Thursday, 17 December 2015

मेरो डायरी २१ (महोत्सव हेर्न जाने हो...)

सम्बन्धहरू रबरब्याण्ड जस्तै हो, सायाँ । दुवैतिरबाट जति तन्कायो त्यति तन्कन्छ, तर एकातिरबाट एउटाले छोड्यो भने अर्कालाई चोट लाग्छ । अचेल सम्बन्धहरु अर्थ जान्ने प्रयासमा छु, सायाँ । सम्बन्ध बनाउँन जति सजिलो छ निभाउँन पनि त्यति नै गाह्रो हुन्छ । हामीसँग कतिपय यस्ता सम्बन्धहरु छन जसलाई भगवानले नै बनाएर पठाएका छन, ति सवै सम्बन्धहरु पारिवारिक पृष्ठभुमीसँग गासिएका हुन्छन । जसले हामीलाई हरेक सानो ठुलो कुरामा साथ समर्थन गरेका छन । निशब्द ओठहरुमा शब्द भर्न सिकाउँने यी सम्बन्धहरु अतुलनिय छन । धर्तीमा पाईला चाल्न सिकाउने यी सम्बन्धहरु बलिया छन, टुटदैनन, छुट्दैनन । हरेक सुखदुखमा आफ्नोपनको महशुस गराउँदै एक्लोपन छाउँन नदिने यी सम्बन्धहरु हरु विना सवैको जीवन अधुरो अपुरो छ । यी सम्बन्धहरु निश्वार्थी छन, अविरल बिश्वास हुने गर्छ यस्ता सम्बन्धमा । जीवन व्यतित गर्नका निम्ती सहजता ल्याईदिने यी सम्बन्धहरुले हामीलाई सवैभन्दा बढी सुरक्षित महशुस गराउँछन । यी सम्बन्धमा पुर्णता छ, विश्वास छ, सम्मान छ अनि सदभाव छ । 


मानविय स्वभावपनि भिन्दै किसिमको हुदो रैहेछ, सायाँ ।  जति जति उमेर बढ्दै गयो सम्बन्धहरु जुट्दै जाने । कतिपय सम्बन्धहरु परिस्थितीले बनाउदो रहेछ, कतिपय सम्बन्धहरु काम विशेषमा जोडिन्छन त कतिपय सम्बन्धहरु हिड्दाहिड्दै पनि । त्यस्ता केही सम्बन्धले मात्र जिवनमा केही महत्व राख्दा रहेछन । कतिपय सम्बन्धहरु बन्छन भत्कन्छन, तिनीहरु केही छिनका लागि आफ्नो स्वार्थसँग जोडिएका सम्बन्धहरु हुदाँ रछैन । अनि कतिपय यस्ता परिस्थितीजन्य अशोचनिय सम्बन्धहरु जसले जीवनको गति नै परिवर्तन गरिदिन्छ ।  

परिस्थितीजन्य केही सम्बन्धहरुले जीवनमा अमेट छाप छाड्दो रै छ, सायाँ । सपना सँगको त्यो सम्बन्ध पनि त्यस्तै थियो । सपना, जेसँग फेसबुकबाट मात्र परिचय भएको थियो । उसको तस्बिर मात्र थियो, त्यहाँ । फ्रेण्डलिष्ट हाईड गरेकी थिई उसले, कुनै नयाँ फोटो सेयर गरेकी थिईन । उसको नाम र उसको प्रोफाईल बाहेक अन्य मसँग उसको बारे कुनै जानकारी भएन । उसको फेसबुक कै ठेगानालाई आधार मान्ने हो भने उ हाल काठमाण्डौ बस्थी । तर पश्चिमेली ठिटी हो उ, अध्ययनका सिलसिलमा सुदुरपश्चिमबाट राजधानी हानिने मध्येकी एक थिई उ । उसको भनाई अनुसार विविएस तेस्रो बर्षमा अध्ययन गर्दथी उ । मलाई उसका बारेमा अरु केही थाहा थिएन । सुन्दर प्रोफाईल पिक्चरले मात्र केटाहरुलाई उसँग नजिक बनाउन काफी थियो । हाम्रो फ्रेण्डसीप उसले नै सुरु गरेकी हो । उसले पठाको रिक्वेष्ट मैले एसेप्ट गरे । रिक्वेष्ट एसेष्ट गर्नु अघि उसको बारेमा मैले जान्ने कोशिस पनि गरे । उसको प्रोफाईल सवै हेर्दा उसको नाम, प्रोफाईल पिक्चर, कभर फोटो अनि ठेगाना बाहेक केही थिएन उसको फेसबुकमा । एउटा संयोग मान्नु पर्छ सायाँ, तिम्रो र उसको नाममा एउटा कुरामा समानता थियो । त्यही भएरपनि मैले उसलाई आफ्नो फेसबुके साथी बनाए । उसलाई नि बताए मैले त्यो कुरा । कुरा बढ्दै गएपछि मैले सोधे, मलाई रिक्वेष्ट किन ? तिम्रा डायरीहरु पढ्थे, राम्रो लाग्यो अनि पठाएँ । मेरो डायरीमा कोरिएका शब्दहरुले लोभ्याएछ क्यारे उसलाई । त्यहाँ की मुख्य पात्र तिमी अर्थात सायाँका बारेमा उसले जान्ने ईच्छा देखाई । मेरो डायरीका प्रकाशित अंकहरु अध्ययन गर्न सुझाव दिए मैले । किनकी हामी त एउटा खुला किताव जस्तै थियौ, सायाँ । हामीसँग भएका अनि सार्वजनिक गर्न मिल्ने सवै कुराहरु मेरो डायरीका अंकहरुमा सम्प्रेषण गर्दै आएको छु । सपनाले सरसर्ती पढिछे । उसलाई लागेछ सायँद केही मनका भावहरुलाई आक्षरिक रुप दिएर कैले कोर्दे आएको छु । अनि अर्को दिन एउटा प्रश्न सोधी, के यो साच्च कै कथा
हो ? मैले भने हैन, केवल कल्पनामात्रै हो, अनि जिस्कदै भने तिम्रो जीवनसँग मेल खान गएमा संयोग मात्र हुनेछ । उनी मुसुक्क हासिन र भन्न थालिन, हेर म यो मायाँ भन्ने कुरामा विश्वास गर्दिन, अझ हाम्रो सुदूरपश्चिम अझै पनि मायाँका लागि त्यति उदार भै सकेको छैन । उसले भनेको कुरा केही हदसम्म साचो थियो, हाम्रो यहाँ जोडीहरु जानी नजानी मायाँ त गर्छन, तर कहिले काही समाज, परिवार, साथीभाई नै भिलेन बनेर ईन्ट्रि मार्छन । तर अब परिस्थिती अलि भिन्न भै सकेको छ, टेलिभिजन अनि फिल्मको प्रभाव हुनुपर्छ सायँद, केहीले आफ्नो जीवन साथी आफै खोज्छन र परिवारले स्वीकृति पनि दिने गरेको छ । सपना केही समय अघि नै यस क्षेत्रको विट मार्दै राजधानी हानिएकीले उनी यस क्षेत्रमा वर्तमानमा आएको परिवर्तनबारे त्यति जानकार नहुुन सक्छिन, त्यसैले उनलाई यो मायाँ भन्ने चिजमा त्यति विश्वास लाग्दैन होला ।
सपनासँगको कुरा यति मै रोकिएन । प्रत्येक दिन च्याटमा कुराहरु बाक्लिदै गएँ । त्यससँगै उनीसँग एक किसिमको सम्बन्ध पनि स्थापित हुन थालिसकेको थियो । तर धेरै अझै पनि केही थिएन । हामी अपरिचितताको सम्बन्धलाई बिट मार्दै बर्षौ देखि परिचितताको सम्बन्ध जस्तै बात गर्न थालिसकेका थियौ । फेसबुकका बढी समय म सपनासँगको च्याटमा विताउँने गर्दथे । धेरै दिन भैसकेको थियो, उनीसँग शाब्दिक रुपमा मात्र च्याट गरेको एकदिन उनको आवाज सुन्ने मन गह्यो अनि उनलाई भ्वाईस म्यासेज पठाउन आग्रह गरे । तर सपनाले मानिनन्, उनले भनिन पहिले तिमी । मैले लेडिज फष्ट भन्दै टार्न खोजे तर उनको जिद्दीको अगाडी मेरो के चल्थ्यो र ? मलाई नै उसको भ्वाईस सुन्ने ईच्छा भएकाले म नै सुरुमा बोल्ने जमर्को गरे । आवाज पठाउन त तयार भए तर के आवाज पठाउने अन्योलमा भए । अनि एकछिन आफ्नो वरपरको बातावरण नियाले । केही दिन देखि धनगढीमा सुदुरपश्चिम महोत्सव लागिरहेको छ । त्यसको आवाज प्रदर्शनीस्थलबाट नजिकै भएको मेरो घरसम्म नि पुगिरहेको थियो । मैले महोत्सवको प्रसंग निकाल्दै सोधे 'महोत्सव हेर्न जाने हो' ?    
                                                                                  क्रमश ....
                                                                   यज्ञराज जोशी, सुमन



No comments:

Post a Comment