको ढिलासुस्तीका कारण दुईवर्ष अघिबाट शुरु भएको तयारीले पनि पूर्णता पाएन। कुनैपनि पूर्वाधार पूर्ण रुपमा बनि नसक्दै खेलहरु सञ्चालन भए। एकातिर खेलाडीहरु खेलिरहँदा अर्कातर्फ निर्माणको काम जारी थियो।
नेपालगञ्ज रंगशालालाई २५ करोडमा स्तरोन्नति गरेको राखेपले मैदानमा विश्वभर प्रयोग हुने बर्मुडा घाँस रोपेको थियो। तर बर्मुडा घाँसलाई आवश्यक पर्ने पानीको व्यवस्था नगर्दा मैदानमा खेल खेलाउँदा सम्म उक्त घाँस सुक्ने अवस्थामा पुगेको थियो।
रंगशालासँगै रहेको पौडी पोखरीको काम अझैपनि सकिएको छैन्। प्रतियोगिता दौरान २३ करोड लागतको उक्त पोखरी निर्माण सम्पन्न नभएपछि अन्तिम दिनसम्म पनि पौडी कहाँ हुने भन्ने निश्चित थिएन। तर, स्थानीय एक होटलको पौडी पोखरामा आयोजना गर्दै राखेपले लाज जोगायो। काठमाडौँपछि रंगशाला परिसरमा बनेको उक्त अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने मिल्ने पौडी पोखरीले अबको दिनमा पूर्णता पाउने हो कि हैन भन्ने पनि शंका छ।
यस्तै, नेपालगञ्जमै सुटिङ रेन्ज, भारोत्तोलन एकेडेमी, कभर्ड हल र जुडो हल पनि निर्माणाधिन अवस्थामै सञ्चालन भए। बाँकेको खजुरामा शुक्र भलिबल कोर्ट, बर्दियामा कबड्डी हल, खो–खो कभर्ड हल, सेपाकताक्रो कभर्ड हलले पनि पूर्णता पाएनन्। दाङको बेलझुन्डिमा काठमाडौँबाहिर पहिलो पटक एथ्लेटिक्स प्रतियोगिताको लागि सिन्थेटिक ट्रयाक निर्माण भएको छ। २५ करोड लागतको उक्त सिन्थेटिक ट्रयाकमा नै आठौँ राष्ट्रिय प्रतियोगिताका सम्पूर्ण दौडका स्पर्धाहरु भए।
काठमाडौँमा दशरथ रंगशालामा भुकम्पमा क्षति पुगेपछि पहिलोपटक धेरै खेलाडीले दाङकै उक्त नवनिर्मित सिन्थेटिक ट्रयाकमा दौडको अनुभव लिएका थिए। तर, दौड सुरु हुनुअन्तिम दिनसम्म पनि सिन्थेटिक ट्रयाकको काम सकिएको थिएन। म्याराथनको रुट पहिल्याउन पनि आयोजकले ध्यान दिएको पाइएन। जसका कारण अन्तिम दिनमात्रै म्याराथनको रुट खेलाडीहरुले थाहा पाए।
दाङकै तुल्सीपुरमा निर्माण भएको कभर्ड हल, लमही र कोहलपुलमा स्तरोन्नती गरिएका क्रिकेट मैदान, कपिलवस्तुको कुस्ती मैदानमा पनि कमजोरी कै माझ प्रतियोगिताहरु सञ्चालन भए।
व्यवस्थापकीय कमजोरीको पूरानै रोग
दाङमा निर्माण गरिएको एथ्लेटिक्स ट्रयाक मोफसलमै पहिलो हो
दाङमा निर्माण गरिएको एथ्लेटिक्स ट्रयाक मोफसलमै पहिलो हो

बाँकेको नेपालगञ्ज केन्द्रित भएर आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका खेलहरु बर्दिया, दाङ, रुपन्देही र कपिलवस्तुमा सञ्चालन गरियो। सबै ठाँउमा देखिएको व्यवस्थापकीय कमजोरी राष्ट्रिय प्रतियोगिता छायाँमा पर्ने अर्को कारणका रुपमा देखियो।
उद्घाटन र समापन समारोह नेपालगञ्ज रंगशालामा भव्य भएपनि पदक दिने क्रममा भने समग्रमा दोस्रो भएको पुलिसका स्थानमा एपीएफलाई ट्रफी दिदैँ आयोजकले गम्भीर त्रुटि गर्‍यो। जबकि, समग्रमा दोस्रो स्थान पुलिसले हात पारेको थियो। प्राविधिक समितिका संयोजक गंगाबहादुर थापामगर कम्प्युटर इन्ट्री गर्दा गलत पर्न गएको भन्दै पन्छिए।
यस्तै राखेपले प्रतियोगिता बैशाख ५ गते घोषणा गर्दा चैत्र अन्तिम साता गरेको पत्रकार सम्मेलनमा ३ सय ७२ स्वर्णका लागि खेलाडीहरुले प्रतिस्पर्धा गर्ने बताएको थियो। तर, आठौँको समापन हुँदा जम्मा ३ सय ३२ स्वर्णमात्रै देखिए।
अधिकांश खेलहरु निर्धारित कार्यतालिका र समयमा पनि सुरु भएनन्। दाङमा कराँते प्रतियोगिता अघि भएको उद्घाटन समारोह मन्तव्यका कारण लम्बिदा सो दिन हुने खेल नै अर्को दिन सार्नु पर्‍यो। उक्त कार्यक्रममा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्मा तथा राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिना स्वयं उपस्थित थिए।
यस्तै, व्यवस्थापनमा कराडौँ खर्च गरिएपनि खेलाडीहरुबाट पोशाक, खाजा, आवातजावत, भत्ता, आवास लगायतका गुनासाहरु प्रतियोगिता अवधिभर नै आइरहे। दाङमा रंगशाला वरिपरि खाजा खाने पसलसम्म नभेटिएपछि खेलाडीहरुले चाउचाउको भरमा बस्नुपर्‍यो। रुपन्देहीमा भएको क्रिकेट प्रतियोगितामा भने खेलाडीलाई पानी समेतको व्यवस्था नभएको गुनासो सुनियो।
राखेपको प्रचारप्रसार शहर केन्द्रित हुँदा गाउँमा भएका प्रतियोगिताहरु दर्शकविना नै सञ्चालन भए। फुटबल, क्रिकेट, भलिबलमा दर्शक देखिएपनि अन्य खेलमा खेलाडी र अफिसियलमात्रै देखिन्थे। फुटबलको सेमिफाइनल र फाइनल खेलमात्रै नेपालगञ्ज रंगशालामा भए। त्यसअघिका लिगचरणका खेलहरु गाउँको विद्यालयमा खेलाइदाँ दर्शकहरु बिनै खेलाडीहरु भिडे।
उपाधि विजेता आर्मीका कप्तान भरत खवासले लिग चरणकै खेलहरु रंगशालामा खेल्न पाएको भए हुन्थ्यो भन्ने इच्छा व्यक्त गरे। सेमिफाइनलको खेलपछि उनले भने, ‘सेमिफाइनलका खेलहरुमा रंगशालाभरि दर्शकहरु भरिएको देख्दा बल्ल राष्ट्रिय खेल खेलिरहेको छु जस्तो लाग्दैछ।’
व्यवस्थापकीय कमजोरी आयोजक राखेपबाट मात्रै हैन, सहभागी टोलीहरुमा पनि देखियो। दाङमा महिला हाइजम्पका क्रममा राखेपले उपलब्ध गराएको जर्सी साइज भन्दा निकै ठूलो भएको भन्दै प्रदेश–६ कि विष्णु राईले इटालीको फुटबल जर्सी लगाएर खेलिन्। एक देशको राष्ट्रिय प्रतियोगितामा अर्को देशको जर्सी लगाएर खेलिएको यो दुर्लभ घटना थियो।
१० हजार मिटर दौडमा गण्डकी प्रदेशकी सरस्वती कुँवर ट्रयाकमै ढलिन्। क्षेत्रीय छनौटमा ५ हजार मिटरमा दौडिएपनि प्रशिक्षक र खेलाडीकै जिद्दीका कारण १० हजारमिटर दौडमा उनी भाग लिएकी थिइन्। अर्कातिर झाडापखालाको अस्वस्थताका बाबजुद पनि दौडिएकी उनी मैदानमै लड्न पुगेकी थिइन्। खेलाडी अस्वस्थता तथा आफ्नो तयारीको स्पर्धा भन्दा माथिल्लो स्पर्धामा मैदान उतार्नु प्रदेश व्यवस्थापनको लापरवाही ठहरियो।
राष्ट्रिय खेलकुदलाई व्यवस्थापकीय कुशलताका साथ सम्पन्न गर्न सरकारको खेलप्रति हेर्ने दृष्टिकोणमा भर पर्ने बताउँछन् राखेपका सदस्यसचिव विष्ट। ‘विगतभन्दा राम्रो हुँदै गएको छ। मलाई लाग्छ, यो अझै पर्याप्त छैन्,’ विष्टले भने, ‘नवौँमा खेलाडीहरु व्यावसायिक रुपमा उत्रँदै राम्रो पूर्वाधारमा खेल्न पाउनुपर्छ भन्ने मलाई लाग्छ र म यसवर्षको बजेटमै यसलाई सम्बोधन गर्न माग पनि गर्छु। मलाई विश्वास छ नवौँ–दशौँसम्म पुग्दासम्म हामीले व्यवस्थित ढंगबाट राष्ट्रिय प्रतियोगिता आयोजना गर्नसक्छौँ होला।’
विगतमा पनि राष्ट्रिय खेलकुदका लागि निर्माण भएका पूर्वाधारहरु खेलपछि भने बेवारिसे बनेका छन्। आठौँका लागि निर्माण भएका यी पूर्वाधारहरुको अवस्थापनि विगतमा अन्य क्षेत्र झै हुने हो कि भन्ने डर स्थानीयमा छ।
राखेप सदस्यसचिब केशब विष्ट
राखेप सदस्यसचिब केशब विष्ट
यही कुरा मध्यनजर गर्दै समापन अघि पत्रकार सम्मेलन नै गरेर नेपालगञ्ज उपहानगरपालिकाका मेयर धवलशम्शेर राणाले बनेका पूर्वाधारहरुको संरक्षणमा चिन्ता व्यक्त गरेका थिए। उनले बनेका संरचनाहरु संरक्षण र सञ्चालनको जिम्मा स्थानीय निकायलाई दिए आफूहरु तयार रहेको समेत बताए।
‘हामीले देशको परिवेश बुझेकै छौँ। विगतमा अरु ठाँउमा भएको जस्तो नहोस् भन्ने हाम्रो चाहना हो,’ मेयर राणाले भने, ‘यहाँ पूर्वाधार बने, अब बनेका संरचनाहरु र बन्दै गरेका संरचनाको कसरी दिगो संरक्षण गर्ने भन्नेबारे हामी चिन्तित छौँ। खेलकुद परिषदले संरक्षणका लागि हामीलाई आधिकारिक रुपमा पत्र लेखेमा हामी त्यसका लागि तयार छौँ।’
राखेपका सदस्यसचिव विष्ट पनि स्थानीय निकायलाई पूर्वाधारहरु हस्तान्तरण गर्ने कुरामा सकरात्मक देखिए। नेपालखबरसँग आफ्नो व्यक्तिगत धारणा राख्दै भने, ‘नेपालगञ्ज रंगशाला कम्प्लेक्स चाहिँ प्रदेश सरकारलाई दिनुपर्छ। त्यसबाहेक अन्य संरचना सम्बन्धित नगरपालिका वा गाउँपालिकालाई हस्तान्तरण गर्नुपर्छ। संरचनाको थप विकास तथा विस्तारमा केही बजेट हामी दिन्छौँ र त्यसमा उहाँहरुले पनि थप्नुपर्छ।’
देखिएन अब्बल प्रदर्शन
नाथन दोर्जे शेर्पा
नाथन दोर्जे शेर्पा

पहिलोपटक गैरआवासीय नेपाल संघ (एनआरएनए) को टोलीसहित ११ टोली सहभागी प्रतियोगितामा १ सय ४० स्वर्णसहित समग्रमा नेपाल आर्मी क्लब पुनः राष्ट्रिय च्याम्पियन बन्यो। यसअघि सातौँ राष्ट्रिय प्रतियोगिताको च्याम्पियन पनि आर्मी नै थियो।
त्यसबाहेक अपेक्षाकृत नै विभागीय टोलीले पदक तालिकामा वर्चस्व राखे। नेपाल पुलिस क्लब ६२ स्वर्णसहित दोस्रो स्थानमा रह्यो भने शशस्त्र प्रहरी बलको एपीएफ क्लब पदक तालिकामा तेस्रो रह्यो। उसले ५३ स्वर्ण जित्यो।
सात प्रदेशलाई उछिन्दै चौथो स्थानमा रहेको प्रदेश ३ ले २२ स्वर्ण जित्यो भने पुछारमा रहेको कर्णाली प्रदेशले ३ स्वर्णमात्रै हात पार्यो। पहिलो पटक सहभागिता जनाएको एनआरएनएको टोली भने ६ स्वर्णसहित पुछारबाट दोस्रो स्थानमा रह्यो।
३५ खेलका लागि ५ हजार २ सय ११ जना खेलाडीहरु समावेश भएपनि प्रतियोगिता अवधिभर कुनैपनि खेलाडीले उम्दा प्रदर्शन भने गर्न सकेनन्।
पौडीकी गौरिका सिँहले आफ्नै नाममा रहेको कीर्तिमान सुधार गर्दै १२ स्वर्ण जितिन्। व्यक्तिगत रुपमा यस प्रतियोगितामा एकल स्पर्धामा उनी नै सफल खेलाडीका रुपमा रहिन्। तर, बेलायतमा रहेर उच्चस्तरको प्रशिक्षण लिएकी गौरिकासँग प्रतिस्पर्धा गर्ने नेपालमै प्रशिक्षण पाएका कुनै खेलाडी पनि देखिएनन्।
गौरिका सिंह
गौरिका सिंह
पौडीमै आर्मीकी डुवाना लामाले ६, एनआरएनका नाथन दोर्जे शेर्पाले ५ स्वर्ण जिते। नाथनले भने नेपाली पुरुष पौडीमा सम्भावना देखाएका छन्। अमेरिकामा बस्दै आएका उनले पौडी संघले बोलाए आफू आगामी डिसेम्बरमा नेपालमै हुने दक्षिण एसियाली साग खेल्ने र देशका पदक जित्ने आशा व्यक्त गरे। यस्तै जिम्न्यास्टिकतर्फ राजु राईले ५ स्पर्ण जिते। तर, सातौँ खेलकुदमा ७ स्वर्ण जितेको उनको प्रदर्शन यसपटक भने खस्किएको देखियो।
टिम इभेन्ट्सतर्फ फुटबलमा विभागीय टोली आर्मीले पुलिसलाई १–० ले पराजित गर्दै स्वर्ण जित्यो। पुरुष भलिबलमा आर्मीलाई पराजित गर्दै नेपाल च्याम्पियन रह्यो। महिला भलिबलको सदावहार टोली एपीएफलाई कसैले चुनौती दिन सकेन। पुरुष र महिला क्रिकेट दुबै एपीएफकै पोल्टामा रह्यो।
ब्याडमिन्टनमा दुई नेपाली च्याम्पियन जन्मिए। यसअघि निरन्तर नङशल देवी र रत्नजित तामाङ दिदीभाईको वर्चस्वलाई तोड्दै उनीहरुलाई नै हराएर महिलातर्फ रसिला महर्जन र पुरुषतर्फ दीपेश धामी नयाँ राष्ट्रिय च्याम्पियन बने।
एथ्लेटिक्समा पनि विभागीय टोली आर्मीकै वर्चस्व रह्यो। आर्मीले सर्वाधिक २१ स्वर्ण जित्यो। ८ स्वर्ण जितेको एपीएफ दोस्रो र ३ स्वर्ण जितेको पुलिस तेस्रो स्थानमा रह्यो।
आर्मीकै कृष्ण बस्नेतले पुरुष म्याराथनमा अहिलेसम्मकै उत्कृष्ट टाइमिङ २ घण्टा १७ मिनेट ३३ सेकेण्डमा दूरी पूरा गरे। नेपाल प्रहरीकी राजपुरा पछाई महिलातर्फको म्याराथन विजेता बन्दा दुई घण्टा ५९ मिनेट ३८ सेकेण्डको कीर्तिमान बनाउँदै दूरी पूरा गरिन्।

सफल खेलाडीको काँधमा टोली च्याम्पियन बनाउने जिम्मा

यो मेरो स्टोरी ३ कार्तिक २०७५, शनिबार | 2018-10-20 10:30:29 मा Nepalkhabar.com मा प्रकाशित भएको हो।


यज्ञराज जोशी
बिसं २०३९ सालमा स्थापित मनाङ मस्र्याङ्दी फुटबल क्लबको नेपाली फुटबलमा इन्ट्री र सफलता दुवै अविश्वसनीय थियो। पहिलोवर्ष ‘डी’, दोस्रो वर्ष ‘सी’ र तेस्रोवर्ष ‘बी’ गरी मनाङले लगातार लिगमा सफलता हात पार्दै गयो। चौथोवर्ष त उसले देशकै सर्वोच्च प्रतियोगिता ‘ए’ डिभिजनकै उपाधि उचाल्यो।
बी डिभिजनसम्म मनाङ-मर्स्याङ्दी लगातार च्याम्पियन बन्दा एक गोल पनि खाएको थिएन। तर, २०४२ को ए डिभिजनमा च्याम्पियन बन्दा भने थ्रीस्टार क्लबका पवन श्रेष्ठ र संकटा क्लबका राजुमान तुलाधरले मनाङको पोस्टमा दुई गोल गरेका थिए। त्यसले मनाङलाई केही प्रभाव पारेन। जनआन्दोलन (२०४६) अघि थप दुई (२०४३-४४ र ०४६) उपाधि उचाल्दै मनाङले ए डिभिजनको उपाधिमा ह्याट्रिक गर्‍यो।
मनाङको त्यो पहिलो स्वर्णिम पुस्ता थियो। सहयात्री थिए– मणि शाह, कुमार थापा, बसन्त थापा, दीपक लामा, राजन रायमाझी आदि। त्यसपछि आन्दोलन र राजनीतिक उतारचढावले २०५५ सम्म लिग हुन सकेन। त्यस बेलासम्म ‘करिअर’ को उत्तरार्धमा रहेको मनाङ-मर्स्याङ्दीको पहिलो ब्याचले पनि सन्यास लिइसकेको थियो।
टड्कारो प्रश्न उठ्यो, के मनाङले बीचको ग्याप र मुख्य खेलाडीहरुले सन्यास लिइसक्दा फेरि पुरानै लय हासिल गर्न सक्ला? अहँ, लिगमा मनाङ-मर्स्याङ्दीले पुरानो लय फर्काउन सकेन। नयाँ खेलाडीहरु पुरानो विरासत धान्ने दबाबले थिचिन थाले। त्यही दबाबबीच युवा खेलाडीले जे गरे, त्यसले पहिलो स्वर्णिम पुस्ताको सफलतालाई निरन्तरता दियो।
नयाँ युवा टोलीका अलराउण्डर थिए, तन्नेरी नवीन न्यौपाने। उनी सहितको टोलीले चारपटक मनाङ-मर्स्याङ्दीलाई पुनः ए डिभिजनको उपाधि दिलाउँदै नेपालकै सबैभन्दा सफल क्लब बनायो। सँगसँगै पहिलो स्वर्णिम पुस्ताको उपाधि यात्रालाई पछाडि पारिदियो।
‘मणि दाईहरुको पुस्तालाई मनाङको पहिलो स्वर्णिम पुस्ता भनिन्छ’ मणि शाहको बर्हिगमनसँगै टोलीमा भित्रिएका नवीनले सम्झिए, ‘त्यसपछि मनाङलाई उचाईमा पुर्‍याउने कामको निरन्तरता हामीले दियौँ। ए डिभिजनकै उपाधि चारपटक जित्यौँ। बाहिरको कुनै प्रतियोगिता जित्न बाँकी थिएन।’
दुई दशक खेलाडी जीवन व्यतित गरेका न्यौपानेले ८ वर्ष (२००० देखि २००८) सम्म राष्ट्रिय टोलीबाट खेले। त्यसक्रममा उनले २००४ मा भएको दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ) मा नेपालको कप्तानी समेत गरे। दायाँ-बायाँ मिडफिल्ड, साइड डिफेन्स जहाँपनि खेल्न सक्ने उनी बहुप्रतिभाशाली अलराण्डर खेलाडी थिए।
सफल खेलाडी
नवीन न्यौपानेले मनाङबाट चारपटक ए डिभिजन लिगको उपाधि उचालेका छन्
नवीन न्यौपानेले मनाङबाट चारपटक ए डिभिजन लिगको उपाधि उचालेका छन्

नक्साल भगवती बहालमा जन्मिएका नवीनको बालापन घरनजिकै रहेको गौचरण मैदानमा फुटबललाई लात्ती हान्दै बित्यो। रमाइलोका लागि फुटबल खेल्थे उनी। तर सफल खेलाडी बन्छु भन्ने अनुमान उनी आफैले गरेका थिएनन्।
जनआन्दोलन (२०४६) पछि उनको परिवार विशालनगर सर्‍यो। त्यसबेलाको विशालनगरमा पुरै खुल्ला, जता फुटबल खेले पनि हुने। धोवीखोलाको खुल्ला किनार उनको ‘टोले फुटबल’ खेल्ने मैदान बन्यो। खैल्दै गर्दा राम्रो हुन थालेपछि अग्रज खेलाडीहरुले उनलाई आफ्नो टोलीबाट खेलाउन थाले। टोले प्रतियोगिता हुँदै विस्तारै उनले स्थानीय पञ्चकुमारी क्लबबाट खेल्न थाले।
अग्रज उदयशम्शेर राणाले नवीनलाई पहिलेदेखि राम्रो फुटबलको सम्भावना भएको खेलाडीका रुपमा देखेका रहेछन्। गौचरण मैदानमा यू-१६ टोलीको छनौट भइरहेको बताउँदै राणाले त्यसमा भाग लिन नवीनलाई सुझाव दिए। विराटजंग शाही प्रशिक्षक तथा छनौटकर्ता थिए। नवीनले मैदानमा आफ्नोे कला देखाउँदा विराटजंग शाहीले सम्भावनायुक्त खेलाडीका रुपमा नवीनको छनौट गरे।
त्यही घटना नवीनको जीवनको ‘टर्निङ प्वाइन्ट’ बन्यो।
‘त्यसबेला राष्ट्रव्यापी सानमिगल कप हुन्थ्यो,’ ५० को दशकको सुरुवाती वर्षको स्मरण गर्दै नवीनले भने, ‘जिल्लाव्यापी उक्त प्रतियोगिताका लागि म काठमाडौँबाट छनोट भएको थिएँ। टोलीमा सबैभन्दा फुच्चे म नै थिएँ। बाँकी खेलाडीहरुमा राजन रायमाझी, कुमार थापा, हरि खड्का जस्ता नाम चलेका खेलाडी थिए।’
प्रतियोगिता काठमाडौँले नै जित्यो, च्याम्पियन खेलाडी नवीनको भाग्यले कोल्टो पनि फेर्‍यो। प्रतियोगिता लगत्तै उनले ‘सी’,‘बी’ कुनैपनि लिग खेल्नुपरेन। नक्साल युवा मण्डलले उनलाई सिधै ए डिभिजन लिगका लागि अनुबन्ध गर्‍यो।
त्यसपछि भने नवीनको नामसँगै च्याम्पियन भन्ने ट्याग कहिल्यै छुटेन। ‘जनआन्दोलनपछि रोकिएको लिग २०५४ सालमा पहिलोपटक हुँदै थियो,’ उनले सम्झे, ‘आन्दोलनअघि लगातार तीनपटक उपाधि जितेको मनाङलाई दाबेदारी टोलीका रुपमा हेरिएको थियो। मणि दाईहरु करिअरको उत्तरार्धमा थिए। त्यही लिगमा हामीले मनाङलाई हराइदियौँ।’
मनाङ मस्र्याङ्दी जस्तो क्लवलाई हराएको टोलीले सबैको ध्यान खिच्नु स्वभाविक थियो। नवीनको प्रदर्शनको पनि चौतर्फी चर्चा भयो। त्यसैवर्ष मणि शाहहरुको ब्याचले बिदा लियो। त्यस स्थानमा मनाङले नवीनलाई क्लबमा अनुबन्ध गर्‍यो।
त्यसबेला नवीनले महिनाको १५ सय तलब पाएका थिए। अरु राम्रा खेलाडीले पाउने तलबपनि यसैको हाराहारीमा थियो। क्लबमा सर्बाधिक रकम बुझ्ने कुमार थापाको २५ सय तलब थियो।
नवीनले त्यसपछि २०७१ सम्म लगातार मनाङ मस्र्याङ्दीबाट खेले। यसबीच केही समय उनी एनआरटी क्लब र हिमालय शेर्पा क्लबसँग पनि आवद्ध भए। तर, पुनः मनाङ मस्र्याङ्दीबाट नै उनले खेलाडी जीवनको अन्त्य गरे। त्यसक्रममा उनी सहभागी मनाङ-मर्स्याङ्दी क्लबले २०५७, ०६०, ०६२ र ०७० गर्दै चारपटक ए डिभिजनको उपाधि उचालेर नेपालको सर्बाधिक सफल क्लब बन्यो।
‘जुन पेशा अगालिन्छ, त्यसमा आफू निरन्तर लाग्नुपर्छ। समर्पित भएर लाग्ने हो भने जुनसुकै क्षेत्रमा पनि सफलता हासिल गर्न सकिन्छ,’ दुई दशक सफल खेलाडी जीवन बिताएका नवीनले सफलताको मूलमन्त्र सुनाए, ‘मैले पनि यस २०५२ देखि ०७२ सम्म खेलेँ। यो २० वर्षे करिअरमा निरन्तर दत्तचित्त भएर लागेँ। फलस्वरुप देशको प्रतिनिधित्व गर्न पाएँ। यस्तो सौभाग्य कमैलैमात्र पाउँछन्।’
आर्मीलाई च्याम्पियन बनाउने जिम्मा
नवीन हाल त्रिभुवन अार्मी क्लबका प्रशिक्षक हुन्
नवीन हाल त्रिभुवन अार्मी क्लबका प्रशिक्षक हुन्

नवीनले खेलेको मनाङ-मर्स्याङ्दी क्लब अन्तिम पटक २०७० मा ए डिभिजन च्याम्पियन बनेको थियो। सोही लिगमा थ्रीस्टारविरुद्धको खेलमा दुव्र्यवहार गरेको भन्दै नवीनले रातो कार्ड त पाए नै, एन्फाबाट एकवर्षको प्रतिबन्ध पनि भोग्नुपर्‍यो।
यतिञ्जेलसम्म उनले खेलाडी जीवनमै कोचिङको सी र बी लाइसेन्स लिइसकेका थिए। मनाङ-मर्स्याङ्दी सो लिगको च्याम्पियन भएपनि एएफसी प्रेसिडेन्ट कप खेल्न मंगोलिया जानुपर्ने भयो।
एसियन फुटबल फेडेरेशन (एएफसी) ले उक्त प्रतियोगिताका लागि बी लाइसेन्स प्राप्त प्रशिक्षक अनिवार्य गरेको थियो। त्यसबेला मनाङका प्रशिक्षक अरुण श्रेष्ठसँग सी लाइसेन्समात्र थियो। त्यसैले, प्रतिबन्धमै रहेका बी लाइसेन्सयुक्त नवीनलाई क्लबले मंगोलिया पठाउने निर्णय गर्‍यो, एन्फाले पनि अनुमति दियो।
‘मलाई एकवर्षका लागि फुटबल गतिबिधिबाट प्रतिबन्ध लगाइसकेपछि एन्फाले प्रशिक्षकका रुपमा पनि जान नदिनुपर्ने हो,’ उनले भने, ‘त्यसबेला के राजनीति गरेर ममाथि एकवर्षे प्रतिबन्ध लगाइयो खै? पछि लगत्तै फेरि प्रशिक्षकका रुपमा जान दिइयो।’
पहिलोपटक नवीनको प्रशिक्षकत्वमा एएफसी प्रेसिडेन्ट कपमा मनाङले आयोजक मंगोलिया र कम्बोडियालाई पराजित गर्दै दोस्रो चरणमा स्थान बनायो। दोस्रो चरण श्रीलंकामा थियो, ओभरअल प्रदर्शन राम्रो भएपनि सफलताका लागि मनाङ-मर्स्याङ्दी सोचेजसरी अघि बढ्न सकेन।
लगत्तै नवीनले ए लाइसेन्स पनि लिए। त्यसबेला ए लाइसेन्स लिने नेपालका प्रशिक्षकहरुमा उपेन्द्रमानसिंह, हरि खड्का, बालगोपाल महर्जन, नवीन पहिलो ब्याचका थिए।
यसमा पनि सबैभन्दा कान्छो थिए, नवीन।
२०७२ सालमा त्रिभुवन आर्मी क्लबका तत्कालिन प्रशिक्षक मेघराज केसीले छाडे। क्लबले नवीनसँग सम्झौता गर्‍यो। त्यसयता उनले आर्मीलाई नेपालको सबैभन्दा सफल क्लबका रुपमा परिचित गराएका छन्।
२०७१ पछि ए डिभिजन लिग विविध कारणले हुन सकेन। यसबीच २०७२ मा एन्फाले राष्ट्रिय लिग आयोजना गर्‍यो। थ्री-स्टारले उपाधि उचालेको उक्त लिगमा त्रिभुवन आर्मी क्लब उपविजेता बनेको थियो।
तर, त्यसपछि भएका गोल्डकपमा भने आर्मी क्बबलाई कसैले पछ्याउन सकेन। २०७३ सालमा मात्रै आर्मी आफूले खेलेका मोफसलका ११ वटा गोल्डकपको फाइनलसम्म पुगेको थियो। त्यसमध्ये तीनपटक उपाधि उचाल्यो।
यस्तै, २०७४ मा आर्मीले देशका विभिन्न सात गोल्डकपको उपाधि उचाल्यो। गोल्डकपमा आर्मी सबैभन्दा सफल टोली रह्यो।
१३ असोजबाट ए डिभिजन लिग पुनः सुरु भएको छ। र, यसपटक मोफसलका गोल्डकपमा प्रभावशाली प्रदर्शन गरेको आर्मीलाई लिगको उपाधि दिलाउने चुनौती नवीनका काँधमा छ।
‘गोल्डकप प्रतियोगिताले खासमा टोलीको स्तर देखाउने होइन, कुन टोली कस्तो छ भन्ने छुट्ट्याउने लिगले हो’ नवीनले भने, ‘केही समयको विश्रामपछि लिग सुरु भएको छ। यसपटक हामी उपाधि रक्षा गर्ने लक्ष्यसहित मैदान उत्रनेछौँ। साथै, आफ्नो स्तर देखाउने चुनौतीपनि हामीसँग छ।’
राम्रो परिणाम दिन व्यवस्थापक, खेलाडी र प्रशिक्षकबीच सम्बन्ध राम्रो हुनु पर्नेमा उनले जोड दिए। ‘तर यही कुराको अभाव नेपालमा खड्किएको छ’ उनले आफ्नो अनुभव सुनाए।
राष्ट्रिय टोली हेर्ने लक्ष्य
नेपालबाट प्रशिक्षकको ए लाइसेन्स प्राप्त गर्ने नवीन कान्छो उमेरका प्रशिक्षक हुन्
नेपालबाट प्रशिक्षकको ए लाइसेन्स प्राप्त गर्ने नवीन कान्छो उमेरका प्रशिक्षक हुन्

नवीनलाई यसअघि पनि एन्फाले उमेर समूहको राष्ट्रिय टोलीलाई नेतृत्व गर्न प्रस्ताव गरेको थियो। तर, क्लबसँग राम्रो सम्बन्ध भएको तथा आर्मी क्लबको टोलीको जिम्मेवारीमा रहेकाले तत्काल नवीनले उमेर समूहको टोलीको जिम्मेवारी लिन रुचि देखाएनन्।
‘एन्फाले कति समयका लागि प्रशिक्षकको जिम्मेवारी दिने हो, सुनिश्चित हुँदैन, दिएपछि एउटा टोली कम्तिमा दुई तीनवर्षका लागि दिनुपर्‍यो’ उनले भने, ‘नत्र आज जिम्मेवारी दियो, भोलि निकालिदेला, त्यसो हुँदा यता क्लबपनि छोड्नुपर्छ, उता उमेर समूहको टोलीपनि नहुँदा बेरोजगार बस्नुपर्छ। क्लब छाडेर जाँदा उनीहरुसँगको सम्बन्धमा पनि असर पर्छ।’
अहिले क्लबलाई एक स्थानसम्म पुर्‍याएर थप परिपक्वता हासिल गरेपछि उमेर समूह हुँदै राष्ट्रिय टोलीको जिम्मेवारी लिने आफ्नो लक्ष्य रहेको उनले सुनाए। ‘सुरुमा यू-१६, यू-१८ टोली हेर्ने लक्ष्य छ,’ उनले भने, ‘उमेर समूहका टोलीलाई राम्रो रिजल्ट दिएपछि टोली हाँक्ने योजना छ। राष्ट्रिय टोलीमा राम्रो प्रशिक्षक आए सहायक भएर पनि जान तयार छु।’
फुटबलमा दीर्घकालिन योजना
कुनैपनि मुलुकको फुटबल विकासको मेरुदण्ड मानिने लिग प्रतियोगिताले निरन्तरता नपाउँदा नेपालको फुटबलले फड्को मार्न नसकेको बताउँछन् नवीन। उनको भनाईमा, पछिल्लो बीस वर्षमा नेपाली फुटबल जहाँको त्यही हुनुमा लिगमा देखिएको उतार चढाव नै प्रमुख कारण हो।
फुटबलमा नियमित रुपमा लिग प्रतियोगिता नहुदा खेलप्रतिको क्रेजपनि घटेको पनि उनी बताउँछन्। ‘पछिल्लो बीस वर्षमा हामीले निकै फड्को मार्नुपर्ने हो, तर, एकपटक लिग सुरु भएपछि पुनः बन्द भयो’ उनले सुनाए, ‘सुरु के भएको थियो, फेरि बन्द भयो। पहिले दर्शकले भरिभराउ हुने रंगशालापनि यसैकारण खाली हुँदै गए।’
‘नेपाल पोटिन्सियल भएका खेलाडीहरुले भरिएको देश हो। खेलाडीहरु दालभात, तरकारी खाएर पनि गज्जब खेलिरहेका हुन्छन्,’ उनले भने, ‘दर्शकहरु प्रिमियर लिग, ला लिगा जस्ता प्रतियोगिताको स्वाद चाहन्छन्’ नवीनले थपे, ‘नेपाली फुटबल कसरी चलिरहेको छ भन्ने कुरा दर्शकलाई थाहा नहुँदा उनीहरुको अपेक्षा अनुसारको खेल प्रदर्शन हुन सकेको छैन। रंगशालामा दर्शक संख्यामा कमी आउनुको एउटा कारण यो पनि हुनसक्छ।’
२०४८ जनआन्दोलनपछि स्थगित लिग २०५४-५५ सालमा बल्ल सुरु भयो। त्यसपछि पुनः २०५७-५८, २०६३, अनि २०७० पछि पुनः स्थगित भयो।
लिगमा देखिएको उतारचढावले क्लबहरुलाई समेत धरासायी बनाएको उदाहरण उनले प्रस्तुत गरे। २०६३ मा न्यूरोड टिम (एनआरटी) ले त्यसबेलाका चर्चित खेलाडीहरु अनिल गुरुङ, सागर थापा तथा नवीनलाई लिग जित्ने उदेश्यसहित ठूलो रकममा अनुबन्ध गरेको थियो। तर, विडम्बना, लिग नै भएन। तीनवर्षसम्म पनि लिग नहुँदा खेलाडीलाई क्लबले त्यतिकै ठूलो रकम तिर्नुपर्‍यो, क्लब टाट पल्टियो।
त्यसबेलासम्म लिग व्यवसायिक मार्गमा पनि अघि बढेका थिए। क्लबहरुले खेलाडीलाई मासिक न्यूनतम ६०-७० हजारसम्म तलब दिन्थे। तर, पुनः लिग रोकिएपछि सबैकुरा ध्वस्त हुन पुगे। त्यसबेलाका खेलाडी र अहिलेका खेलाडीमा व्यवसायिकतामा समेत फरक रहेको उनको बुझाई छ।
‘पहिलेका खेलाडीहरु जुन क्लबबाट खेल्यो, त्यसमा शतप्रतिशत समय दिनुपर्छ भनेर खेल्थे। एउटा संस्थामा अनुबन्ध भएपछि शतप्रतिशत समय त्यहीँ दिनुपर्छ भन्ने मेरो मान्यता हो’ उनले भने, ‘अहिले खेलाडीको संख्या कम छ। त्यसैले, आफूबाहेकको बिकल्प छैन भन्ने सोच्छन्। त्यसकारण अनुबन्धित भएको क्लबलाई शतप्रतिशत समय दिएको देखिदैँन।’
नेपाली फुटबलको विकासका लागि दीर्घकालिन योजना बनाउन उनले सुझाव दिए। ‘हालसालै हामी जापान गएका थियौँ। जापानले २०५० सम्म विश्वकप उचाल्ने लक्ष्यसहित ‘ड्रीम-२०५०’ दीर्घकालिन योजना सार्वजनिक गरेको रहेछ’ उनले भने, ‘जापानमा जताततै ‘ड्रीम-२०५०’ मात्र लेखेको देखिन्छ। उनीहरु यूरोपिनहरुलाई कसरी पछार्ने भनेर आजैदेखि योजना बनाउन थालिसके। हामीसँग भने दक्षिण एसियामा एक नम्बर कसरी बन्ने भन्नेसमेत योजना छैन।’
फुटबलको विकासका लागि ‘ग्रास रुट’ देखि नै जग बसाउनुपर्ने सुझाव दिँदै नवीन भन्छन्, ‘एन्फाले हालैमात्र ग्रासरुट कार्यक्रम सुरु गरेको छ। यो राम्रो हो। तर त्यसको कार्यान्वयनलाई प्रभावकारी बनाउन तर्फ लाग्नुपर्छ।